जहाँ हुन्छ निःशुल्क पिसिआर परीक्षण: जनसेवामा तल्लीन तिलोत्तमा

जहाँ हुन्छ निःशुल्क पिसिआर परीक्षण: जनसेवामा तल्लीन तिलोत्तमा

जेष्ठ २१, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गत चैत्रमा ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०७७’ प्राप्त ग-यो । मुलुकभरका महानगर, उप–महानगर र नगरपालिकाहरूको छाता संगठन नेपाल नगरपालिका संघले पुरस्कार प्रदान गरेको थियो । पुरस्कारको मापन गरिएको थियो–आर्थिक वर्ष २०७६/७७ मा सहरी सेवा प्रवाह तथा सुशासनको क्षेत्रमा पु-याएको उल्लेखनीय कार्यसम्पादनको मूल्यांकन । तथापि नगरपालिकाले यो उत्साहलाई थप गतिमा परिणत गर्न नपाउँदै कोरोनाको दोस्रो लहर देखियो । नगरपालिकासँग नगरवासीको जीवन बचाउनु पर्ने दायित्व प्रमुख भयो, नियमित कार्यलाई गति दिनु पर्ने चुनौती अर्कातिर छ नै । आफ्नै कानून निर्माण गर्ने, राष्ट्रिय गान र नगरगान गाएर कार्यालय शुरु गर्नेलगायतका मौलिक पहिचान बनाउँदै अघि बढिरहेको यो नगरपालिकाले महामारी नियन्त्रणमा के गरिहरेको छ र अन्य गतिविधि कसरी चलिरहेका छन् ? नगरप्रमुख बासुदेव घिमिरेको सविस्तार अभिव्यक्ति यहाँ प्रस्तुत छ:

तस्विरहरूको स्रोत: नगर प्रमुख बासुदेव घिमिरे

जुनकुनै सफलताका पछाडि तीन पक्ष जरुरी हुन्छ, सपना, योजना र प्रतिबद्धता । त्यसपछि चाहिन्छ टिमवर्क । यही व्यवस्थित प्रणालीमा अघि बढेको हुनाले तिलोत्तमा नगरपालिकाले अहिलेको विषम परिस्थितिमा पनि धैर्यतापूर्वक दुवै प्रकारको जिम्मेवारी निर्वाह गरिरहेको छ ।
स्थानीय जनताको सेवा गर्न भनेरै दायित्व उठाएको हुँ । मैले पदभार ग्रहण गर्दै देशमै नमूना काम गर्ने सपना देखेको थिएँ । मेरो सपनामा उपमेयर तथा अन्य जनप्रतिनिधिहरु, कर्मचारी र नगरवासीले साथ दिइरहनुभएको छ । हाम्रो सामूहिक कर्मको प्रतिफलकै उपज हो गत चैत्रको पुरस्कार । पुरस्कारले नगरवासी, जनप्रतिनिधि, कर्मचारी सबैमा आफ्नो नगरको थप विकासमा लाग्न दायित्व र उत्साह थप्यो ।

निःशुल्क पिसिआर
नगरपालिकाको निरन्तर प्रयत्न र सचेतताका बावजुद कोरोना महामारीका कारण गत वर्ष ३० र दोस्रो लहर देखिएपछि विगत दुई महिनामा १०० गरी नगरमा १ सय ३० जनाले ज्यान गुमाउनु पर्यो । यो हाम्रो लागि असाध्यै दुःखलाग्दो तथ्यांक हो । यद्यपि महामारी नियन्त्रणमा नगरपालिकाले निरन्तर प्रयत्न जारी राखेको छ । यसैले दैनिक ५० देखि ६० जना संक्रमित हुने दर घटेर हाल ६ जनामा सीमित भएको छ । एक हप्तादेखि १० दिनमा यो दर शून्यमा झार्न नगरपालिकाको प्रयासरत छ ।

शंकरनगर वनवाटिका आइसोलेसनमा पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिँदै


त्यही प्रयत्नको एउटा कडी हो निःशुल्क पिसिआर । सरकारी अस्पतालले पनि पिसिआर परीक्षणको हजार रूपैयाँ लिइरहेको बेला हाम्रो नगरपालिकाले गत वर्षदेखि नै निःशुल्क गर्दै आएको छ । नगरपालिकाकै लगानीमा गत वर्ष नै कोरोना अस्पताल बनाइएको थियो । यसपटक संक्रमण ह्वात्तै बढेपछि ६० शैय्याको नयाँ अस्पताल बनाइएको छ । अस्पतालमा स्वास्थ्यकर्मी, ‘सेन्टर फ्लो अक्सिजन’लगायत आवश्यक व्यवस्था मिलाइएको छ । अस्पतालमा डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थाका साथै बिरामीलाई खानाको व्यवस्था पनि नगरपालिकाले नै गरेको छ । दुई ओटा एम्बुलेन्सले नभ्याएपछि नगरप्रमुखका रुपमा मैले चढ्ने गरेको र उपमेयरले चढ्ने गरेको दुई गाडीलाई एम्बुलेन्समा परिणत ग-यौं । थप उपचार आवश्यक परेका संक्रमितलाई बुटवल, भैरहवा, चितवन, पोखरा र आवश्यकताअनुसार काठमाडौंसम्म पु-याउन त्यसले सहयोग पुगेको छ ।
यथासम्भव संसाधन तयार गरेर नगरवासीलाई संक्रमणबाट जोगाउनु नै नगरपालिकाको पहिलो प्रयत्न रहँदै आएको छ । यसका लागि पालिकाका स्वास्थ्य प्रतिनिधि, जनप्रतिनिधिलगायतको विभिन्न समूह बनाइएको छ । टोली घरघरै गएर जनतालाई स्वास्थ्य मापदण्ड अपनाउन, पोषिलो खानेकुरा खान, शारीरिक व्यायाम गर्न उत्प्रेरित गरिरहेका छन् ।
पछिल्ला दिनमा नगरभित्र संक्रमण घटेको छ । यद्यपि लापरवाही भयो भने पुनः बढ्न सक्छ । संक्रमण घटेपनि स्वास्थ्य सुरक्षा विधिलाई उसरी नै अपनाउनु आवश्यक छ । तर, नगरमा कोरोना घट्यो भन्ने परेपछि कतिपय नागरिक जथाभावि हिडडुल गर्न थाले । पुनः संक्रमण बढ्ने खतरा देखेपछि स्वाब परीक्षणका लागि प्रत्येक वडामा दुई टोली खटाइएको छ । भीड कम गर्दै एन्टिजेन र पिसिआर परीक्षणका लागि स्वाब लिने काम भइरहेको छ । केही दिनभित्र संभावित सबैको परीक्षण गरिने छ ।

शंकरनगर वनवाटिका आइसोलेसन

गम्भीर सतर्कता
रुपन्देही भारतसँगको खुला सीमा नाका सुनौलीसँग जोडिएको जिल्ला भएको हुँदा जुनकुनै बेला लुकिछिपी आउनेलाई नियन्त्रण गर्नु अर्को चुनौती छ । यसरी आउनेहरूबाट पुनः कोभिडका लहर नफैलेला भन्न सकिन्न । यसकारण हामी सचेततापूर्वक काम गरिरहेका छौं । यसका लागि संघीय सरकारले तेस्रो मुलुकबाट आउने यात्रुलाई विमानस्थलबाट बाहिर आउनेबित्तिकै स्वाब परीक्षण, आइसोलेसनको व्यवस्था अझ प्रभावकारी बनाउन जरुरी छ । नाकामा पनि होल्डिङ सेन्टरमै राखेर पिसिआर परीक्षण गर्ने, पोजेटिभ देखिएकालाई केही दिन आइसोलेसनमा राख्ने र नेगेटिभ आएमात्र घर पठाउने व्यवस्था गरिनुपर्छ । यसो गर्न सके हाम्रो नगरपालिकामात्र कुरा होइन, सबैतिर संक्रमण नियन्त्रण हुन्छ ।


प्रकोप व्यवस्थापनका लागि नगरपालिकाले आन्तरिक स्रोतबाटै खर्च गरेको छ । यसका लागि नगरपालिकाको प्रकोप व्यवस्थापन कोष र अन्य शीर्षकबाट पनि रकमान्तर गरिएको छ । गत वर्ष बन्दाबन्दी लामो अवधिसम्म रह्यो । धेरै मानिस भोकको चपेटामा परे । नगरपालिकाले आफ्नो स्रोतले नभ्याउने भएपछि विभिन्न दाता संघसंस्थालाई अनुरोध ग-यो । परिणामस्वरुप करिब १ करोड रुपैयाँ जम्मा भयो । आफ्नो स्रोतसहित नगरपालिकाले ६५ लाख रुपैयाँबराबरको राहत विवतरण ग-यो । बाँकी रकम उपचारका अन्य गतिविधिमा खर्च गरियो । यसपटक भने अभियानका रूपमा गरिएको छैन, तर सहयोग चाहियो भनेर आएकाहरूलाई केही मात्रामा राहत उपलब्ध गराइएको छ ।

विकास बढ्दै
महामारी कहिलेसम्म लम्बिन्छ, कुनै निश्चित छैन । सधैँ सबै गतिविधि ठप्प गरेर कतिञ्जल चल्छ ? फेरि यो महामारीले मानिस–मानिसबीचको सामाजिक सद्भावलाई पनि खोक्रो पारिदिएको छ । यस्तो बेला जनतामा भोकको क्रन्दनमा सहानुभूतिस्वरूप केही छाक भातको जोहो गरिदिनु भन्दा रोजगारीको वातावरण दिनु उचित हो । त्यसैले हामीले नगरपालिकाका विकास निर्माणका कार्यलाई निरन्तरता दिएका छौं ।

जारी विकास कार्य


अहिले एकातिर संक्रमितको उपचारमा नगरपालिकाको स्वास्थ्य समूह अहोरात्र खटिरहेको छ । अर्कातिर मजदुरहरू निर्माण कार्यमा जुटिरहेका छन् । सडक, ढल, विभिन्न भवन निर्माणकार्य जारी छ । फिल्डमा खटिएका मजदुरले दूरी र स्वास्थ्य मापदण्ड अपनाएका छन् । गत वर्ष महामारीकै बीचमा १ हजार मजदुरले रोजगारी पाएका थिए । चालु आ.व.मा गत वर्षकै हाराहारी मजदुर परिचालन गरिएको छ । चालु आ.व.अन्तर्गतका संघीय सरकारका ठूला आयोजना र नगरपालिकाका आयोजना अघि बढिरहेकै छ । सडक, ढल तथा भवन निर्माण जारी छन् । गत वर्षझैं यो आ.व.मा पनि पूँजीगत खर्च ८० देखि ८५ प्रतिशत हुने आँकलन गरिएको छ ।
यतिबेला पनि जनप्रतिनिधि र कर्मचारीको आलोपालो गरिकन नगरपालिका र वडा कार्यालयहरू खोलिएका छन् । सम्पन्न भएका योजनाहरू फरफारक गर्ने, रकम भुक्तानी लगायतका काम रोकिएको छैन । सडक दुर्घटना न्यून गर्ने तथा उज्यालो नगर बनाउने उद्देश्यले सडकबत्ती जडान सुरु गरिएको छ । केही समयभित्रै सबै मुख्य सडकमा बत्ती जडान हुन्छ । राजधानी र पोखरापछि सडकबत्तीले उज्यालिने नगर तिलोत्तमा बन्दै छ ।
नगरपालिकामा विभिन्न ठूला आयोजना चलिरहेका छन् । एक हजार शैय्याको बुटवल मेडिकल कलेजको डिपिआर तयार भइसकेको छ । बौद्ध तीर्थस्थल लुम्बिनी, भारतसँगको सीमा क्षेत्रसम्म अवलोकन गर्न मिल्ने भ्यू टावर निर्माणको अन्तिम चरणमा छ ।
एक हजार दुई सय जना क्षमताको सभा हल बनिसक्यो । प्राविधिक शिक्षालयको रुपमा सन्चालनमा ल्याउने गरी पालिकाले ४ करोड लगानीमा २६ कोठाको सिटी कलेज निर्माण गरेको छ । केही समयमा सन्चालनमा आउँदैछ । ०७६ असोजमा हाम्रो क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले नगरपालिकाले ‘तिलोत्तमा लगानी सम्मेलन’ आयोजना गरेको थियो । जसमा सहभागी ६ सय उद्योगीमध्य केहीले उद्योग स्थापना गर्न थालेका छन् । प्रदेश र नगरस्तरमा पहिलो पल्ट आयोजित सम्मेलनले अरू धेरै उद्यमीलाई लगानीका लागि उत्साहित गरेको छ ।

आफ्नै कानून लागू गर्दै
स्थानीय स्वायत्त निकायका हैसियतमा आफ्नै कानून निर्माण गर्ने तिलोत्तमा पहिलो नगरपालिका हो । नगर विकासको आवश्यकताका आधारमा पालिकाले हालसम्म ८० ओटा कानून निर्माण गरी लागू गरेको छ । यसका आधारमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माणलगायत यावत क्षेत्रमा योजनाबद्ध गतिविधि अघि बढेका छन् । नगरका १७ ओटा वडामा २४ हजार घरधुरी छन्, जसमा १ लाख २५ हजार जनसंख्या छन् । जनसंख्याको ठूलो हिस्सा कृषि पेशामा आधारित छ ।

जन्मदिनमा रुख रोप्ने अभियान


विकास भनेको सडक र भवन बनाउनु मात्र हैन । जनतालाई उद्यमशील, सिर्जनशील बनाउनु पनि हाम्रो दायित्व हो । यही सोचले नगरपालिकाले नगर क्षेत्रभित्रका कुनै पनि जग्गा बाँझो राख्न नपाइने नीति ल्याइएपछि हाल सबैतिर अनाज तथा तरकारी खेती गरिएको छ । दूग्ध उत्पादक किसानलाई प्रोत्साहित गर्न उत्पादनको आधारमा प्रतिलिटर १ रुपैयाँ अनुदान नगरपालिकाले दिने गरेको छ । परिणामस्वरूप यो एक वर्षमा ८ लाख लिटर दूध उत्पादनमा वृद्धि भएको छ ।

११ नं. वडा कार्यालय


नगरभित्र ४ ओटा पार्क निर्माण हुँदै छ । नगरपालिका नजिकै रहेको कुञ्ज पार्कलाई २४ घण्टा खुल्ला गर्न मिल्ने ‘नाइट पार्क’का रूपमा निर्माण गरिँदै छ । यो देशमै नमूना पार्कका हुनेछ । जिल्लामा बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्षेत्रीय विमानस्थल, बुद्धभूमि लुम्बिनी कारण आन्तरिक तथा बाह्य पर्यटनको उच्च सम्भावना भएको हुँदा नगरभित्र तारे तथा बिजनेसस्तरका एक दर्जन होटलहरू पनि धमाधम बनिरहेका छन् ।
नगरभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले छात्रवृत्ति, भवन निर्माण, दिवा खाजा, स्थानीय स्रोतको शिक्षक भर्ना तथा विद्यार्थीको बौद्धिक तथा मानसिक विकासका अनेक गतिविधिमा सहयोग गर्ने गरेको छ । नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा पहेलो र रातो रंग लगाइदिएको छ । यसले सामुदायिक विद्यालयबीच एकता र सद्भाव सिर्जना होस् भन्ने उद्देश्य राखिएको छ । शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ उप्रमुख जागेश्वर देवी चौधरीले हेरिरहनुभएको छ । सबै विद्यालयमा छात्राहरूका लागि भरपूर मात्रामा सेनिटरी प्याड पनि नगरपालिकाले नै व्यवस्था गरेको छ ।

सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गर्दै प्रमुख घिमिरे

प्रादेशिक बसपार्क
नगरपालिकाभित्र संघीय, प्रदेश तथा नगरपालिका तीनै निकायको सहकार्यमा १ अर्ब ७ करोड अनुमानित लागतमा प्रादेशिक बसपार्क निर्माण हुँदैछ । यो बृहत् योजनाका लागि नगरपालिकाले ‘सिड मनी’ छुट्याएको छ । प्रदेश सरकारले ३४ करोड लगानीमा बसपार्कसम्म पुग्ने पहुँच मार्ग निर्माणको तयारी सुरु गरेको छ ।

तिलोत्तमा उद्योगग्राम
नगरपालिका वडा नं. १० स्थित रोहिणी नदी किनारमा तिलोत्तमा उद्योग ग्राम निर्माण हुँदै छ । ग्राममा घरेलु तथा साना गरी करीब ५५ ओटा उद्योग स्थापित हुनेछन् । ग्राम निर्माणको अनुमानित ५५ करोड रुपैयाँ लागत रहनेछ । हालसम्म २ करोड ५० लाख खर्च भइसकेको छ । हाम्रा स्थानीय उत्पादनको बजार विस्तार गर्न, आफ्नै क्षेत्रमा रोजगारी सिर्जना गर्न हामीले पहल थालेका हौं । यसमा तीन तहकै सरकारको लगानीमा ग्राम निर्माण हुँदैछ ।

हरितनगर
नगरपालिका शासन गर्ने थलो होइन, नगरबासीसँग हातेमालो गर्ने निकाय हो । यसै सिद्धान्तका आधारमा तिलोत्तमा अहिले हरितनगरमा परिणत भएको छ । एकातिर बाँझो जमिन खालि नराख्ने नीतिले काम ग-यो । अर्कातिर पदभार ग्रहण गर्दा मैले आफ्नो कार्यकालभरिमा ३ लाख विरुवा रोप्ने योजना बनाएको थिएँ । सोहीअनुसार कार्ययोजना बनाएर लागू गरियो । हाल १ घर १ विरुवा अभियान चलाइएको छ । खुल्ला स्थान, पार्क, राजमार्गमा विरुवा रोप्ने, प्रत्येक नगरबासीले आफ्नो जन्मदिनमा अनिवार्य एउटा विरुवा रोप्न नगरपालिकाले आह्वान ग-यो । हालसम्म डेढ लाख विरुवा रोपिएको छ । ‘क्लिन सिटी’को पहिचान बनाएको नगरभित्र फोहोर मैला व्यवस्थापन आयोजना, प्लाष्टिकमुक्त नगर बनाउने अभियान चलाएको छ । यी सबै कार्यमा नगरवासीलाई दवाबमा पारेर नभई उत्प्रेरित गरेर सहभागी बनाइएको छ ।

व्यवस्थित सडक बत्ती

पेपरलेस पालिका
डिजिटल युगमा प्रवेश गरिसकेको जमानामा नगरपालिकाका आर्थिक कारोबारलाई बैंङ्किङ प्रणालीमार्फत् गर्ने व्यवस्था मिलाइँदैछ । पालिकाभित्रै बैंकको शाखा राखेर चेकबाट मात्रै कारोकार गर्ने तथा विभिन्न एप्सहरूमार्फत् सेवालाई सहजीकरण गर्न पहल गरिँदैछ । चाँडै नै नगरपालिकालाई ‘पेपरलेस’ निकाय बनाइने अवधारणा लिइएको छ ।


अन्तिममा, मानवबारे सोच्दा
संकटको सामना गर्दै जनताको स्वास्थ्य सुरक्षा र विकासका कामबारे सोच्दै गर्दा परिस्थितिजन्य हिसाबले समग्र मानव समुदायबारे चिन्ता लाग्छ । अहिले यस्तो महामारी आउनुमा मानवीय व्यवहार नै प्रमुख कारण हो भन्ने मलाई लाग्छ । यसरी हेर्दा शास्त्रीय दर्शन र वैज्ञानिक चिन्तन मिल्दोजुल्दो छ । हाम्रा धर्मशास्त्रहरूमा पनि पृथ्वीमा जनसंख्या बढ्छ, एकदिन मान्छे–मान्छेबीच अशान्ति हुन्छ । मान्छेकै कारण प्रदुषण बढ्छ, रोगव्याधि बढ्छ भन्ने उल्लेख छ । जनसंख्या व्यवस्थापन गर्न यस्तो विपत्ति समय–समयमा आउने कुरा वैज्ञानिक सिद्धान्तले पनि बताउँछन् ।

‘जति सम्पत्ति जोडे पनि मरेपछि एउटा चिहान हो चाहिने’ भन्ने भनाइमा अहिले परिवर्तन भएको छ । अहिले मानिसले चिहानका लागि ६ फिट जमिन पनि पाएका छैनन् । घाटमा अन्तिम संस्कारका लागि चिता खाली पाएका छैनन् ।


अर्को कुरा, एक शताब्दीको अन्तरालमा यस्ता ठूला महामारीमा परेर करोडौं मानिसले ज्यान गुमाएका थिए । वास्तवमै मानवनिर्मित भौतिक विकासले सीमा नाघेको छ । औद्योगिक, प्रविधि र भौतिक विकासले मानव जीवनलाई जति सहज बनाएको छ, सोही मात्रामा प्रकृतिलाई क्षति पुगेको छ । पृथ्वीमात्र नभई यसको वरिपरिको वातावरणमै खलल पुगेको छ । प्रदुषणले जल, थल र वायुमण्डल भयावह अवस्थामा पुगेको छ । आफूबाहेकको सम्पूर्ण प्राणी जगतको जीवनचक्र मानव गतिविधिकै कारण बिथोलिन पुगेको छ । यस्तो महामारी, प्राकृतिक विपत्ति यिनै मानवीय कर्मका परिणति हुन् ।
मानिस दम्भले चूर हुँदै गएको छ । विकासको होडमा, शक्ति केन्द्रीकरणको लोभमा मानिसले प्रकृतिको सत्यलाई बोध गर्न बिर्सेको छ । पृथ्वी सिमेन्टले ढाकिँदै गएको छ । आणविक हतियार निर्माण र प्रक्षेपणको होडबाजीले धर्ती कम्पित छ । खासगरी विकसित राष्ट्र र तीसँग जोडिएका शक्तिकेन्द्रहरूको यस्तो प्रतिस्पर्धाका कारण प्रकृति र यससँग आश्रित मानवेत्तर प्राणी त अन्यायमा परे । आम मानवले पनि यस्तो महामारी र अनेक विपत्तिको झेल्न बाध्य छ ।
‘जति सम्पत्ति जोडे पनि मरेपछि एउटा चिहान हो चाहिने’ भन्ने भनाइमा अहिले परिवर्तन भएको छ । अहिले मानिसले चिहानका लागि ६ फिट जमिन पनि पाएका छैनन् । घाटमा अन्तिम संस्कारका लागि चिता खाली पाएका छैनन् । अहिले न बाँच्दाको जन्ती पाएका छन्, न मर्दाको मलामी । यो भन्दा क्रूर समय मानव सभ्यतामा अर्को के हुन सक्ला ? यी सबका पछि हाम्रै हात छ, प्रकृतिलाई चरम दोहनको परिणति अहिले हामी भोगिरहेका छौं । यो महामारीको विपत्ति भोगिरहँदा मानिसले आफूलाई सच्याउने, आफ्ना कर्म, दम्भमा नियन्त्रण जरुरी छ भन्ने बोध गर्नुपर्छ । भावी पुस्ताका लागि पनि पृथ्वी र प्रकृतिलाई जोगाइदिनु पर्नेमा सचेत हुन आवश्यक छ । होइन भने मानव जातिले यस्तो महाविपत्ति पटकपटक व्यहोर्न तयार हुनुपर्छ ।
܀܀܀