राजकुमारी जालिनी पुरुषवादको कैदमा !

राजकुमारी जालिनी पुरुषवादको कैदमा !

अशोज २, २०७५ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

मण्डला थिएटर यस्तो ठाउँ हो, जहाँ ध्रुवसत्य परियार र म सहरको भीडबाट अलग्गिएर ‘मेडिटेट’ हुन पुग्ने गर्छौं । गहिरो साधनामा डुबिरहेका रङ्गकर्मीहरूले हामीलाई जीवनको अनेक आयाममा उत्साह भरिदिएका छन् । अहिले त्यही मण्डला थिएटरमा ध्रुवको कथासंग्रह ‘कैरन’को चर्चितमध्येको एक कथा ‘जालिनी’लाई नाट्यरूपान्तरण गरी मञ्चन भइरहेको छ । यसले हामीलाई खुसी लाग्नु स्वाभाविक नै हो । अझ यो नाटक नेपाली रङ्गमञ्चका एक मानक हस्ताक्षर दयाहाङ राईले निर्देशनमा हुनुले हामीलाई गर्वबोध गराएको छ । यसै मेसोमा मण्डला एरियाको ‘अनअफिसियल चियाघर’ मामाको चियापसलमा बस्दा–बस्दै केही ‘अनअफिसियल’ कुराकानी भएको थियो ध्रुवसँग । त्यही कुराकानी यहाँ सेयर गरेको छु :

तिम्रो कथामा आधारित नाटक जालिनी चलिरहेको छ, यो नाटकले के भन्छ ?
मेरो कथासंग्रह ‘कैरन’भित्रको एउटा कथा हो, जालिनी । लोककथा शैलीको यो कथा झन्डै सात वर्षअघि नयाँपत्रिकामा प्रकाशित भएको थियो । यसले हाम्रो भूगोल, इतिहासलाई संकेत गर्छ । आख्यानको मजा नै यही हो, जसमा लेखकले आफ्नो विवेक, बुझाइ, क्षमता, प्रतिभा, अध्ययनले भ्याएसम्म संकेत गर्न सक्छ । लोककथामा शासकका शक्ति र कमजोरी, बुद्धिमान महिला तथा वृद्धावृद्धा र चतुर बालबालिकाको कथा, अलौकिक पात्र, परिवेश र घटना, लोकविश्वास, अन्धविश्वास, धार्मिक चिन्तन वा अनुष्ठान आउँछ ।
लोककथाको सिर्जना जनताले गर्ने हुन्, शासकले होइन । हुन सक्छ, त्यसमा कुनै शासकको उत्थान र पतन, कुनै व्यक्तिको शक्ति र कमजोरीको कथा । पुस्तौं पुस्तामा हस्तान्तरित भएर आउने लोककथामा जनताकै चिन्तन, बुझाइ, विश्वास, अन्धविश्वास भरिएको हुन्छ । यही बुझाइमा मैले जालिनी कथा लेखेको हुँ । यसले धर्म, कुसंस्कार, अन्धविश्वास र पुरुषवादको जालोमा जेलिन बाध्य जालिनी नाम गरेकी राजकुमारीको कथा भन्छ । इतिहासदेखि नै स्त्रीका नैसर्गिक अधिकार, स्वतन्त्रता, सपना र विवेकलाई कसरी घर वा पर्खालभित्र कैद गरियो ? शासकले कसरी एउटा वर्गलाई दास र भूमिहीन बनाए ? कसरी जातभात जस्ता कुसंस्कार निर्माण गरे ? यो कथाले त्यसप्रति संकेत गरेको छ ।

Photo © Rajan Kafle, Photo Mahal

राजकुमारी जालिनीको कथा भए पनि यसमा पुरुष केन्द्रमा छन्, जालिनीले पनि अन्तमा पुरुषकै सहायता लिनुपर्छ, उनको सपना पुरुषभन्दा पर छैन, अनि यो कसरी स्त्रीप्रधान पात्रकेन्द्रित कथा भयो ?
स्पष्ट छ, सत्ताको केन्द्रमा पुरुष रहेरै पुरुषवादको निर्माण भएको हो । यसमा पनि पुरुषको सत्ताको जालोमा जालिनी छन् । उनको स्वतन्त्रता मात्रै होइन, विवेक पनि कैद भएको छ । यो कथामा जलजला नाम गरेकी एक स्त्री र उनका छोरा जयनले राजाको दास हुनुपरेको छ । जलजला विद्रोह, विवेक र न्यायकी मूल स्वर हुन् । उनको भोगाइबाट प्राप्त ज्ञानका कारण उनको छोराले पनि न्यायको सपना देख्न थाल्छ । यो कथामा जयन र राजकुमारी दुवैले सपना देख्छन् । एउटै सपनालाई जालिनीले आधा र जयनले पूर्ण रुपमा देख्छ । किनभने, जालिनीको सपना देख्ने स्वतन्त्रता र विवेक पनि पुरुषको सत्ताभित्र कैद भएको छ ।
अन्ततः जयनका क्रियाकलाप र साहसले जालिनीमा सत्य र न्यायको बोध हुन्छ । जालिनी जयनको प्रेममा पर्छिन् । उनी जयन भन्ने मासुको थुप्रोसँग प्रेममा परेकी होइनन्, उसको सपना, अन्यायको विरोध गर्ने साहस र न्यायप्रेमी स्वभावसँग जालिनी प्रेममा परेकी हुन्, जुन हामी सबैको नैसर्गिक अधिकार हो । अर्को कुरा, हिजो मात्र होइन, आज पनि हाम्रो समाजमा आफूले रोजेको वा आफू प्रेममा परेको पुरुषसँग विवाह गर्न महिला स्वतन्त्र छैनन् । यो कथामा त्यसमा पनि विद्रोह भएको छ ।
जयनलाई तयार गर्ने आमा जलजला, जो मातृभूमिको प्रतीक पनि हुन् । जालिनी राजकुमारी तर सत्ता र पुरुषवादको कैदमा परेकी । एउटा दास जयन र दरबारभित्रै कैदमा परेकी जालिनीको विवेक र समझमा राज्य चलाउने परिस्थिति बनेपछि यो कथा सकिन्छ । कला, तिमी नै भन, यो कथा स्त्रीप्रधान पात्रकेन्द्रित हो कि होइन ?

नाटकको निर्देशन दयाहाङले गरेका छन्, उहाँको निर्देशन कस्तो लागेको छ ?
बडो गज्जब लागेको छ । दयादाइमा लोकशैलीको कथालाई मञ्चमा भन्ने विशिष्ट प्रतिभा छ । जालिनी नाटक गर्ने भएपछि हामीले निकै सल्लाह गर्यौं। कथालाई नाटकमा ढाल्ने सन्दर्भमा मैले भनेँ, ‘एक युवती नदी तर्न पाएकी हुँदिनन् । नदी किनारमा एउटी वृद्धाले उनलाई कथा सुनाउँछिन् । उनको अगाडि केही मूर्ति हुन्छन्, उनले कथा भन्न सुरु गरेसँगै ती मूर्ति चलमलाउन थाल्छन् र नाटक अघि बढछ् ।’
मेरो कुरा सुनेपछि दयादाइले भने, ‘तिमीले त लोकमाथि लोक पो मिसायौ । राम्रो हुन्छ ।’
राम्रो नाटक बन्यो, यो नाट्य संसार, नाट्य लय निर्माण गर्न दयादाइले भव्य परिकल्पना गरेका छन् । खासगरी काम गरिरहेका मानिसहरु र षोडसी जालिनीमा हुर्कंदै गरेका रहर र सपनाको दृश्यलाई उनले सुन्दर ढंगले दृश्यमा देखाएका छन् । मैले केही शब्दमा व्यक्त गरेको कुरालाई उनले यति विशाल ढंगले दृश्यमा देखाए, त्यस्तो होला भनेर मैले कल्पनै गरेको थिइनँ ।

Photo © Rajan Kafle, Photo Mahal

कलाकारको अभिनय कस्तो लागेको छ ?
नाटक सामूहिक कार्य हो । यसमा निर्देशक, मञ्च र नेपथ्यका कलाकारको उत्तिकै भूमिका हुन्छ । नाटकमा रंगकर्मी सिर्जना सुब्बा दोहोरो भूमिकामा छन्– जलजला र कथावाचक । दुवै सशक्त भूमिकामा सिर्जनाले सशक्त अभिनय गरेकी छन् । उनले कथावाचकको रुपमा नाटकलाई सुन्दर ढंगले उठान गरेकी छन् । विनिता गुरुङले जालिनी र कथा सुन्ने युवतीको भूमिकामा राम्रो अभिनय गरेकी छन् । राजा विजय बरालको अभिनय सुन्दर छ । र, अन्य कलाकार पुष्कर कार्की, इँगिहोपो कोइँच सुनुवार, सागर दाहाल, विकास पन्थ, सञ्जीव राई, दीपक पचलदँग्या, प्रमिला खनाल, शकु शाह, सुदीप खतिवडा, विक्रम श्रेष्ठ, रिजन परियार, कविराज राई, सविन घलान देविन चौधरीले राम्रो अभिनय गरेका छन् । सबैदेखि म सन्तुष्ट छु । सबैको काम हिजोभन्दा आज माझिँदै पनि छ ।

०००  ००० ०००
यो पनि रुची लाग्न सक्छ 

आँसुको दहमा फुल्छ समृद्धिको कमल ?