‘गोली थाप्नुअघि आफ्नो जीवनी लेख्ने अनुमति पाएँ’

‘गोली थाप्नुअघि आफ्नो जीवनी लेख्ने अनुमति पाएँ’

असार ११, २०७८ 0 By डा. दीपेन्द्र रोकाया
शेयर गर्नुहोस्

२०५५ माघ २८ बिहीवार
यातनालय, मार्तडी ।

मार्तडीमा घाम लागिसकेको छ । चिसो हावा चलिरहेको टापुमा काग कराइरहेका छन् । मलाई उही यातनालयमा हाजिर गराएर सोधे, ‘के सोचिस् त ?’
मैले सोच्ने र भन्ने कुरा सबै भनिसकेको र भोगिसकेको थिएँ । मैले मुन्टो हल्लाएँ । उनीहरूले केही नयाँ कुरा आउला भन्ठानेर मतिर हेरेर भने, ‘ल के सोचिस् त ?’
‘भन्नेजति कुरा भनिसकेँ । त्यसबाट पत्याउने होइन भने मैले छाती खोलेर देखाउन सक्दिनँ,’ मैले आफ्नो विचार व्यक्त गरेँ ।
‘तैँले दुःख पाइस् अब,’ भन्दै लगाको लुगा खोल्न लगाए । ज्यानमा काँडा फुल्यो । बाहिर जोडजोडले हावा चलिरहेको छ । हावाभन्दा जोडले लात्ती, मुड्की र प्लास्टिकको पाइपले हिर्काए । बाँकी रहेका घंगारुका लौराले सकेजति कुटे । नाङ्गै पारेर सिस्नोपानी लगाउने धम्की दिँदै भने, ‘तेरो पार्टी नाम विप्लव हो कि होइन ?’
‘प्रकाण्ड र हिमाल कहाँ छन् ?’ उनीहरूले नै भने, ‘तैँले लेखेको चिट्ठीकै आधारमा तँ पक्राउ परेको होस् । तेरो साथी हिमाल कैलालीको चौमालामा पक्राउ परिसक्यो । उसको वास्तविक नाम तिलक शर्मा हो, हैन ? अब कति ढाँट्छस्, ढाँट ।’

होशमा आउँदा खरो भएछ । पानी मागेँ । पिसाब फेर्न नपाएर पेट दुखेको अनुभव भयो । यसैले पानी माग्ने र पिसाब फेर्ने कुरा एकैचोटि गर्न पुगेँ । ‘साला ल …..’ भन्दै जगमा भएको पानी मुखमा खन्याए । पानी निल्न धौ–धौ भयो ।

मैले तिलक शर्मा भनेपछि केही सम्झेझैँ गरी ‘ए उनलाई त मैले हुम्लामा उहिल्यै देखेको थिएँ’ उनी संयुक्त जनमोर्चाका कार्यकर्ता हुन्, के भनेको थिएँ, कहाँ, कसरी, किन, के र कस्तो जस्ता प्रश्नले फेरि हैरान बनाउन थाले । वैधानिककालकै कुरा सुनाएँ ।
फेरि सुरु भयो, मेरो नाम विप्लव हो भन्ने कुरामा । मैले नभएको कुरा मरे पनि नस्वीकार्ने बताएँ । उनीहरू कुनै पनि मानेमा सहमत हुन सकेनन् । दुवै असइले छातीमा खुट्टाले थिचेर दुवै हातका औंलामा पिन ठोक्न थाले । मेरो होश गुम्यो । वास्तवमा होश हराउँदा पो आनन्द भयो, किनकि पीडाबोध त भएन । होशमा आउँदा खरो भएछ । पानी मागेँ । पिसाब फेर्न नपाएर पेट दुखेको अनुभव भयो । यसैले पानी माग्ने र पिसाब फेर्ने कुरा एकैचोटि गर्न पुगेँ ।
‘साला ल …..’ भन्दै जगमा भएको पानी मुखमा खन्याए । पानी निल्न धौ–धौ भयो ।
आँखामा कालो रुमालले बाँधे । अब भनेन भने ‘यसको अन्तिम इहलीला समाप्त पारिदिने’ भन्दै फनक्कै घुमाएर बाहिर लगे । अलिकति हिँडाएपछि बस् भने । बसेँ । फेरि सोधे, ‘ल भन् ।’
के भनुँ ?’
‘तेरो टाउको राँडीको छोरा’ असइ रिसले चुर भयो । ‘साले पिसाब फेर्छु भनेको होइन ? फेर्’
पिसाब फेर्न थाल्दा मुटुमै झट्का लाग्यो । अगेनामा फेरेजस्तो छ्याँ, छ्याँ आवाज आएको सुनेँ । करेन्टमा पिसाब फेराएको रहेछ । म अत्तालिएँ । उनीहरूले समातेर जता फर्काएका थिए, त्यता नगरी मेरो पालो पिसाब नली घुमाएर पिसाब फेरेँ । उनीहरूलाई पिसाब परेछ क्यार, भागाभाग भयो । उनीहरूको बीचमा एकछिन हाँसो चल्यो । तर, उनीहरू रिसाए । आमाचकारी शब्दले गाली गरे ।

‘तँ एकछिनपछि यो संसारमा हुने छैनस् तर हामीलाई पछुतो लाग्ने नहोस् भनेर तँलाई म अन्तिमपटक सोध्दै छु, तँलाई बाँच्ने इच्छा छ कि छैन ?’


घाम अस्ताएको थिएन । मलाई उही यातनालयमा पु-याए । अहिलेसम्म जे–जति सोधेका थिए, जे–जति बुझेका थिए, ती सबै कुरा एक–एक गरी सोध्दै गोद्दै गए । आलो घाउमा नुनचुक लगाउँदै गए । मलाई सही नसक्नु पीडा भयो । आज चन्द थरका सई रमिते भएर बसेका थिए । गिद्धले सिनोलाई ठुँगेझैँ मलाई उनीहरूले ठुँगे । उनीहरूको चाल हेर्दा मलाई जसरी पनि मार्न उद्यत छन् । मान्छे हत्तपत्त मर्न सक्दोरहेनछ । यतिका पटक बेहोश हुँदा पनि म जिउँदै छु । मैले मनमनै सोचेँ ।
रातको ११ बज्यो । ‘यसलाई यत्तिकै मार्न हुन्न,’ भन्दै डीएसपी रामविनय सिंह पनि यातनालयमा आए । उसले नेपथ्यमा यातना दिइरहेको सबै गतिविधि सुनिरहेको रहेछ । यमदूतहरूले मलाई लिन नसकेपछि यमराज आफैँ आएझैँ गरी मेरासामु उभियो । हत्कडी फुकाल्न लगायो । असइहरू ठिङ्ग उभिए । डिएसपी र मेरो सिधासिधा आँखा जुधाएर वार्ता हुन थाल्यो ।
उसले कुनै पनि हालतमा मलाई बचाउन नसक्नेगरी माथिबाट आदेश आएको जानकारी गरायो । ‘तँ एकछिनपछि यो संसारमा हुने छैनस् तर हामीलाई पछुतो लाग्ने नहोस् भनेर तँलाई म अन्तिमपटक सोध्दै छु, तँलाई बाँच्ने इच्छा छ कि छैन ?’ मैले केही नबोलेको देखेपछि ‘एई आँधीबेहरी, के छ विचार ?’ भन्यो ।

‘नरकमा पुगिसकेकाले बाँचुला भन्ने मैले कल्पना पनि गरेको छैन । आफ्ना सबै कुरा भन्दा पनि पत्याइन्न भने छाती चिरेर देखाउने ठाउँ छैन । यस्तो जुनी जिउनुभन्दा मर्नु जाती हुन्छ’, मैले आफ्नो मन कठोर पार्दै भनेँ ।


मैले उसको आँखामा आँखा जुधाएर भनेँ– कोही पनि अनावश्यकमा मर्न चाहन्न तर यस्तो परिबन्धमा पारेर मार्न खोजिन्छ भने मेरो भन्नु केही छैन । मलाई विनापुर्जी गिरफ्तार गरेयता अनावश्यक यातना दिइएको छ । पक्रेको २४ घन्टाभित्र वकिलसँग सम्पर्क गर्न पाउनुपर्ने हो, त्यो भएको छैन । यहाँका मानवअधिकारवादी, पत्रकारसँग भेट्न पाउनुपर्ने हो त्यो पनि दिइएको छैन । बाजुराको प्रहरी प्रशासनले यो पापको भारी कुनै न कुनै बेला बोक्नु परिहाल्ला नि ।
‘ए भाइ, तँ भर्खरको छस् । केही गरौँ भन्ने सोच भएको मान्छे, किन अनावश्यक रूपमा मर्न चाहन्छस् ? आफ्नो कुरो भने त भोलि नै हामी छोडिहाल्छौँ नि,’ सइले नयाँ जुक्ति निकालेझैँ गरी बोल्यो ।
‘नरकमा पुगिसकेकाले बाँचुला भन्ने मैले कल्पना पनि गरेको छैन । आफ्ना सबै कुरा भन्दा पनि पत्याइन्न भने छाती चिरेर देखाउने ठाउँ छैन । यस्तो जुनी जिउनुभन्दा मर्नु जाती हुन्छ’, मैले आफ्नो मन कठोर पार्दै भनेँ ।
‘तँलाई मर्न डर लाग्दैन ?’ पुनः डीएसपीले सोध्यो ।
‘लाग्थ्यो, तर अहिले त्यो डर हराइसकेको छ । मैले यो पृथ्वीको भार हुनेगरी बाँच्नुको अर्थ नै के रहन्छ र ? जब कि केही गरौँ भन्ने मेरो नसाहरू चुँडिसकेका छौ । भर्खर चढ्न थालेको जवानी नै समाप्त हुनेगरी थला पारिसकेका छौ । यो अधमरो ज्यान लिएर मैले बाँच्नुको अर्थ छैन ।’
सइले ‘आवेगमा नआऊ भाइ, अझै विचार गर,’ भन्दै गर्दा फेरि डीएसपीले भन्यो, ‘एकछिनपछि तँ यो संसारमा हुने छैनस्, कल्पना गरी त हेर् ।’

मेरा सपनाको हत्या भए पनि म के विश्वास गर्छु भने यो खबरले मेरा दौंतरी, साखासन्तान जाग्नेछन् । फेरि पनि भन्छु– मसँगै यहाँ आउनुभएका काकालाई एकपटक भेट गराइदेऊ । म आफ्नो कुरा उहाँलाई भन्छु ।


उनीहरूको तयारी देख्दा मैले जीवनको राजीनामा दिने दिन आजै हो भनेर अनुमान गर्न कुनै गाह्रो भएन । ‘थ्याङ्क यु मिस्टर ग्लाड’को नायक वीरभूषण पट्नायकलाई सम्झेँ ।
‘मानवअधिकार पालना गर्ने हो भने जोकसैको पनि मृत्युदन्ड दिनुअघि उसको अन्तिम इच्छा सोध्ने चलन हुन्छ । हुन त मेरा धेरै इच्छा छन् । अहिले हुम्ला गएर डाँडामाथिको जूनजस्तो बुवालाई भेट्न नपाउने नै भएँ । मैले सोचेको नेपाल, कर्नाली, हुम्ला र मेरो गाउँ बनाउने योगदान दिन नपाउने नै भएँ । मेरा सपनाको हत्या भए पनि म के विश्वास गर्छु भने यो खबरले मेरा दौंतरी, साखासन्तान जाग्नेछन् । फेरि पनि भन्छु– मसँगै यहाँ आउनुभएका काकालाई एकपटक भेट गराइदेऊ । म आफ्नो कुरा उहाँलाई भन्छु । यो मेरो अन्तिम इच्छापत्र भने पनि हुन्छ ।’
‘तेरो काका पनि त मर्छ,’ डीएसपीले उत्तर दियो ।
‘उहाँलाई नमार्दासम्म भए पनि मेरो कुरा सम्झनुहोला नि’, मैले आफ्नो कुरो राखेँ ।
लामो समयसम्म यस्तै सवाल जवाफ चल्यो । काकासँग कसै गरे पनि भेट्न नदिने भएपछि अन्त्यमा डीएसपीले मसँग एउटा कुरामा सहमति जनायो । त्योचाहिँ मैले आफ्नो इच्छापत्रस्वरूप आफ्नो जीवनी आफ्नै हातले लेखेर यो दुनियाँमा छाड्ने । त्यसका लागि उनीहरूले आधी घन्टाको समय दिए । मैले सरासर लेखेँ । अन्तिममा गणना गर्दा नौ पेज भएछ ।

कहीँ नभएको जात्रा देखाएर मलाई बाँच्नु छैन । केही गरौँ भन्नेलाई राज्य यस्तै बर्बरता देखाउँछ भने मैले आत्मसमर्पण होइन, आजैबाट न्यायपूर्ण आन्दोलनको पक्षमा मर्न चाहन्छु । तिमीहरूजस्तो पैसाको मान्छे होइन, बुझ्यौ ?


मैले लेखेर दिएको जीवनको राजीनामा पत्र पनि मेरो बयान फाइलमा फाइलिङ भयो । डिएसपीले अघिदेखि हेर्दै गरेको एउटा कागज देखायो । यो तैँले लेखेको चिट्ठी होइन ? भन्दै । त्यो फ्याक्स पेपर थियो । त्यसमा कमरेड विप्लवले कमरेड हिमाललाई लेखेको चिट्ठी थियो । त्यसको खाममा पठाउने दीपेन्द्र रोकाया भनेर लेखिएको थियो । वास्तवमा त्यो मैले लेखेको चिट्ठी थिएन र अक्षर पनि मिल्दैनथ्यो । यथार्थमा म पक्राउ पर्नुको चुरो कुरो नै यही रहेछ ।
मैले यो सबै नक्कली काम भइरहेको अनुमान लगाएँ । बेजोडले रिस उठ्यो । सायद म यसरी कहिल्यै अरू बेला रिसाएकै छैन । एकाएक म जुरुक्क उठेँ र भनेँ– ‘किन दुनियाँभरिका षड्यन्त्र रचेर दुःख दिन्छौ ? हिम्मत छ भने गोली हान र फुली बढाऊ । तिम्रा मालिकहरूले स्याबासी देलान् ।’
डिएसपी पनि जुरुक्क उठ्यो र भन्यो, ‘यदि बाँच्न चाहन्छस् भने आत्मसमर्पण गर् । तेरो अन्तिम विकल्प यही एकमात्र बाँकी छ ।’ उसले आफ्नो अन्तिम अस्त्र प्रयोग ग-यो । मैले उसको कुरा प्रतिवाद गर्दै भनेँ– ‘कहीँ नभएको जात्रा देखाएर मलाई बाँच्नु छैन । केही गरौँ भन्नेलाई राज्य यस्तै बर्बरता देखाउँछ भने मैले आत्मसमर्पण होइन, आजैबाट न्यायपूर्ण आन्दोलनको पक्षमा मर्न चाहन्छु । तिमीहरूजस्तो पैसाको मान्छे होइन, बुझ्यौ ?’ मैले कड्केर उनीहरूलाई थप उत्तेजित पार्न पुगेँ ।
‘त्यसो भए तँ मर्न नै चाहन्छस् ? तँ त घरमा बिमारी बाबा भेट्न आएको मान्छे होइनस्,’ सइले कुरा मोड्यो ।
‘मेरो प्रगति देख्न नचाहने एकाध मान्छेले दिएको सुराक र प्रहरी प्रशासनको अन्धो व्यवहारले मसँग भएको कापी, कलम, किताब र लुगालाई समेत बम, बारुद, बन्दुक र छापामार डायरी सम्झेको छ । म के गरूँ त ?’ मेरो आक्रोशको पारो चढ्यो ।

‘थ्याङ्क यु मिस्टर ग्लाड’को नायक वीरभूषण पट्नायकसँग आफूलाई तुलना गरेँ । उनको र मेरो अवस्था आकाश पातलको फरक थियो । मैले आफ्नो हैसियतभन्दा बढी सजाय पाउँदै छु । तैपनि हाँसीहाँसी गोली थाप्न तयार छु ।


‘यो साले मर्न नै चाहन्छ,’ टेबुलमा मुठ्ठी बजारेर डीएसपी करायो । झ्यालबाट ‘ए सेन्ट्री, राइफल र गोली लिएर आइज, यो साले मर्न नै चाहन्छ ।’ कोठाको बत्ती झन्झन् चम्किलो भयो ।
‘अब तेरो मर्ने बेला भयो,’ डीएसपीले लामो सास तान्यो । ऊ ठूलो तनावमा देखियो । दुई मिनेट अझै सोच्ने समय दियो । मैले विद्युतीय गतिमा सोचेँ । फेरि पनि ‘थ्याङ्क यु मिस्टर ग्लाड’को नायक वीरभूषण पट्नायकसँग आफूलाई तुलना गरेँ । उनको र मेरो अवस्था आकाश पातलको फरक थियो । मैले आफ्नो हैसियतभन्दा बढी सजाय पाउँदै छु । तैपनि हाँसीहाँसी गोली थाप्न तयार छु । मनमनै आफ्नो शहादतलाई गंगालालहरूको जस्तै नेपाल मुक्त पार्ने सपनासँग जोडियोस्, न्यायपूर्ण आन्दोलन जारी छ, माओवाद जिन्दावाद भन्ने निर्णय गरेँ ।
मेरैअगाडि राइफलमा गोली लोड भयो । सिपाहीले राइफल सोझ्यायो । उसले मेरो घुँडामुनितिर राइफल सोझ्यायो । उसको हात लगलग कामेको देखेँ । मैले उसको निशानाप्रति आपत्ति जनाएँ । ‘यो सालेलाई केही गरे पनि उपाय लागेन,’ डीएसपीले लामो सास फेर्दै आँखा सिलिङतिर पु-यायो ।
मलाई जबरजस्त बाहिर निकाल्न खोजे । मैले बाहिर नजाने अडान लिएँ । ‘आखिर जहाँ लगेर भए पनि हत्या गर्ने नै हो, लौ मेरो छाती खुला छ’ भन्दै हाँक दिँदै मैले ज्याकेटको चेन फुकालेँ । छाती खोलेर ठिङ्ग उभिँदा मसँग एकरत्ति डर थिएन । मान्छे अन्तिम अवस्थामा पुगेपछि जस्तोसुकै चुनौती मोल्न पनि तयार हुँदोरहेछ । डिएसपी गम्भीर मुडमा सोचिरहेजस्तो देखिन्थ्यो । सइ र असइहरू नुन खाएका कुखुराझैँ देखिए ।
म अनावश्यक कुरा गरेर बाँच्न चाहँदैनथे । मैले आफ्नो अन्तिम इच्छापत्रस्वरूप मेरो जीवनी आफैँ लेखी यो संसारका लागि भनेर दिइसकेको थिएँ । म एक किसिमले ढुक्क थिएँ । आफ्नो कर्तव्य पालना गर्नेक्रममा सबै मान्छेका सपना पूरा हुन नसकेझैं मेरो सपनाको हत्या हुँदै छ भन्ने कुरामा । मैले सुनेको थिएँ कि प्रहरीलाई मानवअधिकारको तालिम दिइएको हुन्छ । व्यवहारमा एक चिम्टी पनि पाइनँ । आज बिहानदेखि खाना र एक घुट्को पानीसमेत नदिई तड्पाइएको छ ।

आदेश पाउनेबित्तिकै हवल्दार प्रेमबहादुरले निशाना बनायो । उसको निशाना मेरो घुँडा मुन्तिर थियो । मैले फेरि छाती खोलेर भनें – ‘यता हो निशाना लगाउने ठाउँ, कायरहरूले मात्र तल ताक्छन् ।’


मेरो कठोरता बढ्दै गयो । उनीहरू मौन रूपमा उभिए । मुखामुख गरे । डिएसपी रामविनय सिंहले सन्नाटा चिर्दै भन्यो, ‘तँ माओवादी भएको प्रमाण पाइसकियो, माओवादी छापामार होस् भन्ने कुरा पक्का भयो । त्यसैले अबको एक मिनेटसम्म भन्ने भए भन् होइन भने उडाइन्छ । अबको एक मिनेटपछि यो संसारबाट तँ बिदावारी हुँदै छस् । छिटो भन् तेरो कुरा । आत्मसमर्पणसम्म गरिस् भने पनि बाँचिहाल्छस् र भोलिका दिनहरूमा यहाँबाट निस्केपछि जे गर्दा पनि हुन्छ । छिटो गर ।’
मैले यत्तिका कुरा गर्दा पनि पुगेन ? कायरहरू, अनावश्यक दुःख नदेऊ भनेँ । डिएसपीले मेरो कुरा सुन्नेबित्तिकै उत्तेजित भयो । उसले आदेश दियो, ‘ठोक् सालेलाई ।’
अरूहरू एकातिर र म एकातिर उभिएँ । सिपाहीको हात काम्यो । उसको काँपिरहेको हात देखेर डिएसपीले हका-यो, ‘ए साले, तँँलाई प्रमोसन हुनु छैन ? राइफल हवल्दारलाई दे ।’
आदेश पाउनेबित्तिकै हवल्दार प्रेमबहादुरले निशाना बनायो । उसको निशाना मेरो घुँडा मुन्तिर थियो । मैले फेरि छाती खोलेर भनें – ‘यता हो निशाना लगाउने ठाउँ, कायरहरूले मात्र तल ताक्छन् ।’
‘उडाइ दे, साला यो माओवादीलाई,’ डीएसपीले फेरि आदेश दियो । हवल्दारको निशाना तलै भएकाले मैले पनि कराएँ । ‘कायरहरू हो, निशाना तल होइन, माथि यहाँ हो’, छाती देखाउदैँ भनेँ ।
डिएसपी, सइ र असइहरूले म मृत्युसँग नडराएकोमा आश्चर्य मान्न थाले ।
‘यो सालेलाई यत्तिका यातना दिँदासमेत एक थोपा आँसु झारेन । यो पक्कै माओको चेलो हो । माओवादीहरूको फलामे अनुशासन यस्तै हुन्छ रे, ज्यान जाला आफ्नो कुरो भन्दै भन्दैन । कस्तो अनौठो,’ एउटा असइले आफ्नो अनुभव सुनायो ।
(डा. दीपेन्द्र रोकायाको जीवनकथा–संस्मरण ‘नाफाको जिन्दगी’ पुस्तक प्रकाशित छ)