आँसुको दहमा फुल्छ समृद्धिको कमल ?

आँसुको दहमा फुल्छ समृद्धिको कमल ?

भदौ २४, २०७५ 0 By कला अनुरागी
शेयर गर्नुहोस्

भाग–२ (पहिलो भागको लागि क्लिक गर्नुहोस)
मनराजको मन रोइरहेको परैबाट सुनिन्छ । आँसु ? आँसु त उनको आँखाबाट आउनै छोडिसक्यो । उनका सुख्खा आँखा नदीमा पानी सुकेर बनेको बगरजस्तै छ । बगिरहेको नदीलाई बगर बनाएर यो देशको सत्ता कसरी सुतिरहन सकेको होला ? प्रश्न होइन, प्रश्नको खहरे नै उर्लिन्छ । तर आफ्नो ओछ्यान सुरक्षित रहेसम्म सायदै कोही खहरेको आवाजले तर्सिएला ! मनराजका सुख्खा आँखाबाट सुरक्षित महसुस गरिरहेको सत्तालाई बगाउने खहरे कतै हुर्किरहेको पनि त हुनसक्छ । यो कुराबाट कतिञ्जेल बेखबर रहिरहने होला ?
‘खबर हराएको चिट्ठी’ नाटकको पहिलो कथाले असंख्य प्रश्न र हृदयभरि आद्रता छोडिरहेकै छ । लगत्तै मञ्चमा मुर्चुङ्गाको धून प्रवेश गर्छ । दर्शकको मनलाई आद्रताबाट अलिकति भए पनि मुक्त गरिदिउँ भन्ने नाटकको सुर होला ।
०००

एउटा खुसी बाँचिरहेको जोडी हुन्छ पूर्वको गाउँमा । श्रीमान गाउँका सिलीमाङ्पा हुन् । उनी नभई गाउँमा नाच सुरु नै हुँदैन । तर मनराजले बाँचिरहेको समयको छालले उनीहरूलाई पनि छोड्दैन । जीवनको आभामय उमेरमा सिलीमाङ्पा नाचकै बेलामा लगेर बेपत्ता पारिन्छन् । नेपालजस्तो सांस्कृतिक मुलुकमा यसो हुन सामान्य होइन ।
जनयुद्धको समयमा सबैभन्दा चर्को मुद्दा थियो परिवर्तनको । जसबाट बढी प्रभावित भयो संस्कृति । संस्कृति परिवर्तनको नाममा के–केमात्रै गरिएनन् ! आम जनता त्यसको भुक्तभोगी छ । त्यसले मानिसको दैनिकीमा परिवर्तन गरिदियो । मनाइ आएको चाडपर्व, चलाइआएको रीतिथीति बन्द भए ।
सिलीमाङ्पा बेपत्ता भएपछि गाउँमा नाचको रौनक सकिन्छ । जीवन एकरस र उदासीले ढाकिन्छ । उनकी जीवनसंगी फुर्लुङ् बुन्दै सम्झनामा दिनरात बाटोमा आँखा ओछ्याउँछिन् । गाउँलेहरू मियोबिनाका भएका छन् । आखिर मान्छे भए न चाडपर्वको सुगन्ध फैलिँदोरहेछ मौसममा, नत्र त बैशाख आए पनि मंसिर आए पनि निर्जन दिनहरूको रंगरूप बदलिँदो रहेनछ । सपाट दिनहरूले भरिएको समयको उदास जीवनचर्या कहरको घसिट्याई देखिँदोरहेछ ।
युद्धको समयमा संस्कृतिमाथि गरिएका प्रहारलाई एक हदसम्म मानिसहरूले पचाउँदै गएका थिए । आखिरमा सबै पीडामा आशाको घेरो हुँदो हो । आशा थियो, यो सबै प्रहार पुरानोलाई भत्काउनका लागि हो । त्यसको सट्टामा जीवनलाई हरियो बनाउने नयाँ संस्कृतिको बिउ कतै हुर्कंदै होला लाग्दैथियो मान्छेहरूलाई । त्यसै भनेथे युद्ध चलाउनेहरूले । त्यसैको प्रतीक्षामा जीवनको गोहोमा घिस्रिँदै

Photo © Photo Mahal

थिए जनता ।
युद्ध चलाउनेहरूले भनेजस्तो समय आयो । युद्ध सकियो । युद्धका नाइकेहरू सत्ताको नाइके बने । तर कतै हुर्किरहेको भनिएको जीवनलाई हराभरा बनाउने संस्कृतिको बीउको नामनिशाना देखिएन । संस्कृतिको धारा पुरानै पानी बोकेर देखिन थाले । अनि त पीडाको आहत तिनलेमात्रै भोग्नुप-यो, जसले आफ्नो सिली माङ्पा गुमाए । आफ्नो जीवनको सबैभन्दा नजीकको मान्छे गुमाए । जीवनको मुर्चुङ्गा धून गुमाए ।
आफ्नो लागि जीवनको त्यति धेरै क्षेत्रफल गुमाउनेहरूलाई फर्केर हेर्न चाहेन सत्ताले । बिडम्बना ! सत्ताको मुर्चुङ्गा–धून निकै कर्कश छ । यस्तो बेला जनताले आफ्नो धून खोज्न आफैं मुर्चुङ्गा बजाउनु छ । अब ढोल बजाउनुपर्छ र फेरि पनि सिलीमाङ्पा निर्माण गर्नुपर्छ । नाटकमा आवाज यही सुन्छु । कलाकार पशुपति राईले नाटकलाई जीवन दिएकी छिन् यहाँ ।
०००

नाटकमा चित्रकथा सुरु हुन्छ । ठूलो टीका निधारमा लगाउने आमाको चित्र कोरिरहेको युवक त्यही साँझ गायब हुन्छन् । गायब छोरालाई खोज्दै उनका बुबा–आमा कहाँ–कहाँ धाउँदैनन् ! तर राज्य त निरन्तर आफ्नै -यापमा रमाइरहेको छ । छोरो गायब हुनुको पीडाभन्दा त्यो सत्ताको धून बढी पीडादायक छ । त्यही चित्कार नाटकमा सुनिन्छ ।
तर नाटकले त्यो पीडालाई कलाको औषधी घोलेर प्रस्तुत गरेको छ । चित्रकार बाबुले छोराको उमेरअनुसार चित्र बनाएर जुन कथानकको विकास गर्छन्, त्यसले हृदयलाई काव्यिक आनन्द दिँदै चरक्कै चर्काइदिन्छ । नाटकको यो भाग हेर्दा इटालियन सिनेमा ‘लाइफ इज ब्युटिफुल’को आयो । कलाकार सुदाम सिके त्यही

Photo © Photo Mahal

सिनेमाको नायक प्रतित भए मेरो हृदयमा । कलाकार आकांक्षा कार्कीले एउटा सपनाजस्तो सन्तान गुमाएकी आमालाई साक्षात मञ्चमा उतारेको लागिरह्यो । उनीसँगै अनेक पलमा द्रवित भइरहेँ ।

०००

नाटक चल्दै छ । छोरी हुर्काउँदै श्रीमान पर्खिरहेकी सरिता मञ्चमा देखेपछि मेरोअघि अनेक त्यस्ता प्रतिनिधिको वास्तविक कथा घुम्न थाले । ‘म सधवा हुँ कि विधवा ? मेरो दिमागमा हरेकपल प्रश्न खेलिरहन्छ । यही प्रश्नको जवाफ खोज्दै हिँडेको १२ वर्ष लागिसक्यो । उत्तर पाएर मर्न पाए हुन्थ्यो, अरू केही इच्छा छैन’, यसो भनिसक्दा बनेपाकी मनकुमारी रञ्जितले आँसु रोक्न सक्दिनन् । केहीबेरपछि सानो र काँप्दो स्वरमा भन्छिन्, ‘छोराछोरी पनि कहिले भन्छन्– बुबा भइदिएको भए यस्तो हुँदैनथ्यो । कहिले भन्छन्– बुबाको कुरै नगर्नुस् । हामीले त बिर्सिसक्यौं । छोराछोरीले सम्झिँदा पनि पीर, नसम्झिँदा पनि पीर ।’
श्रीमान राजभाइ रञ्जितलाई ३० भदौ ०६२ बाट तत्कालिन विद्रोही माओवादीले बेपत्ता पारेपछि उनी पीरैपीरमा छिन् । एमालेबाट माले हुँदै माओवादीको राजनीतिमा हाम फालेका राजभाइलाई माओवादीले नै बेपत्ता पार्लान् भन्ने उनले सोचेकी पनि थिइनन् । त्यसअघि नै माओवादी भएको आरोपमा राजभाइलाई सेनाले पक्राउ गरेर २१ महिना भैरवनाथ गणमा राखेको थियो । त्यहाँबाट निस्कनेबित्तिकै पार्टी सम्पर्कमा पुगेका उनलाई माओवादीले नै बेपत्ता बनायो । लामो समयसम्म घरको सम्पर्कमा नआएपछि मनकुमारी श्रीमान खोज्न थालिन् । माओवादीका विभिन्न नेतालाई भेट्न पुगिन् । कसैले थाहै नभएको कुरा गरे, कतिले मारिसकिएको निर्मम जवाफ दिए । तर उनीसँग पत्याउनका लागि कुनै आधार छैन अहिलेसम्म पनि । त्यसैले अझै पनि उनी श्रीमान भेटिने आशामा छिन् । ‘अहिलेसम्म हिम्मत हारेकी थिइनँ । तर जब बाह्र वर्ष लाग्यो, त्यसपछिचाहिँ मलाई हारेको अनुभव भइरहेको छ,’ फेरि भक्कानिँदै उनले भन्छिन् ।
०००

सोलुखुम्बु, नेचाकी टीका बास्तोलाले १७ मंसिर ०६० देखि श्रीमान भिम गिरीलाई भेटेकी छैनन् । बझाङ मटेलाका गिरी र उनी दुवैजना काठमाडौंमै बस्थे, माओवादी राजनीतिमा सक्रिय थिए । चार वर्षको प्रेमपछि विवाह गरेको १० महिनामात्रै भएको थियो । युद्धकालीन समयमा औंलामा गन्न सकिनेमात्रै भेट भएका थिए । त्यसदिन ‘बेलुका भेट्छु है’ भनेर छुट्टिएको श्रीमानलाई सेनाले पक्राउ गरेको सूचना पाइन् । त्यसपछि उनी फर्केर आएनन् ।
‘मलाई उनी जिउँदै छन् भन्ने लागिरहन्छ । फर्केर आउने आशा मार्न सकेकी छैन,’ उनी भावुक हुँदै भन्छिन्, ‘उनीसँगै हिँडेका गल्लीमा हिँड्दा पछाडिबाट बोलाउँछन् कि जस्तो लाग्छ । कुनै मोडमा जम्काभेट भइहाल्छ किजस्तो लाग्छ ।’
बेपत्ताको मुद्दालाई आफैं राजनीति–सचेत भएका कारण सामान्य जीवनमा रहेका महिलाले भन्दा फरक दृष्टिकोणले हेरे पनि पीडा त उनलाई पनि उत्तिकै छ । ‘तपाईको परिवारमा को को छन् ?’ भन्ने प्रश्नले उनलाई निकै पीडा दिन्छ । उनले जेठाजूका छोरा–छोरीलाई आफ्नै छोरा–छोरीसरह हुकाईन्, बढाइन्, पढाइन् । परिवारसँग पनि सम्बन्ध सुमधुर छ । तैपनि श्रीमान साथमा नहुँदा, आफैंले जन्माएको छोराछोरी नहुँदा परिवारको सनातन परिभाषाको आफू बाहिरै रहेको अनुभूतिले उनलाई घोचिरहन्छ ।
०००

Photo © Photo Mahal

नैकाप पुरानोभञ्ज्याङकी शोभा भट्टको जीवन श्रीमान बेपत्ता भएदेखि अलिनो नै बितिरहेको छ । आँखाको डिलसम्म आएको आँशु रोक्न एकैछिन अडिएर उनी भन्छिन्, ‘जुन दिन उहाँलाई घरबाट लगियो, त्यस दिनदेखि हाम्रो खुसी हरायो, खुसी भरिएको हाँसो हरायो ।’
१८ असोल ०५८ को बिहान ८ बजेतिर आफूलाई क्रान्तिकारी विद्यार्थी बताउने समूहले उनको श्रीमान श्यामलाई ‘केही सल्लाह छ’ भनी लगेको थियो । ‘के कुरा रहेछ, म पुगेर आइहाल्छु है’, भनेर पाकेको भात छोडेर हिँडेका श्रीमान अहिलेसम्म फर्किएका छैनन् । श्रीमानको खोजीमा उनी मानवअधिकारवादी संघसंस्थादेखि राज्यका अनेक निकाय धाइन् । त्यसैबीचमा छोराकै पीरले गलेकी सासू बितिन्, त्यसको केही समयमै ससुरा पनि बिते । त्यसपछि शोभा एक्लै श्यामको खोजीमा भौंतारिइरहेकी छिन् । उनलाई अझै पनि ‘किन पीर गरेकी, म आइहालें नि’ भनेर श्रीमान टुप्लुक्क आइपुग्लान् भन्ने आशा लाग्छ । उनको श्रीमानलाई बेपत्ता पार्ने पार्टी माओवादीको नेतृत्वमा पटक–पटक सरकार बन्यो । अहिले एकीकृत भएपछि पनि त्यही पार्टीकै नेतृत्वमा बलियो सरकार छ । उनी त्यतिबेलाका युद्धको नेतृत्व गरिरहेका नेताहरूलाई प्रश्न गर्छिन्, ‘तपाईंको छोरा एक घन्टा हराउँने हो भने तपाईंलाई कति चिन्ता हुन्छ, सोच्नुस् त । मेरो श्रीमान १५ वर्षदेखि तपाईंका कार्यकर्ताले बेपत्ता पारेका छन् । तपाईंलाई केही चिन्ता लाग्दैन ?’
०००

गोरखा हर्मीकी विमला ढकालको पनि राज्यलाई उस्तै प्रश्न छ । २४ पुस ०५५ मो तनहुँको खैरेनीटार जाम्दीमा नुहाउँदै गरेको बेला सुरक्षाकर्मीको पक्राउमा परेका उनका श्रीमान राजेन्द्र कहाँ छन् ? राज्यले अझै जवाफ दिन सकेको छैन । श्रीमान बेपत्ता भएपछि सुरक्षा निकायले आफूलाई दिन थालेको चरम दुःख दिन सहन नसकी दुई छोरी र एक छोरा च्यापेर उनी काठमाडौं आइन् । एक्लै जीवन संघर्षमा डटिरहँदा उनलाई दुःखका भारी झन्–झन् गहु्रँगो हुँदै गइरहेको महसुस हुन्छ । ‘छोराछोरीको माग बढ्दो छ । पूरा गर्न एक्लैले मिहिनेत गर्नुपर्छ । मनको दुःख बिसाउने ठाउँ छैन । अझै श्रीमान आउनुहोला र मनको दुःख कहन पाइएला भन्ने आशामा बाँचिरहेकी छु,’ उनी भावुक हुन्छिन् ।
उनीसँगै गोरखापत्र संस्थानमै कार्यरत सविता बस्नेतको पनि पीडा उस्तै छ । पत्रकारितामा संलग्न श्रीमान मिलन नेपालीलाई सात जेठ ०५६ मा सुरक्षाकर्मीले पक्राउ गरेर लगेको उनैले देखेकी हुन् । भोलिपल्टदेखि नै श्रीमानको खोजीमा डटेकी उनले तीन हप्तापछि प्रहरी मुख्यालय नक्सालमा श्रीमानलाई देखिन् । तर भेट्न पाइनन् । त्यसको दुई दिनपछि श्रीमानका लागि सामान लगिदिन भने अनुमति पाइन् । केही नयाँ कपडा छोडिदिएर उनले लगाएको कपडा फिर्ता पाएकी उनले त्यसपछि श्रीमानको कहाँ छन् पत्तो पाएकी छैनन् । ‘श्रीमानलाई आफ्नै आँखाअगाडि राज्यले लगेको देखेकी हुँ । त्यसैले सुरक्षित हुनुहोला भन्ने लाग्छ । यसरी आफ्नै नागरिकलाई राज्यले कसरी बेपत्ता बनाउन मिल्छ ?,’ उनको प्रश्न छ ।
०००

भक्तपुर सिर्जनानगरमा हुर्किएकी रुबी श्रेष्ठको १५ वर्षकै उमेरमा विवाह भयो ललितपुर ठैबका राजेन्द्र मालीसँग । तर वैबाहिक जीवनको खुसीका रूपमा छोरी जन्मिएको एक वर्ष पनि नपुग्दै उनको श्रीमानलाई सेनाले पक्राउ ग¥यो । सानै उमेरमा विवाह गरेपछि साथी र अभिभावक दुवै बनेका पति बेपत्ता भएपछि उनले अनेक मानसिक कठिनाइ भोगिन् । केही समयसम्म श्रीमानलाई भैरवनाथ गणमा राखिएको हल्ला सुनेकी उनले त्यसपछि श्रीमानको खुटखबर पाएकी छैनन् । नौ कक्षामा पढिरहेकी छोरी हुर्काएर बसिरहेकी उनले आफ्नै सम्पत्ति उपयोग गर्न पनि परिवारसँग मुद्दा लड्नु पर्यो ।
हुर्कंदै गरेकी छोरीले बाबाबारे अनेक प्रश्नमा उनी नाजवाफ हुन्छिन् । उनी ती प्रश्नको जवाफ दिन श्रीमान फर्कने दिन पर्खेर बसिरहेकी छिन् । तर पर्खाइ सजिलो छैन । दैनिकी चलाउन गर्नुपर्ने संघर्ष एकातिर छ, त्यो संघर्षमा भोग्नुपर्ने उत्पीडन अर्कातिर छ । ‘कतिपय स्थानमा काम गर्न जाँदा हाकिमको खराब आँखाको आभास पाएर छोडेकी छु’, उनले पीडा पोखिन् । उनी पनि श्रीमान फर्कनेमा आशावादी छिन् । भन्छिन्, ‘एक मनले त भन्छ, अब के फर्किएलान् र ? तर अर्को मन मान्दैन । कतै केही बार्गेनिङ गर्न भए पनि लुकाएर राखिएको छ कि जस्तो लाग्छ ।’
०००

Photo © Photo Mahal

चितवनबाट काठमाडौं किर्तिपुर आएर बसेकी शर्मिला त्रिपाठी श्रीमान ज्ञानेन्द्रको सम्पर्कमै थिइन् । नौ असोज ०६० बेलुकी भने श्रीमान फोन उठेन । उनलाई पक्राउ परेको शंका लाग्यो । पहिला–पहिला पनि पक्राउ परिरहने हुनाले उनलाई धेरै चिन्ता त लागेन । तर पनि सम्पर्क गरिरहिन् । तर बेलुका श्रीमानको नम्बरबाट अर्कै मानिसले फोन गरेपछि उनी आत्तिइन् । यतिमात्रै भन्न भ्याइन्, ‘तपाईंहरूले मेरो मान्छेलाई पक्राउ गर्नुभएछ । सुरक्षित राखिदिनुहोला ।’
तर उनी सुरक्षित छन् कि छैनन् भन्ने जानकारी पाउन सकेकी छैनन् शर्मिलाले । पक्राउ परेको निश्चय भएपछि पर्सिपल्ट नै बन्दी प्रत्यक्षीकरणको मुद्दा हालिन् । बीचमा कहिले भक्तपुर, कहिले अन्य ब्यारेकमा राखेको खबर आइरहन्थ्यो । भैरवनाथ गणमा राखिएको हल्ला पनि सुनेकी हुन् । त्यसपछि कुनै खबर पाएकी छैनन् । उनका हरेक दिन श्रीमान पर्खेर नै बित्छ । श्रीमान बेपत्ता भएपछि आफूले झेलेको आर्थिक, सामाजिक र मनोवैज्ञानिक तनावलाई शब्दमा व्यक्त गर्न कठिन लाग्छ उनलाई । श्रीमान आउने आशाले नै आफूलाई बचाइराखेको उनको ठहर छ । ‘आउनुहुन्न भन्ने त लाग्दै लाग्दैन । न कतै गएर बसको हो कि, राज्यले नै कतै राखिराखेको छ कि जस्तो लाग्छ । अहिले पनि राती गेट ढकढक भयो भने आउनुभएछ कि भनेर झ्याल खोलेर हेर्न मन लाग्छ । अरुको गेट बज्दा पनि आफ्नै बज्यो कि जस्तो लाग्छ ।’
ओहो, यस्तो जीवन कतिले भोगिरहेका छन् यो समाजमा । सरिता पनि त नाटकमा श्रीमानको सर्टमा उनलाई बोध गरिबसेकी छन् । मन धानिँदैन यस्तो दृश्यमा ।
नाटकको दृश्य हो या वास्तविकता ? नाटकभर म भ्रममा परिरहन्छु । तर मण्डला नाटकघरपछाडि सिंहदरबार छ, के त्यो सिंहदरबारले यो दुवै कुरालाई भ्रम ठानिरहेको छ ? एकदम त्यस्तै लाग्छ । यो खतरनाक परिस्थिति हो ।
युद्धरत पक्षहरूले ०६३ मंसिर पाँच गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै बुँदा नं. ५.२.३ मा लेखे– दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिहरूको बारे सम्झौता भएको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारलाई जानकारी गराइनेछ । १२ बर्ष बित्यो त्यसो भनेको । तर त्यो कागजमामात्रै सीमित भइसक्यो । बेपत्ता भनिएको केही व्यक्ति फर्केर पनि आए यसबीचमा । यसले आशालाई जगाइराख्यो, तर सत्ताले भने सँधै निराशमात्रै पारिरहेको छ । यही कुरा नाटक ‘खबर हराएको चिठी’ले बोलिरहेको छ ।
०००

Photo © Photo Mahal

यो नाटकको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको उठाएको मुद्दा हो । राज्यले भरपूर वेवास्ता गरिरहेको र पीडितहरू सहाराविहीनजस्तो देखिएको मुद्दामा नेपाली रङ्गमञ्चको वर्तमानमा सक्रिय १२ जना निर्देशकले यो नाटक तयार पारेका हुन् । मण्डला थिएटरको नेतृत्वमा दुई चरणमा गरिएको कार्यशालामा सहभागी भएका निर्देशकहरूले यो एजेण्डलाई साझा बनाएर प्रस्तुत गरेका छन् । यसले नेपाली रङ्गमञ्च समाजप्रति जिम्मेवार छ र संवेदनशील पनि उत्तिकै छ भन्ने सन्देश प्रवाह गरेको छ ।
नाटकको कलात्मक पक्षमा त म धेरै जान्न । किनकि यो कथाले खोज्ने क्राफ्ट कस्तो हुन सक्थ्यो भन्नेमा बहस गर्न सकिने स्पेस छ । प्रकाश र रङ्गको संयोजनमा काम गर्न सकिने ठाउँमा बाँकी छ । तर कहिलेकाहीँ बिषयकोे गहनताले यस्ता बिषयमा अहिले नबोलौं भन्ने लागिदिँदो रहेछ ।
नाटकमा मलाई लागेको कुराचाहिँ यसले बेपत्ताको मुद्दाचाहिँ बेपत्तैसँग उठाइदिएको छ । तर त्यसको कारण खोज्ने लेठोचाहिँ खासै गरेको देखिँदैन । कारण खोज्ने प्रश्न गर्दा कतिले सन्तुलन वा कलाको धर्म निर्वाह गरेको भन्ने उत्तर पनि पाउने गर्छु कताकति । तर मलाई त्यसले चित्त बुझ्दैन । सन्तुलन भनेको ठूलो साहस हो । सही कुरा मज्जाले भनिदिन सक्नुमै सन्तुलनको शक्ति लुकेको हुन्छ । किन बेपत्ताको मुद्दालाई राज्यले यसरी बेवास्ता गरिरहेको छ भनेर नाटकमा मज्जाले भनिदिनुपथ्र्यो भन्ने मेरो आग्रह हो ।
अर्को खड्केको कुराचाहिँ यो नाटकमा बेपत्ता हुनेचाहिँ पुरुषमात्रै हुन्जसोगरी प्रस्तुत गरिएको छ । यो नाटकमा एउटामात्रै कथा छैन, प्रतिनिधि बनाउनको लागि चार घटना छानिएका छन् । त्यसमा महिला पनि बेपत्ता भएको कुराचाहिँ देखाइएको छैन । तर तथ्यांक हेर्ने हो भने बेपत्ता हुनेहरूको संख्यामा महिलाको संख्या १० प्रतिशतको हाराहारीमा भेटिन्छ । यो कुरालाई पनि देखाउन सकिएको भए एक महिला बेपत्ता हुँदा समाज र परिवारमा देखिने प्रतिक्रिया र संवेदनाको सन्तुलित चित्रण हुन्थ्यो होला । तर नाटकले युद्धमा पुरूष बेपत्ता हुँदाचाहिँ महिलाले भोग्नुपरेको पीडा र उत्पीडनलाई एक हदसम्म चित्रण गरेको छ ।
त्यस्तै नाटकको भौगोलिक–सांस्कृतिक छनोटका सन्दर्भलाई पनि केही बलियो बनाउन सकिन्थ्यो । जस्तो कि सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया, बाँके अनि सबैभन्दा बढी बेपत्ता पारिएको जाति थारूको सन्दर्भ कतैबाट आएको भए त्यसले अनुसन्धानात्मक पक्षलाई बलियो बनाउँथ्यो कि भन्ने लाग्छ ।
०००

नाटकबारे भन्नुपर्ने कुरा लेखेरै सकिएलान् भन्ने लागेन यति लेखिसक्दा पनि । त्यसैले अहिले बिट मार्न थाल्छु । बिसौनीमा एउटा कुरा, अहिले देशमा समृद्ध नेपाल, सुखी नेपालीको नारा घन्काइरहेको छ राज्य । रङ्गमञ्चले उठाइरहेको यो मुद्दाले त्यो नारालाई गिज्याइरहेको छ । सोधिरहेको छ, नागरिकको आँसुमाथि समृद्धिको कमल फुल्छ ? यो प्रश्न साहस हो नेपाली रङ्गमञ्चको, अनि राज्यको लागि लज्जा । रङ्गमञ्चले यो साहस कायम राखोस् । राज्यले लज्जाबोध गरिदिए त नेपाली कला कति सुखी हुन्थ्यो होला !
***
(नाटकको अन्तिम मञ्चन आज (२४ भदौ) साँझ साँढे ५ बजे मण्डला नाटकघर, अनामनगर, पूर्वी गेटमा हुँदैछ)