मण्डलामा के गर्दैछन् मनराज ?

मण्डलामा के गर्दैछन् मनराज ?

भदौ २१, २०७५ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

साँझको साँढे पाँच बजेको छ । मण्डला थिएटरको आँगनमा छु । आँगनमा भीडभाड छ । भीडको बीचमा कुप्रिएको ढाडमा पत्र–मञ्जुषा बोकेका हुलाकी देखा पर्छन् । उनको शरीरको ढाँचाकाँचा र फुल्दै गएको कपालले नेपालको हुलाक सम्झाउँछ । उनको मुहार एकलासमा छोडिएको बुढो पत्र–मञ्जुषा जस्तो उदास देखिन्छ, ओठमा शुष्कता फैलिएको छ ।
उनी चिठी बाँडिरहेका छन् । मलाई पनि एउटा खाम थमाउँछन्, उनीतिर हेरेर हाँस्न खोज्छु, केही जिज्ञासा राख्न खोज्छु । तर उनको अनुहारको भंगिमा हेर्दा लाग्छ, उनको ओठ हाँसोको लागि कुनै विरानो ठाउँ हो । जसले निकै बर्षअघि नै त्यो ठाउँ छोडिगएको छ ।

जसै म केही जिज्ञासा राख्न खोज्छु र उनको आँखामा हेर्छु । ओहो ! के हो यस्तो ? उनका आँखामा भर्भराउँदो आगोको फिलुंगाजस्ता प्रश्नहरू देखिन्छन् । हठात् हच्किन्छु । उनी भीडमा चिठी दिँदै कता बिलाइजान्छन् । चिठी नपढिकनै मण्डलाको ढोकाबाट भित्र हुत्तिन्छु । किनकि खाममा लेखिएको छ– खबर हराएको चिठी । यो नामले हृदयमा एकप्रकारको अत्यास पैदा गरिदिन्छ । जस्तो कि टाउको नभएको मान्छे भनेजस्तो ।
०००

हृदयमा एकान्तको त्रासदी फैलाउने आवाज आइरहेको छ पृष्ठभूमिबाट । थिएटरको दर्शकदीर्घाको एउटा बेन्चमा अडिन्छु म । केही छिनको कल्याङमल्याङपछि घुर्मैलो प्रकाशमा तिनै हुलाकी प्रकट हुन्छन् । उनी केही बोल्न थाल्छन्, म भने उनका तिनै शुष्क ओठ र लाभाजस्तो प्रश्नले भरिएका आँखा हेरेर सुस्केरा हाल्छु । उनी भने अब सुरु हुने नाटक– ‘खबर हराएको चिठी’बारे बताएर जान्छन् । पृष्ठभूमिमा बतास चलिरहेको, कतै पर घन्टा घन्किरहेकोजस्तो आवाज फैलिन्छ ।
०००

प्रकाशको तेज अलिकमात्रै बढी छ । अपरान्हको समयबोध हुन्छ । तर प्रकाशको रङ खरानी रङसँग मिल्दो छ ।
परबाट कसैले उनलाई बोलाउँछ– मनराज दाइऽऽऽ । घरको आँगनमा बसेर खुर्पा उद्ध्याइरहेका उनको नाम मनराज रहेछ । थाहा लाग्छ– उनी गाउँको कटवाल हुन् ।
हुलाकीकै वयका उनको गति पनि उस्तै सुस्त छ । कतै हराइरहेका, केही खोजिरहेका, केही सोधिरहेका । अनुहारमा उदासी र ओठमा शुष्कता पनि त हुलाकीको जस्तै छ ।
उनको कथाभित्र पस्छु ।
०००

मनराज, छोरो पर्खिरहेको एक बाउ । सन्तानको प्रतिक्षा हाम्रो समाजमा एउटा रोमान्च हो । नेपाली समाजमा सन्तान टुकुटुकु हिँडेर आफूतिर आइरहेको सपना हो । तर जब आफ्नै अगाडि हुर्किखेलिरहेको सपना बेपत्ता हुन्छ, त्यसले बनाउने मनोदशाको विक्षिप्तता कल्पनातीत छ । त्यही कल्पनातीत मनस्थितिबाट गुज्रिरहेका मनराज भेट्छु नाटकमा ।
जनयुद्ध नेपाली राजनीतिको इतिहासमा उथलपुथलकारी समय हो । त्यही समयको ऐना हुन् मनराज । जहाँ उनका हाँस्दै–खेल्दै हुर्किरहेका सपनाहरू बलात् गायब पारिए । कसैलाई त्योबेलाको सत्ताले, कसैलाई योबेलाको सत्ताले । सत्ताले उनीहरू ज्यूँदै राखेको छ कि मार्यो ? ज्यूँदै छन् भने कहाँ छन्, मारिए भने कसले मा¥यो, कहाँ–कहिले कसरी ? मनराज र मनराजहरूको आँखामा भरिएका आगो यिनै चिसा कोइलाजस्ता प्रश्नहरू सल्किएर बनेका हुन् ।
छोराको खबर पर्खिरहेका मनराजले जे–जस्तो खबर पाउँछन्, त्यसमा केवल राजनीति छ, कतै पनि उनको जीवनको सम्बोधन छैन । के राजनीति भनेको जीवनलाई सम्बोधन नगरीकनै गर्न सकिन्छ, मनलााई सम्बोधन नगरीकनै हुन्छ ? सत्ताधारीहरूको व्यवहारले त त्यही भन्छ, तर मनराजको जीवनले त त्यसो भन्दैन । उनको कथामा सुन्दा पनि करौंतीले काटेजस्तो मन काटिन्छ त । त्यसैले भन्दा हुन् मनराज, मन त नभएकै जाती !
मनराजका वरिपरि उनको छोराको हाँस्दो–खेल्दो अनुहार त खेलिरहन्छ नै । त्यससँगै डोकोमा घर बोकेर हिँडिरहेका छरछिमेकीको दृश्यले सताउँछ । तर कुन मनले थामिएका छन् उनी गाउँमै ? लाग्छ आस्था र विस्वासका सतीसाल त यी हुन् । उनले गाउँको मृत्यु छेकेका छन्, गाउँको मुटुलाई जोगाएका छन् । गाउँ उनीसँगै बोलिरहेको छ । मान्छेसँग नभए कुखुराका चल्लासँगै सही । चरक्कै छाती चिरिन्छ यो दृश्यले ।
गाउँमा चिलबाट चल्ला जोगाउन उनले हाँको हालेर गाउँलेलाई सचेत गराउनुपर्छ मनराजले । तर उनी आफैंले भने आफ्ना चल्ला (सन्तान) जोगाउन सकेनन् । द्वन्द्वोत्तर नेपाली समाजमा यो हृदय हल्लाउने विम्ब हो । मनराज सुदुरपश्चिमको गाउँमा यही दुर्दान्त विम्ब बाँचिरहेका छन् ।
०००

नाटकमा यो विम्ब बाँच्ने कलाकार हुन् केदार श्रेष्ठ । उनी आफूभित्र मनराजलाई बोकेर मञ्चमा बाँच्छन् । मनराजकै समभावमा कलाकार रेनुका कार्कीलाई उत्तिकै अब्बल अवतारमा देखिन्छ ।
मण्डलामा द्वन्द्वोत्तर नेपाली समाजको दुर्दान्त विम्ब मनराज के गर्दैछन् भन्ने जान्न मनैबाट हिजो र आजका सत्ताधारीलाई बिशेष आमन्त्रण गर्छु । नाटकमा मनराजबाहेक अरूका कथा पनि छन् । म भने मनराजले भोगिरहेको जीवनलाई अनुभूत गर्दा नै आद्र भइसकेको छु ।
क्रमशः
(नोट: नाटक मण्डला थिएटर, अनामनगर पूर्वी गेटमा भदौ २४ गतेसम्म मञ्चन हुनेछ)

Khabar Haraeko Chiththi