एकेडेमीलाई वानीराको प्रश्न – के महिला ‘चान्सलर’ हुन सक्दैनन् ?

एकेडेमीलाई वानीराको प्रश्न – के महिला ‘चान्सलर’ हुन सक्दैनन् ?

जेष्ठ १५, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • दिनेश अधिकारी

वानीरा दिदीसँग मेरो २०३७ साल बैशाख १ गते भेट भएको हो । मेरो पहिलो कविता सङ्ग्रह ‘अन्तरका छिटाहरू’को विमोचन पद्मकन्या क्याम्पसमा गरिएको थियो । उक्त कार्यक्रममा साथीहरूसँग कुरा गर्दा ‘अरू भए पनि नभए पनि वानीरा गिरिलाई चाहिँ बोलाऔं’ भनेर मैले भनेको थिएँ । कार्यक्रममा दिदी आउनु भयो । त्यसपछिका दिनमा निरन्तर भेट नभए पनि राम्रो हार्दिकता थियो ।

तस्विर सौजन्य: दिनेश अधिकारी


तीन–चार पटक म उहाँको घर पुगेको छु । विभिन्न कार्यक्रममा दिदीसँगै सहभागी भएको छु । एकपटक रुपेश श्रेष्ठले कान्तिपुर टेलिभिजनको एउटा कार्यक्रममा सहभागी हुन बोलाउँदा उहाँले ‘अर्को को आउँछ ?’ भनेर सोध्नु भएछ । मेरो नाम लिएपछि भने उहाँ ‘दिनेश भाइ भए त ठिक छ, आउँछु’ भन्नु भएछ । यस्तो अनेक प्रसंग छ । व्यक्तिगत रूपमा त्यो सम्बन्ध अत्यन्त राम्रो थियो । दुःखको कुरा, दिदीलाई अल्जाइमर भइदियो । उहाँ बिस्तारै विस्मृतिमा जान थाल्नु भयो । तर उहाँको साहित्यिक योगदानको सम्मानमा हामीले उहाँलाई देवकोटा पुरस्कार दिने भयौं । उहाँको श्रीमान् शंकर गिरीसँग उक्त कुरा राखियो । उहाँले भन्नु भयो, ‘तपाईंलाई ठीक लाग्छ भने गर्नुहोस्, म उनलाई भन्छु, उनलाई अहिले अलिक सञ्चो छैन । तर वानीराले तपाईंको सधैँ कुरा गरिरहन्छिन् ।’ मप्रति घरमा पनि त्यतिको विश्वास बनेको रहेछ । हामीले उहाँलाई पुरस्कार समर्पण ग-यौं ।

तस्विर सौजन्य: दिनेश अधिकारी


वानीरा दिदीको लेखनका तीनै विधा उत्तिकै सशक्त छन् । यद्यपि म स्वयम् कवि भएको हुँदा कविता विधा नै सबभन्दा शक्तिशाली छ जस्तो लाग्छ । ती प्रिय कवि अत्यन्त स्वाभिमानी हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानले पदाधिकारी बन्न गरेको प्रस्ताव उहाँले ठाडै अस्वीकार गर्नुभयो । ‘के महिला चान्सलर बन्न सक्दैनन् ? अन्य पद मलाई चाहिदैन’ भन्ने जवाफ दिनुभएको थियो । उहाँ भन्नुहुन्थ्यो – ‘प्रतिभाको लिङ्ग हुँदैन’ । आफ्नो लेखनमाथिको विश्वास गर्ने लेखक हो उहाँ । उहाँका कवितामा जीवनका बारेमा कतै पनि नढाँटिकन लेखिएका छन् । उहाँ मेरो लागि सदा श्रद्धाको पात्र हुनुहुन्छ ।

तस्विर सौजन्य: दिनेश अधिकारी


०००