‘एसएलसी फेल भएपछि खेतीकिसानी गरें’

‘एसएलसी फेल भएपछि खेतीकिसानी गरें’

जेष्ठ २०, २०७८ 1 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

नेपाली सिनेमामा ‘इन्ट्री’ मारेपछि दयाहाङ राईले पछाडि फर्केर हेर्नुपरेन । सिने क्षेत्रमा ‘लङ रेसका घोडा’ सावित हुँदै गर्दा उनले पछाडि फर्किने फुर्सद नै कहाँ पाए र ! यसबीच चार दर्जन हाराहारी चलचित्र अभिनयमा अब्बल साबित भइसकेका दयाहाङ ‘स्टारडम’को चम्किलो घेराभित्र छन् । तर अझै पनि उनको मन भने त्यो चम्किलो घेराभित्रबाट फुत्केर भोजपुरको पिखुवा खोला पुगिरहन्छ । दुवाली फर्काउँछ र माछा समात्छ । मसिना माछाका भुरा घरछेउको पोखरीमा छोडिदिन्छ र ठान्छ– ती उनका साथी भए । 

उनलाई तोरीबारीमा चंगा उडाउन मन छ । पुर्खालाई भाकेर धनुकाण चलाउन मन छ । कवि श्यामलको कविताले भने झैँ हतारमा यात्रा गर्दा के–के छुटे हुन् जीवनमा ? उनी सम्झनाको लहरो तान्दैतान्दै गाउँ पुग्छन् ।  कोरोना कहरले दिएका अनेक तनावलाई बिर्सने हो भने लकडाउनले दिएको गाउँ सम्झने फुर्सदलाई एउटा सुकिलो पक्ष मान्न सकिएला । यही वहानामा दयालेमात्रै होइन, धेरैले गाउँ सम्झिए l

दयाहाङ राई l फोटो स्रोत: राई फेसबुक

थिएटर होस् वा सिनेमामा, समूहमा काम गर्ने उनी बाल्यकालमा भने धेरैजसो एक्लै रमाउँथे । नौ–दश वर्षको हुँदासम्म उनको रुचि अरू बच्चाको भन्दा भिन्न थियो । उनी ढुंगा बटुलेर त्यसैसँग खेलिबस्थे । सानैदेखि खुकुरी चलाउने उनी काठको खेलौना गाडी, बन्दुक आफैं बनाउँथे । फलामको काँटीलाई आगोमा तताएर रातो बनाएर पिटेर त्यसबाट सानो खुकुरी बनाउँथे, काठलाई खिपेर गाडी बनाउँथे ।

आफन्त लाहुरेहरूले गाउँ पुर्‍याएको खेलौना हेरेपछि उनलाई त्यस्ता खेलौनामा आफ्नो कौशल भर्न रुचि जाग्थ्यो । उनले सलाईको काँटीको बारुद हालेर पड्किने वा तीर हान्न मिल्ने बन्दुक बनाए । पछि–पछि साथीहरूले खुकुरी बनाउने काँटीको जोहो गरिदिन लागे । दुइटा काँटी ल्यायो भने एउटा आफूलाई, एउटा साथीका लागि खुकुरी बनाइदिन्थे । कौशलका कारण उनको वरिपरि साथीहरू झुम्मिन थाल्थे । 

उनका बुबाले नौ कक्षा र आमाले पाँच कक्षासम्म पढेका थिए । यसैले परिवारमा छोराछोरी पढाउनुपर्छ भन्ने सोच थियो । दामलेहरू वनपाखामा पुग्दा उनी घरमै ढुनुफुनु गरिबस्थे । एकोहोरे स्वभावका उनी खेल्न लागे खेलिरहने, केही बनाउन लागे त्यसैमा समय बितेको पत्तो पाउँदैनथे । उनी भन्छन्, ‘सानो छँदा निकै दुःख गरेर मेरा आमाबुबाले मलाई स्वतन्त्र हुन दिनुभएको रहेछ र म आफ्नै संसार बनाउन पाउँथे ।’

गाउँका बालबालिका प्रायः ठूलो मान्छेको सिको गर्थे । उनी भने नयाँ कुराको खोजमा लाग्थे । बर्खाको याममा जताततै पानीका मूल फुट्थे । उनले घरमै भएको प्लास्टिकको पाइप काटेर आगोमा तताए, जोडजाड गरे र पङ्खा हाले अनि पानीको फोहोरा हालेर घट्ट चलाए । पानीको फोहोराले फिरिरी पङ्खा घुमेको दृश्य आज पनि उनको मनमा कुँदिएको छ । बाल्यकालका साथीहरू पाइलुङ हाङ, सरोज देवराज, पावीहाङहरू अहिले पनि उनका त्यस्ता कामको प्रशंसा गर्न भुल्दैनन् । 

मोजाको फुटबल

त्यसबेला पहाडमा भलिबलको ‘क्रेज’ थियो । तर, त्यो जमानामा कहाँ ब्रान्डेड बल पाउनु ! उनीहरू मोजाको बल बनाएर खेल्थे । पछि उनीहरू फुटबल खेल्ने भए । उनका बडाबाका छोरा राममणि फुटबल गुरु थिए । दाजुले सहरमा किन्न पाइने फुटबलको कथा सुनाए । कसरी किन्ने त फुटबल ? जुक्ति निकाले । साथी सर्कलका तिनै दाजुभाइ मिलेर तिहारमा देउसी खेले । दानमा आएको पैसाले उनीहरूले सदरमुकाम पुगेर भलिबल र फुटबल किनेर दिन–दिनभरि चौरमा खेले ।

‘तन्नेरी वय, चुलबुले मन, अनि प्रेम कहानी, को पढोस् पाठ्यक्रमका किताब । कोविदका किताब पढ्न थालेपछि भोक नै हराउँथ्यो । मनमा अर्कै प्रेमिल संसार बन्दै जान्थ्यो । त्यो बेला किताबभित्रका धेरै पात्र मै हुँ जस्तो लाग्थ्यो । नबुझेरै कथाको पात्रमा रुपान्तरण हुन त्यही बेलादेखि सिकिएछ ।’

हुर्किँदै जाँदा उनलाई खेलप्रति पनि उत्तिकै रुचि बढ्न थाल्यो । उनी स्कुलमा चेस खेल्थे र प्रायः साथी मात्र हैन, आफूभन्दा ‘सिनियर’लाई जितिदिन्थे । उनको घरमा चेसका गोट्टी थिएनन् । आफ्नै खर्कमा गोठाला जाँदा उनले केही दिन लगाएर काठका गोटी बनाए । ‘फुलिस्केप’को पाना रंगाएर बोर्ड बनाए । बोर्ड रंगाउन रुखबिरुवाको पात निचोरेर निकालेको झोललाई पकाएका थिए । त्यही रंगमा बाँसको कुची चोपलेर उनी चित्रकला देखाउँथे । पढाइमा मध्यम तहका उनी यस्ता सीपमा भने पोख्त थिए । 

जासुसी पात्रको ‘थ्रिल’

कक्षा नौमा पढ्ने भएपछि उनको रुचि खुकुरीको धारबाट हिन्दी कमिक्स किताबतिर मोडियो । यस्ता किताब बडाका छोरा दाजुमार्फत उनले हात पारेका थिए । भारतीय सेनाका जागिरे दाजुले बडो सानका साथ ती किताब गाउँ पुर्‍याएको उनलाई सम्झना छ । भाषा बुझ्दैनथे तर किताबमा भएको चित्रले उनको ध्यान तान्थ्यो । चित्रकै सारले कनीकुथी अन्दाज लाउँदै उनले कमिक्स पढ्न थाले । पढ्दै जाँदा उनलाई कमिक्सका कथा बुझेजस्तो लाग्न थाल्यो । तिनै दाजुमार्फत वेदप्रकाश शर्माका जासुसी कथा, सत्य कथा पनि पढ्न पाए ।

उनी भन्छन्, ‘ती आपराधिक घटनाले मेरो बाल मस्तिष्कमा गज्जबले थ्रिल गराउँथ्यो ।’

किशोर वयमा हिँडिरहेका उनको मनमा पहाडको कन्दराबाट निख्खर सेतो भुईं कुहिरोझैं रोमाञ्चक भाव उठ्न थालेको थियो । त्यही बेला प्रकाश कोविदको प्रेम कहानीले भरिएको उपन्यास हात पर्‍याे । त्यसपछि के चाहियो र, कोर्सको किताब उनलाई साह्रै नै निरस लाग्न थाल्यो ।

उनी भन्छन्, ‘तन्नेरी वय, चुलबुले मन, अनि प्रेम कहानी, को पढोस् पाठ्यक्रमका किताब । कोविदका किताब पढ्न थालेपछि भोक नै हराउँथ्यो । मनमा अर्कै प्रेमिल संसार बन्दै जान्थ्यो । त्यो बेला किताबभित्रका धेरै पात्र मै हुँ जस्तो लाग्थ्यो । नबुझेरै कथाको पात्रमा रुपान्तरण हुन त्यही बेलादेखि सिकिएछ ।’

बाल्यकालमा दयाहाङ राई

जंगल वा खोला जान आमाबाट अनुमति नपाउने उनी भागेर साथीहरूसँग माछा समात्न पिखुवा खोला पुग्थे । पौडी खेल्नु दुवाली थापेर माछा फर्काउनु र तिनको नृत्य हेर्नु उनलाई असाध्यै रमाइलो लाग्थ्यो । उनले घर छेउमा खाल्डो खनेर त्यही खोलाको माछाको भुरा पालेका थिए । तिनलाई चारो हाल्दा खुब आनन्द आउँथ्यो उनलाई । माछा हेर्न साथीहरू पनि भेला हुन्थे । खानभन्दा पनि ती रमाइलोकै लागि पाल्थे । 

भागी–भागी पनि उनी साथीहरूसँग जंगल जान्थे र कटुसको स्याउलामा चिप्लेटी खेल्थे। प्यान्ट फटाउँथे । उनी भन्छन्, ‘कोही लाहुरे वा जागिरे नभएको हाम्रो घरमा पैसा निकाल्नु ठूलो कुरा थियो । वर्षमा एकपल्ट मुस्किलले नयाँ लुगा पाइन्थ्यो । कति दुःखले किनिदिएको प्यान्ट च्यातिँदा आमाको गाली र पिटाइ कति भेटियो कति ! जंगलको त्यो अर्ग्यानिक सुवासको भने बेस्सरी याद आउँछ ।’ 

उनी साथीहरूसँग स्कुलमै पनि चिप्लेटी खुब खेल्थे । ‘टिफिन’ समयमा भाँचिएका डेस्कबेन्चका खुट्टा भुईंमा दलेर चिल्लाएपछि त्यसमा टेकेर सरर तलतिर चिप्लिन्थे । सहरमा अचेल स्केटिङ खेलेको देख्दा उनी ती डेस्कबेन्चका खुट्टा सम्झन्छन् । 

उपद्रोका लामै किस्सा छन् उनीसँग । उनलाई चंगा उडाउन पनि उस्तै मन पर्थ्याे । एक दिन आफैंले बनाएको पोलिथिनको चंगा उडाउँदा बाँसको चोकेमा परे । तिर्घाको रगताम्य घाउ वनमाराको झोल र माटोले पुरे । उनको तिघ्रामा अहिले पनि त्यो चोट छ । त्यो बेला लुकाएको घटना अचेल भने उनी आमा र बहिनीलाई सुनाउँछन् । 

आफैं बिजुली निकाले 

साथीभाइको संगतमा उनी तास पनि खेल्थे । गाउँमा बिजुलीबत्ती थिएन । कसैको घरबाट टुकी चोरेर ल्यायो, अनि परालको खोल्मामा बसेर साथीहरू मिलेर रातभरि तास खेल्थे । तर, आगलागीको डरले परालमा तास खेल्नु जोखिम थियो । उनले उपाय निकाले । घरबाट लुकाएर टर्च ल्याए, साथीभाइ मिलेर उठाएको पैसाले ब्याट्री किने । तर, टर्चले निश्चित ठाउँमा मात्रै उज्यालो फाल्यो । उनले टर्चको टाउको निकालिदिए, अब प्रकाश चारैतिर फैलियो । अनि टर्चलाई खोल्माको होचो छानोमा झुन्ड्याएर उनीहरूले रातभरि ढुक्कले तास खेले । 

त्यो प्रविधि उनले घरमा पनि ल्याए । पुरानो ब्याट्रीलाई बाँसको कप्टेरोमा हाल्यो, स्विच, तार र बल्ब जोडेर फोकस आउट गर्‍यो । भन्छन्, ‘सुरुका अलिक दिन त त्यो बत्तीमा पढें । तर ब्याट्री किन्न महँगो पर्‍यो । अनि कहिलेकाहीँ त्यसरी बालेर बस्यो, कोठै उज्यालो । प्याट्ट बाल्दै, स्विच अफ गर्दै बस्थेँ ।’

वर्षौंदेखि उनी झिलिमिली राजधानीमा छन् । उनको गाउँमा भने परार मात्रै बत्ती पुग्यो । गाडीको बाटोले गाउँ जोडेको चाहिँ एक दशकभन्दा बढी भइसकेको छ । उनले भने कलेज पढ्न लागेपछि फुपू भेट्न दमक जाँदा पहिलोपल्ट गाडी देखेका थिए ।

दयाहाङ राई साथीहरूसँग

उनको घरतिर भयंकर हाटबजार लाग्थ्यो, तर त्यसको मौलिक रसिकपना हराइसकेको थियो । खाली जुहारी भने उनले सुन्न पाए । त्यो पनि अलिक पछि सकिन थाल्यो । उनका एक जना काकाले जुहारी गाउँदा जितेरै काकी ल्याएका थिए । पान्धारेमा त्रयोदशीको तृतीया मेला लाग्थ्यो । सदरमुकाममा चाहिँ डबली भन्ने थियो । १५ दिनसम्म लाग्ने मेला उनले थाहा पाउँदासम्म भारतबाट आउने टोलीले सर्कस देखाउँथे । त्यो मेलामा कैयौं रातसम्म त्यस्तो जुहारी चल्थ्यो । त्यहाँ समुदायलाई चाहिने विनिमय हुन्थ्यो । घोडाहरू पनि किनबेच हुन्थ्यो । 

भोजपुरकै ट्याम्केमा वर्षमा एकपल्ट लाग्ने मेलाचाहिँ एकदम परम्परागत हुन्थ्यो । उनको पालासम्ममा त्यस्ता मेलाले आफ्नो मौलिक पहिचान लगभग छोड्दै आधुनिक बनिसकेको थियो । जमघट पनि देखावटमा परिणत भइसकेको थियो । पहिले–पहिले त्यस्ता मेलामा गाउँलेको विशाल जमघटलाई जुहारीको रौनकले तताइदिन्थ्यो । त्यसमा चण्डी नाच्थे । 

मेलामा सोल्टी–सोल्टिनीकाे जमघट हुन्थ्यो । आफू नपुगेका ठाउँका मान्छे हेर्न उनलाई रमाइलो लाग्थ्यो । डाइस खेलेको हेर्थे । पाको उमेरका मानिसहरू भने आफन्ती भेटघाट, कारोबारमा व्यस्त हुन्थे । त्यस्ता मेला–बजार सञ्चारको एउटा जक्सन थियो । 

स्कुल पढ्दै देखाए फिल्म

डेढ दशकदेखि अभिनयमा सक्रिय उनी बाल्यकालमै फिल्म बनाएर आफ्नो गाउँमा ‘हिट’ भएका थिए । साथीहरूसँग मिलेर उनले त्यो काम गरेका थिए । एक जना आफन्तले उनलाई हङकङबाट रिल राखेर फिल्म जसरी दृश्यहरू हेर्न मिल्ने बक्स ल्याइदिए । बक्समा फोटो हालेर क्रमशः सार्दै हेर्दा गज्जबको दृश्य देखिन्थ्यो । उनलाई बक्स ‘मोडिफाइ’ गर्ने विचार आयो । केही समयअघि सदरमुकाममा हाइभिजन हलमा सिनेमा हेर्ने मौका पाएका थिए । उनले पर्दाको दृश्य मात्रै हेरेनन्, त्यो चलचित्र हलको संरचना हेरे । प्रोजेक्टर रुममा चिहाएर हेरे, प्रकाशको माध्यमबाट पो सिनेमा आउँदो रहेछ भन्ने थाहा पाएका थिए । बक्स ‘मोडिफाइ’ गर्न त्यही ‘आइडिया’ले काम गर्‍यो । 

सेल ब्याट्री हालिएको टर्चलाइटलाई सानो काठमा प्वालबाट छिराएर फोकस लाइट बनाए । बक्समा कालो कपडा प्रयोग गरे । सिरकको खोल भित्तामा टाँगेर फिल्म देखाए । त्यो फिल्म उनीहरूले सुटिङ गरेर बनाएका भने हैनन्, बरु घरमै उपलब्ध फोटोका नेगेटिभ, बक्समा पाएको हङकङका दृश्यहरू बटुलेर धागोले लस्करै बाँधेर प्रदर्शन गरेका थिए । त्यो देखेर उनका बुबाआमा र टोलछिमेक चकित परेको आज पनि उनलाई सम्झना छ । 

किशोर दयाहाङ राई

मण्डला थिएटरका संस्थापक उनलाई थिएटरमा मज्जा लाग्ने पनि तिनै कुरा हुन् । सानो छँदा उनी यस्ता प्रयोग गर्नुपूर्व त्यसको इन्जिनियरिङ स्केच तयार गर्थे । थिएटरमा काम गर्न त्यसले उनलाई धेरै सहयोग गर्‍यो । थिएटरमा सेट बनाउने कुरा होस् या प्रकाश व्यवस्थापनमा, त्यही चिजले धकेलेको हो भन्ने उनलाई लाग्छ । अहिले पनि थिएटरका लागि चाहिने काठका सबै सामग्री बनाउन सक्छन् ।

भोजपुर घर पुगेको बेला उनी कुर्सी, टेबलहरू मर्मत गर्ने, नयाँ बनाइदिने गर्छन् । फुर्सद भएको बेला काठका सबै सामग्री बनाउन मन लाग्छ । सिनेमा वा थिएटरमा ती चिजको आइडिया उनले बाल्यकालको सीपबाटै पाए । 

यसरी बाल्यकालदेखि नै ‘युनिकनेस’ खोज्ने स्वभावले उनलाई नेपाली चलचित्रमा पनि फरक धारबाट स्थापित गरायो । समाजको जीवनसँग प्रत्यक्ष जोडिएका चरित्र निर्वाह गरेरै उनले नेपाली चलचित्रको ‘हिरोइज्म’वाला स्थापित धारलाई भत्काए । 

लोककथाका जादुमय पात्र

सानो छँदा उनले आमाबाट कथा सुन्ने प्रशस्तै मौका पाए । लोक, नीति, दन्त्य, हुँदाहुँदा ढुंगा माटो सबैको कथा उनलाई आमाले सुनाइन् । ती कथाका जादुमय शक्ति भएका पात्रसँग उनी कैयौं दिनसम्म विचरण गरिरहेका हुन्थे । पात्रहरू बादलसँग कुरा गर्थे । अनि आमाले सुनाएका कथा र कमिक्स किताबमा हुने पात्रबारे उनलाई पुनः अभ्यास गर्न मन लाग्न थाल्यो । अनि उनी कापीमा ती पात्रको चित्र बनाउने, रंगहरू लगाउने गर्थे । कमिकका पात्रहरू कोहीको जुंगा लामो हुने, कसैको बडेमानको पेट, कसैको खतरा बडी देखेर उनी लोभिन्थे । उनलाई लाग्थ्यो, आमाले सुनाएका पात्रको पनि कमिक बनाउन सके क्या गज्जब हुन्थ्यो ।

आमाले सुनाउने किराँती लोककथामध्ये ‘धनुको कथा’ आफ्नै वंशजसँग सम्बन्धित थियो । उनलाई धनु चलाउन खुब मन पर्ने, तर राईहरूले धनु चलाउन पूजा गर्नुपर्ने परम्परासँग कथा सम्बन्धित थियो । उनको वंश माङ्पाहाङ र पारि गाउँको वानु वंश । ती दुई वंशका बस्तीको बीचमा खानेपानीको मूल एउटै थियो । दुई वंशबीच बेला–बेला खुब कचिङ्गल हुने रे ! पानीको निहुँमा झगडा नहोस्, युवायुवती नबिग्रिऊन् भन्ने हेतुले दुई वंशबीच अबदेखि भाइभाइ भएर रहने भन्ने सहमति बनेछ । त्यसपछि कैयौं पुस्ता उनीहरूको बिहेवारी चलेन । तर, हाल उनका दाजुको पुस्तादेखि भने धनु साटेर भाइभाइको वाचा फुकाएर बिहेवारी सुरु भएको छ । नत्र भने बिहेवारी गर्न खोला तरेर नौ डाँडापारि नै पुग्नुपर्ने अवस्था थियो । त्यसका लागि बनाइएको अनुशासन रहेछ ।

युवा दयाहाङ राई

उनी भन्छन्, ‘केही गरी धनु चलाउँदा आफ्नो धनुर्धार्य पुर्खा सिकारी बाजेहरूका नाम लिएर मात्रै चलाउने चलन अहिले पनि छ । बन्दुक चलाउँदा पनि पुर्खासँग अनुमति र सीप सिकेर आउनुपर्ने लोककथा आमाले सुनाउँथिन् । आमाले यसो भन्नुमा एउटा अनुशासन उनीभित्र विकास गराउने प्रयास भएको उनले हुर्किंदै गएपछि बुझे । 

उनी एसएलसीमा विज्ञानमा फेल भए । सबैजना भोजपुरभन्दा अन्त पढ्न जाने भए । त्यो एक वर्ष उनले खेतीकिसानीको काम सिके । उनी भन्छन्, ‘फेल हुनुले मलाई अर्कै पाठ सिकायो, खेती किसानीले जीवनको पाठ पढायो ।’

एसएलसी पास भएपछि उनले भोजपुर क्याम्पस पढे । त्यो अवधिमा उनले आफूलाई चिन्ने हेर्ने कोसिस गरे । उनलाई लाग्यो, ‘आफूले खोजेको भविष्य त्यो होइन कि भनेर आफूभित्र खोज गरेँ । त्यसअघि पढ्न स्वतन्त्र थिएँ, पढें । मनलागेको अन्वेषण, प्रयोग गरें ।’

तर, किशोर वयमा गरेका ती खोजहरू केका लागि गरिरहेछु भन्ने उनलाई निश्चित ज्ञान थिएन । यद्यपि उनी अहिले करिअरको जुन उचाइमा छन्, त्यसको जरा भने बाल्यकालदेखि किशोर उमेरसम्म गरेका तिनै खोजकै क्रममा हालिएजस्तो उनलाई लाग्छ । 
܀܀܀