स्मृतिको सुदूर कुनामा वानीरा गिरि

स्मृतिको सुदूर कुनामा वानीरा गिरि

जेष्ठ १३, २०७८ 2 By कवि
शेयर गर्नुहोस्
  • मनप्रसाद सुब्बा

डा. वानीरा गिरि अब सदेह नरहनुभएको दुःसमाचार सारा नेपाली साहित्य-संसारलाई विद्युत करेन्टको झट्काझैं लाग्यो । अत्यन्त अप्रत्याशित । हामी तयार थिएनौ यस्तो खराब खबर सुन्न ।

वानीरा गिरि भन्नासाथ त्यो बाल्यकालमा पुग्छु, जुन बेला म सायद पाँचौं-छैटौं कक्षाको विद्यार्थी ठिटो थिएँ । स्कूल हो विद्यासागर उच्च विद्यालय, बिजनबारी मोफसलमा अवस्थित, दार्जिलिङ सहरदेखि डेड घन्टाको यात्रा । अलि होंचो कदकी, ब्ल्याकबोर्डको माझदेखि मास्तिर हात नपुग्ने खुट्टाको एँडी उचाल्दा पनि । तर निकै आकर्षक । बब्ड हेअर अर्थात् घुच्चुकको फेदसम्मको केशराशी । बान्की पारेर साडी पहिरेकी (सलवार-कुर्ताको फेसन आएकै थिएन) l फुर्तिली, फर्वाड, फेशनेबल् । त्यस समयको समूहमा अलग्गै देखिने, छुट्टै । उहाँलाई हेरिरहनु मात्र पनि आनन्द आउँथ्यो ।

यहाँ आयोजन हुने भानु जयन्ती, रवीन्द्रनाथ टेगोर जयन्ती, बुद्ध जयन्ती इत्यादि सांस्कृतिक अनुष्ठानतिर कविता वाचन गर्नुहुन्थ्यो । त्यस बेला हामी फुच्चेहरूले के बुझ्ने उहाँका ती कविता । मन्चमा उहाँको हावभाव, उहाँको स्वर अनि कविता वाचन हेरेर-सुनेर नबुझी नै मज्जा मान्थ्यौं ।

एक दिन स्कूलमा उहाँ देखिनुभएन । स्कूलको कान इयर-रिङबिनाको बुच्चै लाग्यो । भोलिपल्ट पनि उहाँ आउनुभएन । अनि पर्सिपल्ट पनि । कहाँ जानुभयो ? के भयो ? अनि त फेरि कहिल्यै देखा पर्नुभएन । बस्, त्यति नै हो मैले उहाँलाई देख्न पाएको ।

+

निकै पछि । आफू पनि केही साहित्य पढ्ने-लेख्ने भएपछि उहाँलाई पत्रपत्रिकाहुँदो देख्न-पढ्न पाइयो । एक दिन भेट्टाएँ कविता सङ्ग्रह – ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ बिजनबारीकै पुस्तकालयमा । पुस्तकालयबाट एक हप्ताको लागि पुस्तक लिएर घरमा आएँ । वानीरा गिरिको पहिलो पुस्तक पढेको त्यही हो । स्वच्छन्दतावादी लेखनबाट मुक्त तत्कालीन प्रयोगवादी-आधुनिकतावादी परिपाटीका कविताहरूले आकर्षित गरे । अनि अर्को सङ्ग्रह ‘जीवन थायमरू’ पनि देखियो । तर थायमरू-को अर्थ नबुझेर त्यो किताब मैले लाइब्रेरीबाट ल्याइनँ । निकै वर्षपछि उहाँको महत्वपूर्ण काव्यकृति मेरो आविष्कार देख्नेवित्तिकै पढ़ूँ-पढ़ूँ लाग्यो । निकै मन पराएर पढेँ । उहाँको काव्यसृजनको उत्कर्ष हो यो सायद ।

यस काव्यबारे उहाँको आत्मस्वीकृति छ : …’प्रस्तुत काव्यलाई आत्म-काव्य भन्न रुचाएकी छु ।‘ आफूले बाँचेको जीवनानुभूतिको साङ्गोपाङ्ग अनि सूक्ष्म काव्यिक विश्लेषण छ यसभित्र । जीवनलाई सम्पूर्ण तौरमा स्वीकारिएको अनि मृत्युलाई नकारिएको वैविध्यपूर्ण बिम्बात्मक अभिव्यक्ति हो ‘मेरो आविष्कार’

केही उद्धरण राखूँ यहाँ –
म जीवनको ऐश्वर्यलाई
मृत्युको दरिद्रतासित साट्न
धरोधर्म तय्यर छैन
कानाकौड़ी नभएको
रित्तो खल्ती जस्तो मृत्यु
बिलाउने सपना जस्तै छ
म तिमीलाई
टुमौटे मृत्युले होइन
सम्पन्न जीवनले अभिषेक गर्छु

उद्धृत पङ्क्तिपुन्जलाई पछ्याएर आएको अर्को पङ्क्तिपुन्जमा तोङबाको बिम्बले जीवन अर्कै स्वादको मीठो चाख्छौँ संवेदनाको जिब्रोभरि —


तोङबाको मीठो स्वाद
तिमीमा भरिन्छु
तान मलाई, रित्याऊ
यो जीवन हो
म जीवनको बलिदानद्वारा
तिमीसित जीवन माग्छु ।

जीवनलाई गौरवीकरण गर्दै उहाँ अझै यतिसम्म भन्नुहुन्छ – ‘जीवनको प्रभा-मण्डल / सूर्यका अजस्र अजस्र किरणका फौजभन्दा पनि / तिक्खर हुन्छ’ ।  यस्ता थुप्रै उद्धरणीय हरफहरू छन् मेरो आविष्कार-भरि । कवितामा वानीरा गिरिको आफ्नो छुट्टै छाप छ ।          

औपन्यासिक कृति ‘कारागार’-मा उहाँको आकर्षक आख्यानकारिता देख्न पाइयो । लघु आकारको तर अत्यन्त प्रभावकारी । कवितात्मक शैलीमा पात्रको सूक्ष्म संवेदनाले पाठक समातिन्छ । यस उपन्यासका मैथिली र हिन्दी अनुवादक प्रदीप बिहारी कारागार-लाई कालजयी उपन्यास मान्छन् । अरू दुइ उपन्यास ‘शब्दातीत शान्तनु’ र ‘निर्बन्ध’-ले वानीरा गिरीको आख्यानकारको वैशिष्ट्य अझ टड्कारो उभ्याइदिएका छन् ।  

कवितामा होस् या गद्यमा, उहाँको लेखन प्रयोगवादी तथा आधुनिकतावादी प्रवृत्तिले प्रभावित पाउँछौँ । नेपाली साहित्यमा समकालीन युगभन्दा अघिल्लो युगका उहाँ एक प्रखर प्रातिनिधिक स्वर हुनुहुन्थ्यो । लेखेर उहाँले जेजति दिनुभयो, ती लेखन कृतिका रूपमा जीवित रही उहाँको कीर्ति राख्न सक्षम छन् । तसर्थ, ती नेपाली साहित्यकै एक प्रमुख युगलाई प्रतिनिधित्व गर्ने निधि हुन् ।

‘मृत्युको अग्निकुण्डमा होमिन अघि / जीवनको जय मनाऔँ’ भन्ने कवि वानीरा गिरीले मृत्युलाई ‘मेरो आविष्कार’-मै आविष्कार गरिसक्नुभएको थियो यसरी –

जीवन नाम गरेको सुनको लौरोबाट जागेका हामी
मृत्यु नामक चाँदीको लौरोबाट छोइनासाथ
महानिद्रामा पर्नेछौं

र, यसो भन्ने कवि आज साँच्चै महानिद्रामा छिन्, जहाँबाट उनलाई फेरि कहिल्यै जाग्रतावास्थामा देख्न पाइने छैन । तर जाग्रतावस्थामा सधैं देखिनेछन् उनका कृतिहरू ।
०००