मृत्युको मुखबाट परम् आनन्दतिर

मृत्युको मुखबाट परम् आनन्दतिर

असार २, २०७८ 0 By शकुन्तला जोशी
शेयर गर्नुहोस्

माया ठकुरी भारतको लखनउमा जन्मिन्, सिलोङमा हुर्किइन् । उनका बुबा पाल्पा अर्घेलीका गोपालजंग राणा गम्भीरसिंह ठकुरी नामले भारतीय गोर्खा सैनिकमा भर्ती भएका रहेछन् । 

रुकुमकोटका ठकुरी समुद्र मल्लकी नौ वर्षीया छोरी देवीलाई विवाह गरी उनले भारत लगे । तर उनी सुरासुन्दरीमा लहसिने स्वभावका थिए, उनका थुप्रै प्रेमिका विवाहपूर्व र पछि पनि रहेछन् । उनले श्रीमती र छोराछोरीलाई बेवास्तापूर्वक छोडेका थिए । उनी निकै दुःखमा हुर्किइन् । उनले स्कुल देख्न पाइनन् । अनौपचारिक रुपमै सिकेका कखराको भरमा अर्काको घरमा भाँडा माझेर प्राइभेटबाट उनले एसएलसी पास गरेकी हुन् ।

जीवनलाई फूलजस्तै बोध गरेको त्यो पल ४३ वर्ष छुटिसकेछ हगि ? ओहो ! कति चाँडै हिँड्दो हो समय, मलाई त हिजै जस्तो पो लाग्छ मेरी छोरी जन्मेको ।

दुःखकै बीच उनले बिएसम्मको अध्ययन भारतबाटै पूरा गरेकी हुन् । त्यही बेला सिलोङमै चिनजान भएका पोखरा सातमाने देउरालीकाका इन्जिनियर दामोदर शर्मासँग प्रेमविवाह गरेर नेपाल आइन् । आफ्नै संघर्षले बनेको धरातलमा उभिएपछि भने उनले पछाडि फर्केर हेर्नुपरेन । श्रीमान् त्रिशूली पावर हाउसमा विद्युत् प्राधिकरणको जागिरे थिए । उनी पनि उतै सरकारी विद्यालयमा पढाउन लागिन् । छोरी गर्भमा आउँदा उनी त्रिभुवन त्रिशूली हाइस्कुल, नुवाकोटमा पढाउँथिन् ।

‘जीवनलाई फूलजस्तै बोध गरेको त्यो पल ४३ वर्ष छुटिसकेछ हगि ? ओहो ! कति चाँडै हिँड्दो हो समय, मलाई त हिजै जस्तो पो लाग्छ मेरी छोरी जन्मेको ।’ आफ्नो प्रसव कथाको पोयो खोल्दै नेपाली आख्यान साहित्यकी एक आधार माया ठकुरी यसरी सम्झिन्छिन् पुराना दिन । उनको जीवन आफैं कथाहरुको लामो नदी जस्तै छ । नदीको यात्रा गर्न समय पनि उस्तै चाहिन्थ्यो । 

तर यसपल्ट मसँग समयका सीमा थिएँ, मैले उनी जन्मिएको भारत, सिलोङको सम्झनालाई उनकी छोरी अनुराधाको जन्मकथासँग जोड्नु थियो । उनी नुवाकोटका सम्झनामा फर्किइन् । उनी आफ्नो पेटभित्रको बच्चाले लात्ती मारेको रोमाञ्चक अनुभूतितिर फर्किइन् । 

 ‘एक आमालाई राज्य नै दिन्छु भने पनि बच्चाको खुसीभन्दा ठूलो हुन सक्दैन,’ यसरी मातृवात्सल्यको कथा सुरु गर्नुअघि उनी आफ्नो बाल्यकाल सम्झिन्छिन् ।

जब पहिलो बच्चा खेर गयो

उनको बाल्यकाल निकै कहालीलाग्दो थियो । तर जीवनको सुखद संयोग, खुब प्रेमिल जीवन साथी  पाइन् । प्रेमको निसानी एक सन्तान जन्मियोस् भन्ने ठान्नु उनीहरुको स्वाभाविक इच्छा थियो । पहिलो बच्चा पेटमा आयो, उनीहरु असाध्यै खुसी भए । त्यो खुसीले आकार लिनै पाएन । गर्भमा आएको केही महिनामै बच्चा खेर गयो । पहिलो सन्तान नरहँदा केही समय दुवै जना दुःखी भए । 

त्यस बेला उनको उमेर ३० वर्ष नाघिसकेको थियो । दुःख मानेर बस्नु समाधान थिएन । काठमाडौं आएर डाक्टरको सल्लाह लिइन् । उनको स्वास्थ्य अवस्था सामान्य नै थियो । त्यही वर्ष उनले दोस्रो गर्भधारण गरिन् । त्यसपटक उनी आफ्नो स्वास्थ्यप्रति बढी नै सचेत भइन् । डाक्टरले नियमित हिँडडुल गर्न सुझाव दिए । 

एक त उनीहरु ग्रामीण भेगमा थिए, हावापानी, खानपान आफैंमा स्वस्थकर थियो । स्कुलमा दिनभर उभिएर पढाउँथिन् । क्वार्टरमा बिहान बेलुकी घरको काम आफैं गर्थिन् । श्रीमान् सहयोगी राखिदिन चाहन्थे, मानिनन् । बाल्यकालमै कठोर श्रमको भट्टीमा खारिएकी उनलाई आफ्नो काम आफैं गर्न मन पथ्र्यो । अझ बिहान बेलुकी एक समय वरिपरिका विद्यार्थीलाई श्रीमान् र उनी दुवै जना ट्युसन पनि पढाउँथे ।  

गर्भवती हुँदा लाग्थ्यो– छोरा होस् या छोरी, जे भए पनि सग्लो, पूर्ण शारीरिक मानसिक विकाससहितको बच्चा जन्मियोस् । मनमनमा यस्तो कामना गरिरहन्थें

पेटमा बच्चा हुर्किँदै जाँदाको अनुभव उनका मनमा आज पनि कुँदिएको छ । 

‘म पनि आमा हुँदै छु, आफ्नो शरीरमा अर्को शरीरले बास गर्दै छ,’ यो अनुभूतिले उनी आल्हादित हुन्थिन् । 

‘हुन त समाजमा कतिपय दम्पतीले सन्तान सुख पाउँदैनन् । उनीहरुलाई कस्तो अनुभूति हुन्छ, थाहा छैन । मैले त्यो अनुभव गर्न परेन । गर्भवती हुँदा लाग्थ्यो– छोरा होस् या छोरी, जे भए पनि सग्लो, पूर्ण शारीरिक मानसिक विकाससहितको बच्चा जन्मियोस् । मनमनमा यस्तो कामना गरिरहन्थें,’ ती दिन सम्झँदै भन्छिन् । 

बच्चाका लागि अगाडि नै लुगा कपडालगायत सामग्री जोड्नु पर्ने कुरा उनलाई यादै भएन । तर उनको स्वभावै यति मिलनसार कि जहाँ पुगे पनि माया दिने कोही न कोही प्रियजन फेला परिहाल्थे । त्यहाँ बजारमा एक जना ताम्राकार थरीकी महिला थिइन् । उनले भाउजू भनेर बोलाउने ती महिलाले उनी सुत्केरी हुनुपहिले नै बच्चाका लागि टोपी, भोटो, फ्रक, मोजा, सिरानी, डसना, ओढ्नेलगायत कपडा तयार पारिदिएकी रहिछन् । छोरी नै जन्मिइन्, तर भाउजूले कसरी छोरीको अन्दाज लाएर फ्रक बनाइन् होला, उनलाई ताज्जुब लाग्यो । 

सन्तान जन्मँदा…

एक शारदीय दिनमा उनले क्वार्टरमै बच्चा जन्माइन् । उनलाई स्याहार्न भनेर आमा गएकी थिइन् । बेथाले च्यापेपछि गाह्रो हुन्थ्यो, पेट र ढाड सहन नसक्ने गरी दुख्थ्यो, त्यो पीडा त कसरी वर्णन गर्नु ? तर, जति पीडा भए पनि अर्को मान्छेलाई जन्म दिँदै छु भन्ने बोधले शरीरमा शक्ति दिन्थ्यो । 

भन्छिन्, ‘त्यो पीडा यति कठिन हुन्छ, एउटी महिला मृत्युको मुखमा पुगेर फर्किने हो, श्वास रोकिन्छ घरीघरी, तर पनि मर्छु जस्तो लाग्दैन । म मेरो बच्चालाई जन्म दिँदै छु भन्ने लाग्दो रहेछ ।’

आमाले बच्चा उनको छातीबाट के उठाएकी थिइन्, उनको श्रीमानले रगतैसँगको बच्चा हत्त न पत्त लिएर च्याप्प छातीमा टाँसे । बुबाको माया अनुभव गर्नै नपाएकी उनको हृदय त्यो दृश्यले एकपल्ट बिथोलिएको थियो ।

जन्मनेबित्तिकै उनकी आमाले रगतैसँगै नाभी झुन्ड्याउँदै बच्चा हातमा राखिदिइन् । उनले छोरी जन्माएकी थिइन् । भन्छिन्, ‘कस्तो परम आनन्द लाग्यो भने अहिले व्याख्या गर्न सक्दिनँ । बच्चाको अनुहार हेरेपछि आँखै नहटाऊँ जस्तोे राम्रो… लाग्यो । मलाई त आफू कतै फूलैफूल भएको ठाउँमा उडें जस्तो, त्यसै–त्यसै जिउ चंगाजस्तो हलुका अनुभूति भयो । बच्चा हेरिरहँदा आफैं पो जन्मेजस्तो लाग्यो । वास्तवमा आफूबाट आफू नै जन्मनुको अनुभूति रहेछ त्यो ।’ 

आमाले बच्चा उनको छातीबाट के उठाएकी थिइन्, उनको श्रीमानले रगतैसँगको बच्चा हत्त न पत्त लिएर च्याप्प छातीमा टाँसे । बुबाको माया अनुभव गर्नै नपाएकी उनको हृदय त्यो दृश्यले एकपल्ट बिथोलिएको थियो । एक जुगपछि फेरि त्यो पल सम्झेर उनी एकछिन भावुक भइन् । उनीहरुले छोरीको नाम अनुराधा राखे । उनी चाहन्थिन् छोरीले उसको बुबाबाट सम्पूर्ण माया पाओस् । अनुराधाले आमाले चाहेभन्दा बेसी माया उनको बुबाबाट पाइन् । कहिलेकाहीँ त उनलाई श्रीमानले छोरीलाई गरेको माया देख्दा ईर्ष्या नै लाग्थ्यो । 

भोको बाल्यकाल

सन्तान जब हुर्किँदै जान्छ, एक आमाले त्यसमा आफैं हुर्किरहेको पाउँछ । उनलाई पनि आँपको गाछीतिर खेल्दै हुर्किरहेकी छोरी देख्दा आफ्नो बाल्यकाल याद आउँथ्यो । ‘त्यो पुतलीजस्ती केटी बगैंचामा डुलिबस्थी । छोरी खेलेको हेर्दा उनी संसार बिर्सन्थिन् ।

उनको बाल्यकाल अभावले भरिएको थियो, खान नपाउँदा उनी अरुको भान्सामा खाना चोर्न जानुपर्थ्यो । यसबापत उनी तिरस्कृत र घृणित हुन्थिन् । गाली र पिटाइ खान्थिन् । 

‘लोग्नेले छोडेकी आइमाईकी छोरी’ भन्दै उनलाई समाजमा हेप्थे । उनलाई समयले एक जिराहा बालिका बनाइदिएको थियो, हठी र लाचार केटी बनाइदिएको थियो । बुबाले अपहेलना गरी छाडेपछि आमाले अरूका घरमा लुगा धुने, भाँडा माझ्ने गर्दै उनलाई पालेकी थिइन् । सँगैका छाप्रामा हुर्केका समवय साथीहरुका आमाबुबा सँगै हुन्थे, दुवैले काम गर्थे र परिवार सहज किसिमले चलेको हुन्थ्यो । 

ती छिमेकीको घरमा बेला न बेला मीठो मसिनो पाक्थ्यो । कहिले मासु त कहिले खीर पकाएको बासना हरहर आउँथ्यो । उनीहरुको भान्सामा भने दालभात पाक्न मुस्किल थियो । केटाकेटी मन, मासु खान पाए.. भन्ने लाग्थ्यो । भोकले छटपटी भएपछि झ्यालबाट पसेर छिमेकीको भान्साबाट मासु भात चोरेर खाइदिन्थिन् । घरधनीको फेला पारेपछि भने नराम्रो कुटाइ खान्थिन् । आफ्नो पिडादायी बाल्यकाल उनको हृदयमा खिल बनेर जाकिएको थियो । आफ्नी छोरी हुर्कँदै जाँदा उनी घरी आफ्नो विगतले झस्किन्थिन्, घरी छोरीको मायाले मुस्कुराउँथिन् । आखिर उनको जीवन थियो त एक थ्रिलर उपन्यासको प्लट जस्तो । उनी आफ्नी छोरीलाई आफूले नपाएको ती सब सुख, सुविधा, माया दिन हर्दम लागिपर्थिन् । 

‘छोरी अनेक चकचक गरिरहेकी हुन्थी, म उसको आँखामा हेरिबस्थें । यसरी उसलाई हेर्नुमा म कहिल्यै थाक्दिनथें । त्यसलाई काखमा लिँदा अर्कै आनन्द, दुध खुवाउँदा अर्कै आनन्द, उसले छुकछुक गर्दै चकचक गरेको हेरिबस्नु अर्कै आनन्द ।

आफ्नो सामु नानीले हातखुट्टा चलाएको, हाँसेको, रोएको देख्दा उनी खुसीले भावुक हुन्थिन् । भन्छिन्, ‘मेरो नानीले हातखुट्टा चलाएको देख्दा यति अद्भुत खुसी लाग्थ्यो कि त्यसको अगाडि संसारमा अरू केही पनि छैन । अहिले कोभिड १९ को त्रासद अवस्था छ । यो बेला उनलाई आफ्नो भन्दा ज्यादा चिन्ता सन्तानहरुकै छ । ‘यी छोरी र नातिहरुलाई केही नहोस्’ उनी मनमनै कामना गर्छिन् । 

हुर्किँदै गर्दा छोरीमा उनी आफूलाई पाउँथिन् । छोरीचाहिँ एक दिन आमामै रूपान्तरण हुन्छे जस्तो लाग्थ्यो । कष्टकर जीवनमा उनी आफू पनि आमामा रूपान्तरण हुँदै हुर्केझैं लाग्थ्यो । उनलाई अनुराधा अचेल आफूमा रूपान्तरण भएजस्तो लाग्छ । 

छोराको गुणबारे भन्न नसके पनि छोरीले आमाको जीवनलाई निरन्तरता दिन्छे भन्ने उनलाई लाग्छ । सम्झिन्छिन्, ‘छोरी अनेक चकचक गरिरहेकी हुन्थी, म उसको आँखामा हेरिबस्थें । यसरी उसलाई हेर्नुमा म कहिल्यै थाक्दिनथें । त्यसलाई काखमा लिँदा अर्कै आनन्द, दुध खुवाउँदा अर्कै आनन्द, उसले छुकछुक गर्दै चकचक गरेको हेरिबस्नु अर्कै आनन्द ।’ 

हरेक आमालाई आफ्नो सन्तान जस्तो भए पनि सुन्दर लाग्छ । त्यस्तै, संसारमा मेरो बच्चा जस्तो राम्रो कसैको छैन भन्ने उनलाई पनि लाग्थ्यो । आफ्नै बच्चा हाँसेको मन पर्छ चाहे त्यो नाक चुच्चो होस्, चाहे थेप्चो, चाहे चिम्सो आँखा होस् चाहे गोलो, आमाको लागि ती सब सुन्दर । छोरीले थर्थराउँदै पहिलो पाइला चालेको देख्दा उनी खुसीले उफ्रेकी थिइन् । तोते बोल्न थाल्दा उस्तै खुसी । 

क्षणभंगुर कुर्सी

उनले बाल्यकालमा स्कुल पढ्नै पाइनन् । तर, छोरीलाई सानो चुल्ठी बाटेर झोला बोकाएर स्कुल पठाएको दिन उनी असाध्यै खुसी भएकी थिइन् । ‘खै ! अरू आमालाई के लाग्छ, मलाई चाहिँ मेरी छोरी मेरो नयाँ जन्म जस्तो लाग्ने । अध्यात्मले अर्को जन्मको कुरा गर्छ । तर एक आमाले यही जन्ममा सन्तानबाट नयाँ जन्म लिन्छ । मेरो शरीरबाट छुट्टिएर सशरीर बेग्लै भए पनि ऊ मेरो प्रतिरूप हो । हामी आमाहरु कहिल्यै पनि मर्दैनौं, सन्तानहरुमा जन्मिरहन्छौं,’ उनी भन्छिन्, ‘भोलि  माया ठकुरी मरी भन्लान्, मेरो भौतिक शरीर अन्त्य होला । तर मेरी छोरीमा म बाँचिरहन्छु । छोरीको रगतमा, उसको शरीर निर्माणमा मेरो शरीरको हिस्सा छ ।’ 

छोरीले प्रगति गर्दै गइन्, नेपाली बालसाहित्य लेखनमा उनको राम्रो दक्खल छ । सोही विषयमा उनी विद्यावारिधि पनि गर्दै छिन् । छोरीका दुई छोरा छन् । छोरी र नातिहरुको प्रगतिमा उनी आफ्ना अधुरा सपना पूरा भएको ठान्छिन् । 

‘बिहे हुँदा म नौ वर्ष थिएँ, तेरो बुबा एकतिसको हुनुहुन्थ्यो । तर म उहाँको श्रीमती थिएँ । म त कति समयसम्म रगतको आहालमा बस्थें ।’

हाल नेपाल प्रज्ञा प्रतिष्ठानकी आख्यान विभाग प्रमुख उनी भन्छिन्, ‘म खान नपाएर भौतारिँदै हिँड्नुपर्ने बाल्यकालबाट गुज्रिँदै आज देशकै प्रमुख प्राज्ञिक संस्थाको पदमा छु, धेरै मिहिनेत र संघर्ष गरेर मैले यहाँसम्मको यात्रा गरें । यो ठूलो उपलब्धि हो । यद्यपि म जुन कुर्सीमा छु, मातृत्वको अनुभूति अगाडि यी सब क्षणभंगुर हुन् । मातृत्व त असाध्यै मीठो र आफूसँगै बाँच्ने अनुभूति हो ।’

अहिले समाजमा धेरै छोरीहरु बलात्कृत हुने, कतिपयको हत्या हुने गरेका समाचार सुन्दा उनलाई हैरान लाग्छ । महिलालाई वस्तुकरण गर्ने समाजको मानसिकतामाथि प्रहार गर्न, त्यो सोचलाई भत्काउन अझ धेरै काम गर्नु बाँकी रह्यो भन्ने उनलाई लाग्छ । उनी सानै छँदा आमाले भनेको सम्झिन्छिन्, ‘बिहे हुँदा म नौ वर्ष थिएँ, तेरो बुबा एकतिसको हुनुहुन्थ्यो । तर म उहाँको श्रीमती थिएँ । म त कति समयसम्म रगतको आहालमा बस्थें ।’ आमा कसरी रगतको आहालमा हुन्थिन् ? त्यो बेला उनले बुझिनन् ।’ अहिले नाबालिकाहरु बलात्कृत भएका समाचारहरु सुन्दा उनलाई लाग्छ– त्यो समयमा समाज, परिवारले नै विधिपूर्वक नाबालिकालाई बलात्कारको अनुमति दिँदो रहेछ । 
०००
यो पनि पढ्नुहोस्
गर्भावस्थामै जिम, गर्भावस्थामै नाटक