युवा पुस्तालाई प्रोत्साहन गर्ने लेखक

युवा पुस्तालाई प्रोत्साहन गर्ने लेखक

जेष्ठ १५, २०७८ 0 By जिन्दगानी
शेयर गर्नुहोस्
  • कृष्ण धरावासी

वानीरा गिरिको उपन्यास ‘निर्बन्ध’ मैले कलेज कालमा छँदै पढेको हुँ, साह्रै राम्रो लागेको थियो । अहिले पनि यो कृति मेरो मन पर्ने किताबको सूचीमा पर्छ । निर्बन्ध उपन्यासचाहिँ कारागार जति शक्तिशाली लाग्दैन । तथापि नेपाली उपन्यास विधामा उहाँको किताबहरूले थोरै लेखेर पनि सशक्त स्थान बनाएको छ । हामीले शक्तिशाली उपन्यासको चर्चा गर्दा पारिजातको ‘शिरिषको फूल’को जुन उचाइ छ, उहाँको ‘कारागार’ पनि त्यतिकै स्थानमा स्मरणीय, पठनीय छ । यो उहाँको प्रतिनिधि कृति हो ।


उहाँको समयका अरू जुन महिलाहरूले प्राज्ञिक मूल्य पाउनु भएको थियो, ती मध्ये उहाँको लेखन, विद्वताको उचाइ बराबरको थोरै मात्र हुनुहुन्थ्यो । अन्तर्राष्ट्रिय साहित्यमा पनि उहाँको सम्पर्क राम्रो थियो । तर क्षमताअनुसार उहाँलाई राज्यको प्राज्ञिक निकाय प्रज्ञा प्रतिष्ठानलगायत संस्थाले सम्मान दिएको जस्तो चाहिँ देखिएन ।


उहाँ नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो महिला हो । उहाँका कविता उस्तै सशक्त छन्, तर ती विवादास्पद पनि भए । खासगरी उहाँ मुक्त चिन्तन र व्यक्तित्वको महिला हुनुहुन्थ्यो । आफ्नो विचार राख्न कसैका अगाडि पनि उहाँ धक मान्नुहुन्नथ्यो । उहाँ प्राध्यापक पनि हुनुहुन्थ्यो, पढाउने क्रममा पनि उहाँको शैली निकै प्रभावकारी हुने उहाँको विद्यार्थीसमेत रहनु भएकी मञ्जु विमलीजी बताउनुहुन्छ । उहाँसँग मेरो २०६४ सालतिर म काठमाडौं आएपछि कार्यक्रमहरुमा भेट भएको थियो ।

उहाँ अब्बल लेखक त हुनुहुन्थ्यो नै, त्यतिकै खरो पाठक पनि हुनुहुँदो रहेछ । पहिले भेटमै उहाँले मलाई पुरानो चिनजान जसरी व्यवहार गर्नु भयो । मेरो लेखनमाथि चर्चा गर्नु भयो । उहाँ नयाँ पुस्तासँग पनि त्यतिकै घुलमिल हुनुहुँदो रहेछ । कवि, चित्रकार तथा स्तम्भकार जीवन आचार्यको स्मृतिग्रन्थ सम्पादनका क्रममा मैले त्यो बोध गरेको हुँ । पोलियोबाट पीडित आचार्य २०४६ साल बैशाखमा ३० वर्षको उमेरमा हृदयघातका कारण बिते । उनी देशान्तर पत्रिकामा ‘अर्थात्’ शीर्षकमा स्तम्भ लेख्थे, जुन निकै रुचाइन्थ्यो । आचार्यको पद्मकन्या कलेजको सामुन्ने आर्ट सेन्टर थियो । उनका हितैषी विधान आचार्य, राजेन्द्र शलभ, रमण घिमिरे, विष्णुविभु घिमिरे, सुनिल पोखरेल, अशेष मल्लहरू त्यही जमघट भएर साहित्यिक भलाकुसारी गर्थे । पद्मकन्यामा पढाउने वानीराजी पनि जीवनको आर्ट सेन्टरमा आएर उनलाई लेख्न र कला क्षेत्रमा समेत निरन्तर लाग्न प्रेरित गर्नुहुने रहेछ । स्मृति ग्रन्थमा उहाँले जीवनबारे धेरै कुरा लेख्नुभएको छ । यसरी नयाँ पुस्तालाई उत्प्रेरित गर्ने उहाँको स्वभाव निकै राम्रो थियो । उहाँ बितेर जानु भए पनि उहाँको योगदान नेपाली साहित्यका लागि सदा स्मरणीय हुने छ ।
०००