जयन्त महापात्रका कविताहरूसँग

जयन्त महापात्रका कविताहरूसँग

जेष्ठ १९, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • भीष्म उप्रेती

जेठ १८, ०७८ अर्थात् जून १, २०२१ तारिखमा मेरो ह्वाट्सएपमा उडिया कवि स्वप्ना बेहेराजीको एउटा खबर आयो– ‘सम्मानित कवि पद्मश्री जयन्त महापात्र सर कट्टक, उडिसाको एससिबी मेडिकल कलेजको आइसियूमा भर्ना हुनुभएको छ । उहाँ कोरोना संक्रमित हुनुहुन्छ । हामीले उहाँको स्वास्थ्यलाभको प्रार्थना गर्नुपर्छ । उहाँ ९२ वर्षको हुनुहुन्छ ।’

स्वप्नजीको यो समाचारसँगै ह्वाट्सएपभरि सुस्वास्थ्यको कामना गर्दै अनेकौँ सन्देशहरू आउन थाले । कतिजनाले बरिष्ठ कवि जयन्त महापात्रसँग बिताएको समयलाई सम्झेका थिए भने कतिले जयन्तजीले उहाँहरूको किताबमा लेख्नुभएको भूमिकालाई सम्झना गरेका थिए ।

मलाई भने यो समाचारले बिजुलीको करेन्ट लागेजस्तै झड्का दियो । कवि जयन्त महापात्र अहिले ९२ वर्षका रहेछन् । मैले सोचेको त उनी ७०–७२ वर्षको हाराहारीमा होलान् भन्ने थियो । मेरो अनुमान र उनको उमेरबीचको ठूलो भिन्नताले मलाई आश्चर्यमा पा-यो । कोभिडको महामारीले विश्वमा एकल नृत्य देखाइरहेको छ । कतिसम्म त्रास बढेको छ भने यस्तै अवस्था केही समय रहेमा उसको एकल नृत्य हेरिदिने मानिस पनि सायदै रहलान् । अब ९२ वर्षको उमेरमा जयन्त महापात्र कोभिडसँग लड्दैछन् । म कामना गर्दछु– उनी यो लडाइँ जितून् र केही नयाँ कविता लेखून् ।

म जयन्त महापात्रको अक्षरबाटै प्रभावित भएँ । मैले एकै सासमा चिठी पढेँ । उनले पत्रमा लेखेका छन्– ‘पहिलो पढाइमा मलाई तिम्रा कविताहरू मन परे । म तिम्रा कविताहरूको प्रशंसा गर्दछु ।’

मेरो मानसमा २० वर्ष अघिको एउटा सानो घटना आलो भएर ब्यूँझियो । सन् २००१ मा मेरो कवितासङ्ग्रह समुद्र र अन्य कविताहरू अङ्ग्रेजी र नेपाली दुई भाषामा प्रकाशित भयो । यस सङ्ग्रहका केही कविता कवि युयुत्सु आरडी शर्माले अनुवाद गरेका छन् । युयुत्सुजीकै सल्लाहमा र उनैले खोजेर ल्याइदिएको जयन्त महापात्रको कट्टक, उडिसाको घरको ठेगानामा मैले मेरो किताब पोष्ट गरेँ । त्यसको केही महिनापछि मैले जयन्त महापात्रको एउटा पत्र प्राप्त गरेँ जुन पत्रको मैले अपेक्षा गरेकै थिइनँ । मैले पत्र खोलेर हेरेँ । अप्रिल ७, २००२ को मितिमा लेखिएको त्यो पत्र एकदमै सफा अक्षरमा लेखिएको थियो । म जयन्त महापात्रको अक्षरबाटै प्रभावित भएँ । मैले एकै सासमा चिठी पढेँ । उनले पत्रमा लेखेका छन्– ‘पहिलो पढाइमा मलाई तिम्रा कविताहरू मन परे । म तिम्रा कविताहरूको प्रशंसा गर्दछु ।’

चर्चा र प्रसिद्धिको शिखरमा रहेका उडिया कवि जयन्त महापात्रको नाम मैले सायदै सुनेको थिएँ होला त्यसअघि । मैले अलिअलि सुनेको र केही कविता पढेको उडिया कवि त सिताकान्त महापात्र थिए । तर जयन्तको कवि युयुत्सु शर्मासँग मित्रता रहेछ । जयन्त महापात्र अङ्ग्रेजी साहित्यिक पत्रिका चन्द्रभागाका सम्पादक तथा प्रकाशक थिए । हाम्रो अपेक्षा मेरो उक्त किताबको समीक्षा चन्द्रभागामा छापियोस् भन्ने थियो । तर जयन्त महापात्रले विनम्रतापूर्वक ‘चन्द्रभागा सम्पूर्णतः भारतीय लेखनमा समर्पित पत्रिका भएकोले त्यसमा तिम्रो किताबको समीक्षा प्रकाशित गर्न सकिँदैन । केही महिना अघि कवि तथा लेखक बानिरा गिरिको पुस्तकसमेत प्राप्त भएको थियो । तर त्यसको बारेमा पनि चन्द्रभागामा केही लेख्न सकिएन ।’ भनेर जानकारी गराए । तर उनले साथमा के पनि लेखे भने ‘म भारतकै अरू कुनै पत्रिकामा समीक्षाको लागि पठाउने प्रयास गर्नेछु ।’ मजस्तो एउटा भर्खर आफ्नो ‘स्पेस’को लागि संघर्ष गर्दै गरेको नेपाली युवा कविको लागि एउटा बरिष्ठ कविको यति शब्द पनि आशीर्वाद भइदियो । म दङ्ग भएँ । मैले त्यस पत्रलाई जतन गरेर राखेँ ।

उनी कवितामा सामाजिक र मानवीय समस्या, प्रकृति र मानिसबीचको सम्बन्ध, प्रेम, यौन, आदिका बारेमा अत्यन्त सूक्ष्म किसिमले चित्रण एवम् व्याख्या गर्दछन् । उनी अनुभूतिहरूलाई ज्यादै मिहीन एवम् लालित्यपूर्ण किसिमले कवितामा व्यक्त गर्दछन् ।

यसपछि के भयो, समीक्षा कतै आयो कि आएन मलाई थाहा भएन । तर, कवि जयन्त पात्र र उनका कविताप्रति मेरो अभिरुचि जाग्यो । यो अभिरुचि जाग्नुमा सायद उनको विनम्रता र ज्यादै सुन्दर हस्ताक्षरले समेत काम गरेको हुनुपर्छ । नेपालमा भर्खरै मात्र इन्टरनेटको प्रचलन सुरु भएको थियो । त्यो सर्वसुलभ थिएन । साइबर क्याफेहरूमा डायल अप नेटवर्किङबाट इन्टरनेट चलाउन र इमेल प्रयोजनका लागि युवाहरूको भीड लाग्न थालेको थियो । एभरेष्ट नेट भन्ने कम्पनीको इन्टरनेट मैले पनि घरमा राखेँ । त्यसमा ज्यादै ढिलो कनेक्सन हुने, लोडसेडिङ भइरहँदा इन्टरनेट चलाउन नसकिने आदि समस्याका बावजुद मैले इन्टरनेटमा जयन्त महापात्रको बारेमा केही बढी जानकारी लिएँ र उनका केही कविताहरू डाउनलोड गरेँ । त्यसको केही वर्ष पछिदेखि त इन्टरनेट नेपालमा तुलनात्मक रूपले सर्वसुलभ भयो । अनि त जयन्त महापात्र सजिलै भेटिने कवि बने मेरा लागि । म पोयमहन्टर डट कममा गएँ, उसवा लिटरेरी रिभ्यूको वेभसाइटमा गएँ, इङ–लिटरेचर डट कमको साइटमा गएँ र अरू पनि इन्टरनेट साइटहरूभित्र प्रवेश गरेँ । मैले उनका कविताहरू भेटेसम्म स्वाद लिएर पढ्न थालेँ । अ समर पोएम, हंगर (एक), हंगर (दुई), मिथ, टेस्ट फर टुमरो, डाउन एट पुरी लगायत अनेकौँ कविताहरू अहिले पनि पढिरहेको छु बेलाबेलामा ।

जयन्त महापात्र ससाना विषयवस्तुहरूलाई लिएर विराट अर्थको सिर्जना गर्ने कविता लेख्न सक्ने सामथ्र्य भएका कवि हुन् । उनका कवितामा उडिसाको ‘ल्यान्डस्केप’ आउँछ, उडिसाका जनताको परम्परा र संस्कृति आउँछ, सामाजिक जीवन आउँछ । उनी कवितामा सामाजिक समस्या, मानवीय समस्या, प्रकृति र मानिसबीचको सम्बन्ध, प्रेम, यौन, आदिका बारेमा अत्यन्त सूक्ष्म किसिमले चित्रण एवम् व्याख्या गर्दछन् । उनी अनुभूतिहरूलाई ज्यादै मिहीन एवम् लालित्यपूर्ण किसिमले कवितामा व्यक्त गर्दछन् । मानौँ, उनी शब्दका जादूगर हुन्, मानौँ उनका सामुमा पुगेपछि शब्दहरू स्वयंले आत्मसमर्पण गर्दछन् र जयन्त तिनमा आपूmले चाहेको जसरी अर्थको प्रक्षेपण गर्दछन्, निर्जीव शब्दहरूमा प्राण भर्दछन् । शब्दहरूमाथि, भावनाहरूमाथि, अनुभूति र कहिलेकाहीँ आपूmभित्र जन्मने आक्रोशहरूमाथि पनि पूर्ण नियन्त्रण राखेर तिनबाट उत्कृष्ट कविता सिर्जना गर्न सक्नु जयन्तको विशेषता रहेको देख्छु ।

म अझै पनि जयन्त महापात्रलाई व्यक्तिगत स्तरमा चिन्दिनँ । आफ्ना प्रिय कवि/लेखकहरूलाई व्यक्तिगत रूपमा नभेटेको नै राम्रो हुन्छ भन्ने ज्ञान मैले आदर गरेका केही कवि/साहित्यकारलाई कतिपय सन्दर्भमा भेटिसकेपछि मभित्र बनेको ‘नयाँ इम्प्रेसन’ले दिएको छ ।

म आफूलाई पनि यस्तै कविता मन पर्छन् । मेरो आफ्नो कविता रचनाको प्रक्रिया पनि यस्तै नै हो । जुनसुकै विषयमा कविता लेखे पनि मानवीय संवेदनालाई समात्नुपर्छ र त्यसलाई मानिसको हृदयको भित्री तहसम्म पुगेर लहर र तरङ्ग उत्पन्न गराउन सक्ने सामथ्र्य राख्नुपर्छ भन्ने मेरो मान्यता छ । मभन्दा कति वर्ष अघिदेखि यसरी नै कविता लेखिरहेका जयन्तको कविता पढ्दा मभित्र एक किसिमको सम्मोहन उत्पन्न हुने कारण यही हो । जयन्त महापात्रले केही वर्ष पहिले नै फाउन्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचरले प्रदान गर्ने सार्क लिटरेरी अवार्ड पाएका छन् । यो अवार्ड सन् २०१९ मा आएर मैले पनि पाएँ । जयन्त महापात्रले पाएको यति महत्वपूर्ण अवार्ड मैले बङ्लादेशको प्रसिद्ध एवम् बरिष्ठ कवि मोहम्मद नुरुल हुदासँगै पाएँ । यो मेरा लागि धेरै गौरवको क्षण थियो । मैले दिल्लीमा पुरस्कार ग्रहण गर्दैगर्दा जयन्त महापात्रलाई मनमनै श्रद्धाले प्रणाम गरेँ ।

अङ्ग्रेजी भाषामा ४० वटाभन्दा बढी कवितासङ्ग्रह प्रकाशित गरिसकेका जयन्तका कथा, निबन्ध र संस्मरणहरू समेत प्रकाशित छन् । अन्य विधामा कलम चलाए पनि उनी मूलतः कवि हुन् । कविताप्रतिको उनको अप्रतीम प्रेम, अतुलनीय योगदान र निस्वार्थ समर्पणकै कारण सन् २०१७ मा जयन्त महापात्रलाई जयपुर लिटरेचर फेस्टिभलमा लाइफटाइम पोयट्री अवार्डले सम्मानित समेत गरिएको थियो ।

म अझै पनि जयन्त महापात्रलाई व्यक्तिगत स्तरमा चिन्दिनँ । आफ्ना प्रिय कवि/लेखकहरूलाई व्यक्तिगत रूपमा नभेटेको नै राम्रो हुन्छ भन्ने ज्ञान मैले आदर गरेका केही कवि/साहित्यकारलाई कतिपय सन्दर्भमा भेटिसकेपछि मभित्र बनेको ‘नयाँ इम्प्रेसन’ले दिएको छ । कति पटक भारतका विभिन्न ठाउँहरूमा भ्रमण गरिसकेको मैले त्यहीँ कट्टक उडिसामा रहेका मेरा श्रद्धेय र मलाई कविताको बाटोमा उज्यालो देखाउने कविमध्येका एक जयन्त महापात्रलाई आजसम्म नभेटेकोमा कुनै दुःख छैन । म उनलाई मैले चाहेको बेलामा उनका कविताहरूमा भेट्छु र उनको कविताको जादूगरिताले गहिरोसँग आनन्दित हुन्छु । म जब कविता लेख्न नसकेर ‘राइटर्स ब्लक’को अवस्थामा हुन्छु, मैले पढ्ने केही कविहरूमा निःसन्देह जयन्त महापात्र पनि एक हुन् ।
म यहाँ जयन्त महापात्रको एउटा कविताको स्मरण गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
܀܀܀
कविता पढ्नुहोस्
उनको हात