हल्खोरीरामको पंखा

हल्खोरीरामको पंखा

जेष्ठ १७, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

पुर्ख्यौली घर पोखरा भए पनि बुबाको कर्मथलो धरान भएकाले त्यतै हुर्केका कृष्ण आचार्य ०२४ सालमा कलेज पढ्न काठमाडौं आए । पोखरामा जन्मिएका उनी फेवातालको कञ्चन पानीमा पौडिने माछा जसरी जीवन स्वतन्त्र बाँच्न चाहन्थे । तर इच्छा एकातिर, हिँड्ने बाटो अर्कै भइदियो । आमाले डाक्टर बन्न पठाएका उनी उद्यमी भएर निस्के ।

सहर भन्नु कंक्रिटको जंगल न छ, भर्खर कलेज पढ्न आउँदा देखेका हरिया खेतहरू, फाँटहरू अब कहाँ देख्न पाउनु ? मात्र उनको सम्झनामा सीमित थिए । 
नेपालमै पहिलोपल्ट ग्राहकलाई ‘रारा’ चाउचाउको स्वाद पस्किने उनी पछिल्ला दिनमा जलविद्युत् उत्पादनको ध्याउन्नमा छन् ।

उनी पिपुल्स पावर लिमिटेडका अध्यक्ष हुन् र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था– इप्पानको अध्यक्ष बनेका छन् । जब व्यावसायिक कार्यबाट झिँजो लाग्छ, कार्यकक्षको झ्यालबाट सहर हेर्छन् । सिसैसिसाको नौतले अग्लो व्यापारिक भवनको छैटौं तलाबाट देखिने सहर–दृश्यले उनको दिमागका रिल बेला बेला पुराना दिनतिर घुमिबस्छ । सम्झन्छन्, ‘ओहो ! ती पुराना बस्तीसँगै काठमाडौं सहरले आफ्नो परम्परागत सौन्दर्य गुमायो । धोबीखोला र बाग्मतीले आफ्नो स्वच्छता गुमाए । बिस्तारै मानिसले पनि सामूहिकता गुमाउँदै छ । मान्छे अचेल ‘हामी’बाट ‘म’ भइसक्यो ।’ 

काठमाडौंसँग युवाकालदेखि जोडिएका उनी जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो तेस्रो पुस्तासहित यही सहरमा बस्छन् । यसरी हेर्दा आफ्नो जीवनको अनेक चित्र उनी यही सहरको क्यानभासमा कोरिएको पाउँछन् । उनका छोराबुहारी सबै व्यवसायमा आबद्ध छन् । ‘रिटायर्ड’ उमेरमा पुगे पनि उनको दिनचर्या भने ३० वर्षे युवाको जस्तो छ । कहिले कैयौं दिनसम्म दोलखा, कास्की र पर्वततिर जलविद्युतको साइट भ्रमणमा दौडिरहन्छन् । काठमाडौं हुँदा भने धेरैजसो समय सरकारी अधिकारी, मन्त्रीहरूकहाँ धाउँदैमा थाक्छन् । एउटा कामका लागि महिनौं धाउनुको सास्तीले थाकेपछि उनी केही समयलाई भए पनि परिचित भीडबाट अलप हुने दाउ खोज्छन् र पुग्छन् झोँछेका पुराना गल्लीतिर । 

झोँछेमा उनलाई त्यो बेला बास दिने साहुबा अब रहेनन् । उनका नयाँ पुस्ताले उनलाई चिन्दैनन् । तर उनी २०२४ साल जेठमा कलेज पढ्न काठमाडौं आएपछि बास पाएको त्यो घरमा पुग्छन् । इनार उस्तै रहेछ । शौचालयको स्वरूप मात्रै फेरिएछ । आफू बसेको कोठाको भाडा कति पुग्यो होला अचेल ? कौतूहलता बोकेर केही समयअघि उनी कोठाको ढोका ढकढक्याउन पुगे । १० रुपैयाँमा उनी बसेको कोठाको भाडा अहिले १५ हजार रुपैयाँ भएछ । समयको फड्को सम्झेर हाँस्दै उनी त्यहाँबाट बाहिरिएर झोँछेकै गल्लीतिर भौँतारिरहन्छन् ।  

शौचालयको किस्साचाहिँ रमाइलो छ । हाँस्दै उनी सुनाउँछन्, ‘कथा अनौठो छ, सुन्दा अहिले धेरैलाई पत्यार नलाग्ला । बोराले बारेको, शौच खस्ने तलको भागमा तेलको ठूलो टिनको डब्बा थापिन्थ्यो । मानव मलमूत्रले टिन भरिएपछि घरबेटीले त्यो लैजाने मानिसकहाँ खबर पठाउँथे । त्यो बेला निश्चित समुदायका मानिसले मात्र त्यो काम गर्थे ।

घरबेटीले पठाएको खबर पाएपछि ती मानिस आएर मलमूत्रले भरिएको टिन लैजान्थे । केही गरी त्यो मान्छे समयमा आइदिएन भने शौच गर्न बडो समस्या हुन्थ्यो ।’ शौचालयमा ढोकाको काम पनि बोराले गर्नुपर्ने, शौच गर्दा गर्दै बाहिर अर्को मानिस आएको थाहा पाएपछि भित्र हुनेले खोकेर संकेत गर्नुपर्थ्याे । काठमाडौंमा प्रायः त्यस्तै शौचालयको प्रचलन थियो । 

पहिलोपल्ट उनी विराटनगरबाट पुरानो डकोटा जहाज चढेर काठमाडौं आएका थिए । उबेला विमानस्थललाई गौचरन हवाई अड्डा भनिन्थ्यो । त्यहाँबाट उनी गाउँले दाइहरू टंक आचार्य, पवित्रमणि पौडल बस्ने डेरामा बस्न पुगेका थिए । त्यो बेला प्रायः पश्चिमतिरका मानिस क्षेत्रपाटी, ठमेलतिर र पूर्वतिका मानिस डिल्लीबजार, ज्ञानेश्वरतिर डेरा गरेर बस्थे । उनी आउँदासम्म बानेश्वर क्षेत्रमा केही रैथाने बस्तीबाहेक हराभरा फाँट थियो । त्यो बेला जातको नाउँमा टोलको नामकरण गरिन्थे– थापागाउँ, सार्की टोल, दमाई टोल । सहर बनिसकेको थिएन, त्यो गाउँ थियो । 

सिमेन्टका अग्ला र बाक्ला घरले भरिएको यो सहरमा अचेल हिउँदमा पनि उनलाई उति जाडो लाग्दैन । हिटर, एसी जस्ता अनेक आधुनिक प्रविधिले अचेल जाडो गोडा नजिक आइपुग्नै पाउँदैन । अझ बजारभरि पाइने लुगाको चाङले आङ ढाकिएकै हुन्छ । तर, त्यसबेला काठमाडौं निकै चिसो हुन्थ्यो । चिसोबाट बच्न नेवार समुदायका रैथानेले परम्परागत सिप प्रयोग गर्थे । त्यो बेला चिसोबाट बच्न बाहिरबाट बोराले मोहोरेर भित्र टन्न पराल भरिएको डसना ओछ्याउने चलन थियो । भन्छन्, ‘अब ती परम्परा एक कथा भइसक्यो ।’

अहिले आधुनिक उत्पादन पार्केट र कार्पेटले त्यसको ठाउँ लिइसक्यो । घरहरू माटोले पोत्ने गरिन्थ्यो । खाना पकाउनलाई चाहिँ दारवाला चुला प्रयोग हुन्थ्यो । अलिक पैसा हुनेहरूले भने दम दिने स्टोभ चलाउँथे । 

त्यसबेला काठमाडौंमा पातलो संख्यामा सवारी साधन चल्न थालिसकेका थिए । रानीपोखरीबाट पाटन ढोकासम्म बस पुुग्थ्यो, कुनै कुनै बस लगनखेलसम्म पनि जान्थ्यो । ‘स्कुट अबे’ भनेर ट्याक्सी पनि चल्न थाल्यो । उबेला ट्याक्सी चढ्ने भनेपछि निकै पैसावालमा गनिन्थ्यो । पाँच जनाको समूहमा पाँच मोहर तिरेर उनीहरू एकाध पल्ट ट्याक्सीमा सहर घुम्थे । त्यस बखतका रसियन जिपहरू तत्कालीन राजा वीरेन्द्रको व्रतबन्ध वा विवाह यस्तै कुनै अवसरमा नेपाल झिकाइएका भन्ने उनले सुनेका थिए ।

त्यस बेला पैसाको धेरै भाउ थियो जस्तो लाग्छ उनलाई । तरकारी किन्न जाँदा एउटा अलिक ठूलो काउली किन्दा कागती, खुर्सानी र धनियाँ फोसा (सित्तैमा) पाइन्थ्यो । उनीहरू प्रायः त्यही फोसा खुर्सानीले जिब्रो टाठो बनाएर खाना खान्थे । एकाबिहानै किसानहरू  खर्पनमा ल्याएर तरकारी चोकचोकमा बेच्न बस्थे । पसल नै थापेर तरकारी बेच्ने चलन थिएन । पोखरा

विमानस्थलनेर बेच्न राखिएका फेवातालको माछा किन्दा उनले मसिना माछा पनि फोसामा पाउँथे । फोसा माछाचाहिँ काठमाडौं आइपुगेपछि ट्याक्सीवालाले भाडास्वरूप खुसीपूर्वक लैजान्थे । 

त्यस बेला काठमाडौंमा केही सामान्य खाजा घर थिए, जहाँ उनीहरू एक–एक मोहर खर्च गरेर हलुवा–स्वारी, जेरी–स्वारी खान्थे । कृष्ण पाउरोटी भण्डारले टोलटोलमा पुगेर पाउरोटी बिक्री गर्थे । दुग्ध विकास संस्थानले बोतलमा दूध बेच्न राख्थ्यो । केही गरी एकछिन ढिला पुगेमा दूध र पाउरोटी दुवै सकिइसकेको हुन्थ्यो । फलफूल खाने प्रचलन थिएन ।

महाबौद्धमा किसानहरू धोक्रोमा चामल बेच्न बस्थे । डेरा गरी बस्ने कर्मचारी, विद्यार्थीहरू किन्न जाने, उनीहरूले भरिया लाएर कोठासम्मै पठाइदिन्थे । आज पनि त्यो क्षेत्रमा सामानका ठुल्ठूला भारी उठाइरहेका ज्यामीहरू प्रशस्तै भेटिन्छन् । त्यस बेला रैथाने मानिसले भारी उठाउँथे, अचेल काठमाडौं बाहिरबाट रोजगारी खोज्न आउनेहरू छन्, उनलाई लाग्छ, व्यवस्था परिवर्तन भएर कहाँ पुगिसक्यो । तर श्रमिक वर्गको जीवन त आज पनि नाम्लो–बरियोभन्दा माथि उठ्न सकेको छैन । 

हल्खोरी रामको पंखा

यही सहरमा राणा र राजाहरूले विलासी जीवन बिताइरहेका थिए । तर, जनतामा विकासको बाछिटा परेकै थिएन । यद्यपि जनताकै तहबाट बिस्तारै परिवर्तन देखिन थालेका थिए । उनको दिमागको सेटमा अर्को दृश्य फेरिन्छ । जुद्ध शमशेरको सालिकबाट इन्द्रचोक जाने बाटोमा एउटा पसल थियो, हल्खोरी राम एन्ड सन्स । दोकानदारले पसलमा एउटा पंखा झुन्ड्याए । त्यो पंखा घुमेको हेर्न पसल वरिपरि धेरै मान्छेको ओइरो लाग्थ्यो । कोही चिनेको मान्छेचाहिँ केही सामान किन्ने बहानामा पसलभित्रै पसेर घुमीघुमी पंखा घुमेको हेर्थे । जनताको तहमा झुन्डिएको त्यो पहिलो पंखा हुन सक्छ । 

पंखा घुम्दा–घुम्दै बिस्तारै जाडो याम आउँथ्यो, फेरि मानिस न्यानोको जोहो गर्न लाग्थे । अहिलेजस्तो प्रशस्त लत्ता कपडा हुने जमाना थिएन । त्यस बखत कीर्तिपुरका प्रत्येक जसो घरमा घरबुना लुगाको तान हालिएको हुन्थ्यो । तिनै लुगाले जाडो ढाक्नुपथ्र्यो । महिलाहरू कोइला भएको मकल काखीमा च्यापेर बाहिरबाट बर्को ओढी मन्दिर पुग्थे । उनलाई अहिले लाग्छ त्यो परम्परागत मोबाइल हिटर रहेछ । त्यस बखत काठमाडौंका धेरैजसो ठाउँ खाली थिए । ठुल्ठुला चौर जाडो याममा तुषारोले सेताम्य  हुन्थे ।

त्यही बेला तुषारोमा टेक्दै हिँड्दा उनले भीमनिधि तिवारीको कविता कण्ठ गरेका थिए– 
छानामा पथमा चौरमा चिनी झरे झैं थियो 
महिना माघ थियो बिहानी पखमा हावा चलेको थियो 
जाडो खुब थियो समस्त जलमा ऐना जमेको थियो 
काम्यो लुगलुग त्यो गरिब बिचरा त्यसमा दया गर्छ को ?

समय परिवर्तन हुँदै थियो । विकासले गति लिएसँगै मानिस जमघट हुने सार्वजनिक स्थान सकिँदै गए । उनले देख्दादेख्दै कति ठाउँ सार्वजनिक सम्पदा बने, धेरै ठाउँमा निजी भवन बने । त्यस्ता परम्परागत स्थानमा आधुनिक बैंक्वेट, क्याफे, रेस्टुरा, लाउन्ज, बारहरूले स्थान लिँदै गए । भेटघाटका लागि कफी हाउसमा पर्खने चलन बढ्यो । त्यस बेला नयाँ सडकको भूगोल पार्क भेटघाटको मुख्य केन्द्र थियो । कोही गाउँबाट आएका चिठीपत्र लिन, साथीभाइ भेट्न भूगोल पार्क जाने चलन थियो । पार्कमा पूर्व–पश्चिम सबैतिरका मानिस आउँथे ।

पार्क सामुन्ने गोरखापत्रको कार्यालय थियो । पत्रपत्रिका किन्ने, पढ्ने र जमघट हुन्थ्यो । पार्कमा हरेक बिहान गोरखा पत्र टाँस गरिएको हुन्थ्यो । मानिस लाइन लागेर पत्रिका पढ्थे । उनी पनि कहिले एक्लै त कहिले साथीसँग टाँस गरिएको पत्रिका पढ्न पुग्थे । तिनैमध्ये एक जना पाठक सम्झन्छन्, ‘गोरखापत्र किनेर काखीमा च्यापेको छ, तर ऊ लाइनमा उभिएर भित्तामा टाँसिएको पत्रिकाको समाचार ध्यानपूर्वक पढिरहेको हुन्थ्यो । आफ्नै घरमा गएर पढे पनि हुन्थ्यो तर ऊ त्यहाँ पढ्नुको आनन्द उठाइरहेको हुन्थ्यो ।’ 

आजकल पनि नयाँ सडक पुगेको बेला उनी पत्रिका टाँस गर्ने चलन छ कि भनेर भूगोल पार्कमा चियाउँछन् । भन्छन्, ‘जमाना डिजिटल पत्रिकाको आइसक्यो, म पनि बिहान उठेर ढोकामा आउने पत्रिका हेर्नुभन्दा पहिले मोबाइलको स्क्रिनमा समाचारको हेडलाइन हेर्न हतारिन्छु । तर, त्यो भित्ताभरि टाँसिएको पत्रिका सामूहिक रूपमा लाइनमा उभिएर पढ्नुको आनन्द यो स्क्रिनले कहाँ दिनु ?’ विशाल बजारभित्रको सूचना पाटीमा भने पत्रिका टाँस गर्ने प्रचलन अहिले पनि छ । 

अलिक पछि नयाँ सडक पीपलबोटमा रैथाने मिजारहरूले जुत्ता पालिस गर्ने पेसा सुरु गरे । त्यसपछि छालाको जुत्ता लगाउन सक्ने हैसियतका मानिस नयाँ सडक पुग्ने अर्को बहाना जुत्ता पालिस गराउनु पनि हुन्थ्यो । चर्मकारहरू जुत्ता पालिस गर्न बसेका हुन्थे । त्यही स्थानमा युवाहरूमा बेरोजगारी बढेको प्रतीकात्मक विद्रोहस्वरूप कविताराम श्रेष्ठलगायत लेखकहरूले पछि बुट पालिस आन्दोलन पनि गरे । 

ट्राफिक घर

आजकल राजधानीमा बेला न बेला बिग्रिरहने ट्राफिक लाइट देखेर उनलाई दिक्क लाग्छ । आधुनिक जमाना भने पनि उनलाई हाम्रो कार्यशैली र क्षमता भूगोलपार्कमा पत्रिका टाँस गर्ने समयमै हिँडेरहे जस्तो पनि लाग्छ । ट्राफिक कन्ट्रोल गर्न ट्राफिक घरहरू थिए । हालको बग्गी खानामा एउटा अग्लो घर थियो, घरको माथिल्लो तलामा बसेर ‘म्यानुअल’ रूपमा ट्राफिकले सडकमा गाडी गुडेको हेर्दै स्विच अन–अफ गर्थे । त्यस्ता घर रत्नपार्क, बग्गी खाना, थापाथलीलगायतका स्थानमा थिए ।

सिंहदरबारको मूल गेटको ट्राफिक कन्ट्रोल बग्गीखानामा भएको घरबाट गरिन्थ्यो । सवारी साधन कम मात्र गुड्ने सडकको बीचमा भएको त्यो घरमा प्रहरीहरू स्थायी रूपमै त्यहाँ बस्थे, उनीहरूले लुगा धोएर सुकाएको बाहिरबाटै देखिन्थ्यो  । 
उनी साथीसँग हिँडेर सिनेमा हेर्न अशोक सिनेमा हल पाटन पुग्थे ।

थापाथलीमा फलामे पुल (ट्रस्ट ब्रिज) गाडी हिँड्नलाई बनाइएको थियो । पैदल यात्रुका लागि पुलमुनि सालको मुढा गाडेर त्यसमाथि फलेक ओछ्याएर पुल हालिएको थियो । त्यसरी हिँड्दा उनी आफ्नो प्रतिछाया बाग्मतीको पानीमा देख्थे । उनलाई बाग्मतीको त्यो कञ्चन पानीमा आफूसँगै पारि तरिरहेको प्रतिछाया चलचित्रको पर्दामा हिँडेका दृश्यझैं लाग्थे । नदीको पानीमा माछाहरू खेलिरहेका हुन्थे । उनीहरू साँघु तरिसकेपछि किनारामा गएर त्यो माछा टिप्न खोज्थे तर सक्दैनथे । अचेल उनी आफ्नै गाडी लिएर बाग्मतीको ठूलो पुल वारिपारि गरिरहन्छन् । भन्छन्, ‘ढल मिसिएर दुर्गन्धित बाग्मतीको कञ्चन रूप कहाँ गयो होला ? साँघुरिँदै गएको नदीतिर हेर्दा मन कुँडिन्छ ।’  

रगत बेच्नेहरू

महाबौद्धकै गल्लितिर टहलिँदै जाँदा उनको दिमागमा विगतका थप श्यामश्वेत दृश्यहरू घुमिरहन्छन् । त्यस बेला उपचारको मुख्य आधार वीर अस्पताल थियो । अस्पतालको अगाडिपट्टि भएको ब्लड बैंकमा रक्तदान गर्नेहरू होइन, रगत बेच्नेहरूको लाइन हुन्थ्यो । धेरैजसो रिक्सा, ठेला चलाउने मजदुर रगत बेच्न लाइनमा हुन्थे । जसको रगतको ग्रुप मिल्थ्यो, ऊ अघि सर्थ्याे र रगत झिकिन्थ्यो । ती मजदुरलाई आफनो रगतको समूह थाहा थियो । उनको धमिलो सम्झनामा एक पोका रगतको मूल्य ५० रुपैयाँ जति पर्थ्याे ।

रगत दिँदा शरीरलाई केही फरक नपर्ने कुरा भने उनले पछि थाहा पाए । तर, त्यो बेला बाँच्नका लागि रगत बेच्नुपर्ने मजदुर वर्गको बाध्यता उनलाई नमज्जा लाग्थ्यो । उनले ‘एकपल्ट एक जनालाई किन रगत बेचेको ? डर लाग्दैन ?’ भनेर सोधे । रगत दिनेले जबाफ दियो, ‘दिनभरि रिक्सा ठेल्दा १० रुप्पे कमाइ हुँदैन, यो दुई मुठी रगत देर ५० रुप्पे कमाइ हुन्छ । फेरि रगत देर के फरक पर्छ, जिउमा कति छ यस्तो रगत ।’  

समको दौरा

त्यतिबेला काठमाडौंको सडकमा विख्यात नाटककार बालकृष्ण समको उपस्थिति पनि उनलाई एउटा महत्त्वको विषय थियो । प्रायःजसो साँझपख आँखामा गाजल, गालामा लालीसहितको शृंगारले सजिएका सम रिक्सामा शैर ज्ञानेश्वरदेखि असन, इन्द्रचोक, नयाँ सडकसम्म गर्थे । उनले लगाएको बाक्लो कपडाको घुँडासम्म लामो दौरा र सुरुवालले उनलाई निकै लोभ्याउँथ्यो ।

उनको पहिरन आम मानिसले लगाउनेभन्दा विशेष ‘कस्ट्युम डिजाइन’को हुन्थ्यो । त्यतिबेला निकै दुब्लो पातलो शरीरको मान्छे, उनलाई एक दिन मोटाएमा समको जस्तै दौरा–सुरुवाल लगाउने रहर थियो । पछि मोटाए पनि त्यही डिजाइनको पहिरन भने उनले लगाएनन् ।

तारादेवीको पान पसल

सार्वजनिक पहिचान कमाइसकेका मानिसहरू सडकमा भेटिँदा उनलाई गज्जब लाग्थ्यो । नयाँ सडकमा त्यो समयको चर्चित गायिका तारादेवीको पान पसल थियो । तारादेवी आफैं पसलमा बसेको पनि उनले देख्थे । उक्त पसलमा उनले पनि कहिलेकाहीँ पान खाए । तर खल्तीमा सधैंजसो पैसा नहुँदा तारादेवीसँगै किनेर खाने मौकाचाहिँ उनले पाएनन् । 

पेन हस्पिटल

अचेल कलमले भन्दा ज्यादा कम्प्युटरका किबोर्डले अक्षर  लेख्न थाल्यो । तर, हामीकहाँ किबोर्ड चल्न थालेको धेरै समय भएको छैन । लेख्नका लागि कलममै निर्भर हुनुपर्ने उनको जमानामा कलमको निकै महत्त्व थियो । आजकल एकपल्ट प्रयोग गरेर फ्याँकिने गरी प्रशस्त पनि पाइँदैनथ्यो  । त्यो बेला एउटा कलम किन्न पनि निकै पैसाको जोहो गर्नुपर्थ्याे ।

मान्छेको उपचार गर्न निजी हस्पिटल खासै नभएको त्यो समयमा कलमको उपचार गर्न भने नयाँ सडकमा एउटा हस्पिटल सञ्चालित थियो । एउटा कलम बिग्रिएमा मानिसहरू त्यही हस्पिटलमा जान्थे । फाउन्टेन फेनका निब, जिब्री, रबर र बिर्कोको होल्डर जे बिग्रे पनि बनाइदिन्थे । पेनको उपचार गर्ने चाहिँ एउटी महिला थिइन् । 

गुप्तचर बनाउने दाउ

हालका नेकपाका नेता झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, वामपन्थी नेता सोनाम साथी त्रिचन्द्र कलेजमा उनका सहपाठी थिए । आइएस्सी दोस्रो वर्षको जाँचमा कोर्षभन्दा बाहिरको प्रश्न आएको भनेर उनीहरूले प्रश्नपत्र च्याते । त्यो घटनाले बिस्तारै राजनीतिक रूप लियो । फेरि जाँच दिन पाउने वा  नपाउने भन्ने बहस उठ्यो ।

तत्कालीन अञ्चलाधीश कार्यालयका जनसम्पर्क अधिकारीले बोलाएर पुनः जाँच दिन पाउने जानकारी दिए । तर सरकारले परीक्षाको बहानामा पञ्चायतको गुप्तचर बनाउने जानकारी सोनाम साथीबाट पाएपछि उनीहरूले फेरि जाँच बहिष्कार गरे । उनको बुझाइमा त्यो घटनापछि त्रिचन्द्र विद्यार्थी राजनीतिले गति लियो । नेपाल विद्यार्थी संघ र अनेरास्ववियूबीच झगडा मच्चाएर पञ्चायतनिकट राष्ट्रवादी विद्यार्थी मण्डलचाहिँ रमिते बन्थे । 

त्यसरी द्वन्द्व मच्चाएर फाइदा लिन वर्षौं एउटै कक्षामा भर्ना भएर बसिरहने केही विद्यार्थी थिए । तिनैमध्येका एक जना केही समयअघि उनले भेटेका थिए । भन्छन्, ‘त्यस बेला त अरूलाई जुधाएर खुब गोद्थ्यौ नि, के छ अचेल  भनेर सोधेको थिएँ । अब त बुढेसकाल लाग्यो, त्यस्ता धन्दा सिद्धियो सबै भन्दै मरिमरी हासे ।’ यसरी उनको राजनीतिक जीवन सुरु भएको थियो । अन्तरिम विधायिक संसद् सदस्यसमेत भइसकेका उनी वामपन्थी राजनीतिका पुराना नेतामध्ये एक हुन् । 

हिप्पीहरूले गाँजा खाने झोँछेतिरका फ्रिक स्ट्रिटदेखि रैथाने युवायुवतीका लुकेको प्रेम कथा उनको दिमागको रिलमा क्रमशः खुल्दै जान्छ । यसरी हल्खोरीरामको पंखा झुन्डिएको यो आदिम सहरसँग जोडिएका अनेक किस्सा छन् उनीसँग । ती सार्वजनिक हुने प्रतीक्षा गरिरहेका छन् l
०००