अनि बुबा रुनुभो

अनि बुबा रुनुभो

जेष्ठ ३०, २०७८ 1 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

वास्तवमा ती अक्षरहरू नै थिए मसिना फन्टमा उतारिएका । जसले मानिसको दिमागमा बिस्तारै कम्पन पैदा गर्थ्यो । समाज र जीवनप्रति अति सामान्य सोच, जीर्ण ‘पोस्चर’मा निरीह बाँचिरहेका ग्रामीण हृदय झङ्कृत हुन थाल्थ्योे । त्यो झङ्कार सारङ्गी, मुर्चुङ्गाको भन्दा भिन्न तर गाढा थियो, किनभने ती अक्षरहरू थिए । मानिसहरू महसुस गर्दै थिए, अँध्यारो गुफाजस्तो जीवनमा ‘पिन–प्वाइन्ट’ उज्यालो कहीँबाट चुहिरहेछ । ती साँच्चै आल्हादित थिए । जस–जसले पहिलोपल्ट शित टल्किरहेको धानको बिऊभन्दा नरम अक्षरलाई बिस्तारै सुम्सुम्याएका थिए । जीवनमै पहिलोपटक सबभन्दा प्रिय वस्तु हात परेकोमा बालकझैं मुस्कुराएका थिए । पटपटी चिरिएका खस्रा हातले टलक्क टल्किएका ‘ग्लसी’ पानाहरू ओल्टाइपल्टाइ गर्थे । चित्र र तस्विरहरू हेर्थे । अनि सशंकित आँखाहरू चारैतिर डुलाएर हतारहतार बुइँगलमा लुकाउँथे र खेततिर दौडिन्थे ।

स्कूलमा महेन्द्रमाला पढाइ हुने त्यो बेला केही सीमितसँग रामायण हुन्थ्यो होला । त्यसबाहेक पढ्नलाई संसारमा अन्य किताब वा सामग्री होलान्, यो कुराको ज्ञान कसैलाई थिएन । खासमा स्कूल पढ्ने नै कति नै पो हुन्थे र !

दिनभरी तिनको मन एकतमास भइरहन्थ्यो । कसैले घरको बुइँगलसम्म आँखा उठाएर त हेरेन होला ! त्यसपछि अँध्यारोको काखमा फलामको टुकीको सलेदो छोट्याएर धिपधिप प्रकाशमा किताबका अक्षर खुट्याउन थाल्थे । टुकीमा धुँवाका ऐंजेरु परिसक्थे । मटितेल सकिन्थ्यो अनि किताब फेरि बुइँगलमा घुसार्थे र सुत्थे । यसरी उज्यालोका किरण बिस्तारै पस्यो गाउँका मानिसहरूमा ।

यो कथा हो बुबा चित्रकुमार जोशीको l

स्कूलमा महेन्द्रमाला पढाइ हुने त्यो बेला केही सीमितसँग रामायण हुन्थ्यो होला । त्यसबाहेक पढ्नलाई संसारमा अन्य किताब वा सामग्री होलान्, यो कुराको ज्ञान कसैलाई थिएन । खासमा स्कूल पढ्ने नै कति नै पो हुन्थे र !
‘काला अक्षर भैंसी बराबर’ भएको समाजमा कसरी हुनु पठन संस्कृति ? बुबा भन्नुहुन्छ । राणा जुगमै जीवन खोपेको हुजरबाहरू थोरै धुलो र खरीपाटीमा के कसो गरी अवसर पाएका हुन् कुन्नी ? लेखापढी गर्नुहुन्थ्यो । छरछिमेकका मलाया भर्ती भएका छोराहरूको चिठी–चपेटा पढिदिने, जवाफ लेखिदिने महाजनकोमा पच्चिसा उपलब्ध गराइदिन गाउँका दुःखीयाहरूका लागि हस्ते लेखिदिने यस्तै केही काम गर्नुहुन्थ्यो हजुरबाहरू । सिवाय, साराका सारा गाउँ औंठा छाप ।

चित्रकुमार जोशी युवाकालमा

निरक्षर गाउँलेहरू चण्डाल महाजनहरूको जालमा फस्नु औंठा छाप काण्ड काफी हुन्थ्यो । १० पाथी कुहिएको कोदोमा घरबारी बन्दकी लेखेको पत्तो नपाइ ती उखेलिन्थे आफ्नो जराबाट । त्यो वर्गको दबेको आवाज हमेसा सुनिँदैनथ्यो । बरु, ती भासिन्थे भारतको कोइला खानी वा कतै कालापानी हेलिन्थे । ती कि त फर्कन्थे काँधमा सन्तोष रेडियो भिरेर कि उतै हराउँथे । अनि भित्रभित्रै शोकले धमिरा लाग्थ्यो तिनका आमाका छाती । दौंतरीमाझ कथाका हराएका पात्र हुनेहरू बढ्दै जान्थे गाउँमा । होइन, गाउँ नछाड्नेहरू जोतिरहन्थे हलो अरूको टारीखेतमा । झारिरहन्थे पसिना अरूकै भागमा र भर्थे माना–मुरी अरूको ढुकुटीमा । उमेरभन्दा निकै चाँडै चाउरिएका ती जवानहरू बाउ–बाजेको जुनी देखेर विरक्तिन्थे र भन्थे ‘गरीबको जुनी साह्रै नहुनी…’ मात्र सुस्केरा काढ्नुबाहेक विकल्प थिएन तिनीहरूसँग । उनीहरूको सपना अलिलिमाथि उठ्थ्यो त मलाया भर्ती हुन पाए… । त्यस्तो अवसर सबैका निम्ति थिएन ।

ती किताबका अक्षरहरू नै थिए जसले मानिसहरूमा नयाँ सपनाको अंकुरण गरेको थियो । कोल्टिएको पिँढीबाट मानिसका सपनाहरू बिस्तारै चौडा आँगनमा फैलिँदै थिए । यसरी गाउँका जनतालाई चेतना प्रवाह गर्नुपर्छ, जीवन र समाजप्रतिको दृष्टिकोण बनाउने आधार दिनुपर्छ । त्यसका लागि जनतामा राजनीतिक संगठन र ज्ञान दिनुपर्छ भन्ने मेरो बुबाको विचार थियो । बुबाले ती सबको पहिलो माध्यम किताबलाई बनाउनु भो । देशमा प्रजातन्त्र आएको झण्डै एक दशकपछि जन्मनुभएको उहाँले राणाशासन भोग्न पाउनु भएन । तर भुक्तभोगी पिताजी (हजुरबा)को मुखबाट त्यो समयकालको दमन, शोषणबारे धेरै कुरा सुन्नुभएको थियो । पञ्चायतकालीन आफ्नो समय पनि राणाशैलीको व्यवहार हुने गरेको थियो । सामान्य साक्षर हजुरबा भनिरहनुहुन्थ्यो– एउटा भाको छोरा अरूको रगडगमा नपरोस् भनेर दुःखमा पनि पढ्न पठाएँ । विद्यार्थीकालमै जम्मा १७ वर्षे उमेरमा महेन्द्रमाला भन्दा अघि बढेर पहिलोपल्ट ती अक्षरहरू पढ्न पाउनु भएथ्यो । तिनै अक्षरहरूले बुबामा वर्गीयचेत भरिदियो ।

जनतामाझ गइरहँदा बुबालाई लाग्यो– रातभरि जाग्राम बसेर ‘कन्भिन्स’ गरेको भन्दा एउटा किताब पढ्न दिँदा जनतामा मार्क्सवादको दीगो प्रभाव रहन्छ । तलब आएपछि बुबा धरानतिर झर्नुहुन्थ्यो, हजुरबाको पसलका सामान लैजाने बहानामा उहाँ धरान छाता चोकको पूर्वक्षितिज पुस्तक पसलबाट किताब किनेर लानुहुन्थ्यो ।

जंगलको बाटो हुँदै
२०३३ सालको कुरा थियो त्यो । उत्साहले भरिएका चम्किला आँखाहरू लिएर एकजना युवा पहाडी गाउँतिर छि-यो । ऊ तल झापातिरबाट पाँचथरकै लिम्बा गाविसको लेकगाउँ हुँदै मौवा (हाम्रो गाउँ) पुगेका थियो । तिनै युवाले त्यहाँको हावामा पहिलोपल्ट परिवर्तनको नौलो सुवास पु-याएका थिए । तिनकै सम्पर्कबाट बुबा झापाको ‘कम्युनिष्ट मुभमेन्ट’मा जोडिन पुग्नुभो । त्यो बेला अखिल नेपाल कम्युनिष्ट (को–अर्डिनेशन कमिटी)को सदस्य बन्नु भो । त्यो क्षेत्रमै सर्वप्रथम बुबासहित जम्मा ३ जना मुक्तिको सुन्दर सपना देख्दै त्यो जोखिमपूर्ण बाटोमा पाइला राख्नुभएथ्यो । त्यसपछि पार्टीका दस्तावेज, आधारभूत पाठ्य सामग्रीहरूबाट आफूले पढ्न थाल्नुभो । अनि मार्क्सवादको अध्ययन गर्दै जाँदा समाजमा वर्गसंघर्ष अपरिहार्य भएको निष्कर्ष निकाल्दै उहाँ कम्युनिष्ट राजनीतिमा होमिनुभो ।

बुबा एक प्राथमिक विद्यालयका (पछि निमावि प्रअ) शिक्षक हुनुहुन्थ्यो । पेशागत हिसाबले उहाँलाई जनतमाझ केही सहज थियो । जिल्लामा संगठन विस्तारको महत्वपूर्ण जिम्मेवारी त छँदै थियो । उहाँ इलाम, धनकुटाका केही इलाकासम्म पनि पुग्नुहुन्थ्यो । स्थानीय संगठकहरूलाई सहयोग गर्नुहुन्थ्यो । संगठन विस्तारसँगै कार्यकर्ता तथा जनतालाई माक्र्सवादी दर्शनको ज्ञान विस्तार गर्नु अपरिहार्य थियो । त्यसका लागि किताब, दस्तावेजलगायत पाठ्यसामग्री पढाउन अहोरात्र जनतामाझ खटिनु भो उहाँ । त्यो बेला आजको जस्तो न प्रशस्त छापाखाना थियो न त फोकोकपी गर्ने सुविधा । उहाँहरू स–साना हाते पुस्तक, पार्टीको सर्कुलरलगायत दस्तावेज कार्बन राखेर रातरातभर हातले सार्नुहुन्थ्यो र जनतामाझ पु-याउनु हुन्थ्यो । निर्दलीय पञ्चायती शासनका गुप्तचरहरूको आँखा छलेर भूमिगत संगठन विस्तार गर्नु र जनता जगाउनु चानचुने चुनौती थिएन उहाँहरूका लागि । तर एक जुगमा एकदिन जनताको दिन आउने छ’ भन्दै उन्मुक्तिको नशा चढिसकेको उहाँ झोलाभरि किताब बोकेर जंगलै–जंगलको बाटो भिरमा अडिएको झुपडीसम्म पुग्नुहुन्थ्यो ।

जनतामाझ गइरहँदा बुबालाई लाग्यो– रातभरि जाग्राम बसेर ‘कन्भिन्स’ गरेको भन्दा एउटा किताब पढ्न दिँदा जनतामा मार्क्सवादको दीगो प्रभाव रहन्छ । तलब आएपछि बुबा धरानतिर झर्नुहुन्थ्यो, हजुरबाको पसलका सामान लैजाने बहानामा उहाँ धरान छाता चोकको पूर्वक्षितिज पुस्तक पसलबाट किताब किनेर लानुहुन्थ्यो । हाल पूर्वाञ्चलको चर्चित दैनिक ब्लाष्ट टाइम्सका सम्पादक राजकुमार कार्की (अंकल)हरूको थियो पूर्वक्षितिज । केहीपुस्तक दमकको प्रगति पुस्तक पसलमा पाइन्थे भने पञ्चायती शासनमा प्रतिबन्धित अत्याधिक पुस्तक विराटनगरस्थित बाजेको पुस्तक पसलबाट उपलब्ध हुन्थे ।

चित्रकुमार जोशी क्रान्तिकालमा

पोल्टाभरि किताब
ती पसलहरूबाट लेनिन, माओका संकलित रचनाका सबै भाग, कार्लमाक्सको पूँजी, एंगेल्सको ‘परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति’लगायत महत्वपूर्ण पुस्तक हार्डकभर सम्मका किनेर गाउँ–गाउँ पु-याउनुभो । सोभियत संघ विघटन हुनु अघिसम्म रादुगा प्रकाशन, मस्को तथा चिनियाँ संस्करणहरू, माओको सांस्कृतिक क्रान्ति, बोल्सेभिक क्रान्ति, अक्टोबर क्रान्ति, प्रथम तथा द्वितीय विश्व युद्धदेखि संसारभर भएका परिवर्तनकामी ‘मुभमेण्ट’बारे लेखिएका इतिहासका किताब उहाँको संकलनमा थिए । विश्वभरका परिवर्तनकामी तिनै समयमाथि लेखिएका कविता, कथा तथा विशेषतः उपन्यासहरू खोजी–खोजी किन्नु हुन्थ्यो । ‘जनताबाट सियो पनि सित्तैमा लिनु हुँदैन’ भन्ने माओको आदर्श विचारका ‘फलोअर’ उहाँ बिस्तारै ऋण काढेर पनि किताब किनेर जनतालाई पढाउने ध्याउन्नमा जुट्नुभो ।

उबेला गाडीको बाटो थिएन । दमक, धरान, धनकुटा वा इलाम जहाँको यात्रा पनि पैदल हिडेरै गर्नुपथ्र्यो । आज उमेरले साठीको दशकबाट उकालो लाग्दासम्म हिँड्नुमा कति पनि अल्छ्याईं नगर्ने मेरा बुबाका खुट्टा ऊ बेला मेसिनजसरी चलिरहन्थे । पातलो खिरिलो शरीर लिएर उहाँ हमेसा उस्तै जाँगर लिएर जनताको झुपडीसम्म पुग्नुहुन्थ्यो । हजुरबाले पसल बन्द गर्नु भएपछि पनि बुबालाई पुस्तक किन्न मधेस झर्नुपर्ने बहानाको कमी रहेन ।

अत्याधिक शारीरिक श्रमकै कारण हाम्री आमा कलिलो उमेरमै रोगी बन्नुप-यो । २०४३ सालदेखि स्त्री रोगको समस्याले थलिनु भएपछि पटकपटक आमालाई धरान र विराटनगरका अस्पताल ल्याइरहनु पथ्र्यो । बुबा टन्न किताब किनेर बिरामी आमाका पोल्टा–पोल्टा किताब लुकाएर ल्याउनुहुन्थ्यो । निकोलाई आस्त्रोभ्स्कीको ‘अग्निदीक्षा’, याङ मोको ‘युवाहरूको गीत’ त्यसरी नै ढुवानी भएका थिए । २०४२ सालमा पञ्चायती शासनको प्रतिरोधमा राजधानीमा रामराजा प्रसाद सिंहहरूले बम पड्काएको समयताका बुबाले धनकुटाको भेडेटारमा किताबको झोला निकै मुस्किलले पुलिसको हातबाट उम्काएर भाग्न सफल हुनुभएथ्यो ।

२०३५ सालमै नेकपा माले (तत्कालिन) गठन भएर सोही मातहत संगठन विस्तार हुँदै थियो । गाउँ–गाउँमा माक्र्सवादी अध्ययन दल बनाएर अध्ययन गर्ने, अन्तरक्रिया गर्नुका साथै जाँचसम्म लिइन्थ्यो । वास्तवमा त्यो माक्र्सवादी स्कूलिङको अध्ययनशाला नै थियो । त्यस्ता अध्ययन दलमार्फत् माओको प्रतिपादित ‘अनुशासनका तीन नियम, व्यवहारमा ध्यान दिनुपर्ने आठ कुरा, आफू पनि जीवनमा लागू गर्ने र अरूलाई पनि प्रेरित गर्नुहुन्थ्यो । त्यो समयका अरूहरूले उक्त सिद्धान्तलाई अनुशरण गरेकै छन् कि धोती लाइसके, थाहा छैन । बुबाको जीवनशैली आज पनि त्यस्तै छ ।

बुबाले निजी पुस्तकालयमा जम्मा गरेका किताब आफैं घर–घरमा पु-याएर पढाउनुहुन्थ्यो । परिवर्तनका उज्यालोले भरिएका ती किताब लुकाएरै पढ्नुपर्थ्यो । पढिसकेका किताब अरूलाई हस्तान्तरण गर्ने इमान्दारी गाउँलेमा त्यो बेला थियो ।

सारा कमाइ किताबमै
विश्वविख्यात आख्यानकार अर्नेष्ट हेमिङ्वेले भनेका थिए ‘किताब जति इमान्दार साथी कोही हुँदैन ।’ किताबविनाको कोठा आत्माविनाको शरीरजस्तै हुने कुरा पनि उहिल्यै सिसेरोले बताएका थिए । मेरा बुबाको पनि किताबप्रतिको प्रेम यस्तै अगाध थियो । उहाँले जीवनभरको कमाइ किताब किन्नमै खर्चिनुभो । किताब मात्र किन्नकै लागि पनि पहाडी खोचबाट धाएर सहर पुग्नुहुन्थ्यो ।

हजुरबाले दुःखजिलो गरेर दुई छाकको जोहो गरेको पारिवारिक हैसियतले बारम्बार किताब किन्ने पैसा जुटाउन बुबालाई सजिलो थिएन । प्राथमिक विद्यालयको शिक्षकको तलब पो कति नै हुन्थ्यो र ! १ हजार ५ सय थानभन्दा बढी किताब किन्न उहाँले बर्षौंको तलब खर्चिनुभएको थियो । बरु उहाँ ब्यागका फिता चुडिए सिएर बोक्नु हुन्थ्यो, च्यातिएको प्याण्ट रफ्फू गरेर लगाउनुहुन्थ्यो । फाटेको तलुवामै जुत्ता घिसारिरहनुहुन्थ्यो । तर, उहाँको ब्यागमा सधैं नयाँ किताब हुन्थे । एक पटक गाउँका खड्का साहु महाजनले भनेछन्, ‘घुँडा टालेको प्यान्ट लाएर के फुर्ती गर्छौ जोशी ?’ तर ती महोदयलाई के थाहा, संसार बदल्न टल्किने नयाँ प्यान्ट होइन, विचारले भरिएको किताब काफी छ ।

त्यसबेला कुनै भेगमा सार्वजनिक पुस्तकालयको अवधारणा थिएन । तर, बुबाले निजी पुस्तकालयमा जम्मा गरेका किताब आफैं घर–घरमा पु-याएर पढाउनुहुन्थ्यो । परिवर्तनका उज्यालोले भरिएका ती किताब लुकाएरै पढ्नुपथ्र्यो । पढिसकेका किताब अरूलाई हस्तान्तरण गर्ने इमान्दारी गाउँलेमा त्यो बेला थियो । पञ्चायती शासनका कारिन्दा वा गुप्तचरहरूको फेला परे कालकोठरीमा जाकिन कुनै किताबको एउटा पन्ना मात्र पनि काफी थियो । निकै होसियारीपूर्वक किताब पढ्ने र आदानप्रदान गर्नुपथ्र्यो ।

बुबा अरूमा पनि आफूमा जस्तै इमान्दारी देख्नुहुन्थ्यो । फेरि सङ्गठनका जिम्मेवार व्यक्ति तथा कार्यकर्तालाई विश्वास नगर्ने पनि कुरा भएन । आफ्नो गाउँ छाडेर हांगुम, वलने, लिम्बा, दुर्दिम्मा, यासोक, रानीगाउँ र जिल्लाका विभिन्न क्षेत्रमा किताब पुग्थे ती जिम्मेवार कमरेडहरूको हातबाट । भूमिगत कालको मध्यसम्म किताबहरू इमान्दारपूर्वक नै जनताको हातहातमा पुगे । तर, बहुदल आउने बेला र जनयुद्धकालमा बुबाका किताब दर्घादिशा लागे ।

चित्रकुमार जोशी अहिले

बुबाको पुस्तकालयमा पर्ल एस बकको पुलित्जर पुरस्कारद्वारा सम्मानित उपन्यास ‘द गुड अर्थ’, बिसौं शदीका विख्यात लेखक लु सुनका कथाहरू, तुर्गनेभको ‘पिता और पुत्र’, दोस्तोएब्स्कीको ‘अपराध और दण्ड’लगायत किताबका हिन्दी संस्करण थिए । हिन्दी संस्करण अलिक कमले मात्र पढ्थे । लुसुन कथाहरू, गोर्कीको ‘आमा’ सबैभन्दा धेरैले पढेको बुबाको सम्झना छ । ‘वामधारको विद्यार्थी राजनीतिमा आबद्ध युवाहरूले ‘अग्निदीक्षा’ पढिसकेर पनि आफ्नै बुइँगलतिर लुकाउने रहर गर्थे । त्यसो हुँदा त्यसको तीन पटकसम्म किनेँ होला,’ बुबा सम्झनुहुन्छ ।

उहाँको सम्झनामा तोल्सतोयका पनि केही किताब थिए होला । नौ कक्षातिर पढ्दा सेल्फबाट झिकेर तीन पटक झम्टा मार्दा पनि मैले ‘अपराध और दण्ड’ छिचोल्न नसकेर थन्क्याएकी थिएँ ।

संसारमा आज पनि निर्धाहरूमाथि शक्तिशालीहरूले युद्ध आतंक जारी छ । हाम्रा बुबाहरूले चार दशकअघि नै ‘यो अन्तिम युद्ध हो’ जस्ता अन्तर्राष्ट्रिय गीत गाएर परिवर्तनको शंखघोष गर्नु भएथ्यो । त्यस्ता गीत गाउने योद्धाहरूसँग पक्कै पनि सत्ताभक्तिका गाथा हुँदैनथे । मोदनाथ प्रश्रितका ‘देवासुर संग्राम’देखि, प्रदीप नेपालको सञ्जय थापाका नाममा लेखिएका ‘सुर्जेमानका कथाहरू’, विश्वयुद्धको चित्र उतारिएको दौलत विक्रम विष्टको ‘चपाइएका अनुहारहरू’सम्म संकलित थिए । सातकाँटी सलाईदेखि रुसी साहित्यका धेरै पुस्तक उहाँको पुस्तकालयमा थिए । उहाँसँग नभएका धेरै पुस्तकको नाम अब उहाँले भुलि पनि सक्नु भयो ।

अहिले बुबाको पुस्तकालयमा मुस्किलले ५ सय जति पुस्तक बचेका होलान् । पूँजीको हिन्दी संस्करण, लेनिनका संकलित रचनालगायत बचेका होलान् । पछिल्लो पटक लगेका माओका भोल्युमहरू धेरै नष्ट भएर गए ।

जोखिमकै बीच घर फर्केर खाल्डोबाट झिकेर बचेका किताब रुँदै छानाभरि सुकाउनु भएको आमा आज पनि सम्झनु हुन्छ । ‘मेरो जिन्दगीको सबभन्दा अमूल्य केही थियो भने तिनै किताब थिए,’ बुबा बचेका किताब सुम्सुम्याउँदै भन्नुहुन्छ ।

कहाँ गए त किताब ?
मार्क्सवाद राजनीतिक र आर्थिक रूपान्तरणको दर्शन हो । जीवनमा लागू नगरेसम्म मार्क्सवाद पढ्दैमा वा मार्क्सवाद पार्टीमा हुँदैमा कोही रुपान्तरित भएको मान्न सकिन्न । किनभने समाज रूपान्तरणका लागि पहिले आफू रूपान्तरण हुनुपर्छ । हिजोदेखि आजसम्म पनि मार्क्सवादको खोल ओढेर रातो झण्डा बोक्दैमा मानिस रूपान्तरण हुन्छ भन्ने छैन । यसरी रूपान्तरणको नाम भजाएर राजनीतिलाई व्यक्तिगत स्वार्थपूर्तिका भ-याङ बनाउनेहरू, पदलिप्सा र पैसा कमाउने भाँडो बनाउने तत्व हिजो पनि कम्युनिष्ट पार्टीमा हावी थिए । सोही प्रवृत्तिका पार्टीका गैरजिम्मेवार व्यक्तिहरूको कारण बुबाका कयौं किताब फिर्ता भएनन् ।

द्वन्द्वकालमै तत्कालिन नेकपा माओवादीका जिल्ला नेता अमर थापाले लगेका ३० ओटा पुस्तक मध्ये ४ ओटामात्र फिर्ता गरे । तत्कालिन पार्टीका इलाका कार्यालय सचिव मदनकुमार चेम्जोङले जनतालाई पढाउन भनेर लगेको किताबको लिस्ट नराखिदिदा ९९ प्रति बेपत्ता भए । तर इमानी कम्युनिष्ट साथीहरूलाई पनि बुबा सम्झिरहनुहुन्छ । भन्नुहुन्छ, ‘सबै साथीहरू बेइमान थिएन्, एउटै प्रणालीबाट दुर्दिम्बा क्षेत्रमा जनताकै लागि मैले आफैं झोलाभरी बोकेर लगेका ३५ थान किताब भने अध्ययन पछि सबै फिर्ता आए । त्यो क्षेत्रका जिम्मेवार कार्यकर्ता रामेश्वर वाजीलाई त्यो इमान्दारीताको श्रेय दिन्छु । ती किताब उहाँले बोकेर घरसम्म ल्याइदिनु भएको थियो । तर लिम्बा क्षेत्रबाट ६५ थान किताब फिर्ता आएन । हाङ्गुमका तत्कालिन पार्टी इन्चार्जको जिम्मामा पठाइएको ८० किताब पनि फिर्ता आएन । सायद संगठनभित्रकै साथीहरू जिम्मेवार भइदिएको भए आजको पुस्ताले गाउँमै ती किताब पढ्न पाउँथे भन्ने लाग्छ । किनभने क्रान्ति अधुरै छ ।’

मार्क्स, माओ, लेनिनबारे महत्वपूर्ण किताब फिर्ता भएन भने अन्य कार्यकर्ताले लगेका १ सय पुस्तक पनि कसकसका हातमा पुगे पत्तो भएन । द्वन्द्वकालमा २०५९ तिर देउवा सरकारले सेना परिचालन गरेपछि सामान्य सेल्टरदातादेखि निरीह जनतासम्म सेनाको ज्यादतीमा परे । पुरानो क्रान्तिकारी भनेर चिनिनुभएका बुबालाई सेनाले ‘रेड लिष्ट’मा राखेपछि उहाँलगायत गाउँका धेरैजना भूमिगत हुन बध्य पा-यो । सेनाले जुनकुनै बेला छापा मारे सिंगो परिवारलाई एकै चिहान बनाउन सक्थ्यो । त्यही जोखिमबाट बच्न हजुरबाहरूले ग्वालीमुनी खाल्डो खनेर पुरेका एक हजार थानमध्ये साउनको झरीले ५ सय थान किताब कुहिएर गयो । जोखिमकै बीच घर फर्केर खाल्डोबाट झिकेर बचेका किताब रुँदै छानाभरि सुकाउनु भएको आमा आज पनि सम्झनु हुन्छ । ‘मेरो जिन्दगीको सबभन्दा अमूल्य केही थियो भने तिनै किताब थिए,’ बुबा बचेका किताब सुम्सुम्याउँदै भन्नुहुन्छ ।
०००