विमोचन विमर्श : हजार माइलको बाटो

विमोचन विमर्श : हजार माइलको बाटो

फाल्गुन ६, २०७४ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

आख्यानकार नारायण ढकालको पछिल्लो उपन्यास ‘हजार माइलको बाटो’ फिनिक्स बुक्सले प्रकाशन गरेको छ । उपन्यास ५ फागुन, २०७४ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा प्रा.डा. पिताम्बर शर्मा र आहुतिले विमोचन गरे । मणि लोहनीले सञ्चालन गरेको कार्यक्रममा शर्मा र आहुतिले किताबबारे आफ्नो विचार व्यक्त गरे । साथै कार्यक्रममा शिखर घिमिरेले ढकालसँग संवाद गरेका थिए । त्यहाँ व्यक्त विचार र संवादलाई हामीले प्रस्तुत भएकै भाषामा सामान्य सम्पादन गरेर यहाँ पोष्ट गरिएको छ–


प्रा.डा. पिताम्बर शर्मा

प्रा.डा. पिताम्बर शर्मा

म साहित्यिक होइन, साहित्यको विद्यार्थी पनि होइन । साहित्यको पारखी त हुँदै होइन । जब नारायण ढकालजीले मेरो किताबको विमोचनमा केही बोलिदिनुपर्यो भन्नुभयो, मचाहिँ असमञ्जसमा परेँ । किनभने, उहाँको म पाठक हुँ, धेरै कालदेखिको पाठक । उहाँको ‘इरफान अली’ भन्ने कथा पढेर उहाँप्रति एकदमै आकर्षित भएको मान्छे हुँ । त्यो बेलादेखि अहिलेसम्म, पाएसम्म उहाँका कृतिहरू पढ्छु । तर गहन रूपले पर्गेल्ने क्षमता मसँग छैन । त्यसले गर्दा साहित्यिक कुरा म गर्दिनँ । खालि, नारायण ढकालको यो ‘हजार माइलको बाटो’ पुस्तकले मलाई पारेको प्रभाव, उहाँ र उहाँको कृतित्वबारे मलाई लागेका केही धारणाहरू मात्रै राख्न चाहन्छु ।
तीनवटा कुरामाथिमात्रै बोल्छु । पहिलो कुरा के भने, नारायण ढकाल काठमाडौं उपत्यकाको काँठको सबैभन्दा (मैले जानेसम्म) विशिष्ट आख्यानकार हुन् । मेरो विचारमा, नेपालमा काँठलाई त्यसको मनोविज्ञान, समाज, अर्थनीति, चलढल, परिवर्तनका साथै त्योभित्रका पीर, पीडा, कुण्ठासहित गतिलोसँग बुझ्ने र अभिव्यक्ति दिने एकदम प्रखर, सबभन्दा जानिएका स्रष्टा नारायण ढकाल हुन् ।
म भूगोलको विद्यार्थी, योजना पनि मेरो क्षेत्र हो । भूगोल पढाउँदा काठमाडौं उपत्यकाभित्र हामी सर्भेहरू गर्छौं । त्यस क्रममा विद्यार्थीहरूलाई नारायण ढकालको किताब पढेर जानु भनेर भन्थेँ । काठमाडौंको काँठको जुन अनौठो प्रकारको व्यक्तित्व छ, त्यसलाई उहाँले जति राम्रोसँग उजागर कसैले गरेको छैन । एउटा पक्ष त्यो छ, उहाँको काँठ बुझाइको ।
अर्को पक्ष, काँठभित्रको समाजको प्रवृत्ति छ, बाहुनक्षेत्रीको बसोबास, बाहुन क्षेत्री र दलितबीचको अन्योन्याश्रित खाडलको परिधि र गहिराइसहितको, त्यो ढकालजीले जस्तो कसैले बुझेको छैन । त्यो अन्योन्याश्रित पनि छ, तर गहिरो खाडल पनि छ । त्यो अहिलेदेखिको होइन, सदियौंदेखिको छ । एकातिर त्यो परम्परा कसरी बदलिँदो छ, अर्कातिर त्यो कसरी बदलिइरहेको छैन, यी दुईटै कुरालाई उहाँले जति राम्रोसँग कसैले अभिव्यक्त गरेको छजस्तो मलाई लाग्दैन ।
म एउटा पहाडको गाउँबाट आएको मान्छे, काँठको होइन । गाउँ र सहर हुन्छ, ती दुइटाको बीचमा काँठ छ, काठमाडौं उपत्यकाको काँठ । काँठको संसार एउटा गोधूलीको संसार हो । छायाँको संसार हो । दिन गइसकेको छैन, रात पनि परिसकेको छैन । त्यो बीचको अवधिमा काँठ बाँच्छ । काँठ आधुनिक र पुरातन, सहर र गाउँ, परिवर्तन र यथास्थितिमा लगातार तानिएर विभक्त संसार हो । त्यो संसारलाई उहाँले जति राम्रोसँग केलाउने अर्को मान्छे मैले देखेको छैन ।
काँठ सहरमा आउँदा गाउँले लखेट्छ, गाउँमा जाँदा सहरले लखेट्छ । निरन्तर लखेटिएको, अस्तित्व, परिचय सब कुरामा लखेटिएको मान्छे काँठे । फेरि काँठ उपेक्षित छ, सहरले उपेक्षा गर्छ काँठलाई, गाउँले उपेक्षा गर्छ काँठलाई । एउटा बीचको त्रिशंकुको स्थितिमा काँठ बाँचेको हुन्छ । र, त्यो त्रिशंकुको वर्णन नारायण ढकालजीले जस्तो राम्रो कसैले गरेकोजस्तो मलाई लाग्दैन ।
काँठको त्यही प्रकृतिका कारण विद्रोही बागी जन्माउँछ । तर कस्तो बागी भने वर्गीय बागी होइन, व्यक्तिगत बागी । समाजको मनोविज्ञानको कारणले होस्, सामाजिक–आर्थिक कारणले होस्, जुनसुकै कारणले भए पनि समाजमा भइरहेको विभेद उत्पीडन काँठेलाई चित्त बुझ्दैन । र, ऊ त्यसका विरुद्ध उठ्छ, वर्गका रूपमा होइन, व्यक्तिका रूपमा । र, त्यो व्यक्तिको चित्रण उहाँको विशिष्टता हो जस्तो मलाई लाग्छ । यसैले आफ्नो सम्पूर्ण साहित्यिक जीवनमा काँठप्रति समर्पित भएर त्यहाँको मनोदशालाई बाहिर उद्घाटन गर्न चाहने यति राम्रो स्रष्टा अर्को छैन । उहाँले मलाई पार्नुभएको प्रभाव यो हो ।
दोस्रो, नेपालका धेरै उपन्यास त मैले पढेको छैन । साहित्य पनि पढेको छैन । तर इतिहास र युगको बोधको सचेतना जति नारायण ढकालमा छ, त्यति धेरै कम स्रष्टामा होला भन्ने म ठान्छु । उहाँले मलाई यो उपन्यास ‘ट्रायलोजी’को भाग हो भन्नुभयो, ‘प्रेतकल्प’, ‘वृषभ वध’ र ‘हजार माइलको बाटो’ । त्यसपछि मलाई खसखस लाग्यो । उहाँले ‘हजार माइलको बाटो’ पढ्न उहाँले दिनुभयो, तर त्यसअघि मैले ‘वृषभ वध’ पढेँ । ‘प्रेतकल्प’ त मैले पहिले नै पढिसकेको थिएँ । यसरी उहाँको ‘ट्रायलोजी’को तीनवटै किताब मैले पढेको आधारमा के भन्न सक्छु भने एउटै सामाजिक र भौगोलिक परिवेशभित्र भिन्न युगका बागी, विद्रोहीलाई नायकका रूपमा प्रस्तुत गर्ने जमर्को नेपालका कसैले गरेको छैन । त्यो गर्ने स्रष्टा नारायण ढकालमात्रै हो ।
तपाईंले ‘प्रेतकल्प’ पढ्नुभएको छ भने त्यसमा बालकृष्ण, राणाकालीन बागी; ‘वृषभ वध’को देवेन्द्र पञ्चायतकालीन बागी; ‘हजार माइलको बाटो’को धीरेन्द्र, अहिलेको समसायिक बागी । यी तीन बागीहरूको समाज र परिवेश त्यही छ । कहिले दुःखपुर, कहिले आनन्दपुर त कहिले हरिहर तीर्थ हुन्छ । ठाउँ त्यही हो, परिवेश त्यही हो । त्यही परिवेशमा उहाँले तीन युगका तीन बागीलाई ल्याएर उभ्याउनुहुन्छ । ती बागीहरूको मनोदशा, उनीहरूको स्थिति, परिवर्तनको उनीहरूको चाहनालाई पाठकअगाडि राखिदिनुहुन्छ । जुन धेरै कम नेपाली स्रष्टाहरूले गरेका छन् । यसैले नारायण ढकालको यो लेखन एक प्रकारले समाजको ऐतिहासिक अभिलेख पनि हो, खालि उपन्यासमात्रै होइन । उहाँले राणाकालीन समाज कस्तो थियो, के प्रकारले कुराहरू हुन्थे, बसोबास कस्तो थियो भन्ने कुरासमेत राम्रोसँग पर्गेल्नुभएको छ ‘प्रेतकल्प’मा । त्यही रूपले यसमा अहिलेको समकालीन समाजलाई पर्गेल्नुभएको छ । प्रत्येक युगको चेतनालाई खालि एउटा उपन्यासकारले जस्तो आख्यान बुनेरमात्रै होइन, त्यसको समाज, त्यहाँको अर्थतन्त्र, राजनीति सबैलाई बुझेर प्रस्तुत गर्नुभएको छ । त्यसले गर्दा आजभन्दा पचास–सय बर्षपछि उहाँको लेखन पढ्ने मान्छेलाई अहिलेको नेपालदेखि सय बर्षअघिको चन्द्र समसेरको पालाको नेपालको तस्विर पनि दिन्छ । धेरै कम लेखकहरूले त्यो प्रयत्न गरेका छन् ।
उहाँको लेखन चर्चा गर्दा पढ्दाखेरि सन् १९६८ मा बनेको क्युबन फिल्म ‘लुसिया’को याद आयो । फिल्ममा ‘लुसिया’ भन्ने केटी छ । त्यो केटीलाई तीन स्थितिमा चित्रण गरिएको छ । नाम लुसिया नै हो, एउटा लुसिया स्पेनविरुद्ध क्युबाको स्वतन्त्रता संग्राममा हुन्छे । अनि सन् १९३० तिर अर्की केटी लुसिया हुन्छे र सन् १९६० मा क्युबाले परिवर्तन गरिसकेपछि लुसिया भन्ने अर्की केटी हुन्छे । यी एउटै नाम भएका तर तीनवटा युग भोगेका केटीहरू, उनीहरूको चेतनालाई साह्रै मजासँग देखाइएको छ फिल्ममा । मलाई के लाग्यो भने नेपालमा कुनै गतिलो ‘फिल्ममेकर’ हुन्थ्यो भने ‘प्रेतकल्प’, ‘वृषभ वध’ र ‘हजार माइलको बाटो’लाई उनेर यस्तै बागी नायक राखेर एउटा फिल्म बनाउन सक्थ्यो होला ।
अब अन्तिम र तेस्रो कुरा । नारायण ढकालले यो उपन्यासमा सामाजिक– राजनीतिक रूपान्तरण र क्रान्तिको कुरा गर्नुभएको छ । उपन्यासको करिव–करिब आधा भाग माओवादी जनयुद्धसँग सम्बन्धित छ । जनयुद्ध नै यसको भावभूमि हो, पृष्ठभूमि हो । जनयुद्धकै सेरोफेरोमा छ यसको कथा । तर यो जनयुद्धको मूल बाटोको कथा होइन, यो मूल बाटो खोजेका गोरेटाहरूको कथा हो । प्रत्येक पात्र गोरेटो हो, दलबहादुर होस् या धीरेन्द्र होस्, सबै गोरेटाहरू हुन् । ती सब गोरेटाले एउटा मूल बाटो खोज्दैछन्, परिवर्तनको, क्रान्तिको, रूपान्तरणको । त्यो मूलबाटोको कथाचाहिँ यो उपन्यास हो । यसले माओवादी कार्यकर्ताको उद्गमथलो के थियो, कहाँबाट तीनीहरू आए, कसरी ती आएर समाजमा मिसिए भन्ने कुराको पनि सारगर्वित चित्रण यसले गर्छ ।
उहाँ एउटा खास राजनीतिक दलसँग सम्बद्ध हुनुहुन्छ, त्यसका बाबजुद जनयुद्धको औचित्यप्रति लेखकको असहमति छैन । उहाँको असहमति जनयुद्धको परिणतिसँगमात्रै हो । जुन कारण अर्थात विभेद देखाएर जनयुद्ध भयो, जुन विभेदका विरुद्ध उहाँको ‘प्रेतकल्प’देखिका बागी नायकहरू जुध्छन्, त्यो अहिले पनि छ । अहिले पनि एउटा कामीले बसेर बाहुन क्षेत्रीसँग चिया खाने स्थिति छैन । त्यसलाई उहाँले चित्रण गर्न खोज्नुभएको छ । त्यसहिसाबले उहाँको असहमति जनयुद्धको औचित्यसँग होइन, उहाँको असहमति जनयुद्धको परिणतिसँगमात्रै हो ।
उहाँले उपन्यासको अन्तिम सय पृष्ठलाई उपसंहार अर्थात एक संक्षिप्त अधिगल्प भन्नुभएको छ, त्योचाहिँ मेरो विचारमा पूरा पुस्तकको राजनीतिक सार हो । पूरा पुस्तक पढिसकेपछि यो भाग पढ्दा पहिलाका पात्र तपाईंको मनमा आइबस्छन् । तिनले गरेका कुराहरू खेल्न सुरु गर्छन् । अनि मलाई के लाग्यो भने यो अन्तिम सय पेजचाहिँ नेपालका प्रत्येक राजनीतिक कार्यकर्ताले, राजनीतिक नेताले, खास गरेर माओवादी नेताहरूले र एमालेका नेताहरूले पनि पढ्नुपर्ने छ ।
उपन्यासको मूख्यपात्र धीरेन्द्रमा जनयुद्धको परिणतिप्रति साह्रै वितृष्णा छ । उसले एकप्रकारले पश्चाताप गरेजस्तो पनि देखिन्छ । तर त्यो पश्चाताप धीरेन्द्रको पश्चातापमात्रै होइन, त्यो पश्चाताप त एमाले, माओवादीको पनि पश्चाताप हो । रूपान्तरण चाहने सबैको पश्चाताप हो । किनभने माओवादीले जुन राजनीतिक–आर्थिक स्थान निर्माण ग¥यो नि आन्दोलनको सुरुको अवस्थामा, त्यसको फाइदा कसैले पनि लिएन । माओवादी आफैं त्यो स्थानप्रति उपेक्षा गरेर रहे । एमाले, नेपाली कांग्रेस वा रूपान्तरण चाहने नेपालका कुनै दलले पनि त्यसको प्रयोग गरेनन् । त्यसले गर्दा कसैलाई लाग्ला कि यो माओवादीप्रतिमात्रै औंला ठड्याएको हो, तर होइन । भनाइ छ नि, एउटा औंलाले अर्कातिर देखाउँदा तीनवटा औंलाले आफैंतिर देखाइरहेको हुन्छ । यो पढ्दा प्रत्येक पाठकलाई पनि तीनवटा औंलाले देखाइरहेको हुन्छ । त्यस्तो मलाई लाग्यो । मलाई के पनि लाग्यो भने स्वैरकल्पनामा आश्रित उपसंहारचाहिँ एक प्रकारले सबै नेताहरूलाई कठघरामा उभ्याएर केरेको जस्तो छ । जति प्रेतहरू, पहिलाका पात्रहरू बाहिर आउँछन्, ती सबले केर्छन् नेताहरूलाई । ‘तिमीले के दियौ ? हामीलाई के सपना तिमीहरूले बेचेका थियौ, ती सपनाहरूको परिणति के भयो ? यसैले गर्दा गणतन्त्र, समाजवाद भूत गणतन्त्रमा परिणत छ’ भनेर । त्यो भूत गणतन्त्रमा अहिलेका मात्रै पात्र छैनन्, बाजेपुस्तादेखिका पात्र छन् । त्यो भूत गणतन्त्रमा आशामा, त्यसको सपनामा बसेका मान्छे छन् । त्यसैले, यो उपसंहार नेपाली उपन्यासमा मेरो विचारमा सर्वथा नयाँ प्रयोग हो । त्यो प्रयोगले यस्ता राजनीतिक प्रश्नहरू उठाउँछ, जुन राजनीतिक प्रश्नहरूको जवाफ नदिइ हुँदैन र त्यसप्रति चुप लागेर बस्न कसैलाई पनि मिल्दैन ।
‘चरैवेती, चरैवेती’ भन्ने धेरै ठाउँमा प्रयोग भएको छ उहाँको उपन्यासमा । ‘चरैवेती’ भनेको बाटो हिँडिराख हिँडिराख भनेको हो । तर हिँडिराख्नुको पनि एउटा ध्येय, उद्देश्य हुन्छ । यो संस्कृत शब्द जहाँबाट उद्दरण गरिएको हो, त्यहाँ चरैवेतीभन्दा तिमी हिँड्दै गयौ भने मधु प्राप्त गर्छौं; हिँड्दै गयौ भने तिमीले सुस्वादु फल प्राप्त गर्छौ; हिँड्दै गयौ भने सूर्यजस्तै संसारलाई प्रज्वलित पार्दै हिँड्दै जान्छौ भन्ने उल्लेख छ । यसैले क्रान्ति यदि चरैवेती हो भने त्यो चरैवेतीको उद्देश्यको सार्थकता कसरी भेट्टाउने ? सार्थकता कुन बेलामा हुन्छ, कसरी हुन्छ भन्ने प्रश्न नारायण ढकालजीको प्रमुख प्रश्न हो । क्रान्ति त चाहिन्छ, अहिले पनि आवश्यक छ । गर्नुपर्छ । तर त्यो क्रान्ति गर्ने भनेको खाली क्रमभङ्ग गर्नमात्रै हो कि क्रमभंगपछि हुने कुरालाई सुनिश्चित गर्न पनि क्रान्ति गर्ने हो ? त्यसले गर्दा क्रान्तिको विधि र बाटो क्रान्तिपछि सम्भव हुने समाज, रूपान्तरण हुने समाजको परिकल्पनाविना अधूरो हुन्छ भन्ने उहाँको मुख्य सन्देश हो जस्तो लाग्छ ।
अन्त्यमा, एउटा प्रश्न सोध्न मन लाग्छ, के प्रत्येक क्रान्तिको नियति क्रान्तिकै पुनरावृत्तिमात्रै हो ? के प्रत्येक क्रान्तिको नियति क्रान्तिलाई नयाँ दृष्टिले हेर्ने, क्रान्तिको बाटो र लक्ष्य नयाँ प्रकारले निर्धारित गर्ने, अगाडि भएका भूलबाट सिक्ने होइन ? यो प्रश्न पाठकअगाडि आइपर्छ । अर्को प्रश्न के आउँछ भने के क्रान्ति मुखियाको भ¥याङ चढ्ने माध्यममात्रै हो ? नेतृत्वको अर्थात क्रान्तिको नेताले कार्यकर्तालाई चढ्ने माध्यम भ¥याङ बनाउँछ । कार्यकर्ताको सपनाको कुनै अर्थ छैन ? कुनै मूल्य छैन ? यो प्रश्न एकदमै टड्कारो रूपले, साह्रै मर्मश्पर्शी रूपले उहाँले ल्याउनुहुन्छ । यो प्रश्न अहिलेका माओवादीका नेताहरूलाई मात्रै होइन, भोलि आउने माओवादीका नेताहरूलाई, हिजो भएका माओवादीका नेताहरूलाई र अहिले परिवर्तन चाहने सबैलाई हो । यो प्रश्नका साथसाथै अर्को पनि के आउँछ भने के प्रत्येक क्रान्तिमा मुखिया नै चाहिन्छ ? के मुखियाविनाको क्रान्ति सम्भव छैन ? के रूपान्तरण र क्रमभंग सुधारले हुन सक्दैन ? सुधारप्रति प्रतिबद्धता चाहिँदैन, क्रान्तिपछिको प्रतिबद्धता चाहिँदैन ? यस्ता प्रश्नहरू आउँछन् । तपाईंहरू जो यहाँ बसिराख्नुभएको छ, धेरैजसो नेपालका वामपन्थी पार्टीहरूसँग संलग्न हुनुहुन्छ, यहाँहरूले गतिलोसँग सोच्ने प्रश्नहरू हुन् यी ।
यो आख्यानमा जति पात्रहरू छन्, ती पात्रहरू भयंकर ठूलो आशा र सपना लिएर आफ्नो जीवन उत्सर्ग गर्छन्, मर्छन् । केही पनि परिवर्तन हुँदैन । त्यसैले गर्दा रोजा लक्जेम्बर्गको एउटा सानो भनाइ राखेर मेरो भनाइ सिध्याउँछु् । रोजा लक्जेम्बर्गले क्रान्तिको सन्दर्भमा के भनेकी छन् भने A world must be overturned, but every tear that has flowed and could have been wiped away is an indictment. अर्थात् ‘संसारको कायापलट गर्नुपर्छ, तर प्रत्येक थोपा आँसु जुन चुहियो र जसलाई पुछ्न सकिन्थ्यो । त्यो एउटा आरोप हो ।’ यो आरोप मेरो विचारमा उहाँको उपन्यासको अन्तिम प्रश्न हो ।


आहुति

आहुति

नेपाली खस भाषामा नेपालमा वाग्मती उपत्यकाभित्रका मान्छेहरूले काम गरेको भनेको काँठेहरूले मात्रै हो । योभन्दा पहिले काम गर्नेहरू पनि त्यतिबेलाका काँठेहरू हुन् । नेपाल भाषामा चाहिँ सहरमा बस्नेहरूले गरे । तर खस नेपाली भाषामा मूस्लतः काँठेहरूले नै काम गरेका छन् । म आफैं पनि काँठमै हुर्केको हुनाले नारायण ढकालजीको त्यो संवेदना चाहिँ बुझ्छु जस्तो लाग्छ ।
अब यो उपन्यास ‘हजार माइलको बाटो’ आएको छ । यसका धेरै ओटा पक्षहरू छन् । अघि पिताम्बर सरले भनेजस्तै यो उपन्यासको ज्यानचाहिँ उपसंहार खण्ड नै हो । र, एउटा प्रयोग पनि हो स्वैरकल्पनासहित वा त्यति मात्रै नभनौं नेपालको पूर्वीय धर्म–साहित्यमा प्रयोग हुँदै आएका मिथकिय ढंगले भन्ने परम्परा, त्यसको नवीकरण पनि भन्न मिल्छ; त्यो प्रयोग गर्नु भा’छ उहाँले । प्रयोगको हिसाबले त्यो सानदार हुन पुगेको छ भन्ने मलाई लागेको छ ।
उपन्यासका धेरै पाटाहरू हुन्छन् । जस्तो, चरित्र निर्माण त्यसको एउटा पाटो हुन्छ । अर्को, शैलीको पाटो हुन्छ । अर्को, समाजशास्त्र त्यसको पाटो हुन्छ । अर्को, मूलतः राजनीतिमाथि नै लेखिएको हुनाले राजनीतिक सार यसको पाटो हुन्छ । यी सबै चिजलाई हेर्दाखेरी म समाजशास्त्रबाटै शुरु गर्न चाहन्छु । अघि, पिताम्बर सरले जो भन्नुभयो, काँठको जनजीवन भनेर । नारायणजीको यो उपन्यासमा काँठको समग्र जनजीवन चाहिँ छैन । यो वाग्मती उपत्यकाको काँठ कस्तो छ त भन्यो भने त्यहाँ सशक्त दुई समुदाय छन् । एउटा नेवार, अर्को खस पर्वते भनिन्थ्यो पहिला, अहिले खस आर्य भन्ने चलन छ । त्यसभित्र तागाधारी र गैर–तागाधारी । अनि सानो समूह हुन्छ त्यहाँ जनजाति । उहाँको यो उपन्यासमा काँठको जिम्वाल खलकको उपाध्याय ब्राम्हण परिवारको र उपाध्यायहरूको जीवन चाहिँ राम्रैसँग आएको मान्न सकिन्छ, राम्रैसँग आएको छ । तर, अरू दुइटा चाहिँ करिब–करिब हराएको छ । जस्तो कि, उहाँले जुन ठाउँको नेवारबारे उहाँले वर्णन गर्नुभएको छ, त्यो एउटा राज्यसहितको साँखु देश हो । त्यो कुनै सानो आप्रवासी बस्ती होइन त्यो । देश नै हो । सरकारलाई चुनौती दिएर शंखरापुर नाम राख्ने स्तरको आफ्नो परिचय भएको बस्तीसहितको ठाउँ हो त्यो । उनीहरूले त्यहाँ आफ्नो हक दाबी गर्दछन् । नेवारलाई सबभन्दा मन नपर्ने अन्न हो कोदो । यो उपन्यासमा चाहिँ कोदो लिएर खानुपर्ने नेवार पात्र आउँछ । काँठको नेवारको मूल चरित्र होइन त्यो । ऊ त स्थानीय रैथाने हो र धानको भात खाने हो । नेवारहरू गरीब छन् तर, कोदो चाहिँ खाँदैनन् । ढिंडो पनि खाँदैनन् । बढीमा असाध्यै कमजोर खाना खाए भने उनीहरूले गहुँको ‘ग्वार्चा’ बनाएर खान्छन् । त्यसकारणले काँठको नेवार बस्तीको प्रतिनिधित्व भयो भन्न गाह्रो छ । जोगमेहर श्रेष्ठको खलकहरू हुने ठाउँ हो त्यो ।
जहाँसम्म दलितको कुरा छ, जो उहाँको असाध्यै प्रिय सामाजिक समूहभित्र पर्दछ । उहाँ जहिले पनि कोमल भइहाल्नु हुन्छ दलितको कुरा गर्न थालेपछि । उहाँको हृदयमा त्यो भाव कतै न कतै गहिरोगरी छ भन्ने नै बुझ्छु म । उहाँले जो दलित पात्र ल्याउनु भएको छ दिलबहादुरको बाबुआमालाई । त्यो दलित पात्र पनि वाग्मती उपत्यकाको काँठको होइन । वाग्मती उपत्यकाको दलित पात्र जो काँठमा नै मूलभूत रुपमा बसेको छ र जनसंख्याको हिसाबले दुई प्रतिशत छ । मूल समूह यहाँको सार्की हो, यसमा कामी लेखिएको छ, त्यसले त केही फरक परेन । तर, यसमा त्यो कामीको परिवार चाहिँ उता पर्वतबाट केही अनिकाल परेर वा केही गडबड भएर साहुको ऋण तिर्न नसकेर बाँधा बस्न आएको परिवार हो । वाग्मती उपत्यकाको दलितचाहिँ सबभन्दा पहिले बालीप्रथाबाट मुक्त भएको ज्यालामा काम गर्ने दलित हो । वाग्मती उपत्यकामा कुनै पनि दलित बाँधा बस्ने हालतको छैन । त्यसकारणले समाजशास्त्रको दृष्टिकोणबाट काँठको प्रतिनिधिहरू आए भन्ने कुरामा सहमत हुन अलिक गाह्रो छ । ब्राम्हणहरू त आए, त्यसमा पनि उपाध्याय ब्राम्हणहरू आए । त्यसमा पनि गरीब ब्राम्हणहरू चाहिँ धेरै आएनन् । प्रधानपञ्चमा ३०÷४० भोट ल्याउने पनि गरीब ब्राम्हणको चरित्र होइन । राणाकालपछि कमजोर भएका हुन् । खान नपुग्ने पनि होइन । मूल परिवार जो छ त्यो त जिम्वाल नै भइहाल्यो । झुक्किएर होला जस्तो लाग्छ, एकठाउँमा तीन मुरी धानको बीउ लाग्ने खेत थियो, त्यो चाहिँ असाध्यै कम भएको जस्तो प्रस्तुति हुन पुगेको छ त्यहाँ । तीनमुरी भनेको साठी पाथी हो । साठी पाथी भनेको दुई बाली लाग्ने जग्गामा धेरै नै उब्जनी हुन्छ । त्यसकारण समाजशास्त्रको कोणबाट हेर्दा अझै काम गर्न बाँकी छ भन्ने लाग्छ ।
नारायण ढकाललाई मैले जति पढेको छु, चरित्र निर्माणको कोणबाट सोच्दा चाहिँ अहिलेसम्मका जति पनि उहाँका किताब छन्, ती चरित्रलाई नाघेर चरित्र निर्माणचाहिँ हुन सकेको छैन । यति चाहिँ भन्न सकिन्छ । मूलपात्र धीरेन्द्रनाथ अधिकारी छन्, तिनलाई त्यसो नगरेको भए हुन्थ्यो भन्ने मेरो मनमा पटकपटक आउँछ । कस्तो अबुझ पात्र के त्यो, किन एमालेमा लाग्या पनि मतलब छैन, किन माओवादीमा लाग्या पनि उसलाई मतलब छैन । आफ्नो बाबुले आफ्नी आमा मारेको हो–होइन भन्ने पनि त्यत्रो विद्वान मान्छेले राम्रोसँग खोजबिन गर्दैन । त्यस्तो पात्रलाई उभ्याइएको छ, त्यसले विषयको उठान त्यति सशक्त गर्नै सक्दैन जस्तो लाग्छ मलाई ।
अर्कोतिर, गम्भिर एउटा समस्या मैले के देखें भनें, नौ पेजको स्पष्टिकरण गजेन्द्रनाथले माओवादीको अदालतमा गएपछि लेख्छन् । उनले जीवनभरी गरेका गल्तीहरू मृत्युदण्ड दिन लायक त हुँदै होइन । तर त्यहाँ भइपरी आउने कुराको स्तरमा सीमित भयो । त्यसो हो भने नेपाली समाजमा भएका जालीफटाहाले गरेका अधिकांश कुरा माफ गरिदिनु पर्ने हुन्छ । अर्काको श्रीमतीसँग अवैध सम्बन्ध राखेर बच्चा जन्माएर त्यो बच्चा मेरो होइन भनेर अनि दुई÷चार महिनामा खर्च पठाइदिएको कुरा पनि अपराधभित्र नपर्ने ? मृत्युदण्डलायक त होइन तर उसले बच्चाको परिचय खोसिरहेको छ । परिवार भताभुङ्ग बनाइदिएको छ । तर उसले स्पष्टिकरणमा चाहिँ त्यसो नगरेको भए हुन्थ्यो, गल्ती भयो, यो त मानवीय कुरा हुँदो रहेछ भनेर भन्ने; त्यो सुनेर क्रान्तिकारी पात्र चाहिँ द्रविभूत हुने । युद्ध सरदार त कहाँ छन् र हाम्रो देशमा ? कोही छैन । यस्तै जालीफटाहाले सताएको देश हो यो । यस्तै गर्ने हो भने त तिनले गर्ने काम त माफी गर्न लायकमात्रै हुन्छन् । त्यसकारण चरित्र निर्माणमा त्यो त्यति सशक्त चरित्र भयो जस्तो मलाई लगेको छैन ।
परम्परागत लेखनमा लेखकको तर्फबाट जे त्रुटीहरू हुने गरेको छ, त्यो यसमा पनि कतै न कतै दोहोरिएर आएको छ । जस्तो, नेपाली मुसलमान भन्ने शब्द प्रयोग भएको छ, नेपाली हिन्दु भन्ने शब्द प्रयोग हुन्छ कि हुँदैन ? हुँदैन । तर, नेपाली मुसलमान ! त्यो कसले प्रयोग गरेको छ भन्दा जंगबहादुरले मुलुकी ऐनमा ‘हाम्रा मुसलमान’ भनेर । गहुँगोरो भए पनि हिस्सी थिएन भन्ने छ । गहुँगोरो हुनु भनेको चाहिँ स्वतः हिस्सी हुनुजस्तो ।
उपत्यकामा वैश्य थिए भन्ने छ, मेरो विचारमा पश्चिम नेपालमा चाहिँ वैश्यहरू केही छन् पहाडमा । उपत्यकामा वैश्य भन्ने छैन । अर्को, लामो चुच्चो नाकले उनी खाँटी बाहुन हुनुको परिचय दिन्थ्यो भन्ने छ । भनेपछि अब लामो चुच्चो नाक अरूको हुँदैनथ्यो भन्ने हुन्छ । त्यसो भए अरू त अरु, क्षेत्री नै मारमा परिहाले । यो चाहिँ पुरानो सौन्दर्यशास्त्र आएजस्तो लाग्छ । त्यस्तै, लाटाले केरा हेरेजस्तो भन्ने पनि प्रयोग भएको छ । त्यस्तै, सालाखाला नेपालीभन्दा अग्ला भनिएको छ । नेपाली सालाखाला कति हो ? यो गम्भीर प्रश्न हो । तराईको यादवले हे¥यो भने पहाडको बाहुनलाई पनि होचो देख्छ । हिमाली शेर्पा जो अग्लो कदको छ, उसले अर्कै देख्छ । अब भूपाल राईलाई कवि साङ्केन बान्तवाले होचो देख्नुहुन्न । तर, संगीत स्रोताले हे¥यो भने होचो देख्छ । त्यसकारण नेपाली उचाइ भन्ने हुँदैन । जसरी नेपाली भाषा भन्ने हुँदैन, नेपाली उचाइ पनि हँुदैन । नेपाली महिला पनि हुँदैन । नेपालभित्रका महिला, नेपालभित्रका विभिन्न कद भएका मान्छेहरू त होला । तर, सरदर नेपाली भन्ने कुरा त्यो चाहिँ मलाई मिलेजस्तो लागेन ।
अर्को कुरा, भारतीय कलाकार प्रान र मदन पुरीलाई खलनायक किन लेखेको ? उनीहरू खलनायक पनि भाएका छन्, नायक पनि भएका छन् फिल्ममा । उनीहरू त कलाकार पो हुन् । त्यस्तो त लेखिदिनु हुँदैन ।
अर्को, चाहिँ के छ भने, त्यसलाई सच्याउनु पर्छ होला अर्को संस्करणमा । यी सानातिना कुरा हुन्, ठूला कुरा होइनन् । जस्तै कुनै पात्रलाई तिमी भनिएको छ । कुनै पात्रलाई तँ सम्बोधन गरिएको छ । त्यसमा कुनै नियम छैन । ड्राइभर भेटियो त्यसलाई तँ, भट्टीवाल भेटियो त्यसलाई तँ । कुनै बाहुन भेटियो त्यसलाई पनि तँ । दलितमा चाहिँ उहाँ एकदम सचेत हुनुहुन्छ, तिमी नै तिमी छ, शुरुदेखि एकदमै सचेत हुनुहुन्छ उहाँ । त्यो चाहिँ राम्रैसँग याद गरेको देखिन्छ । तर, ड्राइभर, मुस्लिम, भट्टीवाल आएपछि त्यहाँ तँ आउँछ । भनेपछि यस्तो शैली चाहिँ पुरानो हो रुपमती कालको । त्यस्तो जरुरी छैन । सबैलाई तँ भन्ने भए तँ भन्दिए भो, तिमी भन्ने भए सबैलाई तिमी भन्दिए भो । लेखकका निम्ति सबै बराबर हो जस्तो लाग्छ मलाई ।
अब म अन्तिम कुरामा आउँछु । गोञ्जालोले एक ठाउँमा भनेका छन् कि हरेक सिर्जनकर्मीको पछाडी एकजना राजनेता हुन्छ । मचाहिँ यो भनाई खारेज गर्नुपर्छ भन्ने मान्छे हो । हरेक लेखकको पछाडि एउटा राजनीतिज्ञ भएपछि लेखक बिग्रिन्छ । बरू हरेक लेखकको पछाडि एउटा विचारधारा हुनुपर्छ । त्यसकारण उहाँ जब विचारमा जानुहुन्छ, विचारधारालाई पक्रिन थाल्नु हुन्छ, तब उहाँका रचनाका अंशहरू सानदार हुन्छन् । जब उहाँ राजनीति पक्रिन थाल्नुहुन्छ, तब उहाँ अन्तै टेक्न थाल्नुहुन्छ । जस्तो कि, उहाँले पहिला पनि शोकमग्न यात्रीदेखि नै एमाले धाराको आलोचना गर्दै–गर्दै आएको हुनाले त्यो धारा ठीक भन्नु भएको छैन उहाँले । त्यहाँ इमान्दारितापूर्वक बोल्नु भएको छ । उपन्यासको मूल केन्द्र अहिलेको चासो, जल्दोबल्दो पछिल्लो पटक पतन भएको माओवादी धारा नै छ । त्यसो गर्दाखेरि जतिबेला उहाँको पछाडिको राजनीतिज्ञ आउँछ, त्यहाँ विचारमा चुक्नु भएको छ भन्ने मलाई लाग्दछ । त्यसले के भन्दियो त भने युद्ध निरपेक्ष रूपमा गलत छ र माओवादी युद्ध विवेकहीन युद्ध थियो । पुष्पलाललाई उभ्याएर, प्रेतका रूपमा पुष्पलाल नै बोल्नुहुन्छ त्यहाँ– विवेकहीन युद्ध । यो चाहिँ उहाँ पछाडिको राजनीतिज्ञ बोलेको हो । जब उहाँले विचारधारा बोल्नु भयो, उपसंहार लेख्नु भयो । सानदार ढंगले वैचारिक कुरा बोल्नु भयो । जब राजनीतिज्ञको कोटीमा जानुभयो, उहाँको पछाडि नेता आयो । त्यो चाहिँ माक्र्सवाद होइन । माक्र्सवादले सँधैभरी युद्ध ठीक छ पनि भन्दैन, युद्ध सँधैंभरि बेठीक छ पनि भन्दैन । आवश्यकताअनुसार त्यसको औचित्य छ भनेको हो । त्यति कुरा नस्वीकारेर चाहिँ केही पनि हुँदैन भन्ने लाग्छ मलाई ।
कसले लडेन युद्ध ? पृथ्वीनारायण शाहले लडेकै हो युद्ध । खराब युद्ध लडे पनि, असल युद्ध लडे पनि । विश्वयुद्धलाई खतम गर्न पनि युद्धै लडेको हो । बोल्सिेभिक क्रान्ति पनि युद्धै गरेको हो, चिनियाँ क्रान्ति पनि युद्धै लडेको हो । जितेको हुनाले तिनीहरू चाहिँ ठिक रे, अरु हारे, बिग्रे भने चाहिँ बेठीक, कसरी हुन्छ त्यो ? त्यो कुरा होइन । त्यसरी हुँदैन । त्यसैले निरपेक्ष युद्धको विरोध चाहिँ माक्र्सवाद हुन सक्दैन । निरपेक्ष युद्ध मात्रै हुनुपर्छ भन्ने पनि माक्र्सवाद होइन । यसमा चाहिँ उहाँको फेरि पहिलादेखिकै दृष्टिकोण निरन्तर नै आइरहेको छ । र, मैले भन्नु पर्ने कुरा के हो भने, माओवादी युद्धबारे चाहिँ हामीले लेख्दाखेरी आफू पछाडिको राजनीति राखेर लेखियो भने अझै ठीक हुनेवाला छैन । किनकि यो नेपाली समाजको इतिहासमा सबैभन्दा ठूलो रक्तपात भएको प्रसंग हो । यो निश्चित विचारधाराद्वारा नै भएको प्रसंग हो । यो अहिले आएर पतन भयो । भनिसकेपछि त यो नेपाली इतिहासको सबभन्दा बढी अध्ययन गर्नुपर्ने र यहाँका पात्रहरूलाई सबभन्दा बढी आलोचनात्मक ढंगले हेर्नु पर्ने र न्याय पनि गर्नुपर्ने प्रसंग हो । स्पार्टाकसले दास विद्रोह गरेजस्तो कुरा हो यो । यो सामान्य एउटा राजनीतिज्ञले फ्याट्ट भन्दिएको भरमा राजनीतिक लाइन बनाएर इतिहासको कर्म पूरा हुन्छ भन्ने मलाई लाग्दैन । त्यसो गरियो भने पूर्वाग्रह आइदिइ हाल्छ । पूर्वाग्रह आएपछि त्यो रचनाले ऐतिहासिक दायित्व पूरा गर्न सक्दैन । मैले नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’को सन्दर्भमा पनि यही भन्ने गरेको हो कि यो विषयमा लेख्दाखेरि हतार भयो । यहाँ पनि त्यही भन्नु छ ।
समग्रमा, मैले भन्ने कुरा के हो भने अहिले बजारमा उपन्यासका नाममा वा गद्यका नाममा मान्छेका साना–साना अनुभूति र मान्छेका अनावश्यक चिजहरूलाई समेत उछालेर पैसा कमाउने जमानामा, किताब बेच्ने जमानामा राजनीतिक विषयमा र नेपाली समाजको तल्लो वर्गको चिन्ताको विषयमा यत्रो ठूलो राजनीतिक परिघटनालाई चुनौति दिएर, प्रश्नहरू उठाएर, जो राजनीतिक प्रकारले उहाँले कलालाई उठाउनु भएको छ, त्यसको निम्ति उहाँलाई बधाई दिन चाहन्छु ।


शिखर घिमिरे-नारायण ढकाल संवाद

नारायण ढकाल तथा शिखर घिमिरेबीचको संवाद

शिखर घिमिरे – सबै जनालाई नमस्कार । तपाईंलाई बधाई छ ।
नारायण ढकाल – धन्यवाद ।

घिमिरे– फरक प्रयोगसहित किताब लेख्नुभएको छ । मैले कुराकानीको मेलो अन्तैबाट शुरु गरौंला भन्ने थियो पहिले । तर, जब आहुति सरले कुरा गर्नु भयो, त्यसपछि मलाई पहिलो प्रश्न अर्कैतिरबाट गरौं जस्तो लाग्यो । दाइ, यो ‘च्यालेन्ज’ लिनु भएको हो तपाईले ? अहिलेको समयमा आएर वामपन्थी आन्दोलनमाथि जसरी प्रहार गरेर, व्यंग्य गरेर किताब लेख्नु भएको छ, तपाई लाग्छ कि लाग्दैन, यस्ता खाले ‘कमेन्ट’हरू अझ बढी आउने छन् ?
ढकाल – मलाई के लाग्छ भन्दाखेखि, जस्तो अघि दुई जना वक्ताहरूले सारगर्भित उचाइमा जुन बोल्नु भयो, अहिले हिसाब–किताब गर्दाखेरि जे मैले सोचेको थिइनँ, म त त्यो तहमा पो पुगेछु, मसँग अद्भुत क्षमता छ भनेकोजस्तो भावनात्मक स्थिति आयो । आहुतिले जुन कुराहरू उठाउनु भएको छ, त्यसका लागि म उहाँलाई हृदयदेखि धन्यवाद दिन्छु । ‘दुर्भिक्ष’ उपन्यासको विमोचनमा मैले हाम्रो कृष्ण भट्टचन सरलाई लिएर आएको थिएँ । उहाँले ‘यो किताब चाहिँ कुनै प्रलयले पुरियो र पाँचहजार वर्षपछि किताब उत्खनन भयो भने नेपालको इतिहास हुँदैन’ भन्नुभाएको थियो । किनभने त्यहाँ बाहुनहरू मात्र छन् ।
मेरा सीमा छन् । हरेक लेखकका आ–आफ्ना ठाउँहरू, परिवेशहरूको सीमा हुन्छन् । जुन सीमा मैले धेरै बुझेको छु, त्यही लेखेको छु । त्यसैले यस्ता किसिमको आलोचनाहरू भविष्यमा आउन्, आउनु पनि पर्छ । त्यसले मलाई त शक्तिशाली पनि बनाउँछ । खुसीको कुरा हो । बहस होस् भन्ने म चाहन्छु ।

घिमिरे – एउटा संयोग मान्नुपर्छ, तपाईंको किताब ‘हजार माइलको बाटो’ म यहाँबाट पोखरा जाने क्रममा झण्डै ‘सय माइलको बाटो’मा पढेको थिएँ । त्यो संयोग नै मान्नुपर्यो । पढ्दै जाँदा त्यो धीरेन्द्र भन्ने पात्र कतै तपार्इं नै त होइन ? तपाई नै त होइन ? भनेर बीच–बीचमा तपाईंको बारेमा पनि सोच्दै जानुपर्ने जस्तो भयो । तपाईं आफू कतिको हुनुहुन्छ त्यो पात्रमा ?
ढकाल – आज (५ फागुन, २०७४, अन्नपूर्ण पोष्ट, फुर्सद) अन्तर्वार्तामा निस्केको छ । दीपक सापकोटाले मसित कुरा गर्नुभएको थियो । त्यहाँ उहाँले ‘के तपाई धिरेन्द्र हो ?’ भनेर सोध्नु भएको थियो । केही केही त हो, तर सबै होइन भनेको थिएँ । त्यहाँ मैले के पनि भनेको छु भने ‘उपन्यास ‘बायोग्राफिकल’ पनि हुनसक्छ । मैले आफैंलाई पात्र बनाएर पनि लेख्न सक्छु । जस्तो मो यानले ‘चेञ्ज’ लेख्ने बेलामा उनले आफूलाई उपस्थित गराएका छन् । अब यस्तै अरू ‘बायोग्राफिकल’ उपन्यासहरू धेरै पाउन सक्छौं । तर यो ‘बायोग्राफिकल’ उपन्यास चाहिँ होइन ।’ यो उपन्यासमा मैले आफ्नै जिन्दगीका अनुभवहरूलाई चाहिँ राखेको छु । तर पात्र चाहिँ वास्तवमा म होइन ।
मलाई के लाग्यो भन्दाखेरि, सात्र्रले एउटा नाटक लेख्दाखेरी (सात्र चाहिँ फ्रान्सको कम्युनिष्ट आन्दोलनको बारेमा ज्यादै नै गहिरो जानकारी राख्ने मान्छे पनि हो । उहाँले ठूलठूला आन्दोलनको नेतृत्व गरिरहेको पनि हो । उहाँले धेरै राजनीतिक नाटकहरू लेख्नु भएको छ) युद्धहरू, क्रान्तिहरूमा (कामुको पनि त्यस्तो देखिन्छ, कामुले पनि एउटा नाटक लेख्नु भएको छ) मान्छेहरू हामीले देखेको जस्तो, बाहिरबाट हेरेको जस्तो आदर्शकृत देखिँदैनन् । कसैले कुनै किसिमले सपना देखिरहेका हुन सक्छन् । कोही बदलाको भावले पनि आएका हुन सक्छन् । यो उपन्यासमा कस्तो परिस्थिति आयो भने पात्रलाई एउटा भ्रमले पनि (अघि वत्ताले भनेको कुरामा खण्डन पनि होइन यो) होला, सबै जानेको बुझेको अन्तर्यामी हुनुपर्ने स्थिति भएन । समय उसलाई छलिदियो । परिस्थितिले उसलाई छल्यो । त्यसकारण उसलाई बाउले नै झुण्ड्याएर (आमालाई) मारेको हो कि भन्ने लागिरह्यो । पछि बाउसँगको उसको सम्बन्धलाई आफ्नो कोणबाट देखेका कुराहरूलाई पनि मिसाउन खोजेको हुँ ।
त्यसैले त्यहाँ चाहिँ मैले आफूलाई त्यति धेरै ल्याउन खोजेका छैन । त्यहाँ त पात्रले प्रेम पनि गर्दैन, विवाह पनि गर्दैन । ती संस्थाहरूमा भन्दा उसको ध्यान नै अर्कोतिर छ । त्यो हिसाबकिताबले मैले आफूलाई त्यहाँ पूरा रूपले लेखेको होइन । र, मैले पहिले पनि भन्दै आएको कुरा हो, लेखकले वास्तवमा आफूलाई ल्याउन नहुने होइन । तर, लेख्दाखेरी त्यसको पूर्णता हुनुपर्छ भनेर मैले भनिरहेकै कुरा हो ।

घिमिरे – दाइ, अघि उठेको जस्तै कुरा । एउटा लेखकले आफूलाई ‘गाइड’ गरेर आख्यानमा पात्रहरूलाई कसरी चित्रण गर्ने, कस्तो बनाउने भन्ने भूमिका खेल्छ कि लेखकलाई समाजले ‘गाइड’ गरेर उसले लेखेका पात्रहरू अथवा आख्यानमा लेखिएका पात्रहरू समाजले निर्देशित गरेका पात्रहरू बढी हुन्छन् ?
ढकाल – हाम्रो जमिन त समाज नै हो नि । समाजभन्दा बाहिर गएर जमिन हुँदैन । जस्तो मैले स्वैरकल्पनाको प्रयोग गरें । तर, स्वैरकल्पनाको जमिन त वास्तवमा समाजै हो । त्यो एउटा ‘मेथड’ मात्रै हो वास्तवमा । जस्तो कि हामी ‘स्ट्रक्चर’ भनेर भन्छौं यतातिर उपन्यासको कुरा गर्दाखेरि । ‘स्ट्रक्चर’को कुरामा म कुनै मान्छेलाई एउटा बिम्बका रूपमा लिन्छु, अनि त्यसपछि विकास गर्छु ।

घिमिरे – नेपालमा कम्युनिष्ट आन्दोलनमाथि दाइले थुप्रै किताब लेखिसक्नु भयो, आख्यानकै रूपमा पनि । सक्रिय रूपमा कम्युनिष्टनजिक हुनुहुन्थ्यो, अध्ययन पनि गरिरहनु भएको छ । किन यस्तो हुन्छ दाइ, नेपालमा कम्युनिष्ट आन्दोलनहरू ?
ढकाल – यो मेरो नितान्त निजी बुझाइ हो । मैले इतिहासको सबै उतारचढावहरूलाई पढेको छैन । तर नपढ्दा–नपढ्दै पनि एउटा आन्दोलनको कार्यकर्ता भएको हिसाब–किताबले मैले कसरी बुझें भन्दाखेरि पहिलेदेखि नै गल्तिहरू सुरु भए । जस्तो, पेरिस कम्युनमा पनि केही गल्तीहरू भएका थिए । पेरिस कम्युनका गल्तीलाई पनि सच्याउँछु भनेर लेनिनले भने । तर, पेरिस कम्युनकै गल्तीको ढाडमा टेकेर वास्तवमा अक्टोबर क्रान्ति भएको भनेर म विष्लेषण गर्छु । वास्तवमा सोभियत संघमै पनि जुन ढंगले समाजवाद स्थापनाको अभियान चल्यो, त्यसका सबै नकारात्मक कुराहरू छैनन् । त्यसले विश्वमा ल्याएको शक्ति सन्तुलनदेखि लिएर परिवर्तन, त्यसले जगाएको आशावादका कुरातिर नजाऊँ । तर, त्यसले जुन किसिमको नोकरशाहीतन्त्र विकास ग¥यो, जसले समाजवाद त्यहाँ टिक्न सकेन । त्यसैले म के भन्छु भन्दाखेरि, यो राजनीतिमा जनवादी केन्द्रियता भने पनि केन्द्रियताकै हिसाबले जाने गरेको छ । मैले बे्रख्त जुन कविता ल्याएको छु– हरेक दशकमा एउटा महान, त्यो महानताको मूल्य कसले तिर्यो ? भन्ने । त्यो महान बनाउने जुन किसिमको जग छ, एउटा दर्शन र विचारमा अडिएर कम्युनिष्ट आन्दोलन आयो नि, त्यसमा त्रुटीहरू भएजस्तो लाग्छ । तर, साहित्यमा चाहिँ अलि फरक छ । जस्तो सोभियत संघमा जतानोभले लेखकहरूका निम्ति आचारसंहिताहरू बनाए । तर बे्रख्तले त्यसलाई मानेनन् । लुकासले पनि त्यसलाई मानेनन् । हुन त बे्रख्त र लुकासमा पनि भिन्नताहरू थिए । उनीहरूबीचमा पनि मतैक्यता थिएन । तर पनि साहित्यमा चाहिँ बढ्ता, अरु ‘एकेडेमिक’ क्षेत्रमा पनि बढ्ता आलोचनात्मक बहसहरू हुने, बाटाहरू खोज्ने परम्परा छ । तर, पार्टी राजनीतिलाई ‘कमाण्ड’मा राख्ने ठूलो संंयन्त्रको रूपमा बन्छ, त्यसले चाहीँ वास्तवमा यस्तो किसिमको बहस र खुलापनलाई प्रोत्साहित नगरेको देखिन्छ । त्यसैको फलस्वरुप हो जस्तो लाग्छ, सोभियत संघमा माथिबाट समाजवाद ल्याउन खोजियो, त्यसले गर्दा ढल्यो । तलबाट समाजवाद ल्याउने प्रयत्नहरू अहिलेसम्म पनि संसारमा वास्तवमा शुरु भएको देखिँदैन । अलिअलि ल्याटिन अमेरिकामा शुरुआत भएका होलान् ।

घिमिरे – दाइको राजनीतिक लेखनमा, उपन्यासहरूमा बढी काँठकै विषय र कम्युनिज्म आउँछ, अन्य बिषय छुटिरहेको छ नि ?
ढकाल – त्यो त छुट्नु स्वभाविक हो जस्तो लाग्छ । लेखकका सीमाहरू हुन्छन् । आज (शनिबार) मैले लेखेको छु कान्तिपुरमा । त्यो पढ्नुभयो भने थाहा हुन्छ । लेखकको आफ्नै सीमाहरू हुन्छन । त्यहीभित्र लेख्ने हो । अर्को हिसाबकिताबले जीवनलाई हेर्ने त्यस्तो मौका पनि आउला जिन्दगीमा । त्यस्तो बेला लेख्न सकौंला ।

विमोचन