ध्रुवचन्द्र गौतमको सम्झनामा सात साहित्यकार

ध्रुवचन्द्र गौतमको सम्झनामा सात साहित्यकार

असार ३, २०७८ 1 By कला अनुरागी
शेयर गर्नुहोस्
ध्रुवचन्द्र गौतम

चार दर्जनभन्दा बढी आख्यानकृति लेखिसकेका आख्यानकार ध्रुवचन्द्र गौतमले अघिल्लो पुस्ताका धेरै साहित्यकारको संगत गर्ने मौका पाए । धेरै साहित्यकारसँग उनले बसउठ गर्ने मौका पाए, केहीसँग कम हिमचिम भए पनि राम्ररी जान्नेबुझ्ने मौका पाए । त्यस्तै, कतिसँगचाहिँ गुरु–शिष्यको सम्बन्ध थियो । त्यसमध्येका केही साहित्यकारलाई उनी यसरी सम्झन्छन्:

किंवदन्ती देवकोटा
महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मैले देख्ने र सुन्ने अवसर पाएँ । उहाँलाई मैले ०१४ सालमा पहिलोपटक वीरगञ्जमै देखेको हुँ । हामी पढ्ने त्रिजुद्ध स्कुलमा उहाँको सम्मानमा कार्यक्रमको आयोजना गरेका थियौं । उहाँ त्यहाँ जानुभएको थियो ।
त्यसबेला उहाँ रुस घुमेर आउनुभएको थियो । उहाँले रुसको विश्वविद्यालयको वर्णन गर्दै भन्नुभएको थियो, ‘हामीले एक–एक कोठा चियाएर हे¥यौं भने पनि जीवनले भ्याइँदैन होला ।’ त्यस्तै त होला नहोला, तर उहाँ प्रभावित हुनुभएको भने देखिन्थ्यो ।
त्यहाँ देवकोटासँग कुरा गर्दा एक विद्धान प्राध्यापकले भनेका थिए–‘दियर इज अ थिन लाइन बिट्विन लुन्याटिक एण्ड द पोएट (एउटा पागल र कविबीच सानोमात्रै सीमारेखा हुन्छ) ।’
त्यसको जवाफमा उहाँले भन्नुभएको थियो, ‘मान्छु, पागल त सबै पागलै हुन्छन् । तर कवि चाहिँ काम लाग्ने पागल हो, अरू चाहिँ बेकम्मा पागल ।’ त्यसो भन्दा उहाँको ‘सेन्स अफ ह्युमर’ पनि देखिएको थियो ।
मैले त देवकोटा दारी पालेको बुढो हुनुहोला भन्ने ठानेको थिएँ, तर उहाँ त सफाचट र भव्य व्यक्तित्वयुक्त हुनुहुन्थ्यो । उहाँमा सरलता पनि निकै देखिन्थ्यो । कार्यक्रममा तपाईंलाई मन पर्ने कविता पढ्न अनुरोध गर्दा लेखनाथ पौडेलको ‘पिंजडाको सुगा’ पो पढ्न थाल्नुभयो । त्यसपछि उहाँकै मन पर्ने कविता पढ्न भनियो । त्यसपछि उहाँकै आवाजमा ‘पागल’ र ‘गोली यो’ भन्ने कविता सुन्ने अवसर पाइयो ।
देवकोटा जीवित हुँदै ‘लेजेन्ड’ बनिसकेका थिए । उनका बारेमा विभिन्न कथा बनेका थिए । कतिपय राम्रा र कतिपय नराम्रा । कतिले उहाँलाई ‘महागरिव’ पनि भन्थे । तर गरिवचाहिँ होइन, खर्चालु चाहिँ हुनुहुन्थ्यो भन्ने समकालीनबाट थाहा पाइयो ।
पछिल्लो पटक मैले उहाँलाई आर्यघाटमा देखेँ ०१६ सालमा । त्यसबेला वीरगञ्जबाट काठमाडौँ आइसकेको थिएँ । उहाँ अन्तिम अवस्थामा हुनुहुन्थ्यो । उहाँलाई भेट्न जानेको लाममा म पनि थिएँ । मैले मानिसलाई त्यसरी लाम लागेर श्रद्धा व्यक्त गरेको पहिले देखेको थिइनँ । त्यहाँ ‘रगत दिन्छु’ भन्नेको पनि तँछाडमछाड नै थियो ।
त्यसबेला उहाँको शरीर जीर्ण भइसकेको थियो । बोल्न पनि सक्नुभएको थिएन । कञ्चट धस्सिएको थियो । तर आश्चर्य, मैले त्यस्तो देखेर आएको मानिसले हिन्दी र अंग्रेजीमा एउटा–एउटा कविता लेख्नुभएछ । ‘आखिर रहेछन् श्रीकृष्ण एक’ भन्ने कविता पनि त्यसैबेला लेख्नुभएको थियो । त्यो उहाँको कविताप्रतिको समर्पणको पनि चरमसीमा थियो ।

नास्तिक सम
काठमाडौँ आएर त्रिभुवन विश्वविद्यालयमा एमए पढ्न थालियो । त्यसैबेला गुरुको रूपमा नाटककार बालकृष्ण समलाई भेटियो । उहाँ निकै बौद्धिक हुनुहुन्थ्यो ।
गुरु–शिष्यको रूपमा हाम्रो निकै बसउठ भयो । उहाँ आफ्नो नाटक ‘प्रल्हाद’ पढाउनुहुन्थ्यो, ‘नियमित आकस्मिता’बारे प्रवचन पनि दिनुहुन्थ्यो । हप्ताको एकदिन कक्षा हुन्थ्यो । त्यस क्रममा उहाँले, कवि र गद्य लेखकको भेदबारे पनि बताउनुभएको थियो । उहाँको भनाइ थियो, ‘कविले तत्कालिक प्रतिक्रिया दिन्छ । फूल देख्यो भने त्यसको सौन्दर्यबाट प्रभावित भए कविता लेखिहाल्छ । तर नाटककार चाहिँ त्यस्तो होइन ।’
उहाँले आफ्नो नाटक ‘प्रल्हाद’मा अध्यात्म र भौतिकवादको द्वन्द्वलाई चित्रण गरेको बताउनुहुन्थ्यो । ईश्वर छैन भन्ने उहाँको विचार थियो । कक्षामा पनि भन्नुहुन्थ्यो, ‘हाम्रो संस्कृति मलमूत्रको संस्कृति हो । गोबर भनेको मल नै हो । गहुँत भनेको मूत्र नै हो ।’
तर पछि उहाँले ‘खं ब्रम्ह’ भन्ने धार्मिक धारणालाई मान्न थाल्नुभयो भन्ने सुनियो । त्यस बिषयमा मैले भने सोध्न पाइनँ । उहाँसँग कलेजभन्दाबाहेक विभिन्न पिकनिकमा पनि भेट भयो । पछि मैले कलाकार पत्रिकाका लागि घरमै गएर अन्तरवार्ता पनि लिएँ ।

सरल बदरीनाथ
बदरीनाथ भट्टराईको कथा हामीले स्कुलकै पाठ्यक्रममा पढ्नुपथ्र्यो । उहाँको लेखनमा भेटिने राष्ट्रिय भावनाले हामीलाई निकै प्रभावित पारेको थियो । ‘विदेशको बासी स्याउ भन्दा स्वदेशको ताजा नासपाती मीठो हुन्छ’ भन्ने वाक्य त कण्ठ नै थियो ।
उहाँ पनि विश्वविद्यालयका गुरू हुनुहुन्थ्यो । त्यसैले गुरू–शिष्यकै रूपमा संगत भयो । उहाँ देवकोटाबाट निकै प्रभावित हुनुहुन्थ्यो । कतिपय सन्दर्भमा देवकोटासँग भएको कुरा हामीसँग पनि भन्नुहुन्थ्यो ।
उहाँ निकै सरल हुनुहुन्थ्यो । त्यसकारणले नजिक हुन सजिलो भयो । तर गुरू भएका कारण आदर गरिन्थ्यो । उहाँ र हामीबीच त्यही आदरको दूरी थियो ।

पाकप्रेमी भिक्षु
साहित्यकार भवानी भिक्षुसँग चाहिँ निकै नजिक भएर संगत गर्ने मौका पाइयो । उहाँ हामीलाई घरमा बोलाइरहनुहुन्थ्यो । खान पकाउन निकै सौखिन हुनुहुन्थ्यो र मीठो बनाउनुहुन्थ्यो । मासु, पकौडीजस्ता परिकार आफैंले पकाएर हामीलाई खुवाउनुहुन्थ्यो । उहाँबाहेक अरू साहित्यकारले आफैंले पकाएर खुवाएको मलाई थाहा छैन । कसैले पकाए पनि मैले देख्ने गरी चाहिँ पकाएका छैनन् । उहाँले मदिरा पिएको भने देखिएन । पिएको भएपनि उहासँग बसेर पिउने मौका मिलेन । त्यही भएर थाहा पाइएन ।
भवानी भिक्षुको कथा ‘त्यो फेरि फर्केला’बाट म धेरै प्रभावित थिएँ । त्यसले पनि उहाँसग भेट्न निकै उत्सुक थिएँ । काठमाडौ आएपछि त्यो सम्भव भयो ।
म चावहिल बस्थेँ, उहा बत्तीसपुतली बस्नुहुन्थ्यो । त्यसैले भेटघाट गर्ने अवसर प्रशस्तै पाइयो । उहाँसँग पहिलोपटक कहाँ भेट भयो भन्ने चाहिं सम्झना छैन । जोसँग नजिक भइन्छ, उसँग कहिले भेट भयो भन्ने सम्झना नै नहुने क्या !
उहाँ कहिलेकाहीँ न्यूरोडमा पान खान जानुहुन्थ्यो । हामीलाई पनि खुवाउनुहुथ्यो । मलाई निकै स्नेह गर्नुहुन्थ्यो । त्यसैले एकपटक भारतका साहित्यकारको निम्तामा नयाँ लेखकको रूपमा भारत जाने मौका पनि पाएको थिएँ ।
उहाँ हामीभन्दा धेरै सिनियर हुनुहुन्थ्यो । तर पनि धेरै कुरा ‘शेयर’ हुन्थे । उहाँलाई एकपटक प्रज्ञा प्रतिष्ठानमा राखिएन । त्यसबेला अफसोस पनि व्यक्त गर्नुभएको थियो । त्यसै सन्दर्भमा कविता पनि लेख्नुभयो । त्यो कविताको रचनागर्भ र सन्दर्भ सुनाउनुभएको थियो । त्यस्तै चर्चित कथा ‘त्यो फेरि फर्केला’लगायत अन्यको पनि रचना गर्भ सुनाउनु भएको छ ।
उहाँ निकै विद्धान हुनुहुन्थ्यो । मैले सुनेअनुसार प्रज्ञा प्रतिष्ठान नाम नै उहाँले राखेको हो । तर हो कि होइन भन्ने यकिन प्रमाणचाहिँ छैन ।
उहाँ अलि रसिक पनि हुनुहुन्थ्यो । कहिलेकाहीँ रोमान्टिक कुरा पनि गर्नुहुन्थ्यो । उहाँको कुरा गर्ने शैली पनि रमाइलो थियो ।
हामी घनिष्ठ त थियौं नै, तर दुःखसुख बाड्ने गरी चाहिँ होइन । म नयाँ नयाँ लेखक थिएँ, के नै दुःख बाड्न सकिन्थ्यो र ?

भलादमी गोठाले
उहाँचाहिँ ‘रिजर्भ’ खालको हुनुहुन्थ्यो । निकै भलादमी प्रकृतिको । हामीलाई निकै महान कथाकार भन्ने लाग्थ्यो । म उहाँको घरमा गएको छु ।
उहाँ पृथ्वी पुरस्कार पाउदा निकै खुशी हुनुभएको थियो । त्यसैबेला मैले उहाँको डकुमेन्ट्री खिचेको पनि थिएँ । त्यसबेला उहाँसँगै खाना खाइयो । डकुमेन्ट्रमा उहाँले खाना खाएको, हिँडेको सबै खिचिएको थियो । तर त्यो कहाँ हरायो कहाँ ? ‘एडिट’ गरिएको पनि थिएन । अहिलेसम्म भेटिएको छैन ।
जसरी कथामा बिपीले रागात्मकता ल्याउनुभएको थियो, त्यसरी नै ‘पल्लो घरको झ्याल’मार्फत उपन्यासमा रागात्मकता भित्र्याउनुभएको मानिन्छ उहाँले ।
उहाँले उपन्यासको मिश्री पात्रबारे भन्नुभएको थियो । तर हामीले नचिनेको व्यक्ति भएको कारण त्यति यादचाहिँ भएन । उहाँ ‘रिजर्भ’ हुँदा–हुँदै पनि हाम्रो आग्रहलाई स्वीकार्दै पात्रबारे भन्नुभएको थियो ।
पछि मैले उहाँलाई महेन्द्र गुरुङले स्थापित गरेको पुरस्कार दिनलाई भूमिका खेल्ने मौका पाएँ । गुरुङ इन्जिनियर एसोसिएसनको अध्यक्ष र कवि पनि । उहाँले रमाकृष्ण प्रतिष्ठान बनाएर पुरस्कार स्थापना गर्नुभयो । पुरस्कार चयन कमिटिमा मलाई संयोजक बनाउनुभएको थियो । मैले उहालाई भनेँ, ‘यो पुरस्कार गोविन्द गोठालेलाई दिनुस् । उहाँ आदरणीय मान्छे पनि हो । अर्को वर्ष दिन पाइन्छ कि पाइँदैन ।’ उहाँले मान्नुभयो र पुरस्कार दिइयो । नभन्दै, त्यो गोठालेले पाएको अन्तिम पुरस्कार बन्यो । पुरस्कार वितरण कार्यक्रममा म जान नपाए पनि उहाँ उपस्थित भएको अन्तिम कार्यक्रम बन्यो । आफूले स्थापना गरेको पुरस्कार उहाँलाई दिन पाएको र त्यो ऐतिहासिक बनेको कुरामा महेन्द्रजी पनि खुशी हुनुहुन्छ ।

अध्ययनशील लामिछाने
उहाँलाई म दाइ भन्थेँ । दाइ (ध.च. गोतामे)सँग बाक्लो संगत थियो तर मसँग त्यति बाक्लो थिएन । तर कहिलेकाहीँ दाइकहाँ बोलाएको बेला सँगै ‘ड्रिंक’ गरेको सम्झना छ ।
एकपटक उहाँले मसँग फोटो खिचाउनुभएको थियो । त्यो फोटोको बारेमा मैले लेखेको पनि छु । उहाँले त्यसको शिर्षक ‘पास्ट एण्ड प्रेजेन्ट’ राख्नुपर्छ भनेर भन्नु भएको थियो । मैले पनि त्यसबेला लेख्न सुरु गरिसकेकोले उहाँले त्यसो भन्नुभएको थियो । तर मैले उहाँलाई भनेँ, ‘होइन दाइ, प्रेजेन्ट पर्फेक्ट र प्रेजेन्ट इन्डेफिनिट हुनुपर्छ ।’ दुर्भाग्य ! त्यो फोटो हरायो ।
पारिजातको ‘शिरिषको फूल’ले निकै चर्चा पायो । त्यसमा उहाँको भूमिकाको पनि निकै चर्चा भयो । त्यसको केही समयपछि मेरो ‘अन्त्यपछि’ उपन्यास रूपरेखामा पूरै छापियो । त्यसबेला उहाँले भन्नुभएको थियो, ‘पारिजातको शिरीषको फूलचाहिँ मोतीको माला हो । तपाईंको उपन्यास चाहिँ छरिएको मोती हो ।’ मैले ठट्टा गर्दै भनेँ, ‘जे भए पनि मोती त हो नि है दाइ ।’
उहाँले म भएको भए यस्तो लेख्थेँ पनि भन्नुहुन्थ्यो । मैले उहाँलाई भन्थेँ, ‘के गर्नु दाइ, यो आइडिया मलाई आयो । कसैको चिउँडो बांगो छ भनेर के गर्नु ? त्यसलाई बांगोसहित नै स्वीकार्नुपर्छ पर्छ नि, हैन दाइ ?’
उहाँ असाध्यै पढ्नुहुन्थ्यो । अरूलाई किताब पनि दिनुहुन्थ्यो । उहाँको पुस्तक संकलन राम्रो थियो ।

शान्त भूपि
म काठमाडौँ आउँदा भूपीको चर्चित कविता ‘हामी’ प्रकाशित भइसकेको थियो । त्यो कविता पछि पञ्चायतकालमा लेखिएको हो, तर उत्तम कुँवरले चलाखीपूर्वक अगाडिको मिति हालेर छापेको भनिन्छ । त्यो कविताको मलाई प्रभाव परेको थियो । त्यसैले भूपी कहाँ बस्छन् भन्दै खोजेर पनि हिँडियो । त्यसरी खोजेर त भेटिएन ।
तर जब भेट भयो, निकै निकट भयौँ । हुँदा–हुँदा हामी ‘तिमी’ सम्बोधनमा आयौँ ।
धेरैपटक सँगै बसेर ‘ड्रिंक’ पनि गरियो । त्यसबेलाको एउटा घटना सम्झन्छ्ु । शेर पञ्जाब भन्ने रेष्टुरेन्ट थियो खिचापोखरीमा । त्यहाँ डिं«क गर्न बसियो । मलाई एउटा विवाहमा जानु थियो । तर धेरै पिइयो । म पनि विवाहमा जान सकिनँ । भूपी पनि हिंड्नै नसक्ने हुनुभयो । होटलको किचनमा नै सुतियो ।
उनले खाएको बेलामा होटलको मालिकलाई आफूले लगाइराखेको महँगो घडी नै उपहार दिनुभयो । उनले भोलिपल्ट उठेर ‘घडी खोई ?’ भनेर सोध्नुभयो । मैले भनें, ‘तिमीले त उपहार दियौ नि होटेलमालिकलाई ।’ त्यसपछि उहाँ जिल्ल परेर ‘माग्न सकिँदैन ?’ भन्न थाल्नुभयो । मैले भनेँ, ‘माग्न त तिमीले नै माग्नुपर्छ । तिमीले दिएको कुरा मैले मागेर हुन्न ।’ आखिर लाजले त्यो घडी मागिएन । त्यस्तो पनि भएको छ ।
भूपीसँगका यस्ता धेरै घटना छन् । मलाई ड्रिंक गर्दा शान्त हुने मान्छे नै मन पर्छ । अहिलेसम्म पिएर झगडा गरेको छैन । भूपी पनि त्यस्तै हुनुहुन्थ्यो । रमाइला गफ गर्नुहुन्थ्यो । पिएपछि अझै खुल्नुहुन्थ्यो । व्यक्तिगत जीवनका रोमान्टिक गफ पनि गर्नुहुन्थ्यो ।
उहाँसँगका धेरै सम्झना छन् । सबैजसो मैले मिडियामा लेखिसकेको छु । ‘नेपाल’ मा एउटा अन्तिम लेख लेखें । त्यसमा भनेको छु, ‘भूपीबारे यो अन्तिम लेख हो । यो पछि लेख्ने कुरा छैन । कि नलेख्ने कुरा बाँकी छन् ।’
अब लेख्न नमिल्ने कुरा त भन्न मिल्दैन नि । चाहे त्यो पोलिटिकल होस् चाहे रोमान्टिक ।
܀܀܀