दिल्लीदेखि सैनिक ब्यारेकसम्म

दिल्लीदेखि सैनिक ब्यारेकसम्म

जेष्ठ ३१, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

साउन महिना, दिल्लीमा पानी परिरहेको थियो । म बस्ने क्षेत्र नजफगढको वरिपरि कृषकहरू खेतीबालीको काममा निमग्न थिए । झरीबीच पनि बजारको चहलपहल उस्तै देखिन्थ्यो ।

हाम्रो भूमिगत भेटघाट प्रायः नयाँ दिल्ली रेल्वे स्टेसन, पुरानो दिल्ली रेल्वे स्टेशन, नाग्लोइको रेल्वे स्टेशन, मेहरौलीको बस अड्डा वा अन्तर्राष्ट्रिय बस अड्डातिर तय हुन्थ्योे । चौबिसै घण्टा भीडभाड हुने ती ठाउँमा कसैले कसैको परवाह नगर्ने हुँदा ती स्थान सुरक्षित मानिन्थे । अहिले पनि ती रेल्वे स्टेशनमा पुग्दा मलाई युद्धकालीन दिनको याद आउँछ ।

दिल्लीमा बसोबास गरिरहेका तर स्थानीय प्रशासनको निगरानीमा नपरेका नेपालीको आवास पनि भूमिगत भेटघाटका लागि सुरक्षित स्थान हुन्थे । पार्टी संगठनमा आबद्ध नभए पनि ती नेपाली जनयुद्धका समर्थक थिए ।
एकातिर जनयुद्धको प्रभाव बढ्दो थियो, अर्कातिर सरकारले संकटकाल लगाएर नेकपा (माओवादी)का नेताको टाउकाको मूल्य तोकेको थियो । दिल्लीमा म २७ लाख मूल्य तोकिएको टाउको बोकेर भूमिगत रूपमा काम गरिरहेको थिएँ ।

गद्दारको जगजगी
पार्टीका केही साथीलाई गिरफ्तार गरेर भारत सरकारले नेपाल सुपुर्दगी गरिसकेको थियो । नेपालमा पनि काठमाडौँ, बुटवल, पोखरालगायत ठूला सहरमा सरकारले गुप्तचर फिँजाएको सूचना पाएका थियौं । केही नेता पक्राउ पर्नुभएको थियो । तत्कालीन पार्टी मध्यकमाण्डका सहायक इन्चार्ज टोपबहादुर रायमाझी ‘अनिल’ ‘फिल्ड’को जिम्मेवारी छोडेर भारत पुग्नुभएको थियो । दिल्लीमा हाम्रा खुला कार्यक्रम बन्द भइसकेका थिए ।
सुरक्षाका हिसाबले आफ्नो बसाइ नजफगढबाट गाजियावाद सार्ने निधो गरेको थिएँ । क्रान्तिप्रतिको समर्पणभाव थियो, बलिदानकै लागि तयार थिएँ । तर कुनै हिसाबले लापरवाही नहोस् र कुनै पनि योद्धाको मृत्यु नहोस् भन्नेमा सचेत हुनु आवश्यक थियो, उच्च सतर्कता आवश्यक थियो ।

त्यतिबेला क्रान्तिप्रति गद्दारी गर्ने, धोका दिने, कायरता प्रदर्शन गर्ने प्रवृत्ति देखा परेको थियो । जसप्रति घृणा जागेर आउँथ्यो । त्यस्तै पार्टीभित्रको वैचारिक अन्तरसंघर्षको प्रभाव पनि गिरफ्तारीमा पनि देखापरेको थियो । केहीले आफ्नो ज्यान बचाउन सेनालाई साथीहरूको कोठा देखाउँदै हिँड्नु भएको थियो । त्यस्तो गद्दारीको सिकार कुनै पनि बेला म पनि हुनसक्थेँ । किनकि मेरो ‘सेल्टर’का बारेमा मध्य कमान्डका कमरेडहरूलाइ राम्ररी जानकारी थियो ।

केहीले आफ्नो ज्यान बचाउन सेनालाई साथीहरूको कोठा देखाउँदै हिँड्नु भएको थियो । त्यस्तो गद्दारीको सिकार कुनै पनि बेला म पनि हुनसक्थेँ ।

गिरफ्तार भइहाले के होला ? दिल्ली त अवश्य राख्दैन, नेपाल नै सुपुर्दगी गर्छ । मनमनमा यस्ता भाव उठिरहन्थे । नेपाल लगेपछि हत्या नै गर्छ । ठिकै छ, बलिदानीको निम्ति हिडेको हुँ, जीवनदानको भीख त माग्न हुँदैन । यस्तै सोचेर म हरदम आत्मबल बलियो बनाइरहेको थिएँ ।

मैले बसाइ सर्नेबारे दुईजनासँग मात्र सल्लाह गर्ने निधो गरेँ । पिपुल्स वार ग्रुपका बौद्धिक व्यक्ति प्रो. जे.एन. शाहीबाबा र धेरै सूचना पाउने पत्रकार आनन्दस्वरूप बर्मा । त्यसबेला प्रवास पार्टी इन्चार्ज कृष्णबहादुर महरा थिए, उहाँलाई जानकारी मात्र गराएँ ।

गाजियावादमा अखिल भारत नेपाली एकता समाजका नेता रोमबहादुर कुँवर र ईश्वरी भण्डारीले बसाइको व्यवस्था गरिसक्नुभएको थियो । केही दिनमा हिँडने तयारीमा थिएँ ।

आनन्दस्वरूप वर्मा उत्तर प्रदेशको नोएडा बस्नुहुन्थ्यो, दिल्लीको नजिक नै थियो । पार्टी हेडक्वाटरसँग भनेको थिएँ कि अब मैले दिल्ली छोड्नुपर्छ । देशमै जाने वा बम्बई–कलकत्ता कतैबाट काम गर्नु बढी सुरक्षित हुन्छ भन्ने विचार राखेको थिएँ । तर हेडक्वाटरको विचार भने आसपासका सुरक्षित क्षेत्रमा रही काम गरेर दिल्ली नछोडे हुन्थ्यो भन्ने थियो । यही बिषयमा छलफल गर्दागर्दै केही दिन बितिहाल्यो ।

ढोकैमा सिआइबी
१९ साउन, ०५९ का दिन म पार्टीकै सल्लाहमा प्रो. एसडी मुनीलाई भेट्न साँझ ६ बजे जवहारलाल नेहरु विश्वविद्यालय पुगेँ । तर मुनि त्यहाँ भेटिएनन् । विचार गरेँ– दिल्लीमै भएर पनि छोराहरूलाई देख्न नपाएको तीन महिना भइसकेको थियो । नजिकै आइपुगेको बेला परिवारलाई भेटेर जानुप-यो । र, अर्कोदिन बिहानै निस्कने सोचका साथ परिवारको बसाइ भएको ठाउँ ओल्ड क्याम्पसतिर लागेँ ।

कोठा पुग्दा सात बजेको थियो । श्रीमती शोभा, १७ वर्षको छोरा कमल, १२ वर्षको छोरा राम र उपचारका लागि आएकी कमरेड आरती थिइन् कोठामा । अचानक मलाई देखेर एकछिन सबैजना खुसीले अवाक् भए ।

रणधीर सिंह ढोकामा फुत्त देखा परे । मन स्वाट्टै चिसो भयो । सादा पोशाकमा आएका ती सेन्टर ब्युरो फर इन्भेस्टिगेसन (सिबिआइ) विभागको सहायक पुलिस कमिसनर थिए । उनका साथमा ४ जना प्रहरी पनि थिए ।

श्रीमतीले चिया पकाएर दिइन् । चिया पिउँदै उपचारार्थ आएकी कमरेड आरतीसँग कुरा के गर्न थालेँ । त्यत्ति नै बेला पूर्व जेएनयुका विद्यार्थी रणधीर सिंह ढोकामा फुत्त देखा परे । मन स्वाट्टै चिसो भयो । सादा पोशाकमा आएका ती सेन्टर ब्युरो फर इन्भेस्टिगेसन (सिबिआइ) विभागको सहायक पुलिस कमिसनर थिए । उनका साथमा ४ जना प्रहरी पनि थिए । परिवार भेट्ने भावुकताले सिद्ध्यायो भन्ने लाग्यो । घर खानतलासी गरे भने सिंगो परिवार नै संकटमा पर्ने त्रासले मन सिताङ्ग भयो । तर उनीहरूले त्यसो गरेनन् ।

सहायक कमिसनर सिंहले भने– ‘मलाई क्षमा गर्नुहोला, तपाईंलाई गिरफ्तार गर्ने सरकारको आदेश छ । अरूलाई पठाउन सकिनँ र म आफैँ आएँ, अब मसँग हिँड्नुहोस् ।’

त्यहाँ केही प्रतिवाद गर्ने ठाउँ थिएन । म प्रमाणित माओवादी थिएँ, त्यो पुष्ट्याईँका लागि उनीहरूलाई प्रमाण चाहिएको थिएन । गिरफ्तारी गरी सुपुर्दगी गर्ने भारत सरकारको आदेश थियो । त्यसबेला भारतीय जनता पार्टीको सरकार नेपालको राजतन्त्रको समर्थक थियो ।

श्रीमती बेहोस
कोठामा स्तब्धता छायो । शोभा एकदमै चिन्तित देखिइन् । सानो छोराले स्थितिको खासै मेसो पाएन । आरतीलाई भेटघाटमा आएको नातेदार भनेर जोगाइयो । तर मैले उनीहरूसँग जानु नै थियो । पर्समा ५ हजार ४ सय रुपैयाँ थियो । बाथरूम जाने निहुँले पाँच हजार त्यही छोडिदिएँ, त्यति भएपनि परिवारलाई काम लाग्ला भनेर । श्रीमती र ठूलो छोरा रुन थालेका थिए । तर म प्रहरीसँग जानुको विकल्प थिएन ।

घरबाहिर दुईसयको हाराहारी प्रहरी फोर्सले घेरा हालेका रहेछन् । हजारौँ मानिस जम्मा भएका रहेछन् । मलाई भीडबाट लैजाँदै गर्दा देखेँ– श्रीमती लडेर बेहोस भइन् । पछि थाहा भो, छिमेकी नेपाली रामबहादुर थापाकी श्रीमतीले सम्हाल्ने काम गरिछन् । मलाई गिरफ्तारी गरेको देख्दा छिमेकीहरूले कुनै ठूलो कुख्यात डाकु वा ठूलो आतंककारी भएको अनुमान गरे होलान् ।

रबाहिर दुईसयको हाराहारी प्रहरी फोर्सले घेरा हालेका रहेछन् । हजारौँ मानिस जम्मा भएका रहेछन् । मलाई भीडबाट लैजाँदै गर्दा देखेँ– श्रीमती लडेर बेहोस भइन् ।

मसँग खल्तीमा बाँकी रहेको ४ सय रुपैँया, केही कागजात र मोबाइल सेट प्रहरीले लियो । पार्टी पंक्तिका कसैलाई फोन खबर गर्न पनि पाइनँ । मलाई सिबिआइ हेडक्वाटर लोधी रोड लगियो। चिन्ता लाग्न थाल्यो– परिवारले के गर्लान्, के खालान् । छोराको पढाइ के होला ? श्रीमती होसमा आइन् कि आइनन् ! प्रहरीको ७ ओटा गाडीले स्कर्टिङ गर्दै लोधी रोड पु-याउँदै गर्दा मनमा थुप्रै तरंगहरू आए । सारा श्रमजीवीका परिवार सम्झिएँ । घाइते र शहिद परवारलाई सम्झिएँ । र, आत्मबल बलियो बनाएँ ।

त्यहाँ मलाई एक घण्टा राखेर आतंककारी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै देश निकाला गरेको चिठी थमाइयो । चिठीको कपी मेरो परिवारलाई पनि पठाइयो । त्यसपछि उत्तर प्रदेशको लखिमपुर हुँदै महेन्द्रनगर सुपुर्दगी गर्ने निर्देशन रहेछ । गिरफ्तारी गर्ने समूहमै आएका प्रहरी अधिकारी अमर सिंहबाट थाहा पाएँ । उनले त्यसअघि मलाई पटक–पटक गिरफ्तार हुनसक्ने सम्भावित खतराबाट बचाउ गर्न सूचना दिएका थिए । तिनलाई ‘मेरो परिवारको ख्याल राखिदिनू, अप्ठ्यारो परेमा नेपाल जान भनिदिनू भनेँ । उसो त, असुरक्षा नेपालमा झनै थियो । मेरी श्रीमती पनि पार्टीको जिल्ला कमिटी सदस्य थिइन् । पक्राउ पर्ने वा मारिने सम्भावना उत्तिकै थियो ।

सेनालाई २७ लाखको खुसी !
मलाई जिपमा राखियो । ४ जना पुलिस बसे, २ जनासँग राइफलधारी, दुईजना निःशस्त्र देखिन्थे । हतियारविनाका दुई जवान चाहिँ नेपाली सेना वा पुलिसको जवान हुन् भन्ने लाग्यो । त्यहाँबाट हिडाउने बेला जीपका पुलिसलाई रणधीर सिंहले भनेका थिए, ‘उहाँलाई हत्कडी नलगाइकन अगाडि राखेर लैजानू, खाना खानुभएको छैन, बाटोमा खुवाउनू ।’ सिंहले पाँच सय रुपैयाँको नोट पनि प्रहरीलाई दिए र मसँग पनि बिदा मागे ।

मलाई दिल्लीमा राख्ने हो भने राजनीतिक दल, पत्रकार, बुद्धिजीवी, कानून व्यवसायी, मानवअधिकारकर्मीले ठूलो हंगामा गर्छन् र सरकारको पनि बेइज्जत हुन्छ भन्ने उनीहरूलाई परेको रहेछ । त्यसैले रातारात हिँडाइएको रहेछ । गाजीपुर पु-याएपछि प्रहरीले खाना खाने कुरा गरे, मैले अस्वीकार गरेँ । उनीहरू ४ जना र ड्राइभरले खाना खाए । मलाई भाग्छ कि भनेर सँगै राखे । खाना खाएर हिँडेपछि नेपालीजस्ता लाग्ने दुईजनाले खासखुस गर्दै थिए– यसलाई बुझाएपछि २७ लाख पाइने भयो । अब नेपालमा बसे माओवादीले मारिहाल्छन्, दिल्लीतिरै बस्नुपर्छ ।

हल्ला फैलिएको रहेछ– दिल्लीबाट जनयुद्धलाई हतियार सप्लाइ गर्ने, बाबुराम–प्रचण्डका निकटका खास ठूलो नेता वामदेव क्षेत्रीलाई ल्याएको छ । त्यहाँको चौकीमा दुईसय हाराहारीका पुलिसहरू तैनाथ थिए ।

तिनको गफबाट ती नेपाली सेना वा पुलिसका व्यक्ति हुन् भन्ने पक्का भयो । तर उनीहरूले मेरो सामु नेपाली बोलेनन् । बोल्दा नेपाली शब्द मिसिएको हिन्दी बोल्थे ।

वनवासा पुगेपछि चिया खाने कुरा गरे । मलाई पनि निकै भोक लागेको थियो । मैले त्यहाँ भने चिया खाएँ, त्यतिन्जेल बिहानको ९ बजिसकेको थियो । मलाई १० बजे महेन्द्रनगर पु-याए । र, त्यहाँका डिएसपीलाई बुझाइयो, डिएसपीको नाम भने भुलेँ । त्यहाँ हल्ला फैलिएको रहेछ– दिल्लीबाट जनयुद्धलाई हतियार सप्लाइ गर्ने, बाबुराम–प्रचण्डका निकटका खास ठूलो नेता वामदेव क्षेत्रीलाई ल्याएको छ । त्यहाँको चौकीमा दुईसय हाराहारीका पुलिसहरू तैनाथ थिए । मलाई पु-याएपछि एक गाडी सेना र एक गाडी सशस्त्र प्रहरी आइपुगे । जनयुद्ध सेनासँगको भीडन्तको चरणमा अघि बढेको थियो । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी मिलाएर एकीकृत कमाण्ड बनाइएको थियो ।

महेन्द्रनगरमा सुपुर्दगी गरेपछि भारतीय प्रहरीको जीप फर्कियो । ती मिसमासे भाषा बोल्ने दुईजना नेपाली सेना रहेछन् भन्ने थाहा भयो । मैले जीवनको आशा मारिसकेको थिएँ । दुश्मनका कब्जामा परेपछि दिइने यातनाबारे साथीहरूको संस्मरण पढेको थिएँ । आफैँ परेपछि यथार्थ अनुभूति गर्न आत्मबल बलियो बनाउनुको विकल्प थिएन । यातनाका कारण क्रान्तिप्रति गद्दारी गर्नुहुँदैन भन्ने मनमनै संकल्प गरेँ ।

हेलिकोप्टरमा काठमाडौं
मलाई दिनभर कोठामा राखियो । ४ बजेतिर ४ वटा प्रहरीको गाडी अगाडि र ४ वटा पुलिसका गाडी पछाडि तैनाथ गरेर मलाई हतियारधारी पुलिससहितको जीपमा राखियो । मैले सोचेको थिएँ– चिसापानी सैनिक ब्यारेकमा लैजालान् । तर ७ः३० बजे नेपालगञ्ज क्षेत्रीय प्रहरी कार्यालय पु-याइयो । त्यहाँ मलाई छुट्टै कोठामा राखियो । कोठा सफासुग्घर थियो । पुलिस अफिसरले खाने खाना खान दिए, हत्कडी खोलिदिए र पलङ्गमा सुत्न दिए । बाहिर दुईजना प्रहरी राइफलसहित ड्यूटीमा थिए । छतमा १०/१२ जना प्रहरी देखिए । मैले सोचेँ– सत्कारबाट भावुक भएर गोप्य सूचना दिन्छ भन्ने आशामा त्यसो गरिएको होला । तर त्यसो होइन रहेछ । शान्ति प्रक्रियापछि थाहा भयो– त्यसबखत त्यहाँका डिआइजी अशोक श्रेष्ठ रहेछन् । उहाँ मेरै गाउँको र नाता पनि पर्ने हुँदा पो त्यो सत्कार गरिएको रहेछ ।

भोलिपल्ट बिहान मलाई सोधपुछ गरियो । हतियार, घाइतेको उपचार र कमरेड अशोकको बारेमा । युद्धका घाइतेको उपचारमा खटेका अशोकबारे उपचारकै क्रममा गिरफ्तार भएका दुई जनाले पोल खोलेका रहेछन् । तर मैले थाहा नभएको बताएँ ।

अर्कोे दिन खाना खाइसक्नेबित्तिकै एक प्रहरी आएर मेरो आँखामा पट्टी बाँधे र हत्कडी लगाइदिए । लाग्यो– अब खराब दिन सुरु भयो । जीपमा राखियो, तर कहाँ लाने हुन् थाहा थिएन ।

अर्कोे दिन खाना खाइसक्नेबित्तिकै एक प्रहरी आएर मेरो आँखामा पट्टी बाँधे र हत्कडी लगाइदिए । लाग्यो– अब खराब दिन सुरु भयो । जीपमा राखियो, तर कहाँ लाने हुन् थाहा थिएन । तर त्यो अन्योल धेरैबेर रहेन । केहीबेरमा हेलिकोप्टर आयो र त्यसमा एक्लै राखेर मलाई काठमाडौँ पु-याइयो ।

हेलीकप्टरबाट ओर्लिएपछि एक जना सैनिक अधिकारीले भने, ‘नमस्ते ! तपाईंलाई काठमाडौँमा स्वागत छ !’ त्यसपछि मलाई जीपमा राखियो । गाडीमा मैले खासखुस सुनेँ– भयंकर मानिस होला भनेको त, यस्ता दुब्लो पातलो दाह्री पालेको मान्छे पो रहेछ । दिल्लीमा पुलिसले कुटेर यसका हात भाँचिएका होला (दिल्लीमा गाडीबाट ओर्लने क्रममा हात भाँचिएको प्रसंग यसअघि नै उल्लेख गरिसकेको छु) ।

उनीहरूले मलाई एक घण्टाजति सहरतिर घुमाएर शिवपुरीस्थित भैरवनाथ गण रहेको सैनिक ब्यारेकमा पु-याइयो । त्यो माओवादीका लागि विशेष यातना गृह बनाइएको रहेछ । मैले आत्मबल उच्च बनाइसकेको थिएँ । हत्या नै गरे पनि झुक्नुहुँदैन भन्नेमा दृढ संकल्पित थिएँ । त्यसैले डर घट्दै थियो, परिवारप्रति चिन्ता पनि क्रमशः कम हुँदै गएको थियो ।
(प्रस्तुत संस्मरणको श्रृङ्खला हरेक सोमबार जिन्दगानी डटकममा प्रकाशित हुन्छ ।)
०००
अघिल्ला शृंखला पढ्नुहोस्
📍 जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
📍 दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…