चुनवाङको स्मरणीय बैठक

चुनवाङको स्मरणीय बैठक

भदौ २८, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

पार्टीभित्रको लामो अन्तर सङ्घर्षपछि पार्टी फेरि नयाँ कार्ययोजनासहित अगाडी बढ्ने निश्चित भयो । पार्टी जब लोकतान्त्रिक गणतन्त्रको कार्यदिशामा जाने निश्चित भयो, दरवारले फेरी अर्को पक्षलाई उस्काउन थाल्यो । नेपालमा फेरि सजिलो पनि छ, कसैलाई गाली गर्न भारतको दलाल भन्दिएपछि राष्ट्रवादी भइन्छ । बाबुरामका कारवाही फुकुवापछि बैठकको लागि राजनैतिक तथा संगठनात्मक प्रतिवदन लेख्ने तयारीमा अध्यक्ष प्रचण्ड लाग्नुभयो । त्यसबारे बाबुरामसँग सल्लाह सुझाव लिने कुरा पनि राख्नुभयो । क. मणि थापालाई यो सबै चित्त बुझेको थिएन । उता रविन्द्र श्रेष्ठ लगायतका केही साथीहरु बाबुराम–प्रचण्ड नमिले हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्थ्यो । फेरी क्रान्तिकारीको ठूला पंक्ति यिनी दुवै मिल्न आवश्यक ठान्दथे । बाबुरामको कारवाही फुकुवापछि एक महिनामा केन्द्रीय समितिको बैठक विशेष क्षेत्र रुकुमको चुनवाङमा हुने निश्चित भयो । त्यसपछि म मेरो कार्यक्षेत्र गुल्मीतिर लागे । ११ दिनपछि म गुल्मी पुगेँ । म दिल्ली गएपछि गुल्मीका केही कमरेडहरूले अतिरञ्जित किसिमले गालीगलौज गर्ने, अफवाह भ्रम फैलाएको कुरा थाहा पाएँ । फेरी म आफ्नो कार्यक्षेत्रमा पुगेपछि एकथरी साथी उत्साहित थिए ।

  • म दिल्ली गएको बेला पार्टीले मेरो सुरक्षालाई दिएको ‘पेस्तोल’ बढी खोजबिन भएछ । मैले त्यो पेस्तोल मेरा सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमरेड रेश्मालाई सहिद परिवार वेणीराम भुसालको घरमा सुरक्षित राख्न दिएको थिएँ ।

मैले दिल्लीमा भएका गतिविधिबारे जिल्ला कमिटिको बैठकमा कुरा राखेँ– ‘पार्टी अबको बैठकबाट लोकतान्त्रिक गणतन्त्रका कार्यदिशामा जाने सम्भावना बढी छ ।’ यहीँ कुरा मैले ताराखोलाका प्रशिक्षणका क्रममा राख्दा घेराबन्दी गर्ने कमरेडहरु गर्धन निहुराएर सुनी राखे । कुनै प्रतिक्रिया दिन सकेनन् । म दिल्ली गएको बेला पार्टीले मेरो सुरक्षालाई दिएको ‘पेस्तोल’ बढी खोजबिन भएछ । मैले त्यो पेस्तोल मेरा सुरक्षामा खटिएका जनमुक्ति सेनाका कमरेड रेश्मालाई सहिद परिवार वेणीराम भुसालको घरमा सुरक्षित राख्न दिएको थिएँ । मेरा सुरक्षामा खटिएका रेश्माले भन्नुभयो– ‘तपाईंको पेस्तोल कब्जा गर्न खोजेका थिए, मैले केही भनिनँ’ भन्नुभयो । कस्तो निचता हो ?

मेरो अर्को स्टाफको रुपमा कार्यरत हुमनाथ न्यौपाने ‘सुदिप’लाई पनि काममा नखटाइकन कार्यालयमा राखेको थाहा पाएँ । मैले केही भन्ने कुरा थिएन । भारतमा माओइस्ट कम्युनिष्ट सेण्टर (एम.सी.सी) र पिपुल्स वार दुवै क्रान्तिकारी भनिएका पार्टी एकर्कामा मारामार भएको स्थितिबारे मैले राम्रो अध्ययन गरेको थिएँ । हामी कहाँ पनि त्यस्तै अवस्था हुने पूर्व संकेतहरु देखिन्थ्यो । पार्टीभित्र ६ महिना अन्तरसंघर्ष हुँदा त यति उत्पात छ भने एक/दुई वर्षसम्म नै वैचारिक अन्तरसंघर्षलाई सहि चेतनाले विश्लेषण गर्न नसक्ने कमरेडहरुले त भौतिक आक्रमण गर्न सक्ने संभावना आँकलन गरें । गुल्मी वाँझकटेरी, होलवाङ (मालावाङ) डालाराम भुसालका घरमा मेरो सेल्टर थियो । त्यो परिवार मेरो लागि आफ्नै परिवार जस्तै थियो । मेरो कपडासम्म धोइदिने, किताबहरू सम्हालेर राखी दिने, खानपानको ख्याल राख्ने गर्थे । उनकी छोरी मनिषाले बुवा भनेर सम्बोधन गर्ने र मेरो बढी ख्याल राख्ने गर्थिन् । म ५/७ दिन त्यहीँ बसेर फेरी बैठकको तयारीको लागि विशेष क्षेत्रतिर हिड्नु पर्ने थियो ।

  • चुनवाङको बैठकको प्रस्तावमा बाबुराम भट्टराई (क.लालध्वज)लाई कृष्णबहादुर महरा (अमरसिंह)सँग मिलेर विभिन्न पक्षसँग वार्ता गर्न केन्द्रीय कामको जिम्मेवारी दिएर पठाएको कुरा सार्वजनिक गर्ने बित्तिकै बैठकको हालको वातावरण नै परिवर्तन भएको थियो ।

चुनवाङको बैठक पूर्व सहमतिको लागि नेपाली कांग्रेस, एमाले र माओवादीबिच वार्ता हुन जरुरी थियो । किनकी सबैको साझा एजेण्डा ‘संविधान सभा’ बनाउनका लागि पनि आवश्यक थियो । नेपाली कांग्रेसले २०६२ भदौमा महासमितिको बैठक बोलाएर संवैैधानिक राजतन्त्रलाई आफ्नो विधानबाट हटाउने काम ग-यो । नेकपा एमालेले पनि संविधान सभामा जान सकिने निर्णय ग-यो । त्यसपछि माओवादीले चुनवाङमा बैठक गरेर औपचारिक रुपमा लोकतान्त्रिक गणतन्त्रमा जानको निम्ति शान्ति प्रक्रियामा जाने औपतारिक निर्णय ग-यो । बल्ल राजतन्त्र विरुद्ध संयुक्त आन्दोलन र वार्ता जारी राख्ने निर्णय ग-यो । चुनवाङको बैठकको प्रस्तावमा बाबुराम भट्टराई (क.लालध्वज)लाई कृष्णबहादुर महरा (अमरसिंह)सँग मिलेर विभिन्न पक्षसँग वार्ता गर्न केन्द्रीय कामको जिम्मेवारी दिएर पठाएको कुरा सार्वजनिक गर्ने बित्तिकै बैठकको हालको वातावरण नै परिवर्तन भएको थियो ।

विभिन्न दलसँगको वार्ता पटकपटक निरन्तरतामा थियो । माओवादीले वार्ताको लागि नेपाली कांग्रेस र एमालेलाई आफ्नो आधार इलाका रोल्पामा बोलाएको थियो । एमालेका त्यतिबेला कार्यवाहक महासचिव वामदेव गौतम, अमृत बोहरा, युवराज ज्ञवाली वार्ताको लागि रोल्पा पुग्नुभएको थियो । रोल्पा पुगेका एमालेका नेताहरुलाई स्याउलीवाङ र घर्तिगाउँ बाटोमा जनमुक्ति सेनाको टुकुडीले विशेष सलामीसाथ स्वागत गरेको थियो । एमाले र माओवादीको वार्तापछि ६ बुँदे समझदारी भयो । उक्त समझदारीपछि वामदेव गौतम काठमाडौँ पुगे । त्यसपछि एकता केन्द्र मसालका नेता नारायणकाजी श्रेष्ठ रोल्पा पुगेका थिए । एमाले र अन्य घटकसँग वार्तापछि नेपाली कांग्रेससँग वार्ता गर्नु थियो । वार्ताको लागि गिरिजाप्रसाद कोइराला आफै जाने निधो गर्नुभएछ । तर स्वास्थ्यका कारण वहाँ रोल्पा जान नसक्ने हुँदा वहाँसँग वार्ता गर्न माओवादी नेतृत्व फेरि दिल्ली पुग्ने कुरा भयो । त्यसै समय नारायणकाजी श्रेष्ठ पनि बिरामीका कारण दिल्ली पुगेका हुनाले त्रिपक्षीय वार्ता भएर संयुक्त आन्दोलन गर्ने निर्णय भयो ।

  • रविन्द्र श्रेष्ठ सन्तुष्ट थिएनन् । उनी भन्दै थिए, ‘म अभिमन्यू जस्तै चक्रब्यूहमा फसें, म यो निर्णयमा सहमत हुन सक्दिनँ ।’ मणि थापा चुनवाङको बैठकमा नै उपस्थिति भएनन् ।

यता माओवादीका बैठक त्यो वार्तापछि रुकुमको चुनवाङमा २०६२ सालको असोज/कार्तिक ७ दिन बस्यो । बैठकमा सबैका कमीकमजोरी राम्रोसँग धोइपखाली भए । बादल रामबहादुर थापा र प्रचण्डबीचको अन्तरविरोध, प्रचण्ड बाबुराम बिचको अन्तरविरोध, आलोचना, आत्मालोचनाबाट एकता, संघर्ष, रुपान्तरणसहित नयाँ आधारमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा जाने, शान्ति प्रक्रियाको लागि पहल गर्ने, शहरी विद्रोहको तयारी गर्ने । किनकी पार्टीको भित्रि रणनीति दीर्घकालीन जनयुद्धबाट ग्रामीण भूभाग कब्जा गरेकोले अब शहरी विद्रोहको तयारी गर्ने भन्ने बन्यो । बाहिर भने राजनीतिक दलसँग मिलेर राजतन्त्रका विद्रोह संयुक्त आन्दोलन गर्ने नीति तय ग-यो । यसमा रविन्द्र श्रेष्ठ सन्तुष्ट थिएनन् । उनी भन्दै थिए, ‘म अभिमन्यू जस्तै चक्रब्यूहमा फसें, म यो निर्णयमा सहमत हुन सक्दिनँ ।’ मणि थापा चुनवाङको बैठकमा नै उपस्थिति भएनन् । २०६२ असोज कार्तिकको चुनवाङको बैठक माओवादी र नेपाली जनताको लागि कोसेढुङ्गा सावित भयो र निकै चर्चित पनि रह्यो । माओवादीलाई शान्ति प्रक्रियामा आउने, राजतन्त्रको अन्त्य गर्ने र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने बाटो खुल्यो भने नेपाली कांग्रेस संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा आउन तयार भयो । एमालेले पनि संविधान सभा स्वीकार गर्न बाध्य भयो । यो सबै चुनवाङ बैठकको परिणाम नै थियो ।

०००