बाबुराम भट्टराईनिकट हुँदाको दु:ख

बाबुराम भट्टराईनिकट हुँदाको दु:ख

असार २८, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- सात

जेलबाट छुटेर भैरहवा त पुगेँ, परिवार त्यहाँ थिएन । पार्टीका साथीहरूसँगको भेटघाटपछि म भारत लागेँ । मलाई छोड्न पार्टीका तत्कालिन रुपन्देही जिल्ला सदस्य आमोद (भुपराज चापागाईं) आएका थिए । हामी सुनौलीबाट लखनउको बस चढ्यौं । बाटोभरी मनमा अनेक तर्कना आए । परिवार सम्झेर घरी मन भावुक हुन्थ्यो, घरी क्रान्तिको उभारले यसै जोश आउँथ्यो । आमोदसँग स्थानीय भूगोलको पार्टी संगठन, जनमतबारे पनि धेरै कुरा भए । मलाई यात्रा घरी लामो, घरी छोटोजस्तो लाग्थ्यो । आठ घण्टाको लामो यात्रा पछि हामी लखनउ पुग्यौं । त्यहाँ पार्टीकै साथी समिर लिन आएका थिए । आमोद भने मसँग बिदा भएर नेपाल फर्किए ।

सहयोद्धा या कार्यकर्ताले कुनै पनि नेताको आलोचक गर्दा वा अन्तरसंघर्षको बेला एक पक्षलाई समर्थन गर्दा पूर्वाग्रहको सिकार बन्नु नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर र डरलाग्दो रोग बनिसक्यो ।


पार्टीको तत्कालीन पश्चिम कमाण्ड इन्चार्ज पोष्टबहादुर बोगटी ‘दिवाकर’को सम्पर्कमा लखनउ पुगेँ । मलाई गिरफ्तार गरी भारत सरकारले देश निकालाको चिठी थमाएको थियो । म भारत पुग्दा कतै फेरि गिरफ्तार गरी भारतीय जेलमा त राख्ने हैन ? मनमा आशंका पनि थियो । मैले नेता दिवाकरबाट तत्कालीन पार्टीभित्रको वर्गसंघर्ष र अन्तरसंघर्षको बारेमा बुझ्न चाहेँ । त्यो वर्गसंघर्षमा आँसु, रगत, त्याग वीरता र बलिदानको संगम थियो । अर्कोतिर भारतको सिलगुडीमा नेता किरणको गिरफ्तारी भइसकेको रहेछ । त्यो गिरफ्तारी हुनुमा कतै बाबुराम भट्टराईको हात त होइन ? भनेर पार्टीभित्र शंका उपशंका चलेको रहेछ । त्यसबाट पनि अन्तरसंघर्ष बढेको रहेछ । यदि त्यस घटनामा बाबुराम भट्टराईको हात हुँदो हो त, म बाबुरामकै नजिक मानिने मानिस, मलाईचाहिँ किन भारतले गिरफ्तारी गरी नेपाल सुपुर्दगी ग¥यो त ? बहस चलिरहेको रहेछ । उहाँसित लामो छलफल भयो । उहाँ पार्टीभित्र मेरो आदरणीय नेता हुनुहुन्थ्यो । मैले उहाँसँग प्रश्न थियोे– ‘सहयोद्धा या कार्यकर्ताले कुनै पनि नेताको आलोचक गर्दा वा अन्तरसंघर्षको बेला एक पक्षलाई समर्थन गर्दा पूर्वाग्रहको सिकार बन्नु नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर र डरलाग्दो रोग बनिसक्यो । यस्तो बेला नेताहरू यान्त्रिक, पूर्वग्राही र अधिभूतवादी बन्न पुग्छन् । यसले क्रान्तिमा गतिरोध उत्पन्न गर्छ, विखण्डन र पलायनतिर लैजान्छ । यो रोगबाट किन हाम्रो पार्टी, सङ्गठन र क्रान्तिको धार किन मुक्त छैन ? हुन त यो विश्व क्रान्तिको पनि रोग हो । यस्तो प्रवृत्ति र सोचबाट बाहिर निस्कन नसक्दा नै क्रान्तिमा समस्या देखिएका होइन र ? बुझेर, जानेर पनि किन हामी त्यहाँबाट बाहिर निस्कन नसकेको ?’
दिवाकरले त्यस्तो सोच र प्रवृत्तिलाई सच्याउन निरन्तर लागेको र लागिरहने बताउनु भयो । त्यो सवाल मैले उठाउनै पर्ने थियो । किनकि फोनबाट सम्पर्क गर्दा थाहा पाएको थिएँ, म गिरफ्तार भएपछि पार्टीले परिवारलाई आधिकारिक भेटघाट, हेरविचार गरेको थिएन । जेल बस्दा पनि केही साथीहरूबाट त्यस्तै कुरा थाहा पाएको थिएँ । त्यस्तो प्रवृत्ति त्यही अन्तरसंघर्षको परिणाम त होइन ? अहिलेसम्म मेरो मानसपटलमा खट्किरहेको छ । मैले उहाँसँग परिवारलाई भेट गराउने व्यवस्था मिलाई दिन भनेँ र अनुमति मागेँ । उहाँसँग दिल्ली नगएर अन्यत्र बोलाउने समझदारी भयो । मैले भेटघाटको लागि गाजियावादमा रोमबहादुर कुँवरको सम्पर्कमा भेट्ने योजना बनाएँ ।
दिल्लीमा रहने पार्टीमा असंगठित केही नेपालीले ठोकुवा गरेछन्– ‘सेनाले बामदेव क्षेत्रीलाई मारिसक्यो ।’ कसैले जिउँदै भएको हुनसक्ने आशा पनि व्यक्त गरे– ‘ऊ फर्केर त आउला, तर सग्लो आउँदैन ।’ यी हल्लाहरूको बीच तड्पेर बाँचेकी थिइन् मेरी श्रीमती । म रक्तआहालबाट फर्केर आउला भन्ने कल्पना पनि परिवारले गरेको रहेनछ । उनी आफ्नो छटपटी छोराहरूलाई भन्न पनि सक्दैनथिन् । भेटमा उनको आँखाबाट खसेका आँसुको धाराले मलाई यी कुरा बोध गराइदियो । तर म चिहानबाट फिर्ता आएको थिएँ, मृत्युको मुखबाट फुत्केर सग्लै आएँ । तर त्यो १४ महिना मेरो जीवनका कहालीलाग्दा दिनहरू थिए । बेहिसाब मानसिक र शारीरिक यातना शिविरबाट गुज्रेको थिएँ । देश र जनताका लागि, मानवजातिको मुक्तिका निम्ति त्यो मानव वधशालाबाट म जीवित फिर्ता भएको थिएँ । कैयौं कहालीलाग्दा, अपत्यारिला र साहसिक घटना, दुर्घटना व्यहोर्दै समानता र स्वाधीनताका लागि फेरि नयाँ मोर्चामा लामबद्ध हुन, फेरि वर्गसंघर्षको भट्टीमा इस्पात बन्ने जोश जाँगरका साथ आएको थिएँ । मैले महान् विद्वान निकोलाई आस्त्रोभ्स्कीको एउटा किताबमा पढेको थिएँ । किताबमा कतै उल्लेख थियो, ‘जसले संघर्षमा जीवन देख्छ, बलिदानमा गर्व गर्छ, उदात्त जीवनका निम्ति कठोर भन्दा कठोर परिस्थितिको सामना गर्न तयार हुन्छ, त्यो क्रान्तिकारी कुनै पनि समयमा विचलित हुँदैन ।’ यही अठोटका साथ मैले पनि अघि बढ्ने संकल्प गरेको थिएँ ।
दुई दिनपछि म गाजियावादमा रोमबहादुर कुवँर (अखिल भारत नेपाली एकता समाजका सचिव)को कोठामा पुगेँ । रोमबहादुरले दिल्ली गएर मेरो परिवारलाई ल्याइसकेका रहेछन् । मलाई देख्नेबित्तिकै श्रीमती, छोराहरू स्तब्ध भए, बोल्न सकेनन् । मुर्छित छाडेको श्रीमतीलाई भेट्दा मैले पनि आँसु थाम्न सकिनँ । एउटा छोरा बिरामी थियो, राम्ररी दोहोरो संवाद गर्न नसक्ने हालतमा । सानो छोरा दुब्लो पातलो थियो । श्रीमती रुन लागिन् । त्यहाँ रोमबहादुरका भाइ यमबहादुरलगायत सबैका आँखा रसाए । मैले सबैलाई सम्झाएँ । दुई दिनको बसाइमा त्यसबीच भएका घटनाबारे एकार्कालाई सुनायौं । मेरो गिरफ्तारीपछि कस–कसले सहयाग ग-यो ? तिमीहरूले कसरी जीवन बितायौ ? पार्टीको भूमिका के रह्यो ? यस्ता थुप्रै राजनीतिक–व्यवहारिक कुराको बारेमा छलफल भयो ।
श्रीमती शोभाका कुरा सुनेर म स्तब्ध भएँ । डा. बाबुराम भट्टराईले भेटेर ३५ हजार रुपैयाँ दिनुभएछ, त्यसबाहेक पार्टीका कसैले पनि भेटेनछन् र सहयोग पनि गरेनछन् । त्यतिबेला मैले पार्टीभित्रको अन्तरसंघर्ष, आग्रह–पूर्वाग्रह सम्झिएँ । एकछिन आँखा बन्द गरेँ । आँखा अगाडि भयंकर अँध्यारो मात्र छायो । मनमा पनि अन्तरसंघर्ष हुन थाल्यो । ओहो ! पार्टीप्रति सर्मपण कतै व्यर्थ त होइन ? मनमा आशंकाका अनेक तरेली छाए । तर आत्मबल बलियो बनाएँ र र परिवारलाई विचलित नहुनु भनेर सम्झाएँ ।

जेठो छोरा कमल डिप्रेसनमा पुगेको थियो । उपचार र औषधीको अभावले अँध्यारो कोठामा महिनौं त्यसै बिताएको कुरा शोभाले सुनाएकी थिइन् । सानो छोराले द्वितीय श्रेणीमा कक्षा १० उतिर्ण गरिसकेको रहेछ । तर अब कहाँ पढ्ने ? कसले पढाउला भन्ने चिन्तामा रहेछन् । उसले ‘बुबा खै ?’ भनेर आमालाई सताइरहेको रहेछ ।


त्यतिबेला मेरी श्रीमती दिल्लीको पार्टी जिल्ला कमिटी सदस्य दिइन् । उनल पार्टी सदस्य मात्र रहने, बाँकी अन्य जिम्मेवारी लिएर काम नगर्ने कुरा मसँग राखिन्, मैले केही भन्न सकिनँ । सायद पार्टीको कुनै पनि नेता बाँकी थिएनन् होला मेरो कोठामा नपुगेका र श्रीमतीले खाना नखुवाएको । तर विपतका बेला कसैले पनि नभेट्दा पीडा हुनु स्वभाविक थियो । किनकि त्यतिबेला मेरो जेठो छोरा कमल डिप्रेसनमा पुगेको थियो । उपचार र औषधीको अभावले अँध्यारो कोठामा महिनौं त्यसै बिताएको कुरा शोभाले सुनाएकी थिइन् । सानो छोराले द्वितीय श्रेणीमा कक्षा १० उतिर्ण गरिसकेको रहेछ । तर अब कहाँ पढ्ने ? कसले पढाउला भन्ने चिन्तामा रहेछन् । उसले ‘बुबा खै ?’ भनेर आमालाई सताइरहेको रहेछ । म जिउँदै रहे–नरहेको टुंगो नभएको अवस्थामा श्रीमतीले छोरालाई के जवाफ दिउन् ? म गिरफ्तार हुँदा छोराले मेसो पाएको रहेनछ । शोभाले छोरालाई भनेकी रहिछन्, ‘पुलिस अंकलसित कतै जानुभएको छ, आउनुहुन्छ ।’ किनकि पार्टी कामले गर्दा म दिल्ली हुँदा पनि परिवारसित कमै बस्ने गर्थे ।
संकटका बेला साथ दिनु त कता हो कता ? खुट्टा तान्ने नेपालीहरूको त्यहाँ पनि कमी थिएन । ‘यसको श्रीमान् मरेर पनि रातो कपडा लगाएर हिँडेकी छ’ भन्दै जवाहरलाल नेहरु विश्वविद्यालयमा बस्ने केही नेपालीले मेरो मृत्यु भइसकेको हल्ला फिजाएर हतोत्साही बनाउने रहेछन् । उनलाई पनि पक्कै श्रीमान्को हत्या भइसक्यो होला, पार्टीले कहिले सहिद घोषणा गर्ने हो भने रेडियो कानमा लगाएर बस्दिरहिछन् । म टुप्लुक्क पुग्दा उनीहरू आश्चर्यमा पर्नु स्वाभाविक थियो ।
मेरो नयाँ जीवन सुरु भएको थियो । २ दिनको बसाइमा ठूलो छोराको उपचार, सानो छोराको पढाइका साथै नेपाल गएर बस्ने लगायत थुप्रै विषयमा पारिवारिक सल्लाह छलफल भयो ।
गिरफ्तारीपछि भारतीय भाइचाराहरूले भने ठूलो सहयोग गरेछन् । अदालतमा मुद्दा हाल्नेदेखि प्रधानमन्त्री भेट्ने, संसदमा कुरा उठाउने, थुप्रै संघर्षका कार्यक्रम मेरो श्रीमतीलाई राखेर गरेछन् । मलाई गिरफ्तार गर्ने सहायक पुलिस कमिसनर रणधीर सिंहसहितले भारू १० हजार मेरो श्रीमतीलाई सहयोग गरेछन् । बाध्यतावश गिरफ्तार गर्नु परेकोमा दुःख व्यक्त गर्दै समस्या परे फोन गर्नु भनेका रहेछन् । जवाहरलाल नेहरु विश्वविद्यालयका कर्मचारी, प्रोफेसर, विद्यार्थीले मेरो परिवारलाई सहृदयताका साथ सहयोग गरेछन् । जसले मलाई बुझेका थिए, तिनीहरूबाट कोठा सर्नेलगायत आवश्यक सहयोग उनीहरूबाटै पाएछन् । त्यो बेला मेरो सानो छोरालाई पढ्न मद्दत गर्ने मेरा मित्र बालकृष्ण नायर, हरिहर अधिकारीप्रति पनि म ऋणी छु ।

पार्टीकै एकजना महिला नेता (नाम मैले खुलाइनँ)ले भनिछन्, ‘तपाईंले कोठीमा काम गरेर छोराहरू पाले हुन्छ ।’ ओहो ! क्रान्तिमा हिडेका योद्धाले कसरी त्यस्तो सोच्न सकिन् ? भन्न सकिन् ? त्यो कुरा सम्झँदा अहिले पनि मेरो श्रीमती उत्तिकै रिसाउँछिन् ।


श्रीमतीको निरन्तर जोड थियो, अब भूमिगत नभई पार्टीमा सामान्य काम गर्ने । उनले भनिन्, ‘छोराको उपचार गराउनु, सानो छोरा पढाउनु, न पार्टी, न कसैले हेर्छ । मैले कसरी गर्ने ? तपार्इं भूमिगत भए अब म सक्दिनँ ।’ हुन पनि त्यति दुःखकष्ट सहेर पार्टी हितमा काम गर्दै बलिदानीका लागि तयार भएको परिवारलाई पार्टीले गर्ने व्यवहार साँच्चै निराशाजनक थियो । सायद ‘खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ ।
घरसल्लाहका क्रममा शोभा फेरि एकपटक भक्कानिइन् । उनको मुखबाट जुन शब्द निस्कियो, म निकैबेर स्तब्ध भएँ । शोभालाई पार्टीकै एकजना महिला नेता (नाम मैले खुलाइनँ)ले भनिछन्, ‘तपाईंले कोठीमा काम गरेर छोराहरू पाले हुन्छ ।’ ओहो ! क्रान्तिमा हिडेका योद्धाले कसरी त्यस्तो सोच्न सकिन् ? भन्न सकिन् ? त्यो कुरा सम्झँदा अहिले पनि मेरो श्रीमती उत्तिकै रिसाउँछिन् ।
त्यस्ता स्तब्ध बनाउने कुराहरू सुने पनि म शोभालाई सम्झाउनतिर नै लागेँ । भनेँ, ‘नेपालको जनयुद्ध कुनै व्यक्ति विशेषको होइन । यो त नेपाली उत्पीडित जाति वर्गको सक्रिय सहभागितामा चलेको युद्ध हो । जसले जे भने पनि पार्टी, क्रान्तिप्रति गद्दारी गर्न हुँदैन’, मैले शोभालाई मनाएर–सम्झाएर हिँड्नु नै थियो ‘भूमिगत भएपनि सम्पर्कमा हुन्छुु, यो मुक्तिको यात्रामा बीच बाटोमा रोकिनु हुँदैन । तिमीले मलाई नरोक । तिमीले काम नगरे पनि पार्टी सम्पर्कमा बस र सक्दो सहयोग गर ।’
म परिवारको मनोविज्ञान बुझिरहेको थिएँ, उनीहरू मलाई छोड्न चाँहदैनथे । उता कमाण्ड इन्चार्जको आदेश थियो– ‘५ दिनभन्दा बढी नलगाउनू, तपाईंलाई विशेष क्षेत्र लैजान एकजना कमरेड आउँदै हुनुहुन्छ ।’ एकातिर भारतीय पुलिसको डर, अर्कातिर परिवारसँगको पुनः बिछोड, त्यस्तै समयमा कमाण्डमा पुग्नुपर्ने आदेश । सबै विषयलाई छिचोल्नु आवश्यक थियो । मैले कमाण्डको निर्देशनलाई पालना गर्ने अठोट लिएँ । परिवारलाई सम्झाएर सहमत गराएँ । छोराको उपचारको व्यवस्थाका लागि दिल्लीमा मैले चिनेको साथीलाई चिठी लेखेँ । एक वर्षभित्र बुटवलको घरमा आएर बस्ने स्थिति बनाउने सल्लाहसहित परिवारसित विदा भएर पार्टीको निर्देशनमा फेरि सम्पर्कका लागि फर्कें ।
त्यसबखत म केही भावनामा बगेछु, मुटुमा गाँठो बाँधेँ । बिरामी छोरा, सानो १५ वर्षको अर्को छोरा र मलिनो अनुहार बनाएर रोइरहेकी श्रीमतीलाई कसको जिम्मामा छोड्ने भन्ने कठिन चिन्ताले सताइरहेको थियो । ‘परिवारको हेरविचार गर्नू है’, मैले रोमबहादुरलाई यति मात्र भन्न सकेँ ।
फर्किंदै गर्दा मनमा थुप्रै कुरा खेले । बाहिरी संसार छाडेर, सुखसुविधा छाडेर कम्युनिष्ट पार्टीमा लाग्नु भनेको खानको लागि भान्सामा पसेजस्तो रहेनछ । आफ्नै पार्टीभित्रका साथीहरूको पनि हेर्ने दृष्टिकोण फरकफरक हुँदो रहेछ । यदि त्यसो नभएको भए, मैले सोचेजस्तो भएको भए, पार्टीसित बसेर समीक्षा गरी परिवारलाई पार्टीका जिम्मा लगाउन हुन्थ्यो, त्यसो भएन । पार्टीमा लाग्दा र यातना भोगिरहँदा पनि मैले यस्तो सोचेको–बुझेको थिइनँ । पार्टीका साथीहरू सबै राम्रा र कुनै पनि अवगुण नभएका छन् र बाहिरका मानिस खराब हुन् भन्ने निरपेक्ष बुझाइमा रहेँ । आखिरमा अन्तरसंघर्ष भनेको पनि वर्ग संघर्षकै प्रतिबिम्बन रहेछ । यस विषयले मलाई गहिरो गरी छोयो र त्यसको अनुभूति अहिले पनि आलै छ ।
०००
अघिल्ला शृंखलाहरू पढ्नुहोस्
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो
🎯 शृंखला-५ : भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी
🎯 शृंखला-६ : बाबुराम भट्टराईको गोप्य सन्देश