छोड्दै प्रेम, त्याग्दै मदिरा

छोड्दै प्रेम, त्याग्दै मदिरा

जेष्ठ २८, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

प्रेमिका र मदिरा ! सबैभन्दा बढी गजल लेखिएको बिषय । उर्दू भाषाबाट आएको गजलको अर्थ नै ‘प्रेमिकासँगको कुराकानी’ हुन्छ भनेर विद्वानहरु भन्छन् । धेरै पाकादेखि तन्नेरी गजलकार अहिले पनि यसैलाई गजलको बिषय बनाउँछन् । र, बजारमा यस्तै गजलले ‘वाह् ! वाह् ! वाह् !’ पनि पाइरहेको छ । गजलकार बूँद रानासँग कुराकानी पनि यही बिषयबाट सुरु भयो ।

गजल र प्रेमिका
‘पहिले–पहिले त्यही अर्थअनुसार लेखियो र लेख्न अभिप्रेरित पनि गरियो । तर मूल्य, मान्यता र परिभाषा समयअनुसार बदलिन्छन् । अहिले गजलको अर्थ त्यतिमात्रैमा सीमित राख्न मिल्दैन,’ उनले उदाहरणसहित पेश गरे, ‘पहिले सूर्य पूर्वमा उदाउँछ र सात वटा घोडा चढेर पश्चिम जान्छ भन्ने मान्यता थियो । तर अहिले त्यो मान्यतालाई त मान्न सकिादैन नि । त्यस्तै हो ।’

‘सधैँ देश, जनता र परिवर्तन भन्दा–भन्दा कहिलेकाहीँ त चुराको छन्छन् सुन्न पनि मन लाग्नु स्वाभाविक हो । तर मेरो गजलले प्रेमिकासँग एकदमै थोरैमात्रै बात मारेका छन् ।’


उनको विचारमा अहिलेको गजलमा वर्तमानबोध छ । र, यसले वर्तमान बोल्छ । ‘प्रेम पनि मानव जीवनको एउटा पाटो हो तर समग्र पक्ष होइन,‘ उनको धारणा छ, ‘त्यसैले गजलको पनि परिवर्तित सन्दर्भलाई सम्बोधन गर्ने अर्थ लगाउनुपर्छ ।’
त्यसो भए उनका गजलले कोसँग कुरा गर्छन् त ? उनले भने, ‘मेरा गजलहरू आम मान्छेको भावनासँग बात मार्छन् । देश र जनताको भावनाभन्दा पर म जान सक्दिन ।’
त्यसो त प्रेम पनि जीवनको एउटा पाटो हो भन्ने उनले स्वीकारेका छन् । र, लेखेका छन् :
सधैं सधैं कति गर्नु बन्दुकका कुराहरू
कहिलेकाही बज्नुपर्छ हृदयमा चुराहरू

‘सधैँ देश, जनता र परिवर्तन भन्दा–भन्दा कहिलेकाहीँ त चुराको छन्छन् सुन्न पनि मन लाग्नु स्वाभाविक हो । तर मेरो गजलले प्रेमिकासँग एकदमै थोरैमात्रै बात मारेका छन् ।’ संयोग, उमेरमै पनि प्रेमिकासँग बात मारेर गजल लेख्ने मौका पाएनन् ।

सुन्दरी प्रेमिकासँग बसेर सुरापान गर्नुको आनन्दलाई प्रतिबिम्बित गर्न यसलाई बिषय बनाइएको होला, सुन्दर बिषय भएको भएर एउटा समय त्यो पनि गजलको पाटो भएर रह्यो ।

गजल र मदिरा
गजलमा उच्च माग हुने अर्को बिषय मदिरा । उनले पनि मदिराको बिषयमा गजल नलेखेका होइनन् । ।
पिउदै नपिउने मान्छे पिएँ अलिकति
उनको वचन राख्न लिएँ अलिकति
मदिराको बिषयमा लेखिएको यो गजलमा वरिष्ठ संगीतकारले अम्बर गुरुङले संगीत भर्नुभएको छ । ‘तर यसमा पनि मदिरा नै मेरो जिन्दगी भनेको छैन’, उनले आफ्नो बचाउ गरे । ‘साँच्चै म वचन राख्नकै लागिझैं मदिरा एकदमै कम पिउँछु । तर पिउँदिन भन्दिनँ’ उनले स्पष्टिकरण दिए, ‘कहिलेकाहीा अमिलो पीरो एकदमै खान मन लागेझैं कहिलेकाहीा खान मन लाग्छ । तर एक बिर्कोमात्रै भए पुग्छ ।’
उनलाई कतिपय ‘प्रोफेसनल’ लेखकलाई झैं लेख्ने ‘मूड’ बनाउन मदिरा चाहिंदैन । ‘मनमा आएको भाव छोप्नलाई कापी र कलम सँधै साथै राख्छु’, उनले कोटमा भिरेको तीनवटा कलमको प्रमाण पेश गरे ।
किन आउँछ त गजलमा मदिरा ? यसको जवाफमा उनले भने, ‘सुन्दरी प्रेमिकासँग बसेर सुरापान गर्नुको आनन्दलाई प्रतिबिम्बित गर्न यसलाई बिषय बनाइएको होला, सुन्दर बिषय भएको भएर एउटा समय त्यो पनि गजलको पाटो भएर रह्यो ।’
तर उनी गजलको मूख्य बिषयवस्तु नै मदिरा हो भन्नेचाहिँ मान्दैनन् । ‘यो गजलमा पनि मैले मदिरा नै मेरो जीवनको साथी भनेर भनेको छैन । म पनि मदिरा लिँदै लिन्नँ भनेर भन्दिनँ । कहिलेकाहीँ अमिलो, पीरो खान मन लागेजस्तै कहिलेकाहीँ पिउन मन लाग्छ । तर मलाई एक बिर्को मात्र भए पुग्छ’, उनले भने ।
उनको धारणा स्पष्ट छ, ‘गजल आकर्षक विधा भएकाले यसमा विभिन्न विषय आउनु स्वाभाविक हो । त्यसैले मदिराप्रेमीहरूको लागि मदिरालाई बिषय बनाएर गजल लेखिएको होला ।’

मैले रदिफलाई झुम्का, फुर्का वा लुर्कना भन्ने गरेको छु । पर्दा, तन्ना आदिमा हामी विभिन्न ढंगले फुर्का जोड्छौं नि, त्यस्तै हो । तर रदिफले गजललाई सुन्दर चाहिँ बनाउँछ । तर त्योविना पूर्ण नै हुँदैन भन्ने छैन ।

शाश्त्रीयता र गजल
‘गजल सकेसम्म बहरमा लेख्नुपर्छ । सके शाश्त्रीय छन्दमा, नभए पनि लोक छन्द वा स्वनिर्मित छन्दमा लेख्नुपर्छ । बहरलाई नेपाली सन्दर्भमा साँढेको अर्थमा पनि लिन सकिन्छ । साँढेमा बल धेरै हुन्छ, तर त्यसलाई काममा लाउन गाह्रो हुन्छ । त्यसलाई सदुपयोग गर्न जानियो भने धेरै काम गर्न सकिन्छ । त्यस्तै हो, बहरमै लेख्न सकियो भने धेरै प्रभावकारी हुन्छ । त्यसो भएन भने पनि बारबन्धनलाई तोड्न चाहिं हुँदैन’, उनको भनाइ छ ।
उनी गजलको शीर्षक राख्दैनन् । गजलमा शीर्षक नराखिनुको पनि कारण छ । गजलमा चार–पाँच शेरदेखि काफिया मिलेसम्म धेरै शेर लेख्न सकिन्छ । यसका प्रत्येक शेर आफैंमा मुक्त हुन्छन् । त्यसमा छुटै भाव पनि हुन्छ । त्यसैले एउटै शीर्षक दिन गाह्रो हुन्छ ।
त्यसो त राम्रो शेरबाट केही शब्द लिएर शिर्षक दिने चलन पनि चलाइएको छ । रदिफ ऐच्छिक हो । यसमा विवाद नै छैन । काफिया चाहिँ अनिवार्य छ । ‘त्यसैले मैले रदिफलाई झुम्का, फुर्का वा लुर्कना भन्ने गरेको छु । पर्दा, तन्ना आदिमा हामी विभिन्न ढंगले फुर्का जोड्छौं नि, त्यस्तै हो । तर रदिफले गजललाई सुन्दर चाहिँ बनाउँछ । तर त्योविना पूर्ण नै हुँदैन भन्ने छैन’, उनले भने ।
गालिब, मिर, फैजजस्ता गजलकार र नेपालका पुराना गजलकारहरूको गजल पढ्दा पनि काफिया दोहोरिएको पाइन्छ । ‘काफिया धेरै दोहोरिनुहुँदैन । भावको प्रवलता जोडदार खालको छोड्नै नमिल्ने भयो भने मात्रै दोहोरिन सक्छ’, उनको तर्क छ ।
तखल्लुस अर्थपूर्ण भएर आएको राम्रो हुन्छ उनको बुझाइमा । त्यतिकै प्रयोग गर्दा अर्ती दिएजस्तो, दवाव दिएजस्तो, मैले यो भनेको हो तैंले मान्नुपर्छ भनेको जस्तो हुन्छ । त्यस्तै यो अन्तिम शेरमामात्र प्रयोग गर्नुपर्छ भन्ने पुरानो मान्यता पनि छु । तर बूँदले यसलाई बीचमा पनि प्रयोग गरेका छन् :
मरुभूमिमा परें र त गजलकार भएँ
बूँदका निम्ति मरें र त गजलकार भएँ
कुनै गजलमा उनले यो धेरै ठाउँमा पनि प्रयोग गरेको छन् । गजलकारलाई चाहिँ नाममोह किन भन्ने प्रश्न पनि उठ्छ । तर गजलका प्रत्येक शेर उक्ति हुन् । भनिन्छ, गजलको एउटै शेरमा महाकाव्य प्रतिबिम्बित हुन्छ । ‘त्यसैले त्यो कसले लेखेको हो नबिर्सिउन् भनेर पनि प्रयोग सुरु गरिएको हुन सक्छ,’ उनले भने ।

कतिपय युवाहरू युवासुलभ चेतना, प्रेम, प्रेमिका आदिलाई मात्रै लेखिरहेका छन् । कुण्ठा पोखिरहेका छन् । एउटा बिषय मन पर्‍यो भन्दैमा त्यही पाइन्छ भन्ने त छैन । अनि त्यो नपाउनेबित्तिकै भट्टे सराप गर्ने कुरा गजलमा पनि आएको छ ।

नयाँ पुस्ता र गजल
‘गजलमा एउटा शक्ति हुन्छ । गालिब, मिरले लेखेका तथा मेहदी हसन, गुलाम अली, जगजित सिंहले गाएका गजल अहिले पनि धेरैले सुन्छन् । गीतमा एउटै भाव हुन्छ । त्यसबाट पनि मानिसहरुले आनन्द लिइरहेका हुन्छन् । गजलमा त प्रत्येक शेरमा छुट्टाछुटै भाव र छुट्टाछुटै आकर्षण हुन्छ । त्यसैले एउटै गजल सुन्दा पनि धेरै आनन्द र तृप्ति पाउँछन् । यसको यो मोहनी तत्वले युवाहरूलाई धेरै आकर्षण गरिरहेको छ’, बूँदले यसरी बुझेका छन् ।
यस क्षेत्रमा युवाहरू बेस्सरी आएको छन् । अहिलेका राम्रा लेखकहरूलाई तपाईंले साहित्य यात्रा कहाँबाट सुरु गर्नुभयो भनेर सोधियो भने ‘कविताबाट’ भन्ने उत्तर आउँछ धेरैको । बूँदले पनि कविताबाटै साहित्य लेखन सुरु गरेका हुन् । तर अबको पुस्ताका कतिपयले गजलबाट रचना सुरु गरेका छन् । उनी नयाँ पुस्तामा केही त लोभलाग्दा प्रतिभाहरू देखिरहेका छन् । तर युवाहरू जति आएका छन्, त्यति गुणात्मक भएको देखिएको छैन । ‘कतिपय युवाहरू युवासुलभ चेतना, प्रेम, प्रेमिका आदिलाई मात्रै लेखिरहेका छन् । कुण्ठा पोखिरहेका छन् । एउटा बिषय मन पर्‍यो भन्दैमा त्यही पाइन्छ भन्ने त छैन । अनि त्यो नपाउनेबित्तिकै भट्टे सराप गर्ने कुरा गजलमा पनि आएको छ । अपरिपक्व, तथाकथित प्रेम गर्‍यो, अनि त्यो सफल नभएपछि म आत्महत्या गर्छु, तिमी डोली चढिरहेको बेलामा मेरो अर्थी उठोस्, मेरो चिता जलोस् भन्ने क्रुर र विद्रूप भावना धेरै गजलमा आएको छ । तर त्यस्तो निराशा पोखे पनि गजल लेख्नुलाई सकारात्मक रूपमा लिएको छु,’ उनले भने । अपेक्षा गरेजति रचना नआएपनि सिर्जनात्मक काममा लागिरहनुलाई उनी सकारात्मक रूपमा लिन्छन्, ‘आज होस् या भोलि त्यो सुधार हुन्छ ।’

मनु ब्राजाकी, ललिजन रावललगायतका गजलसमेत धेरै गाइएका छैनन् । एकादुईले बूँद राना पनि पुरानै गजलकार हो भनेर गाएका छन्, नत्र त त्यति गाइएको छैन

गायन र गजल
गजल सुन्ने, सुनाउने, पढ्ने र गाइने विधा हो । यसलाई संगीतबद्ध गर्दा सुनमा सुगन्ध हुन्छ भन्ने बूँदको धारणा छ । हुन त गहिरिएर बुझ्ने हो, पढ्ने हो भने पनि आनन्द हुन्छ । तर त्यसमा संगीत गरियो भने आनन्दै अर्को हुन्छ । यो हो उनको बुझाइ ।
अहिले नेपालमा गजलमा निकै कमै गाइनुलाई आर्थिक समस्या प्रमुख देख्छन् उनी । व्यापारीकरणको मारले राम्रा गजलहरू बाहिर आउन नसकेको उनको निष्कर्ष छ । उनकै पनि गजल एकदमै कम गाइएको छ । ‘मैले कसैलाई गाइदिनुस् भनेर पनि भनेको छैन । किनकि गजल रेकर्ड गर्न लागि आर्थिक हैसियत छैन । त्यसैले जतिले आर्थिक व्यवस्थापन गर्न सक्छन्, उनीहरुकोमात्रै गजलहरू आएको छ । त्यसैले राम्रा गजल कम गाइएका छैनन् । मनु ब्राजाकी, ललिजन रावललगायतका गजलसमेत धेरै गाइएका छैनन् । एकादुईले बूँद राना पनि पुरानै गजलकार हो भनेर गाएका छन्, नत्र त त्यति गाइएको छैन’, उनले सुनाए ।
तर उनी आशावादी भने छन् । पहिलेभन्दा अहिले भएको छ भन्नेमा सहमत छन् । तैपनि निर्धक्क भएर हिँड्बाने बाटो भने पहिल्याएको पाइँदैन । जगजित सिंहको गजल सुन्नेहरूले नेपाली गजल पनि सुन्ने दिन पनि त आउला भन्ने उनको आशा छ ।

कला कलाको लागिमात्रै होइन । कला जीवनको लागि हो । पछाडि फर्कन होइन, जहााको त्यहीा बस्न होइन, अगाडि जानको लागि हो । सुखद भविष्यतिर जानुपर्छ भन्ने हो भने साहित्यमा राजनीति पनि हुन्छ, चिन्तन पनि हुन्छ, विचार पनि हुन्छ ।

गजल र बूँद राना
मानिसहरूले भन्छन्, ‘बूँदका गजलमा नारा हुन्छ ।’ उनी नकार्दैनन् । भन्छन्, ‘नारा नराम्रो कुरा त होइन । टिप्पणी गर्नेहरुले के आशयमा भनेका हुन् , त्यो त म भन्न सक्दिना । तर हातका मैला सुनका थैला, के गर्नु धनले,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्नु पनि नारा हो नि । त्यसैले साथीहरूले धेरै राम्रो भन्नुभएछ भन्ने लाग्छ । नारा पो सबैलाई कण्ठ हुन्छ त । महात्मा गान्धी, म्याक्सिम गोर्कीले भनेका हुन् या मार्क्सले भनेका । नारा भनेको त धेरै महान कुरा रहेछ । यसैले मैले नारा शब्दलाई नै काफिया बनाएर मैले गजल पनि लेखेको छु ।’
यस अर्थमा उनी आफूलाई अरू साथीभन्दा फरक पाउँछन् । उनको स्पष्ट धारणा छ, ‘साहित्य भनेको समाजलाई अग्रगति प्रदान गर्ने साधन हो । कला कलाको लागिमात्रै होइन । कला जीवनको लागि हो । पछाडि फर्कन होइन, जहाँको त्यहीँ बस्न होइन, अगाडि जानको लागि हो । सुखद भविष्यतिर जानुपर्छ भन्ने हो भने साहित्यमा राजनीति पनि हुन्छ, चिन्तन पनि हुन्छ, विचार पनि हुन्छ । नारा पनि हुन्छ । उक्ति हुन्छ ।’
त्यसैले उनी जे बोलिन्छ त्यो महत्वपूर्ण होस् भन्ने चाहन्छन् । हाक्का–हाक्की बोल्न चाहन्छन् । चाहन्छन्, ‘सम्झना रहने खालको, मुुटुमा ढ्याङ्ग्रो ठटाउने खालको होस् । मस्तिष्कमा उथलपुथल ल्याउने खालको होस् । झंकृत गर्ने खालको होस् ।’ त्यसैमा उनी गर्व गर्छन् र लेख्छन्–
हेपेर कालले भन्थ्यो मलाई हट् पाजी
उसैको बुइ चढें र त गजलकार भएँ

भेट्टाएका पीडा सारा बटुल्दैछु गजलमा
मुर्दा ब्यूँताउने नारा बटुल्दैछु गजलमा
l
०००