वानीरा गिरिको अक्षर यात्रा

वानीरा गिरिको अक्षर यात्रा

जेष्ठ १२, २०७८ 3 By लेखक
शेयर गर्नुहोस्
  • गोविन्द गिरी प्रेरणा

नेपाली वाङ्मयकी धरोहर कवयित्री वानीरा गिरिको वि.सं. २०७८ साल जेठ ९ गते राती अवसान भयो । यो अवसान आफैंमा दु:खद घटना हो, नेपाली वाङ्मयका लागि । तर विगत तीन वर्षदेखि डाइमेन्सिया हुँदै अल्जाइमरले स्मृति गुमाएर अर्धचेत बाँचिरहेकी उनको एक प्रकारको भौतिक पीडामय जीवनबाट मुक्ति पनि हो । स्वभावैले हक्की, हठी, बौध्दिक र स्वाभिमानी चरित्रकी उनलाई नियतिले निर्दयी नमिठो सजाय दिएको थियो, जसको परिणति अवसानको प्रतीक्षाबाहेक अरू क्यै थिएन । उनको लेखनको अजस्र स्रोत एक्कासी सुकेको थियो । आफ्नी विद्वान साहित्यकार पत्नी वानीराको स्वास्थ्य ओरालो लाग्न थालेदेखि नै पति इन्जिनियर शंकर गिरी निरन्तर उनको सेवामा लागिरहे ।

उनको देहवसानको खबर नेपालका मूलधारका सबैजसो मिडियाले ‘कभर’ गरे । उनी ‘कभर’ गरिनैपर्ने साहित्यिक प्रतिभा भएकी व्यक्तित्व थिइन् । तर मूलधारका मिडियाहरूको कभरेजले म निक्कै निराश भएँ । किनभने कुनै पनि मिडियाले उनको बारेमा पूर्ण जानकारी प्रस्तुत गर्न सकेनन् । उनका प्रकाशित कृतिहरुको पूर्ण विवरण दिन सकेनन् । यो गम्भीर विषय हो ।

त्यसो त नेपाली लेखकको बारेमा आधिकारिक सूचना दिने ग्रन्थहरु नभएका होइनन् । एकेडेमीले प्रकाशन गरेको जयदेव भट्टराई सङ्कलित साहित्यकार परिचय कोष, घटराज भट्टराईलिखित लेखक कोष तथा पछिल्लो समय एकेडेमीले प्रकाशन गरेको लेखक कलाकार परिचय कोष यसका लागि श्रोत हुन सक्थे । तिनमा पनि अद्यावधिक नहुन सक्छन्, तर मूलधारका मिडियाले कभर गरेभन्दा बढी सामग्री अवश्य नै थिए । यही सिलसिलामा नेपालमा प्रकाशित पुस्तकको अद्यावधिक आधिकारिक सूचना दिने कुनै निकाय नहुनु अर्को कारण हुन सक्छ ।

  • १० कक्षामा पढ्दै गर्दा उनले लेखेको कविता “एउटा फूलको जिन्दगी” दार्जीलिङको यौटा पत्रिकामा प्रकाशित भएपछि त्यो कविता ७ ठाउँमा साभार गरेर छापिएर चमत्कारै भएको थियो ।

वानीरा गिरि नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी थिइन्, यद्यपि लेखकहरूको लिङ्ग हुँदैन, पुरुष वा स्त्री लेखक भनेर छुट्याउनु हुँदैन, कित्ताकाट गर्न हुँदैन भन्ने उनको चर्को मान्यता थियो । त्यसो त स्थापना कालदेखि नै साझा पुरस्कार कुनै लेखिकाले पाएका थिएनन्, उनी नै साझा पुरस्कार पाउने प्रथम लेखिका बनिन् । वि.सं. २०५६ सालमा प्रकाशित “शब्दातीत शान्तनु” उपन्यासले साझा पुरस्कार पाएको थियो ।

वानीराको जन्म भारतको खर्साङमा पिता ईन्द्रराज गिरी र माता जानकीदेवीकी छोरीका रूपमा भएको थियो । उनले २ कक्षामा हुँदै “वर्षा” शीर्षकको कविता लेखेकी थिइन् । त्यो कविता पढेर स्कूलका शिक्षकहरूले “सानो बच्चाले लेखेको भए पनि कवितामा प्राण छ“ भनेर सराहना गरेका थिए । उनी कक्षा ७ मा छँदा दार्जीलिङमा कवि अगम सिंह गिरीको अध्यक्षतामा यौटा कवि गोष्ठी भएको थियो । उनले “कदम बढाऔँ” शीर्षकको कविता प्रस्तुत गरेर पुरस्कार प्राप्त गरेकी थिइन् । कवि ईश्वरबल्लभले “छन्द नमिले पनि कवितामा ओज ल्याउन सक्ने” भनी पुस्तक उपहार दिएका थिए । अनि ८ कक्षामा हुँदा “मुटु” नामक हस्तलिखित पत्रिका उनकै सम्पादनमा निस्केको थियो । त्यो पत्रिका एक अङ्क मात्र निस्क्यो । यसरी लेखनसँगसँगै उनको साहित्यिक सक्रियताको यात्रा बाल्यकालमै अघि बढेको थियो । कक्षा ८ मै छँदा उनको यौटा कथा वनारसको “दीपक” पत्रिकामा प्रकाशित भयो । यो कथा नै उनको जीवनको पहिलो प्रकाशित रचना थियो । त्यसपछि १० कक्षामा पढ्दै गर्दा उनले लेखेको कविता “एउटा फूलको जिन्दगी” दार्जीलिङको यौटा पत्रिकामा प्रकाशित भएपछि त्यो कविता ७ ठाउँमा साभार गरेर छापिएर चमत्कारै भएको थियो ।

तर उनलाई कविको रूपमा प्रतिष्ठा दिलाउने र नेपालसँग नाता जोड्न भने वि.सं. २०२२ सालले कुरिरहेको रहेछ ।

वि.सं. २०२२ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले कविता महोत्सवको आयोजना गर्न सुरु गरेको थियो । यसका लागि तत्कालीन कुलपति राजा महेन्द्रद्वारा दिइएको शीर्षक थियो-“नैतिकता” । यो सबै नेपाली भाषीहरूका लागि खुल्ला गरिएको थियो । महोत्सवमा खर्साङकी वानीरा गिरिले पनि भाग लिइन् । कविता पुरस्कृत हुने भएपछि उनी प्रत्यक्ष भाग लिन नेपाल आइन् । राजा महेन्द्रका हातबाट पुरस्कार ग्रहण गरेपश्चात् उनले भारतमा उपलब्ध नभएकोले नेपालमै आएर नेपालीमा एमए गर्ने इच्छा जाहेर गरिन् । भाषा-साहित्यप्रेमी राजा महेन्द्रले उनलाई त्रिभुवन विश्वविद्यालयमा छात्रवृति व्यवस्था गरिदिए । वानीरापछि पनि सो व्यवस्था निरन्तर रहिआएको छ, महेन्द्र छात्रवृत्तिको नाममा ।

उनी २०२२ सालदेखि नै नेपाल बस्न थालिन् । वि.सं. २०२३ सालमा इन्जिनियर शंकर गिरीसँग उनको बिहा भयो । यो दुवैको स्वैच्छिक रोजाइको बिहा थियो । उनले एमए सकेर त्रिभुवन विश्वविद्यालय अन्तर्गत नै अध्यापन थालिन् र अध्यापनमै आफ्नो जीवन अर्पण गरिन्, मूल रूपमा पद्मकन्या क्याम्पसमा ।

  • रत्न पुस्तक भण्डारले वि.सं. २०६८ सालमा प्रकाशित गर्यो “काठमाडौं काठमाडौं” शीर्षकमा । उनले यस कविता सङ्ग्रहको लेखकीयमा एकेडेमी र वैरागी काईंलाप्रति आफ्नो तिक्तता पोखेकी छन् ।

काठमाडौंमा वानीराका कविताले प्रतिष्ठा पाउन थाले । उनी महत्वपूर्ण कविका रूपमा सर्वत्र देखा पर्न लागिन् । विसं २०२८ सालमा अमेरिकी कवि विलियम स्ट्याफोर्ड “भाषा नै मानवीय हिंसाको विकल्प हो” नारा लिएर विश्वका विभिन्न मुलुक भ्रमण गर्ने सिलसिलामा इरान, इजिप्ट, पाकिस्तान, भारत हुँदै नेपाल आएका थिए । उनको सम्मानमा होटल सोल्टीमा भव्य कवि गोष्ठीको आयोजना गरिएको थियो । सो गोष्ठीमा पोषण पाण्डे, वालकृष्ण सम, सिध्दिचरण श्रेष्ठ, सत्यमोहन जोशी, मधुसुदन देवकोटा, कृष्णभक्त श्रेष्ठ, मोहन हिमांसु थापा, रत्न थापा, द्वारिका श्रेष्ठका साथमा वानीराले पनि कविता पाठ गरेकी थिइन् । उनले “एउटा एउटा जिउँदो जङ्गबहादुर” शीर्षकको बेजोड कविता प्रस्तुत गरेकी थिइन् । पछि वि.सं. २०३१ सालमा प्रकाशित पहिलो कविता कृतिको नाम नै उनले “एउटा एउटा जिउँदो जङ्गबहादुर” राखिन् ।

उनको दोश्रो कविता सङ्ग्रह “जीवन थायमरु” २०३४ सालमा प्रकाशित भयो साझा प्रकाशनबाट । त्यसपछि तेश्रो कविता सङ्ग्रह प्रकाशनका लागि उनले ३४ वर्षको अन्तराल कुर्नुपर्यो । खासमा यो कविता सङ्ग्रह उनले प्रज्ञा प्रतिष्ठानवाट प्रकाशित गर्न चाहेकी थिइन् र तत्कालीन प्राज्ञ परिषदका सदस्य वैरागी काईंलालाई हस्ते बुझाएकी थिइन् । तर, समयको निकै लामो अन्तरालमा पनि पुस्तक प्रकाशनको प्रक्रिया अघि बढेन र उनले निकै मुस्किलले पाण्डुलिपि फिर्ता ल्याइन् l रत्न पुस्तक भण्डारले वि.सं. २०६८ सालमा प्रकाशित गर्यो “काठमाडौं काठमाडौं” शीर्षकमा । उनले यस कविता सङ्ग्रहको लेखकीयमा एकेडेमी र वैरागी काईंलाप्रति आफ्नो तिक्तता पोखेकी छन् ।

यस बीचमा वि.सं. २०४१ सालमा उनको काव्य “मेरो आविष्कार” प्रकाशित भयो । उनले यसलाई आत्मकाव्य भन्न रुचाइन् । उनको भनाइ थियो, “ मेरो आविष्कार खण्डकाव्य र महाकाव्यको व्याकरणभित्र परोइन । काव्यका आदि र अन्तका पंक्तिहरूले स्वयम् आफ्नो नामाकरण गरेझैं लाग्दछ- यसर्थ प्रस्तुत काव्यलाई आत्मकाव्य भन्न रुचाएकी छु ।“

वानीरालाई मूलत: कविकै रूपमा लिने गरिन्छ । उनी आफैं पनि विश्व रङ्गमञ्चमा कविकै रूपमा प्रस्तुत हुने गर्थिन् । तर उनको पहिलो प्रकाशित रचना कथा थियो । उनले फाटफुट कथाहरू लेखेर प्रकाशित गरेकी थिइन् । उनको कथा पनि गुणवत्ताको हिसाबले अब्बल थिए सङ्ख्यामा थोरै भए पनि, पुस्तकाकारमा ननिस्किए पनि । उनको यो कथाकारितालाई कवि एवम् कथाकार शैलेन्द्र साकारले सुक्ष्म रूपले ठम्याए ।

  • नेपाली साहित्यमा “अफ्रो एशियाली साहित्य सम्मेलन” को विशेष महत्व छ । तासकन्दमा सम्पन्न सो सम्मेलनमा महाकवि देवकोटाले अङ्ग्रेजीमा प्रस्तुत भाषण ऐतिहासिक मानिन्छ । त्यही सम्मेलनमा भाग लिन जाने अवसर पाइन् वानीराले ।

सन् १९७५ लाई संयुक्त राष्ट्र संघले “महिला वर्ष” विश्वव्यापी रूपमा मनाउने निधो गर्यो । नेपालमा पनि मनाइयो । यही सिलसिलामा साझा प्रकाशनले नारी वर्षको उपलक्ष्यमा नारी कथाकारका कथाहरूको सङ्कलन प्रकाशन गर्ने निधो गर्यो र सम्पादनको जिम्मेवारी पाए शैलेन्द्र साकारले । “कथामा नारी हस्ताक्षर” को रूपमा प्रकाशित यस सङ्कलनमा देवकुमारी थापा, अमृतादेवी क्षेत्री, शशीकला शर्मा, लख्खीदेवी सुन्दास, पारिजात, माया ठकुरी, प्रेमा शाह, किशु सिलवाल, भुवन ढुङ्गाना, तोया गुरुङ, मञ्जु तिवारी काँचुली, अनिता तुलाधरका साथमा वानीराको “ स्वेच्छा: सिस्नुको झ्याङ” शीर्षकको कथा समाविष्ट छ । पछि यो सङ्कलनलाई परिमार्जन गरी जापानबाट जापानी भाषामा पनि प्रकाशित भएको थियो ।

नेपाली साहित्यमा “अफ्रो एशियाली साहित्य सम्मेलन” को विशेष महत्व छ । तासकन्दमा सम्पन्न सो सम्मेलनमा महाकवि देवकोटाले अङ्ग्रेजीमा प्रस्तुत भाषण ऐतिहासिक मानिन्छ । त्यही सम्मेलनमा भाग लिन जाने अवसर पाइन् वानीराले । अनि सम्मेलनवाट फर्केपछि वानीराले सो यात्राको संस्मरण रूपरेखा मासिकमा धारावाहिक प्रकाशित गरिन्, जसलाई अत्यन्त रुचाइयो। पछि त्यो “रोकिनेले आकार दिन सक्तैन” (वि.सं. २०७१) मा सङ्कलन गरियो ।

कविताबाट उनी एक्कासी वि.सं. २०३५ सालमा “ कारागार” उपन्यास लिएर उपन्यासकारको अवतारमा प्रकट भइन् । यो उपन्यासको काव्यमय भाषा, शैली, शील्प र विषयले पाठकको मन हरण गर्न सफल भयो र अत्यन्त छोटो समयमै पहिलो संस्करण सकियो । चर्चा पनि निकै चुलियो । उनले यो उपन्यास धनगढीमा बसेर लेखेकी थिइन् । कारण के भने, उनका श्रीमान इन्जिनियर शंकर गिरि कामको सिलसिलामा धनगढी भएकाले उनलाई त्यहाँ बसेर लेख्ने वातावरण प्राप्त भएको थियो ।

“कारागार” को दोश्रो भागको रूपमा लेखिएको उपन्यास “निर्बन्ध” (वि.सं. २०४२) भने अपेक्षाकृत पाठककले रुचाएनन् । हुन पनि “कारागार” मा भाषाको जुन कोटीको चमत्कार थियो, भावनात्मकताको जस्तो कोटीको महक थियो, काव्यात्मकताको जस्तो जलप थियो, त्यो “ निर्बन्ध” मा आउन सकेन । उनको तेश्रो उपन्यास “शब्दातीत शान्तनु” (वि.सं. २०५६) ले साझा पुरस्कार पायो । पुरस्कृत भएपछि स्वाभाविक रूपले चर्चा र पठन बढ्यो नै, तर “कारागार”ले दिएको सन्तुष्टि पछिल्ला दुई उपन्यासले दिन सकेनन् ।

  • पारिजातले सिंहदरवारमा घेराउ गर्न जान वानीरालाई पनि आमन्त्रण गरिन् । तर वानीराले राजनैतिक छातामुनि नजाने भन्दै अस्वीकार गरेकी थिइन् ।

कविका रूपमा ख्याति हुँदा-हुँदै पनि वानीराका गद्य पनि प्रभावकारी मानिए, ठानिए । वि.सं. २०३६ सालको जनमत सङ्ग्रहमा पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले चारकोसे जङ्गल फँडानी गरेको भन्ने आम जनताको बुझाइ थियो । हुन पनि जङ्गल नराम्ररी मासिएको थियो । यसैलाई बिम्ब बनाएर वानीराले “जङ्गल जङ्गल” निबन्ध लेखिन् र रूपरेखामा प्रकाशित भयो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले रजत जयन्तीका अवसरमा प्रकाशन गरेको २५ ग्रन्थमध्ये एक “पच्चीस वर्षका निबन्ध”मा सम्पादक डा. तारानाथ शर्माले “जङ्गल जङ्गल” लाई पनि समावेश गरेपछि त्यो निबन्धले वास्तविक उचाइ पायो । पछि उनले “जङ्गल जङ्गल” शीर्षकमै वि.सं. २०६९ सालमा निबन्ध सङ्ग्रह प्रकाशित गरिन् रत्न पुस्तक भण्डारबाट ।

वानीराले थोरै सङ्ख्यामा गीतहरू पनि लेखेकी थिइन् । उनको “भोलि हजूरलाई, ज्यान हजूरलाई कवितामा दिएँ है” बोलको गीत नातीकाजीको सङ्गीतमा तारादेवी र जनार्दन समको स्वरमा रेकर्ड भएका थिए । त्यस्तै त्यस्तै उनको शब्द ” हिजो आज सधैं सधैं टुक्रा टुक्रा निद्रा सुत्छु” आभासको संगीतमा फत्तेमानले स्वर दिएका थिए ।

वानीरा स्तम्भ लेखनमा पनि संलग्न गराइन् । उनले पुनर्जागरण साप्ताहिकमा “विषुवतरेखा वरपर” शीर्षकमा स्तम्भ लेखन गरिन् लामो कालखण्डसम्म । उनले गोरखापत्र दैनिकमा “ सार्क श्रृङ्खलामा हामी” शीर्षकको स्तम्भ पनि लेखिन् । उनी समसामयिक लेखनका विषयमा, आफूलाई घत परेका पुस्तकका विषयमा, आफूलाई चित्त नबुझेका विषयमा निर्भीकतापूर्वक कलम चलाउँदथिन् । डा. ईश्वर बराल एकेडेमीको उपकुलपति भएपछि सोको विरोधमा वामपन्थी पक्षबाट “प्राज्ञिक आन्दोलन” नै छेडियो जसको नेतृत्व पारिजातले गरेकी थिइन् । वानीराले पनि निकै व्यङ्ग्यात्मक ढङगले पश्चिम बङ्गालका मुख्यमन्त्री ज्योति बसुलाई सम्बोधन गरेर यौटा लेख पुनर्जागरणमा लेखेकी थिइन् । यो देखेपछि पारिजातले सिंहदरवारमा घेराउ गर्न जान वानीरालाई पनि आमन्त्रण गरिन् । तर वानीराले राजनैतिक छातामुनि नजाने भन्दै अस्वीकार गरेकी थिइन् । डा. ईश्वर बरालको उपकुलपतिमा नियुक्तिको विरोधमा भए पनि उनी प्रजातान्त्रिक विचारप्रति प्रतिबध्द थिइन् ।

वानिरा कविकै रूपमा जापान फाउण्डेसनको निम्तोमा जापान पुगिन्, बेलायत पुगिन्, अमेरिका पुगिन्, भारत पुगिन् । उनका रचनाहरू अङ्ग्रेजी भाषामा पनि अनुवाद भए, प्रकाशन भए । “ फ्रम द अदर एण्ड”, “फ्रम द लेक, लव”, “माई डिस्कभरी” उनका अंग्रेजीमा प्रकाशित रचना हुन् । उनको कारागार उपन्यासलाई जीवा लामिछानेले “द प्रिजन” नाममा प्रकाशित गरे । कारागारलाई भारतका प्रदीप विहारीले मैथिली र हिन्दीमा अनुवाद गरेर प्रकाशित गरेका छन् ।

  • मैले लेख्ने गरेको ‘गिरि’ ले पर्वतलाई बुझाउँछ । म सन्न्यासी परिवारबाट आएकी भए पनि ‘गिरी’ जातलाई म मान्दिनँ।

वानीरा नेपाली साहित्यमा पिएचडी गर्ने प्रथम महिला भइन् । साझा पुरस्कार पाउने प्रथम लेखिका भइन् । तर एकेडेमीमा प्राज्ञ परिषदमा जाने प्रथम लेखिका हुन उनलाई जुरेन । उनी विरोधी कित्तामा हुत्याइन् र त्यो कित्ता परिवर्तन भएन । उनमा यसप्रति रोष थियो, आक्रोश थियो । उनकै छिमेकी तोया गुरुङ प्रथम लेखिका प्राज्ञ भइन् । उनी प्रथम भइनन् मात्र होइन, दोश्रो तेश्रो पुछारको कतैको भइनन् । लेखिका मात्रै भइरहिन् ।

पिएचडीका लागि गोपाल प्रसाद रिमालका कविता उनको रोजाइ थियो । त्यसलाई मान्यता दिइएन सुरुमा र निकै लामो सङ्घर्षपछि विषय स्वीकार गरियो । उनका प्रथम गाइड थिए वालकृष्ण पोखरेल । तर उनको पिएचडीको थेसिस नै स्वीकार्य नभएपछि गाइड परिवर्तन गर्नुपर्यो । अनेक हण्डर र पापड बेलाइपछि उनले पिएचडीको डिग्री हासिल गर्न सफल भइन् र नेपाली साहित्यमा पिएचडी गर्ने प्रथम महिलाको कीर्ति र कीर्तिमान राखिन् । 

वानीरा भन्ने गर्थिन् “ मेरो प्रेरणाको श्रोत सामाजिक ढोंग र पाखण्ड भएको छ, विश्वासभंगले मलाई पीडा दिन्छ ।“

वानीरा आफ्नो थरलाई ह्रस्सो लेख्थिन् । सामान्यतया थर दीर्घ नै हुन्छ, तर उनको आफ्नै किसिमको तर्क हुन्थ्यो, जसमा उनी सदा अडिन् र त्यो अडान कहिल्यै छोडिनन्। उनको भनाइ थियो:

यसको ठूलो कारण छ । मैले लेख्ने गरेको ‘गिरि’ ले पर्वतलाई बुझाउँछ । म सन्न्यासी परिवारबाट आएकी भए पनि ‘गिरी’ जातलाई म मान्दिनँ।

कुनै समय हिन्दू धर्ममा भएको अन्याय, अत्याचार र कट्टरताले गर्दा धेरै हिन्दूहरू अन्यत्र लागेका थिए । त्यसपछि हिन्दूधर्मको पुनरुत्थानका लागि शङ्कराचार्यले ‘यदि तिमीहरू साँचो सन्न्यासी हौ र हिन्दू हौ भने सबै कुरा छोडेर मसँग हिँड भनेर लैजानु भयो । एकथरीलाई गिरिराज हिमालतिर जान भन्नुभयो र तिनीहरू ‘गिरि’ भए । अर्काथरीलाई भारतवर्षमा बस्न भन्नुभयो र तिनीहरू ‘भारती’ भए र दसनामीहरूलाई जगन्नाथपुरी जान भन्नुभयो र उनीहरू ‘पुरी’ भए । यस अर्थमा हामी ‘गिरी’ नभएर ‘गिरि’ नै हौँ ।

वि.सं. २०३६ सालमा समीक्षा पत्रिकाका लागि जगदीश घिमिरेले मदनमणि दीक्षित र विनोद दीक्षितको रोहवरमा लिएको अन्तरवार्तामा भनेकी थिइन्, ”अन्तर-पीडा शायद मान्छेको पूँजी हो, जुन मर्दा सँगसँगै जान्छ ।“ हो, साँच्चै नै विगत तीन वर्ष लामो अनन्त अन्तर-पीडाको अवसान भयो, उनको भौतिक अवसानसँगै, तर उनका शब्द, वाणी र अभिव्यक्तिको भने अवसान हुनेछैन, रहिरहनेछ नगल्ने, नपग्लने दर्शनढुङ्गाझैं ।
२५ मे २०२१, काठमाडौं
०००