हुरीझैँ हुर्रिंदै हिँड्ने निर्भीक स्रष्टा

हुरीझैँ हुर्रिंदै हिँड्ने निर्भीक स्रष्टा

जेष्ठ १५, २०७८ 1 By लेखक
शेयर गर्नुहोस्
  • मोमिला

‘ए मान्छे !
च्यातिएका वाक्यका टुक्राहरूका
पटक–पटकमा बेग्लाबेग्लै अर्थ नलाऊ
मैले आफ्नै कहानी बिर्सिसकेकी छु ।’
–वानीरा गिरि

कवितामा जस्तै जरुर पटक–पटक टुक्राटुक्रामा अर्थहरू चोइटिएर होइन, एउटा सग्लो बृहत्तर क्यानभासमा जीवनका सम्पूर्ण रङ्गहरू छरेर सुरुचिपूर्ण झर्झराउँदो झङ्कारमा प्रेम र प्रज्ञाको एउटा अद्भूत कोलाजजस्तो शालीन कलामय विशिष्ट जिन्दगीको रफ्तारमा अचानक अल्जाइमरले ब्रेक लगाइदिएपछि विगत करिब पाँच वर्षदेखि आफ्नै कहानी बिर्सेर आफ्नै शरीरको कारागारमा कैद रहनुभएकी प्रिय दिदी वानीरा; ‘कारागार’, ‘निर्बन्ध’, ‘शब्दातीत शान्तनु’ जस्ता औपन्यासिक कृतिहरू र ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’, ‘जीवनः थायमरु’, ‘मेरो आविष्कार’, ‘काठमाडौँ काठमाडौँ’ जस्ता काव्यकृतिहरू एवम् ‘जङ्गल–जङ्गल’ निबन्धसङ्ग्र्रह आदिका सर्जक अर्थात् नेपाली साहित्यका विश्व नारीरत्न डा. वानीरा गिरी यस धरामा मनग्य अक्षरको उज्यालो छरेर गत आइतवार राति १० बजे सदाका लागि अस्ताउनुभएको छ । अर्थात् अस्तपछिको यो शून्यतामा सानो आवाज ठूलो सुनिए पनि स्रष्टा उषा शेरचनले भन्नुभएजस्तै यो जड सांसारिक कारागारबाट भने दिदीले मुक्ति पाउनुभएको छ ।

शताब्दी पुरुष सत्यमोहन जोशीबाट कलाश्री सम्मान लिंदै वानीरा गिरि l तस्विर सौजन्य: मोमिला


कवितालाई पहिलो प्रेम मान्नुहुने डा. वानीरा आफ्नो नामपछि लेखिएको ’गिरि’ शब्द थरका रूपमा ‘गिरी’ नभएर पर्वतको अर्थमा ‘गिरि’ हो भनेर पहिलो निकट भेटमै मलाई भन्नुभएको थियो । मनमनै साहित्यको पर्वत अर्थात् शिखर नै सम्झी दिदीप्रतिको अप्रतीम श्रद्धाले मेरो शिर निहुरिएको थियो ।


उहाँकै निवासमा उहाँसँगको त्यो पहिलो आत्मीयतापूर्ण निकटतम भेट मेरो निबन्ध कृति ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ को भूमिका लेखिदिन गरिएको अनुरोधको परिणतिले जुराइदिएको थियो । हिउँदको त्यो सुन्दर दिन आँतभरिको चियासँगै साँझै परुन्जेल गफिएका थियौँ । लेखन र जीवनसँग सम्बद्ध संवादका क्रममा उहाँको आत्मवादनबाट निस्किएका मनोरम धुन सुनिरहूँ जस्तो लागेको थियो ।


उहाँलाई पढ्दा बतासको आत्मीय स्पर्शले रोमाञ्चित हुँदै शिखरतिर बढेका पाइलाभन्दा हुरीको क्रूर झोँक्काले ढलपलिँदै बढेका पाइलालाई प्रेमले चुम्ने स्रष्टा बुझेको थिएँ । सायद, त्यस्ता पाइलाले शिरमा घाम बोकेको पहाड पुग्दा आत्मसम्मानको प्रियताले थकित अनुहार धपक्कै बलेको महसुस हुन्थ्यो होला !

नेपाली कला साहित्य डट कम प्रतिष्ठानको कार्यक्रममा वानीरा गिरि l तस्विर सौजन्य: मोमिला

आफ्नो विशेषण आफैँ निर्माण गर्दै, आफ्ना तथाकथित चोलाहरूलाई तह–तह फ्याँक्दै हुरीझैँ हुर्रिंदै हिँड्ने निर्भीक स्रष्टा वानीरालाई परिवेश नमिलेको आफू र आफ्नो नियतिसँग भिड्दाभिड्दै आफू आफैसँग परचक्रीमा रूपान्तरित दुर्घटनाहरू झेल्नुपरेको महसुस हुन्छ । यतिबिघ्न यस्ता दुर्घटनाहरू या अन्य जतिबिघ्न दुर्नियतिहरू झेल्नुपरे पनि ‘स्व’को खोजबाट बाहिरिनु उहाँलाई कहिल्यै स्वीकार्य भएन ।


विचार, विद्रोह र दर्शनहरूका सम्यक् मार्ग पहिल्याएर मान्छेको आस्था अड्ने ठाउँ खोज्दै उत्सवसरि ‘स्व’को स्थापन गरेर नारी अस्मिता र मानवीय गरिमाको खरो उद्घोष गर्ने सशक्त बौद्धिक नारी हस्ताक्षर वानीरा अभिमान होइन, स्वाभिमानको दाबी गर्ने गर्विलो सत्य हुन् । जहाँ रहे पनि चिसो श्रद्धा नभएर उहाँलाई मेरो धड्कनको न्यानो सलाम !
०००