परिवार छोडेर रोल्पातिर

परिवार छोडेर रोल्पातिर

साउन ४, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- आठ

दुई दिनको बसाइमा परिवारसँग निकै दुःखका अनुभूति साटियो । त्यसले होला म निकै भावनात्मक हुन पुगेछु । परिवारसँग बिदा हुन निकै मुस्किल भएको थियो ।
‘मानिस त मृत्यु टाढा हुँदासम्म डराउने, आत्तिने र चिच्याउने गर्दोरहेछ, तर मृत्युको मुखैनेर पुगेपछि उसमा डर होइन, आक्रोश, साहस र बदलाको भाव पैदा हुने रहेछ ।’ मैले यो अनुभूति गरेको थिएँ र मृत्युलाई जितेर नयाँ जीवनमा प्रवेश गरेको थिएँ । त्यसैले होला परिवारबाट बिदावारी हुँदा मलाई गिरफ्तारी हुँदाको क्षणभन्दा पनि कठिन अनुभूति भयो । तर भावनालाई क्रान्तिको दायित्वले थिचेर त्यहाँबाट हिँडे । तथापि क्रान्ति सँगसँगै परिवारको हेरचाह पनि गर्नुपर्छ भन्ने मनमा लागिरह्यो ।

क्रान्तिको गौरवमय बाटोमा थुप्रै नेता कार्यकर्ता आउने जाने गर्दछन् । थुप्रै मान्छे यो कष्टसाध्य यात्राको बीच बाटैबाट फर्कने पनि गरेका छन् । थुप्रै मान्छेले भावनामा बगेर आस्था परिवर्तन गरेको पनि पाइन्छ ।


यात्रामा श्रीमती र छोराहरूसँगको विछोडले सताइरह्यो । फेरि भेट हुन्छ कि हुँदैन होला ? यसै मन बिथोलिएको थियो । मलिना अनुहार मेरा आँखाका वरिपरि घुमिरहेका थिए । मभित्र आत्मसङ्घर्ष चलिरहेको थियो, परिवारले भनेका कुराले सताइरहेको थियो । पार्टी पंक्तिको सकारात्मक व्यवहार देखिएन, यसले भोलि निराश त बनाउने हैन ? म मृत्युको मुखबाट बाँचेर आएकोले आइन्दा युद्ध मैदानबाटै परिवारबारे नियमित जानकारी लिने निधो गरेँ । युद्धमा सहिद भएपनि हजारौँ सहिदहरूको पङ्क्तिमा रहनेछु । परिवारले नयाँ आँट र बाटो रोज्नेछन् । बुटवलमा घर छ, नेपाल फर्किएर बस्न चाहे ओत लाग्ने छानोसम्म छ भन्ने सोचेँ ।
पश्चिमाञ्चल कमाण्ड इन्चार्ज पोष्ट बहादुर बोगटी ‘दिवाकर’ले दिएको समयमा पार्टी सम्पर्कमा पुगेँ । हो, क्रान्तिको गौरवमय बाटोमा थुप्रै नेता कार्यकर्ता आउने जाने गर्दछन् । थुप्रै मान्छे यो कष्टसाध्य यात्राको बीच बाटैबाट फर्कने पनि गरेका छन् । थुप्रै मान्छेले भावनामा बगेर आस्था परिवर्तन गरेको पनि पाइन्छ । म परिवारलाई भेटेर छलफलपछि केही भावनामा त बगेँ तर आस्थालाई बदलिनँ । रातो झण्डाको रातो रङसँग मितेरी गाँसे र क्रान्तिलाई दह्रोसँग समाउने आँट गरेँ ।
मैले कमाण्ड इन्चार्ज दिवाकरलाई भेटेँ । उहाँ निष्ठा र विश्वास भएको प्रतिबद्ध र इमान्दार एवं कसैलाई भेदभाव नगर्ने कमरेड हुनुहुन्थ्यो भन्ने बुझेको थिएँ । मैले उहाँसँग दिनभर छलफल गरेँ र गन्तव्य स्थानबारे जिज्ञासा राखेँ । उहाँले मलाई विशेष क्षेत्रमा पठाउने निर्णय भएको सुनाउनुभयो ।
मैले पार्टीभित्रको वर्गसङ्घर्ष र अन्तरसङ्घर्षको बारेमा छलफल गरेँ । अन्तरसङ्घर्षले गर्दा मेरो परिवारलाई पार्टीले भेटघाटसम्म नगरेको कुरा पनि राखेँ । विशेष क्षेत्रको अवस्था र मैले गर्नुपर्ने भूमिकाको बारेमा पनि जिज्ञासा राखेँ । साथै त्यहाँको अन्तविरोधको बारेमा पनि स्वाभाविक जिज्ञासा थियो । र, लेनिनको भनाइसँगै प्रतिबद्धता जाहेर गरेँ– ‘क्रान्तिकारीहरूले सपना देख्नुपर्छ । सायद विश्वका सबै क्रान्तिकारीहरूले सपना देख्दछन् । मानिसले प्राप्त गर्ने चीज कसैलाई एक्कासि प्राप्त हुँदैन । विशेष पहल र मिहिनेत अवश्य गर्नु पर्छ ।’
मैले विशेष क्षेत्रका रुपमा गुल्मी जाने इच्छा राखेँ । कमरेड दिवाकर खुल्ला र स्पष्ट नेता रहेछन् । उनैबाट थाहा भयो कि भने एकथरी कमरेडहरूले गुल्मी नपठाउन पार्टीमा भनेका रहेछन् । त्यसैले सल्यान पठाउने निर्णय रहेछ ।
तर मैले अड्डी कसेँ गुल्मी नै गएर आफ्नै जिल्लामा काम गर्ने । दिवाकरले मलाई गुल्मी पठाउने वचन दिनुभयो । यो कुराले उहाँप्रति श्रद्धा जाग्यो । नेता कार्यकर्तासँग सहज रूपमा छलफल गर्ने र विषयलाई जटिल नबनाउने बरु सरलीकृत गर्ने, आएका समस्यालाई द्वन्द्ववादी ढङ्गले हल गर्ने स्वभाव रहेछ उहाँको । तलबाट सुझाव लिनु र समस्या हल गर्नु माक्र्सवादी पद्धति हो । उहाँले त्यही गर्नुभयो र मलाई छलफलपछि उत्साही बनाउनुभयो ।
उहाँ बितेर जानुभयो । हामीले मृत्युपछि मानिसको मूल्याङ्कन गर्दा अलि मनोगत पनि होला । तर हामीले उहाँबाट धेरै कुरा सिकेका छौँ, उहाँका धेरै कुरा सिक्न र अनुशरण गर्नु आवश्यक छ । उहाँमा नेतामा हुने धेरै गुण थिए । उहाँको योगदानबिना प्रचण्डको यो उचाइ हुँदैनथ्यो, न त डा. बाबुराम भट्टराईलगायतका नेता स्थापित हुन्थे । पार्टीभित्र जब अप्ठ्याराका क्षणहरू आउँथे, केही विवाद–अन्तरविरोध हुन्थ्यो, अरूलाई हल गर्न गाह्रो हुन्थ्यो, तब त्यसको समाधान उहाँले नै खोज्नुहुन्थ्यो । उहाँकै कारण धेरै अप्ठ्यारा र विवादित अवस्थाको समाधान पार्टीले पाएको थियो । यस्तो बेला प्रायः उहाँको याद गरिन्थ्यो । उहाँ सरल मात्र होइन, नेता–कार्यकर्तासँग घुलमिल हुने, सबैको भावना बुझ्ने नेता हुनुहुन्थ्यो ।
म जनयुद्धको घनिभूत थलो ‘विशेष क्षेत्र’को जिम्मा लिएर जाँदै थिए । त्यहाँको इन्चार्ज विप्लव र सहायक इन्चार्ज पम्फा भुसाल हुनुहुन्थ्यो । मलाई जर्मन विद्वान तथा सैन्य ज्ञाता क्लजविजको भनाइ याद आयो– युद्ध भनेको भिन्न प्रकारको राजनीति हो । त्यसैलाई लेनिनले परिमार्जित गरेर भन्नुभएको छ– युद्ध भनेको रक्तपातपूर्ण राजनीति हो । तर नेपालमा रक्तपातपूर्ण राजनीतिको यस्तो श्रृङ्खलामा अभ्यास भएको थिएन । यस्तो अवस्थामा जनयुद्धले निर्माण गरेको आधार इलाकामा जाँदा सुरक्षित महसुस हुने थियो । तर श्वेत इलाका पर्ने गुल्मी रोजेकाले सबै चुनौती स्वीकार गर्न तयार भएँ ।
अर्को दिन कमरेड समीर मलाई लिन आउनुभएको रहेछ । हामी ३÷४ वटा गाडी साट्दै बढी सतर्कताका साथ कोइलाबासको बोर्डर पुग्यौं । साँझ पर्न थालेको थियो । दुई जना कमरेडहरू पोस्टबाट लिन आउनुभएको रहेछ । समीर कमरेड लखनऊ फर्किनुभयो, म तिनै कमरेडहरूको साथ लागेर हिँडे । त्यहाँ पोस्टहरूमा नम्बर हुन्छन् भन्ने थाहा थियो तर म कति नम्बरको पोस्टमा जाँदैछु भन्ने थाहा थिएन । रातीको यात्रा, जङ्गलको बाटो, एकातिर प्रशासनको डर, अर्कोतिर जंगली जनावरको डर, यस्तो हुँदाहुँदै सानो गोरेटो बाटो हुँदै चुरे पहाडतिर लागियो । अपरिचित भूगोल, पार्टीले सम्पर्कमा पठाएका नयाँ कमरेडहरू, जाडोले कठ्याङ्ग्रिएको शरीर, अब बल्ल परीक्षाको घडी आयो जस्तो लाग्न थाल्यो । लाइट बाल्न पाइँदैनथ्यो, धेरै ठाउँमा ठोक्किएर लागेर लडेँ । रूटगाइडले जता भन्यो, उतै जानुपथ्र्यो । हामी दस बजे पोस्टमा पुगियो, पोस्ट जंगलको बीचमा थियो । २÷४ घरमात्र थिए, त्यहाँ कोइलाबास नै भनिँदो रहेछ ।

एक बोतल पानीमात्र बाँकी थियो । रुख पनि ठूला खालका थिएनन्, पोथ्रापोथ्री मात्र थिए । अगाडि बढ्ने कि कता लाग्ने निधो गर्नुपर्ने भयो ।


कमरेडहरू भात पकाएर बस्नुभएको रहेछ । एटम भन्ने साथी प्रवासमा काम गर्नुभएको रहेछ । मलाई उहाँले चिन्नुभयो, कुरा भए । अलि ढुक्क भएँ । पोस्टमा कामरेडहरू सेन्टी बस्नु हुँदोरहेछ । म पार्टीको केन्द्रीय सदस्य भएकाले मेरो सुरक्षाको लागि दुई जना कमरेड आउनुभएको रहेछ । म निर्धक्कसँग सुतेँ । अर्कोदिन बिहान ४ बजे उठाउनुभयो । उहाँहरू नेपालगञ्जको कुसुम र दाङको अमिले बीचबाट बाटो कटाउने तयारीमा हुनुहुँदो रहेछ । त्यसैदिन दाङको फूलबारी पोस्टमा पु-याउने तयारी रहेछ । त्यो ठाउँ प्रशासनका लागि उपयुक्त, हाम्रो लागि प्रतिकूल रहेछ । तुल्सीपुर र नेपालगञ्जबाट कुनै पनि बेला प्रहरी आउन सक्थे । त्यसअघि नै धेरै नोक्सान पनि पु¥याइसकेका रहेछन् । हामी बिहान ६ बजे मूल बाटोमा पुग्यौं । साथीहरूले दुवैतिर सेन्ट्री बसेर हुस्सु लागेको बेलामा मलाई बाटो कटाउनु भयो ।
हामी २ मिटरको फरक गरेर हामी हिँड्यौं । बाटोमा चाउचाउ र पानी खायौं । करिब १६ घण्टा लगातार हिड्यौँ होला । साँझ सात बजेको थियो । केही बेरपछि चारैतिर टर्च बालेको देखियो । के गर्ने ? सल्लाह ग¥यौँ । साथीहरूले पनि नजाऔँ भन्नुभयो । अलि पर १०÷१२ घरको बस्ती थियो । गाउँ पस्न डर लाग्यो । २ वटा चाउचाउ र एक बोतल पानीमात्र बाँकी थियो । रुख पनि ठूला खालका थिएनन्, पोथ्रापोथ्री मात्र थिए । अगाडि बढ्ने कि कता लाग्ने निधो गर्नुपर्ने भयो । ५÷६ मिटर पर दक्षिणतिर दुईवटा अलि ठूला रुख र झाडीजस्तो रहेछ । कामरेडहरूले त्यहीँ बस्ने निधो गर्नुभयो । केही स्याउला भाँचेर बिछ्यौना बनाइयो । त्यहीँ २ वटा चाउचाउ र एक बोतल पानीले ३ जनाले रात बितायौँ ।-एकजना साथी जाँचबुझ गर्न अगाडि जानुभयो । वातावरण ठीक भएको रिपोर्ट आएपछि हामी हिँड्यौँ । दुई घण्टापछि पोस्टमा पुगियो, त्यहीँ खाना खाएर दिनको २ बजेसम्म आराम गरियो । तीन बजे त्यहाँबाट हिँड्यौँ ।
त्यहाँबाट मसँग जाने साथी साटिए । त्यहाँ रातीमात्र दाङ, तुल्सीपुरबीचको नाका बिजौरा पार गर्ने गरिएको रहेछ । तल फाँटमा झरेर चिया खायौँ । अलि अगाडि बढ्यौँ, खोला ठूलो रहेछ, त्यहाँ बस्न पनि गाह्रो थियो । ४५ मिनेटमा दुश्मन चारैतिरबाट आउन सक्ने रहेछ । पार्टीका स्थानीय कमरेडहरूको सहयोगमा हामीले खोला त¥यौँ । हामी बेलुका एउटा सानो गाउँमा पुग्यौँ, त्यहाँ खाना खाने व्यवस्था मिलाइएको रहेछ । त्यहाँ खाना खाएर दुई घण्टा हिँडेर अर्को गाउँमा गएर सुत्यौँ । हामी सुतेको घर पहिले जनकारवाहीमा परेका खुमबहादुर खड्काको मानिसको रहेछ । हाम्रा प्रायः साथी त्यहाँ सुत्दा रहेछन् ।
हामी त्यहाँ पनि स्थानीय कमरेडसहित पालैपालो सेन्ट्री बसेर सुत्यौँ । मलाई भने सेन्ट्री बस्न पर्दैनथ्यो । हामी बिहान ४ः०० बजे उठेर त्यहाँबाट हिँड्यौँ । फाँटैफाँट हुँदै उत्तरतिर लाग्यौँ । शरीरले सबै पचाइसकेको थियो, दिनको १२–१३ घण्टा र रातको ७–८ घण्टा हिँडाइ । तर घुमाउरो बाटो प्रहरीको आँखा छल्दै अँध्यारोमा हिँड्नुपर्ने, बानी नभएकाले अफ्ठ्यारो भएको थियो । समाचार केही सुन्न पाइएको थिएन, सबै शून्यता जस्तै थियो ।
रोल्पाको झिनाम पोस्टमा पुगियो । झिनाम रोल्पाको चर्चित ठाउँ रहेछ । त्यहाँ पोस्टका साथीहरूबाट थाहा भयो, प्रहरी–प्रशासन आएर त्यो गाउँमा पटकपटक आतंक मच्चाउँदो रहेछ । पोस्टमा रहेका भाँडाकुँडा थाल, गिलास पनि लगेछ । पूर्वतिरको गाउँमा पसेर दुईवटा घर बलमे उडाइदिएर र सातवटा घरमा आगो लगाइदिएछ । गाउँमा खसी काट्ने, लुटपाट गर्ने काम गरेको सुनाए । त्यहाँ बस्न अप्ठ्यारो भयो । पल्लो सेल्टरमा पुगियो र त्यहीँ बसियो ।
हामी बिहानै सेल्टरबाट माथि लाग्यौं, दुईघण्टा हिँडेर डाँडामा पुग्यौँ । त्यहाँ सानो बजार रहेछ । त्योभन्दा अचम्मको कुरा त त्यहाँ ट्रयाक्टरको आवाज सुनियो । त्यहाँबाट दक्षिण पश्चिम सल्यान कपुरकोट जाने बाटो रहेछ । तरकारी, आलु, बोडी, बन्दा, टमाटर फल्दा रहेछन् । ट्रयाक्टरबाट तरकारी तुल्सीपुर लैजाने रहेछन्, ट्रयाक्टर रोल्पाको निगालापानी आइपुग्दो रहेछ ।
हामी उकालो चढ्दाचढ्दै कपुरकोटबाट प्रहरी मुभ गरेको थाहा भयो, त्यसपछि हाम्रो हिँडाइको गति पनि तीव्र भयो । हामी सिमपानी बजारमा पुग्यौँ । त्यहाँ चिया पिइयो । त्यहाँबाट हिँडेर जुगारको नेर्पा बजारमा पुगेर खाजा खाने कुरा भयो, उता दुश्मनको त्रास पनि थियो नै । १० घण्टा उकाली–ओराली, जुकाको टोकाइले खुट्टा सुन्निएर डरलाग्दा भएका थिए, ठाउँको संवेदनशीलताका कारण एकैदिन धेरै हिँड्नुपरेको थियो । सात दिनको हिँडाइपछि कमरेडहरू विप्लव, पासाङ, सुनिल, सन्तोष र पम्फाको सम्पर्कमा पुगियो । मन शान्त भयो, खाना खाइयो । हिँडाइको अनुभूतिका कुरा हुँदै थिए । थाहा भयो– दुश्मन लिवाङ्गबाट यता आउँदैछ भनेर । एहीवान जाने बाटो चिप्लो थियो, लंकको बाटो लडेपछि कहाँ पुगिन्छ थाहा नहुने खालको थियो । त्यसैले बाध्यता थियो, त्यहाँबाट हामी सबै साथी लोसवाङ भन्ने ठाउँमा गएर बस्यौँ ।
(अर्को श्रृङ्खला अर्को सोमबार)

अघिल्ला शृंखलाहरू पढ्नुहोस्
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो
🎯 शृंखला-५ : भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी
🎯 शृंखला-६ : बाबुराम भट्टराईको गोप्य सन्देश
🎯 शृंखला-७ : बाबुराम भट्टराईनिकट हुँदाको दु:ख