नेपालमै थियो पैसा छाप्ने पानढिकी

नेपालमै थियो पैसा छाप्ने पानढिकी

जेष्ठ १, २०७८ 0 By वासुदेव अधिकारी
शेयर गर्नुहोस्

भैरव रिसाल । अत्यन्त सुसूचित र सरल व्यक्तित्व । उहाँबारे लेख्न कठिन छ । कारण, उहाँ निकै मिठो गरी आफ्नो कुरा राख्न सक्नु हुन्छ । कथनमा स्वादिलोपन उहाँको विशिष्टता हो ।

उहाँको सक्रियता, तरोताजा स्मृति तथा बहुआयामिकबोध अनुपम छ ।

पटक–पटक भेट भइरहे पनि म उहाँको घरमा चिया खाने गरी गएको थिइनँ । यसपालि भने गइरहेँ ।

उहाँ भक्तपुरे । युद्धप्रसाद मिश्रसम्बन्धी कार्यक्रममा तीसौँ वर्षदेखि भेट भइरहेकै हो । पोहोर त उहाँले ‘मिश्र स्मृति पुरस्कार’ पनि पाउनु भयो ।

दाइ कति सक्रिय ! कति हार्दिक र खुल्ला ! कतिविधि सूचना उहाँमा ! एकबेलाका जो पनि चिन्ने, जे पनि थाहा पाउने । सम्भवतः पत्रकारिता पेशा र त्यसमा लिएको चासोले उहाँसित सूचनाको धेरै पोको–पन्तुरो सँगालिन गयो । आफूलाई समय नदिनेसित समाजलाई हेर्ने र बुझ्ने समय र अवसर हुन्छ । उहाँ त्यही अवसरमा डुबुल्की मार्ने सज्जन पर्नु भयो ।

अहिले भैरव दाइलाई हिजो चासोपूर्वक सँगालेको पुराना पोको–पन्तुरो फुकाउँदा–फुकाउँदै फुर्सद छैन । ‘कुरो कन्थो’, ‘उहिलेको कुरा’, ‘उहिले बाजेको पालामा’जस्ता स्तम्भ त्यसैको उपज हो । गुदी–गुदी कुरा बाहिर आइरहेको छ । बाहिर सादा देखिएपनि भित्र समाज परिवर्तनकारी चेतनाको ‘हिग्स पार्टिकल’ भएकै कारण उहाँमा नित्य क्रियाशील भइरहने जाँगर पैदा भएजस्तो लाग्छ ।

अचेल म पनि यदाकदा पुराना कुरासित लहसिन रुचाउँछु । त्यही सुन्ने लालसामा एकाध पटक भैरव दाइको घर जाँदा सातसाल आसपासको अर्थ वाणिज्य अवस्थाबारेमा जिज्ञासा राखेँ । त्यो जिज्ञासा प्रयोजनपरक भन्दापनि आफ्नै जानकारीको लागि थियो ।

भैरव रिसालसँग लेखक

कुरा सुरु गर्दा उहाँले मन खोल्नुभयो, ‘मैले त आनन्दभक्त राजभण्डारीजस्तो खाइलाग्दो व्यक्ति नेपाल बैंकको हाकिमको रूपमा देखेको, तपाईं त्यसको अध्यक्ष बनेको सुन्दा त पत्यारै लागेको थिएन । आनन्दभक्तजी रवाफिला र फरासिला मानिस थिए । हामीलाई आवश्यक परेको सूचना तथा जानकारी नहिचकिचाइ दिन्थे । बैंक पनि राम्ररी चलाएका थिए । उनलाई धेरैले प्रशंसा गर्थे ।’

उहाँको कुराबाट पनि एउटा कुरा त छ्याङ्गै भयो– जिउडालको कारण पनि मलाई धेरैले पत्याउँदा रहेनछन् ।

पछिल्लो भेटमा उहाँले मलाई सोध्नुभयो, ‘किन तपाइँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको ?’ यति पाको उमेरमा पनि सूचना खेलाइरहने उहाँको बानी मलाई मात्र होइन, धेरैलाई मन पर्छ । सूचनाको आधारमा बुद्धि घोट्ने उहाँको काइदा गज्जबकै छ ।

‘राणाकालीन समयमा पैसाको चलनचल्तीबारे दाइलाई केही सम्झना छ ?’
मैले उहाँसँग जिज्ञासा राखेँ ।

उहाँ सम्झनाको पन्तुरो फुकाउन थाल्नुभयो, ‘हामी त किसानी परिवार । त्यति धेरै पैसाको चलनै थिएन । अलि–अलि सिक्का चल्ने हो । बजारतिर कहिलेकाहीँ खोटो मोहर चलेकोबारे चाहिँ कुरा सुन्थेँ । सायद व्यापारीले आफैँ छाप्थे होला त्यो ।’

एकपटक ललितपुरको लुभुमा खोटो मोहर चलाएबापत कारबाही भयो भन्ने पनि उहाँले सुन्नुभएको रहेछ । उहाँले अझ रोमाञ्चक कुरा सुनाउनुभयो, ‘त्यतिबेला हुनेखानेले त ढुसी लाग्ला भनेर मान्द्रामा मोहर सुकाउँथे रे । राणाकालमा भोटको पनि मुद्रा चल्थ्यो रे । भोटमा नेपालले मुद्रा पठाउँथ्यो । नेपालले भोटमा खोटो मुद्रा पठाएबापत युद्ध नै चल्यो ।’

‘नेपालमा मुद्रा छाप्ने पानढिकी रहेछ नि है दाइ’, मैले उहाँको सम्झना अझ खोतल्न चाहेँ ।

‘हो, त्यो पहिले सिंहरदरवारमा थियो रे । पछि त्यस ठाउँमा चन्द्र शमशेरले दरवार बनाउने क्रममा सारेर नक्खु लगेको मैले सुनेको हुँ’, उहाँले सम्झनुभयो ।

नक्खुमा सिक्का छाप्ने पानढिकी रहेको कुरा सत्यमोहन जोशीले पनि गर्नुहुन्थ्यो ।

मुद्राको कुरा तन्किदै जाँदा उहाँले भन्नुभयो, ‘म बाहुनको छोरा । बा बिहे–ब्रतबन्धको लगन लेख्नुहुन्थ्यो । त्यसबापत उहाँले ५० पैसा पाउनु हुन्थ्यो । म आठ कक्षामा पढ्थेँ । त्यतिबेला आठ कक्षालाई प्रथमा भनिन्थ्यो । त्यसपछि पढ्ने अवस्था थिएन ।’
प्रथमा सकिएपछि उहाँले मान्छे गरुण पुराण भन्न थाल्नुभएछ, जो मान्छे मरेको घरमा भनिन्छ ।

‘गरुड पुराण भन्दा ३ रुपियाँ पाइन्थ्यो’, उहाँ स्मृति अनुवाद गर्न थाल्नुभयो, ‘मैले केही ठाउँमा गरुड पुराण भने पछि बा लोभिनु भयो । उहाँलाई पढेकाले अलि बढी कमाउने रहेछन् भन्ने लागेछ । । त्यही लोभमा मलाई थप पढाउनु भयो ।’
उहाँ मुस्काउँदै भन्नुहुन्छ, ‘खासमा मैले पैसाको लोभमा पढ्न पाएको हुँ ।’

अर्थ–वाणिज्य क्षेत्रमा उहाँको आकर्षण माल्थसको जनसंख्या सिद्धान्त पढेर प्रभावित भएपछि सुरु भएको रहेछ ।

‘पछि मैले अर्थशास्त्र पनि पढेँ’, उहाँले सम्झनुभयो, ‘मैले माल्थसको किताबहिन्दीमा पढेको थिएँ । अर्थशास्त्रको किताब सबैजसो हिन्दीमै हुन्थे । आफूले अर्थशास्त्र पढेपनि त्यतिबेलाको पत्रकारितामा खासै उपयोग गरिएन ।’

मोहन शमशेरका भण्डारे हरिबहादुर सुब्बा मसला भण्डारका हाकिम थिए । राणाको कृपा भएको कारण उनको घरमा मरमसलाका मात्र होइन, सिक्का मोहर बोकेका ट्रक पनि आउँथ्यो ।

‘वाणिज्यको कुरा नि ?’, मैले जिज्ञासा मिसाएँ ।

‘त्यतिबेला खासै पसल थिएन । आर्थिक चहलपहल हुने कुरा पनि भएन । किताब पसल दुईवटा मात्र थियो । बैंक थिएन । मैले सुनेको त राणाको पालामा बैंक, युनिभर्सिटी र मुद्रा भएन भने मुलुक मुलुकजस्तो हुँदैन भनेर अङ्ग्रेजले भनेपछि उनीहरूको घैँटामा घाम लागी बल्ल नेपाल बैंक स्थापना भएको हो’, उहाँको जवाफ थियो ।

‘तपाइँहरू रिनपन कसरी गर्नुहुन्थ्यो ?’

मेरो चासोलाई उहाँले खुलेर मेटाउन थाल्नुभयो, ‘पहिला त बजारको साहुसित रिन लिने हो । सयमा ५ प्रतिशत घ्यू खाने कटाएर बाँकी पैसा दिन्थ्यो । हामीेले खेत किन्न दश वर्षका लागि दुई सय रुपियाँ रिन लिएका थियौं । त्यसको ब्याजबापत वर्षको पाँच मुरी धान बुझाउँथ्यौं । रिनले फाइदै पनि गर्दो रहेछ, तिर्न पर्छ भनेपछि अलि–अलि भएपनि अनिवार्य बचत गरिन्छ ।’

त्यसबेला आलुमा दोहोरो कर लाग्दोरहेछ । निकै रोचक लाग्यो ।

‘त्यतिबेला तराई तथा भारतबाट आउने मार्ग भीमफेदी थियो । भीमफेदीमा ठुला गोदाम थिए । त्यहाँबाट उपत्यकामा आलु ल्याउँदा दोहोरो कर लाग्थ्यो’, उहाँले सुनाउनुभयो, ‘त्यतिबेला विद्यार्थीहरूले यस विषयमा कुरा उठाए । कम्युनिष्ट पार्टीले पनि यसलाई गम्भीरतापूर्वक लियो र आन्दोलन उठायो ।’

त्यही आन्दोलनमा सहभागी भएको नाता जोडिदैँ उहाँ पनि कम्युनिष्ट पार्टीको सदस्य हुनुभयो ।

उहाँको कम्युनिष्ट बन्ने यात्राको सम्झना स्पष्ट खुल्दै गयो, ‘मैले विद्यार्थी फेडरेसनमा काम गर्दा आनन्ददेव भट्टसँग एउटै थालमा पनि खाएँ । हामीले धेरै पटक उनलाई राखिदिएको भात बाँडेर खाएका छौँ ।’

सुरुको दिनको भैरवदाइको कुराकानीमा साथी सुनील पौड्याल पनि हुनुहुन्थ्यो । उहाँहरूको कुरा सुन्दा मोहन शमशेरका भण्डारे हरिबहादुर सुब्बा मसला भण्डारका हाकिम थिए । राणाको कृपा भएको कारण उनको घरमा मरमसलाका मात्र होइन, सिक्का मोहर बोकेका ट्रक पनि आउँथ्यो । उनी चाहिएजति राख्न सक्थे । बेला नै त्यस्तो । हुकुमी शासन न प-यो ।

नेपाली रुपियाँको चलनचल्तीको बारेमा उहाँको एउटा अनुभव रोचक छ । कामको सिलसिलामा उहाँ डोटी पुग्नुभयो । डोटीमा नेपाली रुपियाँ चल्दो रहेनछ । किनमेल गर्न आपत । त्यतिबेलाको पाँच वा दशको नोट अलि रातो भएकाले भारुजस्तो मानी झुक्किएर मात्र लिएको उहाँले बताउनुभयो ।

मैले उहाँलाई नेपाल बैंकको संस्थापनमा सघाउने र लामो समय विशेष योगदान गर्ने गुञ्जमानको बारेमा सोधेँ ।
‘उनी खानदानी मान्छे । हामीलाई सूचना पनि दिँदैनथे, गन्दा पनि गन्दैनथेँ । एकपटक राजाको डोटी सवारमा भेट भएको थियो । उनी तामदानमा चढ्थे, हामी घोडामा । सायद उनी सवारी मन्त्री थिए । उनी खुब रवाफिला र दरवारका पत्यारिला मानिस थिए । उनीसित त्यति कुराकानी भएन’, उहाँले सम्झनुभयो ।

विकासमा छोइनु भएका दाइ वातावरण पत्रकार पनि हुनुहुन्छ । उहाँको ‘हुम्ला उज्यालो’ अभियान नेपालको विरल विकास अभियान हो । जलविद्युतमा स्वदेशी निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्ने विचारको बिउ उहाँले रोप्नु भएको रहेछ । इलामलाई कृषि उत्पादनमा हौस्याउने भैरव दाइ आफ्नो सुझाव फलिभूत हुँदा खुसी हुनुहुन्छ ।

छोटा र खँदिला वाक्य । आवश्यक सूचना र मनकारी प्रस्तुति भैरव दाइका विशेषता हुन् । उहाँका धेरै कुरा बाहिर आइरहेका छन् । मुद्रा, वाणिज्य विषयमा उहाँका यस्तै धेरै अनुभव–सम्झना जान्न–सुन्न बाँकी नै छ ।