दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग  भेटाउँदा…

दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…

जेष्ठ १२, २०७८ 3 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले २०५२ सालमा जनयुद्धको थालनी ग-यो । त्यतिबेला म जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा कार्यरत थिएँ । विभिन्न देशबाट पढ्न आएका विद्यार्थीहरूसँग भाइचारासम्बन्ध थियो । यस बाहेक माओइस्ट कम्युनिष्ट सेन्टर (एमसिसी) र पिपल्स वार दुई ओटा पार्टी युद्धमा थिए ।

हाम्रो पार्टीका दुई जना कमरेड सैन्य तालिमको लागि ती पार्टीको शिविरमा पु-याइयो । दिल्लीमा रहेका कम्युनिष्ट भाइचारा, बुद्धिजीवि, पत्रकारबीच म आफैँ इन्टरनेशनल सोलिडारिटी फर्म, नेपालको संयोजक भएर नेपालको जनयुद्धको पक्षमा राजतन्त्रको विरुद्धमा जनमत तयार गर्ने काम भयो । त्यो बेला प्रा.जेएन शाहीबाबा, बर्बर राव, गौतम नवलेखा, आनन्दस्वरूप वर्मा, संजय सिंह, डा.अर्पण रोनासहित सिपीएम र सिपिआई समेतलाई राजतन्त्रको विरुद्धमा खडा हुने वातावरण बन्यो ।

त्यही बेला पार्टीको नेतृत्व पुष्पकमल दाहाल र बाबुराम भट्टराईको हेडक्वाटर पनि दिल्ली र वरपर नै हुन्थ्यो । वहाँहरूको सुरक्षा व्यवस्थापनका साथै जनयुद्धको लागि आर्थिक तथा लजिस्टिक सामग्री जुटाउने र कार्यकर्ता देशभित्र पठाउने, घाइतेको उपचार गराउने व्यवस्था मिलाउने कार्यमा म संलग्न हुन्थेँ । जवाहरलाल विश्वविद्यालयमा भएकाले पनि मलाई सजिलो भयो । दिल्लीका आइपिएस, आइएएस अफिसर, पुलिस, प्रशासन, सिबिआइलगायत क्षेत्रमा जेएनयू अध्ययन गरेका विद्यार्थीहरू अधिकतर हुने हुँदा मलाई काम गर्न सजिलो भएको थियो ।

त्यसबीच मैले दुई ओटा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु थियो– माओवादी नेतृत्वलाई भारतीय सरकारका प्रतिनिधिसँग भेट गराउने र नेपालका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गराउने काम ।
पहिलो चरणमा भारतीय प्रतिनिधिसँग दीनानाथ शर्मालाई भेट गराइयो । त्यसबेला उहाँ नेपाली बोल्नुहुन्थ्यो, मैले त्यसलाई हिन्दीमा उल्था गरेर बुझाउने काम गरेँ । त्यसको माध्यम एसडी मुनी पनि थिए ।

गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा प्रचण्ड र बाबुरामसँग भेटघाट गराउने तयारी गर्न मात्र एक महिना लाग्यो । गिरिजाबाबुका पिए गोकर्ण पौडेलसँग मेरो नियमित फोन सम्पर्क थियो । फागुन १८, २०५८ गते भेट्ने निधो भयो । पौडेल र चक्र बाँस्तोला आइआइटी बस्नुभयो । कोइरालालाई पहिले मैले भेट्ने कुरा भयो । फागुन १७ गते निरञ्जन कोइरालाको दिल्लीस्थित घर घौलाकुआमा नोना कोइरालासहित गिरिजाबाबुसँग भेट भयो ।

उहाँको शब्द थियो, ‘यो जनयुद्धलाई मैले शान्ति प्रक्रियामा लैजान्छु । प्रचण्ड र बाबुरामलाई मनाउनोस् । इन्डिया राजा राख्ने पक्षमा छ । त्यसैले खतरा छ, तपाईंहरू नेताको सुरक्षा गर्नुहोला ।’

भेट्ने समय निश्चित गरियो, स्थान मैले भनिनँ । मोतीबागको माथि पहाडी डाँडामा जैन मन्दिर थियो । त्यहाँ एक जना नेपालीले काम गर्थे, उनको सहयोगमा भेटघाटको एउटा बिन्दू तय भयो । उक्त कुरा कसैलाई थाहा थिएन ।

गिरिजाप्रसादलाई भारतीय सुरक्षा निकायको आँखा छलेर ल्याउने काम गोकर्ण पौडेल र चक्र बाँस्तोलालाई दिइयो । वहाँहरूलाई रामबहादुर नामका एक साथी दिइयो ।

प्रचण्ड र बाबुरामलाई ल्याउने जिम्मा दीनानाथ शर्मालाई दिइयो । उहाँहरूलाई पनि गोपाल नामका एक साथी दिइयो । उनीहरू दुई जना र मलाई मात्र भेट्ने मुख्यस्थलबारे जानकारी थियो । दुवै टिमलाई भारतीय समयअनुसार १०ः५५ बजे मन्दिरमा भेट गराइ गन्तव्यमा पु¥याइयो । त्यसबेला मलाई ठूलो चिन्ता थियो– केही भयो भने म गद्दार त हुनेछु नै, आन्दोलन पनि सिद्धिन्छ । तर काम सफलतापूर्वक सम्पन्न भयो ।

त्यसको एक दिनपछि दिल्ली प्रशासनले राजनीतिक कार्यमा मेरो संलग्नताबारे थाहा पाएछ । म त भूमिगत थिएँ, मेरो परिवार बसेको ठाउँमा छापा मारेर मेरो खोज तलास गर्न थाल्यो । त्यसपछि म इण्डियनहरूसँगको भेटघाटबाट टाढा भएँ । त्यति गर्दा पनि पाँच महिनापछि गिरफ्तार भएँ ।

भुल्न नसकेको क्षण
२०५८ साउनमा प्रा. एसडी मुनीलाई भेट्ने जिम्मा पार्टीले दिएकाले जेएनयू गएको थिएँ । त्यतिबेलै म बस्ने डेरामा जनयुद्धमा घाइते भएर कमरेड आरती कपिलवस्तुबाट पुनः आएको खबर पाएँ । उहाँलाई भेट्न भनेर जाँदा डेढ–दुई सय पुलिसले घेरा हालेर मलाई गिरफ्तार गरे र रातारात नेपाल सुपुर्दर्गी गरिदिए ।

पैसा सबै पुलिसले लगेका थिए । खल्तीमा एक रुपैयाँ पनि थिएन । खुट्टामा चप्पल पनि थिएन । २२ दिनसम्म सेनाको ब्यारेकमा राखेर हतियार कहाँ–कहाँ बाट मगाउँछ ? भनेर सोध्दै मलाई यातना दिइरहेका थिए । किनकि त्यतिबेला कान्तिरपुरले हतियार ‘सप्लाइ’ गर्ने माओवादी नेता गिरफ्तार भनेर लेखेको थियो ।

मृत्युको मुखमै पुगे पनि पार्टीको गोपनीयता खोल्नु आन्दोलनप्रतिको ठूलो घात हुने थियो । जीवनको भीख माग्नका लागि त्यसो गर्नु मेरो आदर्शविपरित थियो । मैले जीवनको लोभमा विश्वासघात गरेको भए आन्दोलन सकिने थियो । मलाई २२ दिन पछि हनुमान ढोका लगियो । त्यहाँ ६०–७० जना साथी रहेछन् । त्यहाँ अहिलेका रातोपाटी डटकमका संस्थापक ओम शर्मा पनि हुनुहुन्थ्यो । उहाँलाई भनेर मैले उहाँको चप्पल लगाएँ ।

खल्तीमा एक रुपैयाँ पनि नहुनु, खुट्टामा चप्पल पनि नहुनु, त्यो निकै पीडादायक स्थिति थियो । अर्को दिन मलाई त्यहाँबाट लगेर गोंगबु राखेको पछि थाहा पाएँ । त्यहाँ धादिङका पार्टी नेता पुष्पविक्रम मल्लको भान्जी पुलिसमा हुनुहुँदोरहेछ । उहाँको सहयोगले म जीवित छु भन्ने खबर परिवारलाई पठाएँ ।

मेरो बुटवलको घर २०५४ सालमा पार्टीलाई बुझाएको थिएँ । पार्टीले युद्धका सामग्री ‘सप्लाइ’को कार्यालय राखेछ, यमा बञ्जाडेसहितको टीम त्यहाँबाट गिरफ्तार भएपछि मेरो घर ‘बम ब्लाष्ट’ गरेर भत्काएर बचेको घरमा पनि सेनाले ताला लगाइदियो । सो घटा पनि त्यही बेलाको थियो ।

उता दिल्लीमा दुई छोरा र श्रीमती विचल्लीमा थिए । जेएनयूमै कार्यरत तर पार्टीमा संगठित नभएका नेपालीले ‘तेरो श्रीमान् मारिदियो’ भनिदिएछन् । पार्टीको कसैले भेटघाट नगर्ने कठिन परिस्थितिमा मेरा केही भारतीय साथीहरू र केही प्रोफेसरहरूको सहयोगबाट परिवार बचे । त्यो पनि दुःखकै क्षण हो । त्यो बेला डिप्रेसन भएको मेरो जेठो छोरोको अहिले पनि अवस्था उस्तै छ ।

दिल्लीको आन्दोलनमा फरक–फरक समयमा जेल परिसकेको थिएँ । भारतबाट नेपाल सुपुर्दर्गी गरिएपछि फेरि १४ महिना संकटकालको बेला नेपालमा जेलमा बसेँ । त्यो बेला पार्टीले परिवारलाई हेरचाह पनि गरेन । अहिले त्यो समय सम्झेर दुःख लाग्छ ।

वामदेव क्षेत्री

दिल्लीको बाटो
अत्यन्त गरिब परिवारमा जन्मेको थिएँ । गाउँमा सामन्ती साहुको शोषण दमनप्रति घृणा र आक्रोश पैदा हुन्थ्यो । त्यसैको प्रभाव हुनुपर्छ, सानैदेखि विद्रोही स्वभावको थिएँ । त्यो बेलाको विद्रोही स्वभावले मलाई कम्युनिष्ट बन्ने प्रेरणा दियो । मलाई शोषण, अन्यायको विरुद्ध लड्नु पर्छ भन्ने लाग्यो । त्यतिबेला म अर्घाखाँचीको जनज्योति माध्यमिक विद्यालयमा हाइस्कूल स्तरमा पढ्दै थिएँ । उमेर १५ वर्षको थियो । यो ०३३ सालतिरको कुरा हो । त्यो बेला पुष्पलालका किताबहरु पढ्न मिल्यो । पञ्चायती व्यवस्था भएकाले किताबहरू लुकाएर पढ्नु पथ्र्यो ।

त्यसबेलादेखि नै मलाई कम्युनिष्ट आन्दोलनप्रति चासो भए पनि संगठित थिइनँ । त्यो बेला केही समय गाउँको विद्यालयमा पढ्ने इच्छा तीव्र थियो । बुबाको मलाई पढाउने इच्छा थियो, त्यसैले म भारत गएँ । घरको स्थिति कमजोर भएकाले मेरो गाउँको दाइ पूर्णप्रसाद श्रेष्ठले खर्चको लागि काम गर्ने र पढ्ने व्यवस्था मिलाइदिनु भयो ।

त्यही बेला पहिलो अखिल भारत नेपाली विद्यार्थी संघको राष्ट्रिय सम्मेलन चण्डीगढमा हुँदैछ भन्ने साथी विष्णु गुरुङबाट थाहा भएपछि त्यहाँ पुगेँ । बाबुराम भट्टराई त्यसको संस्थापक अध्यक्ष हुनुभयो । राजदूत वेदानन्द झाले त्यसको उद्घाटन गरे, दुई दिनको कार्यक्रम मलाई पहिलो दिन नै चित्त बुझेन र फर्कें ।

त्यसपछि दोस्रो सम्मेलन दिल्लीको आइआइटीमा भयो । त्यो सम्मेलनमा नेपालमा चाओको नामबाट चर्चित नेता निर्मल लामा आउने थाहा भएपछि महेश मास्के, म लगायतका विद्यार्थीेले राजनीतिक छलफल ग-यौं । त्यो छलफलबाट प्रभावित भएर मैले पार्टीमा लाग्ने निर्णय गरेँ । त्यसपछि पुष्पलालका किताब, निर्मल लामाको प्रशिक्षण, मोहनविक्रमको भेटघाटले मैले सन् १९८० मा कमरेड विष्णुहरि शर्माबाट ने.क.पा.(मसाल)को सदस्यता लिएँ ।

जेएनयूको अर्को उपलब्धि
म सानैदेखि पढ्नमा रुचि राख्ने स्वभावको थिएँ । मेरो इच्छा पढ्ने र ठूलो प्रोफेसर हुने थियो, यात्रा राजनीतितिर मोडियो । त्यही पनि ठूलो संघर्षले राजनीतिसँगै पढाइलाई निरन्तरता दिएँ ।

जेएनयू पढ्दा क्याटिनमा काम गरेँ, होस्टेलमा भाँडा माझेँ । प्रो. परिमलकुमार दासका घरमा काम गरेँ । त्यति गर्दा पनि मेरो घरको स्थिति नाजुक थियो । त्यसका वावजुद सबै भाइबहिनीहरूलाई पढाएँ । मैले दुई विषयमा डिग्री गरेँ । परिमलकुमार दास ‘रिटायर्ड’ भएर साउथ दिल्ली पब्लिक क्याम्पसमा ‘डिन’को रूपमा कार्यरत थिए । म त्यहाँ लेक्चरर नियुक्त भएर ६ वर्ष पढाएँ । उनका घरमा भाँडा माझ्ने उनैसित सँगै पढाएँ पनि । यो मेरो लागि गर्वको विषय थियो ।

यसो गर्दै गर्दा राजनीतिक क्षेत्रमा मभन्दा जुनियर साथी सिनियर भए । म पारिवारीक समस्याले चाँडै होलटाइमर भइनँ । उहाँहरू जुनियर साथी भए पनि सधैँ म सम्मान गर्छु । मैले जागिरसँगै राजनीति गरेकाले अहिले पाउने पेन्सन सांसद सदस्यको जति छ । कसैसित माग्न पर्दैन । स्वाभिमानले बाँच्न पाउँदा गर्व छ ।

राजनीति नगरेर पढाइमात्रै गरेको भए ठूलै प्रोफेसर हुन्थे हुँला । ठूलो पदमा हुन्थेँ होला । तर राजनीति गरेकोले चेतनाको विकास भयो । अरूलाई सहयोग गर्ने प्रेरणा जाग्यो, राजतन्त्रको अन्त्यमा मेरो पनि भूमिका रह्यो । नामले स्थापित भएँ । त्यसमा गर्व गर्छु । साथै, शिक्षित भएर भाइबहिनीलाई पढाएको हुँदा अहिले मेरो परिवारमा डाक्टर, इञ्जिनियर, हाकिमहरू छन् । त्यसमा पनि मलाई गर्व छ । कसैले विदेश जानु परेको छैन । यो सबै गर्ने मेरो प्रेरणाको थलो भनेको जवाहरलाल नेहरु विश्वविद्यालय नै थियो ।

मैले बुझेको कम्युनिष्ट
कम्युनिष्टले अन्यायको विरुद्ध संघर्ष गर्छन्, न्यायको पक्षमा लड्छन् भन्ने कुराले मलाई प्रभावित बनाएको थियो । जवाहरलाल नेहरू विश्वविद्यालयको बसाइ, जहाँ अन्तरराष्ट्रिय कम्युनिष्टहरू निकै जमघट हुने ठाउँ । दुई वर्ष मेरै कोठाको नजिक मोहनविक्रम सिंहको बसाइ थियो । बाबुराम भट्टराई, मोहनविक्रमसितको छलफलबाट म प्रभावित थिएँ ।

मैले बुझेको कम्युुनिष्ट र नेपालमा भएका कम्युनिष्टको आचरण, व्यवहार, संस्कार जमिन–आसमानको फरक छ । हुन त नेपालीहरू अझै सामन्तवादबाट मुक्त छैनौं, पूँजीवादको विकास पनि गर्न सकेका छैनौं । त्यसैले हामी ठिमाहा सन्तानजस्ता छौं र हाम्रो चेतनाले पनि त्यही सिकाउँछ ।

सामन्ती प्रवृत्तिको रूप भनेको व्यक्तिपूजा हो । कम्युनिष्ट आन्दोलन होस् या डेमोक्रेटिक आन्दोलन होस्, नेपालमा व्यक्ति पूजा गर्ने, चाप्लुसी चाकडी गर्ने, नातागोता हेर्ने र वर्ग उत्थान हुने परम्परा हुर्कंदै आएको छ । जसकारण व्यक्ति सफल हुने, इमान्दारीपूर्वक खट्ने इमान्दार मानिस सधैँ उपेक्षित हुने संस्कृतिको विकास नेपालमा भइरहेको छ । आदर्श, विचार, इमान्दारिता शब्द किताबमा सीमित भएका छन् ।

खासमा आदर्श र विचारले राम्रा कुरा सिकाउन सक्ने, ज्ञान लिन सक्ने, प्रगतिशील बनाउन सक्ने साथै इमान्दारको मूल्यांकन गरेर समाजलाई अग्रगमनतिर लाने राजनीति हुनुपर्ने हो । भौतिकवादी दर्शन शास्त्रले राजनीतिलाई यसरी नै व्याख्या गरेको पाइन्छ । राजनीतिक शास्त्रको विकास गरेका विद्वानहरूले पनि समाज रुपान्तरणलार्ई यस्तै विज्ञानको रुपमा व्याख्या गरेका छन् । तर नेपालको सन्दर्भमा फरक छ, यो मेरो अनुभूति हो ।
०००
अर्को संस्मरण पढ्नुहोस्
जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली