नयाँ विरासत निर्माणको कथा

नयाँ विरासत निर्माणको कथा

जेष्ठ ७, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

स्वाभाविक हो- नेपालमा व्यावसायिक घरानाको संख्या थोरै छ l त्यसमा पनि दोस्रो पुस्ता के गर्दैछ ? कस्तो बन्दैछ ? चासो स्वाभाविक हो l सरसर्ती हेर्दा व्यावसायिक घरानाका व्यवसाय पच्छ्याउनेमा छोरा हाबी छन् । यद्यपि, पछिल्लो समय केही छोरीले घरानियाँ व्यवसाय सम्हालिरहेका छन् ।

आस्थाको आँट

बुद्ध एयर प्रालिकी कार्यकारी अधिकृत आस्था बस्नेत व्यवसाय प्रबर्द्धनका लागि अहोरात्र खटिरहेकी छन् । ‘समाजको ठूलो हिस्सा छोरीलाई पुस्तेनी विरासतको प्रतिनिधि मान्न तयार छैन,’ उनी भन्छिन्, ‘तर हाम्रो परिवारमा त्यो विभेद छैन ।’  

पछिल्लो समय छोरीले बुबाको अंश पाउने कानुनी व्यवस्था बनाइएको छ । यद्यपि, समाज मनोविज्ञानले भन्छ– छोरी अर्काको घर जाने जात । तर, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतका लागि आफ्ना दुई छोरी नै विरासतका खम्बा हुन् । उनले छोरीहरूलाई त्यसरी नै दीक्षित गर्दै हुर्काए । 

जेठी छोरी आरजु बुटिक व्यवसायमा संलग्न छिन्,  कान्छी छोरी आस्था वीरेन्द्रबहादुरको सपना पछ्याउँदै अघि बढेकी छिन् । व्यावसायिक वातावरणमा हुर्किएकी आस्थाले अन्य पेसा, व्यवसाय गर्ने सोचिनन् । यहीं व्यवसायलाई उचाइमा पु-याउने उनको धोको छ । यसैकारण उनी ‘एयरलाइन्स म्यानेजमेन्ट’मा एमबिए गर्ने तयारीमा छिन् ।

आस्थाले पाँच कक्षादेखि विदेशमा पढिन् । उनलाई लाग्यो, घरानियाँ व्यवसाय हाँक्न स्वदेशी वातावरणमा घुलमिल हुनुपर्छ । यसपछि उनले स्नातक अध्ययन गर्न काठमाडौं विश्वविद्यालय रोजिन् । 

चार वर्षअघि उनी बुद्ध एयरमा आइन् । उनका लागि यो जिम्मेवारी र चुनौती दुवै हो । सुरुका वर्ष उनले कम्पनीका सबै विभागमा तीन–चार महिना प्रशिक्षार्थीका रूपमा काम गरिन् । त्यसपछि चार कर्मचारी नियुक्त गरेर ‘रिसर्च एन्ड डेभलपमेन्ट’ विभाग स्थापना गरिन् । विभागको काम हो– व्यवसाय प्रवद्र्धनका क्रममा भएका  कमी कजोजोरी पत्ता लगाएर त्यसको समाधान खोज्नु । 

उनका प्रेरक व्यक्ति हुन्, हजुरबा सुरेन्द्रबहादुर बस्नेत र बुबा । उनी बजारमा प्रतिस्पर्धा गर्न आफ्नो पुस्ता अझै अब्बल हुनु आवश्यक देख्छिन् । यसैकारण उनी त्यो कौशल सिक्न कम्पनीका हरेकजसो मिटिङमा बुबासँगै सहभागी हुन्छिन् ।

एकताको एप्स 

मारवाडी समुदायमा नारीप्रतिको एउटा मान्यता थियो, हुर्केकी छोरीले रोटी बेल्न सिक्नुपर्छ । जुन दृष्टिकोण परिवर्तन हुँदै गएको छ । जसको लाभ उठाइन् एकता गोल्छाले । उनी उद्योगपति राजकुमार गोल्छाकी छोरी हुन् । उनी डेल्टा टेककी निर्देशक छिन् । गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको डेल्टाले ‘सेल्स एप’  बनाएर बिक्री गर्दै आएको छ । यसमा कुनै पनि कम्पनीको ‘सेल्स पर्सन’ले बजारमा लिएको अर्डर, पेमेन्ट, हाजिरी र कार्यप्रतिवेदनको जानकारी राख्न सकिन्छ । यो एप भारत, भियतनाम, क्यानडा, इजिप्टलगायत देशमा निर्यात हुँदै आएको छ । 

एकताले  ३० जनालाई रोजगारी दिएकी छन् । उनी आगामी पाँच वर्षसम्म कम्पनीको व्यवसाय बिस्तारमै खटिनेछिन् । उनी भन्छिन्, ‘यसपछि उद्योग, जुटमिललगायतका व्यवसाय सम्हाल्न सक्नेछु ।’ 

उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट ‘म्याथम्याटिकल फाइनान्स’मा स्नातकोत्तर गरेकी छन् । उनी चार वर्षअघि पारिवारिक व्यवसायमा जोडिएकी हुन् । उनका दुई बहिनी कोमल र अश्विनी गोल्छा ‘गोल्छा अर्गनाइजेसन’को व्यवसायमा आबद्ध भएका छन् । 

उनी कामलाई औधी माया गर्छिन् । कामलाई पहिलो प्राथमिकता दिन्छिन् । उनले हालसम्म विवाहबारे सोच्न भ्याएकी छैनन् । उनी भन्छिन्, ‘विवाह भइहाले पनि अग्रजको विरासतबाट पाएको व्यवसायलाई निरन्तरता दिइरहनेछु, व्यवसायबाट पलायन हुन्नँ ।’ 

उनीझैं गोल्छा हाउसमा अघिल्लो पुस्ताका महिला पनि व्यवसायमा जोडिएका थिए । जसको उदाहरण हुन्–महेन्द्र-राज्यक्ष्मी गोल्छाकी छोरी युक्ति गोल्छा र सुरेन्द्र गोल्छाकी छोरी अनुज्ञा गोल्छा ।

लतिकाको लडाइँ

पुस्तेनी व्यवसायमा जोडिएकी गोल्यान ग्रुप निर्देशक लतिका गोल्यानको संघर्षको फरक कथा छ  । उनी बासुदेव गोल्यानकी बुहारी हुन् । उनी भारतको चेन्नाईमा जन्मिएकी हुन् । उनी बुबाआमाको विवाह भएको १३ वर्षपछि जन्मिएकी थिइन् । केही वर्षपछि बहिनी जन्मिइन् । दुई छोरी भएकामा आमा खुसी थिइन् । तर, बुबा रतनकुमार आर्य खुसी थिएनन् । 

लतिकाको जीवनयात्रा बुबाआमाबीच भएको कुराकानी सुनेपछि मोडियो । उनी र बहिनी घरमा खेल्दै थिए । बुबाले आमासँग भन्नुभयो, ‘यत्रो व्यवसाय कसले सम्हालिदेला ? अब कसैको एउटा छोरा ग्रहण गर्नुपर्छ ।’ बुबाको कुरा सुनेर उनकी आमाको अनुहार अँध्यारो भएको थियो । 

‘म निकै दुःखी भएँ । मेरो बालापन कतै भागे जस्तो लाग्यो,’ उनी भन्छिन्, ‘तर त्यति सानै उमेरमा पनि मलाई हिम्मत आयो ।’ उनलाई लाग्यो, दुःखी भएर रोएर बसेर मात्र हुँदैनथ्यो । 

उनले बुबालाई भनिन्, ‘ठूलो भएर म तपाईंको सबै व्यवसाय सम्हाल्छु । व्यवसायलाई ठूलो र राम्रो बनाउँछु, त्यतिका लागि भए अरूको छोरा ग्रहण गर्नुपर्दैन ।’ 

१२ वर्षीया छोरीको आँट देखेर बुबा अचम्मित र खुसी भए । त्यसपछि बुबाको व्यवहार परिवर्तन भयो । व्यवसायमा गरिने ससाना निर्णयमा  उनलाई सोध्न थालियो । त्यसपछि जीवनको लक्ष्य नै बनाएर  १६ वर्षदेखि व्यवसायमा होमिइन्, लतिका ।  

लतिकाको  विवाह नेपालको व्यावसायिक घरानामा भयो । उनी व्यवसायमा आउन चाहन्थिन् । उनले श्रीमान् र परिवारलाई मनाउन निकै मिहिनेत गर्नुप-यो । घरमा धेरै कामदार राखिएको थियो ।  बुहारीले घर बाहिर काममा जानुलाई राम्रो मानिँदैनथ्यो । 

उनले बूढी सासूलाई नै सबभन्दा पहिले आफ्नो जीवनको उद्देश्यबारे ‘कन्भिन्स’ गरिन् । जो ८० वर्षकी थिइन् । 

उनको काँधमा जिम्मेवारी थियो–दुई छोराछोरी हुुर्काउनु, परिवारलाई समय दिनु । यस्तो अवस्थामा बुबा र ससुराको व्यावसायिक जिम्मेवारी एकसाथ उठाउनु उनका लागि निकै चुनौतीपूर्ण थियो । 

उनले यसका लागि श्रीमान् शक्ति गोल्यानको साथ पाइन् । बिस्तारै ससुरा र काका ससुरा पवन गोल्यानले सहयोग गर्ने भए । यसपछि उनी ढुक्क भइन् । उनी भन्छिन्, ‘घरमा बूढी सासूले सुरुसुरुमा काम गर्ने कुरामा विमति राख्नुहुन्थ्यो ।  बुबासँग गरेको वाचासँगै गोल्यान गु्रपको व्यवसायमा  योगदान देशका लागि केही गर्ने भनेपछि उहाँ कन्भिन्स हुनुभयो ।’ यसपछि बूढी सासूले उनलाई आशीर्वाद दिइन्, केही काम नगरी हामीले जीवन खेर फालेछौं, तिमी हाम्रो नाम चम्काउने गरी काम गर्नू । 

उनी व्यावसायिक यात्रामा हिँड्दै थिइन् । क्यान्सरका कारण बुबाको मृत्यु भयो । उनले क्यान्सरको कारण खोजिन् । उनलाई थाहा भयो– खाद्यान्नमा प्रयोग गरिने विषादिबाट क्यान्सर हुन्छ । यसपछि उनले ‘गोल्यान एग्रो प्रालि’ स्थापना गरिन् । जसले  काठमाडौं उपत्यकाका विभिन्न सुपरमार्केट र  सानेपामा केन्द्रीय स्टोरमार्फत ताजा फलफूल र तरकारीहरू बेच्दै आएको छ । यसले घरमै डेलिभरी सेवा दिन्छ । उनी भन्छिन्, ‘एक वर्षभित्र उपत्यकाभरि चेन स्टोरहरूका साथ आउनेछ ।’ 

मानव  स्वास्थ्य बचाउने बाटो भेटेपछि लतिकाको मनमा बुबा गुमाउनुको पीडा कम भएको छ । उनले लक्ष्य लिएकी छिन्,  कम्पनीमार्फत् समुदायका कृषकलाई अर्गानिक खेती गर्न सघाउने र किसानको उत्पादन बिक्री गरिदिने । 

यसबाहेक उनी गोल्यान ग्रुपको सेवा क्षेत्रको व्यवसाय हेर्छिन् । सन् २०२१ मा सञ्चालनमा आउने गरी अन्तर्राष्ट्रिय चेन होटलअन्तर्गतको ‘ह्यात प्लेस’ कालिमाटीमै तयार हुँदै छ । उनी यसको पनि व्यवस्थापन हेर्दै छिन् । उनी वर्षमा दुई–तीन पटक बुबाको व्यवसायको व्यवस्थापनका लागि चेन्नाई पनि पुग्छिन् । 

२१ वर्षमा उनले आफ्नै अबिचुरी लेखिन् । बेलायतमा पढ्दा त्यो उनको कलेजको ‘प्रजेक्ट वर्क’ थियो । यसको उद्देश्य थियो–  आफ्नो मृत्युपछि समाजले आफूलाई दिने स्थान र सम्मान जीवनकालमा गरिएको कर्ममा निर्भर हुन्छ । जसले मानिसलाई सकारात्मक र आमहितका लागि कर्म गर्न प्रेरित गर्छ । 

नितिशाको नीति

पञ्चकन्या ग्रुपको व्यावसायिक जिम्मेवारीमा पछिल्लो समय नयाँ पुस्ताका छोरीहरू उदाएका छन् । तिनैमध्येकी एक हुन्– नितिशा श्रेष्ठ । ग्रुपका उपाध्यक्ष बद्रीकुमार श्रेष्ठकी छोरी उनी, हाल ग्रुप निर्देशक हुन् । उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातक पूरा गरेर भारत आइन् । भारतमा दुई वर्ष काम सिकिन् । कामको सिलसिलामा एउटा कम्पनी खडा गरिन् । 

दुई वर्षअघि उनी नेपाल फर्केर पारिवारिक व्यवसायमा भित्रिएकी हुन् । उनले करिब ६ महिना ग्रुपका विभिन्न विभागमा प्रशिक्षण लिइन् । उनले हाल कम्पनीको बजार र सामाजिक उत्तरदायित्व (सिएसआर) विभाग सम्हाल्दै आएकी छन् । उनी भन्छिन्, ‘बजारमा आफ्नो पहिचान र व्यवसायलाई बढोत्तरी गर्न नयाँ सोच, प्रविधि र बजार नीति तय गर्नुपर्छ ।’

उनलाई गर्व छ– हजुरबा प्रेमबहादुर श्रेष्ठ र बुबाहरूप्रति । उनी भन्छिन्, ‘मेरा अग्रजले तीन चार पुस्ता लगाएर उभ्याएको यो विरासतप्रति मेरो गर्व छ । मैले उहाँहरूबाट व्यवसायमा चाहिने इमादारी र निष्ठा सिक्दै आएकी छु ।’ 

पञ्चकन्याले तत्कालीन परिवेश र मागका आधारमा पनि उत्पादन गर्ने गरेको छ । भूकम्पका बेला लाइट गेज स्टिल उत्पादन ग¥यो । त्यस्तै, कोभिड–१९ को महामारीअघि आगलागीबाट बचाउने ‘सिपिभिसी फ्रायर प्रुफ पाइप’  बजारमा ल्यायो । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर कम्पनीले अनलाइन पोर्टल सुरु गरेको छ । पञ्चकन्यामा उनी तेस्रो पुस्ताकी प्रतिनिधि हुन् । उनी भन्छिन्, ‘यो पुस्ताले पञ्चकन्याको व्यवसाय विस्तारमा नयाँ प्रविधिको उपयोग गर्दै नयाँ बजारको खोजी गरेर नयाँ प्रडक्ट ल्याएको छ ।’ 

उनी फुर्सदको समयमा व्यवसाय व्यवस्थापन र जीवनीसम्बन्धी पुस्तक पढ्छिन । उनी भारतीय उद्यमी लक्ष्मी मित्तलको जीवनी पढ्दै छिन् । अध्ययन र अवसरलाई दक्षतामा रूपान्तरण गर्दै ग्रुपको व्यवसायलाई अघि बढाउने उनको सपना छ । 

आस्थाको आत्मविश्वास

साखः ग्रुपका पूर्वनिर्देशक स्व.प्रभात साखःकी छोरी आस्था साखः करियरका अनेक सम्भावनालाई छाडेर पुस्तेनी व्यवसाय सम्हाल्न आइन् । मिस नेपाल २०१८ मा मिस कन्फिडेन्टको उपाधि जितेकी आस्था औद्योगिक घरानाको विरासत धान्न आफ्ना दाजुभाइसँगै काँधमा काँध मिलाउन आइन् । उनमा व्यवसायप्रतिको रुचि घरको डाइनिङ हलको वातावरणले जगाइदियो । 

भन्छिन्, ‘घरमा खाना खान डाइनिङ हलमा भेला भएपछि हजुरबा, बुबा र काकाहरूको बीचमा सधैंजसो व्यवसायबारे छलफल हुन्थ्यो । त्यही प्रभावले म स्कुल पढ्ने उमेरदेखि नै ममा व्यवसायप्रति रुचि जाग्यो । अर्को कुरा, मैले त परिवारबाट दाजुभाइसरह अवसर पाएको छु । तर, समाजमा अहिले पनि छोरी विभेदको सिकार भएका छन् । मेरा पुस्ताका ती छोरीहरूका लागि आत्मविश्वास र नेतृत्वको प्रतिनिधि बन्नु पनि मेरो उद्देश्य हो ।’ 

यहीं सोचले उनी तीन वर्षअघि व्यवसायमा जोडिएकी हुन् । ग्रुपको कार्यकारी निर्देशक उनी साखः पेन्ट्स इन्डष्ट्रिज हेर्छिन् । 

महिला हिंसा र विभेद न्यूनीकरण गर्न महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्ने उनको दृष्टिकोण छ ।  उनी छोरीलाई हेर्ने दृष्टिकोण घरबाटै सच्चिनु जरुरी देख्छिन् । उनलाई लाग्छ– शिक्षा, सीप र उद्यम भएमा छोरी आत्मनिर्भर हुन्छिन् । ग्राहक, डिलर वा बिजनेस पार्टीहरूसँग डिल गर्दा महिला हुनुको विभेद उनले अनुभव गर्नुपरेको छैन ।

 भन्छिन्, ‘हुन त म आफैं सिक्ने उमेरमै छु । पूर्ण जानकार भएर गरिएको कामले आफूमा आत्मविश्वास जगाउँछ, अनि कसैले हेप्ने मौका पाउँदैनन् । विभेद र हिंसा हुने अनेक कारण होलान् । तीमध्ये एउटा कारण हो–  विषयप्रतिको ज्ञानको अभाव । जिम्मेवार ठाउँमा पुग्ने महिला यसप्रति सचेत हुनुपर्छ जस्तो लाग्छ ।’ 

ग्रुपमा आउनेबित्तिकै उनलाई हजुरबा गणेशभक्त साखःले भक्तपुरस्थित पेन्टस्को फ्याक्ट्री हेर्न सुझाएका थिए । भन्छिन्, ‘हजुरबाले मलाई ठूलो विश्वासले त्यो दायित्व सुम्पिनुभयो । म एकदम संवेदनशील भएर  काम सिक्दै आइरहेको छु । हजुरबाको कामप्रतिको दृढता र अनुशासनबाट म धेरै प्रभावित छु । उहाँ मेरो आइडल पर्सन हो ।’ 

उनी साखः ग्रुपको व्यवसायलाई प्रविधि प्रयोगबाट थप आधुनिकीकरण तथा विविधीकरण गर्न चाहन्छिन् । 

उनको रुचि मोडलिङमा पनि  । उनले फिलिपिन्समा आयोजित मिस एएिया प्यासिफिक र मलेसियामा आयोजित मिस टुरिजमको प्रतिनिधित्व गरेकी थिइन् । उनले एस इन्स्टिच्युट अफ म्यानेज्मेन्टमा बिबिए पूरा गरेकी छन् ।

थपिँदै संख्या

अम्बिका श्रेष्ठले ५२ वर्षअघि (सन् १९६८ तिरै) हालको होटल द्वारिकाज सञ्चालन गरेकी थिइन् ।

त्यस्तै, तीन दशकअघि सीमा गोल्छाले ससुरा हुलासचन्द गोल्छाबाट खडा गरिएको व्यवसायमा पाइला राखेकी थिइन् । हाल उनी हिम इलेक्ट्रोनिक्सकी निर्देशक छिन् ।  

ज्योति ग्रुपअन्तर्गतको स्याकार कम्पनीको हेड अफ अपरेसन्स् सिर्जना ज्योतिले पनि करिब डेढ दशकदेखि पारिवारिक व्यवसायलाई गति दिँदै आएकी छन् । 

मेघा चौधरी एक दशकदेखि बुबा (वसन्त चौधरी)ले स्थापना गरेको व्यवसाय सम्हाल्दै  छन् । उनी नर्भिक इन्टरनेसनल अस्पतालकी निर्देशक हुन् । 

घरानियाँ व्यवसायको विरासतमा उदाएका यी महिला केही उदाहरण हुन् । अन्य परिवारमा पनि छोरी–बुहारी क्रमशः व्यवसायमा जोडिने क्रममा छन् । यो चित्रले भविष्यमा औद्योगिक क्षेत्रमा महिला नेतृत्वको पहुँच बढ्ने संकेत गर्छ ।
०००