नारायणगोपालले ‘पुनर्जन्म’ गराएका गीतकार

नारायणगोपालले ‘पुनर्जन्म’ गराएका गीतकार

जेष्ठ ८, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

कालीप्रसाद रिजाल । आठ दशक जीवन भोगिसकेका यी लोकप्रिय गीतकार तथा कविको सिर्जनात्मक सक्रियता हेर्ने हो भने उमेर बिर्सिदिन मन लाग्छ । उनको दर्जनहाराहारी काव्य कृति प्रकाशित छन् । समालोचक प्रा.डा. कुमारबहादुर जोशीको निचोड छ– उनले कवितामा आफ्नो सुवोध र सरल शैलीलाई यसमा पनि निरन्तरता दिएका छन् । तर समयको पछिल्लो आवाजलाई उनले निकै गौर गरेर सुनेका छन् । र, त्यसैलाई काव्यिक अनुवाद गरेका छन् ।

गीत लेखनमा उनको सक्रियता त ३० को दशकको सुरुवातदेखि नै उत्तिकै छ ।आममान्छेले बुझ्ने भाषामा कविता लेख्नु कालीप्रसादको बिशेषता हो । ‘बौद्धिकताको नाममा कवितालाई जटिल बनाउँदा विधा नै अलोकप्रिय बन्छ । म त्यसो गर्दिनँ’, उनी भन्छन् पनि । त्यसो त कालीप्रसादलाई आममान्छेकहाँ पु-याउन उनका गीतले नै बढी भूमिका खेलेका छन् । उनका गीतलाई आममान्छेकहाँ पु-याउन भने नारायण गोपालले भूमिका खेले । नारायण गोपालको प्रसंग आउनेबित्तिकै भन्छन्, ‘मेरो त भाग्यै बलेको रहेछ । र, न नारायण गोपालसँग भेट भयो ।’
०००

कालीप्रसाद आफ्नो सिर्जनशीलताको जरो आमालाई मान्छन् । राणाकालीन समय, त्यतिबेला निकै दुर्गम मानिने तेह्रथुमजस्तो ठाउँ । तर पनि उनकी आमाले लुकीचोरी अक्षरमात्रै सिकिनन्, बनारस र काठमाडौमा रहेका देवरहरुको माध्यमबाट पुग्ने पत्रिकामा प्रकाशित हुने लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याललगायतका कविता पनि लय हालेर भन्न जानिन् । ‘आमाले मलाई लय हालेर ती कविता सुनाउनुहन्थ्यो । त्यसको प्रभाव ममा परेको थियो । ८/९ बर्षको हुँदा त अनुप्रास मिलाउन जानिसकेको थिएँ । गीत लेखेर गाउन थालेको थिएँ ।’ उनी सम्झन्छन् । त्यसरी गीत गाएर उनले धरान र विराटनगरमा धेरै पुरस्कार पनि पाए । ‘म सानो थिएँ । माइकसम्म नपुग्ने भएकाले मलाई टेबलमा राखिदिन्थे । र, म गाउँथे’, उनले रोमाञ्चित हुँदै सुनाए । ०१३ मा उने एसएलसी गरे । त्यतिबेला पूर्वतिर एसएलसी गरेपछि भारत जाने चलन थियो । बनारसलगायतका स्थानमा गएर बाँकी शिक्षा लिन्थे । तर कालीप्रसादले भने, ‘म अब काठमाडौ जान्छु ।’ परिवार उनको कुरा सुनेर दंग प-यो । काठमाडौको दुःखदेखि चिसोसम्म देखाएर अत्याउने कोशिस परिवारको तर्फबाट भयो । तर उनले मानेनन् । उनको मनमा त एउटैमात्र कुरा थियो– आमाले गुन्गुनाउने कविता लेख्ने मान्छे काठमाडौमा बस्छन् । उनलाई असाध्यै मन पर्ने गायकहरु पनि त्यतै छन् । तिनलाई भेट्ने उनको ठूलो धोको थियो । त्यसैले उनी आफ्नो जिद्दीबाट टसका मस भएनन् । आखिर परिवारले अनुमति नदिइ धरै पाएन । ०१३ मा उनी काठमाडौ आए र त्रिचन्द्र कलेजमा कमर्स पढ्न थाले । 
०००

कालीप्रसाद कम्ता बाठा भने थिएनन् । उनले काठमाडौ आउने भनेपछि त्यतिबेलाका चर्चित गीतकार माधव खनाल भावुकलाई भेटे । भने, ‘म काठमाडौ जाँदैछु । त्यहाँ पुगेर नातिकाजी, शिवशंकरलगायतका गायकलाई भेट्ने मन छ । रेडियोमा गाउने मन छ । एउटा सिफारिससहितको चिठी लेखिदिनुस् न ।’ भावुकले उनको गीत कार्यक्रमतिर सुनेकै थिए, त्यसैले त्यही व्यहोराको चिठी लेखिदिए । काठमाडौ आएपछि उनले नातिकाजी र शिवशंकरलाई खोजे । भेटे र चिठी थमाए । गीत सुनाए पनि । उनीहरुले हौसला दिए र भने, ‘राम्रो छ । अब श्वर परीक्षा दिनुस् ।’

सँगै उनी कविता लेख्ने हस्ती खोज्दै सरस्वती सदन पनि धाउन थाले । संयोग, त्यहा उनले देख्न चाहेका सबै भेटिन्थे । तिनका कविता उनीहरुकै श्वरमा सुन्न पाइन्थ्यो । त्यसले उनलाई मुग्धमात्रै पारेन, कवितातिरै तान्यो । गीतमा परीक्षाको कुरा थियो । परीक्षा दिन उनलाई धक लागिरहेको । ‘कहाँ मान्छेहरुबीच बसेर गाएको मान्छे, एक्लै कोठामा बसेर गाउनु ? भन्ने लाग्यो । अनि बाजाको ज्ञान पनि थिएन । त्यसैले परीक्षा दिनतिर लागिनँ । अनि कवितामा बज्ने तालीले मलाई उत्साहित बनायो । गीतभन्दा त कविता नै शक्तिशाली रहेछजस्तो लाग्यो ।’ उनले सम्झिए । बरु कविता लेख्ने र सुनाउने गर्न थाले । उनको गीतयात्रा स्थगित भयो, कविता यात्रा अघि बढ्यो ।

उनले कमर्स पढे l बि.कम. गरेपछि काठमाडौं छोडे, बनारस गए । त्यहाँ मास्टर्स गरे । त्यसपछि धनकुटा डिग्री कलेजको प्रमुख भए, त्यहाँ अर्थशाश्त्रमा पढाए पनि । भूमिसुधार लागू अधिकारी भएर पाल्पा गए । जागिर नै खाएपछि किन राजनीतिक नियुक्तिमा बसिरहनु भनेर ०३२ सालमा लोकसेवा परीक्षा दिए । पास गरेर सूचना विभागमा हाकिम भए । तर त्यो यात्रामा पनि उनले कवितालाई भने छोड्नन् । गीतलाई भने चटक्कै बिर्सिएका थिए ।
०००

संयोग, सञ्चार विभागमा जागिर खाएको केही महिनामै एक दिन सुसेल्दै–सुसेल्दै नारायण गोपाल उनको कार्यालय आइपुगे एकजना कर्मचारी लिएर । कर्मचारीले पहिल्यै आएर कालीप्रसादलाई भने, ‘नारायण गोपाल आउनुभएको छ तपाइलाई भेट्न ।’ उनलाई विस्वासै लागेन । उनी नारायण गोपालको फ्यान थिए । भेट्न पाउँदा नै चकित पर्ने थिए, त्यहाँ त भेट्न आएका थिए । ‘म नारायण गोपाल ।’ कार्यकक्षमा पस्दै नारायण गोपालले भने, ‘तपाइलाई भेटौं भनेर आएको ।’ ‘म चिन्छु नि ।’ नमस्कार गर्दै कालीप्रसादले भने । त्यही भेटमा नारायण गोपालले उनको कविता मन परेको प्रतिक्रिया दिए । कालीप्रसाद त्यो दिनलाई आफ्नो भाग्य बलेको दिनको रुपमा सम्झन्छन् । 

त्यतिबेला सूचना विभाग बागबजारको जामे मस्जिदनजिकै थियो । नारायणगोपाल सांस्कृतिक संस्थानमा थिए । त्यो भेटपछि नारायण गोपाल सुसेल्दै सूचना विभाग आउने क्रम बढ्यो । खेलप्रेमी नारायणगोपालसँग खेलकुदको कुरा त हुने नै भयो, ढोका थुनेर राजनीतिको कुरा पनि हुन्थ्यो । बिस्तारै कुराकानी गीतसंगीतका पनि हुन थाले । गीतमा चाख राख्ने उनले कतिपय गीतमा टिप्पणी गर्थे । नारायणगोपाल पनि प्रतिक्रिया लिइहरन्थे । यसैबीच एकदिन नारायणगोपालले सोधे, ‘तपाइलाई गीतबारे निकै राम्रो जानकारी रहेछ ।’ कालीप्रसादले पनि आफ्नो गिती पृष्ठभूमिबारे दुई मिनेट वक्तव्य दिए । नारायण गोपालले भने, ‘मलाई तपाईंको कुरा सुन्दा लागेको थियो, कतै न कतै संगीतसँग तपाईंको सम्बन्ध छ । ल रिजालजी, तपाईं गीत लेख्नुस् । म गाउँछु ।’ ‘म त खङ्रङ्गै भएँ । उनले बाटोमा गीत दिनेलाई ‘ह्या ह्या’ भन्दै फर्काइदिएको देखेको थिएँ । त्यस्तो मान्छेले गीत लेख भनेपछि मेरो सातो उड्यो ।’ उनले सम्झिए । उनले काँप्दै सम्झाउन थाले, ‘हेर्नुस्, मैले गीत लेख्न छाडेको त २० बर्ष हुन लागिसक्यो । अब कसरी सकुँला र ?’ ‘नो नो । तपाईं लेख्नुस् । तपाइले सक्नुहुन्छ ।’ नारायणगोपालको बुलन्द आवाजले उनी झनै तर्सिए । ‘कोशिस गर्छु नि त ।’ उनले भने । ‘कोशिस होइन, तपाईंले लेख्नैपर्छ । ल, म ५ दिनपछि आउँछु । अहिले हिडें ।’ आदेश दिइराखेर नारायणगोपाल हिँडे । ‘त्यसबेला मैले आफैंलाई धिक्कार्दै भनें– कहाँबाट मैले संगीतको कुरा गरेछु । यति राम्रो कुरा हुन्थ्यो, अब सम्बन्ध नै बिग्रने भयो ।’ उनले सम्झिए ।
०००

नारायणगोपालको आदेश पाएको हप्ताको शनिबारको कालीप्रसाद ढोका थुनेर घोरिए । बल्लतल्ल एउटा गीत लेखे । ‘आँगनमा आएर यसो चारैतिर हेरें । सोचें– लेख्न त लेखें । बिर्सिगएको रहेनछु । तर फेरि तुरुन्तै लाग्यो– होइन, यो एउटा गीतमात्रै त भएन भन्नुभयो भने के गर्ने ? त्यसपछि फेरि कोठा थुनेर घोत्लिएँ । अर्को पनि लेखें । अर्को दिन अफिस जाँदा दुइटै गीत लेखिएको पाना कोटको खल्तीमा हालें ।’

त्यो सम्झना कालीप्रसादको मनमा ताजै छ । नभन्दै, पाँच दिनमा नारायण गोपाल सूचना विभाग पुगे । पस्नेबित्तिकै सोधे, ‘भयो मैले भनेको कुरा ?’ ‘आफूलाई भने त्यो कुरा बिर्सिदिए पनि हुन्थ्यो भन्ने लागिरहेको थियो । मैले चिया त खाऔं भनें । तर उहाँले चिया होइन, तपाईंले लेख्नुभयो कि भएन भनेर खिरिल्याउन थााल्नुभयो । त्यसपछि मैले दिएँ । उहाँले चार-पाँच पटक पालैपालो पढ्नुभयो । अनि ‘ल म हिडें’ भनेर निस्कनुभयो । मलाई लाग्यो– लौ बर्बाद भयो । राम्रो भए पो प्रतिक्रिया दिनुहुन्थ्यो, नराम्रो भन्न नसकेर हिड्नुभयो भन्ने लाग्यो ।’ कालीप्रसादले त्यसबेलाको मानसिक तनाव सम्झे ।

त्यसपछि नारायणगोपाल एक हप्ता सूचना विभाग गएनन् । कालीप्रसादलाई तनाव भयो– राम्रो भइरहेको सम्बन्ध जान्ने हुँदाखेरि सकियो । तर हप्तादिनपछि नारायणगोपाल आए र क्यासेट दिदै भने, ‘रिजालजी यो सुन्नुस् त । कस्तो लाग्यो, भन्नुहोला ।’ चियापान भयो, तर धेरै कुरा भएन । नारायणगोपालले पनि उनको गीतबारे केही भनेनन्, उनको त सोध्ने हिम्मतै थिएन । सम्बन्ध बिग्रिगएको चाहिं रहेनछ भन्ने कुरालाई नै उनले खुशी माने । गीतबारे प्रतिक्रिया सोधिरहने भएकाले कसैको गीत क्यासेटमा होला भन्ने कालीप्रसादको अनुमान थियो । तर घर गएर सुनेपछि उनको अनुमान गलत निस्कियो । ती गीत उनकै थिए । एउटा, ‘आँखा छोपी नरोउ भनी भन्नुप-या छ’ । अर्को, ‘झरेको पातझैं उजाड मेरो जिन्दगी’ । पछि उनले थाहा पाए, ती दुवै गीत नारायणगोपालले एकै ‘टेक’मा रेकर्ड गरेका थिए । नत्र ‘फाइन’ काम गर्नुपर्ने नारायणगोपाल एउटा गीत रेकर्ड गर्न ५ ‘टेक’भन्दा बढी लिन्थे । त्यो गीत चर्चित भयो । नारायणगोपाल त उसै चर्चित थिए, कालीप्रसादको चर्चा पनि चुलियो । 
०००

चर्चामै रहेको बेला ‘आँखा छोपी नरोउ’ गीत एक्कासी बन्द भयो । कालीप्रसादले सोचे– मान्छेले मन पराउन छाडे क्यार । तर एउटा जमघटमा साहित्यकार धुस्वाँ सायमीको कुराले उनी तर्सिए । धुस्वाँले भने, ‘लौ, बाजे बाँच्यौ, बाँच्यौ ।’‘के भयो र ?’ उनले तर्सिदै सोधे । ‘अब कुरा बुझ । जे होस् बाँच्यौ ।’ धुस्वाँले यति भने । उनी भन्छन्, ‘पछि बुझ्दै जाँदा थाहा भयो, कालीप्रसादले सूचना विभागको डाइरेक्टर भएर पनि नेपाली जनता मुटुमाथि ढुंगा राखेर हाँसिरहेका छन् भन्ने वेदनापूर्ण क्रान्तिकारी गीत लेख्यो, त्यसैले उसलाई फासी दिनुपर्छ भनेर कुनै महापुरुषले विन्तीपत्र चढाएको रहेछ । राजाले कारवाही अघि बढाउन तोक लगाएका रहेछन् । सायमी जाँचबुझ केन्द्रमा काम गर्नुहुन्थ्यो । त्यो पत्र त्यहाँ पनि पुगेको रहेछ । तर सञ्चार सचिव तिर्थराज तुलाधर, रेडियो नेपालमा भोग्यप्रसाद शाहलगायतको समितिले त्यस्तो होइन भन्ने राय व्यक्त गरेपछि कारवाही रोकिएको रहेछ ।’  

त्यसबेला संयोगले बाँचेको बताउने कालीप्रसादको गितीयात्राले रफ्तार लियो । उनको गीत पुनः बज्न थाले । नारायण गोपालले उनलाई गीत लेख्न हौस्याए, उनले लेखेका सबै गीत गाए । ‘हरेक पटक आउँदा गीत छैन भन्नुहुन्थ्यो । लेख्नेबित्तिकै लैजानुहुन्थ्यो ।’ उनले सम्झिए । नारायणगोपालले उनलाई यति प्रेम गर्थे कि हरेक गीतमा उनैले संगीत गरे । उनले पनि नारायणगोपाल जीवित रहुन्जेल अरु कसैलाई गीत दिएनन् । अझ भनौं, दिने मौकै पाएनन् ।  बरु उनले नारायणगोपालको संगीतमा गीत लेखे, उनले दिएको भावमा पनि गीत लेखे । ‘वनै खायो डँढेलोले, मनै खायो त्यै मोरीको पापी मायाले’ गीत नारायण गोपालले पहिले संगीत सिर्जना गरेका थिए । त्यसमा उनले गीत लेखे । ‘झर्यो जिन्दगी फुट्यो जिन्दगी’ गीत पनि त्यसरी नै लेखेका हुन् ।

नारायणगोपालले गजल ‘प्याट्रन’को गीत चाहियो भनेपछि ‘माया गर्नेको चोखो माया पनि देखियो’ गीत लेखे । कालीप्रसाद आफ्नो ‘गितकार’लाई नारायणगोपालले पुनर्जन्म गराइदिएको मान्छन् । ‘उहाँ अध्ययनशील हुनुहुन्थ्यो । शब्दको शक्ति उहाँलाई थाहा थियो र त्यसलाई न्याय गर्ने प्रतिभाको खोजीमा रहनुहुन्थ्यो । त्यसैले जो पायो उहीको गीत गाउनुहुन्नथ्यो । साहित्यसँग मिलेर संगीतमा क्रान्ति गर्नुपर्छ भन्नुहुन्थ्यो ।’ उनी भन्छन् । नारायगोपाल जिवीत रहेसम्म उनैका लागि गीत लेखेको कालीप्रसाद आफ्नो एउटैमात्रै दुर्भाग्य मान्छन्, ‘मैले नारायणगोपाललाई ढिलो भेटें ।’ पक्कै पनि, छिटो भेटिएको भए नेपाली सङ्गीतले आझ धेरै कालजयी गीत पाउँथ्यो l
܀܀܀