दुश्मनका आँखा छल्दै गुल्मीमा भूमिगत

दुश्मनका आँखा छल्दै गुल्मीमा भूमिगत

साउन १८, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- दश

मैले क्षेत्रीय ब्यूरोभित्र पर्ने केन्द्रीय सदस्यहरूको बैठकबाट गुल्मीको जिम्मा लिएर फर्कें । मनमा थुपै्र कौतुहलता थिए, जिल्लामा पार्टीभित्रको अन्तरसंघर्षसँग भिड्नु थियो । मैले इन्चार्जसँग त्यहाँको समस्या समाधान गर्ने ६ महिनाको समय लिएर हिडेको थिएँ । पार्टीभित्रको अन्तरसंघर्ष र वर्ग संघर्षसहित स्थानीय अन्तरविरोधबीच मैले काम गर्नु थियो । म ढुक्क थिएँ कि मरे पनि मेरै जिल्लामा सहिद हुनेछु । आत्मबल बलियो बनाएर क. उमा भुजेल ‘सिलु’सँग अर्घाखाँची हुँदै गुल्मी प्रवेश गरेँ । गुल्मी विशेष क्षेत्रमा पर्ने श्वेत जिल्ला (सांगठनिक तथा सुरक्षा दुवै हिसाबले कमजोर क्षेत्रलाई श्वेत भनिन्थ्यो) थियो ।

  • क्रान्ति र जनता पानी र माछाका पर्याय थिए । जनताले नै हामीलाई जोगाउँछन् भन्नेमा म ढुक्क थिएँ ।


प्रतिक्रियावादीहरूले एउटा सामान्य समर्थक वा एरिया वा गाउँ स्तरको एउटा कार्यकर्तालाई भेट्दा त नक्कली मुठभेडका नाममा कायरतापूर्वक हत्या गर्ने शासकले जनयुद्धको नेतृत्व नै गर्ने केन्द्रीय सदस्यलाई फेला पार्दा के गर्लान् ? यस्ता विषयमा मनमा तरंग आउनु स्वभाविक थियो । मलाई गुल्मीमा काम गर्न चुनौती नै थियो । क्रान्तिमा होमिएका जनता र कार्यकर्ताबीच अधिकतम सुरक्षासहित अगाडि बढ्ने योजना बनाउनु थियो । आफ्नै गृह जिल्ला भएकाले त्यहाँ शुभचिन्तक र शत्रु पक्ष उत्तिकै थिए । जता फर्के पनि चिनेजानेका मान्छे हुने ठाउँमा प्रतिक्रियावादीका आँखा छल्नु सामान्य कुरा थिएन । मैले त्यो चुनौती सामना गर्न तयार भएँ । क्रान्ति र जनता पानी र माछाका पर्याय थिए । जनताले नै हामीलाई जोगाउँछन् भन्नेमा म ढुक्क थिएँ ।
गुल्मी पुगेपछि सचिव सुदर्शन बराल, सहायक इन्चार्ज गोविन्द के.सी. र कार्यालयमा बस्ने निमबहादुर पाण्डेसँग २ दिन छलफल गरेर त्यहाँको आन्तरिक वस्तुस्थितिको जानकारी लिएँ । जिल्ला कमिटीका कमरेड र एरियाका सचिव स्तरसम्मको विवरण मागेँ । यसका साथै गुल्मीमा जनमुक्ति सेनाको कम्पनी स्तरको टिम थियो । कम्पनी कमाण्डर कमरेड ध्रुव (हिम्मत बराल) सुदर्शनको भाइ हुनुहुन्थ्यो । उहाँको टीमसँगको छलफलबाट दुश्मनको अवस्थाबारे धेरै कुरा थाहा पाएँ । तम्घास र इस्मामा सेनाका ब्यारेक, पुलिसका केही चौकी र हाम्रा रुटहरूको बारेमा पनि जानकारी भयो । जनयुद्धका बेला देशभरि नै कार्यकर्ताको विन्यास (विभाजन) गरिएको रहेछ, गुल्मीमा रोल्पा, रुकुम, प्यूठानका कार्यकर्ता जिल्ला र एरिया स्तरमा रहेछन् । ध्रुव (हिक्मत बराल) मेरो सहयोगका लागि सुरक्षाका लागि थ्री नट थ्री राइफल सहितका एकजना जनमुक्ति सेनाको प्लाटुन कमाण्डरलाई दिनुभयो । पार्टीका तर्फबाट कमरेड विज्ञान मसँग जोडिनुभयो । एकातिर निकैपछि आफ्नो ठाउँ आइपुग्दाको भावुकता मनमा थियो । आफ्नै भूमिको मनोरम छटाले आनन्द दिन्थ्यो । तर, त्यही आनन्दभित्र कडा जिम्मेवारी र जोखिम थियो । भावुक हुने मौका कहाँ हुनु, हरदम सचेत हुनुपथ्र्यो ।

  • म सहिद हुँला चिन्ता छैन, पार्टी अनुशासन र नियमलाई मिच्न खोजेको हैन । तर पार्टी निर्माण गर्न जनताबिना हुँदैन र उनीहरूको बीचमा जानैपर्ने आवश्यकता देखेर गएको हुँ ।


मैले भूगोलमा खटिनुभएका जिल्ला सदस्य र एरिया सचिवबिच भेटघाट र छलफल गर्न थालें । जिल्लाको नेतृत्वले सुरक्षाको दृष्टिले मलाई तत्कालै तल्लो कमिटीसम्म नजानू भन्ने सुझाव थियो । तर अन्तरसंघर्षको गाँठो नफुकाई क्रान्तिलाई थप बलियो बनाउन सकिँदैन भन्ने मेरो निक्र्यौल थियो । पार्टीले भन्दाभन्दै पनि समस्याको गाँठो फुकाउन मैले तलसम्म जाने निधो गरेँ । जनताको लागि मर्न तयार हुनेलाई जनताले नै बचाउँछन् भन्ने लाग्यो । खुला जीवन बिताएको, भूमिगत जीवन प्रवेश गर्दा नयाँ अनुभूति हुने स्वभाविक थियो । कमरेडहरूसँग हिँडडुल गर्नु, जनताका घरको सरल खानपान लगायतका दिनचर्या सुरु गरेपछि छुट्टै अनुभूति भयो । सुरुमा म गुल्मीको पूर्वी भेग शान्तिपुर, आँपचौर र बलेटक्सारका कमरेडसँग भेटघाट गर्न कमरेड निमबहादुर पाण्डेसँग गएँ । सबभन्दा बढी छलफल कमरेड सञ्जयसँग औपचारिक भयो । उहाँ स्वभावले पनि अलि अराजक हुनुहुँदो रहेछ । जिल्लाको बीच क्षेत्रमा पर्ने इन्द्रेगौँडा, खैरेनी हुँदै पूर्वी भेग शान्तिपुरतिर छि-यौं । तम्घासमा सेनाको ब्यारेक थियो । त्यहीँ गौंडामा उता छिर्ने एक बाटो थियो, त्यही पनि तम्घासबाट जम्मा ५/६ किलोमिटरको दूरीमा । त्यस क्षेत्रमा १० दिन बिताएर फर्कें । पार्टीको जिल्ला हेडक्वाटर चाहिँ गुल्मीको पश्चिम अर्खावाङ्ग वरपर नै थियो । त्यसपछि मैले क्रमशः पश्चिमका जिल्ला सदस्य र एरिया सचिवसम्मलाइ भेटेँ । केही कमरेडहरूको भेट निकै स्मरणिय रह्यो । जिल्लाको पश्चिम क्षेत्र मेरो आफ्नै जन्मथलो थियो । त्यताका शुभचिन्तक जनताहरूसँग पनि भेटघाट छलफल भए । यसरी जिल्लादेखि दोस्रो स्तरका नेताहरूसँग व्यापक छलफल गरियो । यसरी उच्च जोखिम मोलेर जनताको घर–घर र कार्यकर्ताको तल्लो तहसम्म पार्टी संगठनकै हितमा गएका थिएँ । तर संगठनभित्रबाटै कसैले तलैसम्म गएकोमा आपत्ति जनाउँदै मबारे माथिल्लो तहमा रिपोर्ट गरिएछ । मैले क्षेत्रका इन्चार्जलाई भनेँ– ‘म सहिद हुँला चिन्ता छैन, पार्टी अनुशासन र नियमलाई मिच्न खोजेको हैन । तर पार्टी निर्माण गर्न जनताबिना हुँदैन र उनीहरूको बीचमा जानैपर्ने आवश्यकता देखेर गएको हुँ ।’ हो, लामो समय खुला जीवन बिताएको र लाखौँ समुदायबिच भौतिक रूपमा परिचित र भारतबाट सुपुदर्गी गर्दा पत्रपत्रिकाले व्यापक लेखेको हुँदा ममाथि जोखिम उच्च नै थियो । तर त्यसप्रति म पूर्ण सचेत थिएँ ।
स्वभाविक रूपमा भूमिगत जीवन बिताउन मलाई कठिन थियो । कतिपयले भूमिगत भन्नेबित्तिकै साँच्चिकै जमिनमुुनि भूमिगत बस्ने या दिनभर कोठामा थुनिएर बस्ने सोच्दा रहेछन् । यसरी निष्क्रिय रुपमा लुकेर बस्नु या मर्नुमा के फरक रह्यो र ? त्यसैले एउटा क्रान्तिकारीको भूमिगत जीवन भनेको दुश्मनका आँखा छलेर सक्रिय रुपमा क्रान्तिकारी गतिविधि अगाडि बढाउनु हुन्थ्यो । तर भौतिक रूपले धेरै जनाको अगाडि चिनिएको मानिस दुश्मनको एजेन्टको आँखा छल्ने र घुमफिर गर्न ज्यादै मुस्किल थियो । तर जहाँ इच्छा, त्यहाँ उपाय । जनताबाटै उपाय निस्कन्थे ।

  • कमरेडहरूको भने चिन्ता थियो, तलसम्म जान हुँदैन, आफ्नो परिचय खुलाउन हुँदैन, सुराकी गर्छन्, घेरा हालेर हत्या गर्न सक्छन् । तर मलाई लागिरहन्थ्यो कि जनताले बचाउने छन्, मरे पनि आफ्नै ठाउँमा सहिद हुने त हो ।


कमजोर आर्थिक अवस्थाका बावजुद पढ्ने भोकले म भारत गएको थिएँ । भाँडा माझेर भएपनि पढेँ र प्राज्ञिक क्षेत्रमा काम गर्दै लामो समय उतै बिताएँ । पार्टी र क्रान्तिमा उतै जोडिएँ । तर म यही देशका निम्ति घर परिवारलागायत तत्काल प्राप्त वैभव छाडेर क्रान्तिमा हिडेको थिएँ । नेपालीपनको सुगन्ध बोध गर्दै जनतालाई मुक्तिको बाटोमा हिँडाउन गाउँ आइपुगेको थिएँ । भदौ–असोज महिना, गाउँका जुन गोरेटो हिँडे पनि माटोको सुगन्ध आउँथ्यो । किसानहरूका घरको विशिष्ट दृश्य र गन्धहरूले बाल्यकालमा गाँउले जीवन बिताएका स्मरण ताजा भइरहेको थियो । मैले किसानहरूका घरमा सेल्टर बस्दा आफ्नो परिचय लुकाइनँ ‘म बामदेब क्षेत्री हुँ, यहीको जिल्लाबासी हुँ, पार्टीले तपाईंहरूको बीचमा छलफल गर्न पठाएको छ’ भन्थेँ । भूमिगतकालमा क्रान्तिकारीको नयाँ परिचय हुन्थ्यो । तसर्थ सामान्य तरिकाले बुझ्दा त्यो अराजकता जस्तो देखियो होला, तर मलाई आफ्नै ठाउँमा छु भन्ने विश्वासले जितेको थियो । कमरेडहरूको भने चिन्ता थियो, तलसम्म जान हुँदैन, आफ्नो परिचय खुलाउन हुँदैन, सुराकी गर्छन्, घेरा हालेर हत्या गर्न सक्छन् । तर मलाई लागिरहन्थ्यो कि जनताले बचाउने छन्, मरे पनि आफ्नै ठाउँमा सहिद हुने त हो ।
मैले गुल्मीभरिकै वस्तुगत स्थिति बुझिसक्दा एउटा निष्कर्षमा पुगियो । तलका १० जना जति कमरेडहरूलाई जिल्ला कमिटीमा ल्याउनेबित्तिकै समस्या हल हुने रहेछ । गर्न त मैले तलको सिफारिसमा १६ जनाको नाम टिपोट गरेको थिएँ । उहाँहरू सबै क्षेत्रका सचिव र जन वर्गीय संगठन (जबस)का जिम्मेवार कमरेड हुनुहुन्थ्यो । जिल्लाको नेतृत्व भने तत्कालै उक्त प्रस्ताव मान्ने तयारीमा थिएन । तर पनि समस्याको समाधान गर्न आवश्यक देखेर मैले क्षेत्रीय ब्यूरोमा सिफारिस गरेँ । ब्यूरोले इन्चार्ज कमर.ड अटललाई सोध्यो । उहाँले पनि आवश्यक छ भनेपछि मलाइ विशेष क्षेत्रीय कार्यालय रोल्पा बोलाइयो । रोल्पा पुगेर सबै विषयमा छलफल भएपनि तल्लो तहका कमरेडहरूलाई जिल्लामा ल्याउने निर्णयचाहिँ आसन्न क्षेत्रीय ब्यूरोको बैठकले मात्रै तय गर्ने कुरो भयो । त्यसले मलाइ पनि उत्साही बनायो । यस मुद्दामा केही साथीको विरोध भए पनि क्षेत्रीय ब्यूरोले मेरो प्रस्तावलाई कार्यान्वायन गर्ने निर्णय ग¥यो । यसरी गुल्मीको समस्या हल भयो । त्यसपछि पार्टीलाई गति दिन निकै सरल भयो ।

  • ती पुरुष मेरा जेठान हुनुहुँदो रहेछ, उहाँका आँखा रसाए, उहाँलाई देखेर म पनि भावुक भएँ । उहाँहरू औधी खुसी हुनुभो । हिँड्नै लागेका हामी फेरि त्यहीँ रोकियौं, निकैबेर भलाकुसारी ग-यौं र ससुरालीको खाना खाएर मात्रै हिड्यौँ ।


त्यसपछि निरन्तर त्यही भूगोलको जिम्मेवारी हिडेँ । जीवनमा नयाँ–नयाँ मित्रता र गाँठो कसिँदो रहेछ । नयाँ–नयाँ ठाँउमा सेल्टर बस्दा मितेरी लगाउनु पनि स्वभाविक रहेछ । पूर्वतिरबाट फर्केपछि हामी धुर्कोटको वस्तु हुँदै निमबहादुर पाण्डेको घर पुग्यौँ । मेरी श्रीमती शोभा भण्डारीलाई उनको मावली घर पुर्कोट ओडारबाट विवाह गरेको थिएँ, उनी मावलीमै हुर्किएकी थिइन् । उनको माइतीका बारे सुनेको मात्रै थिएँ, कसैसँग चिनजान भने थिएन । निमबहादुर पाण्डेले मेरो बस्ने सेल्टर जानाजानी त्यहीँ बनाइदिनु भएछ । हामी ५ जनाको टिम थियो । खाना खाएपछि बेलुका केही कुरा भए । घरका पुरुषले कुरा खोतल्नु भयो, ‘हाम्रो ज्वाइँ पनि माओवादी हो जेलबाट रिहा हुनुभएको खबर रेडियोले भन्यो । तर उहाँ कुन हालतमा हुनुहुन्छ ? बैनीको हालत के होला ? अहिलेसम्म थाहा छैन । ज्वाईंलाई त हामीले देखेकोसम्म छैन । बैनीको अवस्था थाहा भए, बरु यतै ल्याएर आधा अंश दिएर राख्नुहुन्थ्यो ।’ उहाँहरूले कुरा गरेको कमरेड को थियो, थाहा भएन । जहाँ हुनु भएपनि उहाँहरू सुरक्षित हुनु होला, चिन्ता नगर्नोस् भनेर उहाँहरूलाई सम्झाएँ । खानपान गरेर सुतियो । बिहान हिड्ने बेलामा निमबहादुर पाण्डेले मलाई देखाउँदै ती पुरुषलाई भन्नु भो– ‘तपाईंको ज्वाईं उहाँ नै हो ।’ पाण्डेजीका कुराले हामी दुवै जना एकछिनसम्म अक्क न बक्क भयौं । एकछिन पत्याउनै गाह्रो भो । ती पुरुष मेरा जेठान हुनुहुँदो रहेछ, उहाँका आँखा रसाए, उहाँलाई देखेर म पनि भावुक भएँ । उहाँहरू औधी खुसी हुनुभो । हिँड्नै लागेका हामी फेरि त्यहीँ रोकियौं, निकैबेर भलाकुसारी ग-यौं र ससुरालीको खाना खाएर मात्रै हिड्यौँ । बैनी र भाञ्जाहरूबारे थाहा पाएर फेरि उहाँको गला अवरुद्ध भए । उहाँहरूले मेरो र बैनीहरूको सुरक्षाप्रति चिन्ता र सुरक्षित रहने कामना व्यक्त गर्नुभयो । जे होस्, जनयुद्धले मेरो ससुराली र श्रीमतीको माइती पनि खोजी दियो । यो मेरो लागि नयाँ अनुभूति थियो । अहिले पनि बेला मौका ससुराली पुग्दा झलक्क त्यही पलको याद आउँछ ।

(अर्को श्रृंखला, अर्को सोमबार)

अघिल्ला शृंखलाहरू पढ्नुहोस्
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो
🎯 शृंखला-५ : भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी
🎯 शृंखला-६ : बाबुराम भट्टराईको गोप्य सन्देश
🎯 शृंखला-७ : बाबुराम भट्टराईनिकट हुँदाको दु:ख
🎯 शृंखला-८ : परिवार छोडेर रोल्पातिर
🎯 शृंखला-९ : पार्टी अन्तरसंघर्षको असर