एकै तर धेरै वानीरा

एकै तर धेरै वानीरा

जेष्ठ १६, २०७८ 0 By लेखक
शेयर गर्नुहोस्
  • भुवन ढुङ्गाना

जिन्दगी मलाई मुक्ति दे
सधैँका हताराहरूबाट
मृत्यु मलाई मुक्ति दे
अनन्त रिक्तताहरूबाट
मेरो मन पर्ने कविता
मलाई मुक्ति दे
अर्थहीन अक्षरहरूबाट
ए ‘मुक्ति’ भन्ने एउटा शब्द
मलाई मुक्ति दे
मेरा सारा अक्षर, शब्द र अर्थका
इमानदारी र गहिराइहरूबाट
(‘जीवन थायमरू’ कविता संग्रहको मुक्ति शीर्षक कविता अंश)

वानीरा गिरि सशक्त भएर फेरि कलम चलाउनेछिन् भन्ने लागिरहन्थ्यो, तर दिनानुदिन उनको खस्कँदै गएको स्वास्थ्य समाचारले मन मस्तिष्क बिथोलिरहन्थ्यो । मैले सोचेविपरित भयो, अन्ततः उनको निधनको खबरले, माथिको कविताका पंक्तिहरूले मात्र पछ्याइरहे धेरै बेर, सम्भवतः त्यो दिनभरि ।


जनवरी ५, २००१ मा उनको अंग्रेजीमा अनुदित कविता कृति ‘फ्रेम द लेक, लभ’ विमोचन कार्यक्रममा द्वारिकाज होटेल आउन आग्रह गरेकी थिइन् । अहिले त्यही पुस्तक पल्टाएर हेर्दैछु । सशरीर वानीरालाई छुन नपाएता पनि किताबको पहिलो पृष्ठमा ‘लभ टु भुवन’ भनेर लेखिएको वानीराका मसिना अक्षरहरू स्पर्श गरेर उनी कविता वाचनका लागि अगाडि उभिएको सम्झिरहेछु ।


किताबको अर्को पृष्ठमा उनका छुटेका सहयात्री, श्रीमान शंकर गिरिलाई (फर माई शंकर) भनेर पुस्तक समर्पण गरेकी रहिछन् । यस घडीमा यही लेखमार्फत शंकरजीलाई पनि जीवनसाथीको निधनमा परेको शोक र दुःखलाई आत्मसात् गर्दै गहिरो समवेदना प्रकट गर्दछु । निर्भीक, निडर र स्वच्छन्दतावादी कविता धाराकी वानीराका नेपाली र अंग्रेजी दुवै भाषामा प्रभावशाली ढंगले कविता वाचन गर्न सक्ने क्षमता थियो । त्यस दिन पुस्तक विमोचन कार्यक्रममा पनि अंग्रेजीमा उनले वाचन गरेका कविता सुनेर उपस्थित केही विदेशीहरू पनि आश्चर्यचकित भएका थिए । उनको लेखनी पनि सशक्त र जीवन पनि सक्रिय थियो भन्ने कुरा त्यही पुस्तकको मुखपृष्ठमा गरिएको वर्णनबाट थाहा हुन्छ । देश विदेशको भ्रमण र अनुभवका साथै हाम्रो संस्कृति, समाज र स्वास्नीमान्छेका विविध पक्ष, महिला र पुरुषबीचको अन्तरंग सम्बन्ध, महिला सशक्तिकरण, शोषणबारे लेख्ने कवि हुन् वानीरा । उनी एकै पटक धेरै कुरामा संवेदनशील हुन सक्ने स्रष्टा हुन् ।


मैले उनका सबै पुस्तकहरू पढेकी छु, भेटमा चर्चा पनि गरेकी छु ।
कविताः
–एउटा एउटा जिउँदो जंगबहादुर (२०३१ साल)
–जीवन थायमरू (२०३४)
–मेरो आविष्कार (२०४१)
उपन्यासः
–कारागार (२०३५)
–निर्बन्ध (२०४२)
–शब्दातीत शान्तनु (२०५६)

भारतको खर्साङ, दार्जीलिङमा जन्मिएकी वानीरा उमेरले मेरो समकालीन भएता पनि साहित्य लेखनमा अग्रज हुन् । कवि शैलेन्द्र साकारले २०२८ सालमा साझाबाट कथामा नारी हस्ताक्षर पुस्तक प्रकाशित गरेपछि त्यसमा संग्रहित मेरो कथा ‘भोक’बारे उनी भनिरहन्थिन्, कथा लेखिरहनुस् है, कस्ता राम्रो कथा लेखेको, मलाई एकदम मन पर्यो आदि इत्यादि । वानीरासँगको भेटघाटको सुरूवातको वर्ष पनि सम्भवतः त्यही थियो, २०२८ साल ।


स्रष्टाहरू स्वभावतः मुडी हुन्छन् । वानीरा पनि त्यस्तै थिइन् । पुतलीसडकमा म नेपाल ल क्याम्पस जाँदा र उनी पद्मकन्या क्याम्पसबाट फर्किंदा भेट भइरहन्थ्यो । भेटमा कहिले अँगालो हालेर कति बेर कुरा गरिरहन्थिन् भने कहिले नमस्कार गर्यो भने पनि नचिनेको, नदेखेको जस्तोगरि फटाफट हिँडिदिन्थिन् । म अवाक् केही बेर उभिरहन्थेँ । उनको स्वभाव विचित्रता र पहिरन विविधता आफ्नै किसिमको थियो, कहिले सादा पहिरनमा, कहिले जनजाति, आदिवासी महिला जस्तै माला लगाएर, रंगीचंगी लेहेंगा लगाएर बेफिक्री हिँडिरहेकी वानीरा । त्यो उनको पृथक पहिचान थियो, स्रष्टा व्यक्तित्वको पहिचान ।


प्रजातान्त्रिक विचारधाराकी वानीरा देश, काल, परिस्थिति र राजनीतिप्रति पनि सचेत स्रष्टा थिइन् । उनका धेरैजसो कविता र लेखहरूमा त्यो छनक पाइन्छ । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतद्वारा प्रकाशित पुनर्जागरण साप्ताहिककमा ‘विषुवत् रेखावरपर’ शीर्षकमा (२०५२–२०७३) प्रत्येक सप्ताह उनका विचारोत्तेजक लेखहरू स्तम्भलेखनका रूपमा छापिन्थे । पुनर्जागरणको त्यो स्तम्भ पढ्नेहरूले उनलाई बिर्सने छैनन् । अभिव्यक्तिबाट पाठक र समाज दुवैलाई उत्प्रेरित गर्न सक्ने उनको कलमको क्षमता थियो । कविता, उपन्यास लेख्ने सृजनशील स्रष्टामात्र नभएर स्तम्भ लेखनमा सामाजिक अभियन्ताका रूपमा पनि वानीरालाई सम्झिनेहरू छन् ।


गोपालप्रसाद रिमालको गद्य कवितामा विद्यावारिधि गर्ने प्रथम नेपाली विद्यावारिधिप्राप्त महिला एवम् पद्यकन्या क्याम्पसमा वर्षौंदेखि नेपाली विषय अध्यापन गर्दै आएकी वानीरालाई जीवनको उत्तरार्धमा त्रिविको पदोन्नति मापदण्डमा प्राध्यापक पद नपाएकोमा गुनासो थियो, भेटमा निराशजस्तै देखिन्थिन् । आफ्ना कृतिहरूबाट अमरत्व प्राप्त गरेर उनले त्रिवि नियम कानुनअन्तर्गतको प्राध्यापक पदलाई गौण बनाइदिएकी छन् ।
वानीराको सम्झनामा केही लेखेर मेरो भारी भएको मन हलुको भएको छ । मेरो उनलाई भावपूर्ण श्रद्धाञ्जली !
०००