राजकुलोसँगै पाटनको धर्ती ब्युँतिदै छ

राजकुलोसँगै पाटनको धर्ती ब्युँतिदै छ

अशोज ५, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्


परम्परागत आहान थियो, किसानको छोरा किसान नै । तर चिरिबाबु महर्जनले प्रचलित भनाइलाई तोडे । उनलाई आफ्नै समाजसँग पनि अलिक फराकिलो ढंगले जोडिन मन लाग्यो । टोल समाजका बासिन्दा लागि केही न केही गर्नु पर्छ भन्ने उनलाई सानैदेखि लाग्थ्यो । हुर्किदै गए, उनको सोचको दायरा विस्तार हुँदै गयो । चिरिबाबु सामाजिक काममा अग्रसर हुँदै गर्दा अलिअलि देशको शासकीय व्यवस्थाप्रति पनि चिन्तन गर्ने भइसकेका थिए । तात्कालिक राजा वीरेन्द्रले वि.सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए । वि. सं. २०३७ बैशाख २० गते सम्पन्न जनमत संग्रहमा बहुदल हारेर सुधारिएको पञ्चायत आयो ।

  • यहाँका मठ मन्दिर, ढुंगेधारा संरक्षण र सरसफाई उनकै नेतृत्वमा युवाहरु जुटिराख्थे । जात्राहरुमा हिड्ने नागरिकलाई सजिलो होस् भनेर बिग्रेभत्केको बाटोघाटो मर्मत, सरसफाई जारी हुन्थ्यो । बिरामी परेकाहरुलाई अस्पतालसम्म पु-याउने पहिलो हात पनि प्रायः उनकै हुन्थ्यो । सामाजिक कार्यले चिनिएका उनलाई विस्तारै राजनीतिमा पनि रुचि जाग्यो । ललितपुर महानगरपालिकाको प्रमुखको जिम्मेवारीसम्म उनको यही स्वभावले डोहो-यायो ।

त्यो बेलासम्म उनी सामाजिक काममा सक्रिय थिए । उनी स्थानीय जनतासँग राम्रैसँग चिनिएका थिए । यहाँका मठ मन्दिर, ढुंगेधारा संरक्षण र सरसफाई उनकै नेतृत्वमा युवाहरु जुटिराख्थे । जात्राहरुमा हिड्ने नागरिकलाई सजिलो होस् भनेर बिग्रेभत्केको बाटोघाटो मर्मत, सरसफाई जारी हुन्थ्यो । बिरामी परेकाहरुलाई अस्पतालसम्म पु-याउने पहिलो हात पनि प्रायः उनकै हुन्थ्यो । सामाजिक कार्यले चिनिएका उनलाई विस्तारै राजनीतिमा पनि रुचि जाग्यो । ललितपुर महानगरपालिकाको प्रमुखको जिम्मेवारीसम्म उनको यही स्वभावले डोहो-यायो ।
०३६ सालको जनमत संग्रहमा उनी र उनका साथीहरु बहुदललाई जिताउन लागी परे । उनको वडामा ९० प्रतिशत मत बहुदल अर्थात् निलो रंगमा खस्यो । यद्यपी मुलुकभरी खसको मतका आधारमा पञ्चायतले नै जित्यो । वडाबासीले उनलाई वडाध्यक्षमा उठ्न आग्रह गरे ।

पिम्बहाल पोखरी (जग मदु पुखु) । तस्बिरः शकुन्तला जोशी

उनी सम्झन्छन्, ‘तिमी निरन्तर यही समाजका लागि काम गर्दै आएको मान्छे । पदमा बसेरै सेवा गर्नुमा धेरै फरक हुन्छ । चुनाव लड, जिताउने जिम्मा हाम्रो भो ।’ जनताले यत्रो अनुरोध गरेपछि, नकार्ने कसरी ? २०३८ सालको स्थानीय निर्वाचनमा उनी भारी मतले वडाध्यक्षमा विजयी भए । समय बित्दै गयो, २०४६ सालमा बहुदल आयो । ०४७ सालमा उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए । नगर पञ्चायतका उनीसहित १२ जना वडाध्यक्षले पदबाट राजिनामा दिएर बहुदलको पक्षमा लागे । स्थानीय निकायको स्वरुप पनि नगरपञ्चायतबाट उपमहानगरपालिका बन्यो ।

  • महर्जनको बाल्यकाल संघर्षपूर्ण रह्यो । उनी चार वर्षको हुँदै उनका बुबाको मृत्यु भयो । उनीहरुसँग गरिखान खेत त थियो । तर उनलाई पढेर केही गर्न मन थियो, पैसा थिएन ।

त्यसपछि पनि उनी वडाध्यक्ष भए । २०५१ भाद्र २५ गते ललितपुर महानगरमा ज्यापुः समाज स्थापना गरे, जसको माध्यमबाट आफ्नो समुदायमा उनले थप सेवाको अवसर पाए । त्यसको संस्थापक सदस्य उनी हुन् । यो सांस्कृतिक सम्पदाले भरिपूर्ण महानगरको मेयर बन्न उनलाई ती पृष्ठभुमिका कारण खासै गाह्रो परेन । वडाध्यक्षकै रुपमा ललितपुर खासगरी पाटनबासी जनताको मन जितेका उनी २०७४ सालको स्थानीय निर्वाचनमा महानगर बनेपछि ललितपुरको नगरप्रमुखमा निर्वाचित बने ।

विश्वनाथ मन्दिर, पाटन । तस्बिरः शकुन्तला जोशी


संघर्षले सिकाएको बाटो
‘मानिसले आफ्नो जमिन कहिल्यै बिर्सनु हुँदैन ।’ यो उनको जीवन मन्त्र हो । यो ज्ञान उनलाई आफ्नै संघर्षपूर्ण वाल्यकालले सिकायो । महर्जनको बाल्यकाल संघर्षपूर्ण रह्यो । उनी चार वर्षको हुँदै उनका बुबाको मृत्यु भयो । उनीहरुसँग गरिखान खेत त थियो । तर उनलाई पढेर केही गर्न मन थियो, पैसा थिएन । जसोतसो पढ्दै थिए । मिनपचासको विदामा उनी भिनाजुको कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यो पैसाले उनी पोशाक, किताब, कापीकलमको जोहो गर्थे ।
जहाँ इच्छा, त्यहाँ उपाय ! पैसा पो थिएन, पढ्ने इच्छा र क्षमता उनीसँग तिब्र थियो । उनको प्रतिभा र अवस्था देखेर ज्ञानोदय बालबाटिकाका फाउन्डर प्रिन्सिपल इन्द्र याक्थुङ्बाले ६ कक्षादेखि १० कक्षासम्म अध्ययन खर्चको व्यवस्था गरिदिए । त्यसपछि उनले पढाई खर्चकै लागि काम गर्नु परेन, ढुक्कले पढे, कक्षामा उनले दोस्रो स्थान टेक्नु परेन । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरे । त्यसैबीच उनले धेरै वर्ष त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परियोजना व्यवस्थापकका रुपमा काम पनि गरे ।
ललितपुर सम्पदा नगरी हो । यसलाई ललितकला नगरी भनेर पनि चिनिन्छ । यहाँ हरेक दिन जात्रामय, पर्व, उत्सव, नाँच इत्यादि भइरहेको हुन्छ । यी सबैको सम्मिश्रण हो ललितपुर । ललितपुरको जुन सांस्कृतिक वैभव, इतिहास छ, यहाँ सम्पादन हुने यहाँको जुन धार्मिक, सांस्कृतिक मठमन्दिर, कला भवनलगायत तथा यससँग जोडिएका क्रियाकलाप, गतिविधि छन् । उनी भन्छन्, ‘सम्पदा नै हाम्रो पहिचान हो । यी मूर्त तथा अमूर्त सम्पदालाई अक्षुण राख्नु पर्छ भन्ने उनको मान्यता छ यी एकार्कासँग जोडिएको कारणले यी दुवै क्षेत्रलाई सकिन्छ, थप प्रर्वधन गरौं, नसके यहाँभन्दा कम नहोस् भन्ने प्रयत्न महानगरपालिकाले गरिरहेको छ ।’

मणी मन्डप (१७ औं शताब्दीमा बनेको पाटी), पाटन । तस्बिरः शकुन्तला जोशी

तीनसय वर्ष पुरानो मन्दिर पुनःनिर्माण
पाटनको भिमसेन मन्दिर नगरपालिकाकै पहलमा पुनःनिर्माण हुँदैछ । यो मन्दिर ३ सय वर्ष पहिले श्रीनिवास मल्लको पालामा बनेको भन्ने अभिलेख छ । मन्दिर निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको छ । यहाँका बासिन्दामा यो मन्दिरको विशेष महत्व छ । महर्जन चुनावमा जितेर आइसकेपछि यस क्षेत्रका चार ओटा मन्दिर नेपाल सरकारले सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्कापट्टामा लगाएका थिए । उनी भन्छन्, ‘ठेक्कामा लगाएपनि काम अघि बढेन । हाम्रो एउटा सांस्कृतिक मान्यता छ कि मठ मन्दिर, शिवालय, देवालय निर्माण वा पुनःनिर्माण गर्न चाहिँ ठेक्कापट्टा गर्नु हुन्न । यही मान्यतालाई मैले प्रधानमन्त्रीसम्म पु-याएँ । त्यसपछि यी सम्पदाको हकमा रू. १० करोडसम्मको काम गर्न टेन्डर गर्नु नपर्ने ऐन सरकारबाट आयो ।’ त्यो ऐन आउनुभन्दा अगाडी नै भिमसेन मन्दिर भुकम्पका कारण साढे तीन इन्च ढल्किसकेको थियो, पुनःनिर्माण गर्न स्थानीयबासीको अनुरोध आयो । उनले कम्मर कसे, ‘नेपाल सरकारको बजेट लिन ठेक्कापट्टा गर्नै पर्छ, हामी मन्दिर आफ्नै स्थानीय पहलमा किन नबनाउने ? एउटा नमूना काम पनि हुन्छ ।’


उनको अग्रसरतामा बनेको टोलीले सरकारसँग पुनःनिर्माणको अनुमति मात्रै लिए, बजेट लिएनन् । लगत ४ करोड ९३ लाख रुपैयाँ लागत निस्कियो । स्थानीयबासी तथा ललितपुर चेम्बर अफ कर्मश एण्ड इन्डिष्ट्रिजसँग सहकार्य गरे । उनले त्यसको नेतृत्व चेम्बर अध्यक्ष कृष्णलाल महर्जनलाई गर्न लगाए । चन्दा संकलन गर्ने उद्देश्यले बसेको सो बैठकमा आवश्यक लागत उठ्यो । ललितपुर महानगरपालिकाको तर्फबाट १ करोड सहयोगको उनले घोषणा गरे । उनी भन्छन्, ‘आँटेपछि जसरी पनि गरिन्छन । एभरेष्ट बैंकले १ करोड रुपैयाँ दिने भयो । नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले व्यक्तिगत तर्फबाट ५० लाख रुपैयाँ र बैंकको तफबाट ५० लाख गरी १ करोड रुपैयाँ दिने घोषणा गरे । अन्य उपस्थितले पनि दान दिए । यसरी नेपाल सरकारसँग दुई रुपैयाँ पनि नलिई मन्दिर निर्माण भइरहेको छ ।’
मन्दिर उपत्यकाका नेवार समुदायका लागि ठूलो महत्वका मानिन्छ । यहाँका नेवारहरुले आफुनो व्यापार व्यवसाय शुरु गर्नु अघि पूजा गरेर शक्ति माग्ने मन्दिर मानिन्छ । धेरै मान्छेको झुकाव भएको मन्दिर हो । झिगटी छाना लगाउन बाँकी छ । अन्य मन्दिरहरु पनि पुनःनिर्माण हुँदै छन् ।

भिमसेन मन्दिर । तस्बिरः शकुन्तला जोशी


जात्रा, पर्वहरुमा हुने विभिन्न सांस्कृतिक नाच निरन्तरताका लागि अक्षयकोष खडा गर्न महानगरका तर्फबाट १ करोडको बजेट छुट्याइएको छ । पाटन दरबार सामु कार्तिक डबलीमा मञ्चन हुने कार्तिक नाचका निम्ति ५० लाख रुपैया, खोकनाको रुद्रायणी नाँचका निम्ति २५ लाख र हरिसिद्धिको हरिसिद्धि नाच संरक्षणार्थ २५ लाख रुपैयाँको अक्षय कोष व्यवस्था महानगरपालिकाले गरेको छ । साथै हरिसिद्धिमा रहेको रुद्रायणी मन्दिरको पनि पुनःनिर्माण गरिएको छ । नगरप्रमुख महर्जन भन्छन्, ‘यहाँ हामीले गर्दागर्दै अझ गरिनु पर्ने कार्य धेरै छन् । संस्कृति जर्गेना, संवर्धनमा हाम्रो क्षेत्रका स्थानीय नागरिक आफैंमा निकै सचेत छन् । महानगरपालिकाले सांस्कृति जात्रा, पर्व, सम्पदा संरक्षणमा गरिनु पर्ने यस्ता पहल भोलीका दिनमा पनि जारी हुने छ ।’
महानगर क्षेत्रभित्र धार्मिक तथा सांस्कृतिक महत्वका ऐतिहासिक पोखरीहरु छन् । पाटन क्षेत्रभित्रका पिङ्गबहाल, पूर्णचन्द्र पुनःनिमार्ण गरियो । बुङमतिको डे पुखुः (देशकै पोखरी), पो पुखुः नयाँ जीवन प्राप्त गरिसकेको छ । त्यस्तै लगनखेलमा निकै ठूलो क्षेत्रफलको न्हूः पुखुः (नयाँ पोखरी)को काम जारी छ ।

  • राजकुलो ब्युँताएर यी ढुंगेधारा र पोखरीले पुनःजीवन दिने गुरुयोजना नै छ । पाटनतिर ल्याउने क्रममा हाल सुनाकोठी नजिकसम्म ल्याइसकिएको छ ।’ यी लिच्छविकालिन राजकुलो गोदावरी नगरपालिकाको टीकाभैरवदेखि ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रसम्म फैलिएको छ ।


मासिदै गएको सम्पदाको उत्खनन, पुनःजीवन दिने काम पनि हाल नगरपालिकाले गर्दै आएको छ । सातदोबाटोस्थित नेपाली सेनाको तालिम केन्द्र नजिक रहेको सप्तपाताल पोखरी अहिले फोहोरले भरिएको छ । अस्तित्व नै हराउँदै जान लागेको पोखरीलाई नगरपालिकाले जीवन दिने कार्य थालेको छ । ३० रोपनी क्षेत्रफलमा फैलिएको पोखरी नेपाली सेनाको लालपूर्जामा छ । पोखरी सेनासँग फिर्ता लिने सम्झौता पनि नगरपालिकाले गरिसकेको छ । ‘ब्लू एण्ड ग्रीन प्रोजेक्ट’का रुपमा पुनःनिर्माणका लागि डीपीआर गराइरहेको नगरपालिकाले पोखरीमा कमलको फूल फूलाउने योजनासमेत राखेको छ ।

पूर्णचण्डी मन्दिर, गाबहाल । तस्बिरः नारायण नेपाली


पाटन पुरानो नेवार समुदायको रैथाने शहर हो । यी शहरभित्र दर्जनौंको संख्यामा चोक, सत्तलहरु हुन्छन् । ती चोक, सत्तलहरुमा प्रायः जेष्ठ नागरिक र बालबालिका भेला हुने सुस्ताउने गर्दथे । तर, बसोबास बाक्लिदैं जाँदा परम्परागत चोक, सत्तलहरु मासिने क्रम बढ्यो । हाल नगरपालिकाले सबै गल्ली चोक, सत्तलको पुनःनिर्माण गरिसकेको छ । अहिले ७० ओटा पाटी, पौवाको पनि संबद्र्धन गरिएको छ ।

ब्यूझिँदै राजकूलो
विकासका नाममा प्राकृतिक वस्तुहरु मासेर कृत्रिम बनाउने प्रचलन बढ्दो छ । पोखरीहरुलाई सिमेन्टेड गर्ने, परम्परागत घर, वा मन्दिर मासेर आधुनिक बनाउने यस्ता कृत्रिम विकासको जनस्तरबाट सम्बन्धित निकायहरुले चर्को विरोध पनि खेप्दै आएका छन् । तर, ललितपुर महानगरका मेयर महर्जन भने प्राकृतिक सम्पदाहरुमा सिमेन्टेड गरेर कृत्रिमता दिने शैली र सोचको विरोधी हुन् । सम्पदाको संरक्षण र आवश्यकता अनुसार पुनःनिर्माण गर्ने हो, न कि विकासको नाममा कृत्रिमता दिनु । विकास भन्ने वित्तिकै सिमेण्ट लगायो, वाटरप्रुफ लगाइदियो, देख्नमा चिटिक्क पर्छ । तर, त्यो सम्पदा संरक्षणको मेथोडोलोजी ठीक भएन । न त्यो पर्यावरणमैत्री नै हुन्छ । त्यस्तो माध्यमबाट पानीको मुहान भएका पोखरीहरु सिपेज हुँदैनन्, पुनःसिंचित पनि हँुदैन । ‘रेन वाटर हार्भेटिङ’ पनि हुन पाउँदैन । त्यति मात्रै हैन, त्यही पानी ‘सिपेज’ भएर त्यससँग जोडिएका ढुंगेधारा, कुवाहरुमा रिचार्ज हुन्छ ।


कुनै समय पानीका मुहानहरुले भरिएको पाटन क्षेत्र पछिल्ला दशकहरुमा काकाकुल शहर बनेको छ । ढुंगेधारा र इनारहरु सुके, कुवाको पानी भर्ने कुरा एकादेशको कथा जस्तै बन्यो । उपत्यकामा प्राकृतिक पानीको स्रोतको रुपमा राजकुलोहरु थिए । विकासका ‘डोजर’हरुले यस्ता प्राकृतिक स्रोतको जरा काटियो । चक्रपथ बन्ने क्रममा राजकुलोको साविक बाटो मासिएपछि शहरभित्रका पानीको मुलहरुले रिचार्ज हुन पाएनन् ।

मेयर महर्जन भन्छन्, ‘जरै काटिएपछि बोट मर्छ नै, ढुंगेधारा, इनार र कुवाको पनि जरा काटियो । राजकुलो ब्युँताएर यी ढुंगेधारा र पोखरीले पुनःजीवन दिने गुरुयोजना नै छ । पाटनतिर ल्याउने क्रममा हाल सुनाकोठी नजिकसम्म ल्याइसकिएको छ ।’ यी लिच्छविकालिन राजकुलो गोदावरी नगरपालिकाको टीकाभैरवदेखि ललितपुर महानगरपालिकाको पाटन दरबार क्षेत्रसम्म फैलिएको छ ।


अभिलेखहरुमा पाइए अनुसार पाटन क्षेत्रमा १ सय ४० ल्वँहहिति (ढुंगेधारा) र ६२ पुखु (पोखरी) भएको मेयर महर्जन बताउँछन् । यो शहरको मानव सभ्यतालाई बचाइराख्न अभिलेखमा मात्रै सीमित धेरैजसो यस्ता सम्पदालाई पुनःजीवन दिनुको विकाल्प छैन ।

सप्तपाताल पोखी, सातदोबाटो । तस्बिरः नारायण नेपाली

स्मार्ट सिटी
ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने अवधारणा छ । तर स्मार्ट सिटीका प्रावधान के के हुन् त ? संसारभरी १ सय १६ देशले स्मार्ट सिटीको अवधारणा र अभ्यासलाई आ–आफ्ना अनुकुलताका आधारमा विकास गरेका छन् । आफ्ना सांस्कृतिक पहिचानसहित स्मार्ट सिटीको अवधारणा विकास गर्नु पर्ने मेयर महर्जनको मत छ । उनी भन्छन्, ‘वास्तवमा संयुक्त राष्ट्र संघसँग पनि स्मार्ट सिटीको परिभाषा छैन ।

छिमेकी देश चीनमा स्मार्ट सिटीको अभ्यास निकै राम्रो देखिन्छ । फराकिलो सडक, साइकल लेन, सडक बत्ति, हरियाली पार्क र बगैंचाहरु छन् । अन्य सुविधाले उस्तै सम्पन्न । हामी पनि क्रमिक रुपमा सुविधा थप्दै लाने प्रयासमा छौं । यसैको एउटा पहल हो साइलक लेन निर्माण ।’ साइकल पर्यावरण तथा स्वास्थ्यमैत्री सवारी साधन हो ।

यसले धुलो, धुवाँ उत्पन्न नगर्ने, इन्धन नलाग्ने र प्रसस्त शारीरिक अभ्यास हुने हुुँदा साइकल चढ्न नगरबासीलाई प्रेरित गर्नु पनि पालिकाको लक्ष्य हो । प्रदेश र संघीय सरकारले हामीलाई साइकल लेन बनाएकोमा गाली गर्न बाहेक अरु केही सहयोग नगरेको पनि उनको भनाई छ । धेरै फराकिलो सडकमा यो लेन बनाइने भए पनि पालिकाले उपलब्ध सडकमा यसको अभ्यास गरेको हो ।

आउँदो वर्ष चक्रपथ र भित्री सडकमा पनि बनाउने योजना छ । तर यस सम्बन्धि ऐन बनिनसकेको हुँदा अलिक समस्या परेको पनि मेयर महर्जनको बताउँछन् ।
महानगरले सडक बत्तिहरु राखेको छ । दोस्रो चरणमा चक्रपथसम्म सडक बत्ति राख्ने पालिकाको तयारी छ । सडकमा बोटविरुवा रोपेर हरियाली पनि विस्तार भइरहेको छ । चाँडै नै विद्युतीय सवारी साधन चलाउने तयारी छ । शहरका भित्री बाटोहरुलाई ‘वान वे’ गर्ने कार्य पनि भइरहेको छ । एक वडामा एउटा जेष्ठ नागरिक घर (डे केयर सेन्टर) पालिकाले नै खोलेको छ । युवा तथा महिला लक्षित विभिन्न गतिविधि नगरपालिकाले अघि बढाइरहेको छ ।

०००