चम्किँदैछ रातो तारा ?

चम्किँदैछ रातो तारा ?

साउन १, २०७८ 1 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

अचेल रातभरि झरी पर्छ, मर्स्याङ्दीमा बाढी आउँछ । निरुधार झरी र बाढीको आवाजले कमला नहर्कीको निद्रा बिथोल्छ । उनीमात्रै हैन, बर्खा लागेदेखि नौ वर्षे छोरा ओस्कार पनि राम्ररी निदाउन सकेका छैनन् ।
एक बिहान उठ्दा त मस्र्याङ्दीमाथि टाँगिएको झोलुङ्गे पुल आधा भत्किएर नदीमा डुबिरहेको थियो । कोरोनाको कहर सकिएला र स्कूल जाउँला भनेर पर्खिएका ओस्कार त्यता जाने पुलै भत्किएपछि केही दिनदेखि दुःखी छन् । मौसम देखेर उनलाई डर लागेको छ । ओस्कार दिउँसो आमाको मोबाइलमा फोरजी डाटा चले अनलाइन कक्षा लिन्छन्, नभए हजुरबा–आमासँग प्रायः पुलकै बारे सोधिरहन्छन् ।
‘कहिले बन्ला पुल ?’ ओस्कार सोध्छन् ।
‘छिटै बन्छ’, छोरालाई त जवाफ दिन्छिन् तर आफैं भने ढुक्क हुन सकेकी छैनन् ।
राती सुत्ने बेला कमला छोरालाई अनेक कथा सुनाउँथिन् । केही दिन यता उनले छोरालाई ‘तुङ च’को कथा सुनाइरहेकी छिन् । मसिना चिम्सा आँखा भएको आफ्नो छोरा पनि उनलाई ‘तुङ च’ जस्तै लाग्छ ।
तुङ च, चिनियाँ लेखक लि शिन–तियन लिखित बाल–उपन्यास ‘चम्किलो रातो तारा’का केन्द्रीय पात्र हो । उत्सुक र साहसी विद्रोही बालक तुङ च चिनियाँ नेता माओ–त्से–तुङ नेतृत्वको ‘लङ मार्च (सन् १९३४ अक्टोबर १६देखि १९३५ अक्टोबर २२सम्म)मा सामेल हुन अनेक रोमाञ्चक दुष्साहस गर्छ । चिनियाँ जनयुद्धमा सामेल बालयोद्धाहरूको प्रतीकात्मक पात्र हो ऊ ।

चम्किलो रातो तारा


माओकै दर्शन अँगालेर नेपालमा भएको दशक लामो (वि.सं. २०५२–२०६२) माओवादी जनयुद्धका योद्धा हुन् कमला । उनको पुस्तकालय सानो छ, तर त्यसमा ‘चम्किलो रातो तारा’ छुट्ने कुरै भएन । जसलाई लिएर उनीसँग रोमाञ्चक क्षण पनि छन् । एक दिन छोराले किताबको गाता हेर्दै सोधे, ‘तपाईले जस्तै बन्दुक बोकेको हो यो तुुङ चले ।’ निधारमा रातो तारा भएको फेटा लगाउने त्यो केटा ओस्कारलाई मन पर्छ । कमला उनलाई उपन्यासको नायक तुङ चको रोमाञ्चक कथा सुनाउँछिन् । अनि भन्छिन्, ‘तिमी पनि तुङ च जस्तै हुनुपर्छ, कसैसँग नडराउने है ?’ कथा सुनेर छोरा मख्ख पर्दै निदाउँछन् ।
उनलाई भने घरी वृद्ध आमाबाको, घरी छोरा र गाउँको चिन्ता लाग्छ । पुल भत्केको छ, पारिपट्टि तनहुँमा पर्ने एक्ले फाँटमा पहिरो खसिरहेको छ । गाउँलेहरू त्रस्त छन् । कति बाढीमा बगे कति बेघरबार । राजधानी भने सरकार बनाउने र भत्काउने खेलमा निमग्न छ । देश अर्कै बनाउने भनेर जनयुद्धमा हिँडेकी उनलाई अहिले भने मस्र्याङ्दीको धमिलो बाढी देशको रंग जस्तो लाग्छ । बन्दुक विसाएर घर फर्किएको पनि धेरै भइसक्यो । पार्टीको जिम्मेवारी, सामाजिक काम र घरको हेरचाहबाट बचेको समयमा क्रान्तिकालिन समयमा पढिएका किताबहरू यसो पल्टाउँछिन् । जुन उत्साहले ती किताब पढिए, त्यही उत्साहले उचालिएर बलिदानका लागि तयार भइन् र युद्धमा हिडिन् । आज कहाँ छ त्यो क्रान्तिको धार ? उनी नोस्टाल्जिक हुन्छिन् ।

कमला नहर्की छोराका साथ


कमलाको घर गोर्खाको गोर्खा नगरपालिका–१४, गोप्लिङस्थित मस्र्याङ्दी नदी किनारामा पर्छ । उनले ‘चम्किलो रातो तारा’ जनयुद्धमा सामेल भएपछि नै पढेकी हुन् । जतिबेला उनी एसएलसी दिएर बसेकी थिइन् । उनको घर पार्टीको मुख्य सेल्टर, पार्टीका कार्यकर्ता आइरहन्थे । उनी पार्टीमा पूर्णकालीन हुनुअघि २०५३ सालतिरै यो किताब पढ्न पार्टीकै माध्यमबाट पाएकी थिइन् । त्यही बेला उनले ‘आमा’, ‘युवाहरूको गीत’, ‘चम्किलो रातो तारा’, ‘प्रशान्त दोन’, आहुतिको ‘नयाँ घर’ लगायत किताब पाइन् । आफूले पढिसकेर अन्य साथीलाई पनि दिएकी थिइन् ।
पूर्णकालीन भइसकेपछि रातभरि संगठन विस्तार गर्न हिड्ने, दिनभरि कुनै सेल्टरमा लुकेर बस्नुपर्ने । त्यसरी बस्दा उनीहरू माक्र्सवादी दर्शन र साहित्यसम्बन्धि किताब पढ्ने, नोट बनाउने, त्यसमाथि बहस गर्ने, प्रशिक्षण लिने–दिने गर्थे । यसरी पढिएका किताबहरूमा मनमा गढेर बसेको सानो कृति हो– ‘चम्किलो रातो तारा’ ।

राजन मुकारुङ

यता, आख्यानकार राजन मुकारुङले चाहिँ ‘चम्किलो रातो तारा’ पाँच कक्षामा पुगेपछि पढेका हुन् । ‘महेन्द्रमाला’ बोकेर स्कूल जानेको संख्या नै पातलो हुने त्यो समयमा यस्ता किताब क्रान्तिमा लागेकाहरूले लुकाइछिपाइ पु-याएका हुँदा हुन् । किताबले उनको बालमनोविज्ञानमा रोमाञ्चक तरंग पैदा गरेको थियो । उपन्यासका नायक तुङ चसँग उनी आफूलाई तुलना गरिहेर्थे । किताब पढेपछि उनलाई संघर्ष गरे केही न केही प्राप्त गर्न सकिने रहेछ भन्ने बोध भएको थियो । त्यसको प्रभाव पछिल्ला दिनसम्म पनि उनमा छँदैछ । भन्छन्, ‘त्यो उमेरमा क्रान्ति नै गर्छु भन्ने सपना देख्ने कुरा त भएन, तर सपना चैं देख्नुपर्ने रहेछ । निरन्तर लागिरहे अनेक हण्डर खाएर पनि पूरा गर्न सकिने रहेछ ।’ त्यो उमेरमा उनले तुङ च को दुःखबोधमात्रै गर्न सके । चिन्तक तथा विश्लेषक निनु चापागाईँको वैचारिक अध्ययनको प्रारम्भिक कालमा पढिएका किताबको सूचीमा थियो ‘चम्किलो रातो तारा’ । उपन्यासबाट उनी प्रभावित भएका थिए । लेखक तथा अनुवादक खगेन्द्र संग्रौला युवावस्थामा ‘चम्किलो रातो तारा’ लगायत किताब पढ्दै क्रान्तिकारी आन्दोलनहरूमा सहभागी हुँदै आएका हुन् । तिनै क्रममा उनले ‘युवाहरूको गीत’ लगायत कालजयी किताब अनुवाद गरे ।

राम कार्की


जनयुद्धको एक नेता, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम कार्की पार्थ ‘चम्किलो रातो तारा’ किताब चालिसौं वर्षअघि पढेको सम्झन्छन् । त्यो बेला नेपाल कम्युनिष्ट पार्टीका संस्थापक निरञ्जन गोविन्द वैद्यको भोटाहिटीस्थित पसल यस्ता पुस्तक पाइने मुख्य स्थान थियो । त्यतिबेला रुसी किताबका लागि रसियन पुस्तकालय पनि थियो । यतै कतैबाट लिएको भन्ने धमिलो सम्झना छ उनलाई । उपन्यासमा मुख्य पात्र तुङ चले बुबालाई छोडेर जुन ‘एडभेन्चर’ गर्छ, त्यो उनलाई बडो रोमाञ्चक लागेको थियो । त्यो बेला नेपालका वामपन्थीहरू रुसी र चिनियाँ खेमामा विभाजित थिए । उनका अनुसार कतिपयले पठन सामाग्री छनोट गर्दा नै आ–आफ्नो निकट लाइनको हेर्ने गरेका थिए । त्यो किताब एकप्रकारले तत्कालीन पार्टीको पाठ्यक्रममै राखेर अध्ययन गरिन्थ्यो । क्रान्तिकालमा खासगरी विद्यार्थीलाई दिनका लागि ‘चम्किलो रातो तारा’ बढी प्रयोग भएको थियो । युद्धकालमा पनि राम्रै पढिएको किताब हो । उनी भन्छन्, ‘त्यो उपन्यासमा क्रान्तिप्रतिको रोमान्चकता पनि छ । यसले खासगरी युवावर्गलाई केही नयाँ कुरा गर्न उत्साहित गर्छ भन्ने ढंगले जनयुद्धमा पनि पढाइएको हो । पुरानो पीँढीका धेरैले पढेका छन् । पछि त पढ्ने संस्कृति नै हराएर गइहाल्यो ।’

नारायण ढकाल


आख्यानकार नारायण ढकाललाई युवावयमा धेरै प्रभाव पार्ने किताब मध्ये एक हो चम्किलो रातो तारा । त्यो किताब अहिले पनि उनको निजी पुस्तकालयमा छ ।
प्रदेश नं. एकका अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य इन्द्र आङ्बो ‘मौसम’ले पार्टीमार्फत् वितरित पाठ्य सामग्रीकै रूपमा २०५८ सालतिर चम्किलो रातो तारा पढेका थिए । भर्खर क्रान्तिमा जोडिएका युवा पुस्तालाई उर्जा भर्नका निम्ति पाठ्य सामग्री बाँडेर पढ्ने चलन थियो । पार्टीकै कुनै सेल्टर घरको बुँइगलमा बसेर उनले पुस्तक पढे । दोहो-याइतेहे-याइ पढ्न मन लाग्ने यो पुस्तक उनले दर्जनौंचोटि पढेको सम्झन्छन् । लेखक शार्दुल भट्टराईको मनमा पनि यो किताब अझै बसेको छ । विद्यार्थी संगठन र कम्युनिष्ट पार्टीका नेताहरूसँग सम्पर्क भएको बखत ‘चम्किलो रातो तारा’सँगै ‘युवाहरूको गीत’, ‘फूल बेच्ने केटी’लगायत किताब पढेको सम्झन्छन् । त्यतिबेला पार्टी संगठनमा लाग्न ती किताबहरू पढ्न अनिवार्य थियो । पार्टी पाठ्यक्रममा राखिएका ती किताब पढेर बहस गर्न सक्ने भएपछि जनवर्गीय संगठनमा जोडिन सकिन्थ्यो । ती संगठनमा पनि कति वर्ष बिताएपछि बल्ल पार्टी सदस्यताको प्रक्रिया अघि बढ्थ्यो । माक्र्सवादी विचारमा लाग्न तिनै सामग्रीले प्रेरित ग-यो । तर पढ्नु एउटा कुरा होला, भावनात्मक हिसाबले आन्दोलनप्रति प्रतिबद्ध भएर लाग्नु अर्को कुरा, त्यसरी लाग्नेहरूलाई ती किताब उर्जा बन्थे । उनी भन्छन्, ‘मान्छेको भावनालाई परिवर्तित गर्न र परिवर्तत भावनालाई प्रबल बनाउन यस्ता किताबले योगदान ग-यो । यस्ता किताबलाई मनैदेखि आत्मसात गर्नेहरू आज पनि आन्दोलनमा टिकेका पनि छन् ।’

इन्द्र आङ्बो

चमक हराएका पाठक
त्यसो त वर्तमानमा ‘चम्किलो रातो तारा’का नयाँ पाठक घटेका छन्, पुराना पाठकमा त्यसको चमक हराएको छ । चापागाईंलाई त्यस्ता साहित्यिक किताब र त्यसको वैचारिक दर्शनबाट निर्देशित भएर विभिन्न कालमा क्रान्ति गर्नेहरू स्खलित भएकोमा नमिठो अनुभूति भइरहन्छ । भन्छन्, ‘आन्दोलन भनेको सिधा गतिमा नभई उतारचढाव हुने रहेछ । सबैलाई बिग्रिए भन्न पनि मिल्दैन, कतिपय मानिसहरू प्रतिबद्ध भएरै लागिरहेका छन् । तर अहिले धेरै नेता–नेतृत्व विचलनमा गएको देखिन्छ । मलाई लाग्छ, मूलधारका नेताहरू त अब कम्युनिष्ट रहेनन् । तिनीहरू कम्युनिष्ट दर्शन र चरित्रबाट स्खलित भइससकेका छन् ।’
अर्को कुरा, कम्युनिष्ट भनेर जेलाई भन्ने गरिएको हो, त्यसका मर्मसम्म हाम्रो कम्युनिष्ट पार्टीका अधिकांश नेता कार्यकर्ता कोही पनि पुगेनन्, पुगिएनछ भन्ने उनलाई लाग्छ । ‘एक किसिमको लहैलहैमा क्रान्तिकारी बन्ने जस्तो देखियो । हामी अधिकांश त सर्वहारा वर्ग नभई मध्यम र उच्च वर्गबाटै आएका छौं । त्यो आन्दोलनभित्र पनि हामी त्यही वर्गकै छापहरू लिएर गएछौं । त्यसले गर्दा जे देखिएको आन्दोलन छ, त्यो मूलतः बिग्रेको, भत्किएको अवस्थामा देख्छु । यसलाई अलिकति काउन्टर दिने शक्ति नआई अब यो अगाडी बढ्ला भन्ने पनि लाग्दैन ।’ उसो त पूरै क्रान्तिको धार सकिएकै पनि उनी ठान्दैनन् । अहिले पनि सानातिना घटक, व्यक्तिहरू क्रान्तिकारी अलिअलि छन् । तर उनीहरूले पनि नेपालको परिस्थिति के हो ? विश्वको परिवेश के हो ? माक्र्सवादका मुलभूत कुरालाई कसरी जोगाउने हो ? यस्ता सवालमा जति ‘डाइनामिक चिन्तन’ हुनु पर्ने जति देख्दैनन् । विचारलाई जोगाउनेहरू त छन्, तर अगाडि लिएर जान सक्ने क्षमता चाहिँ ती घटक वा समूहसँग पनि उनी देखिरहेका छैनन् ।
त्यसको कारण खोतल्दै लेखक संग्रौला विचार गर्छन्– नेपालमा चेतनाको विकास दिगो ढंगले भएको जस्तो लाग्दैन । खाली उत्तेजना, आवेगको भरमा साथीभाइको लहैलहैमा क्रान्तिकारीहरू लर्को लागे । गहन दार्शनिक, वैचारिक अध्ययन भएजस्तो पनि देखिँदैन । राजनीतिक परिवर्तन भनेको मूलतः एउटा सांस्कृतिक परिवर्तनको लागि जीवनशैलीको परिवर्तनको लागि हो भन्ने बुझिएको पनि कहीँ थाहा छैन । अनि अचेल उनी स्वयम्लाई नै के लाग्छ भने, उनले अनुवाद गरेका त्यतिधेरै पाठक, उनका मौलिक कृतिका प्रशंसक थिए, ती सब हराए । भएकाहरू पनि कोही खड्गप्रसाद, कोही पुष्पकमल बोकेर हिँडेका छन् । कोही जागिरको दाउमा छन् । कोही ‘डब्ल्यू टी’ भनेर होलटाइमर (पूर्णकालिन कार्यकर्ता) नभई ‘होलटाइमर ठग’ भएका छन् । यो सबै हेर्दा उनलाई ठूलो विडम्बना अनुभव हुन्छ ।

खगेन्द्र संग्रौला


एक समय आफूले अनुवाद गरेका किताब पढेर क्रान्तिकारी भएकाहरू भेट्दा उनलाई बडो गौरव लाग्थ्यो । तर तिनै मनुवा कालान्तरमा दक्षिणपन्थी प्रतिक्रियावादी भएको देख्दा उनी आफैंसँग प्रश्न गर्छन्, ‘के लेखेछु, के अनुवाद गरेछु ? अथवा हाम्रो पठन प्रक्रिया नै गलत भो कि ? कि त सबै कुरा हिड्दै छ पाइला मेट्दै छ भन्या जस्तो भो ?’ मनमा यस्तै केके लागिरहन्छ उनलाई ।
आख्यानकार ढकाललाई त्यस्ता पुस्तक र सम्बन्धित आन्दोलनबाट ग्रहण गरेको प्रभावलाई नै समीक्षा गर्न चाहन्छन् । उनी आफूलाई ‘हङ्ग्री जेनेरेसन’बाट प्रभावित हुँदै माक्र्सवादी आन्दोलनमा आएको मान्छन् । तर आज विचार गर्दा त्यति प्रभावित हुनु पर्ने कुरा रहेनछ भन्ने पो लाग्छ उनलाई । अहिले किन लाग्छ त त्यस्तो ? जवाफमा भन्छन्, ‘आज यसो हेरेको, जे कुरामा म प्रभावित थिएँ, त्यो सतही रहेछ जस्तो लाग्यो । किनभने क्रान्तिको स्वरूप नेपालमा मात्रै होइन, संसारभरी नै फेरियो । सोभियत संघ ढल्यो, पूर्वी युरोपले बाटो फे¥यो । चीन रातो पूँजीवादतिर लाग्यो । तर म आज पनि समाजवादी नै हुँ । क्रान्तिबाटै समाजवाद सम्भव छ भन्नेमा विश्वास छ ।’

जागरणको कुरा
युरोपीय सभ्यतामा ‘रेनेसाँ’ अर्थात ठूलो बौद्धिक जागरण काल आयो । त्यो कालमा त्यहाँ ठूला वैज्ञानिकहरू जन्मे, बौद्धिकहरू, लेखकहरू जन्मे । विचारहरू जन्मे । ठूलो शास्त्रार्थहरू भए । पुराना सडेगलेका कुराहरू फालिए, नयाँ कुराहरूको खोजी गरिए, स्थापना भो । त्यसले मान्छेको चरित्र, जीवनशैली र मनोविज्ञानमा धेरै गहिरो छाप छोडेर गयो । हाम्रोमा ? लेखक संग्रौला भन्छन्, ‘अहँ ! हामीकहाँ त्यस्तो नवजागरण आन्दोलन केही पनि भएन । यसो सम्झँदाखेरि त्यही हनुमान चालिसा, त्यही मनुस्मृति ! हामीलाई गहिरो छाप त यस्तै केके रहेछ हगि ?’ तर समय सधैँ एउटै रहँदैन । नेपालमा पनि त्यस्तो पुनःजागरणको युग आउने उनको विश्वास छ । उनको विचारमा कुनै पनि देश पिछडिएको, अज्ञान वा विवादित अवस्थामा सधैँ रहँदैन । कि त्यस्तो देशलाई छरछिमेकका बलिया देशले निल्छन्, कि बौद्धिक–सांस्कृतिक जागरण भएर तिनको व्यापक एकता हुन्छ । तिनले देशलाई बनाउँछन्, बचाउँछन् । प्रश्न कहाँनेर आउँछ भने, नेपाल भौतिक रुपमा आफैं बलियो छ वा आफैं बलियो नभए पनि ठूला भीमकाय देशहरूको बीचमा भएको हुनाले पनि जोगिन सजिलो छ । नेपाल चाहिँ नेपालीले नभएर भारतीय र चिनियाँहरूले जोगाइदिन्छन् । भारतले अतिक्रमण गरे चीन खनिन्छ, चीनले गरे भारत । त्यसरी नेपाल बचेको हो । तर नेपालीहरूले गफ गरेजस्तो हामी वीरका सन्तान भन्दैमा भएको चाहिँ केही होइन । जुन देशको अवस्था बाह्रै महिना मागिखानु सिवाय केही नभएपछि त्यो केको सुरवीर ? केको उद्यमशील ?

निनु चापागाईं


नेपाली आख्यान तथा स्तम्भ लेखनमा खरो शैलीको पहिचान बनाएका उनी भन्छन्, ‘क्रान्ति कालमा चम्किलो रातो तारा होस् वा युवाहरूको गीत, पढ्न त पढिए । तर अलिअलि त्यस्ता किताब पढिदैमा कहाँ पुग्छ ? हामीकहाँ अहिलेसम्म नवजागरण आन्दोलन पनि भएन, औद्योगिक क्रान्ति पनि भएन । विश्व सभ्यतामा भएका चीजहरू सांकेतिक रूपमा केही न केही आए तापनि पुराना पिछौटे अवस्थामा छौँ, परम्परागत कृषिमा छौँ हामी अझै पनि । अब छुवाछुत जस्तो तुच्छ कलंक नेपालमा अझै छँदैछ । महिलाहरूलाई बोक्सीको बात लगाउनेदेखि अनेक किसिमका विभेद पनि छँदैछ । अनि राजनीतिमा यो दक्षिणपन्थको खाँडो जाग्दै गएपछि यी विकृतिहरू झन् सशक्त रूपमा आएका छन् । त्यसैले के लाग्छ भने नेपालमा अर्को कुनै सन्दर्भमा क्रान्तिको छाल आउला ।’ विगतमा भएका क्रान्तिका कमीहरूबाट क्रान्तिकारीहरूले शिक्षा लेलान् भन्ने आशा छ उनलाई । त्यसैले अब नेपाल राम्रो हुन्छ भन्ने आशावादी कुरामात्रै हैन, वास्तविक कुरा हो भन्ने उनलाई लागिरहन्छ । तर यो छिटो हुनेवाला पनि छैन, भगवानले बनाइदिनेवाला पनि छैनन् । मान्छेले बनाउने हो । अहिलेकै परिस्थितिमा हेर्दा चाहिँ धेरै आशालाग्दो स्थिति धेरै ठाउँमा देख्दैनन् उनी । संग्रौलाकै भनाइमा सहमत छन् नेता राम कार्की पनि । नेपालमा परम्परा, इतिहास र ज्ञानको धरोहर असाध्यै कम भएको उनलाई पनि लाग्छ । उनका अनुसार यसको केही ऐतिहासिक कारण पनि छ । बुद्धकै ज्ञानबाट पनि नेपाल लाभान्वित हुन सकेन । भनिन्छ कि धेरै बुद्धमार्गीहरूलाई समाप्त पारियो, सिध्याइयो, मारियो । जनकपुरको सभ्यता संस्कृतिबाट नेपालले कहिल्यै ज्ञानको विषय बनाएन । काठमाडौंको कला–संस्कृति कहिले पनि हाम्रो अध्ययनको विषय बनेन । कहिले पनि यस्ता ज्ञानको भण्डारलाई वैधता प्रदान गरिएन । विदेशबाट आएका चिजलाई मात्रै प्रोत्साहित गरियो । त्यसले गर्दा नेपालमा नेपाली जनताको मनोविज्ञान एकदम अतिवादमा जाने देखियो । जस्तो अहिले कोही पनि पढ्दैनन्, ती चाहे कांग्रेस हुन् वा कम्युनिष्ट । ‘आइडोलोजिकल पोलिटिक्स’लाई कसैले वास्तै गर्दैन । अलिक पढ्ने–लेख्ने मानिसलाई अहिले काम नलाग्ने ठहर गरिन्छ । तर त्यसले संकट अवश्य जन्माउँछ । त्यसैले केही समय पछि पढ्ने संस्कृति फर्किनेमा उनी विश्वस्त छन् । अबको एक दशकभित्रै फेरि अध्ययनको संस्कृति आउनेमा उनी आशावादी छन् । ‘अहिले भने जुन अवस्था छ, यसमा स्वभाविक रूपले नेताहरूको विचलन, आचरणलगायत तमाम चिजले त काम गरेकै छ’, उनले भने ।

शार्दुल भट्टराई

ओझेलमा लेखक, विजोगमा क्रान्ति !
मन्त्री आङ्बोले पटक पटक चीन भ्रमणमा गए पनि यी लेखकको बारेमा कतै चर्चा सुनेनन् । क्रान्तिलाई यस्तो उर्जा दिने किताब र लेखकबारे किन सुनिएन होला त ? उनी यसो गम्छन्, ‘जो लेखक क्रान्तिमै प्रत्यक्ष संलग्न थिए वा छन्, उनको बढी चर्चा भइरहने रहेछ । सायद उनका बारे चीनमै पनि उस्तो चासो भएजस्तो मलाई लागेन । उनको किताब पढेर संसारमा धेरै ठूला क्रान्ति भएका छन्, परिवर्तनहरू आएका छन् भन्ने हिसाबले उनकै मुलुकले बाहिर ल्याउन चाहेको राम्रै हुन्थ्यो होला ।’ तर चीन त्यो क्रान्तिकालबाट छलाङ मारेर धेरै अगाडि आइसकेको छ । त्यो समय र आजको चीनको अन्तरले पनि त्यस्तो भयो होला भन्ने उनलाई लाग्छ ।
चीन भ्रमण गएका पाहुनाहरूलाई त्यहाँ भएको कम्युनिष्ट आन्दोलन, क्रान्तिकालीन कलाकार, लेखकहरूबारे प्रवचन नै दिन्छन् चिनियाँहरू । तर यो किताब र लेखक लि शिन–तियन उनीहरूको सूचिमा नपाइएको उनले अनभव गरेका छन् ।
जुलाई तीन लेखकको दोस्रो स्मृति दिवस थियो । उनकै किताब पढेर क्रान्तिमा लागेका, क्रान्ति हाँकेका कसैलाई पनि लेखकबारे खासै चासो भएको पाइएन । उनको मृत्युबारे कतै समाचार बनेन । उनलाई सम्झेर एक थुंगा फूल चढाइएन । किताबका नेपाली अनुवादक सिताराम तामाङले भने चिनियाँ टेलिभिजनमा मृत्युको खबरसम्म छ्यास्स थाहा पाएका थिए । तर, उनले पनि त्यस घटनाबारे कतै चर्चा गरेनन् ।
त्यसो त चम्किलो रातो तारा पढेर क्रान्तिमा लामबद्ध हुनेहरू नै आज कहाँ गायब छन् या कहाँ पुगेका छन्, खोज्नुपर्ने भएको छ । कमला नहर्की आफैंसँग प्रश्न गर्छिन्, ‘हिजोको नैतिकता, आदर्श कहाँ गयो ?’ अहिले विनास्वार्थ कसैले केही गर्दैन । उनलाई लाग्छ, के हामीले सिकेको आदर्श गलत थियो ? हामीले सिकेको राजनीति अब काम लाग्दैन ? यिनै अनुत्तरित प्रश्न मात्र छन् उनी र उनका सहयोद्धाहरूसँग । सोच्छिन्, विचलनतिर मोडिएको यो परिवेशमा कतै मेल नखाने भएरै होला हाम्रा अध्ययन संस्कार पनि हराउँदै गएको त होला ।

सीताराम तामाङ, अनुवादक

पाठ्यक्रममा प्रस्ताव
चम्किलो रातो तारा पढेर क्रान्तिमा लागेका मान्छेहरू त वास्तवमा आमूल परिवर्तनकै लागि हिँडेका थिए । आख्यानकार मुकारुङ भन्छन्, ‘जो हिँडेका थिए, ठूलो सपना देखेरै लागेका हुन् । अहिले पनि सीमित नेताहरूले त्यो सपना सम्झिरहेकै होलान् । बाँकीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गरे । तर फेरि पनि मुलुक–समाजलाई नै परिवर्तन गर्न भनेर देखेको सपना त अधुरै छ ।’
ती क्रान्तिकारीहरू धेरै त अहिले रेमिट्यान्स कमाउन विदेश गएका होलान् । जे भए पनि ‘चम्किलो रातो तारा’ले देखाउने भनेको त सपना नै हो । त्यो पुस्तक पढेपछि बन्दुकै नबोके पनि सामाजिक रूपान्तरणमा केही न केही भूमिका निर्वाह गर्छु भन्ने सपना बन्छ । त्यो अहिले एक हिसाबले ध्वस्त भएको छ । अहिलेको दलाल पूँजीवादी प्रणालीका कारण त्यस्तो भएको हो । तर सपनाचाहिँ जीवितै छ, जो प्रकट भइरहेकै छ र भविष्यमा पनि हुनेमा उनी विश्वस्त छन् ।
हामीकहाँ अझै पनि भक्तिगान, प्रशस्तीगानले भरिएकै किताब बढी विद्यार्थीलाई पढाइने गरेको आख्यानकार मुकारुङले पाएका छन् । उनको विचारमा त्यस्ता किताबको चाङ लगाए पनि दास हुन मात्रै सिकाउँछ । त्यसैले चिनगिज आइतमातोभको ‘प्रथम गुरु’ र लि शिन–तियन ‘चम्किलो रातो तारा’लाई विद्यालयको पाठ्यक्रममै राखिदिने हो भने हाम्रा बालबालिकालाई रचनात्मक बनाउँछ भन्ने उनको धारणा छ । भन्छन्, ‘यस्ता किताबले बालबालिकालाई स्वप्निल बनाउन सघाउँछ । तर पाठ्यक्रम बनाउनेहरूले यस्तो कुरा सुन्न चाहँदैनन् ।’ पाठ्यक्रममा राखेर पढाएदेखि यस्ता किताबले बालबालिकालाई उर्जाशील बनाउनेमा नहर्की पनि सहमत हुन्छिन् । भन्छिन्, ‘मेरो बच्चालाई अलिक बुझ्ने भएपछि आफैँ पढ्न दिन्छु । सबै नानीहरूलाई पढाए फाइदै हुन्छ यस्तो किताब । यस्ता किताब पढेर बन्दुक नै बोकिहाल्ने भन्ने होइन नि । समाजमा विद्यमान कुशासन, कुविचारका विरुद्ध बोल्न सक्ने, लड्न सक्ने पुस्ताको आवश्यक छ, जुन सपना यस्ता किताबले देखाउँछन् ।’
०००