हली दाइ अर्थात मदन भण्डारी

हली दाइ अर्थात मदन भण्डारी

असार १२, २०७८ 0 By जिन्दगानी
शेयर गर्नुहोस्
  • जगन्नाथ आचार्य, कवि तथा मदन भण्डारीका सहपाठी

मदन भण्डारीसँग मैले बनारसमा ०२७ सालदेखि ५ बर्षभन्दा बढी संगत गरें । उहाँलाई भेट्दा मैले शाश्त्री पहिलो बर्ष सुरु गरेको थिएँ । उहाँ पनि मैले पढ्ने महाविद्यालयमा नै आउनुभएको थियो ।
त्यतिबेला नेपालमा राजनीति दल र भातृ संगठन प्रतिबन्ध थियो । महाविद्यालयमा चाहिँ नेपाली छात्र परिषदमा विद्यार्थी संगठित भएका थिए । त्यसमा आफ्नो बाहुल्य बढाउन कम्युनिष्ट र कांग्रेसका विद्यार्थीबीच प्रतिष्पर्धाजस्तै हुन्थ्यो । कम्युनिष्टमा पनि हामी पुष्पलाल समूहको नजिक थियौं ।
त्यसबेला विद्यार्थीसँग सिधै राजनीतिक कुरा गरिँदैनथ्यो । पहिले उनीहरूसँग संगत गरिन्थ्यो । उनीहरूको समस्याबारे बुझिन्थ्यो । अनि बिस्तारै राजनीतिबारे बुझाइन्थ्यो । म त्यतिबेला संगठित भइसकेको थिएँ । विद्यार्थीबीच संगठन निर्माणमा सक्रिय थिएँ ।

मदन भण्डारीका विचारका साथै जीवनका विभिन्न पाटापक्षबारे धेरै तथ्य सार्वजनिक भइसकेका छन् । तर मलाई लाग्छ, उहाँको साहित्यिक पाटो चाहिँ अझै ओझेलमै छ ।


त्यतिबेला नै हो मैले मदन भण्डारीलाई भेटेको । उहाँ अध्ययनमा ध्यान दिनुहुन्थ्यो । केही समय उहाँको क्रियाकलाप नियालेपछि मैले राजनीतिक कुरा गरेँ र कम्युनिष्ट संगठनमा आबद्ध हुन आग्रह गरेँ । उहाँले कम्युनिष्ट पार्टी विभिन्न खेमामा विभाजित भएकोप्रति टिप्पणी गर्नुभयो । तर बिस्तारै उहाँको भेटघाट पुष्पलाललगायतका नेतासँग हुन थाल्यो र राजनीतिमा सक्रिय हुनुभयो । उहाँको राजनीतिक यात्रामा सहजकर्ताको भूमिका निर्वाह गर्न पाउनु मेरो लागि अहिलेसम्मकै गर्वको कुरा हो ।
मदन भण्डारीका विचारका साथै जीवनका विभिन्न पाटापक्षबारे धेरै तथ्य सार्वजनिक भइसकेका छन् । तर मलाई लाग्छ, उहाँको साहित्यिक पाटो चाहिँ अझै ओझेलमै छ ।


खासमा उहाँ राम्रो साहित्यकार हुनुहुन्थ्यो । राजनीतिमा सक्रिय हुनुभन्दा पहिले नै उहाँले राम्रो कविका रूपमा प्रसिद्धि भइसक्नुभएको थियो । बनारसमा अध्ययन गर्ने बेला महाविद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा उहाँ सक्रियतापूर्वक भाग लिनुहुन्थ्यो ।
त्यसै क्रममा उहाँले त्यहाँ आयोजना गरिएको साहित्य सम्मेलनमा राखिएको समस्यापूर्ति कविता लेखन प्रतियोगितामा भाग लिनुभएको सम्झना छ । त्यसमा दुई वटा शीर्षक दिइएको थियो । पहिलो थियो– मित्र पो चिन्नुपर्छ ।
त्यस शीर्षकमा उहाँले लेखेको कविता अझै मुखाग्र छ मलाई । उहाँले लेख्नुभएको थियो–


गर्छन् क्रान्ति श्रमिकहरूले, भन्दछु भ्रान्ति छोड
बोल्दा दोगला पदसमूहले, व्यर्थ नाता नजोड
काले हर्के गरिबहरूमा क्रान्ति शक्ति अडिन्छ
खोज्छौ माथि, तल झुपडीका मित्र पो चिन्नुपर्छ ।

च्याट्टै पारी वचन मधुरा बोल्न जान्ने सिपालु
हर्दम काट्टो कृषकहरूको खान जान्ने दयालु
छोरा सामन्तहरूकन चतुरा काखीमा च्याप्नुपर्छ
भन्छन् जो तिसँग अपिल यो, मित्र पो चिन्नुपर्छ ।

सच्चा साथी कतिपय यहाँ काममा व्यस्त खाली
हुल्लडबाजे अरू कति यहाँ देउसी भैला खेलाडी
हाम्रा को हुन् प्रगतिपथमा लम्कने सत्य मित्र
ए बन्धु हो नजर गर है, मित्र पो चिन्नुपर्छ ।

ताराजस्ता युवकहरू यी, क्रान्तिकै नाम लिन्छन्
पर्दाखेरि समय महँगा मूल्यको ज्यान दिन्छन्
हाम्रा पाखा वन र पहराबाट पियूष झर्छ
हाँस्ने खेल्ने गफहरू गरी, मित्र पो चिन्नुपर्छ ।

त्यसै गरी त्यहाँ अर्को शिर्षक दिइएको थियो– लौ उत्र संघर्षमा । त्यसअन्तर्गत उहाँले राजतन्त्रबारे यस्तो कविता लेख्नुभएको थियो–


ए राजा तँलाई बल्ल मजले जान्यौं दलाहा रछस्
छाती फोरी किसानको रगतले बाँच्ने चुसाहा रछस्
पैसेभित्र लँगौटिया र तँसँगै तेरा भरौटे सब
के टिक्लान् र किसान हौं दम भए लौ उत्र संघर्षमा ।

त्यसैगरी राजा र राजतन्त्रको अनुयायीबारे मदनले लेखेको कविता यस्तो थियो–


राजाका गुणगानमा लुकी–लुकी बाँच्ने भरौटे जुनी
यो तिनको ससुराली हैन न त हो बिर्ता न हो मावली
हुल्ली हुल्ली यहाँ अझै कति चलोस् यही हुल्लीको खिल्लीमा
छिल्लीबिल्ली बनाउँछौं दम भए लौ उत्र संघर्षमा ।

मैले मुखाग्र कण्ठ गरेको कवितामा केही शब्द तलमाथि परे होलान्, तर कविता यस्तै थियो । उहाँले उक्त कविता लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभएको थियो । त्यसपछि उहाँले त्यहाँबाट प्रकाशित हुने छात्र प्रवाह पत्रिकामा प्रधानसम्पादकको जिम्मेवारी पाउनुभयो । उहाँको कवित्व यतिसम्म थियो कि त्यस पत्रिकाको सम्पादकीय नै कवितामा लेख्नुहुन्थ्यो । उहाँले लेखेको एउटा सम्पादकीयका कवितांश पनि मलाई मुखाग्र छ–


कुन्दा बन्दुकका तिखा कलमले सामन्तका छातीमा
रोपी च्वाप्प चुहाउँदै रगतको रातो मसीले यहाँ
नेपाली दिलभित्रका दमनको व्यथा खुला लेखियो
मान्छे हो सुन यही व्यथा प्रगतिको साहित्यको स्रोत हो ।

छड्कन्छन् कति गिज्गिजाई यसमा व्यथा पुराना नयाँ
घाउ खुर्कन चिल्चिलाउँछ यता नेपालीको हातमा
जाऊ छात्र प्रवाह लिएर बम यो टकारिइ पड्किदेउ
निधो झुपडीका किसानहरूका उत्साहको साथी हो ।

हाम्रो छात्र जमात यो अब चल्यो निर्धक्क नेपालमा
भन्दै छात्र प्रवाह चुनौती मजले दिन्छ भरौटेसँग ।

मदन भण्डारी जनताले बुझ्ने भाषामा कविता लेख्न माहिर हुनुहुन्थ्यो । शाश्त्रीय छन्दमा उहाँ धाराप्रवाह कलम चलाउन सक्नुहुन्थ्यो । उत्तिकै राम्रो वाचन पनि गर्नुहुन्थ्यो । लोकछन्दलाई पनि उहाँ अत्यन्तै माया गर्नुहुन्थ्यो । लोकछन्दमा लेखिएका कविताले जनजिब्रोमा सजिलै बस्ने भएकाले जनसाधारणको बिषयमा लेख्दा लोकछन्दको चयन गर्नुहुन्थ्यो ।
उहाँले लेख्नुभएको ‘हली दाइ’ भन्ने कविता त्यतिबेला निकै चर्चित थियो । त्यही कविताकै कारण उहाँलाई कतिले ‘हली दाइ’ भनेर बोलाउँथे । उहाँका कविता यति लोकप्रिय हुन्थ्यो कि त्यसका पात्रको नामले उहाँलाई बोलाइन्थ्यो । भर्तीमा गएका श्रीमानलाई सम्झेर श्रीमतीले लेखेको चिठी बिषयक कविता ‘भर्तीवाले पोइलाई चिठी’ पनि निकै चर्चित थियो । त्यहाँ उल्लेख भएको पात्र बाटुलीको बुबाको नाममा मदनलाई ‘बाटुलीको बुबा’ भनेर पनि बोलाइन्थ्यो । त्यसै गरी उहाको ‘ए किसान दाइ’ भन्ने कविता पनि निकै लोकप्रिय थियो ।
उहाँका सबै रचना पुस्तकाकार रूपमा आउन पनि सकेको छैन । केही रचना प्रकाशन भएका छन्, तर त्यसकोे पहुँच सबै पाठकसम्म पुगेको छैन । यो बिषयमा साहित्यप्रेमीले ध्यान दिनु आवश्यक ठान्छु ।
अन्तिममा, उहाँको सम्झनामा मैले लेखको कविताबाट यो सम्झनालाई विश्राम दिन्छुः


मदन तिमी पियार दृष्टिका लाल मोति
जनमन अभिजेता सृष्टिका दिव्य ज्योति
तिमीकन नहुँदामा देश यो आज रुन्छ
सबल तिमीसरीको दोस्त भेटिन्न कुन् छ

तिमीसित रहँदाका सम्झनाका सुसेली
बटुली अँजुलीमाथि पुष्पलाली जुनेली
नयनभरि जलैले दिन्छ तर्पण व्यथाको
जन–जन मन खोल्छन् बोल्छ गाथा कथाको ।

०००