एक प्रतिरोधी सर्वहाराको आवाज

एक प्रतिरोधी सर्वहाराको आवाज

साउन ३, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

यो प्रतिबन्धित समय, मञ्जुश्रीको खाल्डोबाट उम्केर टाढा कतै जान मन छ । बाज झैं आकाशमा वेग मार्दै अछामको सुदूर बस्तीतिर वा रिम्पोचेको एकान्त गुम्बा हुँदै चिप्लिने तामाङ गाउँसम्म । तर, सरकारको उर्दी थियो, भीडमा ननिस्कनू । ननिस्किएर नि भएन ।
ट्राफिकको आँखा छल्दै बाक्लै यात्रु कोचेर हुँइकिइरहेको सार्वजनिक बस चढेर लकडाउन खुकुलिएकै दिन म सहर निस्किएँ । त्यौड जानु थियो, पुगेर प्रदर्शनीमार्ग हुँदै फर्किदै थिएँ । वाल्मिकी क्याम्पसनेर पुग्दा झल्याँस्स याद आयो, बिजुलीको पोलतिर आँखा पुगे । त्यो पोलमा सँधै अडेसा मार्ने उनी थिइनन् ।
‘ए कहाँ पो होलिन् आमै यो अप्ठ्यारो समयमा’, वारिपारि आँखा डुलाएँ । पानीपर्दो यो मौसम, अझ कोरोनाको कहर उस्तै । विद्यार्थीहरूले घेरिने कलेजका ढोका पनि बन्दै छन् ।

धनमाया जिरेल l तस्विर: शकुन्तला जोशी

भनेपछि उनी के बागबजारका गल्लीतिरै होलिन् ? कि कहाँ होलिन् ? कहिले आशाले मन न्यायो, कहिले आशंकाले मन चिसो भयो । ती सर्वहारा वृद्धाले कसरी धानिरहेकी होलिन् जीवन ? खुल्ला मञ्च वा सहरका कुनै चौरमा निःशुल्क गराइने भोजनको लाइनमा उभिन पुगिन् कि ? कि आफ्नै बुताले टिकेको होला उनको जीवन ? के होला उनको अहिलेको अवस्था ?
के यो सत्ताले सोध्यो कहिले उनको भोकबारे ? सरकार बनाउन र भत्काउन व्यस्त सत्तालाई सामान्य मान्छेका जीवनसँग सरोकार राख्न कहाँ फुर्सद ? अप्ठ्यारो समयमै जिउन अभ्यस्त उनी केही समयपछि अवश्य यहाँ भेटिएलिन् ! सोच्दै म एकछिन बिजुलीको पोलनेरै अल्मलिइरहेँ । मसँग उनको फोन नम्बर पनि थिएन । यसै फर्किएँ । तर मन मानिरहेको थिएन ।

‘बदामको सट्टा आज काँक्रो खानुस् । गाडी चढेर हिड्नु अझै ठिक छैन नि,’ उनले मलाई पनि एक चिरा काँक्रो थमाउँदै सोधिन्, ‘नानीले मेरो कथा लेख्नु भो ? अनि फोटो खै त ?’ मैले एकछिन स्पष्टिकरण दिएँ ।


केही दिन अघि फेरि त्यता पुगें । यसपाली टुकुचानेरबाटै देखेँ, बिजुलीको पोलमा दुई तीन जना मानिस थिए । उत्साहित हुँदै फटाफाट गएँ । त्यहाँ धनमाया सानो काँक्रो काटेर वरिपरि भएका मान्छेलाई बाँड्दै रहिछन् । उनको नाङ्ले पसल पोलको भित्तातिर थियो । तर यसपाली बदाम भने थिएन । अलिकति दूरी बनाएर माक्स खोलेँ । एकछिन नियालेपछि उनले चिनिन् । सञ्चो–विसन्चो सोधखोज भएपछि थाहा भो, जसोतसो उनको परिवारको चुल्हो जलिरहेको रहेछ यस संकटमा पनि ।
‘बदामको सट्टा आज काँक्रो खानुस् । गाडी चढेर हिड्नु अझै ठिक छैन नि,’ उनले मलाई पनि एक चिरा काँक्रो थमाउँदै सोधिन्, ‘नानीले मेरो कथा लेख्नु भो ? अनि फोटो खै त ?’ मैले एकछिन स्पष्टिकरण दिएँ ।
अनि कतै नछापिएर बसेको उनको कथाको याद आयो । गत वर्ष कोरोना नआउँदै लेखिएको कथा कम्प्युटरको कुन फोल्डरमा होला, गम खाएँ एकैछिन् । याद आयो । उनको तस्बिर पनि त लिएको थिएँ । अझ उनको मिल्ने संगिनी गुरुङ आमासँग खिचिएको तस्बिर उनले छापेर ल्याइदिन पनि अनुरोध गरेकी थिइन् । तर, फोटो भने बेपत्ता भो मेरो फोनसँगै । उनको कथा भने मेरो मनमा थियो । मैले नयाँ फोटो खिचेँ । उनको कथा छापेपछि फेरि भेट्न आउँछु भन्दै बिदा भएँ । कम्प्युटरको फोल्डरमा यस्तो कथा भेटेँ ।
०००
‘यो सडकको दुःख कि मलाई थाहा छ कि यही सडकलाई । को बुझ्छ र यहाँ अरूको दुःख, कसलाई फुर्सद छ र यो सहरमा अरूको कुरा सुन्न । सलहजस्तै बग्ने मान्छेको भीडमा मेरो दुःख छायाजस्तै यतै वरिपरि डुलिहिँड्छ होला । र त म जहींको तहीं छु ।’ १४ वर्षदेखि सडक किनारमा जीविकोपार्जनको तान हालेर बसेकी धनमाया जिरेल (६२)का आवाज हुन् यी ।
दोलखाको क्षेत्रपा उनको स्थायी घर, पछिल्लो डेढ दशकदेखि बागबजारको साँघुरो गल्लिभित्र सानो कोठा र यही खुल्ला सडक उनको संसार बन्यो । प्रदर्शनीमार्गको वाल्मिकी क्याम्पसनजिक पेटीमा उनको नाङ्ले पसल छ । बिजुलीको पोलको आडैमा । यही सडकमा झण्डा बोकेर नाराजुलुस गर्नेहरू ठूला मान्छे भएको उनले सुनेकी छिन् । उनको पसलबाट सित्तैमा बदाम खाएर जुलुस लाउने युवाहरू कोहीकोही त अवश्य मन्त्री बनिसके होलान् । यो डेढ दशकमा उनी भने सडकमै छिन् । उसो त उनी जसरी सडकमै जीवन कटाउनेहरू सहरमा अरू कति छन्, कति । उनी बदाम, चुरोट, गुट्खालगायत सामान केही पोकामा राखेर बेच्छिन् ।
गाउँमा भुँइचालोले घर भत्कायो । छ/सात पाथी बिउ लाग्ने खेत छ । बारी छैन, पखेरो मात्रै । टाकनटुकन बाह्रमाना मकैको बिउ जान्छ बारीमा । दुःख–सुख खान पुग्थ्यो । उतिबेला जाँडरक्सी पैकार गरेर घरखर्चको जोहो गर्थिन् । जहानले पुग नपुग बेसाहा खान्थे । छोराछोरी बढे, परिवार बढ्यो । छोरा परदेश लाग्यो । उनी बिस्तारै सम्झनाको मियोवरिपरी घुम्न थालिन् ।

अरूले रिसै गर्ने गरी बेस्सरी काम गर्नुपर्ने उनलाई । सम्झन्छिन्, ‘त्यतिबेला काम गरेको सम्झेर अहिले ज्वरो आउनु खोज्छ । एक निद्रा सुतेपछि निद्रा नलाग्ने त्यो उमेरमा ।’


एकछिन छोरा सम्झिइन्– ‘गरिबका छोराले कि अरप जानु परो, कि त यतै सिमिन्टीका बोरा उठाउन परो । जहाँ भए नि के सुख ! जहाँ भएनि भग्वानले रक्षे गरुन् । म अहिले त आफैँ कमाएर खान्छु, मलाई कसैको पैसा चाहिएको छैन । अहिले उसको आफ्नै छोराछोरी राम्रो पालोस्, हातखुट्टा बसेपछि हेरो भने भइगो ।’
उनी जन्मेको चार महिनामा उनलाई आगोले पोलेको रे । टाउकाछेउमा सानो खत थियो । पछि घाँसदाउरा गर्दा लडेर फेरि त्यो घाउ बल्झियो । भन्छिन्, ‘मान्छेले पत्याउँदैन तर, मेरो टाउकोको दुई÷तीन ओटा हड्डी निस्केर गयो । दुःखको के कुरा, मेरो टाउकोभरि सिलाएको छ ।
यथार्थमा म लेख्ने कथा खोज्दै उनीसम्म पुगेको थिइनँ । म त्यही बाटो हिँड्दै थिएँ । हिउँद यामको एउटा पारिलो दिन, बिजुलीको पोलनेर नाङ्लोमा बदाम राखिएको थियो । पोलतिरै अडेसिएर बदामवाली महिला बाति कात्दै थिइन् । एक सोली बदाम किन्न निहुँरिदा कसो उनीसँग आँखा जुधे । मलाई त्यो दिन उती हतार थिएन । उनकै छेउ उभिएर बदाम खान थालेँ, संवाद हुन थाल्यो । यसरी तानियो कथाको लहरो ।
सोधेँ, ‘म तपाईंका कथा लेख्छु है ?’ एकैछिन झर्को मानिन् । ‘कसैले लेखेर के हुन्छ ? कसैले जुलुस लाएर के हुन्छ ? को सुन्छ हाम्रो कथा ?’, उनको कुरा ठिकै त थियो । तर, एकछिनमा के सोचिन् कुन्नी ! फिस्स हाँस्दै भनिन्, ‘नानीको कामै लेख्ने होला, लेख्नु न त ।’
अनि मैले रेकर्डर दाबेँ ।

युवतीले लुटेपछि
उनको सम्झना गाउँतिर पुग्यो । गाउँ छँदा उनलाई काम गर्न खुबै जाँगर चल्ने । दिनभरि अरूको खेतबारीमा काम ग-यो, आफ्नो काम जुनेली रातमा । रातभरि मकै छर्ने, डल्ला फुटाउने अनि गहुँ बारीमा डोलाउने । अरूले रिसै गर्ने गरी बेस्सरी काम गर्नुपर्ने उनलाई । सम्झन्छिन्, ‘त्यतिबेला काम गरेको सम्झेर अहिले ज्वरो आउनु खोज्छ । एक निद्रा सुतेपछि निद्रा नलाग्ने त्यो उमेरमा ।’
एकदिन गाउँको दुःख छोडेर छोरी र श्रीमान्सहित काठमाडौँ आइन् । गाउँबाट ल्याएको पैसाले यही खसी बजारमा नाङ्ले पसल थापिन् । काठमाडौँबारे उनलाई खास जानकारी थिएन । उनलाई टाउकोको घाउ बल्झिएर सताउन थाल्यो । कसैले सुझाए– नरदेवी आयुर्वेद अस्पतालमा गए ठिक हुन्छ । उनी छोरीलाई लिएर सोध्दैखोज्दै पुगिन् । अलिक बिसेक होला जस्तो भएपछि उनी डाक्टरले बोलाएको समयमा धाउन थालिन् ।
‘त्यतिपल्ट धाउँदा पनि एक्लै जान सक्दिन ?’, श्रीमान्ले एकदिन हिड्ने बेला गाली गरे । त्यो दिन उनी एक्लै रुँदैरुँदै अस्पताल लागिन् । जाँदा त सजिलै पुगिन् अस्पताल, फर्किँदा बाटो भुलिन् । एउटी युवतीसँग बाटो काट्दा सँगै परिन् । बाटो काटिसकेपछि युवतीले उनीबारे सोधीखोजी गरिन् । यो व्यस्त सहरमा कसैले उनको बारे चासो राख्यो, उनी मख्ख परिन् र आफ्नोबारे बताइन् । ती युवतीले पनि आफ्नो घर दोलखा नै बताउँदै छिमेकीपन जताइन्, भनिन्, ‘आमा, सँगै जाऊँ, म मुलबाटोसम्म निकालिदिन्छु ।’ उनलाई अलपत्र परेको बेला सादर लाग्यो । उनकै पछि लागिन् । ती युवतीले आफूलाई पनि जन्डिस लागेर नरदेवी जाने बताएकी थिइन् । एकछिन हिडेपछि युवतीले चिया खाजा खाने प्रस्ताव गरिन्, धनमायाले अस्वीकार गरिन् । फेरि नाङ्ले पसलमा याक चुरोट किनेर दिइन्, त्यो पनि पिउन मानिनन् ।
‘आफ्नो छिमेकी भनेर खाउँ आमै भन्दा नखाने ? कस्तो आमै हौ ?’, युवती एक्कासी कड्कीइन् । उनी तर्सिइन् पनि । अनि युवतीले चुरोट सल्काएर दिइन् । एक खिली चुरोट तानिसक्दा उनले होस गुमाइन् । के हालेर खुवाई, थाहै पाइनन् ।

साह्रै सन्ताप भो मनमा । पीरले होला, निको हुनै लागेको टाउकोको घाउ फेरि बल्झियो । तर, उनलाई डाक्टर नर्सले साह्रै माया गर्थे । अस्पताल धाउँदा–धाउँदा बल्ल निको भयो ।


होसमा आउँदा एउटा कुनामा थिइन् । भीडको ओहोरदोहार जारी थियो, ती युवती भने थिइनन् । यसो थाहा पाउँछिन्, उनी लुटिइसकेकी थिइन् । गाउँ छँदा दुःख गरेर बनाएको एक तोलाको कानको रिङ थियो । कोदालो खनेर, पैकार गरेर ला’को थियो । श्रीमान्ले बनाइदिएको एउटा तिलहरी, अर्को तिलहरी छोराले । एउटा फुकालेर र अर्को घाँटीबाट छिरेन होला, काटेर लगिछ । हातको घडी, थैलीमा औषधी किन्न बोकेको पाँचसय रुपैयाँ पनि थिएन । थैलीमा एउटा ढुंगा हालेर छोडिछ । दुई तोला जति सुन लगी ।
उनी एकछिन त्यही बसेर रोइन् । टिठ लाग्दो अनुहारकी आफ्नै छोरीजस्ती युवतीबाट लुटिइन् । तर रोएर आउने थिएन, उनी सोध्दै खोज्दै फेरि नरदेवीको गेटमा पुगिन् । उनका हातगोडा थरथर काँपिरहेका थिए । उनले भक्कानिएको आवाजमा भनिन्, ‘मेरो सबै लुट्यो, डक्टर सर, मेरो सबै लुट्यो ।’ उनले डाक्टरसँग बेलिबिस्तार लाइन् । ‘जे हुनु भइसक्यो, अब नआत्तिनुस्, घाउ त निको हुनै लाग्यो’ नर्सले ड्रेसिङ गरिदिए । अस्पतालका नर्स, कर्मचारीले पनि ज्यान जोगियो त्यसैमा खुसी मान्नोस् भने ।
सोधखोज गर्दै उनी बल्ल घर आइपुगिन् । सारा लुटिएर आउँदा श्रीमान्को गाली पाउने निश्चित थियो, पाइन् । अरू छिमेकीहरूले पनि सारा गहना लाएर हिँडेकोमा गाली गरे । उनले निकै दिन मुखमा माड हाल्न पनि सकिनन् । साह्रै सन्ताप भो मनमा । पीरले होला, निको हुनै लागेको टाउकोको घाउ फेरि बल्झियो । तर, उनलाई डाक्टर नर्सले साह्रै माया गर्थे । अस्पताल धाउँदा–धाउँदा बल्ल निको भयो ।
एकदिन अस्पताल पुग्दा नर्सले भनिन्, ‘धनमायाजी, तपाईंलाई उपचार गर्ने डक्टरको सरुवा भयो ।’ उनलाई छोरा परदेश गएको जस्तो पीर प-यो । तर, अरू स्टाफले पनि मायाले नै उनको उपचार गरिदिए । तर एकपल्ट वीर अस्पतालमा देखाउन भने । उनी वीर अस्पताल पुगिन् । त्यो ठूलो अस्पतालमा उनी अलमलमा परिन् । गार्डहरूलाई सोध्दा झर्किदिए, पछि सेतो सारी लाएको नर्स देखिन्, हत्तपत्त नजिक गएर आफ्नो समस्या बताइन् । ती गुनकारी नर्सले उनलाई देखाइदिइन् ।
डाक्टरले जाँचेर उनलाई ‘धेरै नहिड्नु, चिसो नखानु, भारी नबोक्नु’ भने । यसरी जाँच गरेको निकै वर्ष बित्यो, तर उनलाई अहिले पनि रिंगटा लाग्छ । भन्छिन्, ‘एउटै मान्छे पाँच ओटा देख्छु । के गर्नु नगरी खान पाउँदैन ।’
एकदिन एउटा साथीको साथ लागेर बागबजारतिरै अर्काको घरमा लुगा धुन गइन् । खाजा, भात र दुई सय रुपैया पनि पाइन् । तर, स्वास्थ्य ठिक नभएको भनेर श्रीमानले गाली गरे । दुई, चार पैसा होला भनेर कागती, तरकारी पनि उनले बेचिन् । समय बित्दै गयो, बागबजारको गल्लीमै छोरी हुर्किदै थिइन् । सात कक्षामा पढ्दै गरेकी छोरी एकदिन आर्मीसँग आफैं विवाह गरेर गइन् । छोरी दोजिया थिइन् तर, बिहान तरकारी बेच्ने बेला छोरी आएर बसिदिन्थिन् । दोजिया भएको बेला बाटोमा नबस भनेर ज्वाइँले गाली गरेछन् ।
उनका श्रीमान् निर्माण मजदुर थिए । कहिलेकाहीँ तरकारी पसलमा सामान बढाउन श्रीमानलाई पैसा माग्थिन्, दिँदैनथे । ३ बजे राती नै उठेर कालिमाटी जानु, व्यापारीहरूसँग हारालुछ गरी तरकारी ल्याउनु पनि सजिलो थिएन । टाउकोको समस्या त आफैंसँग थियो । उनले सोचिन्– चुरोट, चुइगम बेच्नुप¥यो । अनि एक हजार दुई सय पाँच रूपैयाँ खर्चेर सूर्य, शिखर, याक र खुकुरी चुरोट, चुइगम, खैनी ल्याएर नाङ्ले पसल सुरु गरिन् ।
जान त उनी अहिले पनि कालिमाटी जान्छिन्, तर एकपटकमा १० पाथी जति बदाम ल्याउँछिन् र दश÷बाह्र दिन लगाएर बेच्छिन् । ‘सडकमा कहिले एक सयको कहिले पाँच/छ सयको व्यापार हुन्छ । पछिल्ला दिनमा उनको छोरी र नातिनी पनि उनीसँगै जसो बस्छन् । जिउ कमजोर हुँदै गएपछि उनका श्रीमान् पनि खसीबजारतिर यस्तै व्यापार गर्न थाले । सुरुमा १ हजार ७ सयमा बसेको कोठाको भाडा १० वर्षमा १० हजार नै पुगेको छ ।

धनमाया जिरेल l तस्विर: शकुन्तला जोशी

छोरीका लागि लडिन्
छोराछोरी आ–आफ्ना घर गरी खाइहाले, उनलाई आफ्नै ज्यान पाल्न त्यतिले पुगेकै थियो, ढुक्कै थिइन् । सोचेजस्तो भएन, छोरीको घर बिग्रियो । ज्वाईंले अर्की बिहे गरे । नाती च्यापेर छोरी आमाकै कोठामा फर्किइन् । छोरीसँगै अब नातिको जिम्मा पनि आइलाग्यो । उनले सोधखोज गरिन्, छोरीको अधिकारका लागि लड्ने हिम्मत गरिन् । छोरी र नाति लिएर उनी पटक–पटक सैनिक मुख्यालय धाइन् ।
उनकै पहलले गर्दा अहिले ज्वाईंको तीन भागमा एक भाग तलब छोरीले पाउँछिन् । ज्वाईंको पूख्र्यौली सम्पत्तिमा पनि छोरी र नातिको भाग लाग्ने भएको छ । अहिले छोरी अरूको घरमा भाँडा माझ्ने, लुगा धुने काम गर्छिन् ।

ठग भन्नेहरूसँग
कपासको लर्को तान्दै उनी भन्छिन्, ‘यो सडकको दुःख कि मलाई थाहा छ कि यही सडकलाई । सुरुसुरुका कति दिन म रोएर पनि बसेँ । लाग्थ्यो, यो सहरका मान्छे राम्रो बोल्दा पनि नराम्रो सुन्छन् । मलाई खुपै दिक्क लाग्थ्यो ।’ तर बस्दै जाँदा मिठो बोलेर चुरोट बदाम किन्ने मान्छे पनि आए । सित्तैमा बदाम मुठ्याउन नपाएका केही विद्यार्थी भने उनलाई ‘सडकमा हामीलाई लुट्नु बसेको ?’ भन्ने वचन पनि लाउँछन् । भन्छिन्, ‘सस्तोमा देऊ पनि भन्छन् । आफूले ल्याएको भन्दा सस्तो माग्छन् । दिन्न भन्यो भने गाली गरेर जान्छन् । कोही पोखाइदिएर जान्छन्, कोही भरिरराखेको बदाम मुठ्याएर जान्छन्, कोही किनुँला जस्तो गरेर टिपेर जान्छन् ।’
यो सडकमा यतिका हिउँद बर्खा बिताउँदा हजारथरिका मान्छे देखिन् । रगत मासु एउटै हो, बोली मात्रै फरक लाग्छ उनलाई । कोही आउँछ र थर्काउँछ– हाम्रो क्याम्पस अगाडि बसेर हामीलाई नै महँगो लिने ? उनलाई रिसले तीन भाउन्न छुट्छ । अनि बेस्सरी कराउँछिन्– ‘हाम्रो पनि हो क्याम्पस, तपाईंको मात्रै हो ? तपाईंको मात्रै भनेर कहाँ लेख्या छ ?
‘तिनेरले पालेको छ र ? मानो राखेर बेच्न बसेको छु, जसले ठग्न खोज्छ, यही मानोले सराप्छ ।’ साँच्चै पढ्न नपाए पनि उनलाई कमसे कम त्यो बिजुलीको पोल, त्यो सडक र कलेजमा आफ्नो पनि अधिकार छ जस्तो लाग्छ । कराउनेहरू भुत्भुताउँदै अगाडि बढ्छन् ।

धनमाया जिरेल l तस्विर: शकुन्तला जोशी


बर्खामा पानीले पनि दुःख दिन्छ । प्लाष्टिक टाँगेर बस्छु । बाटोमा दिनभरि बस्नुपर्छ, कति बेला कोही आएर किन्ला कि भनेर पर्खिबस्नु पर्छ । कति बसिरहनु, अनि साथीहरूसँग धुप, बत्ती बाट्न सिकिन् । उनी हात चलाइराख्छिन् । त्यसबाट अलिअलि पैसा पनि आउँछ ।
उनलाई मान्छेमा भन्दा नदेखिने भगवानमा विश्वास छ । पूजापाठ गर्छिन् । तुलसी माला लगाएकी छन् । तीनबजे उठेर बदाम बेच्न आउँछिन्, टुकुचा बजारमा तरकारी किनबेच गर्न आउने उनका ग्राहक हुन् । कहिले बिक्छ, कहिले बिक्दैन पनि ।
सात बजेदेखि फेरि बेच्न थाल्छिन् । भन्छिन्, ‘आफूले मिनेत गर्नुपर्छ । अरुलाई ठगुम् भन्नु हुँदैन । दुःख गर्नेलाई भगवान्ले पु-याउँछन्, हेर्छन् ।’ राज्य उनीसम्म कहिले पुगेन । त्यसैले नदेखेको कुरा भन्दा मन्दिरमा अविचल बसिरहेका बोलुँलाझैँ भगवानका मूर्तिहरूमै उनलाई विश्वास बन्यो । उनी बेलाबेला मन्दिर पनि धाउँछिन् । एकपटक सालीनदी, तीनपटक दक्षिणकाली पुगेकी उनी बालाचतुदर्शीको दिन स्वयम्भु, बौद्ध र पशुपति हरेक साल पुग्छिन् ।

सिनेमाको तिर्खा
धनमायालाई थाहा छ, जीवनमा दुःखले साथ छोड्नेवाला छैन । संघर्षकै बीचमा खुसी खोज्ने प्रयास गर्छिन् । उनी बेलाबेला सिनेमा हेर्न हलमा पुग्थिन् । ‘पहिले त आमा छोरी भएर रन्जना हलमा जान्थ्यौं । खै अचेल त्यो हल छैन क्यार । अरूतिर जान पाएको छैन । हलमा गएर फिलिम हेर्नु त अहिले नि मन लाग्छ मलाई ।’
पछिल्ला दिनमा भने हलहरूको स्वरुप फेरियो । टिकट दर महँगियो । उनी हल जान छाडिन् । उनी कहिलेकाहीँ भने टेलिभिजनमा आउने सिनेमा हेर्न भ्याउँछिन् । सिनेमा हेर्न हल जाने तिर्खा भने उनमा अझै छ । निरक्षर उनलाई पत्रपत्रिकाका अक्षर खुट्याउन आउँदैन, तर रेडियोमा समाचार भने सुनिबस्छिन् ।
हराउँदै–भेटिँदै सहरका गल्ली चहारेकी उनलाई यिनै गल्लीसँग प्रेम बस्यो । तर पनि गाउँको सम्झनाले छाड्दैन । मिलेसम्म दशैंमा घर जान्छिन् । खासमा उनी बुहारीसँग उति मन नमिलेपछि घर छाडेर हिँडेकी थिइन् । हाइस्कूल छिचोल्दै गरेका नाति–नातिनीको उनलाई खुप माया लाग्छ ।
उनले धेरै समय आमाको न्यानो पाइनन् । बिरामी परेर आमा बितिन्, बुबाले कान्छी आमा ल्याए, तैपनि उनले उस्तो हेलाहोचो भने सहनु परेन । सानीमातिरका तीन भाइबहिनी छन् । भाइले उनलाई निकै माया गर्छन् ।
पन्ध्र वर्षकै उमेरमा उनको मागी विवाह भयो । किन हो, भन्नेहरूले उनलाई ‘तेरो घरबार हुँदैन’ भन्थे रे । तर चार जना बुहारी भए पनि समयले सासुससुराको स्याहारको जिम्मा उनकै काँधमा थमायो । अहिले त सासुससुरा पनि बितिसके । आफैँ पनि जिन्दगीको पल्लो किनारातिर पुगिन् । तर आजसम्म पनि उनलाई मान्छेको अगाडि श्रीमान् सँग–सँगै हिँड्न लाज लाग्छ ।
हाँस्दै भन्छिन्, ‘पहिलाको मान्छे बिहे गरेर कतिन्जेल बुढाबुढी सँगै सुत्दैनथे । म त झन् डर लाग्ने, कतिन्जेल सासुसँग पो सुतेँ । मनकामना गएको लाइन बस्दा बुढा अगाडि, म त कति पछाडी पो । छोराछोरी पाइसकेपछि हाम्रो ओछ्यान बेग्लै ।’
गाउँको घर छोडिन्, सहरमा भाडाको कोठामा जुनी काटिँदो छ । ‘सहरको कुनै कुनामा आफ्नो पनि घर भए ! बेलाबेला उनलाई मनमा लाग्छ । तर यो सहरमा घर बनाउनु त परै जाओस्, सपना देख्नु पनि पैसा लाग्छ भन्ने थाहा छ उनलाई । तर पीर छैन, जे भए पनि एक सास हुन्जेल एक छाक खान र लाउन पाए पुग्यो । उनी भन्छिन्, ‘केही हैन मरिलाने । हामीले लेर जाने केही हैन । नांगै आयौं आमाको कोखबाट, नांगै जाने हो । कसैले नराम्रो शब्द नबोलोस्, त्यति भा पुग्यो । के गर्नु छोरी भाग्येमानी छ भन्थे हात हेराउँदा त । त्यसको भाग्यले हामीलाई नि राम्रो हुन्छ भन्थ्यो, तर कर्मचाँहि यस्तो भयो ।’ छोरीको भने उनलाई पीर लागिरहन्छ । उनी यसो टुकुचातिर आँखा लाउँछिन् र अनायास गुन्गुनाउँछिन्:
सेतो भन्ने कागत
रातो त भन्ने रगत
म छोरी मरेको दिन त
जसरी आमाले जन्माको
उस्तै स्वरूप लिएर
जानुपर्छ ज्यामाराजको ढोकामा
रित्तो फगत

धनमाया जिरेल l तस्विर: शकुन्तला जोशी


उनलाई उस दिनको आज नि याद आउँछ । ती बालापनका साथीहरू कहाँ पुगे होलान्, भेट्न मन लाग्छ । कोही मरे पनि । कोही कता पुगे ।
‘सँगै घाँसदाउरा गरेको ती साथीहरू कति भेट्नु मन लाग्छ, कति माया लाग्छ । तिनेरले कति माया गथ्र्यो । सानिमाको रगडगमा आफू केही लाउनु पाउँदैनथ्यो । साथीहरू अपहत्ते गरेर खुवाउँथे । म भाग्थेँ ऊ परपरसम्म । तर, उनीहरू लखेट्दै आएर पनि खुवाउँथे, आफूले केही लान नपाएकोले मलाई लाज लाग्थ्यो ।’
आफूले केही दिन नपाउँदा भोकै लागेपनि साथीहरूले दिएको खानेकुरा खान उनलाई खुबै अप्ठ्यारो लाग्थ्यो । पुराना दिन, ती साथीहरूको सम्झनाले कोही बेला उनका आँखा यसै भरिन्छन् । बरर आँसु खसेको बेला मान्छे सामान किन्न आउँछ । यसो घोप्टो परेर दिन्छिन् । कोही त आँसु देखेर हो कि, फर्केर पनि जान्छन् ।

प्रतिरोधी आवाज
उनलाई आफ्नो पहिचानको बोध पनि छ । जिरेलहरूले गाएको गीत मात्रै कतैबाट सुनेपनि उनलाई आफ्नोपनका आभास हुन्छ । ‘कान्छी तिम्रो मुर्चुङ्गाको स्वर सुनेर, म पनि आउँछु तिम्रो छेऊमा मनको दुःख बिसाउन ।’ यो उनको जमानाको गीत हो । कहिलेकाहीँ उनी यो गीत टिभीमा पनि देख्छिन् । जिरेलले गाएको भनेर उनलाई गर्व पनि छ । भन्छिन्, ‘यसो थाकेर घर बसेको बेला टिभी हेरुम् भनो, भुराहरूले हेर्नु दिए पो, अरूअरू हेर्छ उनेरु ।’
उनलाई भन्नु कति थिए, एकाध घण्टाको बसाइमा यति लामो जीवनको कुन कथा सुनाउनु भने जस्तो भएथ्यो उनलाई । उनीसँग त फुर्सदै थियो । तर मेरो समयका सीमा थिए । मेरो आशय बुझिन् सायद, कुरा बिट मार्न थालिन् । अन्तमा उनले फेरि व्यवस्थाप्रतिको गुनासो पोखिन् । त्यतिबेला लाग्यो– उनीसँग पनि कही न कहीँ सरकार छ भन्ने आभास छ, तर केही नगरेको गुनासो पनि सँगै ।
भन्छिन्, ‘राजा गए, गनतन्तर आयो भन्छ, हामीलाई के । जो गएआए पनि । त्यही नेता र ठूलो मान्छेलाई पुग्दैन । यति नाङ्लोमा बेच्न बसेको छु । यही त यहाँ ठूलाबडाजस्ता देखिने मान्छेहरू धम्काउँदै खान्छ, लुच्चाहरू ! मैले दुःख गरेको एक भाग म खान्छु, दुई भाग त्यसै हात हालेर खानेहरूले लिन्छन् । सट, प्यान्ट, टाइकोट, कस्तो टल्किने जुत्ता लगाएको धम्क्याएर खान्छ । कोही चुरोटको बट्टै लान्छ । एउटा चुरोट किन्न आउँछ, सल्काउँछ अनि एक हजारको नोट देखाउँछ । छैन हजुर भन्दा साट्ने पैसा नराख्नेले किन बेपार गर्नु भन्दै नतिरी हिँड्छ । एक बट्टा सूर्य चुरोट लग्यो भने तीन सय रुपैयाँ जान्छ । फर्केर आउँदैन । दुई पैसा होला कि भनेर बस्यो, ठग्नु बसेको पो भन्छ । के ठूला मान्छे जस्तो हामी ठग्नु बसेको हो र !’ अन्ततः उनीभित्रको प्रतिरोधी आवाज सुन्दै म हिडेँ ।
०००