कुम्भकर्ण उर्फ फक्ताङलुङ

कुम्भकर्ण उर्फ फक्ताङलुङ

मंसिर ६, २०७४ 0 By कवि
शेयर गर्नुहोस्
चन्द्रवीर तुम्बापो

कथाबाजे, जन्मनु लाखौँ वर्षपहिले नै
यही भूगोलको माथिल्लो तलामा
म उम्रिसकेको थिएँ ।

लाखौँ वर्षपछि कथाबाजे आइपुगेर
कथाले मलाई नुहाइदिनु भएपछि
बिस्तारै–बिस्तारै निदाउन थालेँ
अन्ततः छिचोल्नै नसकिने कालो निद्राको
नटुङ्गिने सुरुङभित्र छिरेँ
हो, त्यसैबेलादेखि
म फक्ताङलुङ तेसोरी कुम्भकर्ण भएँ ।

म निदाएपछि नै
यो तलाउ, पोखरीमा पानीको सट्टा
रगत जम्न थालेको हो
म निदाएपछि नै
यो झरना, नदीमा पानीको सट्टा
लगातार आँसु बग्न थालेको हो ।

म निदाएपछि नै
पृथिवी नामको यो बगैँचामा
बाह्रैमास शिशिर फुलेर
वसन्त रोइरहेको हो
यसरी निदाउँदा–निदाउँदै
म फक्ताङलुङ कुम्भकर्ण हुँदै गएँ ।

म निदाएपछि नै
यो घरको सम्पन्न धरती लुटेर
अभाव र अनिकाल सुरु भएको हो
जीवनको बाक्लो जङ्गलको हाँगा–हाँगामा
सभ्यता नफलेर
आत्महत्या फल्न थालेको हो ।

त्यसपछि नै
सत्य इतिहासको खरानीको पहाडबाट
हरेक बिहान झुट्टो इतिहास उदाउन थालेको हो
घृणाको अग्लो ग्रेटवाल ठडिएर
निषेधित ग्रन्थ रच्दै
मानिसहरु साँघुरा बाँच्न थालेका हुन् ।

त्यसपछि नै
पानीमाथि बलेसी दौडेर
पानीबाहिर धेरै मानिस धकेलिएका हुन् ।

त्यसपछि नै
चीलको नङ्ग्रामा परेवाको आयु कैद भएको हो ।

विचरा ! मेरो काखमा आइपुग्नुपहिले नै
मेरा सन्तानहरुका मिर्गौला, मुटु र धड्कन
झिकेर ओरालैओरालो
डफ्फाहरु दगुरेका हुन् ।

हो म निदाएपछि नै
यो सृष्टीको सुन्दर नक्शा बिग्रिँदै गएर
अहिले यति कुरुप भएको हो ।

त्यसपछि नै
प्रत्येक पुस्ताको कलमले
मेरो इतिहास उत्खनन् नगरेर
सुताहा विम्बमा उतारेका हुन् मलाई
त्यसपछि नै
आउने नयाँ कलमले
फक्ताङलुङ मेटाएर कुम्भकर्ण लेख्न थालेका हुन् मलाई ।

यति धेरै लामा शताब्दीहरु निद्राले छिचोलिसकेपछि
अब म ब्युँझनुको विकल्प छैन ।

कथाबाजे अब म ब्युँझन्छु
कुम्भकर्णबाट फक्ताङलुङ
उघारेँ भने मेरो दाहिने बन्द आँखाबाट
आउन बाँकी अहिलेसम्म
जम्मै भूकम्पहरु एकैचोटी आउनेछन् ।

कथाबाजे अब म ब्युँझन्छु
कुम्भकर्णबाट फक्ताङलुङ
उघारेँ भने मेरो बन्द देब्रे आँखाबाट
गहिरो महानिद्राको महासागर चर्काउँदै
उठ्नेछ एकैचोटी तर अन्तिमपटक सुनामी ।


फक्ताङलुङ : कुम्भकर्ण हिमाल, किराँत लिम्बु जातिको पवित्र तीर्थस्थल । मुन्धुमअनुसार प्राकृतिक विपत्ति झेल्ने आस्थाको विम्ब । न्याय र समानताको प्रतीकको रुपमा लिइन्छ ।