नाम्लोले किचिएको रहर

नाम्लोले किचिएको रहर

कार्तिक २०, २०७४ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

भारी बोकेर हिँड्दा होस् या फुर्सदका बेला साथीहरूसँग टहलिँदा, नरबहादुर थामीको आँखा ठोकिइरहन्छ टुँडिखेलस्थित सैनिक मञ्चमा । वास्तै नगरी हिडूँ भने पनि कुनै न कुनै बेला आँखा गइहाल्छ । मञ्चतिर पस्ने गेटमा अदबका साथ उभिइरहेका सैनिक देखेर उनको मनमा कता–कता इष्र्या लाग्छ ।
कहिलेकाहीँ मञ्चमा सैनिक कवाज चलिरहेको हुन्छ । त्यसबेला उनी एकैछिन अडिएर हेर्छन् र मन अमिलो पार्छन् । किशोरकालमा उनले पनि सपना देखेका थिए, सैनिक बन्ने । तर, त्यो सपनामै सीमित रह्यो, वास्तविकता नाम्लोमा झुण्डियो । दोलखा सुन्द्रावती ४ का थामी २५ वर्षभन्दा अघिदेखि राजधानीमा भारी बोकिरहेका छन् । उनको जिन्दगी पनि त त्यही भारीले बोकिरहेको छ ।

महाबौद्धस्थित गणेश मन्दिर परिसर, उनलाई हमेसा भेटिने ठाउँ । नजिकैको डेराबाट बिहान जुरुक्क उठेर उनी त्यहाँ आइपुग्छन् र साँझ अबेला मात्रै फर्किन्छन् । विरलै बिहानको खाना डेरामा खान्छन् । ‘बिहान पसल खोल्ने बेलामा भारी भ्याइनभ्याइ हुन्छ । त्यसैले होटेलतिरै खान्छु,’ उनी भन्छन् । सस्तैमा खाना खुवाउने महाबौद्धका होटेल उनी र उनका साथीहरूको रोजाइमा पर्छ । दुई जना साथीसँग मिलेर डेरा लिएका उनी साँझ भने डेरा पुगेर आफैंले बनाएको खाना खान्छन् ।
भारी बोकेर जीवन गुजारा गर्नु उनको जीवनको संयोग हो । खेतीपाती र बनिबुतो नै बुबाआमाको गुजाराको बाटो थियो । आफ्नो जमिन कमै हुनाले उब्जाउले खान पुग्दैनथ्यो, बनिबुतो र ज्यालामा मेला जानु उनीहरूको दैनिकी थियो । त्यहाँभन्दा बाहिरफेर निस्केको थाहा छैन । उनी भने नौ वर्षकै उमेरमा घरबाट भागे ।
उनी सम्झिन्छन्, ‘त्यतिबेला आमाको ४० रुपैयाँसमेत चोरेर हिँडेको थिएँ ।’ पहिले गाउँकै दाइको पछि लागेर सदरमुकाम चरिकोट आए उनी । त्यहाँ अलमलिँदा अलमलिँदै कृषि सामग्री संस्थान, बर्दियाका पियनसँग भेट भयो । सोधखोजपछि उनैले लिएर गए बर्दिया, काम लगाइदिन्छु भनेर । आफ्नै हाकिमको घरमा काम लगाइदिए पनि । झण्डै पाँच वर्ष उनी घर फर्किन पाएनन् ।

∞∞∞

पाँच वर्षपछि फर्किंदा उनको घरमा खुसीको रुवावासी भयो । सबैले भने, ‘मर्‌यो भनेको मान्छे फर्केर आयो ।’ भन्न त हाकिमले फर्केर आउन भनेका थिए उनलाई । पियनको जागीर लगाइदिन्छु पनि भनेका थिए । तर, परिवारले जाने अनुमति दिएन । उनको जिन्दगीको सबैभन्दा लामो यात्रा सम्झनामा मात्रै रह्यो ।
गाउँ आएपछि उनी केही समय गाउँमै भुले । पछि गाउँकै साथीको पछि लागेर काठमाडौं आए । कहिले काठ गोदाममा काम गरे, कहिले बरफ बनाएर बेचे । उनी सम्झिन्छन्, ‘झण्डै एक वर्ष पाटनको अशोक सिनेमा हलमा बरफ बनाएर बेच्ने काम गरेँ ।’ सिनेमा हलमा काम गरे पनि उनले कहिल्यै पूरा सिनेमा भने हेर्न पाएनन् । रहरलाग्दो समयमा हेर्न नपाएको सिनेमा पछि त झन् के जुथ्र्यो ?
उनको आफ्नो जीवन भने सिनेमाको कथाझैं अघि बढिरह्यो । काठ गोदाम, सिनेमा हल, होटल आदिमा भौंतारिँदै उनको किशोरकाल घर्कियो । कमाइ उस्तो थिएन, ज्यान पाल्ने मेसो मात्रै भयो । गधापच्चिसे उमेरमा प्रवेश गरेपछि बाबु र दाजुको योजनामा उनको विवाह भयो । विवाहबन्धनमा बाँधिएपछि उनी साँच्चै बन्धनमा परे, फुक्काफाल भएर हिँड्न पाएनन् । कमाउनुपर्ने दबाब पर्‌यो ।
आफ्नो जमिनको कमाइले खानै पुग्दैनथ्यो । कमाइको बाटो खोज्दै जाँदा उनी काठमाडौंमा भारी बोक्न आउने साथीको संगतमा परे । भन्छन् नि, गाँस छोड्नु, साथ नछोड्नु । उनले अहिलेसम्म न ती साथीको संगत छोडे, न भारीको नै । अहिले उनकी जेठी छोरी ‘ब्याचलर’ पढ्ने भइसकिन् । दुई छोरा एसएलसी परीक्षामा सामेल भए । एउटाले पास गरेर पनि मोबाइल बनाउने तालिम लिएर काम थालिसके ।
एउटाचाहिँ फेल भएर अर्को वर्ष पास गर्ने जोशले पढ्दैछन् । आफूले साँवा अक्षर मात्रै चिन्न पाएका उनी छोराछोरीलाई त्यति पढाउनु सक्नुलाई पनि ठूलो उपलब्धि ठान्छन् । भन्छन्, ‘आफूले पढ्न नपाए पनि छोरीछोराले त्यतिसम्म पढे । त्यसमा खुसी छु ।’पढाइको कुरा गर्दा उनी आफ्नो स्कुलकालीन समय सम्झन्छन् । नौ वर्षको उमेरमा कालोपाटी र खरी बोकेर आधा घण्टा टाढाको स्कूल पुगेका थिए ।
एक वर्षमा आफ्नो नाम आफैं लेख्न सक्ने भएका थिए । अर्को वर्ष त किताब खरर पढ्न थालिसकेका थिए । तर, तेस्रो वर्ष समयमा किताब पुगेन । घरमा पनि बाख्रा चराउन जाने मान्छेको अभाव खड्कियो । बुबाआमाको अह्रनखटन मानेर बाख्रा हेर्न र घरको काममा सहयोग गर्न थाले । पढाइ छुट्यो । पछि सहरमा काम गर्न आउँदा भने स्कुल छाडेकामा खुब पछुतो भयो ।
आफूजस्तै उमेरका केटाकेटी स्कुल पढ्न गएको देखेर उनको चित्त काटिन्थ्यो । ‘पढ्नुपर्छ है । अनि मात्रै जान्नेबुझ्ने भइन्छ’ भनिरहने घनश्याम सरलाई सम्झिए । तर, समय घर्किसकेको थियो । फर्केर जान पनि लाज लाग्यो । उनको जीवन भने लाज नमानी हिँडिरह्यो ।२०४६ सालको जनआन्दोलन हुँदा उनी काठमाडौंमा भारी बोक्ने काम खोजिरहेकै थिए । त्यतिबेला उनले सुनेका हुन्, अब बहुदल आउँछ, जनताको शासन आउँछ । त्यसबेला बन्द, हड्ताल र कफ्र्यूको मारमा परेर केही दिन भारी बोक्न पाएनन् उनले । त्यत्ति मात्रै रह्यो सम्झनामा, त्यसपछिका दिनमा सम्झनलायक परिवर्तन उनले महशुस गर्न पाएनन् । त्यसपछि माओवादी जनयुद्ध भयो, ०६३ सालमा अर्को जनआन्दोलन भयो । भन्नेहरूले भनेको सुने उनले, अब त वागमतीमा धेरै पानी बगिसक्यो ।
समय धेरै परिवर्तन भइसक्यो । उनको पनि जीवन त बग्न त बगिरहेकै थियो, बान्की भने केही फेरिएन । यसो गम्छन् उनी, जहिले पनि आफ्नो कमाइको तुलनामा धेरै नै बढिरहेको महँगी उस्तै छ । भारी उस्तै छ, उमेरसँगै झन्–झन् गह्रुँगो पो हुन थालेको छ । यति हो, पहिले–पहिले कहाँ भारी बोक्न पाइएला भनेर घुमन्ते हुनुपथ्र्यो ।

∞∞∞

अहिले महाबौद्धमै बसेर पनि कामको कमी हुँदैन । साहुहरू चिनाजाना छन्, वर्षौंदेखि आफूले देखाएको इमान्दारिताका कारण विश्वास गर्छन् । सय–पचासको गर्जो टार्न मुश्किल छैन । त्यसो त उनलाई जीवनदेखि खासै गुनासो पनि छैन । उस्तो गरिब हुनुको अनुभूति पनि छैन । ‘जबसम्म हातगोडा सद्दे हुन्छन्, त्यसबेलासम्म त के गरिब भन्नु ।
हामीभन्दा कति गरिब देख्छु यहाँ,’ उनी आफ्नो मनजस्तै फराकिलो विचार सजिलै अभिव्यक्त गर्छन् । तर पनि, कहिलेकाहीँ सोच आउँछ मनमा, ‘हामी यसरी भारी बोकेर पैसा कमाउँछौं, खर्च गर्दापिच्छे राज्यलाई कर तिर्छौं । हिजोको आजै भाउ कहाँको कहाँ पुगिसकेको हुन्छ । त्यस्तो बेला त झन् बढी कर पुग्दो हो राज्यलाई । तर, त्यो पैसा के गर्छ होला राज्यले रु कहिलेकाहीँ साथी–साथीसँग पनि यस्तै गफ हुन्छ उनको । उनको भाषामा ‘ठुटे राजनीतिको गफ’ । उनी भन्छन्, ‘त्यत्रो कर उठाएको राज्यको त हामीले एक कप चिया पनि खाएका छैनौं । त्यो पैसा कहाँ जान्छ होला रु हाम्रै लागि हो भने त जिन्दगी केही सुबिस्ताको भइसक्नुपर्ने  !’उनको मनमा उठिरहने यस्ता जिज्ञासाको उत्तर दिने कुनै ‘हेल्लो सरकार’ छैन । तर पनि, उनी सरकार बनाउन भोट हाल्छन् हरेक चुनावमा ।
त्यसबेला गाउँ पुग्ने नेताहरूले भनेको भरमा कहिले कुन चिन्ह, कहिले कुन चिन्हमा भोट हालेका छन् उनले । तर, कुनै पार्टी आफ्नोजस्तो लाग्दैन उनलाई । न त कुनै पार्टीका मान्छेले उनलाई आन्दोलनमा लगेका छन्, न कुनै भाषणमा । उही बेला–बखत टुँडिखेलमा हुने भाषण आफ्नै चाखले सुनेका छन् केही पटक ।
‘खै, दिनरात भारी बोक्नुपर्छ । मैलाधैला देख्दा हुन् । अलिक चट्ट परेर बस्ने फुर्सदिलो भएको भए कोही लिन आउँथे कि,’ उनको अभिव्यक्ति अबोध सुनिन्छ । त्यही निबोधपना नै हो उनको असली पहिचान । उनको बुझाइमा थामी जाति नै त्यस्तै अबोधहरूको समुदाय हो ।उनको जिन्दगीमा कुनै चमत्कार छैन, उतिधेरै उतारचढाउ छैन । भारीले थिचेको बेला जस्तो गति हुन्छ आफ्नो, त्यस्तै धीमा गति छ जिन्दगीको ।
भारीले उनलाई जिन्दगी मात्रै दिएको छ, गति दिएको छैन । हुन त, दैनिक सय–पचासबाट सुरु भएको उनको कमाइ–यात्रा अहिले चार–पाँच सयसम्म पुगेको छ । तर पनि, त्यसले केही फरक पारेको छैन जीवनलाई । दुःखजिलो गरेर छोराछोरी पढाउन र घर व्यवहार चलाउन सधैं नै हम्मे परिरह्यो । रहरको लगाउन र खान कहिल्यै पुगेन । कमसेकम छोराछोरीले त्यस्तो भोग्नु नपरोस्, उनी हरेक समय कामना बोकी हिंड्छन् ।

∞∞∞

उनी बेला–बेला व्यवहार मिलाउन घर पुगिरहेकै हुन्छन् । घर त के भन्नु, भूकम्पले भत्काएको खण्डहरमा उठाएको टहरो । घर बनाउनु छ । सरकारले दिएको राहतले छोप पनि लाग्दैन, त्यसका लागि पनि थप कमाउनुपर्ने जिम्मेवारी उनको काँधमा छ । त्यसैले सकेसम्म बढी भारी बोक्ने ध्याउन्नमा हुन्छन् उनी । मान्छेको ज्यान हो, कहिले अल्छी पनि लाग्छ, कहिले त बिरामी पनि पर्छ ।
त्यसबेला पनि सकीनसकी भारी नै बोकिरहनु उनको बाध्यता हो । ‘खै हजुर, सुख र खुशीको कुरा त सम्झिँदा पनि सम्झनामा आउँदैन,’ उनको अनुहार मलिनता फैलिन्छ ।उनी सानो चाइनिज मोबाइल बोक्छन्, त्यसैबाट बेला–बेला घरको हालचाल बुझ्छन् । त्यसैको ‘मेमोरी’मा छोराछोरीले हालिदिएको लोकगीत सुनेर मन बहलाउँछन् कहिलेकाहीँ ।
त्यसो त, मोबाइलमा उनको जीवनसाथी, छोराछोरी र ९० वर्ष पुग्नै लागेकी आमाको तस्बिर छन् । ती पनि छोराछोरीले नै हालिदिएका । घरपरिवारको सम्झना आउँदा तिनै तस्बिर हेरेर चित्त बुझाउँछन् । तिनैमा आफ्नो तस्बिर पनि छ । ढाकाटोपी ढलक्क ढल्काएको । खुप सुहाएको छ, उनको रहर पनि ढाकाटोपी लगाउनु ।
तर, उनको रहरलाई हमेशा थिच्ने उनकै साथी भारी हो । भन्छन्, ‘लगाउन त मन लाग्छ नि । के गर्नु भारी बोक्दा किच्चिइहाल्छ । त्यसैले डेरामै राख्छु । घर जाने बेला भने लगाएर जान्छु । चाडबाडमा लगाउँछु ।’उनको जीवनमा अब सानो सपना मात्रै बाँकी छ, छोराछोरीले राम्रो व्यापार–व्यवसायमा हात हालेर भविष्य सुनिश्चित गरेको हेर्ने ।
त्यसका लागि अब कति भारी बोक्नुपर्ने हो, उनी तयार छन् । ‘ज्यानले सकुञ्जेल त गर्नुपर्‌यो नि । त्यति भइदिएचाहिँ भारी बोक्न छाडेर गाउँमै खेती गरेर बस्थें,’ उनले इच्छा व्यक्त गरे । जीवनको हराभरा समयभर उनको थाप्लोमा नाम्लो टुटेन । अझै कहिलेसम्म टुट्दैन, निश्चित छैन । मनमा रहर साँचिराखेका छन्, जीवनको केही समय त थाप्लोले नाम्लो झेल्न नपरोस्, मनलाग्दी लगाउन पाइयोस् ढाकाटोपी ।
܀܀܀