क्रान्तिमा जान रोक्ने पुष्पलाल !

क्रान्तिमा जान रोक्ने पुष्पलाल !

असार १५, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

आज पुष्पलाल श्रेष्ठको जन्मदिवस l अध्ययनको सिलसिलामा ०२१ सालमा भारतको काशी पुगेका जगन्नाथ आचार्यले ०२७ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई भेटे । उनी पुष्पलालको प्रशिक्षणबाटै कम्युनिस्ट पनि बने । ०२८ देखि २०३४ सालसम्म काशीमा रहेको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रेखदेखमा संलग्न भएर उनले पुष्पलालको सान्निध्यमा रहने अवसर पाए । पुष्पलालको विचार र व्यवहारलाई नजिकबाट नियाल्न पाए । सिन्धुपाल्चोक जिल्लाको राजनीति र साहित्यमा सक्रिय आचार्यले पुष्पलालको विचार र व्यवहारबारे गरेको सम्झना आज पुष्पलाल श्रेष्ठको जन्मदिवसको सन्दर्भमा प्रस्तुत छ: 

अध्ययनको सिलसिलामा म २०२१ सालमा काशी पुगें । त्यहाँ पहिलो चरणमा प्रजातान्त्रिक विचारका साथीसँग नै संगत भयो । ममा गान्धीवादी विचारले प्रभाव पारेको थियो । २०२६ सालतिरबाट वामपन्थी विद्यार्थीको संगठन छात्र संघका साथीसँग नजिक भइयो । त्यसै क्रममा ०२७ सालमा उहाँको कार्यालयमै भेट भयो । 

उहाँले कार्यालयमा बिहान या बेलुका प्रशिक्षण दिनुहुन्थ्यो । उहाँको प्रशिक्षणले प्रभावित बनायो र कम्युुनिस्ट बनियो । ०२८ सालदेखि ०३४ सालसम्म कार्यालयको विशेष रेखदेख गर्ने जिम्मा नै मैले पाएँ । त्यस क्रममा पुष्पलालसँग नियमित भेट हुने मौका मिल्यो । 

पुष्पलालको जीवनशैली 

उहाँ बिहान चार बजे नै उठ्नुहुन्थ्यो । नित्यकर्मपछि व्यायाम गर्नुहुन्थ्यो, त्यसमा मलगायत केही साथी पनि सँगै हुन्थ्यौं । त्यसपछि उहाँको पत्रपत्रिका पढ्ने बानी थियो । 

उहाँ खाएको भाडा आफैँ माझ्नुहुन्थ्यो । आफ्नो कपडा आफैं धुनुहुन्थ्यो । र, हामीलाई पनि त्यसै गर्न सिकाउनुहुन्थ्यो । 
त्यतिबेला कम्युनिस्ट भनेपछि झुस्स दारी पाल्नुपर्ने र झुत्रेझाम्रे लगाउनुपर्ने भन्ने मानसिकता थियो । तर, उहाँ त्यसको विरोध गर्नुहुन्थ्यो ।

मानिसहरू उहाँको कुरा सुनेरै प्रभावित हुन्थे । त्यस्तो कला थियो उहाँमा । 

उहाँ कतिपय बिरामी साथीको लुगा धोइदिनुहुन्थ्यो । उपचार गर्न उपाय बताइदिनुहुन्थ्यो । त्यस्तै स्वस्थ रहनका लागि उपचार विधि पनि सिकाउनुहुन्थ्यो । उहाँको मत थियो, ‘क्रान्तिकारीले आफ्नो उपचारविधि आफैंले जान्नुपर्छ ।’ 

सबैलाई सम्मान गर्ने उहाँको बानी थियो । आफूलाई मन नपर्ने मानिसको पनि नाम बिगारेर बोलाएको सुनिएन । हँस्सीमजाक भने कमै गर्नुहुन्थ्यो । तर, सधैँ हँसमुख देखिनुहुन्थ्यो । कहिलेकाहीँ चुट्किला सुनाउनुहुन्थ्यो । तर, त्यो पनि बौद्धिक स्तरकै हुन्थ्यो । 
उहाँ ‘सादा जीवन र उच्च विचार’ हुनुपर्छ भनेर बारम्बार भनिरहनुहुन्थ्यो ।

काशीको बसाइ अभावपूर्ण नै थियो । हामी कहिलेकाहीँ छात्रावासबाट रोटी लुकाएर उहाँलाई लगिदिन्थ्यौं । 
उहाँको मान्यता थियो– दैनिक ४ देखि ६ घण्टा अनिवार्य शारीरिक श्रम गर्नुपर्छ । व्यायाम वा लुगा धुने, भाँडा माझ्ने काम नै किन नहोस् । भन्नुहुन्थ्यो, ‘अनि पो तपाईं श्रमजीवीको सम्मान गर्न सक्नुहुन्छ ।’ 

उहाँ कतिपय बिरामी साथीको लुगा धोइदिनुहुन्थ्यो । उपचार गर्न उपाय बताइदिनुहुन्थ्यो । त्यस्तै स्वस्थ रहनका लागि उपचार विधि पनि सिकाउनुहुन्थ्यो । उहाँको मत थियो, ‘क्रान्तिकारीले आफ्नो उपचारविधि आफैंले जान्नुपर्छ ।’ 

अध्ययन 

उहाँ सडकगल्लीमा त्यति निस्कनुहुन्नथ्यो । साथीहरूको अनुरोधमा कहिलेकाहीँ दूधविनायकको चिया पसलसम्म पुग्नुहुन्थ्यो । नत्र कार्यालय या पुस्तकालयमै उहाँलाई भेटिन्थ्यो । 

अधिकांश समय अध्ययनमा बिताउनुहुन्थ्यो । उहाँको अध्ययन गर्ने आफ्नै तरिका थियो । किताबमा ‘अन्डरलाइन’ गर्नुहुन्थ्यो र डायरीमा टिपोट गर्नुहुन्थ्यो । उहाँ स्वाध्ययनमा निकै जोड दिनुहुन्थ्यो । त्यस क्रममा ‘एकपाखे’ अध्ययनबाट बच्न हामीलाई भनिरहनुहुन्थ्यो । उहाँको भनाइ हुन्थ्यो, ‘हामी एउटा वैचारिक धारामा हिँडे पनि सबैको विचार अध्ययन गर्नुपर्छ । चौतर्फी अध्ययनले मात्रै हामीलाई पोख्त
बनाउँछ ।’ 

हामीले सोधेका कतिपय वैचारिक सवालका लागि उहाँले किताब सिफारिस गर्नुहुन्थ्यो र आफूसँग भएको किताब पनि दिनुहुन्थ्यो । 
उहाँ हरेक घटनामा अद्यावधिक रहन चाहनुहुन्थ्यो  त्यसैले कहिलेकाहीँ साथीहरूले चिया पिउन आग्रह गर्दा उहाँ चिया खाइसकेको बताउनुहुन्थ्यो र त्यसको सट्टा आफूले नपढेको पत्रिका ल्याइदिन आग्रह गर्नुहुन्थ्यो । 

उहाँको औपचारिक अध्ययन एसएलसीसरह मात्रै हो । तर, उहाँ औपचारिक अध्ययनलाई पनि उत्तिकै जोड दिनुहुन्थ्यो । ०२८ सालकै कुरा हो । हामी केही साथीहरू बुर्जुवा डिग्री बहिष्कार गरी नेपालमा क्रान्ति गर्ने भनेर काशीबाट हिँड्न तयार भएका थियौं । त्यो कुरा उहाँले थाहा पाउनुभएछ । म झोला ठिक पारेर बाटोका लागि खाजा बनाउँदै थिएँ । त्यसै बेला साथी गोविन्द ज्ञवाली कोठामा आइपुग्नुभयो । उहाँले मेरो झोला समातेर सोध्नुभयो, ‘कहाँ जाने तयारी हो ?’ मैले उहाँलाई ढाँटें । तर, उहाँले ‘तपाईंहरू कता जाँदै हुनुहुन्छ भन्ने हामीले थाहा पाइसकेका छौं त्यसैले पार्टी कार्यालय जाऔं’ भनेर कार्यालय लिएर जानुभयो । 

डिग्री लिएर गुलामचाहिँ बन्नुहुन्न । कतिपय डिग्री लिनुअघि क्रान्तिकारी हुन्छन्, लिएपछि गुलाम बन्छन् । त्यस्तो नहुनका लागि स्वाध्ययन पनि गर्नुहोस् ।

त्यसपछि पुष्पलालसँग कुराकानी भयो । सोध्नुभयो, ‘कहाँ जान लाग्नुभएको ?’
मैले भनें, ‘क्रान्ति गर्न । जोगवनी नाकामा सम्पर्क छ ।’ 

‘तपाईं काशी किन आउनुभएको ?’ 
‘पढ्न ।’ 

‘आफैं आउनुभएको कि अभिभावकले पठाएको ?’ 
‘बुबाआमाले पठाएको ।’

‘त्यसो भए घर जानुहोस् । बुबाआमालाई बुझाउनुहोस् कि म क्रान्तिमा जान लागेको, पढ्ने होइन भनेर ।’ 
म जिल्ल परें । फेरि सोध्नुभयो, ‘कस्तो क्रान्ति गर्ने ?’ त्यसको उत्तर मसँग थिएन । 

म चुप लागेपछि फेरि सोध्नुभयो, ‘तपाईंसँग डिग्री छ ?’
भन्नैपर्‍यो, ‘छैन ।’ 

‘अनि डिग्री नै नभएको मान्छेले कसरी डिग्री बहिष्कार गर्छ त ?’ म निरुत्तर भएँ । 

उहाँले भन्नुभयो, ‘यस्तो कुरा कसले चढायो तपाईंको दिमागमा ? यो त मूर्ख बनाउने कुरादेखि केही होइन । तपाईंसँग प्रतिक्रियावादीचाहिँ डिग्री गरेको, पिएचडी गरेको भन्दै लड्न आउँछन् । अनि तपाईं कसरी प्रतिवाद गर्नुहुन्छ । तपाईंलाई त त्यसको प्रतिवाद गर्न डिग्री त चाहियो नै । अझ कम्युनिस्ट भएकाले चौतर्फी अध्ययन पनि हुनुपर्छ । अनि एउटै कम्युनिस्टको तर्कले हजारौं प्रतिक्रियावादीलाई पछि पार्न सकिन्छ । बलले पछारेर मात्रै त क्रान्ति हुँदैन नि ।’ 

थप्नुभयो, ‘डिग्री लिएर गुलामचाहिँ बन्नुहुन्न । कतिपय डिग्री लिनुअघि क्रान्तिकारी हुन्छन्, लिएपछि गुलाम बन्छन् । त्यस्तो नहुनका लागि स्वाध्ययन पनि गर्नुहोस् ।’

साहित्य

उहाँले साहित्य लेख्नुभएन । तर, साहित्यको मर्मज्ञ हुनुहुन्थ्यो । साहित्यक कार्यक्रममा पनि सहभागी हुनुहुन्थ्यो । त्यसबेला युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, मदन भण्डारी आदिको अगुवाइमा साहित्यिक कार्यक्रमहरू हुन्थे । एकपटक भूमिगत रूपमा केवलपुरे किसान पनि पुग्नुभएको थियो । पुष्पलाल मदन भण्डारी र युद्धप्रसादका कविता हामीलाई वाचन गर्न पनि लगाउनुहुन्थ्यो । साहित्यिक रचनामा वर्गीय पक्षधरतामा उहाँको जोड हुन्थ्यो । 

उहाँले फिल्मलाई पनि परिवर्तनको उत्प्रेरकका रूपमा हेर्नुभएको थियो । तर, फिल्म छानी–छानी हेर्नुपर्छ भन्ने मान्यता थियो उहाँको । हामीले उहाँकै आग्रहमा दुई फिल्म हेरेका थियौं । मैले नाम  बिर्सिएँ । तर, त्यसमा एउटा रसियन क्रान्तिसम्बन्धी र अर्को भारतीय स्वतन्त्र संग्रामबारे थियो । 

पुष्पलालले अन्य गीतसंगीत सुनेको त मैले थाहा पाइनँ । तर, हामीलाई जनवादी गीत गाउन लगाउनुहुन्थ्यो । 

क्रान्ति 

प्रशिक्षणको क्रममा उहाँ हामीलाई बारम्बार भन्नुहुन्थ्यो, ‘एउटा मेसिन पो विश्वमा जहाँ लगे पनि उसैगरी चल्छ । तर, क्रान्ति भनेको मेसिन होइन  त्यसैले यो मौलिक हुन्छ ।’ 

उहाँले ०१८ सालदेखि नै राजतन्त्र ढाल्न संयुक्त जनआन्दोलन आवश्यक भएको विषय उठाउनुभएको थियो । राजतन्त्रविरोधीको संयुक्त आन्दोलनविना राजतन्त्र ढल्दैन भन्नेमा उहाँको जोड थियो । 

उहाँ हामीलाई भन्नुहुन्थ्यो, ‘नेताले गरेर क्रान्ति हुँदैन । नेता र कार्यकर्ताले त जनतालाई क्रान्तिचेत दिने हो । त्यसपछि जनताले नै क्रान्ति गर्छन् ।’

एउटा सन्दर्भमा मैले सोधेको प्रश्नको जवाफमा उहाँले भनेको कुरा मलाई अझै सम्झना छ । उहाँले भन्नुभयो, ‘हामी नेपालमा क्रान्ति पनि गर्छौं । त्यसमा हामी सबै बाँच्छौं, मन्त्री हुन्छौं भन्ने सोच्ने होइन । हामी त लागिरहने हो, हामीले सोचेको क्रान्ति एक शताब्दीपछि पनि हुन सक्छ ।’

उहाँ सामाजिक आन्दोलनमा जोड दिनुहुन्थ्यो । बिदामा गाउँ आउँदा ‘केही न केही सामाजिक आन्दोलनको सुरुवात गरेर आऊ’ भन्नुहुन्थ्यो । त्यस्तै गाउँबाट फर्कंदा ‘एक्लै नआऊ, साथीलाई पनि लिएर आऊ’ भन्नुहुन्थ्यो । त्यसैले मैले पनि केही साथीलाई काशी लिएर गएँ ।

उहाँ क्रान्तिकारीको जीवनलाई दियोमा राखेको तेल हो भन्नुहुन्थ्यो । ‘तेल त सकिन्छ नि । यही तेलबाट जनताले बत्ती बाल्छन् र उज्यालो हुन्छ ।’ 

उहाँ नेपालमा क्रान्ति गर्न किसानलाई जागृत गर्नुपर्ने र वर्गसंघर्षमा जोड दिनुपर्ने बताउनुुहुन्थ्यो ।  सम्पत्तिले क्रान्ति हुन्छ भन्ने कुराको उहाँ प्रखर विरोधी हुनुहुन्थ्यो ।

उहाँ पार्टीको नाममा पुच्छर जोड्ने कुराको विरोध गर्नुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी हुनुपर्छ भन्ने उहाँको मत थियो । 

उहाँ सामाजिक आन्दोलनमा जोड दिनुहुन्थ्यो । बिदामा गाउँ आउँदा ‘केही न केही सामाजिक आन्दोलनको सुरुवात गरेर आऊ’ भन्नुहुन्थ्यो । त्यस्तै गाउँबाट फर्कंदा ‘एक्लै नआऊ, साथीलाई पनि लिएर आऊ’ भन्नुहुन्थ्यो । त्यसैले मैले पनि केही साथीलाई काशी लिएर गएँ । 

अन्तर्राष्ट्रिय पक्षधरता

त्यतिबेला कम्युनिस्ट आन्दोलनमा रुसपन्थी कि चीनपन्थी भन्ने बहस थियो । उहाँ भन्नुहुन्थ्यो, ‘रुसको मौलिकतामा लेनिनले गर्नुभयो र चीनको मौलिकतामा माओले । त्यसैले हामी कसैको पक्षमा लाग्नु आवश्यक छैन । बरु रुस र चीनसहित अन्य क्रान्ति भएका देशबाट पनि सिक्नुपर्छ ।’

उहाँको दूरदर्शिता बंगलादेश छुट्टिँदाको विश्लेषणमा पनि देखियो । बंगलादेश बनिसक्यो, मान्यता दिनुपर्छ भन्ने उहाँको भनाइ थियो । तर, चीनले मान्यता नदिएकाले हामीले पनि मान्यता दिनुहुन्न भन्ने नेता पनि थिए । अहिले त सबैलाई स्वीकार्न कर लाग्यो नि । 

स्वाभिमान 

उहाँ स्वाभिमानमा सम्झौता गर्नुहुन्नथ्यो । उहाँलाई मन्त्री हुन  धेरैपटक अनुरोध गरिएको थियो राजाका तर्फबाट पनि । तर आउनुभएन । ०३२ सालमा मनमोहन अधिकारी र डिपी अधिकारी नै गएर नेपाल आएर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो । 
त्यसबेला उहाँहरूबीच निकै घम्साघम्सी नै पर्‍यो । उहाँहरूको कुराकानी हामीले ढोकाबाहिर कान थापेर सुनेका थियौं । अधिकारीको मत थियो, ‘यहाँ बसेर पण्डागिरी गरेर हुँदैन । काशीमै बसेर कुहिने विचार छि कि के हो ?’

तर, पुष्पलालले भन्नुभयो, ‘कुहिएछ भने पनि ठीकै छ । तर, सम्झौता गरिन्न ।’ 

पछि आएर डिपीजी त मन्त्री नै हुनुभयो । मनमोहनजी चाहिँ बनिहाल्नुभएन । 

त्यस्तै उहाँले अन्तिम समयमा जर्मनमा उपचार गर्न लैजाने राजाका दूतहरूको प्रस्ताव पनि अस्वीकार गर्नुभयो । 

तर, उहाँले भन्नुभयो, ‘मलाई परिवार र साथीले जति बचाउन सक्छन्, त्यति बाँच्छु ।’ त्यसबेला हामी उहाँको उपचारमा सहयोग संकलन गर्दै थियौं । तर, केहीले उहाँलाई ‘गद्दार’ भनेर सहयोग संकलनको समेत विरोध गरेका थिए । तर, अहिले तिनै मान्छेहरू हामी पुष्पलालको नजिक थियौं भनेर दाबी गर्छन् । 
०००
(कला अनुरागीसँग गरेको कुराकानीमा आधारित)

यो पनि पढ्नुहोस्
हली दाइ अर्थात मदन भण्डारी