रेडियो माइला

रेडियो माइला

जेष्ठ १८, २०७८ 0 By हाङयुग अज्ञात
शेयर गर्नुहोस्

यस्तो पनि हुन्छ र ? तपाईं हाम्रो जीवन अर्कै हो नि ! हैन र ?

यस्ता अनेक प्रश्नहरू कुल्चिंदै म हिँडिरहेँ घरमास्तिरको दोकानसम्म । कोरोना महामारी अनि लकडाउन ! घर बाहिर निस्केर एक पाइला अगाडि सार्नु हरेक पाइलामा सिङ्गै हात्ती उचाली डिलमुनि फाल्दै हिँड्नुजस्तै रहेछ । मलाई थाहा छ, समयले निरीह मान्छेलाई नै गिज्याउने गर्छ ।

कालो वर्ण, होँचो कद, मोटोघाटो (मसलदार), अन्दाजी चालीसको । हाफ्पेन्ट र टिसर्टमा प्राय: भेटिने । कालो झोला, ढाडमा प्राय भिरिरहने । हँसिलो मुहार र गफाडी । निर्माण मजदुर । हिजोको ‘जारी माइला’, आजको ‘ रेडियो माइला’ ।

‘ह्याह्याह्या ! मैले ठ्याक्कै देखाएँ हैन त बाख्रा कसरी झुन्डिन्छ ?’ म त्याँ पुग्दा रेडियो माइलाले बाख्राको खोर बनाउँदै रहेछ र बाख्राको खोर बनाउन लाउने धनीले टाट्नो अलि अल्को बनाउन लाएपछि अल्को टाट्नोमा बाख्रा यसरी झुन्डिन्छ भनेर आफै घाँटीमा दाम्लो बाँधेर देखाएको रहेछ रेडियो माइलाले । म त्याँ पुग्दा रेडियो माइलाको नाटक चैँ देख्न पाइनँ । अभागी म ।

कुरा के भने नि, यताउता गाउँको खबर उसलाई धेरै थाहा हुन्थ्यो । किनभने ऊ मिस्त्रीको काममा गाउँ र बजार हरेक दिन जान्थ्यो । उसको जीवन गुजारा नै त्यसरी चलेको थियो । तीनजना छोरी र एक श्रीमती उसैको कमाइमा निर्भर थिए । कोरोना महामारीको दोस्रो झापडको वेगले म काठमाडौंदेखि गाउँ आएपछि उसलाई मैले घरमास्तिर छिमेकीको बाख्राको खोर बनाउने क्रममा भेटेको थिएँ । मैले ङिच्च हाँसिदिएँ, उसको गफ सुनेर । किनभने मैले तत्काल गर्नुसक्ने तेत्ती थियो । ती मान्छेहरूको गफमा म छिरिहाल्नु सकिनँ । मान्छेलाई अलिकिति स्पेस चाहिन्छ नि त ।

तेसोर, लामो समय म काठमाडौं बसेकोले गाउँघरका पुराना चिनजानहरूसँग टाढा भैएछ । मैले सम्बन्ध रिन्यु गर्ने हेतुले भनेँ- ‘माइल्दाइ ! तपाईंको नम्बर दिराख्नुस् त, सुँगुरको खोर बनाउने विचार गर्दैछु । म तपाईंलाई फोन गर्छु । कोरोना नसकुन्जेल बजारतिर काम छैन होला । यता गाउँघरमै मेलो लगाउनु पर्छ ।’

‘तीन हप्ता जति म भ्याउँदिनँ पो हौ भाइ । नम्बर चैँ टिपी राख्नुस् कि – ९८२३- २८-४८-५२ ।’ माइल्दाइले नम्बर दियो ।

मैले नम्बर टिपेर भनेँ- ‘माइल्दाइ ! तपाईंको नाम ? के भनेर सेभ गरूँ ?’

‘रेडियो माइला भनेर सेभ गर न ज्याँठ्या !’ उसले भन्यो ।

मैले तेही नाममा सेभ गरेँ – ‘रेडियो माइला जाँड खाने ।’

घर आएपछि मनमा कुरो खेल्न थाल्यो । आजभन्दा पन्ध्र वर्ष अगाडि यो गाउँमा उसलाई ‘जारी माइला’ भनेर चिन्थे । मैले पनि उसलाई जारी माइला भनेरै चिनिआएको हो । उसले ताप्लेजुङबाट अर्काकी बुढी भगाएर ल्याएको रैछ । त्यसकारण उसलाई जारी माइला भनिएको रैछ । तर, पन्ध्र वर्षमा ऊ जारी माइलाबाट रेडियो माइला भएछ । उसको वास्तविक नाम गाउँमा कसैलाई थाहा छैन । किनभने उसलाई सप्पैले रेडियो माइला भन्छन् ।

ऊ पहिले पनि त यस्तै गफाडी थियो । गाउँ र बजारभरिको खबर ऊसँग हुन्थ्यो । सायद बिस्तारै गाउँ र छरछिमेकले जारी माइलाको यो विशेषतासँग परिचित भएर ‘रेडियो माइला’ नाम राखिदिएका हुन् कि ? त्यो बखत ‘जारी माइला’ रेडियोको पनि बहुतै शौखिन । मोबाइल र इन्टरनेटको जुगमा पनि रेडियो नै बजाउँथ्यो घरमा ऊ । बेलुकी घर आउनेबित्तिकै सिकुवाको दलिनमा राखेको रेडियो झिकेर उसलाई बजाइहाल्नुपर्ने । स्मार्टफोन बोक्ने हैसियत पनि थिएन उसको या चाहेर पनि नबोकेको हो कि ! महिनामा पच्चीस-तीस हजार कमाई नै हाल्थ्यो ऊ । उसले चापटे आङ्गमा भिर्ने कालो झोलामा खासाको सानो रेडियो हुन्थ्यो । र, त्यसमा एफएम बजाइरहन्थ्यो; काममा आउँदाजाँदा, काममा र घरमा पनि ।

उसको हृदयको इनारभित्र कति दु:खहरू जूनको प्रतीक्षामा हुन्थे होलान् तर कहिले आएन उज्यालोको बाल्टी लिएर त्यो पूर्णिमाको रात । तर पनि रेडियो माइला हँसिमजाक गरिरहने, अरुलाई हँसाउने र आफू पनि हाँसिरहने । यता गाउँलेहरूले सोध्ने गर्थे- ‘हाउ जारी माइला ! अनि बुहारी चैँ कसरी भगाएर ल्याइस् त?’

‘ह्याह्याह्या ! म जाँड खानु जान्थेँ कि तेस्कोमा, अनि तेत्तिकै लप परिगो त । दुईजना छोरी थ्यो, खोङ्गी नै उठार ल्याइपठाएँ नि, ह्याह्याह्या ।’ ऊ भन्थ्यो ।

‘अनि बुहारीको बुढाले काटेन तिम्लाई ?’ गाउँलेहरू कुरा कोट्याउँथे । आफ्नै कन्डो कुहिएको देख्दैन समाज तर अरुको कोट्याइबस्छ । ती झण्डुबामका प्रारम्परिक कुइनोहरूलाई जारी माइलाले अन्जानमै डटेर सामना गरिरह्यो ।

‘भेटे पो काट्नु ?तेस्को बुढा कतारमा थियो तर पनि दुई लाख छेरायो नि पछि आएर जाँड खानेले । ह्याह्याह्या !’ उसले गाउँलेहरूको मन हाँसेरै जित्यो । ‘मन मिल्यो, ल्यायो त, के भयो ?’ गाउँमा जारी माइला एककिसिमको सेलिब्रेटी भैसकेको थियो ।

रेडियो माइलाकै प्रसङ्गमा मलाई एउटा कुरा याद आयो । हेर्नुस् है, उहिले मसङ्गै स्कुल पढ्ने साथी थियो । शक्तिमान भन्थ्यौं हामी उसलाई । दुर्दर्शन टिभीबाट शक्तिमान भन्ने धारावाहिक भर्खरभर्खर सुरु भएको थियो । हामी त्यो धारावाहिक हेर्न ठूलो घरे काइँला साहुको घरमा जाने गर्‍थ्यौं । किनभने, हाम्रो गाउँमा टिभी उसैको घरमा मात्रै थियो नि त । गोरे अनि भुँडे साहुजीले सोलारबाट टिभी चलाउँथ्यो ब्लाक एन्ड ह्वाइट । ठूलो किराना पसल पनि थियो त्यो साहुको । हामी दुई रुप्पेको बबल्गम किन्ने निहुँ पारेर शक्तिमान हेर्न त्याँ पुग्ने गर्‍थ्यौं । हिजोआज त्यो शक्तिमान र रेडियो माइला छिमेकी रहेछन् । ‘हेँहेँ’ यो तितो हाँसो समयलाई, ‘हेँहेँ’ ।

अन्त, शक्तिमानको खास नाम चैँ विमल थियो । एकदिन हामी नासपाती चोर्न छिमेकीको बारीमा छिर्यौं । नासपातीको रूखमा को चढ्ने ? आँट कसैले गर्न सकेनन् । यत्तिकैमा विमलले सर्टको टाँक खोलेर भन्यो- ‘शक्तिमान ढेन्टेरेन् ! म चढ्छु । तिमेरु तल नास्पाती टिप्नु बस ।’

फुर्के थियो विमल । आफूलाई शक्तिमान ठानेर नास्तापीको रूख चढ्यो । तलबाट हामीले उसलाई अझ जग हाल्यौं- ‘शक्तिमानभन्दा खत्रा रैछ यो विम्ले त ।’

‘हो ! हो ! तर बुझिस् ? शक्तिमानले पनि यो रूख चैँ चढ्न सक्दैन ।’ बिल्लीले नास्पातीको बोटको टुप्पोमा पुग्ने गरी करायो ।

‘हो ! हो ! तर हाम्रो शक्तिमानले यता तल्लोपट्टिको हाँगामा भाको ठूल्ठूलो नासपाती टिप्नु सक्छ । बुझिस् ?’ जिरेले भन्यो ।

‘शक्तिमान ! हाउ शक्तिमान ! यता तल्लो हाँगाको टिप न ।’ मैले भनेँ ।

आफ्नो सानो छाती देब्रे हातले पुक्क हिर्काएर विमलले भन्यो-

‘हो त केटा हो ! अब शक्तिमान अगाडि बढ्यो, बढ्यो ।’ दुई कदम तेर्सो हाँगामा के बढेको थियो हाँगै लाछिएर ऊ भुँइमा हाँगैसँग खस्यो । हाम्रो शक्तिमान नास्पातीको बोटमुनि रुँदै बसिरहेको थियो । हामी चैँ अत्तालिएर एकेकवटा ठूलो नासपाती बोकेर सुइँकुच्चा ठोक्यौँ ।

नास्पातीको रूखबाट खस्दा तेहीबेला विमलको खुट्टा भाँचियो । त्यो दिनको चक्चकले उसलाई जीवनभरि कोल्टे हिँड्ने बनायो । गाउँघरमा यस्तै त हो, अरु मनोरञ्जनको क्यै साधन हुँदैन; आपसमै हँसिमजाक गर्‍यो अनि दिन बितायो । दिनभन्दा नि जीवन बितायो । हाम्रो गाउँमा यसरी नै जीवन बितिरहेको थियो ।

म तर्सेँ । जब ‘हाउ भाइ त्यो विम्ले चिन्नुहुन्छ नि !?’ भनेर सोध्यो रेडियो माइलाले ।  ‘चिन्छु नि । मसँगै स्कुल पढेको त्यो उहिले । सानोमा सारै चक्चके र फुर्के थियो त्यो ।’ भनें मैले ।

‘लु ! झुक्किएर पनि तेस्को देब्रेतिर चैँ नहिँड्नु है भाइ । साँघुरो बाटोमा त आफू छेउतिर पर्‍यो कि, भीरतिर ठेलिपठाउँछ त तेस्को कुमले । जाँडखाने ! ह्याह्याह्या !’

म चुपचाप हुन्छु ।

शारीरिक अपाङ्गतालाई खिसिटिउरी या जोक्सको विषय बनाउनु हुँदैन भनेर कसरी सम्झाउनु रेडियो माइलालाई ? तर, आम मान्छेको जीवन गाउँघरमा यसरी नै चलिरहेको हुँदोरैछ । अन्धालाई ‘दृष्टिविहीन’ भन्नुपर्छ भनेर अधिकारकर्मीहरू काठमाडौं राजधानीमा कुर्लिन्छन् । ‘मेनपावर’ भन्नू हुँदैन ‘वर्कफोर्स’ भन्नुपर्छ भनेर पुँजीवादी राष्ट्रहरूको कथनले आकाश च्यातिसक्यो । रेडियो माइलालाई हेर्दै ‘जीवन आखिर के हो ? त्यही ह्याह्याह्या त रैछ’ भनेर म एकान्तमा आफैसँग प्रलाप गर्छु । ‘जारी माइला’ भन्दा नि उसको हाँसो उस्तै थियो- ‘ह्याह्याह्या !’ ऊ रेडियो माइला भएर बाँच्दा पनि उसको जीवनले ‘ह्याह्याह्या’ नै गरिरहेछ ।

राजनीति !? वडाध्यक्षको टिपोट अन्सार रेडियो माइलाले ‘माओवादी’लाई भोट दिएको अरे, ऊ माओवादी नै हो अरे । तर, अर्काको बुढी भगाएपछि अलि ‘प्यासिभ’ चैँ भएको रहेछ । जाँडरक्सीदेखि हिजोआज चार कोश टाढा भागिहिँड्छ । दशैँतिहारमा भने दुईचार बोत्तल बियर खाएर निहुँ खोज्दै हिँड्दोरहेछ ।

यत्ति सोचिसकेर म भोलिपल्ट बिहानै शक्तिमानको आँगनमा गएँ । बजारमा दूध पुर्‍याएर ऊ पनि भर्खरै आइपुगेको रहेछ । माछा, हाँस, कुखुरा, बाख्रा, माहुरी नि पालेको रहेछ । पूरै किसान भैसकेछ ऊ ।

‘लौ अचम्मै भो त ! बिहानै कताबाट आउनु भो ?’ शक्तिमानले सोध्यो ।

मैले उसलाई अँगालो हालेर ‘एउटा गोप्य कुरा छ’ भन्दै आँगनदेखि बाटोतिर ल्याएर सोधेँ- ‘हाउ ! त्यो जारी माइला कहिलेदेखि रेडियो माइला भो ?’

उसले सामान्य रूपमा भन्यो- ‘दुईतीन वर्ष अगाडि होलौ, खोलामा माछा मार्नु गा रैछ । फर्किदाँ पानीले चुटेछ । घर पुग्नेबित्तिकै भिजेको लुगै नफेरी रेडियो खोलेछ । त्यै बखत चट्याङले घुँडामै हानेछ । तब विराटनगर पुर्‍याएपछि धन्न बाँचेको नि । त्याँदेखि रेडियो माइला भन्न थाल्यम् ।’

मेरो बाल्यकालको साथी विमलको कुरा नपत्याउने कुरै भएन । गाउँघरदेखि धेरै वर्ष टाढा रहेपछि कतिपय कुराहरू हामीदेखि छुट्ने रहेछ । कोरोनाको महामारीले काठमाडौंदेखि गाउँ खेदाएपछि मैले थाहा पाएँ ‘जारी माइला’ त ‘रेडियो माइला’ भैसकेको रहेछ । आखिर आदर्शहरूको जङ्गलभन्दा बाहिर यौटा सामान्य मान्छेको जीवन यसैगरी बित्ने रहेछ ।

ह्याह्याह्या !
०००