‘पैसा छँदैछ, लेखायो होला !’

‘पैसा छँदैछ, लेखायो होला !’

जेष्ठ २७, २०७८ 2 By कला अनुरागी
शेयर गर्नुहोस्

प्रतिष्ठित व्यापारिक घराना ‘चौधरी ग्रुप’का एक सदस्यका रूपमा वसन्त चौधरीको आफ्नै व्यापारिक उचाइ छ, सक्रियता छ । समाजसेवामा पनि वसन्तले मौलिक परिचय बनाएकै छन् । त्यसो त, घरानियाँ संसारभन्दा बाहिर पनि वसन्त लोभलाग्दोगरी सक्रिय छन्, साहित्यको संसारमा । परिणामस्वरूप, उनलाई व्यापारीभन्दा कविको रूपमा चिन्नेको संख्या उत्तिकै छ ।
कोरोना कहरअघि ‘विश्व काव्य–यात्रा’ अनेकन् श्रृंखलाले उनलाई विश्वभरबाट निम्ता आइरहेको थियो । त्यसले फेसबुक सञ्जालमा उत्तिकै ‘फलोअर’ बढिरहेका छन् । उनका छोटा–मीठा कविताले हज्जारौं ‘लाइक’ पाइरहेका हुन्छन् । कुनै कविताले पाएको ‘लाइक’को संख्या त लाखै पुगेको छ ।
सामाजिक सञ्जालमा सक्रियता देखाए पनि मिडियामा ‘एक्सपोज’ हुन भने उनी त्यति मन पराउँदैनन् । भन्छन्, ‘मलाई अन्तरवार्तामा आत्मरतिको कुरा गर्न मन लाग्दैन । अन्तरवार्ता भनेपछि अन्तस्करणबाटै वार्ता हुनुपर्छ भन्ने ठान्छु । ओठले बोलेर हुँदैन, मनभित्रबाटै सत्य बोल्न सक्नुपर्छ । त्यसैले चाट्टचुट्ट–टाक्कटुक्क बोलेर मिडियामा आइरहन मन लाग्दैन ।’ कुराकानी सुरु गर्दा उनको अनुहारमा फैलिएको गम्भीरता त्यसैको परिणाम थियो सायद ।
०००

बजार र व्यापार बुझी–भिजेको पृष्ठभूमिका कारण उनले साहित्यमा असजिलो पनि झेलेकै छन् । ‘पैसा छँदैछ, लेखायो होला !’– यस्तो प्रतिक्रिया परोक्ष रूपमा सुनेका छन् ।

साहित्यमा कविता, गीत र गजल वसन्तका प्रमुख विधा हुन् । किताब र एल्बम दुवैमा उनको संख्यात्मक उपस्थिति पनि उत्तिकै बलियो छ । यतिका कृति सार्वजनिक भए पनि उनी आफूलाई साहित्यमा कुनै चिनिएको नाम मान्दैनन् । भन्छन्, ‘म यसमा प्राथमिक तहको विद्यार्थी हुँ । स्वमूल्यांकन गर्दा यति गरेँ भनेर दावी गर्ने ठाउँ छैन, त्यसो गर्नु आफैंलाई ओभररेट गर्नु हो । नेपालको प्रकृति नै कला, साहित्य र संगीतमय छ, त्यसैले यहाँका कुनाकाप्चामा सर्जकहरू छन् । फरक केमात्र हो भने मैले आफ्नो व्यापारिक पृष्ठभूमिका कारण आफ्नो सिर्जनालाई बजारीकरण गर्न सफल भएको छु ।’
अहिलेको बजारमा कुनै पनि वस्तुप्रति आकर्षणको पहिलो आधार ‘प्याकेजिङ’ हुन्छ । आकर्षक ‘प्याकेजिङ’ भएको वस्तु ग्राहकको पहिलो छनोटमा पर्छ । त्यसपछि बल्ल त्यसभित्रको स्वादमा मानिस डोरिन्छन् । यो कुरालाई राम्ररी बुझेका वसन्त आफ्ना कृति आकर्षक ढंगले पस्किन्छन् । त्यसैले बजारमा उनी सजिलै पुग्छन् । ‘विशुद्ध साहित्यिक हिसाबले हेर्ने हो भनेचाहिँ म विद्यार्थी हुँ, सिक्दैछु । धेरै सिक्न बाँकी छ’, उनको आत्मस्वीकृति छ ।
त्यसो त बजार र व्यापार बुझी–भिजेको पृष्ठभूमिका कारण उनले साहित्यमा असजिलो पनि झेलेकै छन् । ‘पैसा छँदैछ, लेखायो होला !’– यस्तो प्रतिक्रिया परोक्ष रूपमा सुनेका छन् । ‘तर मैले निरन्तर लेखिरहेँ । निरन्तरताले त्यस्ता प्रतिक्रियालाई निस्क्रिय तुल्याइदियो । अहिले मेरो लेखनलाई स्वीकारिएको छ । यसमा मलाई खुसी छ’, उनी खुसी देखिए ।
०००

तस्विर: वसन्त चौधरी फेसबुक

वसन्तको अघिल्लो पुस्ताका कोही साहित्यमा थिएनन् । उनले सम्झने चार पुस्ताअघिसम्मै पनि साहित्यसँग नाता भएका कोही थिएनन् । उनको बुबाको लक्ष्मीप्रसाद देवकोटासँग व्यक्तिगत मित्रता थियो, तर त्यो साहित्यिक मित्रता थिएन । आफ्नो पुस्तामा आइपुग्दाचाहिँ कला, साहित्य र संगीतसँग नाता विकास भएको देखेर उनी आफैं अचम्मित छन् । उनका दाइ विनोद चौधरी, जो ‘फोर्ब्स’मा सूचित ‘बिलिनियर’ व्यापारी हुन्, उनको संगीतमा लगाव छ । विनोद गीत गाउँछन्, रेकर्ड गरेर सार्वजनिक पनि गरेका छन् ।
वसन्तकी छोरी त गीत लेख्छिन्, गाउँछिन् र नृत्यमा पनि उत्तिकै पोख्त छिन् । उनका भतिजाहरू कोही लेख्छन्, कोही गाउँछन्, कोही बजाउँछन् । यहाँसम्म कि उनकी नातिनी पनि गीत गाउँछिन् ।
त्यसलाई उनी प्रकृतिले नै ल्याएको परिवर्तन मान्छन् । ‘एउटा कालखण्डमा आएपछि प्रकृति पनि परिवर्तन हुन्छ भनिन्छ, त्यसैगरी हाम्रो परिवारमा सिर्जनात्मक प्रतिभा देखिएका छन् । भावी पुस्ताले चाहिँ हाम्रो परिवारको सिर्जनात्मक विरासतको पनि कुरा गर्न सक्ने भए’, उनले सिर्जनात्मक गर्व झल्किएको मुस्कान छर्दै भने ।
०००

‘म त लेखकले लेखेका शब्दका बीचमा रहेको ग्यापबाट प्रभावित हुन्छु । शब्दबाट सर्जकले बाहिर भन्न खोजिरहेको कुरा बुझाउँछ ।

वसन्तको लेखन यात्रा स्कुले जीवनबाटै सुरु भएको हो । उनी सम्झन्छन्, सानोठिमीस्थित सरकारी स्कुल ‘आदर्श बहुउद्देश्यीय विद्यालय’मा पढ्दाताका वार्षिक कार्यक्रममा उनले पहिलो कविता सुनाएका थिए । त्यो कुरा ०२८ सालतिर हुनुपर्छ, जसबेला उनी स्कुल जीवनको अन्तिम वर्षतिर थिए । त्यहाँ सुनाएको कविताको शीर्षक थियो– ‘म भूतपूर्व विद्यार्थी’ । त्यसका केही पंक्ति उनले सम्झँदै सुनाए–
म भूतपूर्व विद्यार्थी हुँ
परीक्षाबाट निकालिएको प्रशिक्षार्थी हुँ
चोरेको आरोप लागेको छ ममाथि
तर चोरेको होइन
सारेको थिएँ एक टुक्रा कापी ।

‘ठ्याक्कै त सम्झन सकिनँ, तर यस्तै–यस्तै थियो, रमाइलो’, उनले हाँस्दै भने । स्कुले जीवनमा धेरै विद्यार्थीले केही न केही सिर्जनात्मक लेखन गर्छन् । तर सबैले निरन्तरता दिँदैनन्, दिन सक्दैनन् । उनले भने निरन्तरता दिए । कसैको उत्प्रेरणाले होइन, आफ्नै अन्तस्करणको रूचिमा विस्तार भएर । उनलाई सिर्जनात्मक कार्यमा कसैको प्रभाव पर्छ भन्ने नै लाग्दैन ।
‘तपाईंलाई कुनै विषयमा रुचि छैन भने, त्यस विषयको जतिसुकै प्रभावशाली व्यक्तिसँग बसे पनि उत्प्रेरित हुन सक्नुहुन्न । उसको तरिका मन पर्न सक्ला, भावना मन पर्न सक्ला, तर त्यही क्षेत्रमै लाग्न प्रेरित हुन सक्नुहुन्न । त्यसका लागि आफूभित्रै रुचि हुनुपर्छ’, उनले अनुभव–अन्दाज सुनाए ।
लेखकले पार्ने प्रभावका विषयमा त उनको अजीव सोच छ । उनी न त लेखकको व्यक्तित्वबाट प्रभावित हुन्छन्, न त उसले लेखेको शब्दबाट । ‘म त लेखकले लेखेका शब्दका बीचमा रहेको ग्यापबाट प्रभावित हुन्छु । शब्दबाट सर्जकले बाहिर भन्न खोजिरहेको कुरा बुझाउँछ । तर शब्दबीचकोग्यापले सर्जकको भित्री मानसिकता बोलिरहेको हुन्छ । त्यहाँ अव्यक्त भावनाको गहिराइ हुन्छ, त्यो नै अर्कोका लागि प्रेरणा हुन्छ । उसको शैली र शील्पबाट त कोही प्रेरित हुन्छ भन्ने मलाई लाग्दैन’, उनको कुरा अमूर्तजस्तो लाग्छ ।
०००

प्रेम नै यस्तो कुरा हो, जसले विश्वमा परिवर्तन ल्याउन सक्छ । घृणा वा इर्ष्याले न व्यक्ति, न समाज, न विश्वमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ ।

कविताबाट सुरु भएको वसन्तको लेखन–यात्रा त्यसकै पेरिफेरिमा घुमिरहेको छ । गद्यमा पनि उनले प्रयास गरेका हुन्, पाँच–सात वटा छोटा कथा लेखे पनि । ‘तर मैले गद्यलाई न्याय गर्न सक्छुजस्तो लागेन । गद्यतिर जाने मेरो तीव्र इच्छा छ । तर कवितामा व्यक्त गर्न जसरी सहज हुन्छ, गद्यमा किन–किन मेसो नै पाउँदिनँ । तैपनि प्रयास गर्दैछु’, उनले सुनाए ।
लेखनमा उनको मूल विषय प्रेम हो । जहाँ प्रेमको कुरा हुन्छ, त्यहाँ सकारात्मक सोच फैलिन्छ– योचाहिँ उनको लेखन–दर्शन । प्रेम भनेको दुई विपरितलिंगी बिचको आकर्षण भन्ने आमबुझाइप्रति उनको फरक धारणा छ । उनी प्रेमका धेरै स्वरूप हुन्छन् भन्ने मान्यता राख्छन् । भन्छन्, ‘प्रेम नै यस्तो कुरा हो, जसले विश्वमा परिवर्तन ल्याउन सक्छ । घृणा वा इर्ष्याले न व्यक्ति, न समाज, न विश्वमा नै सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । त्यसैले विश्व काव्ययात्रामा जाँदा भन्ने गरेको छु– म माया बाँड्न, माया साँच्न आएको ।’
उनका अनुसार विश्व काव्ययात्राको जन्म पनि प्रेमबाटै भएको हो । सन् २०१३ बाट सुरु भएको उनको विश्व काव्य–यात्रा अमेरिकाबाट हिँड्न थाले पनि बेलायतमा जन्मिएको हो । ‘मेरो मित्र डा. सुरेशचन्द्र चालिसे बेलायतको राजदूत हुनुहुन्थ्यो । उहाँ संगीत, त्यसमा पनि गजलप्रेमी । हाम्रो भेटमा हामी फुर्सद मिलाएर गजल सुन्थ्यौं, म मेरा कविता पनि सुनाउँथेँ ।’, उनले काव्य–यात्राको जन्मकथा भने, ‘उहाँ राजदूत भएकै बेला मेरो बेलायत जाने कार्यक्रम परेको थियो । त्यसबेला उहाँले प्रेमपूर्वक दूतावासमा मेरो कविता वाचनको कार्यक्रम राख्छु भनेर प्रस्ताव गर्नुभयो । बेलायतमा रहेका नेपाली साहित्यका उच्च कोटीका पाठकबिच कविता सुनाएपछि सुझाव पाएँ– यस्तो कार्यक्रम त विश्वभर गर्नुपर्छ । त्यसपछि नै विश्व काव्य–यात्राको अवधारणा बनेको हो ।’
०००

विश्व काव्य–यात्रा सुरु गर्दा वसन्तलाई स्रोता जुटाउन गाह्रो होला कि भन्ने चिन्ता लागेको थियो । उनले सुनाए, ‘अझै पनि मानिसको मनमा कवि भन्नासाथै एउटा छवि आउँछ, जिङ्रिङ्ग कपाल भएको, दाह्री पालेको, चुरोट तान्दै या खैनी चपाउँदै राजनीतिका ठूल्ठूला कुरा गरिरहेको, अरूलाई गाली गरिरहेको । त्यसैले कवि कविता सुनाउन आयो भन्नेबित्तिकै नाक खुम्च्याउने प्रवृत्ति छ । त्यसैले न्यूयोर्कमा भएको पहिलो कार्यक्रममा स्रोता जुटाउन आयोजकलाई गाह्रै पर्छ होलाझैं लागेको थियो । तर एउटा सुटबुटधारी, चिल्लो अनुहार भएको मान्छेले आइप्याड हेरेर कविता पढ्न थालेपछि फरक प्रभाव पर्दोरहेछ मान्छेमा ।’
कविताको अलोकप्रियताको विषयमा काव्य–यात्राको क्रममा उनले गुनासो सुने– कविहरू भारीभरकम शब्द प्रयोग गर्छन्, अर्थ खोज्न शब्दकोश पल्टाउनुपर्छ । त्यस्तो दुःख किन, कसले गर्ने ?
उनी थप्छन् ‘कविता भनेपछि त कानले सुनेपछि सरर मस्तिष्कमा हुँदै हृदयमा पुग्नुपर्छ । अनि पो रस लिन सकिन्छ । सुनेर मस्तिष्कमा पुग्दा–नपुग्दै रन्थनिएर बस्यो भने त कसरी रसपान गर्नु ?’ कविताबाट मानिस तर्किन खोज्नुको कारण पनि उनलाई यही हो भन्ने लाग्छ । उनको तर्क छ, ‘कविता त रेशमजस्तो हुनुपर्छ । कोमल, सलक्क परेको । अहिलेको जमानामा अर्ती कसैलाई दिनुपर्दैन, सबै आफ्नो हिसाबले जान्नेबुझ्ने छन् । जब कवितामा अर्ती दिन थालिन्छ, अनि मानिस कविताबाट तर्किन्छन् ।’
उनकै दर्शनअनुसार उनका कवितामा क्लिष्ट शब्द हुँदैनन् । अभिव्यक्त गर्न पनि सजिलो, मानिसलाई ग्रहण गर्न पनि सजिलो बाटो उनले अपनाएका छन् । ‘क्लिष्ट शब्द आफैं पनि जान्दिनँ, बुझ्दिनँ । मसँग सामान्य सोच छ, सामान्य शब्दकै प्रयोग गर्छु । जुन शब्द हामीले सधैं बोलिरहेका हुन्छौं, प्रयोग गरिरहेका हुन्छौं । त्यसैले पनि मेरो कविताबाट स्रोतामा बेग्लै प्रभाव पर्यो होलाजस्तो लाग्छ’, उनले भने ।
उनको काव्य–यात्रालाई पछिल्लो समय तीव्रतर गतिमा प्रयोग भइरहेको सामाजिक सञ्जालले पनि सघायो, सहजै प्रचार गर्न । उनी भन्छन्, ‘त्यसैमार्फत खबर फैलियो । नयाँ–नयाँ ठाउँमा कार्यक्रमको अनुरोध आउन थाल्यो, यात्रा अघि बढिरह्यो । नत्र यो कुनै योजनाबद्ध कार्यक्रम थिएन ।’
०००

मलाई अनुभूति भयो- म विशुद्ध व्यापारमा लागेको भए कसैले चिन्दैनथ्यो होला । न त मानिसको भावनामा यसरी जोडिन पाउँथेँ । म मात्र वसन्त चौधरीका लागिमात्रै वसन्त चौधरी हुन्थेँ हुँला ।

काव्य–यात्रामा स्रोतासँग प्रत्यक्ष संवाद गर्न पाउँदा छुट्टै आनन्द महसुस हुन्छ वसन्तलाई । ‘सबैको मनमा उस्तै–उस्तै भावना हुने हुन्, कि आशाका कि निराशाका । अरू भावना त्यसैका बाइप्रडक्टमात्र न हुन् । त्यसैले मैले कविता सुनाउँदा कति स्रोताले आफ्नै कुरा भनिदिएको भनेर प्रतिक्रिया व्यक्त गर्नुहुन्छ । यसले भावनात्मक रूपमा स्रोतासँग अझ नजिक हुन सघाउ पुर्याएको छ’, उनले अनुभूति सुनाए ।
काव्य–यात्राका क्रममा अहिलेसम्म भएका कार्यक्रममध्ये केहीमा स्रोताको संख्यात्मक सहभागिता कम भएको महसुस नगरेका होइनन्, तर गुणात्मक रूपमा स्रोताको कमी महसुस कहिल्यै भएन उनलाई । अझ कार्यक्रम सकिएपछि ‘हत्तेरी, हामीले त छुटाएछौं’ भन्नेको संख्या धेरै भएको पाउँदा उनी अव्यक्त सन्तुष्टिले छोपिन्छन् ।
कार्यक्रममा उनी गजल पनि गुन्गुनाइदिन्छन् । एउटा कार्यक्रममा एक स्रोताले अचम्म मान्दै भने, ‘व्यापारीले पनि गीत गाउन सक्दोरहेछ है !’ उनले त्यो प्रतिक्रियालाई सकारात्मक रूपमा लिए । आफ्नो सिर्जना–यात्राले सिर्जनालाई उसको पेशा वा व्यवसायको छविले किच्न सक्दैन भन्ने कुरा बुझाउन सकेकोमा खुशी भए ।
अहिलेसम्म भएका कार्यक्रममध्ये अस्ट्रेलियाको मेलबर्नको कार्यक्रम उनको भित्री चित्त नै प्रसन्न भएको कार्यक्रमको सूचिमा पहिलो नम्बरमा पर्छ । ‘त्यहाँको क्वालिटी अफ अडियन्स देखेर आफैं छक्क परें, मख्ख परें । कविताको भाव बुझ्ने र सक्रिय रूपमा प्रतिक्रिया जनाउने स्रोता पाएको त्यस्तो क्षण एउटा कविका लागि निकै महत्वपूर्ण हुँदोरहेछ’, उनको अनुभूति थियो । उनी कार्यक्रममा सामान्यतः १४/१५ कविता पढ्छन् । तर मेलबर्नको कार्यक्रममा निर्धारित कविता पढिसक्दा पनि न स्रोता अघाएका थिए, न उनी नै । ‘स्रोताको भावनासँग जोडिएको क्षण कस्तो हुँदोरहेछ भन्ने अनुभूति त्यहाँ गरेँ मैले’, उनी भावनात्मक बने, ‘त्यतिबेला मलाई सघन अनुभूति भयो कि म विशुद्ध व्यापारमा लागेको भए कसैले चिन्दैनथ्यो होला । न त मानिसको भावनामा यसरी जोडिन पाउँथेँ । म मात्र वसन्त चौधरीका लागिमात्रै वसन्त चौधरी हुन्थेँ हुँला ।’
०००

व्यापारको लागि मुटु ढुंगाजस्तो चाहिन्छ, सिर्जनाको लागि फूलजस्तो नरम । सन्तुलन गर्न सामान्यतः गाह्रै हुन्छ ।

व्यापार र साहित्यको दुई डुंगामा एकैपटक यात्रा गर्नु चुनौतीपूर्ण कुरा हो । यसलाई वसन्त ढुंगा र फूलबीचको यात्रा मान्छन् । भन्छन्, ‘व्यापारको लागि मुटु ढुंगाजस्तो चाहिन्छ, सिर्जनाको लागि फूलजस्तो नरम । सन्तुलन गर्न सामान्यतः गाहै्र हुन्छ । तर मैले स्वअनुशासन बनाएर सन्तुलन कायम गरेको छु ।’
उनलाई लाग्छ– हामी सधैं मृगतृष्णामा दौडिरहँदा दुःखी हुन्छौं । व्यापारमा पैसाको मृगतृष्णाले त्यो दुःख पैदा गर्छ, मानिसलाई झन् पछि झन् कठोर बनाउँछ । जहाँ सिर्जनात्मक संसारको परिकल्पना हत्तपति मानिसले गर्न सक्दैनन् । त्यसैले यो मृगतृष्णको दौडमा कहीँ न कहीँ लगाम आवश्यक छ । ‘मैले पनि जीवनमा दुई–चारवटा लक्ष्य निर्धारण गरेको छु । चाहना त असीमित छन्, मलाई लाग्दैन कि अहिलेसम्म कसैको सबै चाहना पूरा भएको छ । त्यसकारण म आफ्नो आवश्यकतालाई बुझेर संयमता अपनाउँछु’, उनले सन्तुलनको राज खोल्दै गए ।
उनी अफिसबाट उठिसकेपछि व्यापारबारे सोच्दैनन्, त्यसको तनावलाई घर लैजाँदैनन् । व्यापारमा तनाव हुन्छ, तर त्यसलाई घर लगेर तनावमाथि तनाव थप्दैनन् । त्यसको साटो घर पुगेर आफूलाई मन पर्ने पुस्तक पढ्छन्, मनमा लागेको कुरा लेख्छन् । लेख्नकै लागि चाहिँ उनको कुनै समय निर्धारण छैन, विशेष वातावरण पनि चाहिँदैन । जतिबेला मनमा लेख्नुपर्ने विषय आउँछ, सेलफोनमा ‘रेकर्ड’ गर्छन् । मिटिङ छ भने निस्केर बाथरूमतिर गएर ‘रेकर्ड’ गर्छन् । पछि त्यसलाई साफी गर्छन् ।
व्यापारमा त उनी पनि अरू व्यापारीले जे गर्ने हो, त्यही गर्छन् नै । ‘व्यापारी हुनुको धर्म भनेकै नाफा कमाउनु हो । नाफा कमाउन झुट पनि बोल्नुपर्ला, शोषण पनि गर्नुपर्ला, केही अनैतिक काम पनि गर्नुपर्ला । यी सबै व्यापारका बाइप्रोडक्ट हुन् । किनकि नेपालमा शतप्रतिशत इमान्दारितापूर्वक व्यापार गर्न गाह्रो छ । त्यसैले म आफूलाई शतप्रतिशत इमान्दार छु पनि भन्दिनँ’, उनको आत्मस्वीकृति छ, ‘तर अरूभन्दा म धेरै चोखो र इमान्दार छु । यो कुरा ठोकेर भन्छु । किनकि मेरो स्वभावले पनि कठोर व्यापारी बन्न दिँदैन । नत्र त म अहिलेको भन्दा धेरै व्यापारिक प्रगति गर्थें हुँला ।’

आज कहीँ पनि कुरा गर्न जाँदा सजिलै चिन्छन्, चिनाउनु पर्दैन । तपाईं त कवि मान्छे, के गोलमाल लिएर आउनुभएको होला र ?, भनेर सम्मान गर्छन् ।


उनको मनमा आफू कठोर व्यापारी हुन नसकेकोमा पछुतो वा गुनासोजस्तो कुनै भावना भने छैन । उनलाई लाग्छ, उनीसँग के छैन र दुःखी हुनु ? भन्छन्, ‘राम्रो से राम्रो लाउन पाएकै छु, राम्रो से राम्रो गाडी चढ्न पाएकै छु । समाजमा इज्जत छ, सबैले माया गर्छन्, वसन्त चौधरी भनेर चिन्छन् । योभन्दा बढी लालसा किन गर्नु र ?’
अधिक लालसाको भासमा डुब्नबाट जोगिने उत्प्रेरणा उनले आफ्नो बुबाबाट प्राप्त गरेका हुन् । उनी बुबालाई सम्झँदै भन्छन्, ‘उहाँ अत्यन्त सरल हुनुहुन्थ्यो, तर प्रतिबद्ध । अहिले हामी चौधरी ग्रुप भनेर जति गर्व गर्छौं, त्यसको बलियो जग उहाँले नै बनाइदिनुभएको हो । त्यसमा दुईचारवटा कोठा थप्यौं होला, तला थप्यौं होला । मेरा दाइभाइहरूले के सिके भन्न सक्दिनँ, मैलेचाहिँ मैले उहाँबाट सरलता र प्रतिबद्धताको पाठ सिकेको छु । अघिक लालसाबाट जोगिन सिकेको छु ।’
त्यसैले उनले आफू सक्रिय दुई क्षेत्रले एक–अर्कालाई अतिक्रमण गरेको महसुस गर्नुपरेको छैन । बरू साहित्यिक चिनारीले व्यापारिक चिनारीलाई मद्दत गरेको उनलाई अनुभूति हुन्छ । ‘आज कहीँ पनि कुरा गर्न जाँदा सजिलै चिन्छन्, चिनाउनु पर्दैन । तपाईं त कवि मान्छे, के गोलमाल लिएर आउनुभएको होला र ?, भनेर सम्मान गर्छन् । त्यसबाट सर्जकप्रति मानिसको कति सकारात्मक सोच छ भन्ने कुरा अनुभूति गर्न पाएको छु’, उनको अनुभूति–बयान थियो ।
०००

तस्विर: वसन्त चौधरी फेसबुक

कोही व्यक्तिको निधन भइसकेपछि उसको नाममा ‘ट्रस्ट’ खोलिदिने, ‘अवार्ड’ घोषणा गरिदिने कुरा वसन्तलाई मन पर्दैनथ्यो, पर्दैन । मानिसले जीवित छँदै सम्मान पाउनुपर्छ र आफूसँग जोडिएको काममा गर्वअनुभूति गर्न पाउनुपर्छ भन्ने उनी सोच्थे, सोच्छन् । त्यसैले उनले २५ बर्षअगाडि नै बुबा–आमाको नाममा संस्था स्थापना गरे । संस्था बनाउँदा आफ्नो मुटुनजिकको क्षेत्र साहित्यलाई रोजे र नाम दिए– लुनकरणदास–गंगादेवी चौधरी साहित्य कला मन्दिर । संस्थाले सिर्जनाका विभिन्न विधामा सम्मान प्रदान गर्छ, जो देशका सपूत र विभूतिहरूको नाममा नामाकरण गरिएको छ । संस्थाले कला साहित्यसम्बन्धित कृति प्रकाशन पनि गर्छ । त्यस्तै सर्वनाम थिएटरसँगको सहकार्यमा हरेक महिनाको पहिलो दिन कविता–वाचन श्रृंखला पनि चलायो । (कोरोना कहरका कारण अहिले हुन सकेको छैन)
सर्जकका लागि ‘प्लेटफार्म’ निकै महत्वको हुन्छ भन्ने बुझेर वसन्तले कार्यक्रमको डिजाइन गरेका थिए । ‘म आफूलाई सिकारू कवि मान्छु । साधनस्रोतको सहज उपलब्धताका कारण मैले सजिलैसित मञ्च पाएँ हुँला, तर त्यस्तो मञ्च पाउन मजस्तै कविलाई कति गाह्रो हुन्छ भन्ने कुराको बोध छ मलाई । त्यही बोधले नै त्यो मञ्चको परिकल्पना गरेको हुँ’, हामी, कवि र कविता नाम दिइएको उक्त नियमित श्रृंखलाबारे उनले भने, ‘नयाँ कविलाई मात्रै प्रस्तुत गर्दा स्रोता जुटाउन गाह्रो हुनसक्थ्यो । त्यसैले स्थापित कविको साखबाट स्रोता जुटाउने र नयाँलाई पनि साथै प्रस्तुत गर्ने सोचमा कार्यक्रम बनेको हो । नयाँ कविले स्थापित कविसँग प्रस्तुत हुन पाउँदा गौरव अनुभूति गर्नेछन् र स्रोताले पनि दुई पुस्ताको लेखन विधि तथा सोचबीचको फरक पहिल्याउने अवसर प्राप्त गर्नेछन् भन्ने सोचिएको हो । कार्यक्रमको लोकप्रियताले सही सोचिएछ भन्ने प्रमाणित भयो ।’
त्यसो त उनले बुबाको कर्मथलो सुनसरीको दुहबीमा बुबा–आमाको नाममा जिल्लास्तरीय च्यारिटी अस्पताल पनि स्थापना गरेका छन् । उनी भन्छन्, ‘त्यहाँको हाइवेनजिक पाँच सयजति उद्योग छन्, तर एउटा पनि स्वास्थ्य संस्था थिएन । त्यसैले मजदुरहरूको स्वास्थ्य अधिक जोखिममा थियो । कुनै दुर्घटना भए कि त १२ किलोमिटर पार गरेर विराटनगर लैजानुपर्ने, कि त १८ किलोमिटर टाढा धरान लैजानुपर्ने । त्यो अवस्था देखेपछि अस्पताल स्थापना गरेँ । बुबा–मुमाले आफ्नो जीवनकालमै संस्था र अस्पतालको प्रभाव महसुस गर्न पाउनुभयो । त्यसैमार्फत बुबामुमाको स्मृति चीरकालसम्म रहोस् भन्ने उद्देश्य हो ।’
०००

मभित्र एउटा कलाकार लुकेर बसेको छ । मलाई रंगमञ्चमा उत्रिन मन छ । मेरो सबैभन्दा अन्तिम इच्छा पनि हो यो ।

थापाथलीस्थित वसन्तको कार्यालयमा बसेर भइरहेको कुराकानीले पौने घन्टा खाइसकेको थियो । उनलाई मिटिङको चाप बढिरहेको छ भन्ने कुराको सन्देश ढोकाबाट बेला–बेला बतासिँदै आइरहेको थियो । त्यसैले कुराकानी टुंग्याउन दवाव परिरहेको थियो । टुंग्याउनीलाई अलिक रोमाञ्चक र हाइपोथेटिकल बनाउने प्रश्न थियो, ‘कलासाहित्य नहुने हो संसार कस्तो हुन्छ होला ?’
वसन्तले छोटो जवाफ दिए, ‘पहाड खस्यो भने के होला, हिमाल खस्यो भने के होला ? त्यस्तै होला, कलासाहित्यविना जीवन असम्भव छ ।’
उनी साहित्यको कुरा गर्दा पटक–पटक कला शब्द पनि उच्चारण गरिरहेका थिए । त्यसको अर्थ अनुमान गरेर अँध्यारोमा ढुंगा हान्ने भाकामा सोधें, ‘तपाईंभित्र लुकिरहेको अर्को कुनै अर्को वसन्त चौधरी पनि छ ?’
उनले हाँस्दै जवाफ दिए, ‘मभित्र एउटा कलाकार लुकेर बसेको छ । मलाई रंगमञ्चमा उत्रिन मन छ । मेरो सबैभन्दा अन्तिम इच्छा पनि हो यो ।’ स्कुले जीवनमा नाटक खेलेको सम्झिँदै भने, ‘त्यसैबेला मभित्र कलाकारिताको बीउ रोपिएको थियो । अब यो क्षेत्रमा एकचोटि आफ्नो उपस्थिति जनाउने ठूलो रहर छ ।’
(कोरोना कहरले सबैभन्दा प्रभावित पारेको क्षेत्र रंगमञ्च नै हो । अब यो सहज अवस्थामा आउन कति समय लाग्ने हो, यसै भन्न सकिन्न । तर कोरोना कहर छिटो अन्त्य होस्, त्यो दिनको व्यग्र प्रतीक्षा गरिरहेका रङ्गकर्मीको र वसन्त चौधरीको सपना पूरा होस् । शुभकामना !)
०००