ढाडमा टेकेर टाउकामा हिर्काउने योजना

ढाडमा टेकेर टाउकामा हिर्काउने योजना

अशोज ४, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

बैठकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यक्रम लिएर जिल्ला फर्कियो । जिल्ला पुग्दा मौसमी चन्दाको रुपमा उठाएको केही खाद्यान्न संकलन भएका थिए । उक्त खाद्यान्न वाग्लाका लाअँटाका नन्दराम पन्थीका घरमा राख्न झविन्द्र भण्डारी र महेन्द्र पुरी जानु भएको रहेछ । कतैबाट सुराक मिल्यो होला, सेनाले पन्थीका परिवारको घरमा दुःख दियो ।

घरमा भएको अन्नपात फालिदिए, बन्दुक देखाएर कोदो र तोरी एकै ठाउँ मिसाउन लगाएछन् । सामान्य दुःखजिलो गरिखाने परिवारमा अब न कोदोको रोटो, न तोरीको तेल खान पाउनु । अनि माओवादीका परिवारलाई पनि छोड्दैनौं हामी भनेर धम्काएछन् । त्यहीबेला झविन्द्र भण्डारी र महेन्द्र पुरी गिरफ्तारीमा परेको खबर आयो । चुनवाङबाट फर्केपछि पहिले म पन्थीका घरमा पुगें । सेनाले धम्क्याएका कारण परिवारका सदस्य निकै त्रासमा थिए । सबै विवरण सुनेपछि परिवारलाई सान्वना दिने र नष्ट भएको अन्नपातको क्षतिपूर्ति पार्टीले दिने कुरा गरियो ।

  • कतैबाट सुराक मिल्यो होला, सेनाले पन्थीका परिवारको घरमा दुःख दियो । घरमा भएको अन्नपात फालिदिए, बन्दुक देखाएर कोदो र तोरी एकै ठाउँ मिसाउन लगाएछन् । सामान्य दुःखजिलो गरिखाने परिवारमा अब न कोदोको रोटो, न तोरीको तेल खान पाउनु ।

झविन्द्र भण्डारी र महेन्द्र पुरीको घर वाग्लाको चौतारा वरपर थियो । मैले दुवै परिवारलाई बोलाएर भेटघाट गरेर सम्झाएँ । भनें, ‘मुक्तिका लागि उहाँहरु हिड्नु भएको हो । उहाँहरुको गिरफ्तारीको जिम्मा नैतिक रुपमा पार्टीले लिन्छ । हाम्रो प्रयत्न उहाँहरुलाई छुटाउने र तपाईहरुलाई परेको अफ्ठ्यारो पार्टीले हेर्ने छ ।’ यति बचनबद्वता जाहेर गरेपछि उहाँहरुका परिवार अलिक ढुक्क भयो । धरपकडले तिब्रता लिएपछि साथीहरुलाई बचाउँदै क्रान्ति अघि बढाउनु थियो । अर्कोदिन म गुल्मीको सिर्सेनी पुगें ।

त्यतिबेला हल्ला चलिसकेको थियो– ‘राजनैतिक दल र माओवादी मिलेर राजतन्त्रको विरुद्वमा संघर्ष गर्दैछन् ।’ जिल्लामा हिजो उछितो काढेर कुरा गर्ने साथीहरु बाबुराम र प्रचण्ड मिलेपछि ओइलाएको साग जस्ता भएका थिए । मैले जिल्लाको बैठक राख्न र बैठकको सन्देश सम्प्रेषण गर्ने योजना बनाएँ । सुरक्षित ठाउँ खोज्नु पथ्र्यो । बैठक गुल्मीको पूर्वी भेग शान्तिपुरदेखि माथि वलिवाङमा राख्ने निर्णय भयो । यसो त क्रान्तिकालमा एउटा भुगोलबाट अर्को ठाउँसम्म पुग्न पैदल यात्राको विकल्प थिएन । मेरो बाटो छोट्याउँदै पनि लानु थियो । बैठक लगत्तै मलाई बाग्लुङ हुदैँ म्याग्दी पुग्न थियो । साथीहरु उत्साहित थिए । हामीले वलिवाङमा जिल्लाको बैठक २०६२ कार्तिक २०÷२२ तिर बोलाएको हुनुपर्छ । मेरो डायरीमा कार्तिक मात्र लेखिएको रहेछ ।

म त्यो बेला जण्डीसको बिरामी पनि थिएँ । मैले २ दिन सुमित्रा बहिनी (नविनाको घरमा) आराम गरें । विरामी परे पनि सुस्ताएर बस्ने समय पो कहाँ हुनु त्यो बेला । २५ गते बाग्लुङको बैठक सकेर मङ्सिर ३ गते म्याग्दीको बैठकमा पुगें । त्यहाँ पनि चुनवाङ बैठकको सार र जिल्लाको गतिविधिमाथि छलफल भयो । अब आन्दोलनले अन्तिम छलाङ मार्ने तयारी हुँदै थियो । फेरि गुल्मीको पूर्वी भेग फर्कें । उता पार्टी र संसदवादी दलहरुको छलफल दिल्लीमा हुँदै थियो । मैले पनि जिल्लाका राजनीतिक दलसँग छलफल गर्ने योजना बनाएँ । राजतन्त्र फालेर गणतन्त्र ल्याउने मुद्धामा दुई दल पनि तयार भए ।

  • गणतन्त्रप्रति जनउभार तयार हुन बेर नलाग्ने संकेत भेलाले देखायो । त्यसले जिल्ला भरिनै एउटा बहसको वातावरण बनाइदियो । उता पार्टीले ढाडमा टेकेर टाउकोमा हिर्काउन कार्यक्रम बनाएर हामी सबैलाई गण्डकी क्षेत्रमा केही दिन केन्द्रित गर्ने योजना बनाएको थियो ।


सबभन्दा पहिले गुल्मीको बलेटक्सारदेखि तल टाटिम भन्ने ठाउँमा एमालेका नेता कमल श्रे्रष्ठ र कांग्रेसका नेता खिलध्वज पन्थीसँग भेट भयो । उहाँहरु सँगसँगै मिलेर जिल्लामा संयुक्त आन्दोलन गर्ने सल्लाह भयो । सबैभन्दा पहिले गुल्मीबाट गणतन्त्र घोषणा गर्ने भन्ने निर्णय भयो ।

त्यसैबीच मैले थोरगामा बुद्धिजीवी, प्राध्यापक, राजनीतिक कार्यकर्ता, शिक्षकबिच संघीय लोकतान्त्रिक गणतन्त्र र हाम्रो भुमिकाबारे एउटा अन्तरक्रिया कार्यक्रम राखियो । गणतन्त्रप्रति जनउभार तयार हुन बेर नलाग्ने संकेत भेलाले देखायो । त्यसले जिल्ला भरिनै एउटा बहसको वातावरण बनाइदियो । उता पार्टीले ढाडमा टेकेर टाउकोमा हिर्काउन कार्यक्रम बनाएर हामी सबैलाई गण्डकी क्षेत्रमा केही दिन केन्द्रित गर्ने योजना बनाएको थियो ।

हामी मङ्सीरभरी गण्डकीको स्याङ्जामा केन्द्रीत भयौं । अभियानको रुपमा केही दिन काम गरेर गुलमीबाट गएको टीम फर्किसकेको थियो । त्यहाँ अभियान सामेल हुन सुदुरपश्चिमबाट पनि कमरेडहरु आउनु भएको थियो । त्यतिबेला अन्य राजनीतिक दलले माओवादीलाई फौजी आक्रमण गरिदिनु प-यो भनेर आग्रह गरेको कुरा हामीभन्दा माथिका नेताबाट थाहा हुन्थ्यो ।

त्यहीबेला पाल्पा आक्रमण भयो । हाम्रो सबै शक्ति गुल्मीको पूर्वी भुगोलमा अर्घाखाँचीको अर्घातोस वरपर घाइतेहरुको व्यवस्थापनमा जुटेको थियो । हामीले घाइतेलाई सुरक्षित राख्न गुल्मीको भार्सेसम्म पु-यायौँ ।


केही दिनको औषधोपचार पछि अलिक निको भएर घाइतेहरु आ–आफ्नो क्षेत्रमा लाग्नु भयो । हामीले गुल्मीका राजनीतिक दल एमालेबाट कमल श्र्रेष्ठ र बोमबहादुर खड्का नेपाली, नेपाली कांग्रेसबाट खिलध्वज पन्थी र भुवन श्रेष्ठ, माओवादीबाट म स्वयम् बामदेव क्षेत्री(विकल्प) र पारशमणी गुल्मीको खज्र्याङ बसी फाल्गुन ७ गते गुल्मीमा गणतन्त्र घोषणा गर्ने गरी आचार संहिता बनायौं ।

पार्टीले कारवाही गर्छ कि भनी कमल श्रेष्ठ डराएका थिए । राजनीतिक दल र माओवादीहरुबीच २०६२ मंसीर ३ गते १२ बुँदे समझदारी भयो । तत्कालिन सत्ताविरुद्ध अन्तिम प्रहार दुई घेरा बनाएर गर्ने तयारी भयो । घेरा भित्रको संर्घष एमाले, कांग्रेस, जनमोर्चाले गर्ने घेरा बाहिरको संर्घष माओवादीले गर्ने समझदारी भएको थियो ।

  • गिरिजाप्रसाद कोइरालाको भनाइ थियो– ‘युद्वविराम गरेपछि राजाले टेर्दैनन्, किनकीः माघमा स्थानीय निर्वाचन भनेका छन् । तपाइहरुको फौजी कारवाही बढाउनु पर्छ ।’ उनीसँगको सोही छलफलपछि हाम्रो पार्टीले थानकोट पुलिस चौकीमा आक्रमण गरियो । सर्लाहीको मलंगवामा सेनाको हेलिकोप्टर खसालियो ।


यता केन्द्रमा १२ बुँदे समझदारीको तयारी हुँदै थियो । राजनीतिक दलका बीचमा युद्धविराम भयो । गिरिजाप्रसाद कोइरालाको भनाई थियो– ‘युद्धविराम गरेपछि राजाले टेर्दैनन्, किनकीः माघमा स्थानीय निर्वाचन भनेका छन् । तपाइहरुको फौजी कारवाही बढाउनु पर्छ ।’ उनीसँगको सोही छलफलपछि हाम्रो पार्टीले थानकोट पुलिस चौकीमा आक्रमण गर्यो ।

सर्लाहीको मलंगवामा सेनाको हेलिकोप्टर खसालियो । यी घटनापछि भने बल्ल शाही सरकार तर्सेको थियो । यी घटनासँगै माओवादी र अन्य राजनीतिक दलका बिचमा आ–आफ्नो तरिकाले संघर्ष गर्ने तय थियो । हामीले गुल्मी पनि त्यही नीति अपनायौँ । राजतन्त्रात्मक सत्ता पल्टाउन त्यति सजिलो थिएन । राजनीतिक दलहरुले माओवादीको साथको आवश्यकता वोध गरे । त्यसपछि राजनीतिक दल र माओवादीबिच चैत्र २४ गतेदेखि संयुक्त राष्ट्रिय जनआन्दोलन गर्ने एक संघर्ष समिति बन्यो ।

समितिको आह्वानमा भएको विशाल प्रदर्शन इतिहासको ठुलो प्रदर्शन बन्यो । लाखौँ जनता राजतन्त्र विरुद्व जिल्ला–जिल्लामा पनि सडकमा ओर्लिन थाले । त्यो बेला माओवादीले आमहड्ताल अघि बढाउने प्रस्ताव ग-यो । तर एमालेका झलनाथ खनाललगायत नेताले आन्दोलन शुरु भएको दुई भएपछि आन्दोलन अगाडी बढाउन नसकिने भनेर हात उठाए ।

  • त्यतिबेला माओवादीले क. सागर (चन्द्रबहादुर थापा)को नेतृत्वमा जनमुक्ति सेनाको एउटा टुकडी नै सादा पोशाकमा सडकमा उतारेको थियो । उता गुल्मीमा हामीले पत्रकारको रोहवरमा बलेटक्सारमा पहिलो संघीय लोकतान्त्रिक गणतान्त्रिक जिल्ला घोषणा गरेका थियौँ ।

हामी त सशस्त्र क्रान्तिबाट सत्ताको जरा पल्टाउन हिडेको पार्टी, त्यहाँ पुगेर हार मान्ने त कुरै हुँदैनथ्यो । माओवादीले आन्दोलनका लागि आवश्यक जति संख्याका मान्छे पनि सडकमा पठाउने जिम्मा लिने भयो । जनता सडकमा उतार्ने जिम्मा माओवादीले लिएपछि भने बल्ल एमाले पनि तयार भयो ।

अनि माओवादीकै प्रस्तावमा चैत्र २४ गतेबाट संयुक्त राष्ट्रिय जनआन्दोलन गर्ने निर्णय भयो । जब लाखौँ मानिस सडकमा उत्रे गृहमन्त्री कमल थापाले आन्दोलनमा आतंककारीको घुसपैठ भएको घोषणा गरे । आन्दोलनको शक्ति जसरी पनि बलियो बनाउनु थियो । त्यसकारण माओवादी कार्यकर्ताले एमाले र कांग्रेसको झण्डा बोकेर आन्दोलनमा उत्रिएको पनि स्मरण हुन्छ ।


त्यतिबेला माओवादीले क. सागर (चन्द्रबहादुर थापा)को नेतृत्वमा जनमुक्ति सेनाको एउटा टुकडी नै सादा पोशाकमा सडकमा उतारेको थियो । उता गुल्मीमा हामीले पत्रकारको रोहवरमा बलेटक्सारमा पहिलो संघीय लोकतान्त्रिक गणतान्त्रिक जिल्ला घोषणा गरेका थियौँ । त्यसले राष्ट्रिय रुपमा नै तरङ्ग लिएको थियो र एमाले, कांग्रेसलगायत दलको केन्द्रमा पनि हाम्रो घोषणाबारे बहसको विषय बन्यो ।

त्यही कारण एमालेका नेता कमल श्रेष्ठलाई पार्टीले स्पष्टिकरणसमेत मागेको थाहा भयो । तर गुल्मीका राजनीतिक दल राजतन्त्रको विरोधको संघर्षमा एक ढिक्का थिए । कुनै दुविधा थिएन र गुल्मीमा राजनीतिक दलसितको सहकार्य उदाहरणीय नै थियो भन्न सकिन्छ । त्यसैले माओवादीले पनि राजनीतिक दलसँग सहकार्य गर्न, नारा लगाउने, कार्यकर्ता, जनतालाई सदरमुकाम केन्द्रित गर्न ठूलो भूमिका निर्वाह गरेको थियो ।

०००