जातीय विभेदको जरा

जातीय विभेदको जरा

असार १६, २०७८ 0 By हाङयुग अज्ञात
शेयर गर्नुहोस्

बेलाबखत जातीय विभेदले निम्त्याउने दु:खद र अप्रिय घटनाहरूद्वारा नेपाली समाजको सिङ्गो वृत तरङ्गित हुने गरेको छ ।

तेस्तै असार लाग्दैगर्दा रूपा सुनारले आफू कामीको छोरी भएकैले कोठा नदिएर घरधनी सरस्वती प्रधानले जातीय विभेद गरेको जो वक्तव्य दिइन् र कानुनी बाटो अवलम्बन गरिन्, त्यसले समर्थन र विरोध, प्रसंशा र आलोचनाका सप्पै साँधसिमाना भत्कायो ।

गत वर्ष जातीय विभेदले निम्त्याएको रुकुम-हत्याकाण्ड (कथित उच्च जातको केटीसँग प्रेम गरेबापत नवराज बिकलगायत छ जनाको विभत्स हत्या गरिएको) भन्दा पनि चर्चित बन्न पुगेको रूपा-सरस्वतीको कोठा-विभेदकाण्डमा राज्यको मन्त्री स्वयं उपस्थित भएर जातीय विभेदकी आरोपितलाई थुनाबाट निकालेर सरकारी गाडीमै लिफ्ट दिई घरसम्म पुर्‍याउनु आफैँमा सामान्य घटना थिएन ।

जातीय विभेद नेपाली समाजको मौलिक उत्पादन होइन । मुस्लिम आक्रमणबाट जोगिनु भारतको वैशाली भन्ने ठाउँबाट भागेर आएका लिच्छविहरू (सन् ४००-७५०)ले ‘चतुर्वण’ (ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र)को सामाजिक (जातीय) व्यवस्था पनि आफ्नो साथै ल्याएका थिए ।

कागजी रूपमा राज्यले जातीय विभेद हटाएको वि.सं. २०२६ सालतिरै हो ।

कानुनी रूपमा जातीय विभेद गम्भीर अपराध हो तर फेरि पनि राज्यपक्षबाट जुन नग्नता प्रस्तुत भयो, त्यसले गम्भीर प्रश्न उब्जाएको छ- कतै राज्य स्वयम् नै जातीय विभेदलाई कायमै राखिरहने प्रपन्चमा त छैन ?

जातीय विभेद नेपाली समाजको मौलिक उत्पादन होइन ।

मुस्लिम आक्रमणबाट जोगिनु भारतको वैशाली भन्ने ठाउँबाट भागेर आएका लिच्छविहरू (सन् ४००-७५०)ले ‘चतुर्वण’ (ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र)को सामाजिक (जातीय) व्यवस्था पनि आफ्नो साथै ल्याएका थिए ।

लिच्छविभन्दा अगाडि किराँतवंशको शासन थियो नेपालमा, सातौं किराँती राजासँग गौतम बुद्धले भेट पनि गरेका थिए ।

त्यसैबेला नेपालमा किराँत राजाले बौद्ध विहारहरू बनाउन लगाएका थिए ।

किराँत शासनकालमा बुद्ध धर्म फस्टाएको पाइन्छ तर आदि गुरु शंकराचार्यले भारतबाट बौद्ध धर्मगुरुहरूलाई धपाउँदै नेपाल ल्याइपुर्‍याए, नेपालबाट पनि धपाएर तिब्बत पुर्‍याए ।

यथार्थमा जातीय विभेदको मुहान चतुर्वर्ण व्यवस्था हो ।

भारतीय संविधान निर्माता डा. भीमराव अम्बेडकरको बुझाइमा ब्राह्मणवादले वर्ण या जातव्यवस्था कायम राख्न चाहन्छ जसको कारण हजारौं वर्षदेखि दक्षिण एसियामा जातीय विभेद हट्न सकेको छैन ।

शुद्रले ब्राह्मण, क्षेत्री र वैश्यको सेवा गर्नुपर्ने, शिक्षा र धन आर्जन गर्न नपाउने, शासनसत्ता संचालन गर्न नहुने इत्यादि हास्यास्पद कुरा हिन्दु शास्त्रहरूमै उल्लेख भएका पाइन्छन् ।

त्यसकारण सर्वेसर्वा ब्राह्मणवादले हिन्दुवादलाई नष्ट गरिरहेको तर्क गर्छन् अम्बेडकर (Annihilation of Caste) ।

यति लामो समयदेखि शृङ्खलाबद्ध रूपमा जातीय विभेदलाई सैद्धान्तिक र व्यवहारिक रूपमा हिन्दु समाजमा जुन अभ्यास गरिदैं ल्याइयो त्यो जंगबहादुरको मुलुकी ऐन(वि.सं.१९१०)सम्म आइपुग्दा भयङ्कर भैसकेको थियो ।

जेठो वेद ॠग्वेद (इसापूर्व १५००)को दसौं मण्डलमा पाइने ‘पुरुष सूक्त’मा चतुर्वर्णबारे उल्लेख गरेको पाइन्छ ।

उक्त शूक्तमा एउटा पुरुषबारे परिकल्पना गरिएको छ, जसको टाउकोबाट ब्राह्मण, पाखुराबाट क्षेत्री, फिलाबाट वैश्य र खुट्टाबाट शुद्रको जन्म भएको बताइन्छ ।

त्यो पुरुषलाई काट्दै यज्ञकुण्डमा हालिन्छ ।

यो परिकल्पनालाई यजुर्वेदको अध्याय ‘६’मा पनि यथावत् राखिएको छ ।

त्यस्तै वाल्मीकिद्वारा लिखित रामायणको उत्तराखण्डमा शुद्र शम्बूकको कथा पाइन्छ ।

उक्त कथामा शुद्र शम्बूक इन्द्रको सत्ता पाउन कठोर तपस्या गर्छन् ।

यो कुरा एकजना ब्राह्मणले थाहा पाएर राजा रामलाई पोल लगाउँछन् – ‘रामराज्यमा यो के भैरहेछ ? हे राजन ! एउटा शुद्र राज्यसत्ता प्राप्त गर्नलाई मन्त्रोचारण गर्दै कठोर तपस्या गर्दैछ । त्यसलाई रोक्नुस् । नत्र इन्द्रको सत्ता कब्जा गर्नेछ शुद्रले ।’ तब रामले एउटा निर्दोष र असहाय शम्बूकको शिरछेदन गर्छन् ।

‘मनुस्मृति’मा लिपिबद्ध गरिएका जातीय विभेदलाई मलजल गर्ने घिनलाग्दा श्लोकहरू त सर्वविदितै छन् ।

यति लामो समयदेखि शृङ्खलाबद्ध रूपमा जातीय विभेदलाई सैद्धान्तिक र व्यवहारिक रूपमा हिन्दु समाजमा जुन अभ्यास गरिदैं ल्याइयो त्यो जंगबहादुरको मुलुकी ऐन(वि.सं.१९१०)सम्म आइपुग्दा भयङ्कर भैसकेको थियो ।

वर्ण व्यवस्था नमान्ने नेपालका रैथाने जाति र समुदायलाई पनि छुवाछूत र विभेद गर्न बाध्य पारियो ।

तेसो र, वर्णव्यवस्था अथवा जातप्रथाको नाममा ब्राह्मणवादले शास्त्रहरूको चेपचापतिर लुकाइराखेको जातीय विभेदको स्रोत नै निमिट्यान्न पार्न जरुरी छ । तब मात्रै समतामूलक समाजको निर्माण सम्भव देखिन्छ ।

युनानी दार्शनिक प्लेटो (इसापूर्व ४२३-३४७)ले रिपब्लिकमा आत्मामा तीन तत्व हुने लेखेका छन् – बुद्धि, आत्मविश्वास र आकाङ्क्षा ।

यही अनुसार उनले समाजलाई तीन वर्गमा वर्गीकरण गरे ।

‘दार्शनिक राजा’लाई स्थापित गर्न उनले दार्शनिकको आत्मा बुद्धिले चल्ने गर्छ, बुद्धिवाला आत्मा पिरामिडीय टुप्पोमा हुन्छ भने; यता वर्णव्यवस्थामा ‘ब्राह्मण’ सप्पैभन्दा श्रेष्ठ हुन्छ, जातीय हाइरार्कीमा सर्वोच्च हुन्छ भनेजस्तै ।

मलाई लाग्छ- वर्णव्यवस्थालाई हिन्दु धर्मसँग जोडेर हेर्नू हुँदैन । किनभने विश्वमा तेस्तो कुन धर्म छ जसले मान्छेहरूलाई विभेद गर्छ ? धर्मले आफ्नै अनुयायीहरूलाई कसरी विभेद गर्न सक्ला ?

धर्म र धर्मान्धद्वारा, सूत्र र सिद्धान्तद्वारा अनि शास्त्र र सत्ताद्वारा वर्णव्यवस्थालाई मुट्ठीभर कथित उच्च जातले आफ्नो स्वार्थ अनुकुल व्याख्या गर्दै आएका छन्, यो नै ब्राह्मणवाद हो ।

ब्राह्मणवादीहरू वर्णव्यवस्थामा श्रमको विभाजन गरिएको छ भन्छन् । उनीहरूले के बुझ्नु जरुरी छ भने वर्णव्यवस्थामा श्रमको होइन श्रमिकहरूको विभाजन गरिएको छ । किनभने श्रमको विभाजन गरिएको हुँदो हो त पुस्तौंपुस्ता एउटै किसिमको श्रममा पिल्सिनुपर्ने थिएन, श्रम फेर्ने सुविधा हुन्थ्यो होला ।

दलितले मात्रै लुगा सिउने काम, फलाम र सुनका काम, छालाको काम गर्नुपर्ने थिएन होला । पुस्तौंपुस्ता सिनो उठाउने र पाइखाना सफा गर्नुपर्ने थिएन होला । जन्मकै आधारमा कोही पूज्य र कोही तिरस्कृत हुनुपर्ने थिएन होला ।

मलाई लाग्छ- वर्णव्यवस्थालाई हिन्दु धर्मसँग जोडेर हेर्नु हुँदैन । किनभने विश्वमा तेस्तो कुन धर्म छ जसले मान्छेहरूलाई विभेद गर्छ ? धर्मले आफ्नै अनुयायीहरूलाई कसरी विभेद गर्न सक्ला ? तर, हिन्दु धर्मको आडमा रहिरहेको वर्णव्यवस्था/जातप्रथालाई खारेज नगरुन्जेल जातीय विभेदले समयानुसार रूप फेर्दै तनाव दिइरहनेछ ।

फेरि पनि नवराज बिकहरूले ज्यान गुमाइरहनु पर्नेछ । हिजो सतिप्रथा फालेझैँ ‘वर्णव्यवस्था’लाई शास्त्रबाटै चुँडाएर फाल्न सक्नुपर्छ । हिन्दु धर्म र दर्शनमा भएका असल र मानवीय कुराहरूलाई अगाडि बढाउन सके हिन्दुहरू जस्तो सभ्य र सुसंस्कृत धर्मावलम्बी विश्वमा अरु हुनै सक्दैनन् । त्यसकारण जातीय विभेदलाई जरैदेखि उखेलेर फालौं ।
०००