पार्टी अन्तरसंघर्षको असर

पार्टी अन्तरसंघर्षको असर

साउन ११, २०७८ 0 By वामदेव क्षेत्री घिमिरे
शेयर गर्नुहोस्

अघिल्ला श्रृंखलाहरू पढ्नुहोस्

शृंखला- नौ

अर्को दिन शनिवार रहेछ, बार पनि थाहा हुन छोडेछ । लोसवाङको नजिक पूर्वतिर कोर्चावाङ र टिला पर्दोरहेछ । हामी हुम्ला भन्ने ठाउँबाट त्यहाँ आइपुगेका थियौं । आनन्द आउने वातावरण थियो । तल बेंसीतिर सालको रुख र जंगलले ढाकिएका, माथि लेकाली पहाड भने कुहिरोले ढाकेको थियो । म मध्य क्षेत्रको मान्छे, त्यताको कमरेडहरूको बोलीचालीको भेउ पाउन गाह्रो थियो । त्यसलाई टिप्ने र बुझ्ने प्रयासमा लागे ।
प्रशासनको गतिविधि बढेको खबर आइरहेको थियो, कतै राती हिँड्नु पर्ने त होइन ? साथीहरू भन्दै हुनुहुन्थ्यो । अर्को दिनचाहिँ ठाउँ छोडने निर्णय भयो, सेल्टर नसरे जोखिम देखियो ।
मैले मेरो क्षेत्रका इन्चार्ज क. विप्लवसँग छलफल गर्न पाएको थिइनँ, वातावरण नै बनेको थिएन । अर्काे दिन बिहानै ढिँडो र भात खायौं । धेरैदिनमा खाएकाले होला, एकदमै स्वादिलो लाग्यो ।

  • साँझ कोर्चावाङ नजिकको हान्डिङ मोर्चामा भीडन्त भयो । जनमुक्ति सेनाले गोलीगठ्ठासहित दुश्मनले प्रयोगमा ल्याएको नयाँ हतियार एम–सिक्सटिन राम्रो परिमाणमा हात पा-यो । यो खबरले काठमाडौं हल्लिएको हुनुपर्छ ।

राज्यको गतिविधिको खबर लिइरहेका थियौँ । कोर्चावाङतिर गोली चलेको आवाज आयो । हेलिकप्टर उडेको आवाज पनि सुनियो । दुश्मनलाई लखेट्ने साथीहरूको योजना बनेछ, तर त्यसको पूर्ण विवरण सुन्न पाइएन । हामी त्यहाँबाट अघि बढ्यौं । हिँड्दाहिँड्दै ४/५ दिन एकै ठाउँ बस्ने वा थवाङ जाने छलफल गरियो । अन्ततः हाम्रो टोली थवाङतिर लाग्यौं ।
त्यतिबेला विशेष क्षेत्र (रोल्पा, रुकुम, सल्यान, गुल्मी, अर्घाखाँची, प्यूठान, म्याग्दी, दाङ, कपिलवस्तु, बाग्लुङ जिल्लालाई समेटेर बनाइएको)मा ‘एकीकृत जनप्रतिरोध अभियान’ चलेको रहेछ । विभिन्न जिल्लाबाट कमरेडहरू रोल्पा केन्द्रीत हुुनु भएको रहेछ । साँझ कोर्चावाङ नजिकको हान्डिङ मोर्चामा भीडन्त भयो । जनमुक्ति सेनाले गोलीगठ्ठासहित दुश्मनले प्रयोगमा ल्याएको नयाँ हतियार एम–सिक्सटिन राम्रो परिमाणमा हात पा-यो । यो खबरले काठमाडौं हल्लिएको हुनुपर्छ ।
थरीथरीका समाचार आम जनताका लागि आश्चर्यलाग्दो थियो । हामीले मिरुल र थवाङतिरको खबर राम्रोसित बुझेर अगाडि बढने निधो ग¥यौं । हाम्रो फर्मेसन (टोली) २० जना जतिको थियो । हामीसँग इन्चार्ज, सहइन्चार्जसहित जनमुक्ति सेनाको टोली र स्थानीय कमरेडहरू हुनुहुन्थ्यो, त्यसो हुँदा निर्धक्क थियौं ।
पाँच घण्टा हिडेपछि तीन बजेतिर खरिबोट पुगियो । २०५८ साल भदौमा क्रान्तिकारी जनपरिषदको राष्ट्रिय भेलामा सहभागी हुन खरिबोट पुगेको थिएँ । त्यतिबेला म केन्द्रीय सदस्य भइसकेको थिएँ । खरिबोट र सहिद अनिता बुढाको नाममा निर्मित सहिदद्वारले हामीलाई स्वागत गरिरहेको थियो । बाटोमा जताततै मालेमावाद र प्रचण्डपथ जिन्दावाद, अमेरिकी साम्राज्यवादको मुर्दावादका नारा लेखिएका थिए । त्यो ऐतिहासिक स्थल थवाङतिर हिड्नुअघि स्थानीय कमरेडहरूले केही घर भएतिर औंल्याउनु भयो । ती झुपडी थिए, शहीद बर्मन रोका, कुमारी बुढा र अनिता बुढाको । उहाँहरू सहित पाँच जनालाई सेनाले केही समयअघि मात्रै जलाएर हत्या गरेको रहेछ । गाउँ छाडेर केहीमाथि कर्ण बजार पुगियो । केही घरहरू भएको त्यो सानो बजार सहिद कर्णको नामबाट नामाकरण गरिएको रहेछ । मिरुल वरिपरि सहिद नभएको घरै रहेनछ । त्यसै ठाउँमा ०५२ सालमा कांग्रेसीहरूले कमरेड कुलमानलाई घरबाटै थुतेर लगी काटेर टुक्रा–टुक्रा पारेर तल स्कुल नजिकको रुखमा झुन्डयाएका रहेछन् । त्यो घटनाले हामी आक्रोशित भयौं । ती घटनाबारे सुन्दा चिनियाँ जनयुद्घका कथाहरू पढेको अनुभूति भयो ।

  • वर्गीय पक्षधरताको हिसाबकिताब वर्गसङ्घर्षमा भन्दा अन्तरसघङ्घर्षमा बढी पेचिलो, क्रुर र भावनात्मक रूपबाट कष्टकर हुँदो रहेछ । एउटै पार्टीभित्र, एउटै जिम्मेवारीको क्षेत्रभित्र, एउटै कमिटीभित्र पनि भेदभाव, तेरो–मेरो, फलानो पक्षधर, आफ्नो–पराइजस्ता सम्बन्धका आधारमा चलखेल गर्दा रहेछन् भन्ने अनुभूति हुन थाल्यो ।


थवाङ मेरो लागि पहिलो यात्रा थियो, मैले कल्पना गरेको भूगोलभन्दा फरक थियो । हामीतिरका घरहरू झुरुप्प रहेछन्, पुरानो कुनै बजार जस्तो लाग्ने । त्यहाँका धेरै जसो घरमा माटाको गारो र ढुङगाको छाना रहेछन् । पश्चिम फर्केको सुलुत्त परेको एउटा टारी जस्तो ठाउँ रहेछ । थवाङ उत्तरपट्टि सानो खहरे खोला र जलजला हिमालबाट बगेर आएको थवाङ खोलाको बीचमा पर्दाे रहेछ । थवाङसित इतिहास जोडिएको छ । ०३८ सालको चुनाव वहिष्कार, शाही आतङ्कविरुद्ध भएको प्रतिरोध, ०५२ सालको रोमियो अप्रेसन आदिका कारण त्यहाँका जनताको इतिहास वीरताले भरिएको रहेछ । वसन्त श्रेष्ठको नेतृत्वमा ‘एकीकृत जनप्रतिरोध अभियान’ मा भाग लिन गुल्मीबाट पार्टीको एउटा समूह आएको रहेछ । थवाङमा भएको भेटमा हामीबीच सामान्य छलफल भयो ।
अर्कोदिन बिहान खाना खाएपछि विशेष क्षेत्रको इन्चार्ज कमरेड विप्लवसँग छलफल भयो । विशेषगरी, वर्गसघर्षको अवस्था, अन्तरसंघर्षको प्रभावबारे दिनभर छलफल भयो । विशेष क्षेत्रभित्र पर्ने अर्घाखाँची, गुल्मी, वाग्लुङ र म्याग्दी ‘श्वेत क्षेत्र’ भित्र पर्दोरहेछ र त्यसलाई पनि विशेष क्षेत्रसित जोड्ने तयारी रहेछ । मैले गुल्मी जाने कुरा पनि राखंँ ।
उहाँले भन्नुभयो, ‘जिम्मेवारीका हिसाबले तपाईं नयाँ हुने हुँदा समस्याको हल हुँदैन कि !’ त्यतिबेला गुल्मीको इन्चार्ज चन्द्रप्रकाश सुवेदी ‘अटल’ हुनुहुँदो रहेछ । उहाँ पनि रोल्पा नै आएकाले भेटेर छलफल गर्ने प्रस्ताव राखेँ । उहाँसित अर्को दिन छलफल भयो र गुल्मीको पार्टी कमिटी र आन्दोलनको वस्तुस्थितिबारे जानकारी पाएँ ।
क्षेत्रिय ब्यूरोको बैठक ५ दिनपछि हुँदै थियो । म पनि बैठकसम्म बसेँ । बैठकपछि गुल्मीको पार्टी अवस्थाबारे जानकारी लिने उद्देश्यले कमरेड अटल र अर्घाखाँची इन्चार्ज कमरेड शिलुसित मलाई गुल्मी पठाइयो । भूगोलकै जिम्मा भने पाएको थिइनँ ।
यात्रामा उहाँहरूसितको छलफलबाट के अनुभूति गरेँ भने विचारको पक्षधरको कोणबाट नै मानिसको त्याग, तपस्या र वीरताको अधिक वा न्यून मूल्याङ्कन हुने रहेछ । वर्गीय पक्षधरताको हिसाबकिताब वर्गसङ्घर्षमा भन्दा अन्तरसघङ्घर्षमा बढी पेचिलो, क्रुर र भावनात्मक रूपबाट कष्टकर हुँदो रहेछ । एउटै पार्टीभित्र, एउटै जिम्मेवारीको क्षेत्रभित्र, एउटै कमिटीभित्र पनि भेदभाव, तेरो–मेरो, फलानो पक्षधर, आफ्नो–पराइजस्ता सम्बन्धका आधारमा चलखेल गर्दा रहेछन् भन्ने अनुभूति हुन थाल्यो । क्रान्तिमा होमिएको पार्टीभित्र बढ्दै गएको यो गलत प्रवृत्ति कति पनि चित्त बुझ्दो थिएन । यसले इमानदार, सक्रिय, जुझारु र सक्षम कमरेडहरूले राम्रो ठाउँ नपाउने तर चाकडी, चाप्लुुसी, गलत रिर्पोट गर्नेलाई आफ्नो ठानेर विश्वास गर्ने परम्पराको विकास हुन थालेको देखियो । कम्युनिष्ट पार्टीभित्र जे हुन्छ, त्यो न्यायिक पारदर्शी र उचित हुन्छ भनेर आदर्श सोच राख्ने इमान्दार कार्यकर्ताले पनि अन्तसङ्घर्षलाई नबुझ्दा उत्पीडनमा पर्दा रहेछन् ।

  • बुझ्दै जाँदा के पाइयो भने तल्लो तहका कार्यकर्ताको आवाज नसुन्ने, नेतृत्वसँग बहस गर्न नसक्ने/नपाउने र नेतृत्वले पनि तलका कुरा नसुन्ने अवस्था देखियो । यस्तो हुनु पार्टीभित्र अवसरवादी प्रवृत्ति हावी भएको, पार्टीभित्र पूर्ण जनवादको अभ्यास नहुनुको परिणाम पाएँ ।


गुल्मी पुगेपछि मैले सुदर्शन बराल, जिवलाल पन्थी, निमबहादुर पाण्डे र गोविन्द केसीलाई भेटेँ । केही छलफल भयो । वस्तुगत स्थिति थाहा भयो । अर्खवाङ पार्टीको सेल्टरमा ‘जेठाबा’ भन्नेको घरमा पुगियो । २/३ दिनपछि पार्टीभित्र गुल्मीको पार्टी नेता वामदेव क्षेत्री ‘विकल्प’ पार्टीको इन्चार्ज भएर आउँदैछन रे भन्ने हल्ला भएछ । सहायक इन्चार्ज गोविन्द केसीसँग त्यहाँको वस्तुगत स्थिति, अन्तरसंघर्ष, पार्टी संगठनलगायत विषयमा दुई दिनसम्म अन्तरंग छलफल गरेँ । त्यसपछि जिल्ला सचिव सुदर्शनसित छलफल भयो । केही जिल्ला कमिटीका कमरेडहरूलाई पनि भेटेँ । मेरो पूर्ण जिम्मेवारी नभएकोले बुझ्ने काम भयो, मैले आफ्नो मत भने धेरै राखिनँ ।
त्यो भेटघाटले वर्गसङ्घर्षका साथ साथै अन्तरसङ्घर्ष र आत्मसंघर्षका कयौँ पक्षलाई बुझने अवसरहरू प्राप्त भयो । सङ्घर्ष साथै अन्तरसङ्घर्षले मलाई अप्ठारा घुम्तीहरूमा पनि दृढतापूर्वक उभिने आँट बढायो । विज्ञान र मार्क्सवाद विरोधीहरूको गलत प्रवृत्तिविरुद्घ छाती खोलेर भिड्न प्रेरित ग-यो । साथै संघर्षभित्र नै जीवन छ भन्ने गहिरो गरी अनुभूति भयो । बुझ्दै जाँदा के पाइयो भने तल्लो तहका कार्यकर्ताको आवाज नसुन्ने, नेतृत्वसँग बहस गर्न नसक्ने/नपाउने र नेतृत्वले पनि तलका कुरा नसुन्ने अवस्था देखियो । यस्तो हुनु पार्टीभित्र अवसरवादी प्रवृत्ति हावी भएको, पार्टीभित्र पूर्ण जनवादको अभ्यास नहुनुको परिणाम पाएँ ।
१५ दिनको मेरो गुल्मी बसाइबाट तत्कालिन त्यहाँको वर्गसंघर्ष र अन्तरसंघर्षसहित स्थानीय रूपमा भएको अन्तरसंघर्षको राम्रै जानकारी पाएँ । मैले पार्टी पङ्क्तिदेखि बाहिरी जनताबाट पनि पार्टीप्रतिको धारणा बुझ्ने मौका पाएँ । कतिपय मनोगत सङ्कीर्णताबाट स्थानीय संघर्षमा समस्या बनेको रहेछ भने केही माथिको अन्तरसंघर्षले प्रभाव पारेको रहेछ ।
कमरेड अटल बाग्लुङतिर लाग्नुभयो । मेरो १५ दिनको बसाइ भेटघाट र छलफलमा नै बित्यो । जिल्ला पुग्दा मैले आमालाई मात्र भेटेँ, अरूलाई भेट्ने समय भएन । प्रवासबाट आएका पार्टी जिल्ला कमिटी सदस्य वीरबहादुर कार्की ‘चाहल’ र सूर्य बुढाथोकी ‘शिखर’लाई भेटें । जिल्लादेखि तल भूपाल पोख्रेल र देवीराम अर्याललाई भेटेपछि यथार्थ कुरा थाहा भयो ।
कमरेडहरूको गुनासो थियो– कम्युनिष्ट पार्टीमा लागेर सबैको माया पाउने आस प्रारम्भिक चरणमा थियो । तर अन्तरसंघर्षले गलत साबित गर्यो । कतिपय अवस्थामा आफ्नै कमरेडहरूबाट खतरा हुने हो कि भन्ने आशंका भयोे ।

  • बामदेव क्षेत्रीबाट समस्या समाधान नहुने र अहिलेबाट नै उहाँ तलका कमरेडहरूलाई भेटघाट गर्न थाल्नुभयो भन्ने रिपोर्ट पठाइएछ । मलाई इन्चार्ज कमरेडले इमान्दारपूर्वक त्यो पत्र देखाउनुभयो । मैले पत्र लेख्नेको नाम यहाँ खोल्न चाहिनँ ।


क्रान्ति र प्रतिक्रान्तिको परिभाषा कुनै ‘छद्म लबिङ’ या मनोगत दशाबाट सृजित शब्दजाल मात्र होइन । यो यात्रामा प्रतिक्रान्तिकारी प्रवृत्ति जहिले पनि क्रान्तिको खोल ओडेर लुक्दो रहेछ । मेरो राजनीतिक जीवनमा कसैले पनि आफूलाई प्रतिक्रान्तिकारी भनेर क्रान्तिमाथि आक्रमण गरेन । क्रान्तिकारीकै खोलमा भिन्न मतका सहयात्रीमाथि घात गरेको पाइयो । यो विषय आन्दोलन, युद्धभित्र कुनै व्यक्ति विशेषसँगको वैरभावको विषय नभएर भौतिकवादी विज्ञानको अनिवार्य नियम रहेछ । त्यसैले साङ्गठानिक जिम्मेवारी र त्यसको वैचारिक सम्बन्ध एकर्काका पूरक हुन् भन्ने कुरा राम्रोसँग अनुभव भयो । मैले यही सङ्घर्षभित्र नै जीवन देखेँ ।
समस्यासित जुध्ने आँटसहित १५ दिनपछि विशेष क्षेत्रको केन्द्रीय सदस्यहरूको बैठकका लागि म रोल्पातिर हिडेँ । म रोल्पा पुग्नुपहिले सञ्चार पोष्टको माध्यमबाट इन्चार्ज कमरेड विप्लवलाई गुल्मीबाट पत्राचार गरिएको रहेछ । बामदेव क्षेत्रीबाट समस्या समाधान नहुने र अहिलेबाट नै उहाँ तलका कमरेडहरूलाई भेटघाट गर्न थाल्नुभयो भन्ने रिपोर्ट पठाइएछ । मलाई इन्चार्ज कमरेडले इमान्दारपूर्वक त्यो पत्र देखाउनुभयो । मैले पत्र लेख्नेको नाम यहाँ खोल्न चाहिनँ । त्यसले पनि अब गुल्मीकै जिम्मा लिएर जानुपर्छ भन्नेमा अठोट जगायो र इन्चार्ज कमरेडलाई मलाई छ महिना गुल्मी पठाउनुस्, त्यहाँको अन्तरविरोध मैले हल गर्न सकिनँ भने फिर्ता आउनेछु भनेँ । उहाँले सहर्ष स्विकार्नु भयो । किनकि कमरेड अटलले पनि मलाई ‘गुल्मीबाट हटाउनुस्’ भन्नु भएको रहेछ । मैले क्षेत्रीय व्यूरोअन्तर्गतको केन्द्रीय सदस्यहरूको बैठकबाट गुल्मीको जिम्मा पाएँ । अन्ततः म गुल्मी नै कर्म थलो बनाएर फर्कें ।
(अर्को श्रृंखला, अर्को सोमबार)

अघिल्ला शृंखलाहरू पढ्नुहोस्
🎯 शृंखला-१ : दिल्लीमा प्रचण्ड–बाबुरामलाई गिरिजाप्रसादसँग भेटाउँदा…
🎯 शृंखला-२ : जनयुद्धमा माओवादी–दिल्ली सम्बन्धको नालीबेली
🎯 शृंखला-३ : दिल्लीदेखि सैनिक ब्यारेकसम्म
🎯 शृंखला-४ : मेरै छेउमा मलाई पुर्न खाल्डो खनिँदै थियो
🎯 शृंखला-५ : भारतको सदन अवरुद्ध पार्ने त्यो गिरफ्तारी
🎯 शृंखला-६ : बाबुराम भट्टराईको गोप्य सन्देश
🎯 शृंखला-७ : बाबुराम भट्टराईनिकट हुँदाको दु:ख
🎯 शृंखला-८ : परिवार छोडेर रोल्पातिर