नारायणगोपालले सोधे,‘ तिमीहरू पैसा लिन्छौ रे हो ?’

नारायणगोपालले सोधे,‘ तिमीहरू पैसा लिन्छौ रे हो ?’

असार १, २०७८ 0 By कला अनुरागी
शेयर गर्नुहोस्
  • मदनकृष्ण श्रेष्ठ

०२२ सालमा रेडियो नेपालको ‘जीवन दगुः’ भन्ने नेवारी कार्यक्रमा मेरो बुबाले लेखेको नेवारी गीत गाएर कला–यात्रामा प्रवेश गरेँ । ०२३ सालमा रेडियो नेपालबाट ‘भ्वाइस टेस्ट’ पास गरेँ । ०२६ सालमा झोछेंको प्रकाश पुस्तकालयले आयोजना गरेको गायन प्रतिष्पर्धामा २९ जनालाई उछिनेर पहिलो भएँ । त्यतिबेला राइजिङ नेपालमा नाम छापिँदा निकै खुशी लागेको थियो ।

गीतबाट हास्यतिर
पछि मलाई ‘साइनासाइटिस’ भएर गाउन गाह्रो भयो । त्यसपछि कार्यक्रमहरूमा म जोक भनेर हँसाउने गर्न थालेँ । ०२८ सालमा ‘मुना सः’ (आवाजको जमघट) भन्ने संस्था स्थापना गरेर ‘कमिक कम्पिटिसन’ नै गर्न थाल्यौं । कार्यक्रमको बीचमा गीत पनि घुसाउँथ्यौं । प्रेमध्वज प्रधान, योगेश बैद्य, नारायणगोपाललगायतले कार्यक्रममा गीत गाइदिनुभयो । त्यसै क्रममा मैले नगेन्द्र हाडालाई पनि गीत गाइदिन अनुरोध गरेँ । तर उहाँलाई सञ्चो रहेनछ । भन्नुभयो, ‘मलाई रूघा लागिरहेको छ । बरू मैले लेखेको एउटा गीत त तिमीले गाउ न । तिम्रो क्यारिकेचर सुनेको थिएँ । यो गीत तिमीले गाउन सक्छौ ।’ मलाई पनि गीत चाहिरहेको थियो । मैले उहाँको गीत ‘मरू गनेद्योया गजु मरु, जि छम्हेसिया आतक कला मरू’ अर्थात मरुगणेशको गजूर छैन, यो उमेरमा पनि मेरा श्रीमती छैन भन्ने गीत गाएँ । त्यो गीतमा संस्कृति र रमाइलोपन दुवै थियो । त्यो गीत निकै चर्चित भयो । धेरैले मरुगणेशको गजूर छैन भन्ने त्यही गीतबाट थाहा पाएका थिए । म त्यही गीतबाट ‘क्लिक’ भएँ र हास्य क्षेत्रमा सक्रिय भएँ । त्यसैले म हास्यव्यंग्य क्षेत्रमा लाग्नुको श्रेय नगेन्द्र दाइलाई पनि दिन्छु ।

पाँच हजार सुन्नेबित्तिकै हाम्रो बोली बन्द भयो । ‘हँ अँ अँ’ ग-यौं । तीन शो भएको थियो, १५ हजार पायौं । त्यति पैसा पाउँदा त कसरी गन्ने होला भन्ने चिन्ता भयो ।

पञ्चायतमा कमिक
पञ्चायतकालमा हामी ‘कमिक कम्पिटिसन’ गथ्र्यौं । त्यो लरतरो काममा पर्दैनथ्यो । तर हामी नेवारी भाषामा कार्यक्रम गर्ने भएकाले केही सजिलो भने थियो । नेवारबाहेक अरूले बुझ्दैनथे, अनुसन्धानका लागि सरकारी कार्यालयबाट मान्छे पठाउँथे । तर भाषा नबुझेर फर्कन्थे । नेवारहरूलाई पठाउँदा केही भनिदिँदैनथे, आफ्नो भाषाको पक्षमा हुन्थे । एकपटक मुना सःको कार्यक्रम उद्घाटन गर्न तत्कालीन प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव सत्यमोहन जोशीलाई बोलाइयो । उहाँले कार्यक्रम हेरेपछि प्रभावित भएर त्यसलाई राष्ट्रिय स्वरुप दिनुपर्छ भन्दै प्रज्ञामा पनि कार्यक्रम सुरु गर्नुभयो । तर नेपालीमा कार्यक्रम हुँदाचाहिँ स–साना कुरामा पनि सचेत हुनुपथ्र्यो । त्यसैले दाइलाई कम्ता गाह्रो भएन ।

हरिवंशसँग भेट
म कृषि विभागमा जागीर खान्थेँ । त्यहाँ बिबिसीले रेडियो तालिम दियो । त्यसमा सहभागीहरू मिलेर ‘रसरंग’ नामको कार्यक्रम बनायौं । जुन रेडियो नेपालबाट प्रशारण हुन थाल्यो । त्यो कार्यक्रममा विभिन्न हास्य प्रस्तुति पनि हुन्थे । त्यही कार्यक्रममा हरिवंश आचार्य भाग लिन आएका थिए । त्यहीबेला भएको चिनाजानी कलात्मक सहयात्रामा परिणत भयो ।

पारिश्रमिकसहितको कार्यक्रम
हरिवंश र मैले कार्यक्रम सँगै गर्न थालेपछि त धेरै व्यस्त भयौं । विभिन्न संस्थाले कार्यक्रम गर्थे र हामीलाई बोलाउँथे । तर पारिश्रमिकको कुराचाहिँ हुँदैनथ्यो । पैसाको कुरा ग-यो भने कुनै पाप नै गरेको हो कि जस्तो गरिन्थ्यो ।
तर लायन्स क्लब, इन्द्रचोकको कार्यक्रममा चाहिँ हामीलाई भनियो, ‘तपाईंहरू धेरै ठाउँका कार्यक्रम गर्नुहुन्छ । गाह्रो छ । तपाईंहरूलाई हामी पारिश्रमिक पनि दिन्छौं, पाँच सय ।’ पारिश्रमिकको कुरा सुनेर हामी छक्कै प-यौं । अढाइ–अढाइ सय रुपैयाँ हुने भयो । त्यो बेलामा त्यति पैसा भनेको धेरै पनि होइन, तर थोरै पनि थिएन । त्यसपछि बालमन्दिरको कार्यक्रममा बोलाएर हजार रुपैयाँ दिए ।

पचास बर्ष जागीर खाँदाको पैसा हिसाब गरेको त छ–सात लाख पो हुँदोरहेछ । अनि जागीर छोड्ने आँट आयो ।

लगत्तै एभिएम स्कुलले कार्यक्रममा बोलायो । त्यहाँसोधियो, ‘तपाईंहरूलाई बालमन्दिरले कति दियो ? पाँच हजार ?’ पाँच हजार सुन्नेबित्तिकै हाम्रो बोली बन्द भयो । ‘हँ अँ अँ’ ग-यौं । त्यहाँ तीन शो भएको थियो, १५ हजार पायौं । त्यति पैसा पाउँदा त हामीलाई कसरी गन्ने होला भन्ने चिन्ता भयो । त्यसपछि हाम्रो रेट नै पाँच हजार हुन थाल्यो । हामी महँगा कलाकार हुन थाल्यौं । कार्यक्रम पनि छनोट हुन थाल्यो । गुणस्तरमा ध्यान दिन पायौं । त्यतिबेला नारायणगोपालले पनि पारिश्रमिक लिनुहुन्नथ्यो । एकपटक सोध्नुभयो, ‘तिमीहरू पारिश्रमिक लिन्छौ रे हो ?’ । ‘हो दाइ’, हामीले भन्यौं । त्यसपछि उहाँले पनि पारिश्रमिक लिन थाल्नुभयो । यसरी नेपालमा कला क्षेत्रलाई व्यसायिक बनाउने काम हामीले नै सुरुवात ग-यौं भन्दा गर्व लाग्छ ।

जागीर छोडेर कलाकार
हामीलाई धेरै कार्यक्रममा बोलाउँथे । भागेर जानुपथ्र्यो । थाहा पाएपछि स्पष्टिकरण मागिन्थ्यो । यस्तो हुन थाल्यो कि खाजा खाने ठाउँमा पैसा तिर्न भनेर गोजीमा हात हाल्दा पनि स्पष्टिकरणको कागज नै आउँथ्यो । दराज, ड्रअर सबैतिर स्पष्टिकरणकै कागज हुन्थ्यो । हामीले बनाएको ‘विज्ञापन’ नाटक देखाउने क्रममा हामी धनकुटा पुगेका थियौं, खबर आयो, हरिवंशको जागीर गयो भन्ने । राष्ट्र बैंकमा उनको जागीर अस्थायी थियो । खोसिएछ । त्यसपछि मैले पनि जागीर छोड्ने अठोट गरेँ । काठमाडौं आएर राजीनाम दिएँ र पुतलीसडकमा कोठा लिएर अफिस सुरु ग-यौं ।

जागीर छोड्दाको डर
जागीर छोड्न निकै डर लाग्यो । महिनावारी तलब आइरहेको । घरखर्च चलिरहेको थियो । तर कार्यक्रमको त भर हुँदैनथ्यो । भएन भने के गर्ने ? जागीरले मुटु एकदम कमजोर बनाउँदो रहेछ । तर हामीले त्यतिबेला ‘विज्ञापन’ नाटकको सबै ‘ट्रान्जिसन’ हिसाब ग-यौं । ४४ लाखको कारोबार भएको रहेछ । त्यत्रो कारोबार भयो होला भन्ने हामीले सोचेकै थिएनौ, हामी त आफूले जति पैसा लिएको हो, त्यसको मात्रै हिसाब गथ्र्यौं नि । हल भाडा, अरु कलाकार, प्राविधिक अनि आयोजक संस्थाले जम्मा गरेको ‘फण्ड’ सबै हिसाब गर्दा त त्यत्रो भइसकेको रहेछ । अनि पचास बर्ष जागीर खाँदा कति पैसा हुने रहेछ भन्ने हिसाब गरेको त, छ–सात लाख पो हुँदोरहेछ । त्यसपछि जागीर छोड्ने आँट आयो । काठमाडौं आएर राजीनामा लेखें र ‘बोस’लाई दिएँ । ‘किन छोड्न लागेको ?’ उहाँले भन्नुभयो । ‘बिजी भएँ आर्ट फिल्डमा,’ मेरो जवाफ थियो । ‘सकेसम्म नछोड, छोडेपनि अढाइ महिनामा तिम्रो दश वर्ष पुग्छ । तीन महिना छोड, हाप उपदान आउँछ’, उहाँको सुझाव थियो । तर मलाई लाग्यो, ‘अहिले जागीर छोड्छु भनेर हिम्मत आएको बेलामा छोडेन भने पछि मुटु कमजोर भयो भने छोड्न सकिन्न ।’ त्यसैले मैले त्यतिबेला नै छोडेँ ।

‘के घर के डेरा’को छायांकन भएको सुटिङ हुने बेलामा बासुदेवको टिम आएर मलाई कुरिरहन्थ्यो । त्यतिबेला प्रेम उपाध्यायले भन्थे, ‘एकै दिनमा दुई सिनेमाको सुटिङ गर्ने तपाईं पहिलो कलाकार हो ।’

कमेडीको गरिमा
पुतलीसडकमा सानो कोठा लिएर अफिसको रूप दिएको थियौं । त्यहीँ बसेर हामीले गरिरहेको कामको योजना बनाउँथ्यौं, काम गथ्र्यौं । पछि अफिस माइतीघरमा सार्यौं । माइतीघरमा अफिस हुँदा ‘सुरसुधा’का सुरेन्द्र श्रेष्ठ आएका थिए । उनी छक्कै परेर भने, ‘आर्ट फिल्डमा पनि यसरी अफिस खोलेर काम गर्न सकिँदोरहेछ ।’
त्यतिबेला ‘आर्ट फिल्ड’ गएजुग्रेको क्षेत्रमा पथ्र्यो । त्यो पनि हास्यव्यंग्य क्षेत्र त निकै तल्लो स्तरको मानिन्थ्यो । त्यो स्तरको कमेडीलाई गरिमामय हामीले बनायौं भन्दा फरक नपर्ला ।

त्यतिबेलै कमेडी सिनेमा
नीर शाह त्यतिबेला चलचित्र संस्थानको डेपुटी डाइरेक्टर हुनुहुन्थ्यो । उहाँले कमेडी सिनेमा बनाउने प्रस्तावमा हरिवंश, गोपालराज मैनाली र मलाई स्क्रिप्ट लेख्ने जिम्मा दिनुभयो । प्रदीप रिमालले निर्देशन गर्ने हुनुभयो । त्यो पूरै कमेडी सिनेमा त बनेन । तर पहिलोपटक धेरै कमेडी कलाकारको सहभागिता त्यसमा रह्यो । त्यससँगै बनेको ‘बासुदेव’ सिनेमाको निर्देशन नीर शाहले नै गर्नुभएको थियो, जसमा मलाई लिनुभयो । कहिलेकाहीँ एकैदिन दुवै सिनेमाको छायाँकन पथ्र्यो । ‘के घर के डेरा’को छायांकन भएको सुटिङ हुने बेलामा बासुदेवको टिम आएर मलाई कुरिरहन्थ्यो । त्यतिबेला प्रेम उपाध्यायले भन्थे, ‘एकै दिनमा दुई सिनेमाको सुटिङ गर्ने तपाईं पहिलो कलाकार हो ।’

टेलिफिल्म धेरै, सिनेमा कम
हामीले टेलिभिजन सुरु भएदेखि नै टेलिफिल्म बनाउन थाल्यौं । पछि त विधिन्न संघसंस्थाको सहयोगमा पनि टेलिफिल्म बनाउन थाल्यौं, जो शिक्षाप्रद पनि हुन्थे । त्यस्तो सिनेमा हलमा चलाउने खालको बनाएर फाइदा थिएन । किनकि टिभीमा एकैपटक लाखौंले हेर्न पाउँथे । सिनेमाको चर्चा पहिले पत्रपत्रिकामा हुन्थ्यो, अनिमात्रै दर्शक भएको ठाउँमा पुग्थ्यो । तर टेलिफिल्मको चाहिँ प्रचार–प्रसार पछि हुन्थ्यो, तर काम पहिले नै हुन्थ्यो । त्यसैले हामीले टेलिफिल्मलाई नै प्राथमिकता दियौं । सिनेमाचाहिँ केहीमात्रै ग-यौं ।
०००
(कला अनुरागीसँगको कुराकानीमा आधारित)