मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो

मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो

असार ७, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- ४

आँखामा पट्टी बाँधिएको थियो, त्यसैले कहाँ पुर्‍याइयो थाहा भएन । तर त्यो सैन्य ब्यारेक हो भन्ने आभास त गतिविधिबाट पनि भइहाल्यो । त्यसमाथि पनि त्यहाँको वातावरण चित्कारले भरिएको थियो । त्यो यातनागृह थियो– शिवपुरीको भैरवनाथ गण । गण थियो भन्ने कुराचाहिँ पछिमात्रै थाहा भयो ।
आँखा छोपेर त्यहाँ पुर्‍याउँदासम्म जीवनलाई एकप्रकारले माया मारिसकेको थिएँ । त्यहाँ यातना पाउनेहरूको आर्तनाद सुनेपछि शरीर सिरिङ्ग भयो । अब सम्हालिएर मन दह्रो बनाउने र यातनाका लागि तयार हुनुको विकल्प गिएन । मेरो अनुमानमा दिउँसोको तीन–चार बजेको हुनुपर्छ, त्यहाँ पुग्दा ।
त्यहाँ पु¥याउनेबित्तिकै सोधपुछ थालियो । आँखा बन्द भए पनि सोधपुछ गर्ने २ वटा टिम रहेछ भन्ने थाहा लाग्यो । एउटा टिमले राम्ररी कुरा गर्दै मनोवैज्ञानिक यातना दिन्थ्यो । अर्कोले आएर केही नसोधी भौतिक यातना दिन्थ्यो, निर्मम कुटपिटमा उत्रिन्थ्यो ।

प्रश्नहरू थिए – प्रचण्ड–बाबुराम कहाँ बस्छन् ? नेपालको युद्धमा दक्षिण भारतका गुरिल्ला कति आएका छन् ? हतियार कहाँबाट आउँछन्, गिरिजाप्रसादलाई भेट गराउँदा भारतीय पार्टीका गुरिल्ला थिए रे, कहाँ कसरी भेट गराएको हो ?


३–४ दिनको अनवरत यातनाले शरीरको छाला पनि मरिसकेको थियो, अब बाँच्न सकिँदैन भन्ने भयो । शौचालय जान नसक्ने स्थिति बनिसकेको थियो । मान्छे मृत्यु टाढा हुँदासम्म नै डराउने, आत्तिने र चिच्याउने गर्दोरहेछ । तर जब मृत्यु उसको सन्निकट आइपुग्छ तब उसमा डर होइन, आक्रोश, साहस र बदलाको भाव पैदा हुँदा रहेछ ।
त्यहाँका सेनाहरू त्यसैले क्रान्तिकारीहरूको साहस देखेर नतमस्तक भएको पाइन्थ्यो ।
चिसो भुइँमा जिउँदो लास जसरी पल्टिनुको विकल्प थिएन । आँखामा पट्टी यथावत् थियो । हात पछाडी लगेर हत्कडी लगाइएकाले घोप्टो परेरमात्रै पल्टन सकिन्थ्यो ।


जुनसुकै बखत कुटपिट सुरु हुन्थ्यो । महिलाहरूका शरीरमा हात लगाउन पनि पछि पर्दैनथे, महिलाहरूको प्रतिरोधक–चित्कार सुन्दा मन उद्वेलित भएर आउँथ्यो, तर केही गर्न नसक्नुको विवशताले छाती चिरिन्थ्यो ।
मलाई सोधपुछमा सोधिने प्रश्नहरू उस्तै–उस्तै प्रकारका थिए । जस्तो कि, प्रचण्ड–बाबुराम कहाँ बस्छन् ? भारतको पिपुल्स वार र माओइस्ट कम्युनिष्ट सेन्टरसँग कस्तो सम्बन्ध छ ? दिल्लीमा कुन–कुन बुद्धिजीविले सहयोग गर्छन् ? को–को डाक्टरले घाइतेलाई उपचार गर्छन् ? नेपालको युद्धमा दक्षिण भारतका गुरिल्ला कति आएका छन् ? हतियार कहाँबाट आउँछन्, गिरिजाप्रसादलाई भेट गराउँदा भारतीय पार्टीका गुरिल्ला थिए रे, कहाँ कसरी भेट गराएको हो ?

‘तेरा दुईवटा छोरा र श्रीमतीलाई नेपाल ल्याएका छौँ । जेठो छोरा कस्टडीबाट भाग्न खोज्दा मारिएको छ । सानो छोरा रूँदै बस्छ, केही पनि खाँदैन । पटकपटक बेहोस् हुन्छ, मर्ने स्थितिमा छ । तेरो श्रीमतीलाई डिप्रेशन भएको छ, उल्टापुल्टा कुरा गरेर तेरोबारे सबै कुरा खोली सकेको छ ।’


सजिलै अनुमान लगाउन सकिन्छ कि ती प्रश्नहरू त्यतिबेला हतियार सप्लाइको तालमेल मिलाउने माओवादी नेता वामदेव क्षेत्री दिल्लीबाट गिरफ्तार भनेर कान्तिपुरले लेखेको समाचारमा आधारित थिए ।
हरेक प्रश्नमा मेरो जवाफ हुन्थ्यो, ‘मलाई यो सबै थाहा छैन । मेरो काम भनेको भारतका बुद्धिजीवि, राजनीतिक दललाई राजतन्त्रविरोधी आन्दोलनमा सहयोग गर्न प्रचारप्रसार गर्नु र यसबारे कलम चलाउनु मात्र हो ।’
मनोवैज्ञानिक यातना दिने टीमले मनोबललाई कमजोर गर्ने अनेक प्रयत्न गथ्र्यो । जस्तो कि, ‘पर्सि बुधबारका दिन तँलाई जंगलमा लगेर सेनाको हतियार खोसेर भाग्न लागेको भनि इन्काउन्टर गर्ने निर्देशन छ । तैँले सबै बताइस् भने छोडिदिन्छौँ । अझै दुई दिन बाँकी छ ।’
जस्तो कि, ‘तेरा दुईवटा छोरा र श्रीमतीलाई नेपाल ल्याएका छौँ । जेठो छोरा कस्टडीबाट भाग्न खोज्दा मारिएको छ । सानो छोरा रूँदै बस्छ, केही पनि खाँदैन । पटकपटक बेहोस् हुन्छ, मर्ने स्थितिमा छ । तेरो श्रीमतीलाई डिप्रेशन भएको छ, उल्टापुल्टा कुरा गरेर तेरोबारे सबै कुरा खोली सकेको छ ।’


तर मैले आफ्नो मनोबललाई कुनै पनि उत्सर्गको यात्राका निम्ति तयार गरिसकेको भएका कारण मनोवैज्ञानिक यातनाबाट विचलित भइनँ । सोचेँ– यिनीहरूले भनेको सत्य नै रहेछ भने पनि जे हुनु त भइहाल्यो । त्यसमा भावुक भएर पार्टी वा क्रान्तिप्रति गद्दारी गर्न हुँदैन । जीवनको आश नै मारिसकेको थिएँ, त्यसको लोभ नै थिएन । त्यसैले गोपनियता खोल्ने त प्रश्न नै हुँदैनथ्यो ।

नौ दिन हुँदा म शौचालय पनि जान नसक्ने स्थितिमा पुगेँ । कपडामै पिसाब फेरियो । पिसाब जमिनमा देखिएपछि फेरि पिटाइ खानुपर्‍यो । दिसा गर्न नसक्ने भएकाले खाना पनि खाइनँ, अब यसै मरिन्छ भन्ने लाग्यो ।


ब्यारेक लगेको ७ दिन भएको थिए । आँखामा पट्टी बाँधेकै थिए । कसैले नम्र स्वरले मेरो हालचाल सोध्यो । सायद ठूलै हाकिम थियो होला, सबैलाई निर्देशन दिइरहेको थियो ।
उसले मेराबारे भनेको सुनेँ– ‘यो नेता हो । बाबुरामको नजिकको मानिस । हत्या हुने किसिमको यातना नदिनू ।’
उसको कुरा सुनेपछि लाग्यो– पार्टीभित्रको अन्तरसंघर्षबारे सेना प्रहरी सबैलाई थाहा रहेछ । उनीहरूको उद्देश्य मलाई बाबुराम र प्रचण्डसँग पुग्ने माध्यम बनाउने रहेछ । अर्कातिर यातना गृहमा पनि विभाजन गराएर एकअर्का नेताबारे गोप्य कुरा खोलाउने मनशाय रहेछ ।

नौ दिन हुँदा म शौचालय पनि जान नसक्ने स्थितिमा पुगेँ । कपडामै पिसाब फेरियो । पिसाब जमिनमा देखिएपछि फेरि पिटाइ खानुपर्‍यो । दिसा गर्न नसक्ने भएकाले खाना पनि खाइनँ, अब यसै मरिन्छ भन्ने लाग्यो ।
तर, अर्को बिहानदेखि सिपाही आएर मलाई शौचालय लाने, कपडा भिजाएर हातखुट्टा पुछिदिने र केही बाहिरका समाचार सुनाउने गर्न थाल्यो । यो माथिको निर्देशन थियो वा उसको सहानुभूति, केही थाहा भएन । एक सामान्य सिपाहीले ‘आतंककारी’ भनिएको मलाई सहानुभूति दिने हिम्मत कसरी गथ्र्यो होला ?

त्यही सिपाहीले मलाई सुनाएको थियो, माओवादीलाई पानी खान दिएबापत् ५ जना कारवाहीमा परेका छन् । कृष्ण सेनको हत्या नेपाल प्रहरीको उपत्यका इन्चार्ज एसपी विक्रमसिंह थापाले गरे भनेर पत्रिकामा आएको कुरा पनि मलाई उसैले सुनायो । सिन्धुलीको भिमानको चौकी आक्रमणबारे पनि मलाई सुनायो । मैले उसलाई मसिनो स्वरमा सोधें, ‘यहाँ कति जना माओवादी छन् ?’

मेरो आँखामा पट्टि थियो, दुवै हात पछाडि लगेर हत्कडी थियो । मलाई त्यही छिपछिपे पानीमा लडाएर खाल्डो खन्नेतिर लागे । खाल्डो खनिसकेपछि मेरो हत्कडी खोलिदिएर र मलाई खाल्डोमा खसालीदिए । मैले मेरो अन्तिम दिन यही रहेछ भन्ने ठानेँ ।


तर उसले बताउन मिल्दैन भन्यो । पछि के सोच्यो कुन्नी, उसले भन्यो, ‘यहाँ ५१ जना छन् । पल्लो भवनमा १५० जना जति छन् ।’ मैले उसको नाम जान्ने प्रयत्न गरेँ । तर कसैगरी पनि बताएन ।
एकदिन बिहानै मलाई जीपमा राखियो । कुनै सैनिकले सानो स्वरमा मलाई भन्यो– अब तँ मर्ने भइस् । मलाई कुनै सुनसान ठाउँमा लगियो, जहाँ पानी बगिरहेको थियो । जीपबाट ओरालेर छिपछिपे पानी भएको ठाउँमा पल्टाइयो ।
एउटाले भन्यो– त्यहाँ होइन, पानीमा रगतै–रगत हुन्छ । अर्काले ठूलो स्वरमा भन्यो– त्यसो भए खाल्डो खन् ।
त्यसो भन्ने तिनीहरूको इन्चार्ज होला, निर्देशन दिइरहेको थियो । मेरो आँखामा पट्टि थियो, दुवै हात पछाडि लगेर हत्कडी थियो । मलाई त्यही छिपछिपे पानीमा लडाएर खाल्डो खन्नेतिर लागे । खाल्डो खनिसकेपछि मेरो हत्कडी खोलिदिएर र मलाई खाल्डोमा खसालीदिए । मैले मेरो अन्तिम दिन यही रहेछ भन्ने ठानेँ । परिवारलाई सम्झेँ, मनमनै क्षमा मागे । सहयात्री कमरेडहरूलाई सम्झेँ । यातनागृहभित्रको चित्कार कानमा गुन्जिन थाल्यो । भावनाको छाल उर्लियो । परिवारको यादले मुटु चरक्क भयो । तर मैले विचारलाई अगाडि ल्याएँ, जुन विचारले क्रान्तिको महान यात्रामा एकताबद्ध बनाएको थियो । दुस्मनको यातना शिविरमा भावना हावी भयो भने क्रान्तिकारीको लागि घातक हुन्छ भन्ने कुरामा सतर्क बनेँ । अनि आफैँले आफैंलाई खबरदारी गरेँ ।


यति सोच्दा–सोच्दै एकजनाले वाकिटकीमा कुरा गर्न थाल्यो ।। उताबाट के भनिरहेको थियो, सुन्न सकिनँ । तर अचानक उसले चिच्याएर भन्यो, ‘ए….ए….आज नमार्ने आदेश माथिबाट आएको छ ।’ त्यसपछि मलाई तुरुन्तै खाल्टाबाट निकालियो र हत्कडी लगाइयो ।
अचम्मको संयोग, मृत्युको मुखैबाट फेरि बाँचियो । कुनै सैनिकले घिसार्दै भन्यो– आजलाई बाँचिस् । त्यसपछि जीपमा राखेर फेरि ब्यारेक पुर्‍याइयो । त्यसदिन केही सोधपुछ गरिएन । खाना ल्याएर दिइयो । तर खाने मन थिएन । बरु, फेरि परिवारलाई सम्झेँ र भावुक भएँ । फेरि सचेत भएर आफूलाई नियन्त्रण गरेँ ।
अर्कोदिन मलाई फकाउन थालियो । जीवनदान दिने कुरा गरे, परिवारलाई व्यवस्थित गर्ने कुरा गरे, बुटवलको घरको ताला खोली दिने कुरा गरे, थुप्रै लालचहरू दिए ।

ब्यारेकमा राखेको १७ दिन भएको थियो, मलाई बाहिरको खबर सुनाउने भाइले भन्यो– ‘तपाईंलाई फेरि आज बाहिर लैजाँदै छन् ।’ मलाई अबचाहिँ मार्ने नै निधो गरे क्यार भन्ने लाग्यो ।


फकाएर नमानेपछि तर्साउन थाले । भन्न थाले, ‘मुमाराम खनाल, रविन्द्र श्रेष्ठ, कृष्णध्वज खड्काहरूले सबै बताइसके । तँ किन बेकार आफ्नो जीवन खेर फाल्छस् ?’ उनीहरूको कुरा सुनेर ममा आक्रोश उर्लिएर आयो । मैले सक्दो चिच्याएर भनेँ, ‘मलाई मार । तर म पार्टी र क्रान्तिप्रति गद्दारी गर्दिनँ ।’
मैले चिच्याएको सुनेर उनीहरूले भने, ‘तँलाई यति सजिलैसँग कहाँ मार्नु ? तड्पाई–तड्पाई मार्ने हो ।’ त्यसपछि उनीहरू हिँडे ।
ब्यारेकमा राखेको १७ दिन भएको थियो, मलाई बाहिरको खबर सुनाउने भाइले भन्यो– ‘तपाईंलाई फेरि आज बाहिर लैजाँदै छन् ।’ मलाई अबचाहिँ मार्ने नै निधो गरे क्यार भन्ने लाग्यो ।


मलाई खाना दिइयो र खाइसकेपछि जीपमा राखियो । त्यसपछि पुलिस हेडक्वाटर लगिएको रहेछ, पुगेपछि थाहा भयो । दिल्लीबाट सिआइबी (सेन्ट्रल ब्यूरो अफ इन्टेलिजेन्स)को डिआइडी आएका रहेछन् । उनले आँखाको पट्टी खोल्न लगाए । त्यत्रो दिनपछि आँखा खुल्दा छुट्टै संसारको अनुभूति भयो ।
उसले पहिले लालच देखाउने र फकाउने तरिकाबाट सोध्न थाल्यो । उसका प्रश्नहरू केही पुरानै र केही नयाँ थिए । ‘बाबुराम–प्रचण्ड इण्डियामा कहाँ बस्छन् ? तपाईंहरूको गोवाको मिटिङ्गमा इण्डियन को–को थिए ? पिपुल्स वार र माओस्ट कम्युनिष्ट सेन्टरसँग तपाईंहरूको सम्बन्ध कस्तो छ ? भारतबाट गुरिल्लाहरू नेपाल आएका छन् रे हो ? पाकिस्तानले हतियार दिन्छ भन्ने छ, हो कि होइन ?’

म नेपाली नागरिक हुँ । तपाईंलाई जवाफ दिनु कुनै आवश्यक छैन । र, यहाँ आएर तपाईंको सोध्ने अधिकार पनि छैन । तपाईं पहिले मसँग डर लागेर देश निकाला गरेका चिठ्ठी थमाउने र रातारात सुपुर्दगी गर्ने, अहिले किन सोध्नुहुन्छ ?

निकैवटा प्रश्नमा म चुपचाप रहेँ र भनेँ, ‘म नेपाली नागरिक हुँ । तपाईंलाई जवाफ दिनु कुनै आवश्यक छैन । र, यहाँ आएर तपाईंको सोध्ने अधिकार पनि छैन । तपाईं पहिले मसँग डर लागेर देश निकाला गरेका चिठ्ठी थमाउने र रातारात सुपुर्दगी गर्ने, अहिले किन सोध्नुहुन्छ ? हिम्मत भए दुई दिन उहीँ राखेर सोधपुछ गरेको भए हुन्थ्यो नि ! हेर्नुस्, म राजनीतिककर्मी हु्ँ, माओवादी पार्टीको केन्द्रीय सदस्य हुँ । तर आतंककारी होइन । नेपालमा राजतन्त्रका विरूद्ध र गणतन्त्र स्थापना गर्न हतियार उठाएको क्रान्तिकारी हुँ । त्यसैले म कुनै जवाफ दिन्नँ ।’
मेरो जवाफ सुनेर ऊ रातोपिरो हुँदै अर्को कोठातिर गयो । दिल्ली पुगेर मेरो परिवार बस्ने ठाउँको खानतलासी गरेछ । आतंकित गरेछ र मलाई मारी सकेको खबर पनि गरेछ । मैले त्यो कुरा जेलमा गएपछि थाहाँ पाए । त्यहाँ खानतलासी र परिवारलाई आतंकित पार्दा त्यहाँका विद्यार्थी, प्रोफेसर र कर्मचारीले प्रतिरोध गरेछन् । मेरो राजनीतिबारे जवाहरलाल नेहरू विश्वविद्यालयका प्रगतिशील तप्कालाई थाहा थियो । उनीहरूले परिवारलाई क्याम्पसभित्रै सारेर रक्षा गरेछन् ।


डिआइजी गएपछि मलाई फेरि ब्यारेक लगियो । पाहुना पुलिस अफिसरलाई बेइज्जत गर्‍यो भनेर यातना कुट्न थालियो । यातनाले म बेहोस भएछु । रातिको खाना पनि खान सकिनँ । म बोल्न नसक्ने, उठ्न नसक्ने स्थितिमा थिएँ ।
ब्यारेकमा राखेको २२ दिन भएको थियो । एकजना अफिसर आएर नरम भाषामा तपाईंको स्वास्थ्य कस्तो छ भनेर सोध्यो । म उसैगरी पल्टिएको थिएँ । केही बोलिनँ । उसले भन्न थाल्यो, ‘तपाईं आत्तिनु पर्दैन, केही हुँदैन, तपाईंलाई मार्दैनन् ।’

ब्यारेक पुर्याइएको २६ औं दिन बिहानै त्यहाँ मलाई र गोरखाको रमेश पन्त भन्ने भाइलाई सोह्रखुट्टे चौकीमा पुर्‍याइयो । त्यहाँ भएका ५१ मध्ये ४९ जनालाई शिवपुरीको जंगलमा लगेर २ दिनपछि हत्या गरिएको खबर सुनियो ।


उसको बनावटी कुरा सुन्दासुन्दै मेरो धैर्यताको बाँध टुटिसकेको थियो । मैले रिसाउँदै भनेँ, ‘म विचारमा मात्र होइन, भौतिक रूपमा पनि बलियो छु । कुनै सहानुभूतिको जरूरत छैन ।’ मेरो कुरा सुनेपछि ऊ बाहिरेको मैले बुटको आवाजले थाहा पाएँ । तथापि चिसोले मेरो स्वास्थ्यस्थिति खराब भइसकेको थियो । त्यो अफिसरले मलाई औषधि पठाइदिएको रहेछ । एकजना सिपाहीले ‘हाकिम साहबले दबाइ पठाइदिनुभएको छ’ भन्यो । आफैं यातनाले मरणासन्न बनाउने अनि आफैं औषधि दिएको नाटक गरेको देखेर मलाई झोंक चल्यो । र, उसले दिएको औषधि फ्याँकिदिए । फेरि यातनाको उही श्रृङ्खला चलिरह्यो ।


ब्यारेक पुर्याइएको २६ औं दिन बिहानै त्यहाँ मलाई र गोरखाको रमेश पन्त भन्ने भाइलाई सोह्रखुट्टे चौकीमा पुर्‍याइयो । त्यहाँ भएका ५१ मध्ये ४९ जनालाई शिवपुरीको जंगलमा लगेर २ दिनपछि हत्या गरिएको खबर सुनियो । त्यस्तो मानव बधशालाबाट कुन संयोगले बाँचियो, रहस्यमा नै रह्यो ।
܀܀܀
अघिल्ला शृंखलाहरू पढ्नुहोस्
१. दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
२. जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
३. दिल्लीदेखि सैनिक ब्यारेकसम्म