‘अनमोल केसीबाहेक कोही हिरो छैन’

‘अनमोल केसीबाहेक कोही हिरो छैन’

कार्तिक २८, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

परिवार र समाजले देख्न चाहेको चरित्रले किचिएर आफ्नै चरित्रबारे अन्जान हुनु आम नेपाली युवाको नियति हो । दीपेन्द्र के खनाल पनि त्यही नियती भोगिरहेका थिए । त्यसैलाई पछ्याउँदै जापान पुगेका थिए । त्यहाँ पुगेपछि कमाउँदै पढ्न सहज हुने बिषय छाने– होटल मेनेजमेन्ट । तर आफ्नो रुचिको विषय भए पो ! पटक्कै मन गएन । अरू साथीको पनि हाल उस्तै थियो ।
साथीबीच छलफल भयो, निष्कर्ष निस्कियो– यसरी त हुँदैन । एक दिन उनीहरूले आफ्नो रुचीको क्षेत्रबारे छलफल गरे । सबैले आ–आफ्नो स्वभाव र रुचिबारे बताए । दीपेन्द्रको रूची देखियो सिनेमामा ।

जापानमै हुँदा पनि सिनेमाको महँगो डिभिडी लगेर हेरिरहेको कुरा साथीहरूले पनि याद गरेकै रहेछन् । साथीहरू सबैले आ-आफ्नो क्षेत्रमा लाग्ने निर्णय गरे । दीपेन्द्र पनि लागे सिनेमा अध्ययनतिर । पढिरहेको युनिभर्सिटीमा त उनले बिषय परिवर्तन गर्न सक्दैनथे, भिसा नै त्यसैका लाथि थियो । तर उनले निजी हिसाबले सिनेमा अध्ययन गर्न थाले । भन्छन्, ‘त्यो छलफल नै हामी केही युवाको जीवनको टर्निङ प्वाइन्ट थियो । अन्य क्षेत्रमा रुची पत्ता लगाएका साथीले पनि राम्रो गरिरहेका छन् । म पनि आफ्नो क्षेत्रमा सन्तुष्ट छु ।’
जब सिनेमा अध्ययन गर्न थाले, दीपेन्द्रलाई कतिबेला नेपाल जाऊँ र सिनेमामा काम थालूँ हुन थाल्यो । आफूलाई राष्ट्रिय भावना बढी नै भएको व्यक्ति ठान्ने उनी धेरै त्यहाँ बस्न सकेनन् । भिसा अवधि बाँकी हुँदै नेपाल फर्किए ।
नेपाल आएपछि उनले आफ्नो गाउँका दाइ अर्जुनकुमार भेटे, जोसँग नियमित सम्पर्कमै थिए । अर्जुनको गीत त्यतिबेला चलिरहेको थियो र आलोक नेम्वाङसँग भिडियो पनि गरिरहेका थिए । सिनेमा र मिडियामा पनि परिचित थिए । उनले नै दीपेन्द्रलाई सिनेमा क्षेत्रमा हुलिदिए । दीपेन्द्रले पनि अर्जुनको केही गीतको भिडियो निर्देशन गरे । त्यसपछि सिनेमामा हाम फाले । ‘द युगदेखि युगसम्म’ सिनेमाबाट सुरु भएको उनको यात्रा ‘धर्मा’, ‘चपली हाइट’, ‘भिजिलान्ते’, ‘झोले’, ‘पशुपतिप्रसाद’, ‘धनपति’ , ‘लभ लभ लभ’ हुँदै अघि बढ्यो । यससँगै सामाजिक बिषयलाई सिनेमामा बलियो रूपमा प्रस्तुत गर्न सक्ने क्षमता भएका निर्देशकका रूपमा उनको छवि बनेको छ । अहिले उनी नेपालबाट महंगो रकम तिरेर विभिन्न देशको बोर्डर हुँदै हिडेरै अमेरिका पुग्ने नेपालीहरुको कथामा सिनेमा बनाउन लागेका छन् । उनकै कथा र निर्देशन रहने सिनेमाको मुख्य भूमिकामा कलाकार खगेन्द्र लामिछाने देखिनेछन् ।

नेपालमा अहिले एउटामात्रै हिरो छ– अनमोल केसी । उसले एक्टिङ गर्नुपर्दैन । उसको पछिल्लो सिनेमाको ट्रेलर र त्यसप्रतिको प्रतिक्रिया हेर्दा त्यही देखिन्छ । टिनेजर समूहमा ऊ चलेको छ । तर हामीले जुन समूहलाई लक्षित गर्छौं, त्यसमा चलेको हिरो कोही पनि छैन । यसमा कलाकार र विषयवस्तु चलेको छ ।

पहिले त भाषै मिलेन
दीपेन्द्र सिनेमा क्षेत्रमा नयाँ सोच बोकेर प्रवेश गरे । तर उनको पहिलो जम्काभेट नै परम्परागत व्यवसायिक सोचसँग भयो । त्यतिबेला राजेश हमालमाथिको लगानीलाई सुरक्षित मानिन्थ्यो । अर्थात विकल्प पनि हुन सक्छ भन्ने सोच दुर्लभ थियो । उनी राजेश हमालको स्थानमा आसिफ शाहलगायतका कलाकार लिन चाहन्थे । तर त्यो सम्भव भएन । राजेश हमालमाथि नै लगानी गरिएको सिनेमाबाट काम सुरु गरे । तर त्यसैमा पनि उनी ‘केही नयाँ’ दिन चाहन्थे । त्यसैले आफ्नो पहिलो सिनेमा ‘द युगदेखि युगसम्म’ मा उनले हमालको परम्परागत ’लुक्स’ परिवर्तन गरिदिए । त्यसपछि त के चाहियो र रु डिस्ट्रिब्युटरदेखि हलवालासम्मको एउटै स्वर भइहाल्यो, ‘यस्तो सिनेमा त चल्दैन ।’
‘त्यो समयमा म नयाँ थिएँ, मेरो सोच नयाँ थियो । तर पुरानाको बाहुल्य थियो । राजेश हमालको लुक्स परिवर्तन गर्नु पनि ठूलो चुनौती थियो । त्यसो गरेपछिको दुःखे मलाई थाहा छ’, उनले सम्झिए । पहिलो सिनेमाले उनलाई व्यवसायिक हिसाबले धेरै निराश बनाएन । तर उनी सन्तुष्ट भने थिएनन् । किनकि आफूले सोचजस्तो काम गर्न पाएका थिएनन् ।
त्यतिमात्रै होइन, दुःख त भाषादेखि नै सुरु भयो । उनले पढेर जानेका सिनेमाको भाषा यहाँ बोलिँदैनथ्यो । नेपालमा अर्कै भाषाको प्रयोग हुन्थ्यो । ‘एक त आफूले सोचेजस्तो काम पनि गर्न नपाइने, अर्कातिर भाषा पनि नबुझ्ने । मलाई घुलमिल हुन निकै गाह्रो भएको थियो । विस्तारै मैले यताको भाषा सिकें र पढेको भाषाचाहिँ छुट्यो’, उनले मुस्कुराउँदै सुनाए ।
त्यसपछि, एक समय बलिउडमा चकचकी चलाएकी मनिषा कोइरालालाई लिएर उनले ‘धर्मा’ सिनेमा बनाए । परम्परागत सोच भएकै वृत्तसँग काम गर्नुपरे पनि उनले मनिषालाई नेपाली सिनेमामा ‘कमब्याक’ गराएको जस पाए । उनको छवि केही केही नयाँ गर्न खोज्ने निर्देशकको रूपमा बन्दै थयो । दीपेन्द्र भन्छन्, ‘चपली हाइटदेखि चाहिँ मैले अलि भनेजस्तो गर्न पाएँ । तर त्यसबेला पनि कहाँ सजिलो भयो र रु मान्छेले पचली हाइट भनेर जिस्काए । कतिले सिनेमा लगाउनै मानेनन् । डिजिटलले खिचेको पनि सिनेमा हुन्छ पनि भन्थे ।’
त्यसपछि उनले बनाए ‘भिजिलान्ते’ र ‘झोले’ । भिजिलान्तेमा उनले थ्रिडी प्रविधि प्रयोग गरे । ‘झोले’मा दयाहाङ राई र प्रियंका कार्कीको जोडी स्थापित गरिदिए ।

परिपक्व ‘पशुपतिप्रसाद’
खगेन्द्र लामिाछाने र बर्षा शिवाकोटी स्टारर सिनेमालाई उनी महत्वपूर्ण मान्छन्  । भन्छन्, ‘यसभन्दा अघिचाहिँ बजारमा चल्ला भन्ने हिसाबले सिनेमा बनाएको थिएँ । हेर्दा दर्शकले फ्रेस अनुभूत गरून् भनेर नौलो प्रयोग गरिरहेको हो । पशुपतिप्रसादमा चाहिँ मलाई अहिलेसम्म गर्न मन लागेको काम देखाएँ  ।’ यसलाई दर्शकले पनि मन पराए । त्यसपछि उनले निर्देशन गरेको सिनेमा ‘लभ लभ लभ’लाई दर्शकले मिश्रित प्रतिक्रिया दिए । त्यसपछि ‘धनपति’ले भने दर्शकको उत्साहजनक साथ पायो ।

हिरो छैनन् नेपालमा
सिनेमामा निर्देशकको स्वभाव झल्किनु पर्छ । तर यसअघिका चलचित्रमा दीपेन्द्रले महसुस गरे कि आफ्नो स्वाभाव देखाउनै सकिएन । ‘पशुपतिप्रसाद’पछिका सिनेमामा  उनले आफ्नो स्वभाव देखाउन पाएका छन् ।
उनी सिनेमामा थिएटर कलाकारलाई प्रयोग गर्न मन पराउँछन् । उनीहरूको चरित्रलाई न्याय गर्न सक्ने क्षमताबाट उनी प्रभावित देखिन्छन् । त्यसैले उनी हिरो होइन, कलाकार खोज्छन् ।
उनी स्पष्ट छन्– हिरो र कलाकारमा फरक छ । भन्छन्, ‘नेपालमा अहिले एउटामात्रै हिरो छ– अनमोल केसी । उसले एक्टिङ गर्नुपर्दैन । उसको पछिल्लो सिनेमाको ट्रेलर र त्यसप्रतिको प्रतिक्रिया हेर्दा त्यही देखिन्छ । टिनेजर समूहमा ऊ चलेको छ । तर हामीले जुन समूहलाई लक्षित गर्छौं, त्यसमा चलेको हिरो कोही पनि छैन । यसमा कलाकार र विषयवस्तु चलेको छ ।’
दीपेन्द्रको बुझाइ सही ठान्ने हो भने नेपाली सिनेमामा अहिले कलाकार हावी छन् । त्यसो हुनुमा हाम्रो समाज, राजनीति र अन्य परिवेशको भूूमिका पनि उत्तिकै छ । ‘अहिले कुनै पनि क्षेत्रमा आइडियल हिरो छैन । जसलाई सम्पूर्ण रूपमा श्रद्धा गर्न सकियोस् र पछ्याउन सकियोस् । त्यसैले पनि हिरोको उपस्थिति सिनेमामा पनि नभएजस्तो लाग्छ’, उनी भन्छन् ।

पुरानो पुस्ता : खारिएको छ, तर अपडेट छैन
दीपेन्द्र युवा निर्देशक हुन् । तर उनले पुरानो सोच, शैली र व्यवहार भोगे । आफूले चाहेजसरी काम गर्न सम्भव नहुने समयमा पनि काम गर्नुपर्यो । त्यसो भनेर उनले सिने क्षेत्रका पुराना व्यक्तित्वलाई बेठीक करार गर्न खोजेका होइनन् । अग्रजको महत्व उनी उत्तिकै ठान्छन्, किनकि अग्रज त इतिहास हुन् । अग्रजबाट लिनुपर्ने कुरा पनि धेरै देखेका छन् उनले । तर अग्रजप्रति प्रश्न उठाउन पनि चुक्दैनन् । भन्छन्, ‘अपडेट नहुनु उहाँहरूको समस्या हो । बजार र विश्वमा भइरहेको परिवर्तनबारे अपडेट हुने हो भने पुरानालाई हामीले भेट्नै सक्दैनथ्यौं । सिनेमा मेकिङ त जति खारिँदै गयो, त्यति राम्रो बन्दै जाने हो । अध्ययन नगर्दा र अद्यावधिक नहुँदा उहाँहरूबाट अब्बल काम आउन नसकेको हो ।’
उनी भने नयाँ खोज, प्रयोग र प्रविधिमा घुलमिल छन् । आफ्नो पुस्ताको अध्ययन गर्ने बानीलाई बलियो मान्छन् । ‘चाहे चरित्र होस् या मेकिङ, नयाँ पुस्ता अध्ययनशील छ । नयाँ प्रविधिको प्रयोग गर्न पनि यो पुस्ता अभ्यस्त छ । त्यसैले नयाँ पुस्ताले आफूले चाहेजस्तो काम गर्न सकिरहेको छ’, उनले भने ।
त्यसो त अहिले नयाँ काम गर्न चाहनेले प्रोत्साहन पनि उत्तिकै पाएका छन् । दर्शकको माया त छ नै, सिनेमा क्षेत्रमा नै पनि माहौल बनेको छ । ‘म जुन बेला आएको थिएँ, मेरो दृष्टिकोण प्रयोग गर्न सम्भव भएन । अहिलेका मेकरलाई सजिलो छ । नयाँ मेकरलाई प्रोत्साहन गर्न भनेरै पपकर्नजस्ता वितरण कम्पनी खुलेको छ’, उनी आनन्दित देखिए ।

प्रविधि र दर्शक दुवैको साथ
दीपेन्द्र नेपाली सिनेमामा आउँदा ‘नेगेटिभ’कै जमाना थियो । तर उनले नयाँ प्रविधिमा मोह देखाए । डिजिटलमै खिचे । त्यतिबेला भर्खर एचडी फम्र्याट आएको थियो, त्यही चलाए । ‘तर प्रविधि प्रयोग अहिलेजस्तो सजिलो थिएन । एडिटिङ, कलर करेक्सन आदि गर्न समस्या थियो । बजार पनि सोचजस्तो थिएन । बलिउडकै मसलावाला सिनेमा खोज्थे’, उनले सम्झे ।
अहिले भने प्रविधि परिवर्तन त भयो नै, दर्शकको मनोविज्ञान पनि परिवर्तन भएको उनको बुझाइ छ । उनले हँसाउँदै भने, ‘त्यो बेला रामकृष्ण ढकालको गीत चलेको थियो । ती गीत सुन्नेहरू अहिले विदेशिए । अहिलेचाहिँ नयाँ गीत चलेको छ । त्यसैले सिनेमा मेकर र दर्शकको तानाबाना पनि मिलेको छ ।’
प्रविधिको साथले नयाँ पुस्तालाई उत्साहितमात्रै होइन, प्रभावकारी काम गर्न पनि सजिलो बनाइदिएको उनको विवेचना छ । उनी भन्छन्, ‘पशुपतिप्रसादकै कुरा गर्ने हो भने मैले रेडको ड्रयागन क्यामेराले खिचेको छु । जुनचाहिँ अहिले ठूला ब्यानरको सिनेमा पनि त्यसैले खिचिरहेको छ । पोर्समा पनि हलिउडमा चलाइरहेको प्रविधि चलाउन पाइएको छ । त्यसैले सोचेजस्तो काम हुन थालेको छ ।’

कमजोर अध्ययन र स्क्रिप्ट
प्रविधि र दर्शक दुवैको साथ पाइसकेपछि पनि नेपाली सिनेमा सोचेजस्तो बलियो बन्नचाहिँ सकेको छैन । यो कुरा उनी स्विकार्छन् र कारण पनि परख गरेका छन् । कारण दुई शब्दमा भन्छन्, ‘अध्ययन र स्क्रिप्ट ।’ सिनेमा क्षेत्रमा आउने चाहे कलाकार होस्, चाहे निर्देशक । राम्रो अध्ययन हुुनुपर्ने उनको निष्कर्ष छ । त्यस्तै स्क्रिप्ट कमजोर भएको ठम्याइ छ । भन्छन्, ‘राम्रो स्क्रिप्ट लेख्ने मानिस कम छन् । यसमा ठूलो समस्या छ ।’
त्यसो त उनलाई लाग्छ, सिनेमा क्षेत्रलाई बलियो नहुनुको दोषको हिस्सा निर्मातालाई जान्छ । ‘कुनै पनि क्षेत्रमा लगानी गर्दा त्यसको सबै पक्ष बुझेर लगानी गर्नुपर्छ । सिनेमामा लगानी गर्नेले यो विषयमा सोचेको देखिँदैन । त्यसो गर्दा निर्माता अपेक्षा बढी बोकेर आउँछन् र निराश हुन्छन् । विदेशको कुरा गर्ने हो भने निर्माता हुन पनि पढ्नुपर्छ । तर यहाँ पैसा भएपछि निर्माता हुन पाइन्छ भन्ने सोच छ । त्यसो होइन । निर्माताको लागि औपचारिक अध्ययन नै नगरे पनि सिनेमा क्षेत्रको गम्भीर अध्ययन गरेर आउनुपर्छ । त्यस्ता निर्माता एकदम कम छन् । एक÷दुई जनामात्रै देखेको छु ।’ उनले सुनाए ।
निर्माताको यस्तो हालले नै निर्देशकले आफ्नो क्षमता देखाउन सक्ने अवस्था नेपाली सिनेमामा पैदा भइ नसकेको उनको बुझाइ छ । ‘यस्तो अवस्थामा कथा चयनदेखि नै निर्देशक सचेत हुनु आवश्यक देखिन्छ । कथालाई लगानीले न्याय गर्न सक्छ कि सक्दैन भन्ने हेर्नुपर्छ । त्यसो भयो भनेमात्रै कम्तीमा न्याय गरेर काम गर्न सकिन्छ ।’ उनी भन्छन् ।
कथा छनोटचाहिँ ‘हेभी’ गर्ने र त्यसमा लगानीचाहिँ हुन नसक्दा हँसाउने काममात्रै हुने गरेको उनको अनुभव छ । त्यसो गर्नुको साटो मौलिक सिनेमा बनाउनु उपयुक्त हुने उनको ठहर छ । ‘पछिल्ला केही सिनेमा हेर्दा नेपाली सिनेमाका दर्शकले मौलिक विषयवस्तु हेर्न चाहँदारहेछन् भन्ने प्रमाणित भएको छ । त्यसमा सिनेमेकर सचेत हुनुपर्छ । अहिले हामी लगानीका हिसाबले पनि ‘हाइफाइ’ सिनेमा बनाउन सक्दैनौं । त्यसैले मौलिक सिनेमामा मिहिनेत गर्नुपर्छ’, उनको भनाइ छ ।

ठूलो क्यानभासको सपना
नेपाली सिनेमामा दर्शकको लगाव निकै बढेको पाएका छन् दीपेन्द्रले । त्यसैले भूकम्पपछि व्यवसायिक क्षेत्रमा नेपाली सिनेमाले मात्रै साथ पाएको उनको भनाइ छ । ‘भूकम्प आउँदा रेशम फिलिली चलिरहेको थियो । म पनि हलमै थिएँ । हलमा जस्तो वातावरण भयो, त्यसपछि म निकै आत्तिएँ– अब त दर्शक हलमा जाँदैनन्, के काम गर्ने होला भनेर । त्यसपछि नाकाबन्दी भयो । हिँड्डुलमै समस्या भयो । यस्ता दुई ठूला संकट देशले भोग्दा पनि नेपाली सिनेमा चलि नै रह्यो । यो अवधिमा नेपालमा कि तस्करी चल्यो, कि नेपाली सिनेमा नै चल्यो । एन्टी इन्डियन सेन्टिमेन्टका कारण होला, विदेशी सिनेमामा पनि त्यति आकर्षण देखिएन’, उनले उत्साहित हुँदै सुनाए ।
पछिल्लो समय नेपाली सिनेमामा जुन आकर्षण देखिएको छ, त्यसलाई सिनेमेकरले संवेदनशील रूपमा लिनुपर्ने उनको भनाइ छ । उनी आफू पनि यसमा सचेत छन् । भन्छन्, ‘नेपाली दर्शकले यति विश्वास गरिरहेका छन् । उहाँहरूलाई निराश बनाउनुहुन्न भन्ने मनमा खेलिरहन्छ । अहिलेको अवस्था हेर्ने हो भने नेपाली सिनेमाको भविष्य उज्वल छ । तर यो हाम्रो लागि चुनौती पनि हो– नेपाली सिनेमामा दर्शकको यो विश्वासलाई अझ बनाउन ।’
सिनेमा क्षेत्रमा देखिएको यो उज्यालोसँगै उनी ठूलो क्यानभासको सपना देख्छन् । विदेशतिर निर्देशकले आफूले सोचेभन्दा ठूलो क्यानभास पाइरहेको देखेका छन् उनले । अहिलेको सकारात्मक अवस्थालाई सही रूपमा उपयोग गर्ने हो भने नेपाली सिनेमाको क्यानभास पनि फराकिलो हुनसक्ने उनले देखेका छन् । उनले आफ्ना सपनाका कुरा गरे, ‘यहाँ धेरै कथा छन् । धेरै ऐतिहासिक विषय सिनेमामा ल्याउन सकिन्छ । त्यसका लागि सिनेमाको क्यानभास हरेक हिसाबले ठूलो हुनुपर्छ । त्यही सपना देख्छु ।’


तस्बिर : बिजु महर्जन