फूलैफूलको शहर मस्कोमा पाइला राख्दा

फूलैफूलको शहर मस्कोमा पाइला राख्दा

भदौ ६, २०७८ 0 By विष्णुबहादुर सिंह
शेयर गर्नुहोस्

मान्छेहरु प्रतिबन्धित अहिलेको समय यात्रा पनि निषेधित छ । छ त केवल कसैले देख्न नसक्ने कोरोनाको भाइरस विश्व यात्रामा छ । सभ्यताको, विकासको अहंकारले गमक्क फुलेको मानिस अहिले आफैंसँगै त्रासमा छ । त्रसित मान्छे आफैंसँग प्रतिबन्धित छ । निर्वाध हावा लिन पनि डराउँछ मान्छे, ढुक्कले गोडा चाल्न पनि डराउँछ मान्छे । साँच्चै भनौं, अहिले प्रेम गर्न पनि डराउँछ मान्छे । तर अचम्म ! मनलाई कोही प्रतिबन्ध लाउन सक्दैन । अहिले मनैमन यात्रारत छु, ती बितेका समयतिर । यसो फर्किहेर्दा समय कति चाँडै बित्दो रहेछ, मस्कोका सडकहरुमा हिडेको ४७ वर्ष भइसक्यो ? आफैंलाई प्रश्न गर्ने गरी तर्सियो मन । तर सत्यसँग भागेर कहाँ जानु, समयसँग भागेर कहाँ पुग्नु । यो अगस्त महिना । यतिबेला मस्कोका ती फराकिला लेनिनिस्की प्रस्पेक्ट, मिकलुखो मकलाया, भेदेन्खा लगायत अनगिन्ती सडकहरु फूलले ढाकिएका छन् । यति वर्षमा त्यहाँका बहुरंगी फूलहरु ४७ पल्ट नै फूलेर त्यति नै पल्ट मुर्झाइसके होलान् । ती फूलहरुसँग लहरिदै तिनै सडकमा हिड्ने रुसी युवा–युवतीहरु अहिले कस्ता भए होलान् ? यौवन मुर्झाएको तिनको अनुहारभित्र लुकेको मोहक मुस्कान उस्तै होला कि ? त्यो पनि मुर्झाइसक्यो होला ? बाहिरी सौन्दर्य मुर्झाए पनि जीवनको उत्साह मेरै जस्तो होला की त्यो पनि मुर्झाइसक्यो होला ? सम्झनाका तरेलीमा ती भव्य मानिसहरुको याद बल्झियो ।

ओहो ! मस्को विमानस्थल ! आँखाले भ्याइन्जेलसम्म फैलिएको विमानस्थलमा उड्ने र अवतरण गर्ने तयारीमा रहेका कति धेरै जहाज ! म तिनछक परेको थिएँ । सायद मजसरी अरु साथीहरु पनि चकित थिए होलान् ।

आजभन्दा करिब ४७ अगाडि सन् १९७४ को सेप्टेम्बर महिनातर्फ फर्कदै छु । नेपालको एउटा दुर्गम गाउँ अर्घाखाँचीको जुकेनाबाट उच्च शिक्षाको सपना बोकेर एउटा ठिटो राजधानी काठमाडौं आइपुग्यो । त्यो सपना बोक्ने ठिटो म थिएँ, र मेरो सपना एउटा विशाल देश सोभियत संघसम्म टाँगिन पुग्यो । त्यतिबेला सोभियत संघ रुसले विभिन्न विषयमा अध्ययनका लागि छात्रवृत्ति दिने रहेछ । म पनि पढ्न जान पुर्‍याउनु पर्ने प्रक्रियामा लागें । छात्रवृत्तिमा छानिएपछि शिक्षा मन्त्रालयमार्फत् अन्य साथीहरुसँगै मेरो पनि कन्फरमेशन लेटर (स्विकृति पत्र) आएको जानकारी पाएँ । त्यसअघि सरकारी अड्डा नधाएको मेरा लागि ती सबै नयाँ अनुभव थिए । नागरिकता, पासपोर्ट भिसा आदिको लागि तत्कालिन श्री ५ को सरकारको अधिकृत वा सोभन्दा उच्च तहका हाकिमको सिफारिस अनिवार्य थियो । अरुको अगाडि झुक्न नरुचाउने म त्यो बेला मन्त्री क्वाटर जानु थियो । तर, पढ्ने जाने बाटो त्यसरी नै नहिडी सुख थिएन । मेरो मावलीतर्फका हजुरबुबा श्री दानबाहदुर बेल्वासेको सिफारिस लिएर तत्कालिन मन्त्री भिमबहादुर बुढाथोकीको मन्त्री क्वाटर पुगें । मन्त्रीले नै मेरो नागरिकताको लागि सिफारिस गरिदिनु भयो । सिफारिस बोकेर काठमाडौंको डिल्ली बजार चारखालस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट नागकिता पाएँ । त्यसपछि पासपोर्ट लिन परराष्ट्र मन्त्रालय पुग्दा पो थाहा भो, पुलिस रिपोर्ट अनिवार्य रहेछ । पुलिस रिपोर्टको लागि अर्घाखाँचीमा आफन्तलाई खबर गरें । ठाडाचौकीमा मेरो बारेमा केन्द्रबाट पत्र गएपछि कान्छामामा झवेन्द्रबहादुर सिंह बेल्बासेको पहलमा रिर्पोट बन्न गाह्रो भएन । चिठीचपेटा वा मानिसलाई आफैं बोकेर लैजाने सन्देश बाहेक सूचनाको अन्य साधन नभएको त्यो समयमा मेरो गाउँ कल्लेरीमा प्रहरीहरु सोधखोज गर्न पुगेको खबर अलिक पछि पाएको थिएँ ।

होस्टेलबाट नजिकै पार्कमा साथीहरुका साथ

त्यसबेला रुसी राजदुतावास डिल्लीबजारको एउटा गल्लीभित्र थियो । मनमा अलिकति संकोच, ज्यादा उत्साह बोकेर म दुतावास पुगें । भिसाका लागि उपस्थिति युवाहरुलाई निकै मोटा ज्यानका महिलाहरुले रुसी र अंग्रेजी भाषामा केही सम्झाइरहेका थिए । नजिक पुगेपछि थाहा भो, भिसाबारे र केही कुरा रुसका बारेमा ती महिलाहरुले जानकारी दिइरहेका रहेछन् । १८ घण्टा काममा घोटिइरहने हाम्रा गाउँतिरका महिला प्रायः दुब्ला पातला हुन्थे । तिनीहरु चैं कसरी यति मोटाघाटा भएका होलान् ? रुसीहरु मोटै हुँदा रहेछन् क्यारे भन्ने मनमा अन्दाज आयो । तर त्यो मेरो सरोकारको विषय थिएन । म भिसा हात पर्ने व्यग्रतामा थिएँ । त्यही क्रममा रुसमा जाने अन्य साथीहरुसँग भेटघाट भएको थियो ।

घरबाट ल्याएका केही रकमको डलर सटही, टिकट लिने लगायत सम्पूर्ण प्रक्रिया पूरा गरेपछि जनमैत्री विश्वविद्यालय, मस्कोमा इन्जिनियरिङ अध्ययनको ढोका खुल्यो । जनमैत्री जाने साथीहरुको लागि काठमाडौंदेखि दिल्ली र त्यसपछि मस्कोसम्मका लागि हवाई टिकट प्राप्त भयो । अन्य विश्वविद्यालय जानेहरुको लागि दिल्लीदेखि मस्को सम्मको टिकट दिएको र आफनो खर्चले दिल्लीसम्म जाने व्यवस्था गरिएको थियो । हाम्रा टोलीमा १५ जना साथीहरु थियौं । इञ्जिनियरिङ, मेडिसिन, भूगर्भशास्त्र, रुसी भाषा, कृषिलगायत विषयहरुमा छनोट भएका थियौं । धेरैजसो विद्यार्थीहरु मध्ये इञ्जिनियरिङतर्फ सिभिल, माइनिङ, मेकानिकलमा छनोट गरिएको थियो । म सिभिल इञ्जिनियरिङ अध्ययन गर्न छानिएको थिएँ । काठमाडौंबाट दिल्ली तत्कालिन शाही नेपाल वायु सेवा निगम र त्यसपछि एरोफ्लोटको विमानबाट हामी मस्को पुग्यौं ।हामी अवतरण हुँदा मध्यान्नको एक बजेको हुँदो हो । करिब छ/सात घण्टाको हवाई यात्रा पनि रोमाञ्कारी भएको थियो ।

डिसेम्बर/जनवरीतिर माइनस २०–२५ डिग्रीसम्म तापक्रम चिसिन्छ भन्थे साथीहरुले । विस्तारै जाडो बढ्ने क्रम शुरु भएको थियो । हामी मौसमको चिसोलाई रुसीपनको तातोपनले छेक्ने प्रयास गर्दै विश्वविद्यालयमा जोडियौं ।

जहाजभित्र छिर्दा नै एक किसिमको गन्ध नेपाली नाकहरुले सुघ्न पाएका थिए । कता कता रुसको गन्धले सबै जहाजलाई समेटेको थियो । छिनछिनमा जहाजको विचको गोरेटो (प्यासेज) बाट हस्याङफस्याङ गर्दै दगुर्ने स्मार्ट पहिरनमा सजिएका युवतीहरु ओहोरदोहोर गरिरहेका दृष्यले यात्रुहरुलाई इन्गेज गराएको थियो । केहीबेर पछि वियर, ह्स्किी, वाइन आदी सर्भ गर्न थालिएको थियो । धेरैजसो साथीहरुले मादक पदार्थको सट्टा जुसको गिलास उठाउँदै थिए । मैले भोड्का (रुसी ब्राण्डको) को ग्लास उठाएँ । साथीहरु विस्मयकारी आँखाले मलाई हेरिरहेका थिए । म मुसुक्क मुस्कुराएँ मात्रै । मैले नेपालमा हुँदै मादक पदार्थ चाखेकोले जहाजभित्र पिउनु रोमाञ्चकारी हुने ठानें । मैले केही चुस्की लिएँ, साथीहरु जुस पिउँदै थिए । केहीबेरमै एयरहोस्टेसहरुले हामीलाई खाना टक्यार्‍ए । रुसमा गाइको मासु खान्छन् भन्ने हल्ला त पहिले नै सुनेको थिएँ । हामीलाई दिइएको खानामा त्यही मासु सर्भ गरिएको रहेछ । फेरि हामीले मुखामुख गर्‍यौं । धेरै साथीहरुले मुख बिगारिसकेका थिए । उनीहरु खाना खानै दिग्मिग मानिरहेका थिए । उनीहरुले मासुबाहेकको खाना खान थाले । म पनि गाईलाई पूजा गर्ने संस्कृतिबाट आएका मान्छे, एकछिन दोधारमा परें । तर यस्तो लाग्यो, म जहाँ जाँदैछु त्यहाँ अब यो मासु निरन्तर खानु पर्ने छ, भने आजै किन सुरु नगर्ने ? मैले आँट गरें र खाइदिएँ । अलिअलि भोक त्यसमा मादक पदार्थ र नयाँ खाले मासुको स्वाद, विन्दास भइदिएँ म ।

हिउँदमा गोर्की पार्कमा नेपाली साथीहरुका साथ

घरिघरी साथीहरुतिर हेर्थें, उनीहरु मतर्फ नै आँखा तन्काइरहे झैं लाग्थ्यो । तर म आफ्नो जीवन आफ्नै हिसाबले जिउने स्वेच्छाचारी जीव परें, बेमतलब मुस्कुराइदिन्थें र भोड्का स्वाट्ट पारिदिन्थें । ३० हजारदेखि ३५ हजार फिटको उचाईमा आकाशमा मस्तमगन भएर हराइदिएँ । ६ घण्टाका यात्रापछि विमान मस्कोको दक्षिण एशियाको डोमिडोभ विमानस्थलमा अवतरण भयो । दुई हिडेर गाडी चढ्न कपिलवस्तुको तौलिहवा आइपुग्नु पर्ने गाउँले ठिटोका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल त भव्य लागेको थियो । ओहो ! मस्को विमानस्थल ! आँखाले भ्याइन्जेलसम्म फैलिएको विमानस्थलमा उड्ने र अवतरण गर्ने तयारीमा रहेका कति धेरै जहाज ! म तिनछक परेको थिएँ । सायद मजसरी अरु साथीहरु पनि चकित थिए होलान् ।

१२ औं शताब्दीको सेन्ट बसिल्स क्याथेड्रल (चर्च), १८ औं शताब्दीको ‘स्टेट हिस्टोरिकल म्युजियम’, रेड स्क्वायरको पूर्वतिर अवस्थित सुनौला रंगका बत्तिहरुले चम्किरहने ‘गुम स्टेट डिपार्टमेण्ट’ स्टोरका रुपमा परिचित लगायत दर्जनौं ऐतिहासिक सम्पदाहरुले भरिएको शहर थियो मस्को । 

विमानस्थलमा हामीलाई लिन दुई जना रुसी केटी र केटा आएका रहेछन् । उनीहरुले हामीलाई विमानस्थलको लबीमा जम्मा गरे । त्यसपछि जनमैत्री विश्वविद्यालय र अन्य विश्वविद्यालयमा जानेलाई छुट्याए, हाम्रो टोली एउटा बसतर्फ लाग्यो । पुरानो नेपाली विद्यार्थी दाईहरु पनि विमानस्थलमा आउनु भएको रहेछ । उहाँहरुसँग परिचय भयो । दुईतीन जना मध्ये गणेश शाह र किशोर शाक्य पनि हुनुहुन्थ्यो । विशाल सडकहरु अग्ला भवनहरु, फराकिला पार्क, बाटा छिचोल्दै हामीलाई मिक्लुखो–मकलायास्थित नम्बर दुई होस्टेलमा लगियो । होस्टेलभित्र छिर्दा पनि एक किसिमको गन्ध आइरहेको थियो । उसो त मलाई यस्तो पहिले कहिले थाहा नपाएको गन्धले विमानभित्रैदेखि लखेटेको थियो ।

‘यो रुसी गन्ध होला !’ म एउटा साथीको कानमा फुस्फुसाएँ, ऊ पनि हाँस्यो । हाम्रो टीम अलिक ढिला आएकाले होला केही छुट दिएको जस्तो लाग्यो । अरु देशका विद्यार्थीहरु अगस्त महिनादेखि नै आउन थालेका रहेछन् । हामी पुग्दा सेप्टेम्बरको ७ तारिख भएको थियो । अन्य मुलुकबाट आएका जोकोहीलाई स्वास्थ्य सुरक्षाका हिसाबले क्वारेन्टीनमा राख्ने प्रावधान छ भन्ने हामीले नेपाल हुँदै जानकारी पाएका थियौं । हामीलाई क्वारेन्टीनमा राखिएपनि खाना खाने ठाउँ (स्तालोभया) सम्म आवातजावत गर्न दिइएको थियो । त्यसैबीच हाम्रो मेडिकल जाँच गरियो । हामीलाई ३ दिन जति क्वारेन्टीनमा राखियो । हाम्रो देशका लागि नितान्त नयाँ शब्द क्वारेन्टीन पछिल्लो डेढ वर्षदेखि हाम्रो जीवनशैली बन्न पुगेको छ । हामी भने ४७ वर्षअघि नै क्वारेन्टीन बसेका थियौं । त्यहाँ रहुन्जेल रुसीहरुसँग घुलमिल हुन दिइएन । मेडिकल चेकअप, रगत, दिशा, पिसाव, खकार आदिको जाँच गरिन्थ्यो । विशेष गरी छातिको एक्सरे गरेर क्षयरोगको जाँच गरिदो रहेछ ।

साथीको घरअगाडि

दक्षिण पूर्वी एशिया नेपालको विद्यार्थी भएको हुँदा मलाई सबैभन्दा पहिले मस्को पुगेपछि त्यहाँ ‘दिन’ धेरै लामो जस्तो लागेको थियो । राती दश बजेसम्म पनि उज्यालो देखिन्थ्यो । पार्कमा जताततै मानिसहरु घुमिरहेका थिए । हैन कस्तो देश हो यो ? घामै अस्ताउँदैन कि कसो ? मान्छेहरुलाई निद्रा लाग्दैन ? हामी साथीहरु यसो झ्यालबाट देखिएको दृष्य हेर्दै कुरा गर्‍यौं । गाउँ छँदा साँझ सात बजिसक्दा आमाले भात पस्किसक्नुहुन्थ्यो । आठ बज्दा सारा गाउँ चकमन्न हुन्थ्यो । यहाँ भने मान्छे दश बजिसक्यो मस्तले घुमिरहेका पो छन् । ‘यही भएर त रुस !’ एउटा साथीले ठट्यौलो पारामा भनेको सम्झन्छु ।
मेडिकल जाँचपश्चात् हामीहरुलाई ‘चुम’ भन्ने पसलमा कपडा खरिद गर्न लगाइएको थियो । सेप्टेम्बर महिना भएपनि जाडो अलिअलि सुरु भइसकेको थियो । ‘चुम’ केटाकेटीहरुका लागि आवश्यक पर्ने सामानहरुको सुपरमार्केट रहेछ । नेपालीहरुका उचाई अन्य देशका मानिसभन्दा होचो हुने भएकोले त्यस मार्केटमा लगिएको भन्थे हाम्रा पुराना दाइहरुले । एउटा ठूलो ओभरकोट, पातलो भुवादार टोपी, भित्र कपडा राखिएको जुत्ता एकएक जोर विद्यार्थीलाई नाप अनुसार विश्वविद्यालयका अधिकृतले खरिद गरी वितरण गर्नु भयो । एक एक पोकाहरु बोकेर हामीहरु विद्यालयको छात्रबास फर्कियौं । हुन त हामीले केही थान गह्रौं कपडा नेपालबाटै लगेका थियौं । तर त्यहाँको जाडो थाम्ने किसिमको थिएन । डिसेम्बर/जनवरीतिर माइनस २०–२५ डिग्रीसम्म तापक्रम चिसिन्छ भन्थे साथीहरुले । विस्तारै जाडो बढ्ने क्रम शुरु भएको थियो । हामी मौसमको चिसोलाई रुसीपनको तातोपनले छेक्ने प्रयास गर्दै विश्वविद्यालयमा जोडियौं ।

रुसमा हरेक सेप्टेम्बर १ देखि पढाई शुरु हुने रहेछ । हामी मध्य भदौ अर्थात् सेप्टेम्बरमा पुगेका थियौं । हामी पुग्दा मस्कोका सडक विभिन्न रंग र प्रजातिका फूलले ढकमक्क ढाकिएका थिए । ती यति मनमोहक थिए कि सडकमै हिडिरहँु जस्तो लाग्थ्यो । सेप्टेम्बर अन्तिमदेखि हिउँ पर्न शुरु हुन्थ्यो र फूलहरु मुर्झाउन थाल्थे । त्यो थाहा भएर पनि फूलहरुको स्याहार गरिरहेको देखिन्थ्यो । हामीकहाँ त्यो समयको त के कुरा आज पनि हाम्रा सडकमा त्यस्ता फूल विरलै देख्न पाइन्छ । यहाँ सडक वा सार्वजनिक पार्कको अवधारणा नै खासै छैन । योजनावद्ध वस्ती वा शहर बसाउने सवालमा हामी धेरै पछाडी छौं । घरहरु उभिनु मात्रै शहर बन्नु हैन भन्ने मस्कोलाई हेरेपछि थाहा हुन्थ्यो । १२ औं शताब्दीको सेन्ट बसिल्स क्याथेड्रल (चर्च), १८ औं शताब्दीको ‘स्टेट हिस्टोरिकल म्युजियम’, रेड स्क्वायरको पूर्वतिर अवस्थित सुनौला रंगका बत्तिहरुले चम्किरहने ‘गुम स्टेट डिपार्टमेण्ट’ स्टोरका रुपमा परिचित लगायत दर्जनौं ऐतिहासिक सम्पदाहरुले भरिएको शहर थियो मस्को । हुन त म पनि सांस्कृतिक शहर काठमाडौं हुँदै नै मस्को पुगेको थिएँ । हामी कहाँ पनि सम्पदाहरु हुँदै नभएका होइनन् । तर, त्यहाँ जसरी सम्पदाहरुको संरक्षण गरिएको थियो, त्यो साँच्चै प्रशंसा लायक थिए । क्रमशः हामी बाक्लो ओभरकोट लगाएर रुसी जीवनमा एकाकार हुने प्रयासमा जुट्यौ ।

हाम्रो पढाई सेप्टेम्बर दोस्रो हप्तादेखि मात्र शुरु भयो । नेपाली र बंगलादेशका मित्रहरु सम्मिलित ८/१० जनाको समूहमा रुसी भाषाको कक्षा शुरु भयो । ‘जदरास्तबुइचे’– नमस्कार । कति गहिरो शब्दबाट शुरु भएको थियो हाम्रो अध्ययन यात्रा ।

–क्रमशः –