‘इकोराइटर’ अमर नेम्बाङको सम्झना

‘इकोराइटर’ अमर नेम्बाङको सम्झना

भदौ १३, २०७८ 0 By मुनराज शेर्मा
शेयर गर्नुहोस्

चालीस सालमा एसएलसी सकिएपछि म कान्छा काकासँग फिदिम हिँडेँ । त्यो बेला सयपत्री, कन्काई, गजुरमुखी लगायत नामका इलामे बस चल्थ्यो । काका सडक निर्माणका सामन्य ठेकदार थिए । फिदिम रोड बन्दै थियो । काकालाई नजिकको सहयोगी चाहिएको थियो । म बैदार हुन फुर्केर हिडेको थिएँ । उहाँमा सायद म प्रतिको माया र विश्वास थियो । त्यो उमेरमा ठूलो उपलब्धिको चाहना मनमा पलाइसकेको थिएन । परदेश लाग्न धेरै समयपछि निकै सानदार सर्ट पाइन्ट धरेर म फुरुक्क थिएँ ।

त्यो बेला फिदिम ट्याक्सी मात्र जान्थ्यो । बाजेको घरमा लिम्बुहरुको थेबा साम्माङ्ग गरेर सकिएको थियो । हतारमा मासु भात दरो बजाएर बसको छप्परमा चढियो । त्यो बेला छप्पर यात्रा सुपरहिट थियो । छप्परमा सामानहरु उरुङसँग बाँधेको थियो । डोरी पक्रेर बसियो । कच्ची सडक, ठूल्ठुलो खाल्डा नाघ्दा हुत्तिएर अडिनै गाह्रो थियो । अरु पनि थुप्रै थिए छतमा । जति उभो लाग्यो त्यति गाडीको मात लाग्न थाल्यो । मलाई अरु बेलासमेत यात्राको कुरा गर्दा वा गाडी देख्यो कि गन्हाउन सुरु हुन्थ्यो । एकप्रकारको ‘ट्राभल फोयिबा !’ त्यही भएर हावा खान छप्परको सिट रोजियो । यद्यपि यो वैध काम थिएन । पुलिस चौकी वा चेकिङ आयो कि ओर्लनु पर्ने हुन्थ्यो । ढुंगाको पर्खाल लाएको जस्तो बसभित्र उभिनु पथ्र्याे । निसासिएर हैरान । माईखोला पुग्दा थाम्दा–थाम्दै दुई हर्स पावर बराबर शक्तिको बान्ता भयो । ठूलो पाइप फुटेर लेदो हुलुलु निक्लेको जस्तो भयो कल्ले रोक्न सक्ने । छतै भरी भारीमाथी मासुको चोक्टै चोक्टा । मलाई चै सन्चो भयो । सामानको मालिक कोको थिए थाहा भएन । एकछिन चाहिँ निकै डर लाग्यो । बस एकछिन रोकियो । वरिपरीकाहरु मलाई पनि आयो भन्दै झरे । त्यो बेलाको मेरो गाउँको ‘खुङखार ब्याडब्वाई’ राम राई भित्तामा गएर छाद्न थाल्यो । भिलेनले छादेको बन्दै सुहाएको थिएन । भिलेन पनि त्यति निम्छरो देखिन्छ ? मैले सोचेकै रहेनछु ।

फिदिममा अमर नेम्बाङको एकल कविता वाचनको उदघाटन गरिदैं

इलाम पुग्दासम्म मेरो हालत खराब भइसकेको थियो । त्यो पहिलो आगमन भएपनि म न कतै निस्किन सकें, न खान नै । म सिकिस्त भै होटलमा सुतेँ । भोलिपल्ट थोरै आराम भयो । गन्तव्य फिदिम थियो, दिउँसो एक बजितिर ट्याक्सी लागियो । बसाई ट्याक्सीको पछिल्लो सिटमा पर्‍यो, फेरि टाउको घुम्न थाल्यो । थोरै दालभात खाको त्यो सबै निक्ल्यो । तितो पित्त छाद्दै राती एक बजि फेदेन बजार पुछार झरियो । पटकपटकको वान्ताले म उभिन पनि नसक्ने भइसकेको थिएँ, पृथ्वी उभो आकाश तल देखिन्थ्यो । आधारातमा जोरसाल झर्नु पर्ने, मरेर झरेँ ।

जोरसालमा काठैकाठको पुरानो कालो रङ्ले पोतिएको शताब्दी पुरानो जस्तो घरहरु थिए, फिदिमभन्दा भव्य थियो त्यो बेला । फिदिमको आदिम सौन्दर्य: जहाँ हेर्‍यो, रातोमाटोले रातै ! म त मेरो धारागोला जस्तै लाग्यो । कन्चन रातो माटो देखेर कम लोभ लागेन । बाटो मुनि कुमालेहरुले माटोको भाँडा बनाएर परालले छोपेर पोल्न ठिक्क पारेको रहेछ । कुमालेले भाँडा बनाउने कुरा मैले यसअघि सुनेको मात्र थिएँ, त्यहाँ आँखैले देख्न पाउँदा खुब अचम्म लाग्यो । फिदिममा पानी पर्दा रातो माटोको करामत देखिन्थ्यो । हिँड्दा हिँड्दै जुत्ताको तलुवा बाक्लो भएर आफ्नै जुत्ता आफुभन्दा गरुङ्गो हुन्थ्यो । चप्पल त आफँै फुक्लिएर लाउनै सकिन्दैन्थ्यो ।

जिन्दगीले गरेको दोस्रो ठट्टा

म काकाको ठेक्कापट्टाको काममा सहयोगी हुन त्यहाँ पुगेको थिएँ । त्यहाँका बसाईमा प्रायः एकजना धराने राईको सानो होटलमा खाना खाइन्थ्यो । प्रायःबिहान चाँडै साइड जानु पर्ने हुँदा म फिदिममै बिहानको खाना खान्थेँ । कान्छी तामाङको दोकान अहिलेको तमोर होटल छेउछाउ थियो सायद । सबेरै खाना नबन्ने, म सबेरै हिड्नु पर्ने, भरै आएर खान पनि नसकिने, एकदम सकस थियो । मेरो वाध्यताको फाइदा उठाएर तामाङ्नी कान्छीले बासी भात भुटेर दिन थाल्यो । उ अलिक ज्यादा बोल्ने, छुच्ची पनि थियो । दिनहुँ बासिभात खानु पर्दा मलाई खुब नरमाइलो लाग्यो । पैसा साजीको लिने, खानुपर्ने भुटेको भात । नमिठो, अलिनो उस्तै, अति दुखी भएँ । रुन मन लाग्यो । एक दिन काकालाई भनेँ । काकाले केही भन्नु भयो होला, एकदिन खाना खान जाँदा त बासी भातको साटो गाली पो दनादन आयो । म त छक्क परेँ । बासिभात दिने ऊ उल्टै ‘भासिभात दिएँ अरे ?’ भनेर ए.के. फोर्टिसेभेनको राउण्डमा तालेवानी गाली पो आयो । म खाना नखाइ साइड गएँ । त्यो दिन खाना खाने कुरा तेतिकै हरायो । त्यो दिनको भोक काबुल विमानस्थलमा अमेरिकी जहाजबाट खसेर मरे जसरी अकालमा मर्‍यो । यो दिन मेरो फेदेन बसाइको बिर्सी नसक्नु नमिठो दिन थियो । त्यसपछि म त्यो होटलमा खाना खान छोडिदिएँ । त्यो फेदेन अहिले जस्तो व्यवस्थित बजार नभएर छिटफुट घर मात्र थिए ।

हेँवाको असला माछा

मेरो साइड ओदेनमा थियो, तुम्बापो गाउँ । जोरसाल डेरामा अलिकपछि धरान तिरको एकजना अर्को ठेकेदार पनि सामेल भए । तिनी अलिक ज्यादा पिउँथे । एक साँझ धेरै नै पिएछन् । आधारातमा तिनलाई पिसाबले च्यापेको महसुस भएछ । बत्ती थिएन । हामी अर्को कोठामा थियौं । चर्पी पनि सजिलो थिएन ओर्लेर निकै तल घर पछाडि जानु पथ्र्यो । उनको जडिँया शरीर सम्हालिन सक्ने हालतमा थिएन । उसले इजार खोलेर वरपर गर्‍यो हतारमा घरी भित्ता घरी बरण्डा गरेर कोठैभरि पिसाबको वर्षा । काठको टाँड, पिसाब छिरेर मुनि चुहिएछ । मुनिको वासिन्दामा पनि हङ्गामा मच्चियो । कोठामा अरु पनि कराए । बिहान खाना खाने होटलमा बेलिबिस्तार लाउन मैले आफैलाई रोक्नै सकिनँ । केही दिनमा कुरा कचल्टिएर आयो । होटलवालाले उसैलाई सुनाएछ । हैट ! ठेक्दारले चुरोट पिउँदै मलाई नानापाटेकरको स्टायलमा थर्कायो । ऊ टाँडमा मुत्ने । आफ्नो मुतको बेइजतिमा लज्जित हुनु, क्षमा माग्नु त होइन, उल्टै मलाई थर्काएर भलाद्मी पल्टेको । यसरी जोरसालले जिन्दगीमा दोस्रो पटक ठट्टा गर्‍यो ।

एकजना कामदार यति मोटो थियो कि उसको पेटको छालाले आधि कट्टु छोप्थ्यो । केटीहरु उसलाई देखेर कि हाँस्थे कि तर्सिन्थे । उसलाई यो कुरासँग बालमतलब थिएन । सकेसम्म तरुनीहरुसँग खुब नजिकिन खोज्थ्यो ।

जोरसालमा साँझ मानिसहरु ताँती लागेर बाटोतिर हेरिरहेका थिए । एक डप्फा आर्मीहरुले नल कसेर गह्रुगों चिज ल्याउँदै थिए । उनीहरु हतारमा ब्यारेक फिरिरहेका थिए । पछि थाहा भो, त्यो विशाल क्याटफीस तमोरमा ब्लाष्टिङ गरेर मारिएको थियो । बाफ्रे कत्रो माछा ! कतिले त्यसलाई लिम्बुनी माछा भने । मैले जीवनमा त्यत्रो माछा देखेकै थिइनँ । घटना ‘टक्स अफ टाउन’ भयो निकै समयसम्म ।

पछि हामी पनि हेवाँ खोलामा असला माछा मार्न निकै खेप झर्‍यौं । म नदी, पोखरीमा पौडी खेल्न सौखिन । हेवाँ खोलामा हाल पुलनेरको दहमा मैले पौडी पनि खेलेको छु । एक दिन माङ्जाबुङ हिडेको बेला सिवा खोलाको दहमा लुगा खोलेर पसिहालेँ । म मधेसे, पहाडे खोलाको पानी असह्य चिसो हुन्छ भन्ने ज्ञान भएन, कक्रिएर झन्डै चिलिम भएँ । तर हेँवामा त्यस्तो भएन । केप फ्यूज, जिलेटीनलगायत पहरा विस्फोट गराउँदा उब्रेका सामग्री प्रयोग गरेर हामीले पानीमा विस्फोट गर्‍यौं । खोलाको तलको भूई नै देखिएको थियो । यद्यपी यो काम अवैध, चोरी–चकारी थियो । विस्फोटपछि पानीमा माछा तैरिएका माछा निकाल्यांै । बग्दो पानीको माछा खानुको मज्जा नै बेग्लै । काम निरन्तर चलिरहेको थियो । पारिपट्टी पत्थरको अग्लो पहरा ब्लाष्टिङ गरेर चिरियो । बक्स कटिङ विधिबाट बाटो निर्माण भयो । त्यो मेची राजमार्गकै सबैभन्दा ‘हेभी रक कटिङ’ थियो ।

मैले ओदेन, लालीखर्क भारप्पा, मा विभिन्न खण्डमा साइड हेरेँ । भारप्पामा एउटा साइड, ब्याक कटिङको थियो । दिउँसो काम हेरेर कामदारहरुसँगै खाना खाएपछि सुत्न एउटा छोडिएको घरमा बस्नुपर्ने भयो । जुन घर लोककथाको परित्यक्त भूत घर जस्तो थयो । रातभर उनीहरुसँगै सुतेको भए हुने रहेछ भन्ने भै रह्यो रातभरि । सुनसान सिङ्गो घरमा म एक्लै, अनेक गर्दा पनि पिटिक्कै निदाउन सकिँन । अनिदो रात बिताइदिएँ ।

तुम्बापो कान्छीसँग नबसेको प्रेम

भोलिपल्टै झोला बोकेर म जोरसाल फिरेँ । ओदेन साइडमा दिउँसो खाजा खाने कुनै चाँजोपाँजो थिएन । तुम्बापो कान्छीले एक दिन बाबर पकाएर ल्याइदिइन । ‘हैन बैदारलाई माया गर्छ कि के हो ?’ अरुले उधुम जिस्काएपछि हामी दुबै लाजले पाकेको स्याउ भएका थियौं । छेउघरे कान्छीसँग पनि मेरो नाम निकै जोडेर गीत बनाए । मैले चुपै लागेर बिताइदिएँ । गीत गाउनु जति मीठो छ सुन्नु त्यो भन्दा कम मिठो छैन नि हैन ? तर उसँग मेरो खासै बोलचाल गर्ने मौका नै जुरेन । खाजा खान गाउँ लान्थे साथीहरूले । खाजामा विशेष मकै र भातीको जाँड, भुटेको मकै, तरुल, आलु हुन्थ्यो । कहिलेकाहीँ कामदारहरुले चाम्रे सुङ्गुरको मासु पकाएर ल्याएका हुन्थे, त्यो दिन पिक्निक नै हुन्थ्यो । म ओदेन वरपरका सुनुवार र तुम्बापो परिवारप्रति आज पनि कृतज्ञ छु, जसले मेरो तीन महिनाको बसाईलाई प्रेमिल बनाए । म अहिले पनि सम्झिरहन्छु उनिहरुलाई । मैले डेरा सारेर कामदारसितै ओदेनमै बस्न थालेको थिएँ । एकजना कामदार यति मोटो थियो कि उसको पेटको छालाले आधि कट्टु छोप्थ्यो । केटीहरु उसलाई देखेर कि हाँस्थे कि तर्सिन्थे । उसलाई यो कुरासँग बालमतलब थिएन । सकेसम्म तरुनीहरुसँग खुब नजिकिन खोज्थ्यो ।

एकदिन उसले बजारबाट राँगाको मासु ल्याएको थियो । मासुमा भुत्लै भुत्ला रहेछ । खासमा फेदेनमा राँगाको छाला नकाडी वा भुत्ला नढडाई मासु बेचिन्दो रहेछ । हामीलाई केलाउन कम गाह्रो भएको होइन त्यो बेला । दिकमिक उस्तै लागेको ।

अमर दाई र हरिताल कहानी

जोरसालमा सडक विभागको अफिस बाटो मुन्तिरको घरमा थियो । एक जना शाह थरको इन्जिनियर थिए । हामी साइड देखाउन बनिसकेको सडक जाँचपास गराउन उनलाई लिएर जान्थ्यौं । अमर दाइसँग तेतिखेरै भेट भएको हो । अमर नेम्बाङ भनेर अरुले चिनाएका थिए । मोटो अग्लो ज्यान, एमए पढेको भनेर चर्चित थिए उनी । म चाहिँ अचम्म मान्थेँ अमर नेम्बाङ किन ठेकेदार भएका होलान् भनेर मेरो व्यक्तिगत रुपमा दाईसँग त्यस समयमा उनको सम्वाद सुन्ने नजिक बस्ने बाहेक खास हितैषीपूर्ण दिनचर्या भएन । उनले हेरेका अंग्रेजी सिनेमाको बहुत गफ गर्थे । अरु मुस्काउथे मात्र । इन्जिनियर बेलाबेला गफका टुक्राटाक्री थप्थे । यस्तो लाग्थ्यो उनले अंग्रेजी सिनेमाबारे सुनेकोसम्म होला । अरुले गम्भिर हुनु बाहेक जोर चल्दैनथ्यो । राजनीतिक मुद्धामा भने निकै गर्मागर्मी बहस हुन्थ्यो ।

भारपा, ओदेन, लालीखर्कको साइडमा जाँदा उकालो ओरालो हिड्नु पथ्र्यो । हामी क्रमैसँग हिड्थ्यांै । अमर दाई तेत्रो हेमान शरीरलाई पसिनै पसिना पारेर स्याँस्याँ गर्दै हिड्थे । इन्जिनियरको भने बेग्लै चाला थियो । उनी तीस सेकेन्ड जति उकालोमा दौडन्थे । त्यो मोटो जिउलाई पाँच किलोमीटर प्रति घण्टाको गतिमा ठेली सकेपछि हुरुक्क भएर कतै डिलमा बस्थे । उनी फेरि आरनको खलाति जस्तो एक हर्ष पावरमा धक्न थाल्थे । पामे गोरु जस्तो हेपेक हेपेक । उकालो नसिद्धिन्जेल उनको हिडाई उही पाराको थियो । अमर दाइ लगायत अरु ठेकेदारहरु उनलाई सम्झाउँथे – ‘बिस्तारै हिड्नु पर्छ सर ।’ तर उनको हिडाईको पारा फेरिदैनथ्यो । दाईहरु उनले नसुन्ने गरी भन्थे– ‘हाउ यो इन्जिनियरले त हसाएरै मार्यो त । नसकिने रैछ, धकेर मर्छ होला हाउ ! मरिहाल्यो भने

त हाम्रो बिल चिलिम हुन्छ त !

आयोजनाको भुक्तानी लिन जाने क्रममा अमर दाई सँगै इलामसम्म यात्रा गर्ने मौका पाइयो । त्यो बेला फेदेनबाट इलाम आउँदा लालीखर्क, पौवा भन्ज्याङ, सुके पोखरी, राँके, रक्से, नेपालटार, चुरेघाँटी हुँदै आउँनु पथ्र्याे । चुरेघाँटी बजार खुब चलेको थियो । पछि चवालिस सालतिर पहिरोले भासिएपछि बिब्ल्याँटे बजार बलेको हो । मलाई सुकेपोखरी एक अनौठो रहस्यमय पोखरी लाग्थ्यो । जङ्गलभित्र अध्याँरो गुफा जस्तो कटुसको बढेमान रुखहरुले घेरिएको निलो कालो तर सानो पोखरी । थोरै घरहरु वरिपरि जाडोमा हरेक घरबाट पुत्पुताउने धुवाँले जङ्गललाई अझै घना बाक्लो बनाउने । मेरो पछिल्लो उत्कट इच्छा छ सुकेपोखरी घुम्ने एकरात बिताउने । जिन्दगीलाई यादगार बनाउने । जङ्गलमा पहाडे भेडीगोठ खर्क गोठालाहरुको कष्टकर जीवनको कथा ! उनीहरुको शरीरमा अनायास खरी जुका रुखबाट खसेर रगत चुस्ने गरेको त्रासद वर्णन । गोठालाहरुले खरी जुका भेडा चौरीको जिउबाट टिपेर भेला पार्ने अनि उसिनेर रगत खाने कहानी अमर दाईले पौवाको अँध्यारो चिसो जङ्गल भरी सुनाएका थिए ।

त्यो समय यात्रामा एक दुई घरहरु टार्जेटमा रहेछन् । त्यो बेला सबै यात्रीहरु उ त्यो घरमा केही नखानु हरिताल लाग्छ भन्थे । औलाले देखाउन पनि डराउँथे । उहिल्यै लाहुरेलाई राती हत्या गरेर फोसिमा हालेर चुलामा गाडेको रे भन्दै हरर कथा सुनाउथे । घर नै देखाउँथे । नजिकैबाट हिड्न पनि भयभित हुन्थे । हामीलाई यो डरलाग्दो किस्साले तुरुक्क पिसाब आउला जस्तो हुन्थ्यो । हरिताल वास्तवमा फुडपोइजन हुन सक्छ । खानेकुरा फोहोर बासी भएर ढुसी ढुडिले विशाक्त बन्नु । त्यस्तो खाना शरीर धापिएको समयमा खानु । स्वयम् यात्री थकानले कमजोर बन्नु, अन्य रोगहरुले ग्रस्त भएको पत्ता नहुनु जस्ता संभावित असरले मृत्यु हुनु । अझ जाँड र रक्सि विशेष खाजा हुन्थ्यो । जाँडले मातेर मर्नु कुनै हरिताल होइन जाँडताल हो

यो सांस्कृतिक नकारात्मकताको बारेमा मेरो छोटो विश्लेषण हो । तर हरितालको मिथक एउटा अँध्यारो मिथक हो । कतिसम्म सुनियो भने हरिताल पैतृक र वंशज पनि हो । जो विवाहित छोरीले लिएर जान्छ । हरिताल सम्वृद्धिको निमित्त पालिन्छ । यो एउटा निजी देवता हो । कतिले भकारीमा सर्पै पालेको हुन्छ भन्थे । यतिसम्म कि बरन्डामा सर्प राखेको मेरै आँखाले देखेको भन्थे । नङमा राख्छन् र चाहेको बेला खानामा हाल्छन पनि भन्थे । हुन त संसारको आदिवासीहरुको जीवन पद्धतिमा बिरुवाको चोप, फल, जरा, पातबाट विष निर्माण गर्ने चलन छ । यस्तो विष शिकारको लागि प्रयोग गरिन्छ । विशेष भाँडाको प्रयोगले खानामा विष उत्पादन गर्ने विधि पनि छ । तर मानिस प्रति नै यसको प्रयोग गरेको भन्ने राजदरबारमा बाहेक त्यत्ती सुनिन्दैन । यसरी अपत्यारिलो, अप्रमाणित, ज्यादै अमूर्त मिथकहरु सुनेर हुर्केको पुस्ता हौं हामी । नयाँ पुस्तालाई यो अति ‘कन्फ्ज्यूज इपिसोड’ लाग्न सक्नेछ जो थोरै खुलाएँ ।

अमर नेम्बाङको जंगलसँग प्रेम

म तीन महिनाको फेदेन बसाईभित्रै एसएलसी पास भएको रिजल्ट आयो । त्यसकारण अध्ययनको लागि घर फिरेँ । नयाँ पुस्ता माँझ झापामा साहित्यिक माहोल गजब बढ्यो । नयाँ साहित्यिक संगठनहरु निर्माण भए । म त्यहि दौरानमा गङ्गा चेम्जोङ्सँग धेरै नजिक भएँ । साठिको दशकमा गङ्गाजी काठमाण्डौ भासिए । काठमाडौं पुगेका बेला म एकदिन गङ्गजीको डेरामा पुगेको थिएँ । उनले मलाई एउटा पुस्तक दिदै भने, ‘यो पुस्तक अमर नेम्बाङको हो पढ्नु होला मुनाजी ! निकै राम्रो छ ‘इकोराइटिङ’ सम्बन्धिको पछिल्लो राम्रो किताब हो ।’ गङ्गाजीको सिफारिस थियो । त्यो पुस्तक ‘सम्झनाको तरेलीहरु’ थियो । ‘उहाँलाई भोलि भेटौ न हुन्न ?’ भनेका थिए उनले । भेटेमा एकजना कालो–कालो पातलो ढल्कदो उमेरको मान्छेसँग गङ्गाजीले चिनारी गराए । म छक्क परेँ । दाईसँग भलाकुसारी भयो । परिचय गरियो । मैले फेदेनको कुरा खोल्दै खोलिँन । गङ्गाजीलाई पनि भनिनँ । त्यसको एउटै कारण थियो अमर दाईको उहिले मैले देखेको दौरा सुरुवाल, अस्कोट, कोट, ढाका टोपी लगाएको रेस्लर जस्तो भीमकाय शरीर थिएन ।

तिखेर अधिकारको आवाज उठिरहेको बेला यिनी यी सब चिजबाट बेखबर झैं छन् । भन्छन्, खोइ रुखको अधिकारको कुरा ? तथापि पहिचानको पन्यालो छ्याङ्छ्याङे आवरण ओडेर हिडिरहेका छन् कविताको डाँडै डाँडा । 

मैले अर्कै कोही साहित्यकार अमर नेम्बाङ बुझेँ त्यो बेला । उनै अमर नेम्बाङ हो भन्न मलाई निकै समय लाग्यो । पछि सम्बन्ध नजिक हुँदा पनि यो कुरा भन्ने मौका कदापि नमिली हामी छुट्टी गयौं । गङ्गा चेमजोङको गाउँ र अमर नेम्बाङको गाउँ एउटै हो भन्ने पछि पौवासारताप घुम्दा मात्रै थाहा पाएको हो मैले । इलाम आउँदा सुकेपोखरीको बाटो हिँड्दा अमर दाईले यो जङ्गल मेरो बाबुले घोडा चराउने खर्क हो भनेनन् हामीलाई । त्यस अर्थमा उनले आफ्नो विरासतको घमण्ड गरेनन् । वास्तवमा त्यो नागी जङ्गलमा उनको पिताको विशाल घोडा चरन थिएछ । अहिले हामीले वीकिपिडिया, युट्युबमा हेरेको जंगली घोडाहरुको जस्तो बथान पौवाको घना जङ्गलमा उनको बाबुले पालेका रहेछन् । खुला छोडेर पाल्ने अनि पछि पक्रेर ईलाम पशुपति गोर्खे शनिश्चरेमा बेच्ने गर्दा रहेछन् ।

अमर दाईसँग फेदेनमा साठीको दशकपछि भने बाक्लै भेट भयो । कवि कुना एक समय जुलुम चलेको थियो । कविको जुलुसमा हामी आयामेली सिलाम साक्माको घनत्व पर्गेल्दै कविताको नारा लिएर हेलिन्थ्यौं । त्यो भन्दाअघि वादहरुको फ्याक्ट्रीमा हामी सिर्जनशील अराजकताको डाँडा उक्लेर च्याब्रुङको धुनमा मुन्धुमको सांस्कृतिक स्वच्छन्दताको फैलावटमा थियौं । रङ्गवादको बहुलवादी कटुसको इन्द्रेणी जङ्गल यात्रारत भएर चहारिरहेका थियौं । उत्तरवर्ती सोचको मौलो उखेलेर भर्खरै सुमहालुङको अस्तित्वलाई पुरातात्विक उत्खनन गरिरहेका थियौं । जतिखेर ऊनी इकोराइटिङको केन्द्रमा थिए । सायद ‘कुकुर कविता’ आफ्नो असन्तुष्टी सत्ताको झ्याङ झ्याङ्मा बर्षाउन तयारी थिए । यो उत्तर–उत्तर प्रगतिशीलताको बहुरुप लेखनी यात्राको त्यही रौनकबिच उनीसँग हाम्रो भेट भएको थियो । उनका ‘सम्झनाका तरेलीहरु’ बजारमा चर्चामा थियो । पूर्वी लिम्बुवानमा बिताएको छ दशक लामो जीवनको अनुभवहरुलाई मिहिन लयमा सुस्तरी छोएर बहने हावाको बएली जस्तो अत्यन्तै प्राञ्जल कोमल शब्दमा फूलजस्तो उनेर लिम्बूवानी भूमिको समाजशास्त्रलाई भनेका छन् । प्रकृति, चराचर, बोटबिरुवा, मानव जीवन र मृत्युको सम्बन्धलाई चामल केलाएको झैं जोखेर हेरेका छन् । कति भावुक बन्छन् ।

दुखहरुसँग पाठकलाई डोहोर्‍याएर गहिरो ओडारभित्र छिर्छन् । मृत्युलाई नजिक गएर अनुभव गर्छन् । ग्रामीण संस्कृतिको प्रकृतिसँग गाँसिएको जंगली लहरा जस्तो अनन्त र जटिल सम्बन्धलाई भनिरहेका हुन्छन् । पहाडमा मानिसहरु बाँसको सामानहरु उत्पादन गरेर कठोर जिन्दगीलाई चोया जस्तो काढेर सङघर्षलाई डोकोझैँ बुन्दै पनि कसरी सजिलो छ भन्न अभिनय गरिरहेछन् । पीडालाई दाउरा जस्तो छर्याप–छर्याप साहासको बन्चरोले चिर्दै । सुदुर–सुदुरमा गाउँहरु कस्तरी सम्भावनालाई खनी खोस्री बाँच्नुको अर्थमा जीवनको भिरालोमा उभिरहेछ्न् ।

दियालोको उज्यालोमा जुनकिरीको टिलपिलमा पनि मानिसहरु उज्यालो खोजिरहेछन् । जीवनको गुनासोरहित समय बाँचेका सरल मान्छेहरुको फुक्का सम्झनाहरुको लहरै लहर रोमाञ्चक यात्रामा तानेर लान्छ उनको स्मृतिले । पारिस्थितिक प्रणालीमा पहाडी आदिवासी सांस्कृतिक चैतन्यको बेजोड सम्बन्धलाई अति सुन्दरसँग व्यक्त गरेका छन् ।

एकाएक अमर दाई कविताको स्टेजमा आरोपित भए । उनको काव्यिक विश्व दर्शन सुनेर हामी त्यस समय मुग्ध भयौं । २०७१ मा ‘एउटा साँझको अवसान’ कविता कृति प्रकाशन भयो । मसँग उनैको कोमल हस्ताक्षर सहितको काव्यकृति सङ्ग्रहित छ । कोमलता भावुकता दया विनयीभाव प्रकृतिसँगको उच्छ्वास उनको कवितामा गहिरो गरी निर्मित छ । लाग्छ उनी जतिखेर पनि पग्लिरहेका छन् । सुक्ष्म र कम आँकिएको विषयवस्तुलाई अत्यन्त सजाएर भन्नु । कमसल वस्तुलाई महत्व प्रदान गरेर प्रस्तुत गर्नु जुन शिल्प ऊनी चातुर्यसाथ प्रस्तुत गर्छन् । तमाम कविहरु मानवीय वा जनावरिय पीडालाई व्यक्त गरिरहेका बेला अमर दाइ रुखहरुको, पुतलीहरुको पीडालाई लेख्छन् । यो खासमा वातावरणीय लेखनको एक संरचना हो । मान्छे स्वार्थी बनेर आफ्नो लागि मात्र सोचिरहेको बेला उनी रुख किटपतङ्गबारे ज्यादा सोच्छ्न् ।

भूईंकुहिरोसँग प्रेम

एक्लै पौवासारतापको भूमिमा बाटो हिड्दा बाटोसँगै कुहिरोको बिचबाट हिडिरहन्छन् । यिनी ज्यादै लहडी छन् । भावुकताको पृथ्वी छ यिनिसँग । लाग्छ प्रकृतिवाद र रोमान्टिसिज्मको मेहेरोमा हराइरहेका छन् । यतिखेर अधिकारको आवाज उठिरहेको बेला यिनी यी सब चिजबाट बेखबर झैं छन् । भन्छन्, खोइ रुखको अधिकारको कुरा ? तथापि पहिचानको पन्यालो छ्याङ्छ्याङे आवरण ओडेर हिडिरहेका छन् कविताको डाँडै डाँडा । अधिकार क्षेत्रको सर्वाङ्ग चित्र नौनीले छोपेर ब्लोअप गर्छन् । कविता र राजनीति फरक कुरा हो भन्ने तथ्यलाई काँधमा एकपल्ट होइन सधैंलाई राखेर हिडी गैगएका छन् । नेपाली कवितालाई त्यस्तो सन्दर्भ स्रोतको रुपमा सायदै लिने अमर दाइ आफ्नो कवितालाई के भन्थे नसुनी छुट्टीयौं । लेख्य रुपमा आफ्नो कवितालाई प्राकृतिक प्रस्फुटन भनेका छन् ।

उनी पश्चिमा कवि लेखकबारे घण्टौं बोल्न सक्ने सामथ्र्य राख्थे तर नेपाली कवि लेखक सम्बन्धमा त्यति नबोल्ने गरेको टिप्पणी उनीमाथि थियो । यो उनको रुचि शालीनता, अप्रभावकारीता जे भन्न सकिएला । उनको कविता पढ्न मानसिक जोस, उन्माद, आक्रोश उत्तेजना सबै कोट जस्तो खोलेर शान्त भएर ग्रहण गर्नु पर्ने हुन्छ ।

फेदेनको पछिल्लो कार्यक्रमहरुमा प्रमुख वक्ताकै रूपमा अमर दाइ आफ्नो धारणाहरु राख्थे । कविताको पान्थरे अस्तित्व र परिभाषा भन्दा बेगल फम्र्याट थियो उनीसँग । पश्चिमा कवि लेखकको दार्शनिकतामा आफूलाई खर्लप्पै निचोरेर चोबेका थिए । त्यो भावनात्मक मानवतावादी बौद्धिकताको तानमा लिम्बू संस्कृति, भुगोल, पर्यावरण र नेपाली समाजको रङ, बुट्टा र चेतना भरिएको कविता बुनेर नेपाली साहित्यलाई अर्पण गरे । देशको माओवादी द्वन्द्वमा थातथलो छोड्नु पर्दा यिनी ज्यादै निरास भए । त्यहीँ निरासामा कविता नै उनको अभिव्यक्तिको शक्तिशाली ढोका बन्यो । उनी आफ्नो गाउँमा छोडिगएको दुनियाँमा हराइगए । उनी चिनियाँ कवि मो यानको भ्रान्तिपूर्ण स्वैरकल्पनाको बाटोमा हिँडे । समवेदनाको गहिराको तन्द्रामा कवितालाई प्राप्त गरे ।

ज्यादातर उनी स्ला सेफर्ड, डेरेक वाल्कोट, ग्राबियल आदि क्लासिक कविहरुको भावनात्मक गहिराईमा डुबे । अक्टोभिया पाजको भावनात्मक बौद्धिकता मानवतावादी अखण्डता, नेरुदाको प्रेमिल भावना, मायाकोवोस्किको जादुमय लय, अहन्ना अख्माटोभाको स्वच्छ विम्ब विधान, गिन्सवर्गको सम्पत्ति विरोधी भावना आदि धेरै विचार, शक्ति, शिल्प, सामथ्र्यबाट यिनी प्रभावित भएको स्विकारेका छन् । कविता अपरिभाषित र अब्याख्या छ । मात्रै अनुभूतयोग्य छ भन्ने क्रीष्टोफर लोगको मतलाई धारण गर्ने अमर दाई मेरो कविता मात्र एक अनुभूति भन्छ्न् । तथापि कविताको घनिभूत बहुल अर्थान्तरण अर्थानुत्पत्ती बर्षौ अघिदेखि चलिरहेको छ । आजको अर्थहरु परिवर्तित विश्व परिवेश देशमा स्थापित नवीन राजनीति वैशिक श्रम तथा प्रविधिको विकासले अर्थहरुलाई ब्याख्याको लहरमा कसि हालेर लान्छ । अर्थहरु शक्ति र शक्तिहिनतातिर मोडिन सक्छ ।

अमर दाईले मेरो कविता कृति ‘शब्दहरुको याक्सा’बारे धेरै पछि कुनै एक प्रसङ्गमा एक वाक्य बोलेका थिए । अँ है शेर्माले शब्दलाई बहुत खेलाउदो रैछ । त्यसपछि उनी केही बोलेनन् । अरुले पनि खासै अमर दाईले गर्ने टिप्पणीबारे बोले जस्तो लाग्दैन । उनी पश्चिमा कवि लेखकबारे घण्टौं बोल्न सक्ने सामथ्र्य राख्थे तर नेपाली कवि लेखक सम्बन्धमा त्यति नबोल्ने गरेको टिप्पणी उनीमाथि थियो । यो उनको रुचि शालीनता, अप्रभावकारीता जे भन्न सकिएला । उनको कविता पढ्न मानसिक जोस, उन्माद, आक्रोश उत्तेजना सबै कोट जस्तो खोलेर शान्त भएर ग्रहण गर्नु पर्ने हुन्छ ।

छोडिगएको हराइगएको प्रिय यादहरुको जङ्गलमा उनी आँसु खोज्न हिँड्छन् । आफ्नो बितिगएकी सङ्गिनीको प्रतिक्षामा साँझको झरीलाई प्राप्त गर्छन् । सङ्गिनीको आँसु ठान्छन् । निकै गहिरो वेदना छ यिनको छातिमा । दिवङ्गत मायालाई प्राप्त गर्न झरीमा भिजेर यिनलाई एकान्त ज्यादा रुचि थियो । जुनेली रातमा जूनसँग बसेर रक्सी पिउँदै धान नाँच्ने अनौठो विम्बको दुर्लभ प्रयोगमा रोमान्चित बन्छन् । फ्यान्टासी पनि स्थानीक सांस्कृतिक अपनत्वले भरिएको छ । यिनले कविता नभेटेको भए ‘सम्झनाहरुको सेक्मुरी’ फुलाउदैन थिए । नोस्टाल्जिक घाउहरु गाढे पल्टेर स्मृतिको जङ्गलमा बिरामी यात्री थिए उनी । त्यहाँ उनी बैसमा धान नाचेको अघोर सुन्दरीको भुईसोरी सेवारो सम्झेर हुरुक्कै हुन्थे । कविताले उद्दार नगरेको भए यिनी सम्झनाको लहरामा अल्झेर बेपत्ता हुन्थे सायद । मानिसलाई बाँच्न सिकाउने अमुर्त विचार हो कविता ।