पहाडकी केटी

पहाडकी केटी

जेष्ठ ८, २०७८ 0 By कवि
शेयर गर्नुहोस्
  • जसराज किराँती

हिमनदीहरू बोकेर मेरो शरीर बगिरहेको छ
म हिमाल भैरहेको छु
कहीँ म ढुङ्गाबाट ओलिएको हुँ
कहीँ म रूखबाट झरेको हुँ
अक्सर पग्लिएर
बगेर
पहाडकी केटीलाई जिस्क्याउँदै–जिस्कँदै हिँडिरहेको हुँ ।

छिट्को गुन्यू लगाएकी पहाडकी केटीलाई
म त्यस्तै हिमाल जन्माउन दिन्छु
त्यो हिमालसँग हिड्न सक्ने पाइताला पनि हुनेछ
अक्सर त्यो योद्धाजस्तै
बहादुर र फराक छातीको फरासिलो देखिने छ
त्यो बोलेको र पहाडहरूलाई गीत सुनाएको बेला
म लाटा हिमाल भएर उभिने छैन
चिसो हिउँ भएर पग्लिने पनि छैन
मेरो शरीरमा जीवनको रङ्ग चढेर म रंगीन हुन्छु
ममा प्राण चढेर म जीवित हुन्छु
हो, पहाडकी केटीलाई म त्यही हिमाल जन्माउन दिन्छु
आफैं बगिरहेको छाल रोकेर
एक अङ्गालो छोरा समातेर
झुल्के घामजस्तै
म मुसुक्क हाँस्छु ।

पहाडकी केटी
जसको कम्मरमा पटुकी भएर सपनाहरू बाँधिएका छन्
पहाडकी केटी
जसको छातीमा रगत भएर भविष्यहरू जाम भएका छन्
नदीको किनारजस्तै मस्त भएर
गर्भदान माग्न त्यो केटी आउँछे
नदीको छालजस्तै मस्त भएर हामी जिस्कने छौं
हामी अङ्गालोमा बाँधिने छौं
प्रेमी र प्रेमिका मस्त भएको बेला नआए हुन्छ जूनले
देखा नपरे हुन्छ ताराले
यस्तो लाग्छ–
त्यो केटी दशहजार सूर्यका पाइतालाहरू कपालमा सिउरिएर
एक डोको जून बोकेर हिड्छे
यस्तो लाग्छ– त्यो केटी
एक अङ्गालो क्षितिजको घाँस काटेर दश अँगालो जूनेली बटुल्छे
हिजो बेलुकी
एकपेट मरूभूमि बोकेर हिउँहरूमा चिप्लेटी खेल्दै
त्यो केटी घर फर्की
उसले त्यही हिमाल भैरहेको ढुङ्गाहरूमा
आफ्नो खसेको आँखाको सम्झना गरी
उसले त्यहीँ हिउँ भैरहेको भुईंहरूमा
आफू सुतिरहेको आकासको सम्झना गरी
रातभरि त्यो केटीले
उँभो लेकतिरको डाँडामा दगुरिरहेको आफ्नो जवानी सम्झी
गीतहरू सम्झी
म उसलाई पग्लिँदै बगिरहेको हिउँहरूबाट बोलाउँछु
मेरो स्वर
बाँसुरीको धुन हुनेछ
बिनायो वा मुर्चुङ्गाको आवाजजस्तै म उसलाई बोलाउँछु ।

ऊ आफू उनन्तीसहजार अग्लिन्छे
र उनन्तीसहजार फैलिन्छे
मलाई विश्वास छ
ऊ आमा हुन्छे
आफ्नो काखभरिको छोरालाई
बूढो भै सकेको नेपालको कथा सुनाउँछे
म सम्झन्छु
उसले लाटा हिमालको कथा सुनाएर
छोरालाई आशिर्वाद दिन्छे ।
०००
(वाणी प्रकाशनद्वारा प्रकाशित ‘जसराज किराँतीका कविता’बाट)