बलात्कारी समयको बयान

बलात्कारी समयको बयान

जेष्ठ १, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

त्यो एउटै समय थियो
जाहेरीमा उल्लिखित
रगताम्य सेतो जामा उखुबारीमा भेटिनु
र पुछ्दै कुमारी रगतको बाछिटा
एउटा जान–पहिचान आकृति सिंहदरबार छिर्नु ।

त्यो एउटै समय थियो
पुलमुनि कसैको कलिलो चिच्याहट सुनिनु
र राजधानीमा संविधान उत्सवको नगरा बज्नु
अलपत्र छाडेर किताबका पानाहरू
खेल्दै गरेकी छोरी आँगनबाट हराउनु
र राष्ट्रिय धुन बज्नु ।

त्यो एउटै समय थियो
काँसघारीमा भेटिनु एउटा नानी फूलको लास
लासबाट हराउनु उसको रातो जामा र नाकको फूली
र देशभक्तिको फूली सिउरेर काँधमा सलामीको बुट बजार्नु ।

त्यो एउटै समय थियो
एउटा कसुरदार
सर्वोच्च अदालतको मूल ढोका पुगेर
कुर्लन्छ — मलाई असाध्यै मनपर्छ नानी फूलहरु
म उनीहरुलाई प्रेम गर्छु ।

त्यो एउटै समय थियो
उसको बकपत्र आउनु
र स्कूलबाट फर्कदैं गरेकी छोरी हराउनु
नौ महिने सोनाली झाडीमा भेटिनु
दाउरा खोज्न गएकी भाउजू लुटिनु
सरकार ! कति घिनलाग्दो समय हो यो ?
किन झुट बोलिरहेछन् तपाइका बडाहाकिम ?
छोरी लुटिएकी हैन उत्ताउलिएकी हो
किन मिल्दैन भनिरहेछन् ?
तपाईंका डाक्टरहरू
क्षतविक्षत योनीबाट बगेको रगत
र अधम पुरुषको जाँघमा लत्पतिएको विर्यको डिएनए ?

कसले च्यात्यो कोपिला फूलका पत्रहरु ?
र आधा चित्र कोर्दै गरेको क्यानभास ?
कसले रोक्यो भर्खरै चाल्न थालेका पाइला
को हो अठ्याउँने चिचिला जिन्दगीको धून ?
दिनदहाडै बलात्कृत
म उही निर्मला हुँ सरकार !
म मरेकी छैन
यी सडकभरी चिच्याइरहेका मेरा आवाज हुन्
मलाई जवाफ देऊ,
निधारमा तिम्रै दस्तखत बोकेर
तिम्रो ढोकासम्म आइपुगेकी यो देशको नागरिक
मेरी आमालाई जवाफ देऊ !
सरकार !
मेरो जाँघमा लत्पतिएको वीर्य
किन तिम्रो अनुहारसँग मिल्छ ?
भन ! के तिमी नै हौ मेरो बलात्कारी ?

यतिबेला म उभिएकी छु शिरमा कफन बाँधेर
न्यायका लागि उठेका यी हातहरूबीच
बोकेर आएकी छु
तिमीले च्यातिदिएका चित्र र भाँचिएका कलमका टुक्राहरू
अब यिनै हातहरुले अँठ्याउने छन् तिम्रो कठालो
लतार्दै ल्याउने छन् सडकमा
त्यो बेला अवश्य झुक्नु पर्नेछ तिमीले
आफैंले कुल्चेर हिडेको
विभत्स मेरो लाससँग ।


यो कविता ‘निर्मलाका निम्ति न्याय’ अभियानअन्तर्गत २०७५ असोज ५ गते काठमाडौंको वसन्तपुरमा क्याफे कविताको संयोजनमा आयोजित ‘सडकमा कविता’ कार्यक्रममा वाचन गरिएको थियो ।