भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी

भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी

असार १४, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला-

माथि को थियो थाहा भएन । तर माथिको आदेश आयो र मृत्युको मुखैबाट म फिर्ता भएँ । खाल्डोमा पुरिनै लागेको मलाई फिर्ता ल्याइएको थियो, बाँचेको थिएँ म । तर मन असाध्यै बेचैन थियो । भैरवनाथ गणमा राखिएका अरू ४९ जना बन्दीलाई के गरे होलान् ? कहाँ लगेर हत्या गरे होलान् ? मलाई जसरी पुर्न आँटिएको थियो, त्यसैगरी खाल्डो खनेर जिउँदै पुरे कि गोली हानेर मारे ? कि अरू नै यातना दिएर मारे होला ? ती को–को थिए ? तिनको परिवारले थाहा पाए होलान् त ? कि तिनको खबर नै गायब पारिँदैछ ? यस्तो अनेक तर्कनाले मन खाइरहेथ्यो, यातनाले सारा शरीर त दुखिरहेकै थियो ।

सोह्रखुट्टे चौकीबाट हनुमानढोका
भदौको १७ गते सेनाको ब्यारेकबाट ल्याएर मलाई र रमेश पन्थ भाइलाई सोह्रखुट्टे चौकीमा बुझाइयो । सेनाले पुलिसलाई बुझायो, अब बाँच्ने मौका पाइन्छ कि भन्ने आश पलायो । तर, अर्कातिर जेलबाटै थुतेर बाहिर लगेर हत्या गरिरहेको खबर सुनिरहेकाले बाँचिने कुरामा सिधा विश्वास गर्न पनि गाह्रो थियो ।
सानो कोठामा २५ जना बन्दी थियौं । विभिन्न मुद्दामा आएका मध्ये हामी माओवादी २ जना मात्र थियौँ । हामी माओवादी हौँ भन्ने थाहा पाएर त्यहाँका पुलिस पनि सतर्क थिए । बाँकी बन्दी पनि हामीसँग डराउँथे । बन्दीलाई छुट्टै शौचालयको व्यवस्था थिएन । कोठाकै एउटा कुनामा पिसाब गर्नुपर्ने हुँदा गनाएर बसिसक्नु थिएन । जेनतेन रात काटियो ।

हनुमानढोका लगियो । त्यहाँ ७० जना माओवादी बन्दी रहेछन्, वातावरण नै माओवादीमय थियो, छुट्टै संसारमा पुगेको अनुभूति भयो । मलाई देखेपछि साथीहरू खुसी हुनुभयो, दिनभर छलफल भयो ।

अर्को बिहानै ड्यूटीमा रहेको गार्डलाई भनेँ, ‘म माओवादी नेता हो र राजनीतिक बन्दी हुँ । यहाँको चौकी इन्चार्जलाई भेट्न खबर पु-याउनुहोस् ।’ आँखामा पट्टी नहुँदा र सेनाको ब्यारेकबाट पुलिस कस्टडीमा आउँदा संसार नै जिते जस्तो लागेको थियो, डर केहीको पनि थिएन । त्यसैले आँटेर भनेँ । त्यहाँको इन्चार्ज इन्सपेक्टर रहेछन्, उनले दुईवटा डोनट र दुई कप चिया पठाइदिए । रातीदेखि भोकै थियौं, भाइ र मैले खायौँ ।
एक घण्टापछि मलाई हनुमानढोका लगियो । त्यहाँ ७० जना माओवादी बन्दी रहेछन्, वातावरण नै माओवादीमय थियो, छुट्टै संसारमा पुगेको अनुभूति भयो । मलाई देखेपछि साथीहरू खुसी हुनुभयो, दिनभर छलफल भयो ।
त्यहाँ २२ जना भ्रष्टचारका कसुरदारलाई सुविधाजनक तरिकाले राखिएको रहेछ । साथीहरूले त्यसको विरोधमा संघर्ष गर्ने निर्णय गर्नुभएको रहेछ । मलाई देख्नेबित्तिकै उहाँहरूले चर्को नारा पनि लगाउन थाल्नुभयो । उक्त मुद्दा नचर्कियोस् भन्ने आशयले हुनुपर्छ, मलाई राती १२ बजे त्यहाँबाट हिँडाइयो । साथीहरूले ‘यातना दिन पाइँदैन, हाम्रो नेतालाई सार्वजनिक गर’ भन्ने नारा लगाउन थाले । म भने अमिलो मन बनाएर साथीहरूबाट बिदा भएँ ।

फेरि आँखामा पट्टी
हनुमान ढोकाबाट हिँडाउनुअघि मेरा आँखामा पट्टी बाँधियो, हत्कडी लगाइयो । जीपमा राखियो । अनि सहर घुमाइयो । त्यसपछि एउटा कोठामा पु¥याइयो । कोठा ठूलो र खाली हुनुपर्छ किनकि उनीहरु बोल्दा कोठामा ‘इको’ आइरहेको थियो । पछि थाहा भयो, त्यो ठाउँ बौद्धको चौकी रहेछ । त्यहाँ पुगेपछि आवाज पहिचान गर्दा सेनाको ब्यारेक त होइन, पुलिसको कस्टडी हो भन्ने थाहा भयो । सायद त्यहाँ पनि यातना दिन र सोधपुछ गर्न लगेका होलान् भन्ने अनुमान गरेँ । मन अलि शान्त भएपछि दृढ हुनुपर्छ भन्ने नै थियो ।

मिठो स्वर र ‘तपाईं’ भन्ने शब्द पक्राउ परेपछि विरलै सुन्न पाइएको थियो । सम्मानित सम्बोधन सुनेर मन खुसी भयोे, खाना खाएँ । त्यहाँ दुई दिनसम्म कुनै यातना दिइएन तर बन्द कोठामा चुपचाप बस्न कठिन थियो ।

कोठा ठूलो थियो, पूरै बन्द थियो, कतैबाट उज्यालो देखिँदैनथ्यो । सिमेन्टको चिसो भुइँ नै मेरो बिस्तरा बन्यो । त्यहाँ जाडो थियो, ओढ्ने, बिछ्याउने केही थिएन, उल्टो पंखा चलाइएको थियो । मलाई हत्कडी लगाएर जनावरजस्तै राखिएको थियो । बिहान ९ बजेतिर होला, एकजना महिला प्रहरी खाना लिएर आइन् र मिठो स्वरमा ‘खाना खानुहोस्’ भनिन् । त्यति मिठो स्वर र ‘तपाईं’ भन्ने शब्द पक्राउ परेपछि विरलै सुन्न पाइएको थियो । सम्मानित सम्बोधन सुनेर मन खुसी भयोे, खाना खाएँ । त्यहाँ दुई दिनसम्म कुनै यातना दिइएन तर बन्द कोठामा चुपचाप बस्न कठिन थियो । ब्यारेकमा दिएको यातनाका घाउहरू दुखिरहेका थिए ।
त्यतिबेला काठमाडौँ उपत्यकाको इन्चार्ज विक्रम सिंह थापा रहेछन् । उनी मेरो गाउँले पनि हुन् । उनी मलाई भेट्न भनी चौकी आए तर मैले भेट्न इन्कार गरेँ । मलाई सहानुभूति चाहिएको थिएन, किनकि तिनै विक्रम सिंह थापाले महेन्द्र पुलिस क्लबमा कृष्ण सेन (इच्छुक)को हत्या गरेको समाचार सेनाको ब्यारेकमै सुनेको थिएँ । मलाई उनीप्रति घृणा थियो ।

चौकीमा पाएको पारिवारिक प्रेम
मेरो कोठाबाहिर एकजना राइफलधारी प्रहरीको ड्यूटी हुन्थ्यो । ड्यूटीको पालोमा २ जना प्रहरी थिए । एकजना पुष्प विक्रम मल्लकी भान्जी (नाम मैले भुलें) र अर्का सिपाही यम पोख्रेल । उनीहरू दुवै जनाले मलाई सहयोग गर्न थाले । पुष्पविक्रम मल्ल हाम्रो पार्टीको नेता भएकाले वहाँकी भान्जीलाई विस्वास गर्ने आधार बन्यो । मैले भान्जीलाई भनेँ, ‘तपाईंको माध्यमबाट केही लेखेर बाहिर पठाउनु छ, ड्यूटी परेको बेला मलाई एउटा कागज र कलम ल्याइदिनु न ।’ उनी साहसी रहिछन्, स्वीकार गरिन् । अर्कोदिन ४ बजे उनको ड्यूटी परेछ, मलाई कागज र कलम उपलब्ध गराइन् । र, भनिन्, ‘६ बजेपछि लेख्नु होला, मेरो ड्यूटी ८ बजेसम्म छ ।’ ६ बजेपछि इन्स्पेक्टरको छुट्टी हुँदो रहेछ । त्यसपछि सई इन्चार्ज हुँदो रहेछ । सइ मप्रति लचिलो छ भन्ने थाहा पाएको थिएँ । मैले मेरो भाइ चन्द्रमणि पाण्डेलाई चिठ्ठी लेखी ‘म जिउँदै छु, मलाई बौद्धको चौकीमा राखिएको छ । यो खबर दिल्लीमा परिवार र पद्मरत्न तुलाधरलाई पु¥याइदिनू’ भनेँ । पद्मरत्नको माध्यमबाट पार्टीमा जिउँदै भएको खबर पुग्ने मेरो विश्वास थियो । भान्जीलाई ठमेलको लोकेसन दिएर त्यहाँ पु-याइदिन भनेँ । उनले त्यो खबर पु-याइछन् ।

भान्जीले भनिन्, ‘सइ पाल्पाको हो, तपाईंप्रति लचिलो छ, हामी १७ जनामध्ये १० जना पुलिस तपाईंको पक्षमा छौँ । अब तपाईंलाई मार्दैन, बढी भए यहाँबाट सारेर अन्यत्र लैजाला । तपाईंले म राजनीतिक बन्दी नेता हो, पत्रपत्रिका पढ्न पाउनुपर्छ भन्नुस् ।’


दिल्लीमा मेरो हत्या भइसकेको हल्ला पुलिसले चलाएको रहेछ, मैले पछि थाहा पाएँ । केही दिनपछि दिल्लीमा परिवारले खबर पाइसके भन्ने खबर तिनै भान्जीले ल्याइन् । म निकै खुसी भएँ । लाग्यो, ती भान्जी निकै आँटिली रहिछन् । उनी मेराबारे आएका जानकारी दिन्थिन् । एकदिन उनले भनिन्, ‘तपाईंको बारेमा पत्रपत्रिकाले खुब लेखेको छ । दिल्लीमा दुई दिन भारतको सदन नै अवरुद्ध भएको छ, छ वटा मानवअधिकारवादी संस्थासहित दिल्ली सुप्रिमकोर्टका मुख्य न्यायाधीश बीएम तारकुण्डेको नेतृत्वमा भारतका प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग जीवन रक्षाको माग गर्न गएको कुरा पत्रिकाले छापेको छ ।’
उनले थप जानकारी दिइन्, ‘सइ पाल्पाको हो, तपाईंप्रति लचिलो छ, हामी १७ जनामध्ये १० जना पुलिस तपाईंको पक्षमा छौँ । अब तपाईंलाई मार्दैन, बढी भए यहाँबाट सारेर अन्यत्र लैजाला । तपाईंले म राजनीतिक बन्दी नेता हो, पत्रपत्रिका पढ्न पाउनुपर्छ भन्नुस् ।’
उनको कुरा मलाई ठीक लाग्यो, डर पनि लाग्न छोडेको थियो । मैले इन्स्पेक्टरलाई भेट्ने खबर पठाएँ, तर मानेनन् । अर्कोदिन १० बजे उनैले बोलायो । मैले पत्रिका पढ्न पाउनुपर्ने माग राखेँ । उनले ‘म माथि खबर गर्छु’ भने ।

पत्रिकाले दिएको फराकिलो संसार
२ दिनपछि १ घण्टा पत्रिका पढ्न पाउने अनुमति पाउँदा एक तहको लडाईं जितेजस्तो लाग्यो । पत्रिका पढ्नलाई आँखाको पट्टी खोलिन्थ्यो, पाना पल्टाउन हत्कडी खोलिन्थ्यो । दुई जना राइफलधारी सिपाहीको निगरानीमा चारवटा पत्रिका एक घण्टामा पढ्ने मौका पाएँ । हाम्रो विपक्षमा लेख्ने कान्तिपुर, सरकार पक्षको गोरखापत्र, अर्को समाचारपत्र र एमालेसँग जोडिएको सेनाको नजिक ठानिने जनआस्था मागेँ । पत्रिका पढ्न पाएको २ दिनपछि शेरबहादुर देउवाको सरकारलाई ज्ञानेन्द्र शाहले लिएर राजाको सरकार बन्यो, कमल थापा गृहमन्त्री भए । नेपालको राजनीतिक दृश्य नै परिवर्तन भयो । दशैँ आउन थालेको थियो, मैले नुहाउन नपाएको झण्डै डेढ महिना भइसकेको थियो । दाह्री कपाल बढेको थियो । म पुलिससँग घुलमिल हुन थाले, मेरो दाह्री कपाल काटी दिए, नुहाउन पठाए, एकजोर फेर्ने कपडा ल्याइदिँदा बाँच्ने निश्चित भएको ठानेको थिएँ । पुष्पविक्रम मल्लकी भान्जीले मलाई मामा मान्न थालेकी थिइन् । तर मैले खबर पठाएको कतैबाट थाहा भयो वा पुलिसको गुप्तचरबाट केही थाहा भयो, मेरो भाइ चन्द्रमणि पाण्डेको घर खानतलासी गरेर दुःख दिने काम भएछ ।

तपाईं पार्टीको नेता हो, तपाईं छुट्न सक्नुहुन्छ । यिनी पुलिसको हत्या नगर्नुहोला । प्रतिशोध नसाँध्नुहोला । सके सहयोग गर्नुहोला । हामीलाई राज्यले खटाएको छ, हामी बाध्य छौँ, ध्यान राखि दिनुहोला ।


त्यहाँ बसेको ६६ दिन भइसकेको थियो । म पुलिसको परिवारजस्तै भएको थिएँ । फेरि एकदिन मलाई इन्स्पेक्टरले भने, ‘तपाईंलाई १ बजे हनुमानढोका पु-याउने भनिएको छ ।’
इन्स्पेक्टरले मलाई भने, ‘प्रहरीलाई नचिनोस् भनेर तपाईंको को आँखामा पट्टी बाँधिएको हो । तपाई यहाँ घुलमिल हुनुभयो, धेरैको नाम पनि थाहा भयो । तपाईं पार्टीको नेता हो, तपाईं छुट्न सक्नुहुन्छ । यिनी पुलिसको हत्या नगर्नुहोला । प्रतिशोध नसाँध्नुहोला । सके सहयोग गर्नुहोला । हामीलाई राज्यले खटाएको छ, हामी बाध्य छौँ, ध्यान राखि दिनुहोला ।’
मलाई राम्रो खाना खुवाएर सबै पुलिसवाला जम्मा भएर बौद्धको चौकीबाट बिदा गरे । त्यो बसाइमा भान्जीको माया र सहयोग मेरो मानसपटलमा अझै पनि स्मरण छ । मलाई हनुमानढोका पु-याउँदा दुई बजेको थियो ।

हनुमानढोकामा आन्दोलन
हनुमानढोकाको वातावरण फरक थियो, पत्रकार ओम शर्मालगायतका पुराना साथी छुटिसकेका थिए । केही नयाँ साथीलाई त्यहाँ ल्याइएको रहेछ । त्यहाँ म पुग्दा ५८ जना साथीहरू हुनुहुन्थ्यो । खाना आफैँ मगाउनु पर्दथ्यो । मसँग पैसा थिएन, साथीहरूले खाना मगाइदिए, केही छलफल भयो । त्यहाँ ठूलो हलमा १ सय ४० जना कैदी बन्दी थिए, ६० जना जति सुत्न मिल्थ्यो । आधा सुत्ने २ घण्टा, उनीहरू उठेपछि बाँकी फेरि सुत्ने तालिका बनाइएको रहेछ । मलाई त्यसदिन रातभर सुत्न दिइयो । आँखामा पट्टी थिएन, हातमा हत्कडी थिएन, साथीहरूका बिचमा म मजाले सुतेँ ।
भ्रष्टाचारीहरूलाई सुविधाजनक तरिकाले राखिएकोबारे साथीहरूले बिहानै छलफल गरे । तीनवटा माग सहित आन्दोलन गर्ने मत मसँग राखे । ती माग थिए– भ्रष्टाचारीको ठाउँ खाली गराएर राजबन्दीलाई दिने, राज्यले खानाको व्यवस्था गरिदिने र सुत्नको लागि कपडाको व्यवस्था गर्ने । ज्ञापनपत्र बनाएर हनुमानढोकाको इन्चार्जलाई बुझाउने कुरा भयो । मसहित ३ जना साथी गयौँ, त्यहाँका इन्चार्ज त्यतिबेलाका इन्स्पेक्टर यज्ञविनय पोख्रेल थिए । उनले ‘म माथि खबर पु-याउँछु’ भने । बिहान–बेलुका नाराबाजी शुरु भयो । ३ दिनपछि मलाई अदालतमा पेश गरियो । फर्केर आउँदा हाम्रा माग सम्बोधन भएछन् ।

यज्ञविनय पोख्रेलले संकटका बेला गरेको त्यो सहयोग कहिल्यै भुल्ने छैन । अहिले उहाँ एसएसपी भइसक्नुभएको छ र हार्दिक सम्बन्ध छ ।


म १५ दिनको म्याद लिएर आएको थिएँ । हाम्रो मागमध्ये २ वटा कोठा राजबन्दीलाई दिने, खानाको ५०% प्रतिशत राज्यले व्यहोर्ने र १५ वटा ठूला बिछ्याउना र कम्बल तत्काल उपलब्ध गराउने भएछ । म अस्वस्थ थिएँ, मलाई नुवाकोटका कमरेड कविलाई जिम्मा लगाएर कोठामा पठाइयो । मसहित त्यो कोठामा ८ जना बस्यौँ, अर्को कोठामा १६ जना साथी बस्नुभयो । २० जना बन्दी चलान भएका वा छुटेका थिए । एकैचोटी ४४ जना बन्दीको व्यवस्थापन हुँदा तत्काललाई केही राहत भएको थियो ।
मलाई इन्स्पेक्टर यज्ञविक्रम पोखरेलले आफ्नो अफिसमा बोलाए । खुल्दुली लाग्यो, किन होला भनेर । म पुगेपछि चिया बिस्कुट मगाए । घरायसी कुरा भए । मैले मेरो बारेमा पत्रपत्रिकामा आएको हुँदा सहयोग गर्न अनुरोध गरेँ । उनलाई मैले दिल्लीमा परिवार र साथीहरूलाई चिठ्ठी पु-याइदिन आग्रह गरेँ । किनकि मैले जवाहरलाल नेहरु विश्वविद्यालय छोडेपछि मसँग पढेका साथी अनिस अहमद रजिष्ट्रार थिए भने यूनियनका अध्यक्ष देवेन्द्र पाण्डे थिए । दुवैलाई चिठ्ठी लेखेँ । मञ्जुरीनामा पठाएर मेरो ‘प्रोभिडेण्ड फण्ड’मा भएको चार लाख पचास हजार रकम परिवारलाई मिलाइदिन भनेँ ।
त्यस्तै, बुटवलमा मेरो घरमा सेनाले ताला लगाएको थियो । मेरो तर्फबाट ताला खोलिदिन निवेदन पठाउने कुरा गरेँ । किनकि मुद्दा चलाइसकेपछि मलाई मार्दैनन् भन्ने लाग्यो । उनले कागजपत्र बनाइदिए, मैले हस्ताक्षर गरेर पठाएँ ।
दिल्लीमा साथीहरूले गरेको सहयोगले परिवारले पैसा पनि पाए । यता सेनाले एकवर्षपछि घरको ताला पनि खोलिदियो र परिवार बुटवल आएर बस्न थाले । यज्ञविनय पोख्रेलले संकटका बेला गरेको त्यो सहयोग कहिल्यै भुल्ने छैन । अहिले उहाँ एसएसपी भइसक्नुभएको छ र हार्दिक सम्बन्ध छ ।

आत्मसमर्पणको प्रस्ताव
१५ दिनपछि मलाई पाटन अदालत पेश गर्न लगियो । त्यहाँ मेरो मामा–ससुरा मोहन भट्टराई, पूर्व अञ्चलाधिश सूर्यबहादुर सेन, त्यतिबेलाका उपसचिव मेरा ससुरा पर्ने लक्ष्मी पौडेल र मलाई अत्यन्त माया गर्ने बहिनी हुमकला पाण्डे, अदालतमा भेट्न पुगेका थिए । उनीहरूका अनुसार एकातिर अब बाँचियो भनेर खुसी थिएँ । तर उनीहरूको अनुहार मलिनो देखें । छुट्टै कुरा गर्ने भन्दै मलाई छुट्टै कोठामा लगे । तीन जनामध्ये सूर्यबहादुर सेन ओलीले भने– ‘ज्वाईंसाब, मैले प्रधानमन्त्रीसँग सल्लाह गरेको छु । तपाईंको कुरा माथि पुगिसकेको छ । म माओवादी आन्दोलन छोडेर स्वतन्त्र भएँ भनेर प्रधानमन्त्रीको नाममा चिठ्ठी लेख्नुहोस् । हामी तपाईंका सबै मुद्दा खारेज गराइ छुटाउँछौँ ।’

‘मृत्युको मुखबाट बाँचेर आएको छु, म आत्मसमर्पण गर्दिनँ, मर्न परे नि तयार छु । जेलमा सडेर मरुँला । केही चिन्ता छैन, आन्दोलनप्रति गद्दारी गर्दिनँ ।


उहाँको कुरा सुनेर मेरो आवाज त चर्को निस्किन खोजेको थियो, तर आफूलाई नियन्त्रणमा राखेर भनेँ, ‘मृत्युको मुखबाट बाँचेर आएको छु, म आत्मसमर्पण गर्दिनँ, मर्न परे नि तयार छु । जेलमा सडेर मरुँला । केही चिन्ता छैन, आन्दोलनप्रति गद्दारी गर्दिनँ ।’ मेरो कुरा सुनेर सबै स्तब्ध भए । सायद, उनीहरूको कुरा मान्ला भन्ने सोचेका थिए । मेरा मामाससुरा मोहन भट्टराई त्यहाँ रजिष्ट्रार हुनुहुँदो रहेछ । अहिले पाँचथरको न्यायाधीश हुनुहुन्छ । वहाँलाई मेरो मुद्दाको मिसिल उपलब्ध गराइदिन अनुरोध गरेँ । म वकिल लगाएर मुद्दा लड्न नभइ के–के मुद्धा लगाइएको रहेछ भन्ने विस्तृत जानकारी लिन चाहन्थेँ । उहाँले अप्ठ्यारो मान्नुभयो तर अर्को तारिखसम्म उपलब्ध गराउने भन्नुभयो ।
एकहप्तापछि फेरि तारिख थमाउन पाटन अदालत लगियो । मामाले मलाई लुकाएर मिसिल दिँदै सानो स्वरमा भन्नु भयो, ‘साह्रो अप्ठ्यारो छ, मैले दिएको नभन्नुहोला ।’ मैले मिसिलमा नजर लगाएँ । मलाई त ‘बसपार्कमा लुकिछिपि बसेको बेला गिरफ्तार गरेको’ भनेर पो लेखिएको रहेछ ।

अदालतबाट सिधै जेल
मलाई डर लाग्न छोडिसकेको थियो । तारिख लिने बेलामा ‘मैले केही भन्न पाऊँ श्रीमान्’ भनेँ । श्रीमान्ले ‘विटनेस बक्समा आएर भन्न’ आदेश दिए ।

मेरो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ, नेपाल र भारतीय मिडिया समेतले पनि लेखेका छन् । तपाईंहरू पिण्ड खाने बेलामा पनि झुठ बोल्नुहुन्छ ? तपाईंको न्यायप्रति जनताले के विश्वास गर्ने ?

मैले भनेँ, ‘म माओवादी पार्टीको केन्द्रीय सदस्य हुँ, राजनीतिकर्मी हुँ । म आतंककारी पनि होइन, चोर डाँका पनि होइन । मैले राजतन्त्रविरुद्ध हतियार उठाएको स्वीकार गर्छु । तपाईंका पुलिसले मलाई बसपार्कमा लुकिछिपी बसेको फेला पारेको भनेर तपाईंको मिसिलमा उल्लेख छ । मलाई दिल्लीमा गिरफ्तार गरी सुपुर्दगी गरिएको हो, बसपार्कमा समातेको होइन । मलाई समातेर सुपुर्दगी गरिएको कारण दिल्लीमा भारत सरकारको सदन दुई दिन अवरुद्ध भएको छ । छ वटा मानवअधिकारवादी संगठनले दिल्ली सुप्रिमकोर्टका मुख्य न्यायाधीश बी.एम.तारकुण्डेको नेतृत्वमा भारतका प्रधानमन्त्रीसँग जीवनरक्षा माग गर्न गएका छन् । एमनेष्टी इन्टरनेशनलले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरेको छ, दिल्लीको अदालतमा पनि मुद्दा छ । मेरो मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ, नेपाल र भारतीय मिडिया समेतले पनि लेखेका छन् । तपाईंहरू पिण्ड खाने बेलामा पनि झुठ बोल्नुहुन्छ ? तपाईंको न्यायप्रति जनताले के विश्वास गर्ने ? भोलि हामीले जित्यौँ र त्यसैअनुरूप न्यायालय स्थापित ग-यौँ भने सत्यमा आधारित न्याय गर्नेछौँ । तपाईंहरू दोषी भएर म उभिएको विटनेश बक्समा उभिनुहुनेछ, यो हिसाब हामी पक्कै राख्नेछौँ ।’ मेरो आवाजले पूरै न्यायालयको हल स्तब्ध भयो, मौनता छायो ।

उता मेरा मामाससुरा डरले पसिना–पसिना हुनुभएको थियो । सूर्यबहादुर सेन ओली कुरा बिग्रियो भनेर चिन्तित थिए । मैले त्यति भनेपछि म ‘विटनेश बक्स’बाट ओर्लिएँ । न्यायाधीशले मलाई सिधै नख्खु कारागार पठाउने निर्णय गरे । मलाई सहयोग गर्ने इन्स्पेक्टर यज्ञविनय पोख्रेल र मेरा सहयोद्धा साथीसँग बिदा हुन पनि पाइनँ । फेर्ने केही कपडा र कोलगेट ब्रस मामाले एउटा झोलामा ल्याइदिनुभएछ । उहाँ धेरै खुसी हुँदै भन्नु भयो, ‘तपाईंलाई अझै एक महिना जेल पठाउने थिएन, त्यो बेला अरू केही हुन सक्थ्यो । जेलमा साथीहरू छन्, सुविधा छ, बाँच्नुभयो ।’
मलाई पुलिसको भ्यान राखियो । आफन्तसँग बिदा भएँ । र, मलाई राखिएको भ्यान नख्खु कारागारतिर अघि बढ्यो ।
०००
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो