अब बाँकी रहेको छ विचारको यात्रा

अब बाँकी रहेको छ विचारको यात्रा

जेष्ठ २९, २०७८ 0 By कृष्ण धराबासी
शेयर गर्नुहोस्

मेरो जन्ममिति बालासन नदीको पुलमा गएर हेर्नू । आफ्नो जन्ममितिका बारेमा उहाँले कतै लेख्नुभएको छ । पछि एकपल्ट हामीले सोध्दा पनि जन्ममितिको बारेमा स्पष्ट भन्नुभएको थिएन । यो कुरा त्यस्तो खासै बिशेष कुरा त होइन तर हरेक कुरालाई विशेष प्रकारको बनाएर भन्ने उहाँको आफ्नै प्रकारको शैली थियो । कुनै कुरालाई हेर्ने उहाँको दृष्टि नै असामान्य लाग्थ्यो मलाई । हामी जुनै कुरालाई पनि जति सजिलो पाराले बुझेको ठान्थ्यौं आइबी सरको नजरमा त्यो त्यति सजिलो हुँदैन थियो । सामान्य कुरामा पनि असामान्य तत्वहरू भेट्थे उहाँका आँखाले । एकपल्ट एउटा अन्तर्वार्तामा उत्तरआधुनिकताबारे कुरा गर्दै गर्दा कुनै नामको के अर्थ हुन्छ भन्ने सिलसिलामा भन्नुभएको छ- हाम्रो गाउँ घरतिर कसैलाई बोलाउनु पर्यो भने उसको नाम वा अन्तरे नै भन्नु पर्ने भएपनि अन्तरे नभनेर काइँलाको भाइ क्या त ! भनिरहेका हुन्छन् । उसको आफ्नै नाम होला तर काईंलाको भाइ त खै के पो नाम भयो र ! यो सुन्दा हामी प्रश्नकर्ताहरू नै मज्जाले हाँसेका थियौं । उहाँ आफू भने उति नहाँस्ने । मैले उहाँसँगको यति लामो संगतमा एकदम नै रमाएर मज्जाले हाँसेको कहिल्यै देखिनँ । बरु बैरागी काइँला दाइ मन खोलेर हाँस्ने गर्नु हुन्छ ।

सुमन्तराज न्यौपाने, इन्द्रबहादुर राई र कृष्ण धराबासी l तस्विर सौजन्य: कृष्ण धराबासी

मलाई लाग्छ, उहाँलाई बौद्धिकताले धेरै नै जकडेको थियो । बुद्धि धेर भएपछि मानिस रुन पनि हाँस्न पनि सक्दैन होला भन्ने मलाई लाग्दछ । सीताजीको निधन भएको छ महिना जस्तो पछि उहाँ काठमाडौं आउनुभएको बेला हामीलाई भेट्न र घर पनि हेर्न भनी चण्डोलमै आउनुभएको थियो । उहाँले केटाकेटीहरूका बारेमा धेरै चासो राखेर कुरा गर्नुभयो । मेरो स्वास्थ्यका बारेमा पनि निकै रुचि राख्नुभयो तर दिवंगत सीताजीका बारेमा पटक्कै कुरा सोध्नुभएन । त्यसबेला मलाई मनमनै अचम्म लागेको थियो । जीवित हुँदा पहिला बुहारीलाई कस्तो छ भनेर सोधिरहने मान्छेले आज कसरी केही नसोधेको होला ! यो कुरा मलाई धेरै पछिसम्म पनि जिज्ञासा रहिरह्यो । पछि आफैंले विश्लेषण गर्ने प्रयत्न गर्दै बुझ्ने कोसिस गर्दा यस्तो लाग्यो– उहाँले जीवनलाई भावुकता र गम्भीरताबाट बाहिर राख्ने गर्नुभएको होला । जीवनमा गम्भीरता भन्ने नै केही हुँदैन, त्यो जे हुन्छ क्षणिक हुन्छ र बिस्तारै त्यसको प्रभाव पनि आफैं बिलाउँदै जान्छ भन्ने लीलाचेत उहाँमा व्यावहारिक रूपमै घुलिसकेको हुनुपर्छ जस्तो बुझेंँ । अनि उहाँका अरू बेलाका कुराहरू पनि सम्झँदै जाँदा उहाँलाई धेरै भावुक भएको अवस्थामा मैले कहिल्यै देखिनँ ।

उहाँले आफ्ना लेखनहरूमा लोग्नेस्वास्नीका कुरा गरे पनि त्यहाँ यौन र प्रेमकाभन्दा सुन्दर गृहस्थी र व्यावहारका कुरामा केन्द्रित गर्नुभएको छ । समाजको सप्तरंगी चित्रण उहाँका कथाका विशेषताहरू थिए ।

तेइस वर्षको उमेरमा प्रेम विवाह गर्ने मान्छेमा भावुकता नहुनु, गम्भीरता नहुनु भन्ने कसरी हुनसक्छ ? तर जब उहाँ बौद्धिकताको यात्रामा निस्कनुभयो, उहाँभित्रको हार्दिक पक्ष पनि बिस्तारै बुद्धितिरै सर्दै गयो होला । जतिबेला जहाँ भेटिदा पनि उहाँले केही न केही गम्भीर र बौद्धिक कुरा नै सुनाउनु हुन्थ्यो । हरेकपल्ट भेट्दा सधैँ केही न केही नयाँ कुरा भनिरहनु हुन्थ्यो । कसरी त्यति धेरै ज्ञानको संकलन गर्न सक्नुहुन्छ होला जस्तो लागिरहने । आफैँले केही नयाँ लिएर गयो, त्यो त उहाँलाई पहिले नै थाहा भइसकेको हुने । आइबी सरलाई कहिल्यै पनि नयाँ कुरा सुनाएर सोचमग्न बनाउन पाइएन । जीवनको असीको दशकमा हिँडिरहेको बेला पनि उहाँ आधुनिकतमदेखि आधुनिकतम कुराहरूको जानकारी र तथ्याङ्क लिएर बस्नुभएको हुन्थ्यो । जति नै प्रवचन सुने पनि कुरा नदोहोरिने, ज्ञानको स्रोतको प्रमाणिकतामा शंका गर्नु नपर्ने ।

राजेन्द्र भण्डारी र बत्सगोपालसँग गर्नुभएको लामो अन्तर्वार्तामा लीलालेखन माथिका अस्पष्टतालाई प्रष्ट गर्न दिनुभएका तर्क र उदाहरणहरूले नै त्यसलाई विस्तारित गर्न आश्चर्यजनक भूमिका खेलेको थियो ।

इन्द्रबहादुर राईको सारा जीवन गम्भीरतामै बितेको थियो । प्राध्यापन, शिक्षण र पूर्णकालीन लेखनका सबै चरण उहाँले बौद्धिकतापूर्ण बनाउनुभयो । उहाँले आफ्ना लेखनहरूमा लोग्नेस्वास्नीका कुरा गरे पनि त्यहाँ यौन र प्रेमकाभन्दा सुन्दर गृहस्थी र व्यावहारका कुरामा केन्द्रित गर्नुभएको छ । समाजको सप्तरंगी चित्रण उहाँका कथाका विशेषताहरू थिए । सबैभन्दा युवाकालमा लेखिएका विपना कतिपयका कथाहरूमै सामाजिक जीवनको गम्भीरता छरपष्ट छ । मेरी दिदी, जारः भएकै एउटा कथा, चप्रासी, जयमाया आफू मात्र लिखापानी आइपुगी, छुट्याइयो आदि कथाहरूमा हामी व्यक्तिगत कुण्ठा र निराशाभन्दा समाजका समस्या र सामाजिक मनेविज्ञानलाई प्रष्ट गरिएको भेट्छौँ ।

सुमन्तराज न्यौपाने, इन्द्रबहादुर राई र कृष्ण धराबासी l तस्विर सौजन्य: कृष्ण धराबासी

पात्रहरू धेरै रमाउँदैनन् । धेरै नाचगान पनि गर्दैनन् । साना–साना कुराहरूमा पनि कारण र परिणामबारे घोत्लिन्छन् । सामान्य पात्रभित्र बुद्धि भरिएर टम्म भएको हुन्छ । उहाँका साहित्यिक कृतिहरू किन नवयुवा पुस्ताले जान्दैन ? किन साधारण पाठक पढ्न रुचाउँदैन ? सजिलो उत्तर उनीहरू बुझ्दैनन् भन्ने आउला । तर उनीहरू त्यहाँ के बुझ्दैनन् ? बुझ्दैनन् भने किन बुझ्दैनन् ? भन्ने फेरि प्रश्न जन्मिन्छ । वास्तवमा उहाँका कृतिहरू सर्ब बोध्य नहुनु कुराको गुजुल्टो परेर होइन । बिषयको गहनताले ती नबुझिएका हुन् । त्यसो त उहाँले प्रयोग गर्र्ने भाषा पनि विशेष प्रकारकै हुन्छ । उहाँ भन्नुहुन्थ्यो– हामीले कुनै विशेष कुरा भन्नको लागि भाषा पनि विशेष किसिमकै प्रयोग गर्नुपर्छ । भाषाको प्रयोग आफैँमा एक विशिष्ट कुरा हुँदै नै हो । यसो त गारो परेका बेला देवकोटाले पनि आफैँ शब्दहरूको निर्माण गरेका थिए भन्ने गरिन्छ तर राई त शब्द मात्र होइन वाक्यहरू नै नयाँ प्रकारले बनाउनु हुन्थ्यो ।

एकपल्ट हामीले एउटा वाक्यलाई लिएर खुब चर्चा गरेका थियौं, आँगनको घाममा लाटा कथामा प्रयोग भएको । त्यहाँ एउटा वाक्य छ- लाटा हाँसेको भयो । यो वाक्यलाई भाषा, व्याकरण, बोध परम्परामा राखेर हेर्दा कसरी बुझ्नु ? सिधै बुझिने भनेको त लाटा हाँस्यो भन्ने हुनुपर्ने हो तर, यहाँ त लाटा हाँसेको छैन, हाँसेको भएको पो छ । मान्छे कसरी हाँसेको हुन्छ ? त्यो त हाँस्छ नि, होइन र ! एकपल्ट धुलाबारीमा उहाँसँग यसै बारेमा हामीले सोधेका थियौँ ।

उहाँलाई जबजब हामी भेट्न पुग्थ्यौं, त्यहाँ हामीभन्दा पहिले नै कोही पुगिरहेको हुन्थ्यो र त्यो मानिससँग उहाँ साहित्यका, विज्ञानका, अध्यात्मका वा राजनीतिकाबारेमै केही बोलिरहनुभएको भेटिन्थ्यो ।

उहाँले भन्नु भएको थियो– …. हो । त्यहाँ लाटा हाँसेको छैन । त्यो हाँसेको जस्तो भएको मात्र छ । हाँसेकै चाहिँ छैन । साँच्चै हाँस्नु र हाँसेको जस्तो हुनुमा ठूलो फरक छ नि । अब हेर्नुहोस्, लाटा कतैबाट आँगनमा आइपुगेको छ । घरपट्टिलाई केही खान पाउने आशाको नजरले हेरिरहेको छ । त्यसले तलतिर देखाउँदै के–के भनी बस्छ तर केही बुझिँदैन । ऊ त आफूले सक्दो बुझाउन खोजिरहेकै छ नि तर हामी बुझ्दैनौँ । जब त्यसले केही खान पाउँछ अनि त्यसले आफ्नो खुसी प्रकट गर्न जस्तो अनुहार बनाउँछ, त्यो हाँसेको जस्तो भएको मात्र हो, हाँसेकै चाहिँ होइन । हाँस्नुसँग त भित्रैदेखि कस्तो मन खुलेर आएको हुनु पर्छ नि तर त्यसरी उसको मन त अझै खुलेको छैन । त्यो लाटा त त्यहाँ कुनै भित्तामा टाँसेको हाँसिरहेको कुनै हिरोको तस्वीर जस्तो मात्र भयो । पोष्टरको तस्वीर हेर्दा हाँसेको हुन्छ तर के त्यो हिरो जहिले पनि त्यसरी नै हाँसिरहेको होला ? अहिले पनि त्यो त्यसरी नै हाँसिरहेकै होला त । पक्कै छैन होला । त्यसो भए जसरी त्यो तस्वीरको हिरो हाँसेको भएको छ, त्यस्तै हाँसेको हो त्यस लाटाले पनि ।

चित्रकलाको भाषा प्रयोग गर्नुपर्छ भनिएको थियो तेस्रो आयामिक आन्दोलनमा । लीलामा आइपुग्दा पनि उहाँले त्यो चित्रात्मक भाषाको प्रयोगलाई भने सँगसँगै बोकेर ल्याउनुभएको थियो । उहाँको पछिल्लो सबैभन्दा क्लिष्ट कथा झ्याल त झन् पूरै शब्दै–शब्दको चित्र हो । त्यो कथाको बिषय बुझ्नलाई कठिन मात्र होइन, त्यहाँ प्रयोग भएका शब्द र वाक्यरचनाले नै दुर्बोध्य छ । त्यो दुर्बाेध्य त छ तर कोसिस गरे नबुझिने छैन । अब प्रश्न उठ्छ, कोसिस गरि–गरि पढिदिन र बुझिदिन के खाँचो छ ? कसलाई त्यस्तो फुर्सद पनि छ र ! तर त्यही नबुझिएकोलाई नै धेरैले बुझेका पनि छन् । इन्द्रबहादुर राई साहित्यमा बुद्धिलाई बहिष्कार गर्नुपर्छ भनिरहने एक बुद्धिवादी लेखक हुनुहुन्थ्यो । बुद्धिले निर्देशन गरेभन्दा भिन्दै हुन्छ जीवनको खेल भन्दै त्यसलाई बुझाउन गरिएका प्रयोगहरू बुद्धिमय नै भएका थिए ।
उहाँको सबै समय बौद्धिक सत्संगमा बितेको छ । उहाँलाई जबजब हामी भेट्न पुग्थ्यौं, त्यहाँ हामीभन्दा पहिले नै कोही पुगिरहेको हुन्थ्यो र त्यो मानिससँग उहाँ साहित्यका, विज्ञानका, अध्यात्मका वा राजनीतिकाबारेमै केही बोलिरहनुभएको भेटिन्थ्यो ।

इन्द्रबहादुर राई, कृष्ण धराबासी र रत्नमणि नेपाल l तस्विर सौजन्य: कृष्ण धराबासी

उहाँले आफ्नो जीवनलाई भरपुर प्रयोग गर्नुभएको छ । विचार र व्यवहार दुवैमा उहाँ लीलाबोधी हुनुहुन्थ्यो । नेपालीभाषी भारतीय हरेक आन्दोलनमा उहाँले खेलेको सक्रिय भूमिकाको बारेमा त बेग्लै चर्चा गर्नुपर्छ । भुटानी शरणार्थीको पक्षमा उहाँले ठाउँ–ठाउँमा आफैँ पुगेर मञ्चहरूबाट भाषण गर्नुभएको छ । मलाई लाग्छ उहाँको जीवन एक असाधारण प्रतिभाको जीवनी हो । अब उहाँ सशरीर हुनुहुन्न । अब उहाँबारे अनुसन्धान गर्न चाहनेहरूका लागि बाटो खुल्ला भएको छ । मलाई लाग्छ, जसले त्यो बाटो समात्ला त्यो दिन त्यो अनुसन्धाता ठाउँठाउँमा उभिएर आश्चर्य मान्दै आकाशतिर हेर्ला ।

अब इन्द्रबहादुर राई एक यस्तो अकरिलो पहरो हुनुभएको छ, जसलाई बिस्तारै छिनो र झम्पलहरूले उधिनिँदै लगिनेछ ।

समकालमा कुनै कुराको पनि उति महत्व हुँदैन । जीवन बाँच्ने प्रतिष्पर्धामा सँगसँगै दौडिरहेका बेलामा आफू उभिएर अर्काको गतिको चाल कसले हेरिरहला र ! तर जब समय र स्थानबाट टाढा पुगिन्छ अनि हरेक कुराको अर्थ अस्तिको भन्दा फरक लाग्न थाल्छ र बढी यथार्थिक पनि हुन्छ । अब इन्द्रबहादुर राई एक यस्तो अकरिलो पहरो हुनुभएको छ, जसलाई बिस्तारै छिनो र झम्पलहरूले उधिनिँदै लगिनेछ ।

उहाँको निधनको बौद्धिक शोक बोकिरहेको मनले आज धेरै कुरा लेख्न असजिलो भइरहेको छ । विगत तीस बर्षदेखि उहाँले प्रतिपादन गरेको लेखनविधिलाई अँगाल्दै यहाँसम्म आइपुगेको छु । यस यात्रामा सँगसँगै हिँडिरहनु भएका सबै साथीहरूसँग अनुरोध पनि गर्दछु– अब हामीमाथि झन् धेरै जिम्मेदारी थपिएको छ । नेपाली भाषाको साहित्यमा विगत चालिस बर्षदेखि निरन्तर सिर्जना, समालोचना र चिन्तनमा घुलन हुँदै आएको लीलालेखन एउटा द्यौरालीमा पुगिसकेको छ । त्यो शील्पलाई अझ परिष्कृत र व्यवहारिक बनाउँदै लैजान सके साहित्यकै सम्मान हुनेछ । उहाँको शरीरसँग जोडिएका अवगुणहरू शरीरसँगै गए । अब रहेको छ विचारको यात्रा ।
०००
सिफारिस
रक्सीको भन्दा कडा लत