बुइँगलमा पुष्पलाल, स्वीटरमा पुष्पलाल

बुइँगलमा पुष्पलाल, स्वीटरमा पुष्पलाल

साउन ७, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

उनलाई मैले पहिलो पटक बुइँगलमा भेटेँ ।
सात कक्षामा पढ्थेँ । पाठ्यक्रमबाहेकका किताब पनि हुन्छन् भन्ने थाहा पाइसकेको थिएँ, तीन कक्षामा पढ्दै । तर ‘स्वस्थानी’बाहेक अरू देखेको थिइनँ ।
वर्षा मौसम सुरु भइसकेको थियो । हरदिनजसो बिहानैदेखि झमझम पानी पर्थ्यो। आमा–बुबा झमझम झरीमा प्लास्टिक ओड्दै घाँस काट्न जानुहुन्थ्यो । मेरो भागमा भाइ–बहिनी हेर्ने र भात–भान्साको तयारीको जिम्मेवारी पथ्र्यो । जसोतसो तिहुन पकाउँथेँ, ढिँडो मस्काउने आँट आउँदैनथ्यो । मकैको ढिँडो पकाउन तैबिसेक अलिक सजिलो हुन्थ्यो, तर पीठो बढी भएर बुकुरेला भन्ने पीर । कोदाको ढिँडो पकाउँदा मस्काउन नसकेर काँचै होला भन्ने पीर । त्यसैले तिहुन पकाएर ढिँडोको पानी बसालेर उमाल्न ठिक्क पारेर आमा–बुबा पर्खी बस्थेँ । त्यसो त कहिलेकसो भात पकाउने मेसो मिल्थ्यो । त्यस दिन त्यस्तै मेसो मिलेको थियो ।
आमाले बिहान घाँस काट्न निस्किने बेला अलिक सानो स्वरले चुल्होछेउ बोलाएर भन्नुभयो, ‘आज भात पनि पकाउनु है । चोटामा पिठोको धोक्रोसँगै अर्को सानो धोक्रोमा चामल छ । सिल्बरे बोड्काको एक निम्ठो चामल पकाउनू । पानी अड्कल्न आउँछ नि ?’
मैले ‘आउँछ’को भावमा टाउको हल्लाएँ । आमाले मलाई सिकाउनुभएको थियो– चामलमा पानी हाल्दा हात डुबाइहेर्नू, औंलाको माथिल्लो आँख्ला छुनेसम्म पानी हाल्नू ।
आमाले थप्नुभयो, ‘आज ढिँडाको पानीचाहिँ डेढ अम्खोरामात्रै बसाले पुग्छ ।’
‘अनि धेर हुँदैन ?’ भात र ढिँडो दुवै पकाउँदा खाइनसकिएला कि भन्ने आशंकाले आमालाई सोधेँ ।
आमाले चोरी औंलो माथि उठाउँदै संकेत गर्नुभो, ‘कमरेडहरू, आउनुभएको छ ।’
मैले कुरा बुझिहालेँ ।
जनयुद्ध चलिरहेको थियो । घरमा मध्यरात छापामार आउनु, केही दिन बुइँगलमा बस्नु, कहिलेकसो गाउँका मान्छे बटुलेर रातभरि मधुरो टुकी बालेर सानो स्वरमा छलफल गर्नु मेरो लागि नौलो थिएन । बरू रोमाञ्चक थियो ।
आमाले अह्राएअनुसार भान्साको मेलोमेसो मिलाएँ । ढिँडोको पानी बसाएँ र जिम्मेला कि भन्ने पीर मान्दै आगो ओझ्याउँदै–बाल्दै आमा–बुबालाई पर्खी बसेँ । साढे आठतिर विशाल घाँसको भारी बोकेर उहाँहरू आइपुग्नुभयो । अनि आउनेबित्तिकै आमाले भन्नुभयो, ‘कमरेडहरूलाई भोक लाग्यो होला । जा, पानी दे र खाना तयार भयो भन् । म ढिँडो पकाउँछु ।’
म सिल्बरको अम्खोरामा पानी भरेर खुर्लुक–खुर्लुक आवाज आउने भ-याङ चढ्दै बुइगलमा पुगेँ । दुई जना कमरेड रहेछन् । एकजना अलिक आत्तिएजस्तो गरे । अर्कोले सानो स्वरले बोले– सानो कमरेड हो, आत्तिनुपर्दैन ।
मैले चिनिहालेँ ती सानो स्वरले बोल्ने कमरेड तारा थिए, पछि थाहा भयो उनको नाम रितबहादुर खड्का रहेछ । उनका दुई अरू नाम पनि थिए, प्रताप र चम्किलो तारा । उनी मलाई ‘सानो कमरेड’ भनेर बोलाउँथे । आमा–बुबालाई असाध्यै सम्मान गर्थे, र मलाई निकै माया गर्थे ।
मैले उनलाई हेरेर सासैले भनेँ– खाना पाक्यो ।
उनले आफूछेउ बोलाए र हात मिलाए । साथीसँग परिचय गराइदिए । र, मेरो टाउको मुसारेर माया दर्शाए । ‘के छ, सानो कमरेड ? पढाइ कस्तो चल्दैछ ?’
‘राम्रो छ’, मैले लाडिदै भनेँ ।
उनको छेउमा दुई पुस्तक पल्टिरहेको थियो । त्यसमा मैलो–धैलो, पुरानो कभर भएको, पातलो आकारको पुस्तक थियो– ‘नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास’ । र, मैले सासैले किताबको नाम पढेँ । ढुंगाले छाएको छानाको चरबाट निस्केको प्रकाशबाट फैलिएको मन्द उज्यालोमा उहाँ खुसी देखिनुभयो । उहाँले सोध्नुभयो, ‘यो कस्ले लेखेको थाहा छ ?’
मैले ‘छैन’को भावमा टाउको हल्लाएँ ।
‘पुष्पलाल श्रेष्ठले, उहाँले नै नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो’, उहाँको सास बोल्यो ।
मैले किताब हातमा लिएँ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने पुष्पलाल श्रेष्ठको नाम सासले पढेँ ।
मैले कमरेड तारालाई भनेँ, ‘मैले पढ्न मिल्छ ?’
उहाँले भन्नुभयो, ‘अहिले होइन, पछि पढ्नुहोला है ।’
पछि उहाँले मलाई केही किताब पढ्न दिनुभएको सम्झना छ । त्यसपछि त उहाँ सहिद हुनुभयो भन्ने खबर सुनेँ । त्यसबीच उहाँले मलाई थुप्रै कमरेडसँग ‘सानो कमरेड’को रूपमा चिनाइदिनुभयो र पुष्पलालसँग पनि चिनाइदिनुभयो ।
०००

मलाई थाहा थियो, घरमा आउने कमरेडहरूबारे छर–छिमेक र स्कूलमा छिसिक्क सुइँको दिनुहुँदैन । तर मलाई हुन्थ्यो– उकुस–मुकुस र छटपटी । मैले कति रात त झण्डै–झण्डै झिमिक्क नगरी मझेरीमा चलेको प्रशिक्षण सुनेको थिएँ । कञ्चन, प्रताप, क्षितिज, बन्धु आदि नामका नेता मसिनो स्वरले रगत तताउने भाषण दिन्थे । कञ्चन अहिले प्रतिनिधिसभाको सभाभुख हुनुहुन्छ, उहाँको नाम अग्निप्रसाद सापकोटा हो भन्ने मैले धेरै पछि थाहा पाएँ । क्षितिज, केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री हुनुभएको थियो । उहाँ दावा तामाङ हो भन्ने पनि पछि नै थाहा भयो ।
मझेरी उहाँहरूको प्रशिक्षणमात्रै हुँदैनथ्यो । सेल कमिटी र गाउँ कमिटी पनि बन्थे । अनि कमिटिका सदस्यको ‘टेकनेम’ राखिन्थ्यो । बुबाको नाम ‘कोसेली’ राखिएको थियो, चौरघरे डम्बर दाइको नाम ‘हिमाल’, यस्तै–यस्तै ।
मलाई यो तरिका गज्जब लाग्यो ।
पाँच कक्षादेखि म प्रथम हुँदै आएको थिएँ । त्यसैले हो कि भन्ने लाग्छ, साथीहरू मसँग नजिकिन रुचाउँथे । एक दिन ‘हाफटाइम’मा मैले मन मिल्ने नजिकका साथीहरूलाई बोलाएँ । र, भनेँ, ‘आज तिलक (मेरो फूपुको छोरा, जसको पछि गाडी दुर्घटनामा निधन भयो)को घरमाथिको ढुंगामा बसेर एउटा छलफल गर्नु छ ।’ म अघि लागेँ, तिलकसहित छजना साथी पछि लागे । ढुंगामा बसिसकेपछि मैले नेताहरूको बोलेको कुरा सम्झिँदै आफ्नै पाराले केही समय भाषण दिएँ । साथीहरू मेरो अचम्मको भाषण सुनेर दंग परे । केही मिनेटमै मेरो बोल्ने कुरा सकियो । त्यसपछि मैले कमिटी बनाउने प्रस्ताव राखेँ । उनीहरूले नबुझी–नबुझी स्वीकार गरे । अहिले यसो सोच्छु, ‘फस्र्ट ब्वाइ’ले भनेको कुरा ठिकै त होला भन्ने उनीहरूलाई लागेको हुँदो हो ।
अनि मैले नौजनाको नाम कापीमा टिप्न लगाएँ साथी चिरन्जीवीलाई । त्यसमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्ष पनि छुट्याएँ । भनौं न आफैंले भाग लगाइदिएँ । त्यसपछि भनेँ, ‘यो कुरा कसैलाई थाहा हुनुहुँदैन । र, हाम्रो नाम पनि फेर्नुपर्छ ।’
साथीहरू यसमा पनि अलमलमा परेँ । मैले नै फटाफट साथीहरूको नाम राखिदिएँ– कसैको सुनकोसी, कसैको दुधकोसी, कसैको पर्वत, कसैको सुमन । उनीहरूले पनि खराखर स्वीकार गरे । अनि मैले मेरै नाम राखेँ– पुष्पलाल ।
साथीहरू छक्क परे । हामीले निकै समयसम्म हाफटाइममा यसैगरी भेटघाट गर्ने र साथीहरूलाई ‘टेकनेम’ले बोलाउने अभ्यास ग¥यौँ । तर लगत्तै कमिटीभन्दा बाहिर पनि नाम फैलियो । मलाई कतिले हेपेर ‘पुस्पे’ भन्न थाले । त्यसको झोकमा मैले एकलख लगाउन अफ्ठ्यारो होस् भनेर लामो नाम राखेँ– सगरमाथा ।
यसरी बुइँगलमा भेटिएका पुष्पलाललाई आफ्नो ‘टेकनेम’ बनाउने मेरो षड्यन्त्र साथीहरूले चकनाचुर पारिदिए ।
०००

खासमा, त्यो बेला मेरो मनमा पुष्पलाललाई भेट्ने धोको पलाएको थियो । तर त्यो धोको पूरा हुन सकेन । उनी म जन्मिएकै महिना–गते पारेर सातवर्षअघि नै बितिसकेका रहेछन् । विचारको धागो त छँदैछ, संयोगको धागोले पनि मलाई पुष्पलालसँग जोडिदिन्छ ।
म जन्मिएको ३६ वर्षपछि अर्को धागोले मलाई उनीसँग जोडिदिएको छ । उनको स्मृति दिवसमा आज ‘प्रतिरोध सभा’ हुँदैछ । त्यसमा सहभागी हुँदैछु । नारा छ– यस्तो थिति फालौं, आउनुस् आजै थालौं ।
पुष्पलालले कम्युनिष्ट पार्टी स्थापना गरेको सात दशक बितिसक्दा पनि उनले देखेको सपना पूरा हुन सकेन । कुनै बेला पुष्पलाललाई भेट्ने धोको पूरा नभए पनि के भयो र, ‘पुष्पकमल’लाई त भेट्यौं नि भन्ने आत्मरतीमा रमाएका मजस्तै युवाहरू अहिले भरङ्ग भएका छन् । हाम्रो मनमा जसरी ‘पुष्पकमल’हरूको मनमा पुष्पलाल र उनका सपना अडिन सकेनन् । तिनको मनमा बुइँगलमा खाना पु-याउने, कोपारामा दिसा–पिसाब गराएर सुरक्षित राख्ने मेरी आमाको चित्र पनि अडिन सकेन । ती सबै अहिले कुनै न कुनै स्वरूपमा सत्ताको बार्दलीमा उक्लिन्छन् र भ-याङलाई तथानाम गाली गर्छन् । पुँजीपतिहरूको व्यवस्थापन समितिमा बस्छन्, भ्रष्टाचार, कमिसन, लुट र महँगीको शृंखला चल्न बाटो खाली गरिरहन्छन् ।
तर, के यो व्यवस्था सधैँका लागि यस्तै रहन्छ ? रहँदैन र रहनुहुँदैन । आज, माइतीघर–बानेश्वर ‘प्रतिरोध सभा’मा यही आवाज घन्किँदैछ ।
सहरमा केही साँझदेखि म पुष्पलालका सपनालाई नयाँ समयको गतिको गीतमा रूपान्तरण गर्ने संकल्पको स्वीटर बुनिरहेकाहरू भेटिरहेछु ।
त्यहाँ संङ्गीत भेट्छु, प्रतापको झल्को मेटाउँला किझैँ गरी भाषण–प्रशिक्षण दिँदै । प्रतिरोधी गीत लेख्दै, गाउँदै र भन्दै– मैले त सपनाको संसारलाई विपना बनाउने सुर कसिसकेँ । वन्दना भाउजूले उसैगरी सुर कसिसकेको पाउँछु ।
अनितालाई गलत व्यवस्थाको जरो काट्ने साधन खोज्दै गरेको भेट्छु । कहिले गीतमा स्वर मिसाउँदै, कहिले अभिनयमा साथ दिँदै । कहिले पोस्टर लख्दै, कहिले भाषण गर्दै ।
अन्जानबाबु नयाँ र प्रतिबद्ध सङ्गीत-यात्राको परिकल्पनामा सारंगी रेटिरहेका । त्यसैमा मिसिँदै शकुन्तला, जमानामै सांस्कृतिक परिवार बनाएर गीत गाउँदै हिँडेको सम्झेर । नारायण मादल बजाउँदैछन् । अरू साथी छन्, जो कोही बाँसुरी बजाउँछन्, कोही झ्याली बजाइरहेका ।
मनोज, हिमांशु, प्रसन्न र साथीहरू छन्, जो सडकमै छन् । व्यवस्था परिवर्तन नभएसम्म घर नफर्किउँलाझैं जोशमा छन् ।
शैलज अब मसक्कै नआँटी हुँदैन भन्दैछन्, हिमाल र केदार साथीहरूलाई रंगकर्मबाट पनि त व्यवस्थाको असलियत बुझाउनुपर्छ भन्दै साथीहरू जुटाइरहेका छन्, ‘वार्म अप’ गरिरहेका छन् ।
सम्मानले सम्झिने नाम यतै छलफल गरिरहेका भेट्छु– बलराम, तुल्सीदास, विष्णु आदि । उता ज्वालामुखी सल्लाह गर्दैछन्, प्रमोद विमर्श गर्दैछन् । सुमिनाको कवितामै आगो जोर्दैछिन् । बहस गरिरहेका विनोद, बन्धु, संघर्ष गरिरहेका संघर्ष, नवीन विष्लेषण खोजिरहेका नवीन, कविता भनिरहेका अनिता, निभा, विनोदविक्रम, राजु ।
यसरी नाम लेख्दै बसेँ भने धेरैको छुट्छ, बरू म पनि उतै निस्किन्छु । र, संकल्पको स्वीटरमा मिसिएका अनेक धागोहरूमा म पनि मिसिन्छु । संकल्पको स्वीटरमा पुष्पलालको नाम त परैबाट देखिने नै छ ।
०००